प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?
    प्रहरीधरहरा—२०१५ | अप्रिल १५
    • शमूएल र शाऊल कौसीमा खाना खाँदै

      एल्डरहरू हो, मण्डलीका दाजुभाइहरूलाई तालिम दिंदै हुनुहुन्छ?

      “सबै कुराको लागि समय छ।”—उप. ३:१.

      हामीले के सिक्यौं?

      • मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु कत्तिको महत्त्वपूर्ण छ र किन?

      • एल्डरहरूले तालिम दिंदा मण्डलीले कस्तो लाभ उठाउन सक्छ?

      • तालिम दिंदा एल्डरहरूले कसरी शमूएलको अनुकरण गर्न सक्छन्‌?

      १, २. क्षेत्रीय निरीक्षकहरूले कुन कुरा याद गरेका छन्‌?

      यो क्षेत्रीय निरीक्षकको भ्रमणको हप्ता हो। क्षेत्रीय निरीक्षकले मण्डलीका एल्डरहरूसित गर्ने सभा सिद्धिनै लागेको छ। ती परिश्रमी एल्डरहरूलाई देख्दा क्षेत्रीय निरीक्षकको मन छोएको छ। उनीहरूमध्ये कोही-कोही त क्षेत्रीय निरीक्षकको बुबा भन्‍न मिल्ने उमेरका छन्‌। तर तिनलाई एउटा कुराको चिन्ता छ। त्यसबारे तिनी एल्डरहरूलाई सोध्छन्‌, “मण्डलीका दाजुभाइहरूलाई थप जिम्मेवारी सम्हाल्न तपाईंहरूले कसरी तालिम दिंदै हुनुहुन्छ त?” अघिल्लो भ्रमणमा क्षेत्रीय निरीक्षकले यस विषयमा एल्डरहरूलाई सल्लाह दिएका थिए र त्यो सल्लाह उनीहरूको मनमा ताजै छ। एक जना एल्डरले यस्तो जवाफ दिन्छन्‌, “साँच्चै भन्‍नुपर्दा हामीले खासै प्रयास गरेका छैनौं।” अरू एल्डरहरूले पनि टाउको हल्लाउँदै सहमति जनाउँछन्‌।

      २ तपाईं एल्डर हुनुहुन्छ भने तालिम दिन आफूले पनि खासै केही गर्न सकेको छैन जस्तो लागेको छ कि? एल्डरहरूले जुनसुकै उमेरका दाजुभाइहरूलाई बगालको हेरचाह गर्न अझ तालिम दिनुपर्ने कुरा संसारभरिका क्षेत्रीय निरीक्षकहरूले याद गरेका छन्‌। तर यसो गर्न सजिलो छैन। किन?

      ३. (क) तालिम दिने विषयमा बाइबलले के भन्छ? तालिम दिने कुरामा हामी सबैले किन चासो दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌) (ख) तालिम दिन केही एल्डरहरूलाई किन गाह्रो लाग्न सक्छ?

      ३ तपाईं गोठालो हुनुभएकोले मण्डलीका प्रत्येक भाइलाई तालिम दिनुपर्छ भन्‍ने कुरामा पक्कै सहमत हुनुहुन्छ।a मण्डलीहरूलाई बलियो पार्न र नयाँ मण्डलीहरू सुरु गर्न अझ धेरै दाजुभाइहरूको खाँचो छ भन्‍ने कुरा तपाईंले पक्कै बुझ्नुभएको छ। (यशैया ६०:२२ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचनले “अरूलाई सिकाउन” आग्रह गरेको कुरा पनि तपाईंलाई थाह छ। (२ तिमोथी २:२ पढ्‌नुहोस्‌) तैपनि सुरुको अनुच्छेदमा उल्लेख गरिएका एल्डरहरूलाई जस्तै तपाईंलाई पनि त्यसो गर्न गाह्रो लाग्छ होला। तपाईंले परिवारको रेखदेख गर्नुपर्ने हुन्छ र जागिरमा पनि समय दिनुपर्ने हुन्छ। त्यति मात्र होइन, तपाईंले मण्डलीको जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ अनि अरू जरुरी काम पनि गर्नुपर्ने हुन्छ। त्यसैले तालिम दिने समय नै छैन जस्तो तपाईंलाई लाग्न सक्छ। तर तालिम दिनु पनि महत्त्वपूर्ण छ। किन? अब त्यसबारे विचार गरौं।

      तालिम दिनु महत्त्वपूर्ण छ

      ४. केही एल्डरहरूले तालिमलाई पछि सार्नुको एउटा कारण के हुन सक्छ?

      ४ तालिम दिन केही एल्डरहरूलाई गाह्रो लाग्नुको कारण के हुन सक्छ? कसै-कसैलाई यस्तो लाग्न सक्छ, ‘तालिम दिनु पनि महत्त्वपूर्ण छ तर मण्डलीमा नगरी नहुने अरू कामहरू पनि छन्‌। तालिमलाई अलि पछि सारे पनि मण्डलीको कामकुरा ठप्पै हुने त होइन नि।’ हुन त तपाईंले मण्डलीलाई सीधै असर गर्ने थुप्रै कामहरू गर्नुपर्ने हुन्छ तर मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यसो गरिएन भने मण्डलीले नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ।

      ५, ६. (क) चालकले मोबिल फेर्न ढिलासुस्ती गऱ्‍यो भने के हुन्छ? (ख) मोटरसाइकल चालकको उदाहरणबाट एल्डरहरूले के सिक्न सक्छन्‌?

      ५ यो उदाहरण विचार गर्नुहोस्‌: मोटरसाइकलको इन्जिनलाई राम्रो अवस्थामा राख्ने हो भने समय-समयमा मोबिल फेर्नुपर्छ भनेर चालकलाई थाह हुन्छ। तर मोबिल फेर्नु पेट्रोल हाल्नु जत्तिको जरुरी छैन जस्तो उसलाई लाग्न सक्छ। हुन पनि उसले पेट्रोल हालेन भने मोटरसाइकल चल्नै छोड्‌छ। उसले यस्तो तर्क गर्न सक्छ, ‘तुरुन्तै मोबिल फेर्न भ्याइनँ भने पनि मोटरसाइकल केही समय त चलिहाल्छ नि!’ तर चालकले मोबिल फेर्न आलेटाले गरिराख्यो भने के हुन्छ? एकदिन इन्जिनले कामै गर्न छोड्‌छ। त्यसपछि मोटरसाइकल मर्मत गर्न उसले धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ र समय पनि खेर जान्छ। यो उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

      ६ मण्डलीमा एल्डरहरूले गर्नुपर्ने थुप्रै काम हुन्छन्‌। ती कामहरू तुरुन्तै नगरिएमा मण्डलीलाई सीधै असर गर्छ। मोटरसाइकल चालकले समय-समयमा पेट्रोल भरेजस्तै एल्डरहरूले पनि “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो . . . पक्का” गर्नै पर्छ। (फिलि. १:१०) तर थुप्रै जिम्मेवारी सम्हाल्नुपर्ने भएकोले केही एल्डरहरूले तालिम दिने कामलाई पछि सार्न सक्छन्‌। यसो गर्नु भनेको चालकले मोबिल फेर्न आलेटाले गरेजस्तै हो। तालिम दिने कामलाई यसरी पछि सार्दै जाँदा ढिलो होस्‌ वा चाँडो मण्डलीमा जिम्मेवारी सम्हाल्न सक्ने दाजुभाइहरूको कमी हुन पुग्छ।

      ७. तालिम दिन समय निकाल्ने एल्डरहरूलाई हामीले किन आदर गर्नुपर्छ?

      ७ तालिम दिनु त्यति आवश्‍यक छैन भनेर सोच्नु हुँदैन भन्‍ने कुरा स्पष्ट छ। मण्डलीको दाजुभाइहरूलाई तालिम दिन समय निकालेर पछिसम्मको कुरा विचार गर्ने एल्डरहरू साँच्चै नै असल भण्डारेहरू हुन्‌। त्यस्ता एल्डरहरू मण्डलीका सदस्यहरूको लागि आशिष्‌ हुन्‌। (१ पत्रुस ४:१० पढ्‌नुहोस्‌) ती एल्डरहरूले तालिम दिंदा मण्डलीलाई कस्तो लाभ हुन्छ?

      बुद्धिमानीपूर्वक समयको लगानी गर्नुहोस्‌

      ८. (क) कस्ता कुराहरू विचार गर्दा एल्डरहरू तालिम दिन उत्प्रेरित हुन्छन्‌? यसो गर्न तिनीहरूलाई कस्ता गुणहरूले मदत गर्छ? (ख) आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने एल्डरहरूले के गर्नै पर्छ? (“नगरी नहुने काम” भन्‍ने पेटी हेर्नुहोस्‌)

      ८ उमेर ढल्कँदै जाँदा अनुभवी एल्डरहरूले समेत मण्डलीका जिम्मेवारीहरू सम्हाल्न आफूले चाहेजति गर्न सकिंदैन भनेर स्वीकार्नुपर्छ र त्यसो गर्न नम्रता चाहिन्छ। (मीका ६:८) “समय र अवसरले” गर्दा कुनै पनि बेला परिस्थिति परिवर्तन हुन सक्छ र मण्डलीको जिम्मेवारी सम्हाल्न गाह्रो हुन सक्छ भन्‍ने कुरा पनि तिनीहरूले मनमा राख्नुपर्छ। (उप. ९:११, १२; याकू. ४:१३, १४) एल्डरहरू यहोवाका भेडाहरूको भलो चिताउँछन्‌ र ती भेडाहरूलाई निष्कपट चासो देखाउँछन्‌। त्यसैले वर्षौंसम्म यहोवाको सेवा गर्दा आफूले हासिल गरेको अनुभव मण्डलीका युवकहरूसित बेलैमा बाँड्‌छन्‌।—भजन ७१:१७, १८ पढ्‌नुहोस्‌।

      ९. अहिलेदेखि नै तालिम दिनु किन आवश्‍यक छ?

      ९ तालिम दिने एल्डरहरू अन्य कस्ता कारणहरूले गर्दा पनि बगालको लागि आशिष्‌ हुन्‌? ती एल्डरहरूबाट तालिम पाएका थुप्रै दाजुभाइहरूले मण्डलीका सदस्यहरूलाई यहोवाप्रति वफादार रहन अनि एकतामा बाँधिन मदत गर्छन्‌। तिनीहरूले अहिले मात्र होइन, महासङ्‌कष्टको बेला आउने असहज परिस्थितिमा पनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गर्नेछन्‌ र त्यतिबेला त्यस्तो मदत झनै आवश्‍यक पर्नेछ। (इज. ३८:१०-१२; मीका ५:५, ६) त्यसैले प्रिय एल्डरहरू हो, आजदेखि नै तालिम दिन सुरु गर्नुहोस्‌ र यस कामलाई आफ्नो सेवाको अभिन्‍न भाग बनाउनुहोस्‌।

      १०. तालिम दिन एल्डरले कसरी समय निकाल्न सक्छन्‌?

      १० मण्डलीका महत्त्वपूर्ण कामकुराहरू सम्हाल्नुपर्ने भएकोले तपाईंलाई भ्याइ नभ्याइ होला। हामी तपाईंको अवस्था राम्ररी बुझ्छौं। त्यसोभए तालिम दिन तपाईं कसरी समय निकाल्न सक्नुहुन्छ? मण्डलीको कुनै कामलाई दिनुपर्ने समय छाँटकाँट गरेर तालिम दिन सक्नुहुन्छ। (उप. ३:१) त्यसो गर्दा तपाईंले बुद्धिमानीपूर्वक समयको लगानी गरिरहनुभएको हुनेछ।

      प्रशिक्षार्थीको मन तयार पार्नुहोस्‌

      ११. (क) विभिन्‍न देशका एल्डरहरूले दिएका सुझावहरूको विषयमा कुन कुरा रोचक छ? (ख) हितोपदेश १५:२२ अनुसार ती एल्डरहरूले दिएका सुझावहरू विचार गर्नु किन उपयोगी छ?

      ११ केही एल्डरहरू मण्डलीका दाजुभाइहरूलाई तालिम दिन सफल भएका छन्‌। हालसालैको कुरा हो, तालिम दिन कस्ता तरिकाहरू अपनाए भनेर ती एल्डरहरूलाई सोधियो।b तिनीहरूले भिन्‍नाभिन्‍नै ठाउँमा र भिन्‍नाभिन्‍नै परिस्थितिमा तालिम दिएको भए तापनि तिनीहरूले दिएका सुझावहरू धेरै मिल्दाजुल्दा छन्‌। यसले के देखाउँछ? प्रेषित पावलको समयमा जस्तै अहिले पनि बाइबललाई आधार बनाएर दिइने तालिम “ठाउँ-ठाउँका हरेक मण्डली”-का प्रशिक्षार्थीहरूको लागि उपयोगी छ। (१ कोरि. ४:१७) यो र यसपछिको लेखमा ती एल्डरहरूले दिएका केही सुझावहरू विचार गर्नेछौं। (हितो. १५:२२) यी लेखहरूमा तालिम दिनेलाई “प्रशिक्षक” र तालिम लिनेलाई “प्रशिक्षार्थी” भनिनेछ।

      १२. प्रशिक्षकले के गर्नु आवश्‍यक छ? किन?

      १२ खेतमा बीउ छर्नुअघि किसानले खेत खन्छ अनि डल्ला फोरेर माटो खुकुलो बनाउँछ। त्यसैगरि तालिम दिनुअघि प्रशिक्षकले प्रशिक्षार्थीको मन तयार पार्नु आवश्‍यक छ। किन? यसो गर्दा प्रशिक्षार्थीलाई नयाँ सीप सिक्न सजिलो हुन्छ। प्रशिक्षकले प्रशिक्षार्थीको मन कसरी तयार पार्न सक्छन्‌? पुरातन समयका एक भविष्यवक्‍ताले अपनाएको तरिका लागू गरेर। त्यो तरिका के थियो?

      १३-१५. (क) शमूएलले कस्तो जिम्मेवारी पाए?(ख) शमूएलले त्यो जिम्मेवारी कसरी पूरा गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ग) बाइबलको यो विवरण एल्डरहरूको लागि किन उपयोगी छ?

      १३ आजभन्दा ३,००० वर्षअघि यहोवाले वृद्ध भइसकेका भविष्यवक्‍ता शमूएललाई यसो भन्‍नुभयो, “भोलि यही बेला म तँकहाँ बिन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो प्रजा इस्राएलका राजा अभिषेक गर्‌।” (१ शमू. ९:१५, १६) शमूएलले आफू वृद्ध भइसकेकोले इस्राएलीहरूको नेतृत्व लिने जिम्मेवारी अरूलाई नै सुम्पनुपर्छ भन्‍ने कुरा बुझे। तिनले यहोवाको निर्देशनअनुसारै इस्राएलीहरूको लागि राजा नियुक्‍त गर्नुपर्ने थियो। शमूएलले यस्तो सोचेको हुनुपर्छ, ‘त्यस मानिसलाई यो जिम्मेवारी सम्हाल्न कसरी तयार पार्ने होला!’ तिनले एउटा युक्‍ति निकाले र त्यसैअनुसार योजना बनाए।

      १४ भोलिपल्ट शमूएलले शाऊललाई भेटे। त्यतिखेर यहोवाले शमूएललाई यसो भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो।” त्यसपछि शमूएलले आफ्नो योजनाअनुसारै काम गरे। तिनले शाऊललाई खाना खाने ठाउँमा बोलाए। त्यहाँ तिनले शाऊल र उनको नोकरलाई मुख्य स्थानमा बसाए। शमूएलले शाऊललाई मासुको सबैभन्दा असल भाग दिए अनि यसो भने, “खाऊ। . . . यस भोजमा यो चाहिं तिम्रो निम्ति अलग्गै राखिएको हो।” खानपिन गरेपछि उनलाई लिएर शमूएल आफ्नो घर जान सहरतिर ओर्ले। बाटोमा तिनीहरू कुराकानी गर्दै गए। मीठो खाना र उनीहरूबीच भएको रमाइलो कुराकानीले गर्दा उपयुक्‍त वातावरण तयार भएको थियो। शमूएल यो समयको सदुपयोग गर्न चाहन्थे। त्यसैले तिनले शाऊललाई कौसीमा बोलाए। मन्द-मन्द चलिरहेको शीतल हावाको आनन्द उठाउँदै ननिदाएसम्म उनीहरू कुराकानी गरिरहे। भोलिपल्ट शमूएलले शाऊललाई राजाको रूपमा अभिषेक गरे, उनलाई चुम्बन गरे अनि थप निर्देशन दिए। त्यसपछि तिनले शाऊललाई बिदाबारी गरे। अब शाऊल नयाँ जिम्मेवारी सम्हाल्न तयार भए।—१ शमू. ९:१७-२७; १०:१.

      १५ राजा अभिषेक गर्नु अनि कुनै भाइलाई मण्डलीको एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न तालिम दिनु पक्कै पनि उस्तै कुरा होइन। तैपनि शमूएलले अपनाएको तरिकाबाट आज एल्डरहरूले थुप्रै पाठ सिक्न सक्छन्‌। तीमध्ये दुइटा पाठ हामी विचार गरौं।

      तालिम दिन इच्छुक हुनुहोस्‌ र असल साथी बन्‍नुहोस्‌

      १६. (क) इस्राएलीहरूले राजाको माग गर्दा शमूएललाई कस्तो लाग्यो? (ख) शाऊललाई राजा अभिषेक गर्दा शमूएलले कस्तो मनोभाव देखाए?

      १६ इच्छुक हुनुहोस्‌, आनाकानी नगर्नुहोस्‌। इस्राएलीहरूले राजाको माग गर्दा पहिला त शमूएल दुःखी भए अनि मानिसहरूले आफूलाई तिरस्कार गरेको महसुस गरे। (१ शमू. ८:४-८) शमूएलले मानिसहरूको माग पूरा गर्न आनाकानी गरे। त्यसैले यहोवाले तिनलाई उनीहरूको कुरा सुन्‍न तीन पटकसम्म आग्रह गर्नुपऱ्‍यो। (१ शमू. ८:७, ९, २२) शमूएलले आफ्नो ठाउँ लिने मानिसप्रति मनमा रिस पालेर राखेनन्‌ अनि डाह पनि गरेनन्‌। यहोवाले शाऊललाई राजा अभिषेक गर्न आज्ञा दिनुहुँदा शमूएलले उहाँको कुरा माने। कर्तव्य ठानेर मात्र होइन, यहोवालाई माया गर्ने भएकोले तिनले उहाँको कुरा मानेका थिए।

      १७. एल्डरहरूले कसरी शमूएलको जस्तै मनोभाव देखाउँछन्‌? तिनीहरूलाई कुन कुराले सन्तुष्टि दिन्छ?

      १७ आजका अनुभवी एल्डरहरूले पनि आफूबाट तालिम पाउनेहरूप्रति शमूएलको जस्तै मनोभाव देखाउँछन्‌। (१ पत्रु. ५:२) यस्ता एल्डरहरू आफूले सम्हाल्दै आएका मण्डलीका केही जिम्मेवारीहरू अरूलाई दिनुपर्ला भन्‍ने डरले गर्दा तालिम दिन पछि हट्‌दैनन्‌। ठूलो मनका एल्डरहरू आफूले तालिम दिनेहरूलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दैनन्‌, बरु “सहकर्मीहरू” र मण्डलीको लागि बहुमूल्य उपहार सम्झन्छन्‌। (२ कोरि. १:२४; हिब्रू १३:१६) तालिम पाएकाहरूले मण्डलीको फाइदाको लागि आफ्नो क्षमता प्रयोग गरेको देख्दा ती निःस्वार्थ एल्डरहरूलाई ठूलो सन्तुष्टि मिल्छ।—प्रेषि. २०:३५.

      १८, १९. एल्डरले कसरी प्रशिक्षार्थीको मन तयार पार्न सक्छन्‌? त्यसो गर्नु किन आवश्‍यक छ?

      १८ प्रशिक्षक मात्र होइन, साथी पनि बन्‍नुहोस्‌। शमूएलले शाऊललाई भेट्‌ने बित्तिकै तेलको भाँडो निकालेर तिनलाई राजा अभिषेक गर्न सक्थे। यसो गर्दा ती नयाँ राजा पूर्ण रूपमा अभिषेक त हुने थिए तर जिम्मेवारी सम्हाल्न सक्ने अवस्थामा भने बिलकुलै हुने थिएनन्‌। त्यसकारण शमूएलले समय लगाएर शाऊलको मन तयार पारे। तिनीहरूले सँगै मीठो खाना खाए, केहीबेर टहले, लामो कुराकानी गरे अनि राती राम्रो आराम गरे। त्यसपछि मात्र शमूएलले शाऊललाई अभिषेक गरे।

      एल्डर र सहायक सेवक शान्त वातावरणमा कुराकानी गर्दै

      कुनै भाइलाई तालिम दिनुअघि तिनको साथी बन्‍नुहोस्‌ (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

      १९ त्यसैगरि कुनै भाइलाई तालिम दिनुअघि प्रशिक्षक तिनीसित घनिष्ठ हुनुपर्छ। यसो गर्दा तिनले सजिलो महसुस गर्नेछन्‌। तालिम पाउने भाइसित घनिष्ठ हुन कस्तो कदम चाल्न सकिन्छ भन्‍ने कुरा स्थानीय परिस्थिति र चलनमा भर पर्छ। तर तपाईं जुनसुकै ठाउँको भए पनि आफ्नो व्यस्त तालिकाको बाबजुद तालिम पाउने भाइसित समय बिताउनुहुन्छ भने ती भाइलाई यसो भनिरहनुभएको हुनेछ, “म साँच्चै तपाईंको ख्याल राख्छु।” (रोमी १२:१० पढ्‌नुहोस्‌) ती भाइ तपाईंले देखाउनुभएको माया र चासोको लागि तपाईंप्रति पक्कै आभारी हुनेछन्‌।

      २०, २१. (क) सफल प्रशिक्षक कसलाई भनिन्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

      २० एल्डरहरू हो, यो कुरा सधैं मनमा राख्नुहोस्‌: सफल प्रशिक्षकले अरूलाई सिकाउन मन पराउने मात्र होइन, आफूले तालिम दिने व्यक्‍तिलाई माया पनि गर्छ। (यूहन्‍ना ५:२० तुलना गर्नुहोस्‌) यो गुण प्रशिक्षकमा हुनै पर्छ। तपाईंमा पनि यो गुण छ भने प्रशिक्षार्थीले यो कुरा तुरुन्तै याद गर्नेछन्‌ र तपाईंबाट सिक्न इच्छुक हुनेछन्‌। त्यसैले प्रिय एल्डरहरू हो, तालिम दिंदा प्रशिक्षक मात्र होइन, साथी पनि बन्‍नुहोस्‌।—हितो. १७:१७; यूह. १५:१५.

      २१ प्रशिक्षार्थीको मन तयार पारिसकेपछि एल्डरले उनलाई तालिम दिन सुरु गर्नुपर्छ। एल्डरहरूले कसरी तालिम दिन सक्छन्‌? अर्को लेखमा तालिम दिने केही तरिकाहरूबारे छलफल गर्नेछौं।

      a यो र यसपछिको लेख एल्डरहरूको लागि तयार गरिएको हो तर यी लेखहरूमा पाइने जानकारीमा मण्डलीका सबैले ध्यान दिनुपर्छ। किन? यी लेखहरूले सबै बप्तिस्माप्राप्त दाजुभाइहरूलाई मण्डलीमा थप जिम्मेवारी सम्हाल्न तालिम लिनुपर्छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। मण्डलीमा तालिम पाएका दाजुभाइहरू छन्‌ भने सबैले लाभ उठाउन सक्छन्‌।

      b ती एल्डरहरू अस्ट्रेलिया, बंगलादेश, बेल्जियम, ब्राजिल, फ्रान्स, फ्रेन्च गुयना, जापान, कोरिया, मेक्सिको, नामिबिया, नाइजेरिया, रियुनियन, रूस, दक्षिण अफ्रिका र अमेरिकाका हुन्‌।

      नगरी नहुने काम

      आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गरिरहेका एल्डर स्थानीय भाइलाई बगालको गोठालो बन्‍न तालिम दिंदै

      संसारका केही ठाउँहरूमा अरू देशबाट आएका थुप्रै दाजुभाइ दिदीबहिनीहरूले आवश्‍यकता धेरै भएका मण्डलीहरूमा सेवा गरिरहेका छन्‌। यी आत्मत्यागी साक्षीहरूले राज्यको सुसमाचार प्रचार गर्न कडा मेहनत गरिरहेका छन्‌। तर कारणवश यी परिश्रमी दाजुभाइ दिदीबहिनीहरू आफ्नो देश फर्कनुपऱ्‍यो भने नि? थुप्रै मण्डलीमा जिम्मेवारी सम्हाल्न सक्ने स्थानीय दाजुभाइहरूको कमी हुन सक्छ। त्यसैले आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गरिरहेकाहरूले नगरी नहुने एउटा काम छ। त्यो हो, स्थानीय दाजुभाइहरूलाई बगालको गोठालो हुन मदत गर्नु।

  • एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्‌?
    प्रहरीधरहरा—२०१५ | अप्रिल १५
    • एलियाले आफ्नो खास्टोले यर्दन नदीलाई हिर्काएर त्यसलाई दुई भाग पारेको हेर्दै एलीशा

      एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्‌?

      “तिमीले मबाट जे-जे सुन्यौ, . . . ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ।”—२ तिमो. २:२.

      हामीले के सिक्यौं?

      • एल्डरले कुनै भाइलाई यहोवासित घनिष्ठ हुन कसरी मदत गर्न सक्छन्‌?

      • कुनै भाइ मण्डलीमा जिम्मेवारी सम्हाल्न त्यत्ति इच्छुक छैनन्‌ भने तिनलाई आफ्नो सोचाइ बदल्न के-कस्ता पदहरूले मदत गर्न सक्छ?

      • तालिम पाएकाहरूले कसरी एलीशाको देखासिकी गर्न सक्छन्‌?

      १. (क) यहोवाका सेवकहरूले सुरुदेखि नै कुन कुरा बुझ्दै आएका छन्‌? आज हामीले पनि के गर्नुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

      सफल हुन तालिम लिनुपर्छ भन्‍ने कुरा परमेश्‍वरका सेवकहरूले सुरुदेखि नै बुझ्दै आएका छन्‌। हामी किन त्यसो भन्‍न सक्छौं? अब्राम “तालिम पाएका” मानिसहरू लिएर लूतलाई शत्रुहरूको हातबाट छुटाउन गए र तिनीहरू सफल भए। (उत्प. १४:१४-१६) त्यसैगरि, राजा दाऊदको समयमा पनि तालिम पाएका सङ्‌गीतकारहरूले यहोवाको भवनमा उहाँको प्रशंसा गर्थे। (१ इति. २५:७) पहिले-पहिलेका यहोवाका सेवकहरू जस्तै सफल हुन हामीले पनि तालिम लिनु आवश्‍यक छ। किनकि हामी सैतान र त्यसका समर्थकहरूसित लडाइँ गरिरहेका छौं। (एफि. ६:११-१३) त्यसबाहेक हामी यहोवाको नामको महिमा गर्न सकेजति कोसिस गरिरहेका छौं। (हिब्रू १३:१५, १६) आज यहोवाले मण्डलीका एल्डरहरूलाई तालिम दिने जिम्मेवारी सुम्पनुभएको छ। (२ तिमो. २:२) अनुभवी एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई जिम्मेवारी सम्हाल्न योग्य हुन कसरी तालिम दिन सक्छन्‌? आउनुहोस्‌, केही तरिकाहरू विचार गरौं।

      प्रशिक्षार्थीलाई यहोवासित घनिष्ठ हुन मदत गर्नुहोस्‌

      २. कुनै भाइलाई तालिम दिनुअघि एल्डरले के गर्न सक्छन्‌? किन?

      २ एल्डरहरूलाई किसानसित तुलना गर्न सकिन्छ। राम्रो उब्जनीको लागि किसानले बीउ छर्नुअघि जमिनमा मल हाल्नुपर्ने हुन्छ। त्यसैगरि, एल्डरले कुनै भाइलाई तालिम दिनुअघि तिनलाई पोषण दिन सक्ने बाइबल सिद्धान्तहरू पढेर सुनाउन सक्छन्‌। यसो गरेमा तालिमबाट सिकेको कुरा लागू गर्न तिनी तयार हुन सक्छन्‌।—१ तिमो. ४:६.

      ३. (क) प्रशिक्षार्थीसित कुराकानी गर्दा मर्कूस १२:२९, ३० कसरी चलाउन सक्नुहुन्छ? (ख) एल्डरले गरेको प्रार्थनाले प्रशिक्षार्थीलाई कस्तो असर गर्न सक्छ?

      ३ प्रशिक्षार्थीको सोचाइ र व्यवहारलाई परमेश्‍वरको वचनमा पाइने सत्यले कत्तिको प्रभाव पारेको छ भनेर बुझ्न उनलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ, ‘परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेपछि तपाईंको जीवनशैलीमा कस्तो परिवर्तन आयो?’ यस्तो प्रश्‍न सोध्दा यहोवालाई सारा ज्यानले पवित्र सेवा चढाउन के गर्नुपर्छ भन्‍ने सन्दर्भमा प्रोत्साहनदायी कुराकानी सुरु हुन सक्छ। (मर्कूस १२:२९, ३० पढ्‌नुहोस्‌) कुराकानी गरिसकेपछि ती भाइसित बसेर यहोवालाई प्रार्थना गर्न सक्नुहुन्छ। तालिमबाट पूरा लाभ उठाउन ती भाइलाई पवित्र शक्‍ति दिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्न सक्नुहुन्छ। तपाईंले ती भाइको लागि मनैदेखि प्रार्थना गरेको सुन्दा उनले प्रोत्साहन पाउनेछन्‌।

      ४. (क) प्रशिक्षार्थीलाई उन्‍नति गर्न मदत दिने केही बाइबल विवरणहरू बताउनुहोस्‌। (ख) तालिम दिंदा एल्डरहरू कस्तो लक्ष्य राख्छन्‌?

      ४ तालिमको सुरु-सुरुमा तपाईं के गर्न सक्नुहुन्छ? प्रशिक्षार्थीलाई इच्छुक, भरोसायोग्य र नम्र हुनु किन आवश्‍यक छ भन्‍ने कुरा बाइबलका केही विवरणहरूबाट बुझाउनुहोस्‌। (१ राजा १९:१९-२१; नहे. ७:२; १३:१३; प्रेषि. १८:२४-२६) मलले बिरुवालाई सप्रन मदत गरेजस्तै यस्ता गुणहरूले प्रशिक्षार्थीलाई छिटो-छिटो उन्‍नति गर्न मदत गर्छ। झाँ-क्लड भन्‍ने फ्रान्सका एक जना एल्डर यसो भन्छन्‌, “मेरो मुख्य लक्ष्य भनेको प्रशिक्षार्थीलाई बाइबलका सिद्धान्तहरूको आधारमा निर्णय गर्न सक्ने मानिस बन्‍न मदत गर्नु हो। प्रशिक्षार्थीले परमेश्‍वरको वचनमा पाइने ‘उदेकका कुराहरू’ बुझ्न सकोस्‌ भनेर तिनलाई कुनै खास शास्त्रपद देखाउने मौका खोज्छु।” (भज. ११९:१८) प्रशिक्षार्थीलाई उन्‍नति गर्न मदत दिने अरू तरिका के-के हुन्‌?

      लक्ष्य राख्न मदत गर्नुहोस्‌ र कारण पनि बताउनुहोस्‌

      ५. (क) प्रशिक्षार्थीसित आध्यात्मिक लक्ष्यहरूबारे कुरा गर्नु किन महत्त्वपूर्ण छ? (ख) एल्डरहरूले भर्खरै किशोर अवस्थामा पाइला टेकेका भाइहरूलाई पनि किन तालिम दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌)

      ५ प्रशिक्षार्थीलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌ ‘तपाईंले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?’ यदि तिनले कुनै खास लक्ष्य राखेका छैनन्‌ भने तिनले हासिल गर्न सक्ने कुनै व्यावहारिक लक्ष्य राख्न मदत गर्नुहोस्‌। तपाईंले कस्तो लक्ष्य राख्नुभएको थियो अनि त्यो लक्ष्य पूरा हुँदा कस्तो लाग्यो, त्यसबारे उत्साहित हुँदै बताउनुहोस्‌। यसो हेर्दा यो तरिका सामान्य जस्तो देखिए तापनि धेरै प्रभावकारी छ। अफ्रिकामा एल्डर र अग्रगामीको रूपमा सेवा गरिरहेका भिक्टर यसो भन्छन्‌, “म किशोर छँदा एक जना एल्डरले मलाई मेरो आध्यात्मिक लक्ष्यबारे केही प्रश्‍नहरू सोध्नुभयो। ती प्रश्‍नहरूले मलाई आफ्नो सेवाबारे गहिरिएर सोच्न मदत गऱ्‍यो।” भाइहरू किशोर अवस्थामा छँदै तिनीहरूलाई तालिम दिन सुरु गर्नु महत्त्वपूर्ण छ भनी अनुभवी एल्डरहरू बताउँछन्‌। ती भाइहरूलाई उमेर सुहाउँदो जिम्मेवारी दिएर तालिम दिन सकिन्छ। किशोर अवस्था पार गर्नै लाग्दा तिनीहरूले विभिन्‍न किसिमको चुनौती सामना गर्नुपर्ने हुन्छ। तर सानै उमेरदेखि तालिम पाएका छन्‌ भने जस्तोसुकै चुनौती आइपरे पनि तिनीहरूले आध्यात्मिक लक्ष्यमा ध्यान केन्द्रित गर्न सक्नेछन्‌।—भजन ७१:५, १७ पढ्‌नुहोस्‌।a

      राज्यभवनमा एक एल्डर युवावस्थाका भाइलाई कुनै काम किन गर्नुपर्छ भनेर बुझाउँदै

      कुनै भाइलाई केही काम गर्न अह्राउँदा त्यो काम किन गर्ने भनेर पनि बताउनुहोस्‌ अनि त्यो काम पूरा गर्न तिनले गरेको परिश्रमको लागि प्रशंसा गर्नुहोस्‌ (अनुच्छेद ५-८ हेर्नुहोस्‌)

      ६. तालिम दिंदा येशूले कुन महत्त्वपूर्ण तरिका चलाउनुभयो?

      ६ कुन काम गर्ने, त्यो मात्र होइन तर कुनै काम किन गर्ने भनेर बुझ्न प्रशिक्षार्थीलाई मदत गर्नुहोस्‌। यसो गर्दा तिनी सेवा गर्न इच्छुक हुनेछन्‌। कुनै काम किन गर्ने भनेर बताउँदा तपाईंले महान्‌ प्रशिक्षक येशूको देखासिकी गरिरहनुभएको हुनेछ। उदाहरणको लागि, येशूले चेलाहरूलाई प्रचार गर्ने जिम्मेवारी दिनुहुँदा उनीहरूले त्यो आज्ञा किन मान्‍नुपर्छ भनेर पनि बताउनुभयो। उहाँले यसो भन्‍नुभयो, “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” त्यसपछि उहाँले यसो पनि भन्‍नुभयो, “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ती २८:१८, १९) येशूको तरिका तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

      ७, ८. (क) येशूको तरिका एल्डरहरूले कसरी अनुकरण गर्न सक्छन्‌? (ख) प्रशिक्षार्थीको प्रशंसा गर्नु किन महत्त्वपूर्ण छ? (ग) तालिम दिंदा एल्डरहरूले कस्ता सुझावहरू लागू गर्न सक्छन्‌? (“तालिम दिने तरिकाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌)

      ७ प्रशिक्षार्थीलाई कुनै कामको जिम्मा दिनुहुँदा, त्यो काम किन गर्नुपर्छ भनेर धर्मशास्त्रबाटै कारण पनि बताउनुहोस्‌। यसो गर्दा तपाईंले तिनलाई बाइबलका सिद्धान्तहरू बुझेर काम गर्न सिकाइरहनुभएको हुनेछ। उदाहरणको लागि, राज्यभवनभित्र पस्ने बाटो सफा राख्न र कोही लड्‌ने वा चिप्लने खतरा नहुने अवस्थामा राख्न तपाईंले कुनै भाइलाई अह्राउनुभएको होला। तपाईं तिनलाई तीतस २:१० देखाउन सक्नुहुन्छ र तिनको कामले “हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” कसरी बढाउँछ भनेर बुझाउन सक्नुहुन्छ। साथै, तिनको कामले गर्दा मण्डलीका वृद्धहरूलाई कस्तो फाइदा पुग्छ भनेर सोच्न पनि आग्रह गर्न सक्नुहुन्छ। यसो गर्दा प्रशिक्षार्थी नियमबारे सोचेर मात्र होइन, मण्डलीका सदस्यहरूको मायाले गर्दा जिम्मेवारी सम्हाल्न उत्प्रेरित हुनेछन्‌। आफूले गरेको सेवाले गर्दा मण्डलीका दाजुभाइ दिदीबहिनीले लाभ उठाएको देख्दा तिनलाई आनन्द लाग्नेछ।

      ८ तपाईंले दिनुभएको सुझाव मानेकोमा तिनको प्रशंसा गर्न पनि नबिर्सनुहोस्‌। त्यसो गर्नु किन महत्त्वपूर्ण छ? पानी हाल्दा बिरुवा छिटो-छिटो हुर्केजस्तै मनैदेखि प्रशंसा गर्दा प्रशिक्षार्थीले यहोवाको सेवामा अझ उन्‍नति गर्न सक्नेछन्‌।—मत्ती ३:१७ तुलना गर्नुहोस्‌।

      अर्को चुनौती

      ९. (क) सम्पन्‍न मुलुकका एल्डरहरूले कस्तो चुनौती सामना गर्नुपरेको छ? (ख) केही युवाहरूले यहोवाको सेवालाई पहिलो स्थानमा राख्न नसक्नुको कारण के हो?

      ९ सम्पन्‍न मुलुकका एल्डरहरूले अर्को चुनौती पनि सामना गर्नुपर्ने हुन्छ। बीस वर्ष नाघिसकेका युवाहरूलाई मण्डलीका जिम्मेवारीहरू सम्हाल्न प्रोत्साहन दिन उनीहरूलाई गाह्रो लाग्न सक्छ। केही युवाहरू मण्डलीमा जिम्मेवारी सम्हाल्नदेखि पछि हट्‌नुको कारण के होला भनेर हामीले २० वटा पश्‍चिमी मुलुकका अनुभवी एल्डरहरूलाई सोधेका थियौं। एउटा जवाफ यस्तो थियो: हुर्कंदै जाँदा तिनीहरूलाई आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिइएको थिएन। केही युवाहरूले आध्यात्मिक लक्ष्य राखेको भए तापनि तिनीहरूको आमाबुबाले तिनीहरूलाई उच्च शिक्षा हासिल गर्न वा संसारमै नाम-दाम कमाउन प्रोत्साहन दिएका थिए। त्यसैले ती युवाहरूले यहोवाको सेवालाई पहिलो स्थानमा राख्न सकेनन्‌।—मत्ती १०:२४.

      १०, ११. (क) कुनै भाइ मण्डलीमा जिम्मेवारी सम्हाल्न त्यत्ति इच्छुक छैनन्‌ जस्तो देखिन्छ भने तिनको सोचाइ बदल्न एल्डरले के गर्न सक्छन्‌? (ख) एल्डरले ती भाइसित छलफल गर्दा के-कस्ता पदहरू देखाउन सक्छन्‌? त्यस्ता पदहरू देखाउँदा के हुन्छ? (फुटनोट हेर्नुहोस्‌)

      १० कुनै भाइ मण्डलीमा जिम्मेवारी सम्हाल्न त्यत्ति इच्छुक छैनन्‌ जस्तो देखिन्छ भने तिनको सोचाइ बदल्न तपाईंले निकै प्रयास र धैर्य गर्नुपर्ने हुन्छ। त्यसरी प्रयास गर्नुभयो भने तपाईं सफल पनि हुनुहुनेछ। कुनै-कुनै बोट सुरुमा त्यत्ति बलियो हुँदैन। त्यसकारण किसानले त्यसलाई राम्ररी हुर्काउन टेको लगाउँछ। टेको लगाउँदा त्यो बोट बिस्तारै बलियो हुँदै जान्छ। त्यसैगरि, मण्डलीमा जिम्मेवारी सम्हाल्न नचाहने भाइलाई तपाईंले मदत गर्नुभयो भने समयको दौडान तिनले आफ्नो सोचाइ बदल्न सक्नेछन्‌। तर कसरी?

      ११ ती भाइसित घनिष्ठ हुन कोसिस गर्नुहोस्‌। मण्डलीलाई तिनको खाँचो छ भनेर बुझ्न तिनलाई मदत गर्नुहोस्‌। अनि समय बित्दै जाँदा तिनलाई आफ्नो समर्पणबारे सोच्न मदत गर्ने बाइबलका केही पदहरू देखाउँदै तिनीसित छलफल गर्नुहोस्‌। (उप. ५:४; यशै. ६:८; मत्ती ६:२४, ३३; लूका ९:५७-६२; १ कोरि. १५:५८; २ कोरि. ५:१५; १३:५) छलफलको दौडान तिनलाई यस्ता प्रश्‍नहरू सोध्नुभयो भने तिनी अझ बढी यहोवाको सेवा गर्न जुरमुरिनेछन्‌, ‘यहोवालाई जीवन समर्पण गर्दा तपाईंले कस्तो भाकल गर्नुभएको थियो? तपाईंले बप्तिस्मा गर्दा यहोवालाई कस्तो लागेको थियो होला? (हितो. २७:११) त्यतिखेर सैतानलाई चाहिं कस्तो लागेको थियो होला?’ (१ पत्रु. ५:८) राम्ररी सोचविचार गरेर छानिएका शास्त्रपदहरूले ती भाइको मनमा गहिरो छाप पार्न सक्छ भनेर नबिर्सनुहोस्‌।—हिब्रू ४:१२ पढ्‌नुहोस्‌।b

      प्रशिक्षार्थीहरू हो, वफादार हुनुहोस्‌

      १२, १३. (क) एलीशाले कस्तो मनोभाव देखाए? (ख) यहोवाले एलीशालाई कस्तो इनाम दिनुभयो?

      १२ युवाहरू हो, मण्डलीलाई तपाईंको खाँचो छ। सफल हुन तपाईंले कस्तो मनोभाव देखाउनुपर्छ? यस प्रश्‍नको जवाफ पाउन एक जना प्रशिक्षार्थीको जीवनमा घटेका केही घटनाहरू विचार गरौं।

      १३ झन्डै ३,००० वर्षअघि भविष्यवक्‍ता एलियाले युवावस्थाका एलीशालाई आफ्नो सहयोगी हुन बोलाए। एलीशा तुरुन्तै एलियाको पछि लागे र सानो जस्तो देखिने जिम्मेवारी पनि स्वीकारेर वफादार भई ती वृद्ध मानिसको सेवा गरे। (२ राजा ३:११) एलियाले एलीशालाई छ वर्षसम्म तालिम दिए। इस्राएलमा एलियाको सेवा पूरा हुनै लागेको थियो। त्यसैले उनले राम्ररी तालिम पाइसकेका एलीशालाई आफ्नो पछि नलाग्न आग्रह गरे। तर एलीशाले उनलाई तीन पटकसम्म यसो भने, “म तपाईंलाई छोड्‌नेछैनँ।” एलीशा आफ्ना प्रशिक्षकसित अझ धेरै समय बिताउन चाहन्थे। तिनी आफ्ना प्रशिक्षकप्रति वफादार भएकोले यहोवाले तिनलाई इनाम दिनुभयो। यहोवाले एलियालाई आँधीबेहरीद्वारा उठाएर लैजानुहुँदा तिनले त्यो अचम्मलाग्दो दृश्‍य हेर्ने मौका पाए।—२ राजा २:१-१२.

      १४. (क) प्रशिक्षार्थीहरूले कसरी एलीशाको देखासिकी गर्न सक्छन्‌? (ख) प्रशिक्षार्थीहरू वफादार हुनु किन महत्त्वपूर्ण छ?

      १४ तपाईं कसरी एलीशाको देखासिकी गर्न सक्नुहुन्छ? मण्डलीमा सानोजस्तो देखिने जिम्मेवारी दिइँदा पनि त्यो तुरुन्तै स्वीकार्नुहोस्‌। तपाईंको प्रशिक्षकलाई साथी सम्झनुहोस्‌ अनि तिनले तपाईंको लागि गरेको परिश्रमको तपाईं कदर गर्नुहुन्छ भन्‍ने कुरा बताउनुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो प्रशिक्षकलाई एक अर्थमा यसो भनिरहनुभएको हुनेछ, “म तपाईंलाई छोड्‌नेछैनँ।” सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले पाएको जिम्मेवारी वफादार भई पूरा गर्नुहोस्‌। त्यसो गर्नु किन महत्त्वपूर्ण छ? किनकि तपाईं वफादार र भरोसायोग्य हुनुभयो भने मात्र यहोवाले तपाईंलाई थप जिम्मेवारी दिन चाहनुभएको रहेछ भनेर एल्डरहरू ढुक्क हुन सक्छन्‌।—भज. १०१:६; २ तिमोथी २:२ पढ्‌नुहोस्‌।

      मनैदेखि आदर गर्नुहोस्‌

      १५, १६. (क) एलीशाले आफ्ना प्रशिक्षकलाई आदर गरेको कसरी देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) अरू भविष्यवक्‍ताहरूले एलीशालाई किन भरोसा गर्न सके?

      १५ एलियाको उत्तराधिकारी एलीशाको अनुभवबाट मण्डलीका दाजुभाइहरूले अनुभवी एल्डरहरूलाई कसरी आदर गर्न सक्छन्‌ भन्‍ने कुरा पनि बुझ्न सकिन्छ। यस विवरणका बाँकी घटनाहरू विचार गरौं। यरीहोमा भविष्यवक्‍ताहरूको दललाई भेटेपछि एलिया र एलीशा यर्दन नदीतिर गए। नदीको किनारमा पुगेपछि “एलियाले आफ्नो खास्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो।” सुख्खा जमिनमा हिंडेर नदी पार गरेपछि “उनीहरू बात गर्दै अगि बढ्‌न लागे।” आफ्नो प्रशिक्षक आफूसित होउन्जेल उनले भनेको एक-एक कुरा एलीशाले ध्यान दिएर सुने। लामो समयदेखि तालिम पाएकोले तिनले आफूलाई सबै कुरा थाह छ भन्‍ने सोचाइ राखेनन्‌। त्यसपछि एलियालाई आँधीबेहरीले उठाइ लग्यो। त्यहाँबाट फर्कने क्रममा एलीशा यर्दन नदीमा पुगे र एलियाको खास्टोले पानीलाई हिर्काएर यसो भन्दै कराए, “परमप्रभु, एलियाका परमेश्‍वर कहाँ हुनुहुन्छ?” पानी फेरि दुई भाग भयो।—२ राजा २:८-१४.

      १६ एलीशाले गरेको पहिलो चमत्कार ठ्याक्कै एलियाले गरेको अन्तिम चमत्कारजस्तै थियो। के तपाईंले त्यो कुरा याद गर्नुभयो? यसबाट के सिक्न सकिन्छ? अब सबै कुरा आफ्नै हातमा भएकोले एलीशाले आफ्नै तरिकामा कामकुरा सम्हाल्न सक्थे। तर तिनले त्यसो गरेनन्‌। एलीशाले आफ्ना प्रशिक्षक एलियाकै तरिकामा कामकुरा सम्हालेर उनलाई आदर गरेको देखाए। यसले गर्दा अरू भविष्यवक्‍ताहरूले पनि तिनलाई भरोसा गर्न सके। (२ राजा २:१५) एलीशाले भविष्यवक्‍ताको रूपमा ६० वर्ष सेवा गरे। त्यस दौडान यहोवाको मदत पाएर तिनले एलियाले भन्दा धेरै चमत्कार गर्न सके। यसबाट तपाईं प्रशिक्षार्थीहरूले के सिक्न सक्नुहुन्छ?

      १७. (क) प्रशिक्षार्थीहरूले कसरी एलीशाको जस्तै मनोभाव देखाउन सक्छन्‌? (ख) समय आएपछि यहोवाले प्रशिक्षार्थीहरूलाई कसरी चलाउन सक्नुहुन्छ?

      १७ मण्डलीमा कुनै जिम्मेवारी पाउनासाथ त्यो काम पहिला गरिनेभन्दा बिलकुलै नयाँ तरिकामा गर्नुपर्छ भन्‍ने सोचाइ कसै-कसैले राख्न सक्छन्‌। तर त्यस्तो सोचाइ राख्नु ठीक होइन। तपाईंलाई कुनै परिवर्तन गर्न मन लाग्यो भन्दैमा परिवर्तन गरिहाल्न मिल्दैन। मण्डलीलाई साँच्चै नै त्यो परिवर्तनको खाँचो छ वा परमेश्‍वरको सङ्‌गठनबाट कुनै निर्देशन आएको छ भने मात्र परिवर्तन गर्नुपर्छ। एलीशाले आफू अघिका भविष्यवक्‍ता एलियाले अपनाएको तरिकामा कामकुरा सम्हालेर उनलाई आदर गरेको देखाए। यसले गर्दा अरू भविष्यवक्‍ताहरूले तिनलाई भरोसा गर्न सके। त्यसैगरि, तपाईंले पनि अनुभवी एल्डरहरूले अपनाएको बाइबलआधारित तरिकाअनुसारै कामकुरा गर्नुभयो भने तपाईंले ती एल्डरहरूलाई आदर गरिरहनुभएको हुनेछ। यसो गर्दा मण्डलीका दाजुभाइ दिदीबहिनीले पनि तपाईंलाई भरोसा गर्नेछन्‌। (१ कोरिन्थी ४:१७ पढ्‌नुहोस्‌) तपाईं अनुभवी हुँदै जाँदा यहोवाको सङ्‌गठनले गरेको परिवर्तनहरू लागू गर्न मण्डलीलाई मदत दिन सक्नुहुन्छ। तपाईं वफादार रहनुभयो भने समय आएपछि यहोवाले एलीशालाई जस्तै तपाईंलाई पनि तपाईंको प्रशिक्षकलाई भन्दा धेरै जिम्मेवारी दिनुहुनेछ।—यूह. १४:१२.

      १८. मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु किन अत्यावश्‍यक छ?

      १८ यस लेखमा र यस अघिको लेखमा दिइएका सुझावहरूले थुप्रै एल्डरहरूलाई तालिम दिन समय निकाल्न उत्प्रेरित गर्नेछ भन्‍ने हामी आशा गर्छौं। योग्य दाजुभाइहरूले पनि खुसीसाथ त्यस्तो तालिम स्वीकारेको र तालिमबाट सिकेका कुराहरू लागू गर्दै यहोवाका भेडाहरूको राम्ररी हेरचाह गरेको पनि हामी आशा गर्छौं। यसो गर्दा संसारभरका मण्डलीहरू बलियो हुनेछ र आउनै लागेको कठिन समयमा मण्डलीका हरेक सदस्य वफादार रहन सक्नेछन्‌।

      a यदि कुनै किशोर आध्यात्मिक रूपमा परिपक्व छन्‌, नम्र छन्‌ अनि तिनले धर्मशास्त्रमा तोकिएका योग्यताहरू पूरा गरेका छन्‌ तर २० वर्ष पुगिसकेका छैनन्‌ भने पनि एल्डरहरूले तिनलाई सहायक सेवकको रूपमा सिफारिस गर्न सक्छन्‌।—१ तिमो. ३:८-१०, १२; मे २००० को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

      b छलफलको लागि अप्रिल १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ १४-१६, अनुच्छेद ८-१३ र “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको अध्याय १६, अनुच्छेद १-३ मा पाइने जानकारीहरू चलाउन सक्नुहुन्छ।

      तालिम दिने तरिकाहरू

      अरूलाई तालिम दिन सफल भएका एल्डरहरूले निम्न सुझावहरू दिए:

      1. १. आफ्नो बोली र कामद्वारा राम्रो उदाहरण बसाल्नुहोस्‌।

      2. २. एक वर्षमा पूरै बाइबल पढिसिध्याएर यहोवासित अझ नजिक हुन प्रशिक्षार्थीलाई प्रोत्साहन दिनुहोस्‌।

        एक जना एल्डरले सहायक सेवकलाई महानगरिय साक्षीकार्य गर्न तालिम दिंदै
      3. ३. सँगै प्रचार गर्नुहोस्‌।

      4. ४. क्षेत्र सेवाको सभा प्रभावकारी तरिकामा सञ्चालन गर्न सिकाउनुहोस्‌।

        १. एल्डरले जनभाषण दिंदै; २. एल्डरले सहायक सेवकलाई मदत गर्दै; ३. सहायक सेवकले जनभाषण दिंदै
      5. ५. तपाईंको जनभाषण छ भने तिनलाई पनि रूपरेखाको एक प्रति दिनुहोस्‌ र तपाईंले भाषणका बुँदाहरूलाई कसरी विस्तार गर्दै लैजानुहुन्छ, त्यो कुरामा ध्यान दिन आग्रह गर्नुहोस्‌।

      6. ६. तिनी र तिनको परिवारलाई बेलाबेलामा तपाईंको पारिवारिक उपासनामा बोलाउनुहोस्‌।

      7. ७. तपाईंको परिवार र तिनको परिवार मिलेर कहिल्यै प्रचार नगरिएको वा कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकामा प्रचार गर्न जाने प्रबन्ध मिलाउनुहोस्‌।c

      c अफ्रिका, अमेरिका, एसिया, अस्ट्रेलिया र युरोपका एल्डरहरूले यी सुझावहरू लागू गरेर राम्रो नतिजा हात पारेका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने