प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १/८ पृ. २४-२६
  • जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जडीबुटीले कसरी मदत गर्न सक्छ
  • जडीबुटीलाई कसरी प्रयोग गर्न सकिन्छ
  • केही सावधानीहरू
  • सम्भाव्य खतरनाक मिश्रण
  • चिनियाँ वैद्यखानाको भ्रमण
    ब्यूँझनुहोस्‌!—२०००
  • वैकल्पिक उपचारविधिका
    ब्यूँझनुहोस्‌!—२०००
  • आफ्नो उपचार आफै गर्ने—फाइदा तथा खतराहरू
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १/८ पृ. २४-२६

जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?

पुरातन समयदेखि नै रोगको उपचार गर्न जडीबुटी उपचार विधिहरू प्रयोग हुँदै आएका छन्‌। लगभग सा.यु.पू. १६ औं शताब्दीमा तयार पारिएको इबर्स पपाइरसमा विभिन्‍न रोगब्याधीहरूको परम्परादेखि चल्दै आएको उपचार विधिहरू समावेश छन्‌। तथापि, साधारणतया जडीबुटी उपचार विधि मौखिक रूपमा एक पुस्ताले अर्को पुस्तालाई भन्दै जाने प्रचलन थियो।

प्रथम शताब्दीका युनानी चिकित्सक डाइसकोरीडीजले गरेको कामबाटै पश्‍चिमी जडीबुटी उपचारको थालनी भएजस्तो देखिन्छ, जसले डि माटरिया माडिका (ग्रीक) शीर्षकको पुस्तक लेखे। यो पुस्तक अर्को १,६०० वर्षको लागि औषधीशास्त्रको प्रमुख पाठ्य-पुस्तक बन्यो। संसारका धेरै भागमा परम्परागत जडीबुटी उपचार अझै पनि लोकप्रिय छ। जर्मनीमा सरकारी स्वास्थ्य कार्यक्रमले जडीबुटी उपचार खर्च समेत बेहोरिदिन सक्छ।

परम्परागत तथा एक पुस्ताले अर्को पुस्तालाई मौखिक रूपमा भन्दै आएका जडीबुटी उपचार आधुनिक औषधोपचारभन्दा सुरक्षित हुन्छन्‌ भनेर कहिलेकाहीं दाबी गरिए तापनि जडीबुटी उपचार आफैमा खतरामुक्‍त भने छैन। त्यसो भए प्रश्‍न उठ्‌छ: जडीबुटी उपचार गर्न सोचिरहेका व्यक्‍तिले के कस्ता सावधानीहरू अपनाउनुका साथै कस्ता सल्लाहहरूमा ध्यान दिनुपर्छ? अनि के त्यस्ता रोगहरू छन्‌, जसको लागि कुनै एक प्रकारको उपचार पद्धति अर्कोभन्दा बढी फाइदाजनक हुन सक्छ?a

जडीबुटीले कसरी मदत गर्न सक्छ

जडीबुटीहरूमा धेरै उपचारात्मक गुणहरू हुन्छन्‌ भनेर भनिन्छ। कुनै-कुनै जडीबुटीले सङ्‌क्रमणहरू विरुद्ध लड्‌न शरीरलाई मदत गर्छ भन्‍ने विश्‍वास गरिन्छ। अन्य कतिपयले पाचनसम्बन्धी समस्या हटाउन, स्नायुहरूलाई शान्त राख्न, कब्जियत ठीक पार्न अथवा ग्रन्थिहरूलाई नियन्त्रण गर्न मदत गर्छ भनी भन्‍ने गर्छन्‌।

पोषण र उपचार दुवै दृष्टिकोणबाट जडीबुटीहरूको महत्त्व हुन सक्छ। उदाहरणको लागि पार्स्ली जस्ता डियुरेटिक्स अर्थात्‌ पिसाब खोल्ने वनस्पतिमा धेरै मात्रामा पोटासियम पनि हुन्छ।b यस्ता प्रकारका वनस्पतिहरूमा भएका पोटासियमहरूले पिसाबबाट जाने यी महत्त्वपूर्ण तत्त्वहरूको क्षतिपूर्ति गर्छ। त्यस्तै गरी नशालाई शान्त पार्न पहिलादेखि प्रयोग गरिंदै आएको वनस्पति भालिरियन-मा (Valeriana officianalis) धेरै मात्रामा क्याल्सियम पाइन्छ। क्याल्सियमले यसको लट्ठ बनाउने प्रभावकारीता अझ बढाउन सक्छ।

जडीबुटीलाई कसरी प्रयोग गर्न सकिन्छ

जडीबुटीलाई धेरै तरिकामा प्रयोग गर्न सकिन्छ जस्तै चिया, काँढा, टिन्चर र लेप। जडीबुटीमा उमालेको तातो पानी खन्याएर चिया तयार पारिन्छ। चियाको रूपमा प्रयोग गरिने जडीबुटीहरूलाई सामन्यतया उमाल्नु हुँदैन भनी विज्ञहरू सचेत गराउँछन्‌। जडीबुटीका जरा र बोक्राहरूलाई पानीमा उमालेर काँढा तयार पारिन्छ र यसरी ती जडीबुटीमा रहेका समिश्रणहरूलाई छुट्ट्याउनको लागि जडीबुटीलाई पानीमा उमालिन्छ।

टिन्चरबारे चाहिं के भन्‍न सकिन्छ? एउटा पुस्तकले भनेअनुसार यीचाहिं “शुद्ध अथवा रक्सीको प्रतिशत कम भएका ब्रान्डी वा भोड्‌का जस्ता मदिराको मदतले जडीबुटीबाट निकालिने तत्त्व हुन्‌।” अनि लेपचाहिं विभिन्‍न तरिकाबाट तयार पारिन्छ। साधारणतया यो रोगग्रस्त अथवा दुखेका शरीरका अंगहरूमा दलिन्छ।

अन्य भिटामिन र औषधीहरूजस्तो नभई अधिकांश जडीबुटीहरूलाई भोजनको रूपमा लिइन्छ र अक्सर खाली पेटमा अरू केहीसित नमिसाईकन खाइन्छ। यसलाई क्याप्सुलको रूपमा पनि सेवन गर्न सकिन्छ जुन सेवन गर्न धेरै सजिलो हुन सक्छ। यदि तपाईं जडीबुटी उपचार गर्ने विचार गर्दै हुनुहुन्छ भने कुनै पेशेवर विज्ञको निर्देशनमा यसो गर्नु बुद्धिमानी हुन्छ।

पराम्परागत रूपमा सामान्य रुघाखोकी, अपच, कब्जियत, इन्सोम्निया अर्थात्‌ अनिद्रा र वाकवाकी लाग्ने अवस्थामा जडीबुटीको प्रयोग गर्ने सुझाव दिइएको छ। तथापि कहिलेकाहीं जडीबुटी गम्भीर रोगहरूको उपचारको लागि मात्र होइन तर रोग लाग्नुअघि बचाउको लागि पनि प्रयोग गरिन्छ। उदाहरणका लागि जर्मनी र अष्ट्रियामा प्रथम चरणको प्रोस्टेट ग्रन्थिको क्यान्सरको लागि (केवल प्रोस्टेट ग्रन्थि सुन्‍निएको छ भने) पालमेटो (Serenoa repens) नाउँ गरेको जडीबुटी प्रयोग गरिन्छ। कुनै-कुनै देशमा यो रोगले अन्ततः ५० देखि ६० प्रतिशत पुरुषहरूलाई असर गर्छ। तथापि, यस्तो बेला क्यान्सरमा जस्तो गम्भीर उपचारको आवश्‍यकता पर्छ कि पर्दैन भनी पक्का गर्न सुन्‍निएको कारणबारे डाक्टरद्वारा रोग खुट्याउनु आवश्‍यक छ।

केही सावधानीहरू

जडीबुटीहरूलाई सुरक्षित ठानिए तापनि सावधानी अपनाउने सल्लाह दिइन्छ। उत्पादनमा “प्राकृतिक” भन्‍ने लेबल टाँसिएको छ भन्दैमा खुरुक्क नस्वीकार्नुहोस्‌। जडीबुटीको सम्बन्धमा एउटा इन्साइक्लोपीडिया-ले यसो भन्छ: “दुःखलाग्दो तथ्य के हो भने, कुनै-कुनै जडीबुटीहरू पूर्णतः खतरनाक हुन्छन्‌। . . . [दुःखको कुरा] केही मानिसहरू सबै जडीबुटीलाई उत्तिकै उचित सम्मान दिन्छन्‌, चाहे त्यो हानिकारक होस्‌ या अहानिकारक।” जडीबुटीमा भएका रसायनिक मिश्रणले मुटुको गतिमा, रक्‍तचापमा र ग्लुकोजको मात्रामा परिवर्तन ल्याउन सक्छ। त्यसैले, विशेष गरेर मुटुसम्बन्धी समस्या, उच्च रक्‍तचाप अथवा मधुमेहजस्ता रगतमा चिनीको मात्रामा गडीबडी हुने रोगबाट पीडित व्यक्‍तिहरूले सावधानी अपनाउनु पर्छ।

तथापि, साधारणतया जडीबुटीले गर्ने नकारात्मक असर एलर्जीसम्ममा मात्र सीमित छ। यसमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने अथवा डाबरहरू आउने समस्याहरू पनि समावेश छन्‌। जडीबुटीको प्रयोग गर्दा निको हुनुअघि रुघा-खोकीको जरो आएजस्तो हुने अथवा अन्य लक्षणहरू देखापर्छ पनि भन्‍ने गरिन्छ। जडीबुटीको प्रयोग गर्ने व्यक्‍तिको परिस्थिति राम्रो हुनुअघि बिग्रन सक्छ। जडीबुटी उपचारको सुरुको चरणमा विषाक्‍त फोहोरहरू बाहिर निस्कने भएकोले यस्तो भएको हो भन्‍ने दाबी गरिन्छ।

केही खास जडीबुटी उत्पादनहरूले समय-समयमा मानिसहरूको ज्यान लिने गरेको तथ्यले सावधान हुनुपर्ने तथा राम्ररी समझ चलाउनुपर्ने आवश्‍यकतालाई अझ बढी जोड दिन्छ। उदाहरणको लागि इफेड्रा नामको जडीबुटी सधारणतया तौल घटाउनको लागि लिइन्छ र यसले रक्‍तचापलाई पनि बढाउन सक्छ। इफेड्रा नामक जडीबुटीको कारण संयुक्‍त राज्य अमेरिकामा १०० भन्दा बढी व्यक्‍तिको ज्यान गएको रिपोर्ट प्राप्त भए तापनि सान फ्रान्सिस्कोका प्याथोलोजिस्ट स्टिभन कार्च यसो भन्छन्‌: “जहाँसम्म मलाई थाह छ, [इफेड्रा सेवन] गरेर मर्नेहरूमध्ये कोहीलाई गम्भीर मुटुसम्बन्धी रोग लागेको थियो भने अन्य कतिपयले लिनुपर्ने मात्राभन्दा बढी सेवन गरेका थिए।”

हर्बल सप्लिमेन्टसम्बन्धी पुस्तकका लेखक डा. लोगन चाम्बरलाइन्‌ यसो भन्छन्‌: “जडीबुटीले गरेको हानिबारे अहिलेसम्म प्राप्त अधिकांश रिपोर्टहरूमा मानिसहरूले निर्देशनहरू नपछ्याएको कारणले गर्दा ती नतिजाहरू भोग्नुपरेको कुरा स्पष्ट हुन्छ। . . . भरपर्दो उत्पादनहरूमा खाने मात्राको सन्दर्भमा दिइएका सल्लाहहरू सुरक्षित हुनुका साथै अहानिकारक पनि हुन्छन्‌। तालिम-प्राप्त जडीबुटी विज्ञबाट राम्रो सल्लाह नपाएसम्म सेवन गर्ने मात्राबारे दिइएको सल्लाहलाई लत्याउने अथवा आफैं मात्रा निर्धारण गर्ने नगर्नुहोस्‌।”

जडीबुटी विज्ञ लिन्डा पेज यस्तो चेतावनी दिन्छिन्‌: “गम्भीर रोगको लागि समेत ठिक्क मात्रा नै लिनुपर्छ, धेरै लिनुहुँदैन। धेरै समय दिंदा र ठिक्क मात्रामा सेवन गर्दा राम्रो परिणाम हासिल हुन सक्छ। पुनः स्वास्थ्य लाभ गर्न समय लाग्छ।”

जडीबुटी शास्त्रबारे एउटा पुस्तकले बताएअनुसार कुनै जडीबुटीहरूमा बढी सेवन गर्दा स्वतः हानिबाट जोगाउने क्षमता हुन्छ। उदाहरणको लागि शरीरलाई आराम दिने एक प्रकारको जडीबुटी बढी सेवन गरेमा बान्ता हुन्छ। तथापि, सबै जडीबुटीहरूमा यस्तो क्षमता नहुने भएकोले सुरक्षित मात्रा लिनुपर्ने आवश्‍यकतालाई बेवास्ता गर्नु हुँदैन।

यद्यपि, जडीबुटी प्रभावकारी हुनको लागि ठीक समयमा ठिक्क मात्रामै सेवन गर्नुपर्छ भन्‍ने धेरैको विश्‍वास छ। कहिलेकाहीं यसो गर्ने एउटा तरिका काँढा सेवन गर्नु हो। स्मरण शक्‍ति बढाउने तथा रक्‍तसञ्चारलाई सक्रिय राख्न निकै लामो समय देखि सेवन गरिंदै आएको गिङ्‌गो बिलोबाको सन्दर्भमा यो कुरा सत्य साबित हुन्छ किनकि एक पटकको प्रभावकारी मात्राको लागि धेरै पाउण्ड बराबरका पातहरूको आवश्‍यकता पर्छ।

सम्भाव्य खतरनाक मिश्रण

जडीबुटीले मेडिकल औषधीलाई विभिन्‍न तरिकाले असर गर्न सक्छ। उदाहरणको लागि, जडीबुटीले मेडिकल औषधीको प्रभावलाई बढाउन वा घटाउन सक्छ यसले साबिकभन्दा छिट्टै औषधीको प्रभावलाई शरीरबाट हटाइदिन सक्छ अथवा मेडिकल औषोधीले गर्ने नकारात्मक असरको सम्भाव्यतालाई बढाइदिन सक्छ। हल्का नैराश्‍यले सताएकाहरूलाई जर्मनीमा अक्सर सेन्ट जोन्स वर्ट नामक जडीबुटी दिइन्छ जसले धेरैजसो मेडिकल औषधीहरूलाई सामान्य दुई गुणा छिटो शरीरबाट हटाइदिन्छ यसरी मेडिकल औषधीहरूको प्रभावकारीतामा कमी ल्याइदिन्छ। त्यसैले यदि तपाईंले मेडिकल डाक्टरले दिएको औषधी तथा गर्भनिरोधक चक्की खाइरहनुभएको छ भने कुनै पनि प्रकारको जडीबुटी लिनु पहिले डाक्टरको सल्लाह लिनुहोस्‌।

जडीबुटीको निको गर्ने क्षमताबारे लेखिएको पुस्तक यसो भन्छ: “कुनै खास प्रकारको जडीबुटीसित रक्सी, गाँजा, कोकिन, अन्य लट्ठाउने औषधी तथा सुर्ती मिसाएर सेवन गरेको खण्डमा त्यसले ज्यानसमेत लिन सक्छ। . . . विशेष गरेर बिरामी भएको बेला [यस्ता औषधीहरू] सेवन नगर्न समझ प्रयोग गर्नुपर्छ।” साथै, गर्भवती स्त्री तथा सुत्केरी आमाहरूले यो सल्लाहलाई गम्भीरतासाथ लिनुपर्छ। निस्सन्देह, तामाखु तथा नशालु औषधीहरूको कुरा आउँदा “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं” भन्‍ने बाइबल सिद्धान्त पालन गरेर मसीहीहरू सुरक्षित रहन्छन्‌।—२ कोरिन्थी ७:१.

जडीबुटीको सन्दर्भमा एउटा सन्दर्भसामग्रीले यस्तो चेतावनी दिन्छ: “जडीबुटी सेवन गर्दै गर्नुहुँदा तपाईं गर्भवती हुनुभएको खण्डमा आफ्नो डाक्टरलाई बताउनुहोस्‌ र डाक्टरले पुनः सेवन गर्ने सल्लाह नदिएसम्म जडीबुटी सेवन गर्न रोक्नुहोस्‌। आफूले लिएको मात्रा र कति समयसम्मको लागि लिइएको हो भन्‍ने कुरा नबिर्सनुहोस्‌।”

जडीबुटीसम्बन्धी एउटा इन्साइक्लोपीडिया यसो भन्छ; “जडीबुटी प्रयोग गर्ने सन्दर्भमा आफ्नो उपचार आफै गर्नुका धेरै खतराहरू छन्‌।” “आफ्नो उपचार आफै गर्नुका खतराहरू” शीर्षकको सँगैको पेटीमा तपाईंले जडीबुटीले गर्ने सम्भाव्य खतराहरूको सूची पाउनुहुनेछ।

स्वास्थ्यसम्बन्धी सबै उत्पादनहरू जस्तै जडीबुटीलाई पनि होसियारीसाथ, सबै कुरा बुझेर र निस्सन्देह, सन्तुलन अपनाएर प्रयोग गर्नुपर्छ अनि कुनै-कुनै रोगहरू यस्ता छन्‌ जसको उपचार वर्तमान समयमा सम्भव छैन भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। साँचो मसीहीहरू बिरामी र मृत्युको मूल जरोको रूपमा रहेको, हाम्रो प्रथम मातापिताबाट पाएको असिद्धता परमेश्‍वरको राज्यको मायालु शासनमा पूर्णतया नामेट हुने समयको बाटो हेर्छन्‌।—रोमी ५:१२; प्रकाश २१:३, ४.  (g03 12/22)

[फुटनोटहरू]

a ब्यूँझनुहोस्‌! चिकित्सासम्बन्धी पत्रिका होइन त्यसैले यस पत्रिकाले कुनै खास उपचार वा खुराक, जडीबुटी वा अन्य कुनै पद्धतिहरूलाई सिफारिस गर्दैन। यस लेखमा समावेश गरिएका कुराहरू पूर्णतः सामान्य जानकारीहरूका लागि मात्र हुन्‌। स्वास्थ्य तथा अन्य चिकित्सासम्बन्धी विषयवस्तुहरूमा पाठक स्वयम्‌ले नै निर्णय गर्नुपर्छ।

b डियुरेटिक्स धेरै पिसाब गर्न लगाउने तत्त्व हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने