प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के संसारको अवस्था कहिल्यै सुध्रिएला वा सुध्रिंदैन?
    ब्यूँझनुहोस्‌!—२०१७ | सङ्‌ख्या ६
    • विनाशसूचक घडी

      आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

      के संसारको अवस्था कहिल्यै सुध्रिएला वा सुध्रिंदैन?

      सन्‌ २०१७ एउटा सनसनीपूर्ण घोषणासँगै सुरु भयो। जनवरीमा वैज्ञानिकहरूको एउटा समूहले संसार अहिलेसम्म कहिल्यै नभएको महाप्रलय वा विनाशको सँघारमै पुगेको कुरा बताए। मानव सभ्यता महाविनाशको कति नजिक छ भनेर सङ्‌केत गर्ने घडीलाई (यसलाई डुम्स डे क्लक भनिन्छ) वैज्ञानिकहरूले ३० सेकेन्ड अघि सारे। यो विनाशसूचक घडीमा महाविनाशलाई सङ्‌केत गर्ने समय अर्थात्‌ मध्यरात हुन अब केवल २ मिनेट ३० सेकेन्ड मात्र बाँकी छ। साठी वर्षको दौडान यो घडीले संसार विनाशको यत्ति नजिक पुगेको सङ्‌केत पहिला कहिल्यै गरेको थिएन!

      सन्‌ २०१८ मा वैज्ञानिकहरूले संसार विनाशको कति नजिक पुगेको छ भन्‍ने कुरालाई पुनर्विचार गर्ने योजना बनाएका छन्‌। के विनाशसूचक घडीले संसार महाविनाशको झनै नजिक पुगेको सङ्‌केत गर्ला? तपाईंलाई कस्तो लाग्छ? के संसारको अवस्था कहिल्यै सुध्रिएला? यी प्रश्‍नहरूको जवाफ दिन त्यत्ति सहज नहोला। वास्तवमा भन्‍नुपर्दा यस विषयमा विज्ञहरूको धारणा एकआपसमा बाझिन्छ। कोही-कोहीले पृथ्वीको महाविनाश हुने कुरामा त विश्‍वासै गर्दैनन्‌।

      खासमा लाखौं मानिस हाम्रो भविष्य उज्ज्वल हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्छन्‌। तिनीहरू मानव सभ्यता र पृथ्वीको अन्त कहिल्यै हुँदैन भनेर दाबी गर्छन्‌ अनि हाम्रो जीवनस्तर पनि सुध्रिनेछ भनी आशा गर्छन्‌। के यो कुरा साँच्चै भरपर्दो छ? के संसारको अवस्था कहिल्यै सुध्रिएला?

      “विनाशसूचक घडी अन्तरराष्ट्रिय रूपमा मान्यता पाएको महाविनाशको सूचना दिने प्रतीकात्मक घडी हो। यस घडीले हानिकारक आविष्कार र विज्ञान प्रविधिले गर्दा पूरै मानव सभ्यता विनाशको कति नजिक पुगेको छ भन्‍ने कुराको सङ्‌केत दिन्छ। सबैभन्दा धेरै खतरा आणविक हातहतियारले गर्दा भएको छ। यसको साथै पर्यावरणलाई असर गर्ने प्रविधि, जैविक र इन्टरनेट प्रविधिको दुरुपयोगले मानिसको जीवन र पृथ्वी दाउमा परेको छ, जुन जानाजानी वा अनजानमा अथवा दुर्घटनावश भएको हुन सक्छ।”—बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌

  • जवाफको खोजी
    ब्यूँझनुहोस्‌!—२०१७ | सङ्‌ख्या ६
    • आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

      जवाफको खोजी

      तपाईं नराम्रो समाचारको ओइरोले गर्दा भयभीत हुनुभएको होला। त्यस्तो महसुस गर्ने तपाईं मात्र हुनुहुन्‍न। सन्‌ २०१४ मा भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले थुप्रै मानिस ‘संसारको अवस्था तीव्र गतिमा बिग्रँदै गइरहेको छ अनि कसैले यसलाई रोक्न सक्दैन’ भन्‍ने निष्कर्षमा पुगेका छन्‌ भनी बताए। तिनले यसो हुनुको कारण सञ्चारजगत्‌ले दिने तीनथुप्रो नराम्रो समाचारले गर्दा हो भने।

      तर तिनले यस्तो टिप्पणी दिएको केही समयपछि संसारका समस्याहरू समाधान गर्ने योजनाहरूबारे निर्धक्क भई बताए। सरकारले चालेका केही कदमहरूलाई तिनले “शुभसमाचार” भने अनि आफू “निकै आशावादी” र “असाध्यै सकारात्मक” भएको कुरा पनि बताए। अर्को शब्दमा भन्‍नुपर्दा सबै जना काँधमा काँध मिलाएर अघि बढे भने संसारलाई विनाश हुनबाट जोगाउन सकिन्छ भनेर तिनले भन्‍न खोजिरहेका थिए।

      तिनीजस्तै अरू थुप्रै मानिस पनि भविष्यप्रति आशावादी छन्‌। उदाहरणको लागि, केही मानिसहरू विज्ञानमा भरोसा राख्छन्‌। अहिले द्रुत गतिमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको उपलब्धिहरूले गर्दा संसारका सबै समस्या समाधान हुनेछ भनेर तिनीहरू अनुमान लगाउँछन्‌। सन्‌ २०३० सम्ममा “प्रविधि अहिलेको भन्दा हजार गुणा प्रभावकारी हुनेछ, २०४५ मा त लाखौं गुणा” भनेर डिजिटल प्रविधि र प्रवर्तन क्षेत्रका एक विज्ञले निर्धक्क भई अनुमान गरे। उनी अझै थप्छन्‌: “हामी छलाङ्‌ मार्दै छौं। हुन त समस्याहरू पनि नथपिएका होइनन्‌ तर हामी त्यस्ता चुनौतीहरूको समाधान गर्न सक्षम भइसक्यौं।”

      विश्‍व परिस्थिति कतिसम्म नाजुक अवस्थामा पुगेको छ? के पूरै पृथ्वी महाविनाशको सँघारमा छ? केही वैज्ञानिक र राजनीतिज्ञहरूले आशावादी टीकाटिप्पणी गरे तापनि थुप्रै मानिस आफ्नो भविष्य अझै अन्योलमा भएको महसुस गर्छन्‌। किन?

      आणविक विस्फोटन

      विनाशकारी हतियारहरू। संयुक्‍त राष्ट्र संघलगायत विभिन्‍न संघ-सङ्‌गठनहरूले निकै पहल गर्दा पनि आणविक हातहतियारहरू निश्‍शस्त्रीकरण गर्न सफल भएका छैनन्‌। केही नेताहरू हातहतियार व्यवस्थापन गर्ने नीतिको खुलेआम आलोचना गर्छन्‌। आणविक हातहतियारले सुसज्जित देशहरू आफूसित भएका बमहरू अझै खतरनाक बनाउँदै छन्‌ र नयाँ-नयाँ आधुनिक हातहतियार बनाउन तल्लीन छन्‌। विनाशकारी हातहतियार नभएका देशहरू पनि अहिले आणविक हतियार प्रयोग गरेर ठूलो परिमाणमा धन-जनको क्षति गर्न सक्छन्‌।

      राष्ट्रहरू आणविक हातहतियार प्रयोग गरेर युद्ध गर्न अझ सुसज्जित अवस्थामा छन्‌। त्यसले गर्दा “शान्ति” छाएको जस्तो देखिए पनि पृथ्वी असुरक्षित र खतरनाक ठाउँ बनेको छ। आणविक विज्ञानसम्बन्धी एउटा पत्रिका द बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌-ले यस्तो चेतावनी दिन्छ, “घातक स्वचालित हतियार प्रणाली साँच्चै चिन्ताको विषय बनेको छ। यो यस्तो प्रणाली हो, जसले मानिसको निर्देशन अथवा सुपरिवेक्षणविनै कसैलाई मार्ने वा आक्रमण गर्ने निर्धारण गर्न सक्छ।”

      एक जना मानिस अस्पतालमा

      बिग्रँदो स्वास्थ्य अवस्था। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने सन्दर्भमा विज्ञानले गरेका उपलब्धिहरू सीमित छन्‌। उच्च रक्‍तचाप, मोटोपन, वायु प्रदूषण र लागू पदार्थको दुर्व्यसन जस्ता रोगका कारक तत्त्वहरू दिनानुदिन बढ्‌दै छन्‌। थुप्रै मानिस क्यान्सर, मुटु र रक्‍तनलीसम्बन्धी रोग अनि मधुमेह जस्ता दीर्घकालीन रोगहरूले गर्दा मृत्युको सिकार भएका छन्‌। मानसिक रोग र अन्य विभिन्‍न रोगको कारण बिरामीहरूको सङ्‌ख्या पनि बढिरहेको छ। हालैका वर्षहरूमा इबोला भाइरस र जिका भाइरसको महामारीले संसार नै हल्लाएको थियो। निष्कर्ष: बिग्रँदो स्वास्थ्य अवस्था मानिसको नियन्त्रण बाहिर छ, संसार रोगबिमारबाट मुक्‍त हुने कुनै छाँटकाँट देखिंदैन!

      वायु र पानी प्रदूषण

      वातावरण प्रदूषण। च्याउसरी उम्रिरहेको कल कारखानाले गर्दा वातावरण प्रदूषित हुने क्रम रोकिएको छैन। हरेक वर्ष विषाक्‍त हावाको कारण लाखौं मानिसले ज्यान गुमाउनु परेको छ।

      व्यक्‍ति, समुदाय र सरकारी संघ-सङ्‌गठनहरूले अझै पनि ढल, मेडिकल र कृषिजन्य फोहोर, प्लाष्टिक र अन्य फोहोरमैला समुद्रमा फ्याँक्छन्‌। समुद्रीविज्ञानसित सम्बन्धित एउटा विश्‍वकोश यसो भन्छ, “यी हानिकारक फोहोरमैलाले समुद्री जीव र वनस्पतीलाई विषाक्‍त बनाएको छ अनि ती उपभोग गर्ने मानिसहरूलाई पनि असर गरेको छ।”

      शुद्ध पिउने पानीको हाहाकार नै छ। विज्ञानका विषयहरूमा लेख्ने एक बेलायती लेखक रोबिन म्याककिले यस्तो चेतावनी दिएका छन्‌: “पानीको अभाव यति बढिरहेको छ, यसले संसारको सबैलाई असर गर्नेछ।” राजनीतिज्ञहरू पनि पानीको अभाव मानिस आफैले गर्दा भएको हो अनि यो गम्भीर समस्या हो भनेर स्विकार्छन्‌।

      आँधीबेहरी

      प्राकृतिक प्रकोप। हावाहुरी, आँधीबेहरी र भूकम्पले विनाशकारी बाढी, पहिरो र अरू विपत्ति निम्ताएका छन्‌। प्राकृतिक प्रकोपले गर्दा थुप्रै मानिसले ज्यान गुमाउनुपरेको छ अनि अरू थुप्रै मानिस यसको चपेटामा परेका छन्‌। अमेरिकाको नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले (नासा) गरेको अध्ययनले “अझ खतरनाक आँधीबेहरी आउने, हानिकारक तातो हावा बहने, अनावृष्टि-अल्पवृष्टि हुने” सम्भावना छ भनेर निष्कर्ष निकालेको थियो। के प्रकृतिले पूरै मानव सभ्यतालाई नै नाश गर्ला?

      हो, मानव सभ्यतालाई विनाशमा पुऱ्‍याउन सक्ने अन्य थुप्रै खतरा पनि छन्‌। तर अहिले भइरहेका खराब कुराहरूबारे मात्र सोच्यौं भने हामी भविष्यबारे चित्तबुझ्दो जवाफ भेट्टाउन सक्दैनौं। वैज्ञानिक र राजनीतिज्ञहरूले पनि हामीलाई चित्तबुझ्दो जवाफ दिन सक्दैनन्‌। तैपनि अघिल्लो लेखमा बताइएझैं संसारको अवस्था र भविष्यबारे थुप्रैले चित्तबुझ्दो र भरपर्दो जवाफ पाएका छन्‌। त्यस्तो जवाफ हामी कहाँ पाउन सक्छौं?

  • बाइबल के भन्छ?
    ब्यूँझनुहोस्‌!—२०१७ | सङ्‌ख्या ६
    • एक जना मानिस परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा

      विनाशसूचक घडीले सङ्‌केत गरेझैं पृथ्वीमा महाविनाश कहिल्यै हुनेछैन किनभने परमेश्‍वरले मानिस र पृथ्वीको भविष्य उज्ज्वल बनाउने प्रतिज्ञा गर्नुभएको छ

      आवरण लेख | के संसारको अवस्था कहिल्यै सुध्रिएला?

      बाइबल के भन्छ?

      यस संसारको नाजुक अवस्थाबारे बाइबलमा शताब्दियौं अघि नै भविष्यवाणी गरिएको थियो। त्यति मात्र होइन, बाइबलमा मानिसजातिको भविष्य उज्ज्वल हुनेछ भनेर पनि पहिल्यै बताइएको थियो। बाइबलले बताउने कुराहरूमा एक रत्ती पनि फरक परेको छैन, एक-एक पूरा भएको छ। त्यसकारण बाइबलको कुरालाई त्यतिकै बेवास्ता गर्न मिल्दैन।

      उदाहरणका लागि, बाइबलका केही भविष्यवाणीहरू विचार गरौं:

      • “जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछ।”—मत्ती २४:७.

      • ‘अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने हुनेछन्‌।’—२ तिमोथी ३:१-४.

      यी भविष्यवाणीहरू पढ्‌दा संसारको अवस्था सुधार्नै नसकिनेगरि दिनदिनै खस्कँदै गइरहेको छ भनेर कसै-कसैलाई लाग्न सक्छ। एक अर्थमा यो संसार अनियन्त्रित भइसक्यो, यो मानिसको नियन्त्रणबाहिर गइसक्यो। विभिन्‍न समस्याको स्थायी समाधान गर्न चाहिने बुद्धि र क्षमता मानिसहरूसँग छैन भनी बाइबलले बताउँछ। तल दिइएका शास्त्रपदहरूले यो कुराको पुष्टि गर्छ:

      • “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुऱ्‍याउने हुन्छ।” —हितोपदेश १४:१२.

      • “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

      • “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

      यदि मानिसहरूले मनपरी गर्न छोडेनन्‌ भने पृथ्वीमा महाप्रलय हुन सक्छ। तर यस्तो कदापि हुनेछैन! किन? किनभने बाइबल यसो भन्छ:

      • परमेश्‍वरले “त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर . . . पृथ्वीको जग बसाल्नुभयो।”—भजन १०४:५.

      • “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।”—उपदेशक १:४.

      • “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

      • “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

      यी बाइबलका शिक्षाहरूले स्पष्ट जवाफ दिन्छ। मानिसजाति प्रदूषण, अनिकाल वा कुनै महामारीको कारण लोप भएर जानेछैन। पृथ्वी आणविक युद्धको कारण विनाश हुनेछैन। किन? वास्तवमा हाम्रो पृथ्वीको भविष्य परमेश्‍वरको हातमा छ। परमेश्‍वरले मानिसलाई स्वतन्त्र इच्छाअनुसार चल्न र त्यसको नतिजा भोग्न दिनुभएको छ। (गलाती ६:७) संसार ब्रेक फेल भएर डरलाग्दो दुर्घटनामा पर्न लागेको गाडीजस्तो पूर्णतया अनियन्त्रित भएको छैन। मानिसहरूलाई कुन हदसम्म आफूमाथि समस्या निम्त्याउन दिने भनेर परमेश्‍वरले सीमा तोक्नुभएको छ।—भजन ८३:१८; हिब्रू ४:१३

      उहाँले पृथ्वीको अवस्था सुधार्नु मात्र हुन्‍न, उहाँले पृथ्वीमा “प्रशस्त शान्ति” पनि ल्याउनुहुनेछ। (भजन ३७:११) यस लेखको सुरुमा हाम्रो भविष्यबारे बताइएको सकारात्मक कुरा पछि हुने कुराको एउटा सानो झल्को मात्र हो, जसबारे लाखौं यहोवाका साक्षीहरूले बाइबलबाट अध्ययन गरेर थाह पाएका छन्‌।

      यहोवाका साक्षीहरू एउटा विश्‍वव्यापी समाज हो, जुन सबै उमेर-समूहका अनि सबै संस्कृतिका मानिसहरू मिलेर बनेको छ। उनीहरू एक जना साँचो परमेश्‍वरको उपासना गर्छन्‌ अनि उहाँको नाम यहोवा हो भनेर बाइबलले बताउँछ। उनीहरू भविष्यमा के होला भनेर डराउँदैनन्‌ किनभने बाइबल भन्छ: “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आवाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।”—यशैया ४५:१८.

      यस लेखले पृथ्वी र मानिसको भविष्यबारे बाइबलले के सिकाउँछ भनेर स्पष्ट पाऱ्‍यो। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको अध्याय ५ हेर्नुहोस्‌। यो पुस्तिका www.jw.org/ne मा उपलब्ध छ।

      तपाईंले www.jw.org/ne मा उपलब्ध परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो? भन्‍ने भिडियो पनि हेर्न सक्नुहुन्छ। (प्रकाशनहरू > भिडियोहरू अन्तर्गत हेर्नुहोस्‌)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने