जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मे २-८
बाइबलमा पाइने अनमोल धन | १ समुएल २७-२९
“दाउदको युद्ध रणनीति”
it-2-E पृ. २४५ अनु. ६
झूट
अरूको हानि गर्ने उद्देश्यले झूट बोल्नुलाई बाइबलमा सरासर गलत हो भनिएको छ। तर यसको मतलब हामीले जसलाई सही जानकारी दिनु आवश्यक छैन, त्यस्ता व्यक्तिहरूलाई सबै जानकारी दिनुपर्छ भन्ने पनि होइन। येसु ख्रिष्टले यस्तो सल्लाह दिनुभयो: “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल नत्र त त्यसलाई आफ्ना खुट्टाले कुल्चीमिल्ची गरेर ती तिमीहरूतिर फर्कनेछन् र आक्रमण गर्नेछन्।” (मत्ति ७:६) त्यसैकारण येसुले कहिलेकाहीँ विनाकारण समस्या निम्त्याउन सक्ने अवस्थाहरूमा अरूलाई पूरापूर जानकारी दिनुभएन वा अरूहरूले प्रश्न सोध्दा त्यसको सीधा-सीधा जवाफ दिनुभएन। (मत्ति १५:१-६; २१:२३-२७; युह ७:३-१०) यही कारणले गर्दा अब्राहाम, इसहाक, राहाब र एलिसाले पनि यहोवाको उपासना नगर्ने व्यक्तिहरूलाई सही जानकारी दिएनन् वा आफूलाई थाह भएको सबै कुरा बताएनन्।—उत्प १२:१०-१९; अध्या. २०; २६:१-१०; यहो २:१-६; या २:२५; २रा ६:११-२३.
बहुमूल्य रत्न
w१०-E १/१ पृ. २० अनु. ५-६
के मरेकाहरूले जीवितहरूलाई मदत गर्न सक्छन्?
विचार गर्नुहोस्: बाइबलले कुनै मानिसको मृत्यु भएपछि ऊ “माटैमा फर्किन्छ” र ‘उसका विचारहरू बिलाइजान्छन्’ भनेर बताउँछ। (भजन १४६:४) भूतप्रेत खेलाउनेहरूसित कुनै सम्पर्क नगर्नू भनेर परमेश्वरले दिनुभएको आज्ञा साउल र समुएल दुवैलाई थाह थियो। त्यति मात्र नभई भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई साउल आफैले इस्राएलबाट हटाएका थिए।—लेवी १९:३१.
यसबारे सोच्नुहोस्: यदि वफादार समुएल अदृश्य शक्तिको रूपमा जीवित भएको भए के तिनी साउलसित भेट्नको लागि भूतप्रेत खेलाउनेकहाँ गएर परमेश्वरको व्यवस्था उल्लङ्घन गर्ने थिए होलान् र? यहोवाले साउललाई तिरस्कार गरिसक्नुभएको थियो। त्यसोभए मरिसकेका समुएलमार्फत साउलसित कुरा गर्न के कुनै भूतप्रेत खेलाउने व्यक्तिले सर्वशक्तिमान् परमेश्वरलाई बाध्य पार्न सक्थे र? पक्कै सक्दैनथे। त्यसैले यो “समुएल” परमेश्वरको वफादार भविष्यवक्ता थिएन भन्ने कुरा स्पष्ट छ। यो मरिसकेका समुएल बनेको ढोँग गर्ने प्रेत थियो।
मे १६-२२
बाइबलमा पाइने अनमोल धन | २ समुएल १-३
“‘धनु’ भनिने शोकगीतबाट के सिक्न सक्छौँ?”
बहुमूल्य रत्न
it-1-E पृ. ३६९ अनु. २
दाइ/भाइ
एउटै उद्देश्य अनि लक्ष्य राखेर अघि बढिरहेका व्यक्तिहरूलाई “दाइ/भाइ” भनेर सम्बोधन गरिन्छ। उदाहरणको लागि, टायरका राजा हिरामले राजा सुलेमानलाई भाइ भने। उनीहरू दुवैको ओहदा एउटै भएकोले मात्र एकअर्कालाई त्यसरी सम्बोधन गरेका थिएनन्। मन्दिर बनाउनको लागि काठ अनि अरू सामानहरू आवश्यक पर्थ्यो। त्यसैले राजा हिरामले राजा सुलेमानलाई ती सामानहरूको प्रबन्ध गरिदिए। त्यसबापत राजा सुलेमानले राजा हिरामलाई खानेकुरा पठाइदिए। यसरी उनीहरूले एकअर्कालाई सहयोग गरे। (१रा ९:१३; ५:१-१२) दाउदले यस्तो लेखे: “हेर! दाजुभाइहरू आपसमा मिलेर बस्नु कत्ति असल र मनोहर कुरा हो!” (भज १३३:१) तिनले साक्खै दाजुभाइबीच रगतको नाताले गर्दा मात्रै शान्ति र एकता स्वतः हुने होइन भन्न खोज्दै थिए। साक्खै दाजुभाइ भएकोले दाउदले जोनाथनलाई दाइ भनेका थिएनन्। तर एउटै उद्देश्य अनि एकअर्काप्रतिको प्रेमले गर्दा दाउदले जोनाथनलाई दाइ भनेर बोलाएका थिए। (२स १:२६) उस्तै किसिमको दुर्गुण अनि झुकाव भएका व्यक्तिहरूलाई पनि दाजुभाइ भन्न सकिन्छ।—हित १८:९.
मे ३०–जून ५
बाइबलमा पाइने अनमोल धन | २ समुएल ७-८
“यहोवा दाउदसित करार गर्नुहुन्छ”
w१०-E ४/१ पृ. २० अनु. ३
“तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ”
दाउदको उत्कट इच्छाले यहोवाको मन छोयो। यहोवाले दाउदको भक्ति याद गर्नुभयो अनि भविष्यवाणीअनुरूपै तिनको घरानाबाट सधैँभरि शासन गर्ने एक जना व्यक्ति खडा गर्नेछु भनेर उहाँले तिनीसित करार गर्नुभयो। यहोवाको यो प्रतिज्ञा नातानले दाउदलाई सुनाए: “तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।” (पद १६) सधैँभरि शासन गर्ने ती व्यक्ति को थिए?—भजन ८९:२०, २९, ३४-३६.
w१०-E ४/१ पृ. २० अनु. ४
“तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ”
नासरतका येसु दाउदको वंशमा जन्मिनुभयो। येसुको जन्मबारे स्वर्गदूतले यसो भने: “यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” (लुका १:३२, ३३) दाउदसित गरिएको करार येसु ख्रिष्टमा पूरा भयो। त्यसैले उहाँ कुनै मानिसले छानेको राजा हुनुहुन्न बरु यहोवाले नै प्रतिज्ञा गर्नुभएअनुसार सधैँभरि शासन गर्ने अधिकार भएको व्यक्ति हुनुहुन्छ। परमेश्वरका प्रतिज्ञाहरू सधैँ पूरा हुन्छन् भनेर कहिल्यै नबिर्सौँ।—यसैया ५५:१०, ११.
बहुमूल्य रत्न
it-2-E पृ. २०६ अनु. २
अन्तको दिन
बालामको भविष्यवाणी। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि भविष्यवक्ता बालामले मोआबका राजा बालाकलाई यसो भने: “जानुभन्दा अगाडि यी मानिसहरूले [अर्थात् इस्राएलीहरूले] भविष्यमा [अर्थात् अन्तको दिनमा] तपाईँका मानिसहरूलाई के गर्नेछन् भनेर बताउँछु। . . . याकुबबाट एउटा तारा उदाउनेछ, इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। उसले मोआबको टाउको दुई फ्याक पार्नेछ, खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।” (गन २४:१४-१७, फुटनोट) यस भविष्यवाणीको सुरुको पूर्तिमा उल्लेख गरिएको “तारा” राजा दाउद साबित भए, जसले मोआबीहरूलाई हराए। (२स ८:२) त्यसैले यस भविष्यवाणीमा उल्लेख गरिएको “अन्तको दिन” दाउद राजा भएपछि सुरु भयो। दाउदले मसीही राजा येसुलाई चित्रण गर्छन्। त्यसैले यो भविष्यवाणी येसुमा पनि पूरा हुनेछ, जब उहाँले आफ्ना शत्रुहरूलाई हराउनुहुनेछ।—यसै ९:७; भज २:८, ९.
जून ६-१२
बाइबलमा पाइने अनमोल धन | २ समुएल ९-१०
“दाउदले अटल प्रेम देखाए”
बहुमूल्य रत्न
it-1-E पृ. २६६
दाह्री
पुरातन समयमा मध्यपूर्वका मानिसहरू, जसमा इस्राएलीहरू पनि पर्थे, तिनीहरूमाझ दाह्री पाल्नु भनेको पुरुषार्थको चिन्ह थियो। परमेश्वरले इस्राएलीहरूलाई “कन्चटमुनिको कपाल” नकाट्नू र दाह्रीको कुनाकुनासम्म नकाट्नू भन्ने आज्ञा दिनुभएको थियो। (लेवी १९:२७; २१:५) उहाँले यस्तो आज्ञा दिनुको कारण बुझ्न सक्छौँ किनभने त्यसो गर्नु त्यतिबेलाका केही मूर्तिपूजकहरूको धार्मिक चलन थियो।
जून २०-२६
बाइबलमा पाइने अनमोल धन | २ समुएल १३-१४
“अम्नोनको स्वार्थले समस्या निम्त्यायो”
it-1-E पृ. ३२
अब्सालोम
अम्नोनको हत्या। अब्सालोमकी बहिनी तामार असाध्यै राम्री थिइन्। त्यसैले अब्सालोमको सौतेनी दाइ अम्नोन तामार देखेर मोहित भए। अम्नोनले आफू बिरामी भएको बहाना बनाएर तामारलाई आफ्नो घरमा बोलाए अनि खाना पकाइदिन आग्रह गरे। त्यसपछि तिनले तामारको बलात्कार गरे। अम्नोनको यस्तो कामवासना अचाक्ली घृणामा परिणत भयो अनि तिनले तामारलाई घरबाट निकालिदिए। तामारले आफ्नो पोसाक च्यातिन् र टाउकोमा खरानी छरिन्। (त्यतिबेला तामारले राजाका अविवाहित छोरीहरूले लगाउने विशेष धर्के पोसाक लगाएकी थिइन्।) अब्सालोमले तामारलाई यस्तो अवस्थामा देखे। अब्सालोमले यो देखेपछि आफ्नो सौतेनी दाइ अम्नोनको कामवासना पहिला पनि याद गरिसकेको हुनाले तिनलाई नै शङ्का गरे। अब्सालोमले आफ्नी बहिनी तामारलाई यसबारे कसैलाई नभन्नू भने र उनलाई आफ्नो घरमा लगे।—२स १३:१-२०.
it-1-E पृ. ३३ अनु. १
अब्सालोम
दुई वर्ष बित्यो। भेडाको ऊन कत्रने समय थियो। यो सबैको लागि एकदमै रमाइलो उत्सवको समय थियो। त्यसैले अब्सालोमले यरुसलेमबाट लगभग २२ किलोमिटर सुदूर उत्तरपूर्वमा पर्ने बाआल-हाजोरमा एउटा भोजको आयोजना गरे। तिनले राजा दाउद र सबै राजकुमारलाई निम्तो दिए। तर दाउदले त्यस भोजमा जान इन्कार गरे। त्यसपछि अब्सालोमले राजा दाउदका जेठो छोरा अम्नोनलाई पठाइदिन कर गरिरहे। (हित १०:१८) त्यसकारण राजा दाउद अम्नोनलाई पठाउन राजी भए। भोजमा अम्नोन “रक्सी पिएर मस्त” भएको बेला अब्सालोमले आफ्ना सेवकहरूलाई तिनलाई मार्ने हुकुम गरे। त्यसपछि राजाका अरू छोराहरू यरुसलेम फर्के तर अब्सालोमचाहिँ भागेर आफ्नो सिरियाली हजुरबुबाकहाँ गेसुर राज्यमा गए, जुन गालिल समुद्रको पूर्वतिर पर्थ्यो। (२स १३:२३-३८) यसरी भविष्यवक्ता नातानले बताएको “तरबार”-ले दाउदको घरानामा प्रहार गर्न थाल्यो र त्यसपछि तिनको घरानाले तरबारबाट कहिल्यै विश्राम पाउने थिएन।—२स १२:१०.
बहुमूल्य रत्न
w०८-E ११/१५ पृ. ५ अनु. ३
तपाईँ कस्तो व्यक्ति बन्न चाहनुहुन्छ?
आफूमा कस्तो परिवर्तन गर्नुपर्छ भनेर थाह पाउने अर्को तरिका भनेको बाइबल पात्रहरूबारे अध्ययन गरेर हो। यसो गर्दा हामीले अनुकरण गर्नुपर्ने गुणहरू र अनुकरण गर्न नहुने दुर्गुणहरूबारे थाह पाउनेछौँ। उदाहरणको लागि, कुलपिता याकुबका छोरा युसुफबारे विचार गर्नुहोस्। युसुफले थुप्रै अन्यायहरू भोग्नुपरे तापनि तिनले सकारात्मक मनोवृत्ति कायम गरिरहे र असल गुणहरू देखाइरहे। (उत्प. ४५:१-१५) अर्कोतर्फ, राजा दाउदका छोरा अब्सालोम मानिसहरूलाई चासो देखाएको ढोँग गर्थे र मानिसहरू तिनको सौन्दर्यको प्रशंसा गर्थे। तर वास्तवमा तिनी धोकेबाज र हत्यारा थिए। (२ समु. १३:२८, २९; १४:२५; १५:१-१२) अरूको भलो चाहेको जस्तो देखाउनु र बाहिरी सुन्दरता वास्तवमा साँचो सौन्दर्य होइन।
जून २७–जुलाई ३
बाइबलमा पाइने अनमोल धन | २ समुएल १५-१७
“घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे”
it-1-E पृ. १०८३-१०८४
हेब्रोन
केही वर्षपछि दाउदका छोरा अब्सालोम हेब्रोन फर्के र त्यहाँ तिनले आफ्नो बुबाको सिंहासन हडप्ने प्रयास गरे तर तिनी सफल भएनन्। (२स १५:७-१०) तिनले हेब्रोन रोज्नुको सम्भाव्य कारण कुनै समय यहुदाको राजधानी भएकोले त्यस सहरले ऐतिहासिक महत्त्व बोकेको थियो। साथै तिनी त्यही सहरमा जन्मिएका थिए। त्यसैले अब्सालोमले त्यहीँबाट दाउदको सिंहासन हडप्न खोजे। पछि दाउदका नाति रहबामले हेब्रोनलाई पुनर्निर्माण गरे। (२इ ११:५-१०) बेबिलोनीहरूले यहुदालाई नाश गरेपछि अनि यहुदीहरू निर्वासनबाट फर्केपछि तीमध्ये केही यहुदीहरू हेब्रोनमा (किर्यथ-अर्बा) बसोबास गर्न थाले।—नहे ११:२५.
कुराकानी गर्ने सीप तिखारौँ
w०९-E ५/१५ पृ. २७-२८
इथ्थैको वफादारी अनुकरण गर्नुहोस्
‘विदेशी र आफ्नो देशबाट भागेर आएका मानिस’
इथ्थै पलिस्तियालीहरूको प्रख्यात सहर गाथका बासिन्दा हुनुपर्छ। वीर योद्धा गोल्यत र इस्राएलीहरूका अरू खतरनाक शत्रुहरू यही सहरका थिए। अब्सालोमले राजा दाउदको विद्रोह गरेको विवरणमा इथ्थैबारे पहिलो चोटि उल्लेख गरिएको छ। राजा दाउदको पछिपछि लागेका इथ्थै र ६०० जना पलिस्तियालीहरू गाथबाट भागेर यरुसलेममा बसोबास गरिरहेका थिए।
इथ्थै र तिनीसँगसँगै आएका मानिसहरूलाई देख्दा आफूले भगुवा जीवन बिताएका दिनहरू दाउदले सम्झेका हुन सक्छन्। कहिले? जब दाउद र ६०० जना इस्राएली योद्धाहरूले पलिस्तियालीहरूको इलाकामा प्रवेश गरेर गाथका राजा आकिसकहाँ शरण लिएका थिए। (१ समु. २७:२, ३) दाउदले अब्सालोमको विद्रोह सामना गर्नुपरेको अवस्थामा इथ्थै र तिनका मानिसहरूले के गर्ने थिए? के तिनीहरूले अब्सालोमको पक्ष लिने थिए, तटस्थ बस्ने थिए कि दाउद र उनका मानिसहरूलाई साथ दिने थिए?
यो दृश्य कल्पना गर्नुहोस्: दाउद यरुसलेमबाट भाग्दै छन् र बेथ-मर्हाक भन्ने ठाउँमा आइपुग्छन्। (२ समु. १५:१७) त्यस ठाउँमा पुगेपछि दाउद आफ्नो फौजलाई नियाल्छन्। उनले के देख्छन्? उनको फौजमा वफादार इस्राएलीहरू मात्र नभई कराथीहरू र पेलेथीहरू पनि रहेछन्। त्यति मात्र कहाँ हो र! गाथबाट आएका इथ्थै र ६०० जना योद्धाहरू पनि त्यही फौजमा रहेछन्।—२ समु. १५:१८.
यसले दाउदको मन छुन्छ र उनी इथ्थैलाई यसो भन्छन्: “तिमी किन हामीसँग आउँदै छौ? फर्केर जाऊ अनि नयाँ राजासँग [अर्थात् अब्सालोमसँग] बस। किनकि तिमी त विदेशी हौ अनि आफ्नो देशबाट भागेर आएका थियौ। तिमी त हिजोअस्ति मात्र आएका हौ अनि आज म कसरी तिमीलाई हामीसँगै भौँतारिन लगाउन सक्छु? म कहाँ जान्छु, मलाई नै थाह छैन; त्यसैले म कसरी तिमीलाई मेरो पछिपछि लाग भनेर कर गर्न सक्छु र? फर्केर जाऊ अनि आफ्ना मानिसहरूलाई पनि आफूसँगै लैजाऊ। यहोवा परमेश्वरले तिमीलाई अटल प्रेम र वफादारी देखाइरहून्!”—२ समु. १५:१९, २०.
आफू हर हालतमा वफादार रहिरहने कुरा इथ्थै यसरी व्यक्त गर्छन्: “जीवित परमेश्वर यहोवाको अनि मेरा प्रभु, मेरा महाराजको जीवनको कसम खाएर भन्छु, हजुर जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। हजुरको यो सेवक हजुरसँगै मर्न पनि तयार छ।” (२ समु. १५:२१) यी शब्दहरू सुन्दा दाउदले आफ्नी जिजुआमा रुथले भनेका कुराहरू सम्झेका हुन सक्छन्। (रुथ १:१६, १७) इथ्थैको यस्तो मन छुने कुरा सुनेपछि दाउद तिनलाई भन्छन्: “‘हुन्छ, तिमी पनि बेँसी पार गर्न सक्छौ।’ त्यसैले गाथका इथ्थैले आफ्ना सबै मानिस र तिनीहरूका परिवारसँगै किद्रोन बेँसी पार गरे।”—२ समु. १५:२२.
“हाम्रो शिक्षाका लागि”
रोमी १५:४ मा “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्” भनिएको छ। त्यसैले हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ: इथ्थैको उदाहरणबाट म कस्तो पाठ सिक्न सक्छु? इथ्थैलाई दाउदप्रति वफादार हुन केले उत्प्रेरित गरेको हुन सक्छ, विचार गरौँ। तिनी विदेशी थिए र पलिस्तियाबाट भागेर यरुसलेममा बसोबास गरिरहेका थिए। तैपनि तिनले यहोवा जीवित परमेश्वर हुनुहुन्छ र दाउद उहाँले अभिषेक गर्नुभएका जन हुन् भनेर बुझेका थिए। हुनत दाउदले वीर योद्धा गोल्यत र थुप्रै पलिस्तियालीलाई मारेका थिए, तैपनि तिनले इस्राएलीहरू र पलिस्तियालीहरूबीचको पुरानो दुस्मनीलाई ध्यान दिएनन्। (१ समु. १८:६, ७) तिनले दाउद यहोवालाई प्रेम गर्छन् र उनीसित थुप्रै राम्रा गुण छन् भन्ने कुरा याद गरे। त्यसैकारण दाउदले पनि इथ्थैको निकै मोल गरेको कुरा कामद्वारा देखाए। अब्सालोमविरुद्ध युद्ध लड्न दाउदले आफ्नो सेनाको “एक तिहाइलाई चाहिँ गाथका इथ्थैको नेतृत्वमा पठाए।”—२ समु. १८:२.
हामीले पनि मानिसहरूको जातीय, साम्प्रदायिक वा सांस्कृतिक भिन्नतामा ध्यान दिएर पूर्वाग्रह वा दुस्मनी राख्नुको साटो तिनीहरूका राम्रा गुणहरूमा ध्यान दिने कोसिस गर्नुपर्छ। हामी दाउद र इथ्थैबीचको प्रगाढ सम्बन्धबाट कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवालाई राम्ररी चिन्यौँ र उहाँलाई प्रेम गर्न सिक्यौँ भने त्यस्ता बाधा-अवरोधहरू हटाउन सक्नेछौँ।
इथ्थैको उदाहरणलाई विचार गर्दै हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘के म महान् दाउद येसु ख्रिष्टप्रति त्यस्तै वफादारी देखाउँछु? के म सुसमाचार सुनाउने र चेला बनाउने काममा जोसका साथ भाग लिएर आफ्नो वफादारी देखाउँछु?’ (मत्ति २४:१४; २८:१९, २०) ‘म कुन हदसम्म वफादार रहन तयार छु?’
परिवारका शिरहरूले पनि वफादारी देखाउने सन्दर्भमा इथ्थैको उदाहरणमा मनन गरेर महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। परमेश्वरले नियुक्त गर्नुभएका राजा दाउदप्रति इथ्थै वफादार रहँदा त्यसको असर तिनका मानिसहरूमा पनि पऱ्यो। त्यसरी नै परिवारका शिरहरूले साँचो उपासनालाई समर्थन गर्ने निर्णयहरू गर्दा त्यसले पूरै परिवारलाई असर गर्न सक्छ। साथै त्यस्ता निर्णयहरूले गर्दा कहिलेकाहीँ केही समयको लागि गाह्रो अवस्था भोग्नुपर्ने पनि हुन सक्छ। तैपनि बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “वफादारप्रति [यहोवा] वफादार हुनुहुन्छ।”—भज. १८:२५.
अब्सालोमसित दाउदले लडाइँ गरेपछि इथ्थैलाई के भयो भन्ने विषयमा बाइबलले केही पनि बताउँदैन। तर दाउद कठिन घडीबाट गुज्रिरहेको बेला इथ्थैले देखाएको वफादारी भने उल्लेखनीय छ। परमेश्वरको प्रेरणाद्वारा लेखिएको विवरणमा इथ्थैबारे पनि उल्लेख गरिएको कुराले यहोवा वफादार व्यक्तिहरूलाई कहिल्यै बिर्सनुहुन्न र उहाँ तिनीहरूलाई इनाम दिनुहुन्छ भनेर देखाउँछ।—हिब्रू ६:१०.