-
येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्प्रहरीधरहरा—२००९ | जुलाई १
-
-
येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्
“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।”—यूह. ७:४६.
१. येशूको सिकाउने तरिकाप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?
येशूले सिकाएको सुन्न पाउनु कत्ति रोमाञ्चकारी हुन्थ्यो होला, कल्पना गर्नुहोस् त! उहाँले भेटेका मानिसहरूलाई कस्तो छाप छोड्नुभयो त्यसबारे हामी बाइबलमा पाउँछौं। उदाहरणका लागि सुसमाचार पुस्तकका लेखक लूकाले नासरतका मानिसहरू “उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे” भने। मत्तीले चाहिं डाँडाको उपदेशमा उहाँले सिकाएको कुरा सुन्नेहरू “उहाँका शिक्षाले छक्क परे” भनी बताए। अनि यूहन्नाले येशूलाई समात्न पठाएका अफिसरहरू “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन” भन्दै रित्तो हात फर्केको बताए।—लूका ४:२२; मत्ती ७:२८; यूह. ७:४६.
२. येशूले कुन-कुन तरिकामा सिकाउनुभयो?
२ ती अफिसरहरू गलत थिएनन्। येशू, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् शिक्षक हुनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन। उहाँले स्पष्टसित, सरल ढंगमा अनि अकाट्य तर्कसहित सिकाउनुभयो। कुशलतासाथ दृष्टान्त र प्रश्नहरू चलाउनुभयो। उहाँको शिक्षा मान्छे सुहाउँदो हुन्थ्यो चाहे ठूलो/सानो जस्तोसुकै ओहदाको नै किन नहोस्। उहाँले सिकाएको सत्य सजिलै बुझ्न सकिने भए तापनि वास्तवमा गहिरो हुन्थ्यो। तर यी कुराहरूले मात्र येशूलाई महान् शिक्षक बनाएको चाहिं होइन।
एउटा महत्त्वपूर्ण गुण—प्रेम
३. शिक्षकको रूपमा येशू आफ्नो समयका धर्मगुरुहरू भन्दा कसरी भिन्न हुनुहुन्थ्यो?
३ शास्त्री र फरिसीहरूमाझ पनि ज्ञान भएको अनि त्यो ज्ञान दिन सक्ने कला भएको मेधावी व्यक्तिहरू पक्कै थिए। तर येशूको सिकाउने तरिकालाई कुन कुराले उनीहरूको भन्दा एकदमै भिन्न बनायो? त्यतिबेलाका धर्मगुरुहरूले सर्वसाधारणलाई प्रेम गर्दैन थिए। बरु तिनीहरूलाई ‘श्रापित भीड’ ठान्दै घृणा गर्थे। (यूह. ७:४९) त्यसको ठीक उल्टो येशू तिनीहरूप्रति दयाले भरिनुभयो किनभने तिनीहरू “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) उहाँ कोमल, सहानुभूतिशील र दयालु हुनुहुन्थ्यो। अर्को कुरा, ती धर्मगुरुहरूमा परमेश्वरप्रति साँचो प्रेम थिएन। (यूह. ५:४२) तर येशूले भने आफ्ना पितालाई प्रेम गर्नुहुन्थ्यो र पिताको इच्छाबमोजिम गर्दा उहाँलाई खुसी लाग्थ्यो। धर्मगुरुहरूले आफ्नो सुबिस्ताको लागि परमेश्वरको वचन बङ्गाए तर येशूले “परमेश्वरको वचन”-लाई प्रेम गर्नुभयो—उहाँले यो वचन सिकाउनुभयो, व्याख्या गर्नुभयो, त्यसको पक्षमा बोल्नुभयो र त्यसमै जिउनुभयो। (लूका ११:२८) हो, उहाँको शिक्षा, मानिसहरूप्रतिको व्यवहार अनि तिनीहरूलाई दिएको निर्देशनमा उहाँको गहिरो प्रेम झल्कियो।
४, ५. (क) प्रेमसाथ सिकाउनु किन महत्त्वपूर्ण छ? (ख) सिकाउँदा किन ज्ञान र कला पनि चाहिन्छ?
४ हामीबारे चाहिं के भन्न सकिन्छ? ख्रीष्टको पछि लाग्नेहरू भएकाले सेवकाई अनि जीवनमा हामी उहाँको अनुकरण गर्न चाहन्छौं। (१ पत्रु. २:२१) त्यसैले हाम्रो उद्देश्य बाइबलको ज्ञान बताउनु मात्र नभई यहोवाका गुणहरू झल्काउनु पनि हो—मुख्यगरि उहाँको प्रेम। चाहे हामीमा धेरै ज्ञान होस् वा थोरै, अथवा सिकाउने कलामा हामी एकदमै दक्ष होऔं वा नहोऔं, प्रेम देखायौं भने प्रचार गरेका मानिसहरूको हृदयसम्म पुग्न सक्छौं। चेला बनाउने काममा साँच्चै प्रभावकारी बन्ने हो भने हामीले प्रेमसाथ सिकाएर येशूको अनुकरण गर्नै पर्छ।
५ असल शिक्षक बन्न पक्कै पनि हामीमा ज्ञान र त्यसलाई बताउने कला हुनुपर्छ। येशूले आफ्ना चेलाहरूलाई यी दुवै कुरा प्राप्त गर्न मदत गर्नुभयो अनि यहोवाले पनि आज आफ्नो संगठनमार्फत हामीलाई त्यसको लागि मदत गर्नुहुन्छ। (यशैया ५४:१३; लूका १२:४२ पढ्नुहोस्) यद्यपि हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ। जब ज्ञान, कला र प्रेमले एकसाथ काम गर्छ तब त्यसको परिणाम एकदमै सन्तोषजनक हुन्छ। त्यसोभए सिकाउँदा हामी कसरी प्रेम देखाउन सक्छौं? येशू र उहाँका चेलाहरूले कसरी त्यसो गरे? आउनुहोस्, हेरौं।
हामीले यहोवालाई प्रेम गर्नै पर्छ
६. आफूलाई मन पर्ने व्यक्तिबारे हामी कसरी कुरा गर्छौं?
