जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जनवरी १०-१६
बाइबलमा पाइने अनमोल धन | न्यायकर्ता १७-१९
“परमेश्वरको व्यवस्था पालन नगर्दा समस्याहरू आइपर्छन्”
it-2-E पृ. ३९०-३९१
मिका
१. मिका एप्रैमका थिए। मिकाले आफ्नी आमाको ११ सय टुक्रा चाँदी चोरी गरेर दस आज्ञाको आठौँ आज्ञा (प्रस्थ २०:१५) उल्लङ्घन गरे। तिनले आफ्नो गल्ती स्विकारेर आमालाई ती फर्ता गरे। उनले भनिन्: “यो चाँदी म यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याएर राख्छु। यसबाट तिमीले दुई वटा मूर्ति बनाऊ, एउटा खोपेर अनि अर्कोचाहिँ पगालेर। यो चाँदी तिम्रै लागि हो।” त्यसपछि उनले २०० टुक्रा चाँदी लिएर सुनारलाई दिइन् अनि त्यसबाट सुनारले “एउटा खोपेर अनि अर्को चाहिँ पगालेर दुई वटा मूर्ति बनाइदिए।” ती मूर्तिहरू मिकाको घरमा राखियो, जसको घरमा “एउटा पूजाथान” थियो। तिनले एउटा एपोद र कुलदेवताका मूर्तिहरू बनाए अनि आफ्नो एक जना छोरालाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गरे। तिनले यी सबै यहोवालाई आदर गर्न गरे तापनि यसले गर्दा मूर्तिपूजा नगर्नू (प्रस्थ २०:४-६) भन्ने यहोवाको व्यवस्था उल्लङ्घन भयो अनि यहोवाले गर्नुभएको वासस्थान र पुजारीको प्रबन्धलाई बेवास्ता गरिएको देखियो। (न्या १७:१-६; व्य १२:१-१४) पछि मिकाले मोसाको छोरा गेर्सोमका सन्तान जोनाथनलाई आफ्नो घर लगे र यी जवान लेवीलाई ज्याला दिएर पुजारीको रूपमा सेवा गर्न राखे। (न्या १८:४, ३०) तिनले आफूले सही काम गरेको भन्ठानेर यसो भने: “अब भने म ढुक्क छु, यहोवा परमेश्वरले मलाई आशिष् दिनुहुनेछ।” (न्या १७:७-१३) तर वास्तवमा त्यो गलत थियो किनभने जोनाथन हारुनको वंशका नभएकोले तिनी पुजारीको रूपमा सेवा गर्न योग्य थिएनन्। मिकाले तिनलाई पुजारी नियुक्त गरेर अर्को गल्ती गरे।—गन ३:१०.
it-2-E पृ. ३९१ अनु. २
मिका
मिका र तिनका मानिसहरू दानको कुलका मानिसहरूको पछिपछि गए। तिनीहरूलाई भेटेपछि दानको कुलका मानिसहरूले के भयो भनेर सोध्दा मिकाले भने: “तपाईँहरूले मैले बनाएका मूर्तिहरू र मेरो परिवारको पुजारीलाई समेत लैजानुभयो। अब मसित के नै बाँकी छ र!” दानको कुलका मानिसहरूले तिनीहरूलाई यसरी पछिपछि नआउनू र उनीहरूको कुरा नमानेमा आक्रमण गर्ने धम्की दिए। ती मानिसहरू आफूभन्दा शक्तिशाली रहेछन् भन्ने देखेपछि मिका आफ्नो घर फर्के। (न्या १८:२२-२६) त्यसपछि दानको कुलका मानिसहरू लेस सहर गए र त्यहाँका मानिसहरूलाई मारे अनि सहरलाई पनि आगो लगाइदिए। पछि तिनीहरूले त्यहीँ ठाउँमा आफ्नो लागि दान सहर बनाए। त्यहाँ जोनाथान र तिनका छोराहरूले दानको कुलका मानिसहरूको लागि पुजारीको रूपमा सेवा गरे। तिनीहरूले “मिकाले खोपेर बनाएको मूर्ति त्यहाँ स्थापना गरे र सिलोमा साँचो परमेश्वरको घर छउन्जेल त्यो मूर्ति त्यहीँ नै रह्यो।”—न्या १८:२७-३१.
फेब्रुअरी २१-२७
बाइबलमा पाइने अनमोल धन | १ समुएल ६-८
“तपाईँको राजा को हुनुहुन्छ?”
it-2-E पृ. १६३ अनु. १
परमेश्वरको राज्य
मानव राजाको माग। इस्राएलीहरू मिश्रबाट निस्केको लगभग ४०० वर्षपछि अनि यहोवाले अब्राहामसित करार गर्नुभएको ८०० भन्दा धेरै वर्षपछि तिनीहरूले मानव राजाको माग गरे। तिनीहरूले अरू जातिहरूको राजा भएजस्तै हाम्रो लागि पनि एक जना राजा चाहियो भनेर माग गरे। तिनीहरूले यस्तो माग गर्नु भनेको यहोवाको शासनलाई इन्कार गर्नु थियो। (१स ८:४-८) तिनीहरूले यस्तो माग गर्नुको आधार थियो किनभने यहोवा परमेश्वरले अब्राहाम र याकुबसित एउटा राज्य स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको थियो। यसबाहेक तिनीहरूको आशा यी कुरामा आधारित थियो: याकुबले आफू मर्ने बेलामा यहुदाको विषयमा गरेको भविष्यवाणी (उत्प ४९:८-१०), यहोवाले इस्राएलीहरूलाई मिश्रबाट निस्केपछि भन्नुभएका कुराहरू (प्रस्थ १९:३-६), व्यवस्थाको करारमा उल्लेख गरिएका कुराहरू (व्य १७:१४, १५) अनि यहोवाले भविष्यवक्ता बालाममार्फत दिनुभएको सन्देश (गन २४:२-७, १७)। समुएलकी आमा हन्नाले पनि आफ्नो प्रार्थनामा यही आशा व्यक्त गरेकी थिइन्। (१स २:७-१०) यतिबेलासम्म परमेश्वरले यस राज्यको विषयमा “पवित्र रहस्य” पूरै खोलिसक्नुभएको थिएन। साथै त्यो राज्य कहिले स्थापना हुनेछ, त्यसको संरचना कस्तो हुनेछ अनि शासनप्रणाली कस्तो हुनेछ भनेर पनि बताइसक्नुभएको थिएन। त्यसैले इस्राएलीहरूले मानव राजाको माग गर्दा तिनीहरू हठी भइरहेको देखियो।