यहोवाका साक्षीहरू अन्त्येष्टिप्रति कस्तो दृष्टिकोण राख्छन्?
अन्त्येष्टिप्रति हामीले राख्ने दृष्टिकोण र चलनहरू बाइबलका शिक्षाहरूमा आधारित हुन्छन्। जस्तै:
आफूले माया गरेको व्यक्तिलाई गुमाउनु पर्दा शोक गर्नु स्वाभाविक हो। येसुका चेलाहरू पनि आफूले माया गरेका व्यक्तिहरूलाई गुमाउनु पर्दा शोकमा डुबे। (युहन्ना ११:३३-३५, ३८; प्रेषित ८:२; ९:३९) हामी अन्त्येष्टिलाई कुनै उत्सवजसरी मनाउँदैनौँ। (उपदेशक ३:१, ४; ७:१-४) बरु त्यतिबेला हामी शोकमा डुबेकाहरूलाई समानुभूति देखाउँछौँ।—रोमी १२:१५.
मरेकाहरूलाई केही पनि थाह हुँदैन। हाम्रो सांस्कृतिक पृष्ठभूमि जस्तोसुकै भए तापनि हामी बाइबलको शिक्षासित मेल नखाने रीतिथिति वा चलनअनुसार चल्नदेखि इन्कार गर्छौँ। मरेकाहरूको अस्तित्व बाँकी हुन्छ र तिनीहरूले हामीलाई मदत गर्न वा तर्साउन सक्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौँ। (उपदेशक ९:५, ६, १०) साथै हामी विभिन्न रीतिथितिअनुसार पनि चल्दैनौँ। जस्तै, शव नजिकै रातभरि नसुति बस्ने, अन्त्येष्टि र वार्षिकी भव्य तरिकाले मनाउने, मरेकाहरूको लागि बलि चढाउने, मरेकाहरूसित कुरा गर्ने र मदत माग्ने, विधवा वा विधुरले गर्नुपर्ने कामकाज गर्ने। बरु हामी बाइबलको यो आज्ञा पालन गर्छौँ: “आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड।”—२ कोरिन्थी ६:१७.
मरेकाहरूको लागि आशा छ। मरेकाहरू फेरि जीवित हुनेछन् र चाँडै मृत्यु नहुने समय आउने छ भनेर बाइबलमा बताइएको छ। (प्रेषित २४:१५; प्रकाश २१:४) यो आशाले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई ज्यादै शोकाकुल नहुन मदत गरेको थियो। अनि यसले हामीलाई पनि ज्यादै शोकाकुल नहुन मदत गर्छ।—१ थिस्सलोनिकी ४:१३.
बाइबलमा मर्यादामा रहन सल्लाह दिइएको छ। (हितोपदेश ११:२) हामी अन्त्येष्टिलाई आफ्नो प्रतिष्ठा र पैसाको “धाकधक्कु” लगाउने मौकाको रूपमा हेर्दैनौँ। (१ युहन्ना २:१६, फुटनोट) हामी मनोरञ्जन गर्ने उद्देश्यले भव्य अन्त्येष्टि गर्दैनौँ। हामी महङ्गो-महङ्गो कफिन (शव-बाकस) प्रयोग गर्दैनौँ न त हामी अरूको ध्यान खिच्ने किसिमको पहिरन नै लगाउँछौँ।
हाम्रै तरिकाअनुसार अन्त्येष्टि गर्नुपर्छ भनेर हामी अरूलाई जबरजस्ती गर्दैनौँ। हामी बाइबलमा पाइने यो सिद्धान्त पालन गर्छौँ: “हामी सबैले परमेश्वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) तर आफ्नो विश्वासबारे बताउने मौका पाउँदा भने हामी “कोमल भाव र गहिरो आदर”-का साथ बताउँछौँ।—१ पत्रुस ३:१५.
यहोवाका साक्षीहरूको अन्त्येष्टिमा के गरिन्छ?
कहाँ गरिन्छ? यदि मृतकको परिवारले अन्त्येष्टि भाषण राख्ने निर्णय गर्छ भने तिनीहरूले जहाँ चाहन्छ त्यही नै अन्त्येष्टि भाषण दिइन्छ। जस्तै, सभाभवनमा, कसैको घरमा, जलाउने वा गाड्ने ठाउँमा।
के गरिन्छ? शोकमा परेकाहरूलाई सान्त्वना दिन एउटा भाषण दिइन्छ। त्यस भाषणमा मरेकाहरूको अवस्थाबारे र फेरि जीवित हुने आशाबारे बाइबलमा बताइएको कुरा चर्चा गरिन्छ। (युहन्ना ११:२५; रोमी ५:१२; २ पत्रुस ३:१३) साथै त्यतिबेला मृतकले देखाएका असल गुणहरूबारे उल्लेख गरिन्छ र तिनको राम्रो उदाहरणबाट सिक्न सकिने कुराहरू पनि बताइन्छ।—२ समुएल १:१७-२७.
बाइबलमा आधारित एउटा गीत पनि गाइन सक्छ। (कलस्सी ३:१६) अनि अन्तमा मन छुने प्रार्थना गरिन्छ।—फिलिप्पी ४:६, ७.
पैसा तिर्नुपर्छ? पर्दैन। हामी अन्त्येष्टिलगायत कुनै पनि धार्मिक कामकुराको लागि पैसा लिँदैनौँ। हाम्रा कुनै पनि सभाहरूमा चन्दा उठाइँदैन।—मत्ति १०:८.
को-को आउन सकिन्छ? हरेक हप्ता हुने हाम्रा सभाहरूमा जस्तै अन्त्येष्टि कार्यक्रममा पनि सबै जना आउन सक्छन्।
के यहोवाका साक्षीहरू अरू धर्मको अन्त्येष्टिमा जान्छन्?
यस सन्दर्भमा प्रत्येक यहोवाका साक्षीहरूले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर अन्त्येष्टिमा जाने वा नजाने भनेर निर्णय गर्छन्। (१ तिमोथि १:१९) तर हामी बाइबलको शिक्षासित मेल नखाने कुनै पनि धार्मिक रीतिथितिमा भने भाग लिँदैनौँ।—२ कोरिन्थी ६:१४-१७.