६ मन परेको चीजबारे कुरा गर्दा हामीलाई रमाइलो लाग्छ। मन परेको विषयमा कुरा गर्दा हामी जोसिन्छौं अनि हाम्रो खुसी र उत्साह हाउभाउमा झल्किन्छ। विशेषगरि मन पर्ने मान्छेबारे कुरा गर्दा यो लागू हुन्छ। सामान्यतया उसको बारेमा थाह भएको कुरा अरूलाई बताउन एकदमै उत्सुक हुन्छौं। हामी उसको गुणगान गाउँछौ, कदर गर्छौं र उसको पक्ष लिएर कुरा गर्छौं। अरूहरू पनि आफूजस्तै उक्त व्यक्तिका गुणहरू अनि ऊप्रति आकर्षित होस् भनी हामी त्यसो गर्छौं।
७. परमेश्वरप्रतिको प्रेमले येशूलाई के गर्न उत्प्रेरणा दियो?
७ अरूमा यहोवाप्रतिको प्रेम खेती गर्नुअघि हामी आफैले उहाँलाई चिन्नु र प्रेम गर्नु अनिवार्य छ। हुन पनि साँचो उपासनाको जग नै परमेश्वरप्रतिको प्रेम हो। (मत्ती २२:३६-३८) यस सन्दर्भमा येशू सिद्ध नमुना हुनुहुन्छ। उहाँले यहोवालाई आफ्नो सारा मन, बुद्धि, प्राण र शक्तिले प्रेम गर्नुभयो। येशूले पितासित स्वर्गमा सायद अरबौं वर्ष बिताएकोले उहाँलाई राम्ररी चिन्नुभयो। परिणाम? येशूले भन्नुभयो: “म पितालाई प्रेम गर्दछु।” (यूह. १४:३१) त्यो प्रेम उहाँको बोली अनि हरेक काममा झल्कियो। प्रेमले गर्दा नै येशू परमेश्वरलाई प्रसन्न तुल्याउने कुराहरू गर्न उत्प्रेरित हुनुभयो। (यूह. ८:२९) प्रेमले गर्दा नै उहाँले धर्मगुरुहरूको खुलेआम बदख्वाइँ गर्नुभयो जसले कपट्याइँपूर्वक परमेश्वरको प्रतिनिधि हौं भनी दाबी गरिरहेका थिए। अनि प्रेमले नै येशूलाई यहोवाबारे कुरा गर्न अनि अरूलाई उहाँबारे जान्न र प्रेम गर्न उत्प्रेरणा दियो।
८. परमेश्वरप्रतिको प्रेमले येशूका चेलाहरूलाई के गर्न घचघच्यायो?
८ येशूले जस्तै उहाँका प्रथम शताब्दीका चेलाहरूले पनि यहोवालाई प्रेम गरे। अनि यही प्रेमले तिनीहरूलाई आँटिलो र जोसिलो भई सुसमाचार प्रचार गर्न घचघच्यायो। शक्तिशाली धर्मगुरुहरूको विरोधको बाबजुद तिनीहरूले यरूशलेमलाई आफ्नो शिक्षाले भरिदिए। तिनीहरू देखेको र सुनेको कुरा नबोली बस्नै सकेनन्। (प्रेरि. ४:२०; ५:२८) यहोवा साथमा हुनुहुन्छ र उहाँले आशिष् दिनुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाह थियो—नभन्दै उहाँले आशिष् दिनु पनि भयो! भन्ने हो भने येशूको मृत्युपछि ३० वर्षभन्दा पनि कम समयमा सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी प्रेरित पावलले लेख्न सके।—कल. १:२३.
९. हामी कसरी परमेश्वरप्रतिको प्रेमलाई अझै गहिरो बनाउन सक्छौं?
९ यदि हामी साँच्चै नै प्रभावकारी शिक्षक बन्न चाहन्छौं भने परमेश्वरप्रतिको प्रेम अझै गहिरो हुँदै गइरहेको छ/छैन त्यो पनि पक्का गर्नु आवश्यक छ। हामी कसरी त्यसो गर्न सक्छौं? परमेश्वरसित प्रार्थनामार्फत बारम्बार कुराकानी गरेर। साथै उहाँको वचन बाइबल अध्ययन गरेर, त्यसमा आधारित प्रकाशनहरू पढेर अनि ख्रीष्टियान सभाहरू धाएर पनि उहाँप्रतिको प्रेमलाई बलियो बनाउँछौं। जति-जति उहाँको ज्ञानमा बढ्दै जान्छौं त्यति-त्यति हाम्रो हृदय उहाँप्रतिको मायाले भरिंदै जान्छ। त्यसपछि वचन र कामद्वारा परमेश्वरप्रतिको प्रेमलाई व्यक्त गर्दा अरूले त्यो देख्नेछन् अनि सायद तिनीहरू पनि उहाँतिर खिंचिन्छन्।—भजन १०४:३३, ३४ पढ्नुहोस्।
जे सिकाउँछौं त्यसलाई प्रेम गर्नै पर्छ
१०. असल शिक्षकको एउटा चिनारी के हो?
१० असल शिक्षकको एउटा चिनारी हो, आफूले सिकाएको कुरालाई प्रेम गर्नु। सिकाउने कुरा सत्य, महत्त्वपूर्ण अनि बहुमूल्य छ भनेर तिनले विश्वास गर्नै पर्छ। यदि कुनै शिक्षकले आफूले सिकाउने कुराको ख्याल राख्छ भने तिनको उत्साह सिक्ने व्यक्तिमा परेको अमेट छापमा देखिनेछ। अर्कोतर्फ, यदि कुनै शिक्षकले आफूले सिकाउने कुरालाई साँच्चै नै मोल गर्दैन भने विद्यार्थीले त्यस कुराको मोल गरोस् भनेर कसरी आशा गर्न सक्छन् र? परमेश्वरको वचनको शिक्षकको रूपमा तपाईंले बसाल्ने उदाहरणलाई कहिल्यै हल्कासित नलिनुहोस्। येशूले भन्नुभयो: “चेला . . . निपुण भएपछि आफ्ना गुरुजत्तिकै हुनेछ।”—लूका ६:४०.
११. आफूले सिकाएको कुरालाई येशूले किन प्रेम गर्नुभयो?
११ सिकाएको कुरालाई येशूले प्रेम गर्नुभयो। आफूसित अरूलाई बाँड्नुपर्ने बहुमूल्य कुरा छन् भनेर उहाँलाई थाह थियो। ती हुन्: स्वर्गीय पिताबारेको सत्य, “परमेश्वरकै वचनहरू” अनि “अनन्त जीवनका कुरा।” (यूह. ३:३४; ६:६८) चम्किलो ज्योतिले झैं येशूले सिकाएको सत्यले खराब कुरालाई उदाङ्ग पारिदियो अनि असल कुरालाई प्रकाश पारिदियो। त्यसले झूटा धर्मगुरुबाट धोका पाएका अनि दियाबलबाट पेलिएका नम्र व्यक्तिहरूलाई आशा र सान्त्वना दियो। (प्रेरि. १०:३८) सत्यप्रति येशूको प्रेम उहाँको शिक्षामा मात्र होइन तर उहाँको हरेक काममा पाइन्छ।
१२. सुसमाचारप्रति पावलले कस्तो महसुस गरे?
१२ येशूले जस्तै उहाँका चेलाहरूले पनि यहोवा र ख्रीष्टबारेको सत्यलाई यत्ति धेरै प्रेम गरे कि अरूलाई त्यो कुरा बताउनदेखि विरोधीहरूले तिनीहरूलाई निरुत्साहित पार्न सकेनन्। पावलले रोममा भएका सँगी ख्रीष्टियानहरूलाई यस्तो लेखे: “सुसमाचार प्रचार गर्न, म तयार छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने हरेकको . . . मुक्तिको निम्ति, यो परमेश्वरको शक्ति हो।” (रोमी १:१५, १६) पावलले सत्य घोषणा गर्नुलाई सम्मानको रूपमा लिए। तिनले लेखे: “अन्यजातिहरूमा सुसमाचार अथवा ख्रीष्टको अगम सम्पत्तिको प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइएको हो।” (एफि. ३:८) अरूलाई यहोवा र उहाँको उद्देश्यबारे सिकाउँदा पावलले देखाएको उत्साह कल्पना गर्नु गाह्रो छैन।
१३. सुसमाचारलाई प्रेम गर्नुपर्ने कस्ता कारणहरू छन्?
१३ परमेश्वरको वचनमा पाइने सुसमाचारले सृष्टिकर्ता चिन्न र उहाँसित मायालु सम्बन्ध गाँस्न सक्षम बनाउँछ। त्यसले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको सन्तोषजनक जवाफ दिन्छ अनि यसमा जीवन परिवर्तन गर्ने, आशा प्रदान गर्ने, र कठिनाइको बेला दृढ बनाउने शक्ति छ। साथै त्यसले कहिल्यै अन्त नहुने अर्थपूर्ण जीवनतर्फ डोऱ्याउँछ। सुसमाचार भन्दा बढी अमूल्य वा बढी महत्त्वपूर्ण ज्ञान अरू छैन। यो हामीलाई दिइएको अनमोल वरदान हो जसले अपार आनन्द दिन्छ। अनि यो वरदान अरूलाई बाँड्दा थप आनन्द मिल्छ।—प्रेरि. २०:३५.
१४. जे सिकाउँछौं त्यसप्रतिको प्रेमलाई हामी कसरी बलियो बनाउन सक्छौं?
१४ सुसमाचारप्रतिको प्रेमलाई अझ बलियो बनाउन तपाईं के गर्न सक्नुहुन्छ? परमेश्वरको वचन पढ्दा एकछिन रोकेर के पढ्नुभयो विचार गर्नुहोस्। उदाहरणको लागि येशूको पार्थिव सेवकाईको दौडान उहाँ सँगसँगै भएको अथवा प्रेरित पावलसँगै यात्रा गरेको कल्पना गर्नुहोस्। नयाँ संसारमा भएको चित्र मानसपटलमा उतार्नुहोस् अनि त्यतिबेलाको जीवन कत्ति भिन्न हुने होला सोच्नुहोस्। सुसमाचारप्रति आज्ञाकारी हुँदा पाएका आशिष्हरूलाई ताजा बनाउनुहोस्। यदि तपाईंले सुसमाचारप्रतिको प्रेमलाई बलियो बनाइराख्नुभयो भने सिक्ने व्यक्तिहरूले पनि त्यो प्रेम बुझ्नेछन्। तसर्थ राम्रै कारणको लागि हामीले सिकेको कुराहरूमा होसियारीसाथ चिन्तन गर्नुपर्छ र जे सिकाउँछौं त्यसमा ध्यान दिनुपर्छ।—१ तिमोथी ४:१५, १६ पढ्नुहोस्।
मानिसहरूलाई प्रेम गर्नै पर्छ
१५. शिक्षकले आफ्ना विद्यार्थीहरूलाई किन प्रेम गर्नुपर्छ?
१५ असल शिक्षकले, विद्यार्थी सिकिरहेको कुरामा भाग लिन उत्सुक होस् अनि उसले खुसीसाथ आफ्नो मनको कुरा बताओस् भनेर सजिलो महसुस गराउँछन्। मायालु शिक्षकले ज्ञान दिन्छन् किनभने तिनी विद्यार्थीहरूको साँच्चै ख्याल राख्छन्। विद्यार्थीहरूको आवश्यकता र बुझ्ने क्षमतालाई मनमा राखेर सिकाउँछन्। विद्यार्थीहरूको क्षमता र परिस्थितिप्रति विचारशील हुन्छन्। शिक्षकको त्यस्तो प्रेम उनीहरूले बुझ्नेछन् अनि सिकाउने र सिक्ने दुवैलाई रमाइलो हुन्छ।
१६. येशूले मानिसहरूलाई कसरी प्रेम देखाउनुभयो?
१६ येशूले त्यस्तै प्रेम देखाउनुभयो। उहाँको प्रेमको महान् अभिव्यक्ति भनेको अरू बाँचून् भनेर आफ्नो सिद्ध मानव शरीर बलिदान चढाउनु हो। (यूह. १५:१३) सेवकाईको दौडान उहाँले दिन-रात नभनी मानिसहरूको शारीरिक अनि विशेषगरी आध्यात्मिक ख्याल राख्नुभयो। मानिसहरू आफूकहाँ आऊन् भनेर आशा गर्नुको साटो तिनीहरूलाई सुसमाचार सुनाउन सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो। (मत्ती ४:२३-२५; लूका ८:१) उहाँ धीरजी र बुझकी हुनुहुन्थ्यो। चेलाहरूलाई सच्याउनुपर्दा मायालु ढंगमा सम्झाउनुहुन्थ्यो। (मर्कू. ९:३३-३७) तिनीहरू सुसमाचारका प्रभावकारी प्रचारक बन्नेछन् भन्ने विश्वस्तता देखाउँदै उहाँले तिनीहरूको हौसला बढाउनुभयो। अहिलेसम्म कोही पनि येशू जत्तिको मायालु शिक्षक बन्न सकेको छैन। चेलाहरूलाई देखाएको प्रेमले तिनीहरूलाई पनि उहाँप्रति प्रेम देखाउन र उहाँको आज्ञा पालन गर्न प्रेरणा दियो।—यूहन्ना १४:१५ पढ्नुहोस्।
१७. येशूका चेलाहरूले अरूप्रति कसरी प्रेम देखाए?
१७ येशूले जस्तै उहाँका चेलाहरूले पनि आफूले प्रचार गरेका मानिसहरूप्रति गहिरो प्रेम र स्नेह देखाए। सतावटलाई सहेर अनि ज्यानलाई जोखिममा हालेर अरूको सेवा गरे र सुसमाचार प्रचार गर्न सफल भए। सुसमाचार स्वीकार्नेहरूप्रति कस्तो स्नेह! प्रेरित पावलका यी शब्दहरू साँच्चै मन छुने खालका छन्: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ्तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।”—१ थिस्स. २:७, ८.
१८, १९. (क) प्रचारकार्यको लागि हामी किन बलिदानहरू चढाउन इच्छुक छौं? (ख) हामीले देखाएको प्रेम अरूले याद गर्छन् भन्नेबारे एउटा अनुभव बताउनुहोस्।
१८ त्यसैगरि आज पनि यहोवाका साक्षीहरूले परमेश्वरलाई चिन्न र सेवा गर्न चाहनेहरूलाई खोज्न विश्वव्यापी रूपमा प्रचार गर्छन्। वास्तवमा हामीले विगत १७ वर्षदेखि लगातार प्रचार गर्ने अनि चेला बनाउने काममा वर्षेनी एक अरबभन्दा बढी घण्टा बिताउँदै आएका छौं र अहिले पनि बिताउँदैछौं। प्रचारकार्यको लागि समय, शक्ति र भौतिक सर-सामग्री बलिदान चढाउनुपर्ने भए तापनि हामी एकदमै इच्छुकताका साथ यसो गर्छौं। येशूले जस्तै हामीले पनि बुझेका छौं, स्वर्गमा बस्नुहुने मायालु पिता मानिसहरूले अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान पाएको चाहनुहुन्छ। (यूह. १७:३; १ तिमो. २:३, ४) सोझा हृदय भएकाहरूले पनि हामीले जस्तै यहोवालाई जान्न र प्रेम गर्न सकून भनेर मदत गर्नको लागि प्रेमले हामीलाई उत्प्रेरित गर्छ।
१९ हामीले प्रेम देखाउँदा त्यो अरूले याद गर्छन्। उदाहरणको लागि अमेरिकाको एक जना अग्रगामी बहिनीले प्रियजन गुमाएकाहरूलाई सान्त्वना दिन पत्रहरू पठाइन्। प्रतिक्रियामा एक जनाले यस्तो लेखे: “सुरुमा त मलाई अचम्म लाग्यो। चिन्दै नचिनेको व्यक्तिलाई दुःखको घडीमा सहन मदत दिनको लागि त्यसरी पत्र लेख्ने व्यक्ति पनि हुँदा रहेछन्। म यति मात्र भन्न सक्छु कि तपाईंमा अरूप्रति अनि मानिसलाई जीवनको बाटोमा डोऱ्याउने परमेश्वरप्रति प्रेम रहेछ।”
२०. प्रेमसाथ सिकाउनु कत्तिको महत्त्वपूर्ण छ?
२० भन्ने गरिन्छ, जब प्रेम र कलाले एकसाथ काम गर्छ तब हामी उत्कृष्ट नतिजाको आशा गर्न सक्छौं। विद्यार्थीलाई सिकाउँदा हामी तिनले यहोवालाई चिन्ने दिमाग र उहाँलाई प्रेम गर्ने हृदय विकास गरोस् भन्ने चाहन्छौं। हो, साँच्चै नै प्रभावकारी शिक्षक बन्न हामीलाई तीन वटा कुराको आवश्यकता पर्छ—परमेश्वरप्रति प्रेम, सत्यप्रति प्रेम अनि मानिसहरूप्रति प्रेम। त्यस्तो प्रेम खेती गर्दा र त्यसलाई सेवकाईमा देखाउँदा दिंदाखेरिको आनन्द मात्र होइन तर येशूको अनुकरण गर्दैछौं र यहोवालाई खुसी बनाउँदैछौं भन्ने जानेर पनि सन्तुष्टि पाउँछौं। (w09 7/15)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• अरूलाई सुसमाचार सिकाउँदा हामीमा यी कुरा हुनु किन आवश्यक छ:
परमेश्वरप्रति प्रेम?
जे सिकाउँछौं त्यसप्रति प्रेम?
जसलाई सिकाउँछौं तिनीहरूप्रति प्रेम?
[पृष्ठ २१-मा भएको चित्र]
कुन कुराले येशूको सिकाउने तरिकालाई शास्त्री र फरिसीहरूको भन्दा भिन्नै बनायो?
[पृष्ठ २४-मा भएको चित्र]
असल शिक्षाको लागि ज्ञान, सीप र सबैभन्दा महत्त्वपूर्ण प्रेम चाहिन्छ
-
-
येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्प्रहरीधरहरा—२००९ | जुलाई १
-
-
येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्
“सुसमाचार प्रचार गर्न हामीलाई . . . साहस मिलेको थियो।”—१ थिस्स. २:२, NRV.
१. राज्यको सुसमाचार किन यत्तिको हृदयस्पर्शी छ?
राम्रो समाचार सुन्न पाउनु कत्ति आनन्दको कुरा! त्यसमा पनि सबैभन्दा राम्रो, परमेश्वरको राज्यको सुसमाचार हो। यसले हामीलाई कष्ट, बिमारी, दुःख-पीडा, अनि मृत्युको अन्त हुने आश्वासन दिन्छ। यसले अनन्त जीवनतर्फ डोऱ्याउने बाटो खोल्छ, परमेश्वरको उद्देश्य प्रकट गर्छ अनि उहाँसित कसरी सुमधुर सम्बन्ध गाँस्न सकिन्छ त्यो देखाउँछ। तपाईंलाई लाग्दो होला येशूले मानवजातिलाई बाँडेको यो समाचार सुनेपछि त सबै जना खुसी हुन्छन्। तर दुःखको कुरा त्यसो होइन।
२. “अलग गराउन आएँ” भन्ने येशूको अभिव्यक्तिलाई व्याख्या गर्नुहोस्।
२ येशूले चेलाहरूलाई भन्नुभयो: “म पृथ्वीमा मेल गराउन आएको हुँ भनी नसम्झ। मेल गराउनलाई ता होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसको बाबुको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, र बुहारीलाई उसकी सासुको विरुद्धमा अलग गराउन आएँ। मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्।” (मत्ती १०:३४-३६) थुप्रैले सुसमाचारलाई अँगाल्नुको साटो तिरस्कार गर्छन्। कोही-कोहीले आफूलाई यसका प्रचारकहरूको शत्रु बनाउँछन्—परिवारकै सदस्यहरू भए तापनि।
३. प्रचार गर्ने जिम्मा पूरा गर्न हामीलाई के चाहिन्छ?
३ येशूले घोषणा गरेकै सत्य हामी पनि घोषणा गर्छौं अनि त्यतिबेला सुन्नेहरूले उहाँलाई जस्तो प्रतिक्रिया देखाएका थिए अहिले पनि त्यस्तै प्रतिक्रिया देखाउँछन्। यो नौलो कुरा होइन। येशूले चेलाहरूलाई भन्नुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (यूह. १५:२०) थुप्रै मुलुकमा हामीले खुलेआम विरोधको सामना नगरे तापनि तिरस्कार र उदासीनताको सामना गर्नुपर्ने हुन्छ। तसर्थ साहसी भई सुसमाचार प्रचार गरिरहन हामीलाई विश्वास र आँट चाहिन्छ।—२ पत्रुस १:५-८ पढ्नुहोस्।
४. प्रचार गर्न पावल किन साहसी हुनुपऱ्यो?
४ सायद कहिलेकाहीं तपाईंलाई सेवकाईमा भाग लिन गाह्रो लाग्छ अथवा सेवकाईका केही पक्षमा सहभागी हुन डर लाग्छ। यदि त्यसो हो भने यस्तो महसुस गर्ने तपाईं मात्र होइन। प्रेरित पावल साहसी र निर्भयी प्रचारक थिए। तिनीसित सत्यको एकदमै राम्रो ज्ञान थियो तर तिनले पनि प्रचार गर्दा संघर्ष गर्नुपऱ्यो। थिस्सलोनिकीका ख्रीष्टियानहरूलाई तिनले लेखे: “तिमीहरू जान्दछौ, फिलिप्पीमा अगाडि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बोल्नालाई, अति विरोधमा [अर्थात् “संघर्ष गर्दै,” NW ] पनि, हाम्रा परमेश्वरमा हामी निर्भय रह्यौं।” (१ थिस्स. २:२) फिलिप्पीमा अधिकारीहरूले पावल र तिनका साथी सिलासलाई छडीले पिटे, झ्यालखानामा हाले र ठिङ्गुरामा राखे। (प्रेरि. १६:१६-२४) त्यसो भए तापनि पावल र सिलास निरन्तर प्रचार गर्न ‘निर्भयी’ अर्थात् साहसी भए। हामी पनि कसरी साहसी हुन सक्छौं? जवाफको लागि आउनुहोस्, बाइबल समयको परमेश्वरका सेवकहरूलाई साहसी भई यहोवाबारे सत्य बोल्न केले सक्षम बनायो र हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं, विचार गरौं।
दुश्मनीको सामना गर्न साहसी हुनु आवश्यक
५. यहोवाप्रति वफादार रहनेहरूलाई किन सधैं नै साहस चाहिएको छ?
५ आँट र साहसको उत्कृष्ट नमुना पक्कै पनि येशू ख्रीष्ट हुनुहुन्थ्यो। यद्यपि मानव इतिहासको सुरुदेखि नै यहोवाप्रति वफादार सबैलाई साहसी हुनुपरेको छ। किन? अदनमा भएको विद्रोह पश्चात् यहोवाले उहाँको सेवा गर्ने र शैतानको सेवा गर्नेहरूबीच दुश्मनी हुनेछ भन्नुभयो। (उत्प. ३:१५) जब धर्मी व्यक्ति हाबिल तिनका दाइद्वारा मारिए तब यो दुश्मनी लगत्तै देखियो। पछि अर्का विश्वासी व्यक्ति हनोक जो जलप्रलय अघिका थिए तिनले पनि दुश्मनी मोल्नुपऱ्यो। तिनले भविष्यवाणी गरे, परमेश्वर आफ्ना हजारौं-हजार पवित्र जनका साथ अधर्मीहरूलाई न्यायदण्ड दिन आउनुहुनेछ। (यहू. १४, १५) थुप्रैलाई यो सन्देश मन परेन। मानिसहरूले तिनलाई घृणा गरे। यदि परमेश्वरले तिनलाई उठाइ नलग्नुभएको भए मानिसहरूले अवश्यै तिनको ज्यान लिने थिए। हनोकको कस्तो साहस!—उत्प. ५:२१-२४.
६. फिरऊनसित कुरा गर्दा मोशालाई किन साहस चाहियो?
६ मोशाले फिरऊनसित कुरा गर्दा देखाएको साहस पनि कल्पना गर्नुहोस्। फिरऊनलाई देवताहरूको प्रतिनिधि होइन देवता नै ठानिन्थ्यो—सूर्य देवता रा-को छोरा। हुन सक्छ अरू फिरऊनले जस्तै तिनले पनि आफ्नै प्रतिमाको उपासना गरे। फिरऊनको बोली नै कानुन थियो; अनि उनकै एकछत्र शासन चल्थ्यो। शक्तिशाली, घमन्डी अनि हठी फिरऊनलाई अरूको राय सुन्ने बानी नै थिएन। हो, यिनै व्यक्तिसामु नम्र गोठाला मोशा नबोलाइए तापनि अनि स्वागत नगरिए तापनि बारम्बार देखा परे। अनि तिनले के भविष्यवाणी गरे? विनाशकारी विपत्तीहरूबारे। अनि तिनले के माग राखे? लाखौं-लाख फिरऊनका दासहरूलाई मिश्रबाट जान दिने अनुमति! के मोशालाई साहस चाहियो? अवश्य!—गन्ती १२:३; हिब्रू ११:२७.
७, ८. (क) पुरातन समयका विश्वासी जनहरूलाई कस्तो कठिनाई आइलाग्यो? (ख) शुद्ध उपासनालाई कायम राख्न र त्यसलाई बढवा दिन प्रथम शताब्दीअघिका जनहरूलाई केले सक्षम बनायो?
७ त्यसपछिको शताब्दीयौंसम्म अगमवक्ताहरू र अरू विश्वासी सेवकहरूले शुद्ध उपासनाको लागि दह्रो अडान लिइरहे। शैतानको संसारले तिनीहरूलाई घृणा गऱ्यो। पावल बताउँछन्: “तिनीहरू ढुङ्गाले हानिए, करौतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए, भेडा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुल्नुपऱ्यो।” (हिब्रू ११:३७) परमेश्वरका ती वफादार सेवकलाई दृढ रहन केले मदत गऱ्यो? अगाडिका केही पदहरूमा पावलले हाबिल, अब्राहाम, सारा र अरूलाई केले सहन बल दियो त्यो औंल्याएका छन्। तिनले भने: “यी सबै प्रतिज्ञाहरू नपाइकन, तर तिनीहरूलाई टाढैबाट देखेर स्वागत गरी . . . विश्वासैमा तिनी मरे।” (हिब्रू ११:१३) साँचो उपासनाको लागि साहससाथ अडान लिने प्रथम शताब्दीअघिका अगमवक्ताहरू; जस्तो कि एलिया, यर्मिया र अन्य विश्वासी जनहरूले पनि परमेश्वरको प्रतिज्ञामा ध्यान दिएकोले सहने बल पाए भन्नेमा कुनै शंका छैन।—ती. १:२.
८ प्रथम शताब्दीअघिका ती विश्वासी जनहरूले उज्ज्वल र मनमोहक भविष्यमा दृष्टि लगाए। तिनीहरूले पुनरुत्थान भएपछि ख्रीष्ट येशू अनि उप-पूजाहारीहरू १,४४,००० ले गरेको पूजाहारी सेवामार्फत अन्ततः सिद्धता र “विनाशको बन्धनबाट छुटकारा” पाउनेछन्। (रोमी ८:२१) साथै पुरातन समयका यर्मिया अनि परमेश्वरका अरू साहसी सेवकहरू यहोवाको आश्वासनले गर्दा आँटिला भए। त्यो आश्वासन यर्मियालाई गरेको प्रतिज्ञामा पनि झल्किन्छ: “तिनीहरूले तँसित युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु।” (यर्मि. १:१९) आज, हाम्रो भविष्यको लागि उहाँका प्रतिज्ञाहरू अनि आध्यात्मिक सुरक्षाको आश्वासनलाई विचार गर्दा हामी पनि त्यसरी नै बलियो हुन्छौं।—हितो. २:७; २ कोरिन्थी ४:१७, १८ पढ्नुहोस्।
येशूलाई साहसी भई प्रचार गर्न प्रेमले उत्प्रेरित गऱ्यो
९, १०. कुन-कुन तरिकामा येशूले साहस देखाउनुभयो (क) धर्मगुरुहरूअघि, (ख) सिपाहीहरूको दलअघि (ग) प्रधान पूजाहारीअघि (घ) पिलातसअघि?
९ हाम्रा नमुना येशूले विभिन्न तरिकामा साहस देखाउनुभयो। उदाहरणको लागि, अख्तियार पाएका प्रभावशाली व्यक्तिहरूले घृणा गरे तापनि परमेश्वरले मानिसहरूलाई थाह दिन चाहेको सन्देशलाई उहाँले फितलो पार्नुभएन। उहाँले निर्भयताका साथ शक्तिशाली धर्मगुरुहरूको आत्मधर्मीपन र गलत शिक्षा उदाङ्ग पारिदिनुभयो। उहाँले तिनीहरूलाई सीधै र स्पष्ट तरिकामा निन्दा गर्नुभयो। एक अवसरमा उहाँले यसो भन्नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मुर्दाहरूका हाडहरू र सबै अशुद्ध वस्तुले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र अत्याचारले भरिएका छौ।”—मत्ती २३:२७, २८.
१० येशूले गेतसमनीको बगैंचामा सिपाहीहरूको दलसामु आफूलाई साहसीपूर्वक चिनाउनुभयो। (यूह. १८:३-८) पछि उहाँलाई सभाघरमा लगियो अनि प्रधान पूजाहारीले सोधपुछ गरे। प्रधान पूजाहारीले मार्न निहुँ खोज्दैछन् भन्ने थाह पाउँदा-पाउँदै पनि येशूले निर्भयतासाथ आफू नै ख्रीष्ट अनि परमेश्वरको पुत्र हुँ भन्नुभयो। उहाँले यसो पनि भन्नुभयो, तिनीहरूले उहाँलाई “शक्तिको दाहिने हातमा बसिरहेको र आकाशका बादलमा आइरहेको” देख्नेछन्। (मर्कू. १४:५३, ५७-६५) त्यसको केही समयपछि येशूलाई पिलातससामु उभ्याइयो, जसले उहाँलाई छुटाउन सक्थे। तर आफूमाथि अभियोग लगाइँदा येशू चुप लाग्नुभयो। (मर्कू. १५:१-५) यी सबै गर्न निक्कै आँट चाहिन्थ्यो।
११. साहस कसरी प्रेमसित सम्बन्धित छ?
११ येशूले पिलातसलाई भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूह. १८:३७) यहोवाले येशूलाई सुसमाचार प्रचार गर्न अह्राउनुभएको थियो। अनि उहाँले खुसीसाथ त्यो गर्नुभयो किनभने स्वर्गमा बस्नुहुने आफ्ना पितालाई उहाँ प्रेम गर्नुहुन्थ्यो। (लूका ४:१८, १९) येशू मानिसहरूलाई पनि प्रेम गर्नुहुन्थ्यो। उहाँलाई थाह थियो, तिनीहरू कठिन परिस्थितिमा छन् भनेर। त्यसैगरि, यहोवा अनि छिमेकीलाई गहिरो प्रेम गर्ने भएकोले नै हामी पनि साहसी र निर्भयी भई प्रचार गर्न सक्छौं।—मत्ती २२:३६-४०.
साहसी भई प्रचार गर्न पवित्र आत्माले सक्षम बनाउँछ
१२. सुरुका चेलाहरू केले गर्दा रमाए?
१२ येशूको मृत्यु भएको केही हप्तापछि यहोवाले नयाँ चेलाहरू थपिदिनुभएकोले चेलाहरू रमाए। मात्रै एक दिनमा, थुप्रै मुलुकबाट यरूशलेममा पेन्तिकोसको चाड मनाउन आएका यहूदी अनि धर्म परिवर्तन गरेर यहूदी बनेका गरी करिब ३,००० जनाले बप्तिस्मा लिए! त्यो घटनाबारे यरूशलेममा हुनेहरू सबैले नै कुरा गरे होलान्। बाइबल बताउँछ: “हरेक प्राणीलाई डर भयो। औ धेरै अचम्मका काम र चिह्नहरू प्रेरितहरूद्वारा भए।”—प्रेरि. २:४१, ४३.
१३. भाइहरूले किन साहसको लागि प्रार्थना गरे र परिणाम के भयो?
१३ धर्मगुरुहरू रीसले चूर भए अनि पत्रुस र यूहन्नालाई समाते, रातभर थुनामा राखे र येशूबारे केही नबोल्न आदेश दिए। थुनाबाट छुटेपछि ती दुईले के भयो भाइहरूलाई बताइदिए अनि तिनीहरू सबैले सामना गर्नुपरेको विरोधको लागि प्रार्थना गरे। तिनीहरूले यस्तो बिन्ती गरे: “हे प्रभु, . . . तपाईंका दासहरूलाई बिल्कुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्।” परिणाम? “तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्वरको वचन बोले।”—प्रेरि. ४:२४-३१.
१४. पवित्र आत्माले हामीलाई प्रचारकार्यमा कसरी मदत गर्छ?
१४ याद गर्नुहोस्, ती चेलाहरूलाई परमेश्वरको वचन साहससाथ बोल्न मदत गर्ने कुरा भनेको यहोवाको शक्तिशाली पवित्र आत्मा थियो। अरूलाई, हाम्रो सन्देश विरोध गर्नेहरूलाई समेत—आँटिलो भई सत्य बताउनु हाम्रो हातको कुरा होइन। यदि यहोवालाई पवित्र आत्मा माग्यौं भने उहाँले त्यो दिन सक्नुहुन्छ र दिनु पनि हुन्छ। आइपर्ने कुनै पनि विरोधको सामना गर्न यहोवाको मदतले हामीलाई साहस दिन्छ।—भजन १३८:३ पढ्नुहोस्।
आज ख्रीष्टियानहरू साहसी भई प्रचार गर्छन्
१५. सत्यप्रति मानिसहरूले आज कस्ता भिन्न-भिन्न प्रतिक्रिया देखाउँछन्?
१५ पहिलेजस्तै अहिले पनि सत्यप्रति मानिसहरूको प्रतिक्रिया भिन्न-भिन्न छ। केहीले समर्थन जनाउँछन्, अरूले भने न हाम्रो उपासनालाई बुझ्छन् न त त्यसको मोल नै गर्छन्। येशूले भविष्यवाणी गर्नुभएझैं कोही-कोहीले हाम्रो आलोचना गर्छन्, खिल्ली उडाउँछन्, अझ त अझ घृणा समेत गर्छन्। (मत्ती १०:२२) कहिलेकाहीं हामी सञ्चार माध्यमले फैलाउने गलत समाचार अनि द्वेषपूर्ण प्रचार-प्रसारको तारो बन्छौं। (भज. १०९:१-३) तैपनि यहोवाका जनहरू साहससाथ पृथ्वीभरि सुसमाचार फैलाउँदैछन्।
१६. साहसले, प्रचार गरेका मानिसहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ भन्ने कुन उदाहरणले देखाउँछ?
१६ हाम्रो साहसले राज्य सन्देशप्रति मानिसहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ। किर्गिजस्तानको एउटी बहिनी भन्छिन्: “प्रचारमा जाँदा एक जना घरधनीले यसो भने: ‘हेर्नुस्, म परमेश्वरमा विश्वास गर्छु तर ख्रीष्टियान परमेश्वरलाई होइन, बुझ्नुभयो। यदि फेरि आउनुभयो भने कुकुर छोडिदिन्छु!’ उनको पछाडि साङ्लाले बाँधेको ठूलो कुकुर थियो। तर ‘धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?’ विषयको राज्य समाचार नम्बर ३७ को वितरण अभियानमा त्यो घरमा परिवारको अरू कुनै सदस्य भेटिन्छ कि भन्ने आसमा फेरि जाने निधो गरें। तर उनैले ढोका खोले! मैले झट्टै यहोवालाई प्रार्थना गरें र यसो भनें: ‘नमस्कार! हामीले तीन दिनअघि गरेको कुराकानी मलाई अझै याद छ अनि तपाईंको कुकुरलाई पनि मैले भुलेकी छैन। तर म यहाँ नपसी अर्को घरमा जानै सकिनँ किनभने तपाईंजस्तै म पनि एक जना साँचो परमेश्वरमा विश्वास गर्छु! र परमेश्वरले चाँडै नै उहाँलाई अनादर गर्ने धर्महरूलाई सजाय दिनुहुनेछ। यसबारे तपाईंले यो पर्चा पढेर अझै बढी जानकारी लिन सक्नुहुन्छ।’ कस्तो अचम्म! उनले राज्य समाचार पर्ची लिए। त्यसपछि अर्को घरमा गएँ। केही मिनेटपछि उनी हातमा राज्य समाचार पर्ची लिएर कुद्दै आए र भने: ‘सुन्नुस् त, मैले पढें। परमेश्वरको रीसबाट जोगिन मैले के गर्नुपर्छ?’ ” उनीसित अध्ययन सुरु भयो र ख्रीष्टियान सभाहरू पनि धाउन थाले।
१७. एउटी बहिनीको साहसले कसरी डराइरहेकी बाइबल विद्यार्थीलाई बलियो बनायो?
१७ ‘फलामले फलामलाई उध्याउँछ’ भनेझैं हाम्रो साहसले अरूलाई पनि साहसी हुने उत्प्रेरणा दिन्छ। रसियामा एउटी बहिनीले बसमा यात्रा गर्दा सँगै बस्ने स्त्रीलाई पत्रिका प्रस्तुत गरिन्। त्यतिबेला अर्को मान्छे सीटबाट जुरुक्क उठ्यो, बहिनीको हातबाट पत्रिका स्वाट्ट तान्यो र कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो। ठूल्ठूलो स्वरले नानाभाँती भन्दै उसले बहिनीको ठेगाना माग्यो अनि त्यो गाउँमा प्रचार नगर्न चेतावनी दियो। बहिनीले मदतको लागि यहोवालाई प्रार्थना गरिन् अनि येशूका यी शब्दहरू याद गरिन्: “शरीर मार्ने[सँग] . . . नडराओ।” (मत्ती १०:२८) तिनले शान्तपूर्वक उठेर त्यो मान्छेलाई भनिन्, “हेर्नुस् म तपाईंलाई आफ्नो ठेगाना दिन सक्दिनँ अनि यो गाउँमा प्रचार गर्न पनि बन्द गर्दिनँ।” यति भनेर तिनी बसबाट ओर्लिन्। यो घटना घट्दा तिनका बाइबल विद्यार्थी पनि त्यही बसमा थिइन् भन्ने कुरा तिनलाई थाहै थिएन। ती विद्यार्थीले मानिसको डरले गर्दा ख्रीष्टियान सभाहरू धाउन छाडेकी थिइन्। तर बहिनीको साहस देखेर उनले फेरि ख्रीष्टियान सभाहरू धाउने निधो गरिन्।
१८. येशूले साहसी भई प्रचार गर्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?
१८ परमेश्वरबाट बिरानो यो संसारमा येशूले जस्तै प्रचार गर्न साहस चाहिन्छ। तपाईंलाई कुन कुराले यसो गर्न मदत गर्छ? भविष्यमा दृष्टि लगाउनुहोस्। परमेश्वर र छिमेकीप्रतिको प्रेमलाई बलियो बनाइराख्नुहोस्। आँटको लागि यहोवालाई पुकार्नुहोस्। तपाईं कहिल्यै एकलो हुनुहुन्न, येशू तपाईंको साथमा हुनुहुन्छ भन्ने कुरा सधैं सम्झिराख्नुहोस्। (मत्ती २८:२०) पवित्र आत्माले तपाईंलाई बलियो बनाउनेछ। अनि यहोवाले तपाईंलाई आशिष् दिनुहुनेछ र साथ पनि। त्यसकारण हामी साहसी भई यसो भन्न सकौं: “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?”—हिब्रू १३:६. ( w 09 7/15)
तपाईं के भन्नुहुन्छ?
• परमेश्वरका सेवकहरूलाई किन साहस चाहिन्छ?
• साहसी हुने सन्दर्भमा हामी यिनीहरूबाट के सिक्छौं:
ख्रीष्टअघिका विश्वासी जनहरू?
येशू ख्रीष्ट?
प्रथम शताब्दीका ख्रीष्टियानहरू?
आजका सँगी ख्रीष्टियानहरू?
[पृष्ठ २७-मा भएको चित्र]
येशूले निर्भयताका साथ धर्मगुरुहरूको पोल खोलिदिनुभयो
[पृष्ठ २७-मा भएको चित्र]
यहोवाले हामीलाई प्रचार गर्ने आँट दिनुहुन्छ
-