प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१ पृ. ५-१०
  • शैतान र त्यसका कार्यहरूमाथि विजय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शैतान र त्यसका कार्यहरूमाथि विजय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सतावट आइपर्दा निष्ठा
  • कलहग्रस्त रूवाण्डामा
  • निष्ठावान जवानहरू
  • शैतानका अन्य धूर्त साधनहरू
  • के तपाईंले आफ्नो निष्ठा कायम राख्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्यनिष्ठा कायम राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१ पृ. ५-१०

शैतान र त्यसका कार्यहरूमाथि विजय

“यसकारण परमेश्‍वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.

१. “दुष्टहरूको हात” ले आज मानवजातिलाई कसरी असर गरिरहेको छ?

“पृथ्वी दुष्टहरूको हातमा दिइएको छ” भनी अय्यूबले सही भने। (अय्यूब ९:२४) अनि अहिले हामी मानव इतिहासको सबैभन्दा कठिन समयमा बाँचिरहेका छौं। किन? किनभने यस पृथ्वीमाथि शैतानको पैशाचिक प्रभुताको यो “आखिरी दिन” हो। शैतानको लहैलहैमा “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै” जानु कुनै आश्‍चर्यको कुरा होइन। (२ तिमोथी ३:१, १३) यस बाहेक, सतावटहरू, अन्याय, क्रूरता, अपराध, आर्थिक कठिनाइ, संदिग्ध रोग, वृद्वावस्थाका पीडा, भावनात्मक निराशा र अन्य थुप्रै कारणहरूले हामीलाई असाध्यै दुःखी र हतोत्साहित तुल्याउन सक्छ।

२. शैतानका आक्रमणहरूलाई आज हामी कसरी सामना गर्न सक्छौं?

२ महान शत्रु, शैतान तथा दियाबलले मानवजाति र विशेषगरि परमेश्‍वरको साँचो उपासकहरूमाथि आफ्नो आक्रमण केन्द्रित गरिरहेको छ। त्यसको लक्ष्य निष्ठा कायम गर्ने सबै सम्भाव्य व्यक्‍तिहरूलाई परमेश्‍वरको विरोध गर्न लगाउनुको साथै आफू र आफ्ना पैशाचिक स्वर्गदूतहरू सँगसँगै तिनीहरूलाई पनि विनाशमा लैजानु हो। तर हामीले निष्ठा कायम गर्दै धीरज धारण गऱ्‍यौं भने दियाबल हामीदेखि भाग्नेछ भनी ढुक्क छौं। येशूजस्तै आफूले भोगेका दुःखहरूबाट हामी यहोवाको ‘आज्ञा पालन’ गर्न सिक्न र उहाँको असीमित अनुग्रहद्वारा हामी अनन्त जीवन प्राप्त गर्न सक्छौं।—हिब्रू ५:७, ८; याकूब ४:७; १ पत्रुस ५:८-१०.

३, ४. (क) पावलले कस्ता बाह्‍य परीक्षाहरू सामना गर्नुपऱ्‍यो? (ख) मसीही प्राचीनको हैसियतमा पावलको चिन्ता के थियो?

३ प्रेरित पावल पनि विभिन्‍न ढङ्‌गमा परीक्षित भए। ख्रीष्टको सेवकको हैसियतमा प्रमाणहरू उल्लेख गर्दै तिनले यसप्रकार लेखे: “म झन्‌ बढ्‌ता गरी हुँ, परिश्रममा झन्‌ प्रशस्तगरी, कैदमा झन्‌ प्रशस्तगरी, कोर्राबाजीमा अनगिन्ती, मृत्युमा वारंवार। पाँचपल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। तीनपल्ट म लहुरोले पिटिएँ। एकपल्ट ढुङ्‌गाले हानिएँ। तीनचोटि म चढ़ेको जहाज फुट्यो। एक दिन एक रात मैले समुद्रमै बिताएको छु। वारंवार सफरहरूमा, नदीहरूका जोखिममा, डाँकूहरूका जोखिममा, आफ्नै जातिबाटका जोखिममा, अन्यजातिहरूबाटका जोखिममा, शहरमा जोखिम, सूनसान स्थानका जोखिम, समुद्रका जोखिम, झूटा भाइहरूका बीचमा जोखिम, परिश्रममा र कष्टमा, वारंवार रुङने काममा, भोक र प्यासमा, वारंवार उपवासमा जाड़ो र नग्नमा।

४ “बाहिरका यी सबै कुराहरूबाहेक मलाई दिनहुँ दबाउ दिने कुरा ता सबै मण्डलीहरूका निम्तिको फिक्रीनै हो। को निर्धो छ, र म निर्धो छैनँ? कसलाई चाहिँ बाधा पर्न आउँछ, र म चाहिँ रीसले जल्दिनँ?” (२ कोरिन्थी ११:२३-२९) यसप्रकार, बाहिरका कुराहरूबाट सतावट र परीक्षाहरू भोग्नु पर्दा पावलले निष्ठा कायम गरे। साथै मसीही प्राचीनको हैसियतमा मण्डलीका कमजोर भाइबहिनीहरूलाई सुदृढ पारेर तिनीहरूलाई निष्ठा कायम गर्न मदत दिन तिनी असाध्यै चिन्तित थिए। आज मसीही प्राचीनहरूको लागि कस्तो राम्रो उदाहरण!

सतावट आइपर्दा निष्ठा

५. प्रत्यक्ष सतावटको जवाफ के हो?

५ निष्ठा भङ्‌ग गर्न शैतानले कस्ता साधनहरू प्रयोग गर्छ? माथि उल्लेख गरिएअनुसार शैतानका सबैभन्दा ह्रिंस्रक तरिकाहरूमध्ये एक, प्रत्यक्ष सतावट हो। तर त्यसको जवाफ छ। एफिसी ६:१०, ११ हामीलाई यसरी सल्लाह दिन्छ: “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान होओ। शैतानका युक्‍तिहरूका विरूद्धमा खड़ा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।”

६. यहोवाका साक्षीहरू “पूर्णतया विजयी” भएका छन्‌ भनी कसरी देखाउन सकिन्छ?

६ यी अन्तिम दिनहरूमा यहोवाका साक्षीहरूले प्रायजसो परीक्षाहरूको सामना गर्नु परेको छ। त्यसकारण हामी पावल सँगसँगै भन्‍न सक्छौं: “यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयीहरूभन्दा पनि बढ़ी छौं।” (रोमी ८:३७) नाजी दमनको समय १९३३ देखि १९४५ बीच अष्ट्रिया, जर्मनी, पोल्याण्ड र युगोस्लाभियाका यातना शिविरहरूमा, १९४५ देखि १९८९ बीच पूर्वी यूरोपमा साम्यवादी दमन हुँदा र हालका समयमा अफ्रिका तथा ल्याटिन अमेरिकाका केही क्षेत्रहरूमा सताइएका यहोवाका साक्षीहरूले कायम गरेको निष्ठाको विवरणले उक्‍त शब्दहरूको प्रमाण दिन्छ।

७. निष्ठा कायम गर्ने सन्दर्भमा इथियोपियाका कस्ता उत्साहवर्धक उदाहरणहरू रेकर्ड गरिएका छन्‌?

७ सन्‌ १९७४ देखि १९९१ बीच इथियोपियाका यहोवाका साक्षीहरूले त्यस्तै निष्ठाको उत्साहवर्धक उदाहरण प्रस्तुत गरेका छन्‌। राजनीतिक झुकाव भएका बन्दीकर्त्ताले एक बन्दी भाइलाई यसो भने: “तिमीहरूलाई फेरि स्वतन्त्र छोड्‌नुभन्दा त चिडियाखानाका सिंहहरूलाई छोड्‌नु बेस हुनेछ।” सतावट दिने यी क्रूर व्यक्‍तिहरूले यहोवाका सेवकहरूलाई सताए र केही वर्षपश्‍चात्‌ अपील अदालतले मृत्युदण्ड सुनायो। अरूको निम्ति चेताउनी सरह एक जना भाइको मृत शरीर सबैले देख्न सकिने गरी राखियो। मृत्युदण्ड विरूद्ध अपील गर्ने केही भाइहरूलाई अलि स्वतन्त्र अदालतले छुटकारा दियो र यीमध्ये केही विश्‍वासी ‘विजेताहरू’ ले सन्‌ १९९४ को सुरुतिर अदिस अबाबामा भएको “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलन कार्यक्रममा सहभागी थिए।a—यूहन्‍ना १६:३३; तुलना गर्नुहोस्‌ १ कोरिन्थी ४:९.

८. शैतानले “जातिसंहार[को]” फाइदा कसरी उठाउन खोजेको छ?

८ प्रत्यक्ष मुखामुख आक्रमण गरेर शैतानले ती वफादार भाइबहिनीहरूको निष्ठा भङ्‌ग गर्न सकेको छैन। त्यसो भए, त्यसले अन्य कस्ता धूर्त साधनहरू अपनाउँछ? यी अन्तिम दिनहरूबारे प्रकाश १२:१२ यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” परमेश्‍वरका वफादार जनहरूलाई सतावटद्वारा नाश गर्न असफल भएकोले आफ्नो क्रोधमा त्यसले सम्पूर्ण जनसङ्‌ख्यालाई नरसंहार गर्ने प्रयास गर्छ। निस्सन्देह यसको उद्देश्‍य सारा जनसङ्‌ख्याको सँगसँगै यहोवाका जनहरूलाई पनि नाश गर्नु हो। यसप्रकार तथाकथित जातिसंहारद्वारा युगोस्लाभियाका केही ठाउँहरूमा र लाइबेरिया, बुरूण्डी तथा रूवाण्डामा जातिहत्या गर्ने प्रयास गरिएको छ।

९. शैतानका तरिकाहरू प्रायजसो किन विफल हुन्छन्‌? उदाहरणहरू दिनुहोस्‌।

९ तर शैतानका प्रायजसो तरिकाहरूले त्यसमाथि नै प्रतिकूल असर पार्छ किनभने शैतानी दुःखहरूले गर्दा सोझा हृदय भएका व्यक्‍तिहरूलाई एउटा कुरा मानी लिन जागृत गराउँछ। त्यो हो, तिनीहरूको एक मात्र आशा यहोवाका साक्षीहरूले जोशिला भएर प्रचार गरिरहेको परमेश्‍वरको राज्यमा निर्भर छ। (मत्ती १२:२१) निस्सन्देह, जिज्ञासुहरू राज्यतर्फ ओइरिन्छन्‌! उदाहरणको लागि, कलहग्रस्त बोस्निया र हर्सगोभिनामा मार्च २६, १९९४ का दिन येशूको मृत्युको स्मरणार्थ उत्सवमा १,३०७ उपस्थित भए, जुन गत सालभन्दा २९१ जना बढी थियो। सारायेभो (४१४), जेनेट्‌स (२२३), टुज्ला (३३९), बान्या लुका (२५५) र अन्य शहरहरूमा शिखर उपस्थिति सङ्‌ख्या रेकर्ड गरिए। छिमेकी मुलुक क्रोएसियामा ८,३२६ उपस्थित भएर नयाँ शिखर कायम भयो। ती क्षेत्रहरूमा भइरहेको हिंसाले त्यहाँका यहोवाका साक्षीहरूलाई “उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार” गर भन्‍ने आज्ञा पालन गर्नबाट रोकेन।—१ कोरिन्थी ११:२६.

कलहग्रस्त रूवाण्डामा

१०, ११. (क) तथाकथित मसीही रूवाण्डामा के भएको छ? (ख) विश्‍वासी मिसनरीहरूले आफ्नो विचार कसरी व्यक्‍त गरेका छन्‌?

१० सन्‌ १९९३ मा २,०८० राज्य प्रकाशकहरू भएको रूवाण्डामा ४,०७५ जना “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनमा उपस्थित भए र २३० ले बप्तिस्मा लिए। तीमध्ये १४२ जनाले तत्कालै सहायक अग्रगामी सेवाको लागि आवेदन दिए। गृह बाइबल अध्ययन सङ्‌ख्यामा बढोत्तरी भएर सन्‌ १९९४ मा ७,६५५ पुग्यो। स्पष्ट छ, शैतानलाई यो बढोत्तरी मन परेको थिएन! त्यहाँका अधिकांश जनसङ्‌ख्याले मसीही हुँ भन्‍ने दाबी गरे तापनि अन्तरजातीय नरसंहारहरू सुरु भए। भ्याटिकनको ला ओजरभाटोर रोमानोले यो मानी लियो: “यो एउटा खुल्लमखुल्ला जातिहत्या हो र दुःखको कुरा, यसको लागि क्याथोलिकहरू समेत जिम्मेवार छन्‌।” पाँच लाख पुरुष, स्त्री तथा केटाकेटीहरू मरे र सालाखाला २० लाख घरबारविहीन वा भाग्न बाध्य भए। अहिंसाको मसीही तटस्थतालाई कायम गर्दै यहोवाका साक्षीहरू एकसाथ बस्ने प्रयास गरे। हाम्रा सयौं भाइबहिनीहरू मारिए। तर १३ जना मारिएको एउटा मण्डलीमा ६५ राज्य प्रकाशकहरू थिए र त्यहाँको उपस्थिति सङ्‌ख्या वृद्धि भएर सन्‌ १९९४ अगस्तमा १७० पुग्यो। अरू देशका साक्षीहरूबाट आएका राहत सामग्रीहरू त्यस देशमा सर्वप्रथम पुगेका राहत सामग्रीहरूमध्ये थिए। बाँच्नेहरूको लागि हामी प्रार्थना गरिरहेका छौं।—रोमी १२:१२; २ थिस्सलोनिकी ३:१, २; हिब्रू १०:२३-२५.

११ रूवाण्डामा गएका तीन मिसनरीहरू त्यहाँबाट भाग्न सफल भए। तिनीहरू लेख्छन्‌: “संसारभरि हाम्रा भाइहरूले यस्तै प्रकारका र त्योभन्दा नराम्रा परिस्थितिहरू सामना गर्छन्‌ भन्‍ने कुरा हामीलाई थाहा छ। साथै यो यस दुष्ट रीतिरिवाजको अन्तिम दिनका चिह्नहरूको भाग हो भनेर पनि हामीलाई थाहा छ। तैपनि, व्यक्‍तिगत तवरमा आफूमाथि नराम्रा घटनाहरू आइपर्दा त्यस परिस्थितिको वास्तविकताबारे गम्भीरतापूर्वक सजग हुन र जीवन कतिको मूल्यवान छ भनी मूल्याङ्‌कन गर्न हामीलाई मदत मिल्छ। केही खास शास्त्रपदहरू हाम्रो लागि विशेष महत्त्वको साबित भएका छन्‌। त्यस समयको हामी उत्सुकतापूर्वक प्रतीक्षा गर्छौं जब पहिलेका कुराहरू बितिसकेका हुनेछन्‌। त्यतिन्जेल हामी यहोवाको सेवामा व्यस्त रहन चाहन्छौं।”

निष्ठावान जवानहरू

१२, १३. (क) एक जवानले कस्तो निष्ठावान मार्ग अपनाए? (ख) आज हाम्रा जवानहरूले कहाँ प्रोत्साहन पाउन सक्छन्‌?

१२ सत्यको खातिर परिवारका सदस्यहरूबाट तिरस्कृत हुनेहरूले “सय गुणा” आशिष्‌ पाउनेछन्‌ भनी येशूले सङ्‌केत गर्नुभयो। (मर्कूस १०:२९, ३०) उत्तर अफ्रिकाकी दश वर्षीया एन्टेल्याको सन्दर्भमा यो सत्य साबित भयो। उनले परमेश्‍वरको नाउँ, यहोवा सुन्‍नेबित्तिकै त्यसलाई प्रेम गर्न थालिन्‌। उनले यहोवाका साक्षीहरूसित अध्ययन गरिन्‌। उनको परिवारका विरोधी सदस्यहरूले घरभित्र पस्न नदिंदा पनि ९० मिनेट हिंडेर उनी सभामा जान्थिन्‌। तेह्र वर्षकी हुँदा उनले घर-घर प्रचार गर्न थालिन्‌ र परिवारको विरोध चर्किन थाल्यो। एक दिन नातेदारहरूले उनको हात खुट्टा बाँधेर चर्को घाममा सात घण्टासम्म राखे र बीच बीचमा तिनीहरूले फोहोर पानी छ्यापी दिन्थे। तिनीहरूले निर्ममतापूर्वक पिटेर उनको एउटा आँखा कामै नलाग्ने बनाइ दिए र अन्ततः उनलाई घरबाट निकाले। तर उनले एउटा अस्पतालमा काम पाईन्‌ र अन्तमा नर्स बन्‍न दक्ष भईन्‌। बीस वर्षको उमेरमा उनले बप्तिस्मा लिईन्‌ र तुरुन्तै सहायक अग्रगामीको रूपमा भर्ती भईन्‌। उनको निष्ठा देखेर प्रभावित भई उनको परिवारले उनलाई घरमा पुनः स्वागत गरे र तिनीहरूमध्ये नौ जना गृह बाइबल अध्ययन गर्न राजी भएका छन्‌।

१३ भजनसंग्रह ११६ अध्याय, विशेषगरि पद १-४ बाट एन्टेल्याले निकै प्रोत्साहन प्राप्त गरिन्‌, जुन उनले बारम्बार पढेकी छिन्‌: “परमप्रभुमा म प्रेम राख्तछु, किनभने उहाँले मेरो सोर र मेरो अन्तरबिन्ती सुन्‍नुभएको छ। किनभने उहाँले आफ्नो कान मतिर थाप्नुभएको छ, यसकारण म बाचुञ्जेल उहाँको पुकारा गर्नेछु। मृत्युको पासोहरूले मलाई घेरेका थिए, र पातालको पीड़ाले मलाई फेला पारेको थियो। दुःख शोक मैले भोग्नुपरेको थियो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें। ‘हे परमप्रभु, म आग्रहपूर्वक बिन्ती गर्दछु, मेरो प्राण बचाइदिनुहोस्‌।’” यहोवाले त्यस्ता प्रार्थनाहरूको जवाफ दिनुहुन्छ!

१४. पोलिश साक्षीहरूले कसरी उल्लेखनीय निष्ठा देखाएका छन्‌?

१४ येशूको दिनमाझैं शैतानले प्रायजसो धार्मिक हठधर्मीपनलाई प्रयोग गरेर सतावट सल्काएका छन्‌। तर सफलता भने प्राप्त भएको छैन। सन्‌ १९९४ यरबुक अफ जेहोभाज्‌ विट्‌नेसेजमा वर्णन गरिएझैं पोल्याण्डका हाम्रा भाइहरूको उदाहरण उल्लेखनीय छ। जवानहरूले पनि आफ्नो निष्ठा प्रमाणित गर्नु परेको थियो। सन्‌ १९४६ मा त्यस्तै एउटी १५ वर्षीयालाई यसो भनिएको थियो: “क्रसको क्याथोलिक चिह्न मात्र गर। नत्रभने तिमीलाई गोली हानिनेछ!” निष्ठा कायम गरेकी हुनाले उनलाई घिसार्दै जङ्‌गलमा लगियो, भयानक यातना दिइयो र गोली हानियो।—मत्ती ४:९, १० तुलना गर्नुहोस्‌।

शैतानका अन्य धूर्त साधनहरू

१५, १६. (क) शैतानको पैशाचिक तरिका के हो र हामीले त्यसको कसरी विरोध गर्न सक्छौं? (ख) हाम्रा जवानहरूले ठोकर खानुपर्ने किन कुनै कारण छैन?

१५ निस्सन्देह, शैतानको पैशाचिक नीति “सके कजाउने नभए बिगार्ने” हो! शैतानसित अनेकौं क्रूर हतियारहरू छ। त्यसकारण प्रेरित पावलले यसरी चेताउनी दिनु कुनै आश्‍चर्यपूर्ण कुरा होइन: “हाम्रो यो लड़न्त मानिसहरूका विरूद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरूद्धमा हो। यसैकारण परमेश्‍वरका सारा हात-हतियार उठाओ, र खराब दिनमा सामना गर्न र सबै काम गरेर खड़ा हुनसक्ने होओ।” (एफिसी ६:१२, १३) भौतिकवादी चाहनाहरू, पतित मनोरञ्जन तथा अफवाह, शैतानी सङ्‌गीत, स्कूलमा सङ्‌गी साथीहरूको दबाब, लागू पदार्थको दुर्व्यसन र मतवालापनमध्ये कुनै पनि कुराले हाम्रो जीवन बिगार्न सक्छ। यसर्थ, प्रेरितले अझै सल्लाह दिन्छन्‌: “तीबाहेक विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निवाण निभाउनसक्ने हुनेछौ।”—एफिसी ६:१६.

१६ शैतानले आज यस संसारमा जताततै फैलाइरहेको असभ्य सङ्‌गीतलाई ध्यानमा राख्दा यो विशेषगरि आवश्‍यक देखिन्छ। कुनै कुनै अवस्थामा यो प्रत्यक्षतः शैतानवादसित सम्बन्धित छ। सान डिएगो नगरका (स.रा.अ.) प्रहरी निरीक्षकको कार्यालयबाट प्राप्त रिपोर्टले यो कुरा उल्लेख गऱ्‍यो: “यहाँ एउटा सङ्‌गीत जल्सा भएको थियो। त्यस सङ्‌गीत टोलीको सँगसँगै १५,००० केटाकेटीहरूले ‘नताशै’ भनी जपिरहेका थिए—शैतान शब्दलाई पछाडिबाट उच्चारण गर्दा त्यो शब्द बन्छ।” शैतानवाद भनेको किशोर-किशोरीहरू अल्झने खाल्डो भनी वर्णन गरिएको छ “किनभने तिनीहरू असहाय, क्रोधित र एक्लै भौंतारिरहेका हुन्छन्‌।” मसीही मण्डलीका जवानहरू हो, तपाईंहरू अल्झनु पर्ने कुनै खाँचो छैन! शैतानका क्षेप्यास्त्रहरूले कहिल्यै छेड्‌न नसक्ने आत्मिक पोशाक यहोवाले तपाईंको लागि प्रबन्ध गर्नुहुन्छ।—भजनसंग्रह १६:८, ९.

१७. भावनात्मक निराशामाथि कसरी विजय प्राप्त गर्न सकिन्छ?

१७ भावनाहरूमा खलल गर्ने प्रकारले शैतानका अग्निमय क्षेप्यास्त्रहरू रचिएका हुन्छन्‌। शारीरिक बिमारी अथवा गम्भीर निराशाजनक अवस्थाजस्ता जीवनका दबाबहरू आइपर्दा हाम्रो विरोधीले कसै कसैमा निकम्मा हुनुको भावना जगाउन सक्छ। परमेश्‍वरको सेवामा धेरै घण्टा बिताउन असक्षम हुँदा अथवा मण्डलीका केही सभाहरूमा उपस्थित हुन नसक्दा केही व्यक्‍तिहरू निरूत्साहित हुन सक्छन्‌। त्यस्ता कठिन मानसिक वेदनाहरूबाट उम्कन प्राचीनहरू र अरू दयालु हृदय भएका भाइबहिनीहरूको मायालु हेरचाहले मदत पुऱ्‍याउन सक्छ। यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई प्रेम गर्नुहुन्छ भनी कहिल्यै नबिर्सनुहोस्‌। (१ यूहन्‍ना ४:१६, १९) भजनसंग्रह ५५:२२ यसो भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”

१८. कसै कसैले कस्ता शैतानी युक्‍तिहरूसित सङ्‌घर्ष गर्नुपर्छ?

१८ शैतानका “युक्‍तिहरू” हालै अर्को रूपमा पनि देखा पर्न थालेका छन्‌। केही मुलुकहरूका धेरै वयस्कहरू आफू केटाकेटी छँदा शैतानी सम्प्रदायहरूद्वारा क्रूरतापूर्वक यौनिक दुर्व्यवहार गरिएको हुँदा आक्रामक विचारहरूले अचाक्ली पिरोलिएका महसुस गर्छन्‌। त्यस्ता विचारहरू कहाँबाट आउँछन्‌? विस्तृत अनुसन्धानको बावजूद सांसारिक विशेषज्ञहरूका विचारधाराहरू असाध्यै भिन्‍न छन्‌। त्यस्ता विचारहरू वास्तविक यादगारहरू हुन्‌ भनी कोही सोच्छन्‌ भने कतिपय व्यक्‍तिहरूको विचारमा ती शायद शङ्‌कास्पद उपचार-विधिद्वारा उत्प्रेरित मनोकल्पनाहरू हुन्‌। अनि अरू थुप्रैको सोचाइमा ती वाल्यावस्थामा भएको मानसिक वेदनासित सम्बन्धित मतिविभ्रम हुन्‌।

१९. (क) अय्यूबले कस्ता विचारहरू सामना गर्नुपऱ्‍यो? (ख) प्राचीनहरूले एलीहूको उदाहरण कसरी अनुसरण गर्न सक्छन्‌?

१९ एलीपज र सोपर मार्फत शैतानले भनेका “शान्ति भङ्‌ग गर्ने विचारहरू” [न्युव] परमेश्‍वरको सेवक अय्यूबले अनुभव गर्नु चासोको कुरा हो। (अय्यूब ४:१३-१८; २०:२, ३) यसकारण अय्यूबले “दुःख” भोगे र फलस्वरूप आफ्नो मनलाई पीडित तुल्याउने “त्रासहरू[बारे]” “समझहीन” कुरा गर्न थाले। (अय्यूब ६:२-४; ३०:१५, १६) शान्त भएर एलीहूले अय्यूबको कुरा सुने र कामकुराहरूमा यहोवाको सर्व-बुद्धिमानी दृष्टिकोण बुझ्न इमानदारीपूर्वक मदत दिए। त्यस्तैगरि आज, समझदार प्राचीनहरूले त्यस्ता दुःखी व्यक्‍तिहरूलाई बढी “दबाब” नदिएर आफ्नो चासो देखाउँछन्‌। बरु, एलीहूजस्तै तिनीहरू धैर्यतापूर्वक सुन्छन्‌ र सञ्चो पार्ने परमेश्‍वरको वचनको तेल घस्छन्‌। (अय्यूब ३३:१-३, ७; याकूब ५:१३-१५) तसर्थ, वास्तविक अथवा कल्पित मानसिक वेदनाहरूद्वारा भावनाहरू विचलित भएका अथवा अय्यूबजस्तै “सपना . . . र दर्शनद्वारा” तर्सिएकाहरूले मण्डलीभित्र आफूलाई सञ्चो पार्ने शास्त्रीय सान्त्वना पाउन सक्छन्‌।—अय्यूब ७:१४; याकूब ४:७.

२०. दुःखित मसीहीहरूलाई आध्यात्मिक सन्तुलन कायम राख्न कसरी मदत दिन सकिन्छ?

२० अहिले, कुनै न कुनै तरिकामा यी डरलाग्दा विचारहरू पछाडि शैतानको हात छ भनी एक जना मसीही निश्‍चित हुन सक्छ। मण्डलीमा कोही यसप्रकार पीडित छ भने ती डरलाग्दा मानसिक दृश्‍यहरू शैतानले तिनीहरूको आध्यात्मिक सन्तुलनलाई भङ्‌ग गर्न चलाएको प्रत्यक्ष प्रयास हो भनी बुझ्नु बुद्धिमानी हुनेछ। तिनीहरूलाई धीरज र समझदारपूर्ण शास्त्रीय समर्थन चाहिन्छ। कष्ट अनुभव गरिरहेकाहरूले प्रार्थनापूर्वक यहोवातर्फ फर्केर अनि आध्यात्मिक रेखदेखबाट लाभ उठाएर असामान्य शक्‍तिको मदत प्राप्त गर्न सक्छन्‌। (यशैया ३२:२; २ कोरिन्थी ४:७, ८) यसप्रकार तिनीहरूले विश्‍वासी भएर सहन र मण्डलीको शान्ति भङ्‌ग गराउने आक्रामक विचारहरूलाई छिर्न दिनदेखि रोक्न सक्नेछन्‌। (याकूब ३:१७, १८) हो, तिनीहरूले येशूको जस्तै आत्मा देखाएर दियाबलको विरोध गर्न सक्नेछन्‌। उहाँले यसो भन्‍नुभयो: “ए शैतान हटी जा।”—मत्ती ४:१०; याकूब ४:७.

२१. शैतानका छली चालहरूबारे शास्त्रले हामीलाई कसरी चेताउनी दिन्छ?

२१ प्रेरित पावलले २ कोरिन्थी ११:३ मा चेताउनी दिएझैं शैतानको लक्ष्य जसरी भएपनि हाम्रो मनलाई भ्रष्ट पार्नु हो भनेर हामीलाई थाहा छ। “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ भन्‍ने मलाई डर लागेको छ।” वर्तमान समयमा परमेश्‍वरबाट तर्किएका सारा प्राणीहरू अथवा मानव समाजको विनाशले नूहको समयमा भ्रष्ट तथा हिंस्रक ठिमाहा “नपीलहरू[ले]” ल्याएको नराम्रो परिस्थितिको स्मरण गराउँछ। (उत्पत्ति ६:४, १२, १३, पादटिप्पणी; लूका १७:२६) तसर्थ, विशेषगरि परमेश्‍वरको जनमाथि रीस पोख्न शैतानले धूर्त चालहरू र छली तरिकाहरू प्रयोग गर्नु कुनै आश्‍चर्यको कुरा होइन।—१ पत्रुस ५:८; प्रकाश १२:१७.

२२. हाम्रो बाटोबाट शैतान हटाइएपछि हामी कस्ता आशिष्‌हरूको प्रतीक्षा गर्न सक्छौं?

२२ बाइबलको पुस्तक, अय्यूबको अन्तिम अध्यायहरूमा शैतानको नाउँ समेत लिइएको छैन। परमेश्‍वरप्रति मानिसहरूले निष्ठा कायम गर्न सक्दैनन्‌ भन्‍ने शैतानको दुष्ट चुनौतीलाई अय्यूबले झूटो साबित गरिसकेका थिए। त्यस्तैगरि, निकट भविष्यमा निष्ठा कायम गर्नेहरूको “ठूलो भीड़[ले]” “महासङ्‌कष्ट” पार गर्दा शैतान अगाध खाँदमा फालिनेछ। अय्यूबले पाएको आशिष्‌भन्दा अझ महान आशिष्‌हरू पार्थिव प्रमोदवनमा उपभोग गर्न विश्‍वासी अय्यूब लगायत विश्‍वासी पुरुष तथा स्त्रीहरूले त्यस “ठूलो भीड़”लाई साथ दिनेछन्‌!—प्रकाश ७:९-१७; २०:१-३, ११-१३; अय्यूब १४:१३.

[फुटनोट]

a सन्‌ १९९२ यरबुक अफ जेहोभाज्‌ विट्‌नेसेज्‌, पृष्ठ १७७ हेर्नुहोस्‌।

पुनरावृत्तिका लागि प्रश्‍नहरू

◻ निष्ठा पालन गर्ने सन्दर्भमा अय्यूब, येशू र पावलले कस्तो असल उदाहरण बसाले?

◻ निष्ठावान व्यक्‍तिहरूले शैतानको सामना कसरी गरेका छन्‌?

◻ जवानहरूले शैतानका धूर्त चालहरूको कसरी विरोध गर्न सक्छन्‌?

◻ शैतानी युक्‍तिहरूको सामना गर्न के गर्न सकिन्छ?

[पृष्ठ ७-मा भएको चित्र]

मृत्युदण्ड पाउने आफ्नो पिताको उदाहरण अनुसरण गर्ने मेश्‍वत र योलान इथियोपियामा यहोवाको पूर्ण समय सेवा गर्छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

एन्टेल्या, उत्तर अफ्रिकाकी निष्ठावान जवान

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने