प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी पृ. १०-१३
  • महिनावारी रोकिएपछिका चुनौतीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महिनावारी रोकिएपछिका चुनौतीहरू
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महिनावारी रोकिएपछिका परिवर्तनहरू
  • कसरी सामना गर्ने?
  • खुलेर कुरा गर्नुहोस्‌
  • प्रेरितहरूका समयमा ज्योतिका चमकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी पृ. १०-१३

महिनावारी रोकिएपछिका चुनौतीहरू

“कारणै विना मलाई अचानक निराशाले छोप्यो। म रोएँ अनि कतै म पागल त हुन लागिनँ जस्तो लाग्यो।”—ठूली माया,a ५० वर्षीया।

“बिहान उठ्‌दा तपाईं आफ्नो घर लथालिङ्‌ग अवस्थामा पाउनुहुन्छ। आफ्नो सामान पनि भेट्टाउन सक्नुहुन्‍न। आँखा चिम्लेर गर्न सक्ने कामकुरा अहिले तपाईंलाई एकदमै गाह्रो लाग्न थालेको छ। तर किन यसो भइरहेको छ तपाईंलाई थाह छैन।”—सुशीला, ५५ वर्षीया।

यी महिलाहरू बिरामी होइनन्‌। तिनीहरूले महिनावारी रोकिएपछिका परिवर्तनहरू अनुभव गर्दैछन्‌। यो महिलाको शरीरमा हुने प्राकृतिक परिवर्तन हो। यसपछि तिनमा सन्तान पैदा गर्ने क्षमता हुँदैन। तपाईं महिला हुनुहुन्छ भने महिनावारी रोकिने उमेर पुग्न लाग्नुभयो कि? अथवा हुन सक्छ तपाईं अहिले यसका असरहरू अनुभव गर्दै हुनुहुन्छ। अवस्था जे सुकै होस्‌, तपाईं र तपाईंको परिवारले यस परिवर्तनबारे जति धेरै थाह पाउनुहुन्छ, महिनावारी रोकिएपछिका चुनौतीहरू सामना गर्न त्यति नै तयार हुनुहुनेछ।

महिनावारी रोकिएपछिका परिवर्तनहरू

प्रायजसो महिलामा महिनावारी रोकिने लक्षणहरू ४० वर्ष नाघेपछि देखिन थाल्छ तर कोही-कोहीमा भने ६० वर्ष नाघेपछि मात्र देखिन सक्छ। धेरैजसो अवस्थामा महिनावारी बिस्तारै रोकिन्छ। हर्मोन उत्पादनमा परिवर्तन हुने भएकोले कुनै महिना महिनावारी हुने अनि कुनै महिनामा चाहिं नहुने, बेला नभईकन महिनावारी हुने अथवा कहिलेचाहिं अत्यधिक रगत बहनेजस्ता कुराहरू हुन सक्छन्‌। एकदमै कम महिलाको मात्र अचानक महिनावारी रोकिन्छ।b

महिनावारी रोकिंदा पुस्तक (अङ्‌ग्रेजी) यसो भन्छ, ‘महिनावारी रोकिंदा महिलापिच्छे अनुभव फरक हुन्छ। यसबेला महिलाहरूले अनुभव गर्ने अप्ठ्याराहरूमध्ये सबैभन्दा सामान्यचाहिं उकुसमुकुस हुने गरी शरीर तातो हुने र एकैछिनमा चिसो हुने हो।’ यस्तो बेला निद्रामा गडबडी हुन सक्छ र शरीर गल्न सक्छ। यस्तो कहिलेसम्म हुन्छ? रजोनिवृत्ति किताब-अनुसार (अङ्‌ग्रेजी), “महिनावारी रोकिने प्रक्रिया सुरु भएपछि कोही-कोही महिलाले एक वा दुई वर्षसम्म बेला-बेलामा उकुसमुकुस हुने गरी शरीर तातो हुने अनुभव गर्छन्‌। अरू कतिले भने वर्षौंसम्म यस्ता अप्ठ्याराहरू अनुभव गर्छन्‌। अनि थोरैले जिन्दगीभर यो समस्या सहनुपर्छ।”c

हर्मोनमा परिवर्तन हुने भएकोले महिलाहरूलाई डिप्रेसन र मुड परिवर्तनले पनि सताउन सक्छ। यसले गर्दा सानो कुरामा पनि पिलपिल आँसु झरिहाल्ने, ध्यान दिन नसक्ने अनि बिर्सनेजस्ता समस्याहरू हुन सक्छन्‌। तर “यी सबै लक्षणहरू सबै महिलाले अनुभव गर्दैनन्‌” भनेर रजोनिवृत्ति किताब-मा बताइएको छ। साँच्चै, कोही-कोही महिलाहरूले यस्ता समस्याहरू खासै अनुभव गर्दैनन्‌।

कसरी सामना गर्ने?

जीवनशैलीमा सानातिना परिवर्तन गर्दा पनि कतिपय समस्या कम गर्न सकिन्छ। उदाहरणको लागि चुरोट पिउनेहरूले यो कुलत छोड्‌दा उकुसमुकुस हुने गरी शरीर तातो हुने समस्यालाई कम गर्न सक्छन्‌। खानपानमा परिवर्तन गर्दा पनि फाइदा हुन सक्छ। उदाहरणको लागि उकुसमुकुस हुने गरी शरीर तातो हुने समस्यालाई बढावा दिने कुराहरू जस्तै रक्सी, क्याफिन, मसलादार वा गुलियो खानेकुरा कम गर्दा वा चटक्कै छोड्‌दा समस्या कम हुन सक्छ। पक्कै पनि, सन्तुलित भोजन खानु अपरिहार्य छ।

महिनावारी रोकिएपछि देखा पर्ने लक्षणहरू कम गर्न व्यायाम पनि निकै मदतकारी हुन सक्छ। यसले अनिद्रा र मुड बिग्रने समस्यालाई धेरै कम गर्न सक्छ। अनि हड्डी बलियो बनाउन र सुस्वास्थ्य कायम राख्न पनि मदत गर्न सक्छ।d

खुलेर कुरा गर्नुहोस्‌

माथि उल्लिखित ठूली माया भन्छिन्‌, “पीर मनभित्रै गुम्साएर राख्नुपर्ने कुनै कारण छैन। आफूलाई भइरहेको कुरा परिवारलाई बताउनुभयो भने तपाईंलाई गाह्रो भइरहेको देख्दा तिनीहरूले एकदमै चिन्ता लिनेछैनन्‌।” भन्‍ने हो भने तिनीहरू अझै धीरजी र समझदार हुन्छन्‌। पहिलो कोरिन्थी १३:४ ले “प्रेम धीरजी र दयालु हुन्छ” भनी बताउँछ।

आफ्नो प्रजनन क्षमता गुमाएका महिलालगायत अरू थुप्रैले प्रार्थनाबाट पनि लाभ उठाएका छन्‌। बाइबलमा हामीलाई यस्तो आश्‍वासन दिइएको छ, “[परमेश्‍वरले] हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुन्छ।” (२ कोरिन्थी १:४) महिनावारी रोकिएपछि हुने परिवर्तन केही समयको लागि मात्र हो भनेर थाह पाउनु पनि सान्त्वनादायी छ। यस्तो समस्या भइरहेका महिलाहरूले आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गरेमा फेरि बल प्राप्त गरेको महसुस गर्न सक्छन्‌ र वर्षौंसम्म गुणस्तरीय जीवन बिताउन सक्नेछन्‌। (g13-E 11)

a नामहरू परिवर्तन गरिएका छन्‌।

b बाह्र महिनासम्म लगातार महिनावारी भएन भने डाक्टरहरूले महिनावारी रोकियो भन्‍ने गर्छन्‌।

c थाइराइडको समस्या, शरीरमा कुनै सङ्‌क्रमण छ अथवा कुनै औषधी लिइरहनुभएको छ भने पनि उकुसमुकुस हुने गरी शरीर तातो हुन सक्छ। त्यसैले उकुसमुकुस हुने गरी शरीर तातो हुनेबित्तिकै महिनावारी रोकिएकोले गर्दा हो भन्‍ने निष्कर्षमा पुग्नु बुद्धिमानी होइन।

d महिनावारी रोकिएपछिको परिवर्तन सामना गर्न सकोस्‌ भनेर डाक्टरहरूले विभिन्‍न कुराहरू सिफारिस गर्न सक्छन्‌। जस्तै: हर्मोन अनि भिटामिन र मिनरलको औषधी तथा डिप्रेसनको औषधी। ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास उपचार अथवा कुनै औषधीको सिफारिस गर्दैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने