जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania
मे ६-१२
बाइबलमा पाइने अनमोल धन भजन ३६-३७
बहुमूल्य रत्न
it-2-E पृ. ४४५
पहाड, डाँडा
अटल, स्थायी अनि उच्च। प्रतीकात्मक रूपमा पहाडहरूले अटल अनि स्थायी कुरालाई बुझाउँछ। (यसै ५४:१०; हब ३:६; तुलना गर्नुहोस्: भज ४६:२) त्यसैले भजनरचयिताले यहोवाको धार्मिकतालाई “परमेश्वरका पहाडहरूजस्तै” (भज ३६:६) भनेर उल्लेख गर्दा तिनले उहाँको धार्मिकता अटल छ भनिरहेका हुन सक्छन्। साथै पहाडहरू उच्च भएजस्तै परमेश्वरको धार्मिकता मानिसको भन्दा कता हो कता महान् छ भनेर पनि बताउन खोजिरहेका हुन सक्छन्। (यसै ५५:८, ९ तुलना गर्नुहोस्।) परमेश्वरको रिसको सातौँ कचौरा खन्याइँदा के हुन्छ भन्नेबारे प्रकाश १६:२० मा यसो भनिएको छ: “डाँडाहरू भेटिएनन्।” यसबाट डाँडाहरूजस्ता उच्च देखिने कुराहरू पनि परमेश्वरको रिसको सामने टिक्न सक्दैनन् भनेर बुझ्न सकिन्छ।—यर्मि ४:२३-२६ तुलना गर्नुहोस्।
मे २०-२६
बाइबलमा पाइने अनमोल धन भजन ४०-४१
बहुमूल्य रत्न
it-2-E पृ. १६
यहोवा
बाइबलको पूरै विवरण यहोवाको सार्वभौमिकतामा केन्द्रित छ। यसबाट हामी यहोवा परमेश्वरको मुख्य उद्देश्य थाह पाउन सक्छौँ। त्यो हो, उहाँको नामको पवित्रीकरण। यसमा उहाँको नाममा लागेको सबै कलङ्क हटाउनु समावेश छ। त्यति मात्र होइन, स्वर्गदूतहरू अनि मानिसहरूले उहाँको नामलाई पवित्र मानेर उहाँको महिमा गर्नु पनि आवश्यक छ। त्यसको मतलब, तिनीहरूले यहोवा ब्रह्माण्डको सार्वभौम शासक हुनुहुन्छ भन्ने कुरा मनैदेखि स्विकार्नुपर्छ र राजीखुसीले उहाँको अधीनमा बस्नुपर्छ। अनि उहाँप्रतिको प्रेमले उत्प्रेरित भई उहाँको इच्छाअनुसार चल्नुपर्छ। भजन ४०:५-१० मा दाउदले यहोवालाई प्रार्थना गर्दा यस्तै मनोवृत्ति देखाएर उहाँको नाम पवित्र पारे। (यस भजनका केही अंश येसु ख्रिष्टमा लागू हुन्छ भनेर प्रेषित पावलले हिब्रू १०:५-१० मा बताएका छन्।)
मे २७–जून २
बाइबलमा पाइने अनमोल धन भजन ४२-४४
बहुमूल्य रत्न
it-1-E पृ. १२४२
स्याल
बाइबलमा स्याललाई थुप्रै पटक उदाहरणको रूपमा चलाइएको छ। अय्युबले आफ्नो दयनीय अवस्थालाई बुझाउन तिनी “स्यालहरूको लागि दाजुभाइसरह” भएको कुरा बताए। (अयु ३०:२९) परमेश्वरका जनहरूले लज्जास्पद हार भोग्नुपर्दा भजनरचयिताले यसरी दुःख व्यक्त गरे: “स्यालहरूको ओडारमा तपाईँले हामीलाई थचार्नुभएको छ।” (भज ४४:१९) यो कुरा व्यक्त गर्दा तिनले युद्धभूमिमा मरेकाहरूको रगत चाट्न स्यालहरू भेला भएको दृश्य कल्पना गरेका हुन सक्छन्। (भज ६८:२३ तुलना गर्नुहोस्।) ईसापूर्व ६०७ मा बेबिलोनले यरुसलेममा घेराबन्दी गर्दा यत्ति ठूलो अनिकाल परेको थियो कि आमाहरूले दयामाया भन्ने कुरा सबै बिर्सिए। त्यसकारण यर्मियाले इस्राएलीहरू असाध्यै कठोर भएका छन् भनेर बताए जबकि माउ स्यालहरूले समेत आफ्ना बच्चाहरूलाई माया गर्छन्।—विला ४:३, १०.
जून १७-२३
बाइबलमा पाइने अनमोल धन भजन ५१-५३
बहुमूल्य रत्न
it-1-E पृ. ६४४
दोएग
दोएग एक एदोमी थिए, जसले पछि साँचो उपासना अङ्गालेका थिए र साउलका गोठालाहरूको नाइकेको रूपमा काम गर्थे। (१स २१:७; २२:९) सायद तिनले कुनै भाकल गरेकोले, अशुद्ध भएकोले अथवा कुष्ठरोग लागेकोले नोबमा तिनलाई “यहोवा परमेश्वरसामु उपस्थित हुनदेखि रोकेर राखिएको थियो।” त्यहाँ प्रधानपुजारी अहिमेलेकले दाउदलाई भेटीको रोटी र गोल्यतको तरबार दिएको दोएगले देखे। साउलले आफ्ना सेवकहरूलाई “तिमीहरू सबै मिलेर मविरुद्ध षड्यन्त्र रचेका छौ!” भनेपछि दोएगले नोबमा आफूले देखेको कुरा बताइदिए। साउलले प्रधानपुजारी अनि नोबका अरू पुजारीहरूलाई बोलाएपछि अहिमेलेकलाई सोधपुछ गरे। त्यसपछि साउलले सबै पुजारीलाई मार्न आफ्ना सिपाहीहरूलाई आदेश दिए। तर सिपाहीहरूले त्यसो गर्न मानेनन्। त्यसपछि दोएगले साउलको आदेशअनुसारै ८५ जना पुजारीलाई मारे। यस्तो दुष्ट काम गरेपछि दोएग नोब सहरमा गए अनि त्यहाँका साना ठूला सबै बासिन्दा र वस्तुभाउलाई मारे।—१स २२:६-२०.
भजन अध्याय ५२ मा दाउदले दोएगबारे लेखिरहेका थिए भनेर यस अध्यायको परिचयले स्पष्ट पार्छ। तिनले यस्तो लेखे: “छुराजस्तै धारिलो तेरो जिब्रोले षड्यन्त्र रच्छ र छली कुरा बोल्छ। तँ असल कुरालाई भन्दा दुष्ट कुरालाई मन पराउँछस्, सत्य बोल्नुभन्दा झूट बोल्न तँलाई मन पर्छ। ए छली जिब्रो! हानि पुऱ्याउने हरेक बोली तँलाई मन पर्छ।”—भज ५२:२-४.
जून २४-३०
बाइबलमा पाइने अनमोल धन भजन ५४-५६
बहुमूल्य रत्न
it-1-E पृ. ८५७-८५८
पूर्वनिर्धारण
यहुदाले येसुलाई धोका दिँदा बाइबलमा गरिएको भविष्यवाणी पूरा भयो। साथै तिनले धोका दिनेछन् भनेर यहोवा र येसुलाई थाहा थियो भन्ने कुरा पनि देखिन्छ। (भज ४१:९; ५५:१२, १३; १०९:८; प्रे १:१६-२०) तर यहुदाले धोका दिनेछन् भनेर परमेश्वरले पहिल्यै निर्धारण गर्नुभएको थियो भन्न मिल्दैन। हुनत भविष्यवाणीहरूमा येसुको घनिष्ठ साथीले धोका दिनेछन् भनेर बताइएको छ तर तिनी को हुनेछन् भनेर तोकिएको छैन। अर्को कुरा, यदि यहुदाले धोका दिनेछन् भनेर परमेश्वरले पहिल्यै निर्धारण गर्नुभएको थियो भने यो उहाँका सिद्धान्तहरूसित मेल खाने थिएन। उहाँको एउटा सिद्धान्तबारे प्रेषित पावलले यस्तो लेखे: “कुनै मानिसमाथि आफ्नो हात राख्न कहिल्यै हतार नगर्नू न त कहिल्यै अरूका पापहरूको भागीदार बन्नू; आफूलाई चोखो राखिराख्नू।” (१ति ५:२२; तुलना गर्नुहोस्: १ति ३:६) येसुले १२ प्रेषित छान्ने सन्दर्भमा बुद्धिमानी र सही निर्णय गर्न सकियोस् भनेर रातभरि आफ्नो बुबालाई प्रार्थना गर्नुभयो र उहाँको डोऱ्याइ खोज्नुभयो। (लुका ६:१२-१६) यहुदाले धोका दिनेछन् भनेर परमेश्वरले पूर्वनिर्धारण गर्नुभएको थियो भने उहाँको डोऱ्याइमा प्रश्न उठ्ने थियो। साथै उहाँको सिद्धान्तसित पनि मेल खाने थिएन र उहाँ स्वयम् नै यहुदाका पापहरूको भागिदार बन्नुहुने थियो।
त्यसैले प्रेषितको रूपमा छाँनिदा यहुदाको हृदयमा धोका दिने मनोभाव देखिएको थिएन भनेर प्रष्ट हुन्छ। तर पछि तिनले आफ्नो हृदयमा ‘विषालु जरा उम्रन दिएर आफूलाई अशुद्ध बनाए।’ फलस्वरूप तिनले परमेश्वरलाई होइन, सैतानलाई पछ्याए; तिनको हृदयमा चोर्ने र धोका दिने जस्ता कुराहरूले जरा गाड्यो। (हिब्रू १२:१४, १५; युह १३:२; प्रे १:२४, २५; या १:१४, १५) समय बित्दै जाँदा तिनी साह्रै भ्रष्ट भए र येसुले तिनको हृदयमा के छ भनेर थाह पाउनुभयो अनि तिनले धोका दिनेछन् भनेर भविष्यवाणी गर्न सक्नुभयो।—युह १३:१०, ११.