-
एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १५
एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्?
फिनल्याण्ड
सिकाउँदै
गोठालो भेट गर्दै
प्रचार गर्दै
हाम्रो सङ्गठनमा तलब लिएर सेवा गर्ने पास्टरहरू छैनन्। तर सुरु-सुरुका ख्रिष्टियन मण्डलीमा जस्तै ‘परमेश्वरको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न’ योग्य निरीक्षकहरू नियुक्त गरिएका छन्। (प्रेषित २०:२८) यी निरीक्षकहरू अर्थात् एल्डरहरू परमेश्वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्। यिनीहरू “करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा धन कमाउने लोभले होइन तर तत्परतासाथ” मण्डलीमा नेतृत्व लिन्छन् र गोठालोले झैँ सेवा गर्छन्। (१ पत्रुस ५:१-३) एल्डरहरूले हाम्रो लागि के-के गर्छन्?
हाम्रो ख्याल राख्छन् र सुरक्षा गर्छन्। एल्डरहरूले बाइबलबाट निर्देशन दिन्छन् अनि मण्डलीलाई यहोवासित घनिष्ठ रहिरहन मदत गर्छन्। यहोवाले सुम्पनुभएको यस जिम्मेवारीलाई एल्डरहरू गम्भीरतापूर्वक लिन्छन्। त्यसैले तिनीहरू हामीमाथि हैकम जमाउन खोज्दैनन्, बरु हाम्रो हित हुने र हामीलाई आनन्द दिने कुरामा ध्यान दिन्छन्। (२ कोरिन्थी १:२४) गोठालोले आफ्नो एक-एक भेडाको ख्याल राख्न निकै मेहनत गरेजस्तै एल्डरहरू पनि मण्डलीका एक-एक सदस्यलाई राम्ररी चिन्ने प्रयास गर्छन्।—हितोपदेश २७:२३.
हामीलाई परमेश्वरको इच्छाअनुसार चल्न सिकाउँछन्। हाम्रो विश्वासलाई बलियो बनाउन एल्डरहरू हरेक हप्ता मण्डलीका सभाहरूमा नेतृत्व लिन्छन्। (प्रेषित १५:३२) यी विश्वासी पुरुषहरू प्रचारकार्यमा पनि नेतृत्व लिन्छन्। प्रचारकार्यको विभिन्न पक्षमा तिनीहरू हामीसँगसँगै भाग लिन्छन् र हामीलाई तालिम दिन्छन्।
हामीलाई व्यक्तिगत तवरमा प्रोत्साहन दिन्छन्। यहोवासितको हाम्रो सम्बन्धलाई अझ घनिष्ठ बनाउन एल्डरहरू निकै प्रयास गर्छन्। हामीलाई राज्यभवनमा भेटेर वा हाम्रो घरमै आएर तिनीहरू हामीलाई बाइबलबाट मदत र सान्त्वना दिन्छन्।—याकुब ५:१४, १५.
धेरैजसो एल्डरले मण्डलीको कामकुरामा मात्र नभई जागिरमा र पारिवारिक दायित्व पूरा गर्नमा पनि आफ्नो समय र शक्ति खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यी मेहनती एल्डरहरू हाम्रो आदर पाउन योग्य छन्।—१ थिस्सलोनिकी ५:१२, १३.
मण्डलीका एल्डरहरूले हाम्रो लागि के-के गर्छन्?
एल्डरहरूले कसरी हामी प्रत्येकलाई चासो देखाउँछन्?
-
-
सहायक सेवकहरूले के-के गर्छन्?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १६
सहायक सेवकहरूले के-के गर्छन्?
म्यानमार
मण्डलीको सभा सञ्चालन गर्दै
क्षेत्र सेवाको सभा सञ्चालन गर्दै
राज्यभवनको सरसफाइमा भाग लिँदै
मण्डलीका जिम्मेवारीहरू सम्हाल्ने ख्रिष्टियन पुरुषहरूका दुइटा समूहबारे बाइबलमा बताइएको छ। ती हुन्: “निरीक्षकहरू र सहायक सेवकहरू।” (फिलिप्पी १:१) साधारणतया हरेक मण्डलीमा एल्डर र सहायक सेवकको रूपमा सेवा गर्ने पुरुषहरू हुन्छन्। सहायक सेवकहरूले हाम्रो हितको लागि के-के गर्छन्?
तिनीहरूले एल्डरहरूको निकायलाई सहयोग गर्छन्। सहायक सेवकहरू भरोसायोग्य र लगनशील पुरुषहरू हुन्, जसले यहोवासित बलियो सम्बन्ध गाँसेका हुन्छन्। तिनीहरू जवान या वृद्ध, जुनसुकै उमेरका हुन सक्छन्। सहायक सेवकहरूले मण्डलीलाई सुव्यवस्थित राख्न नियमित रूपमा गर्नुपर्ने थुप्रै महत्त्वपूर्ण काम गर्छन्। यसमा शारीरिक बल प्रयोग गर्नुपर्ने कामहरू पनि पर्छन्। यसले गर्दा एल्डरहरूले मण्डलीलाई सिकाउने र गोठालोले झैँ हेरविचार गर्ने काममा आफ्नो ध्यान लगाउन सक्छन्।
तिनीहरूले सबैका लागि उपयोगी कामहरू गर्छन्। कुनै-कुनै सहायक सेवकलाई परिचारकको काम गर्न खटाइन्छ। तिनीहरू सभामा आउनेहरूलाई स्वागत गर्छन्। कोही-कोहीले भने सभामा प्रयोग गरिने ध्वनि उपकरणहरू मिलाउने, साहित्य वितरण गर्ने, मण्डलीको खर्च र अनुदानको हिसाब राख्ने अनि मण्डलीका सदस्यहरूको लागि प्रचार गर्ने इलाकाको प्रबन्ध मिलाउने काम गर्छन्। सहायक सेवकहरूले राज्यभवनको स्याहारसम्भारमा पनि सहयोग गर्छन्। मण्डलीका वृद्ध दाजुभाइ दिदीबहिनीलाई सघाउन एल्डरहरूले सहायक सेवकलाई खटाउन सक्छन्। जस्तोसुकै जिम्मेवारी पाए पनि सहायक सेवकहरू खुसीसाथ त्यो पूरा गर्छन्। त्यसैले तिनीहरू सबैको आदर पाउन योग्य छन्।—१ तिमोथि ३:१३.
तिनीहरूले ख्रिष्टियन पुरुषको रूपमा असल उदाहरण बसाल्छन्। सहायक सेवकहरूले असल ख्रिष्टियन गुणहरू देखाएर राम्रो उदाहरण बसालेका हुन्छन्। तिनीहरूले सभामा प्रस्तुत गर्ने भागले हाम्रो विश्वास बलियो बनाउँछ। प्रचारकार्यमा नेतृत्व लिएर तिनीहरू हामीलाई पनि प्रचारकार्यमा अझ जोसिलो हुन जुरमुऱ्याउँछन्। तिनीहरूले एल्डरहरूको निकायसित मिलेर काम गर्ने भएकोले मण्डलीमा एकता र आनन्द छाउँछ। (एफिसी ४:१६) समयको दौडान तिनीहरू पनि एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्।
कस्ता पुरुषहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुन्छन्?
मण्डलीका सबै काम सुचारु रूपले चलाउन सहायक सेवकहरूले कसरी मदत गर्छन्?
-
-
क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १७
क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्?
मलावी
प्रचार जान भेला भएको समूह
प्रचार गर्दै
एल्डरहरूको सभा
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा बर्णाबास र प्रेषित पावलबारे थुप्रै चोटि उल्लेख गरिएको छ। उनीहरू परिभ्रमण निरीक्षकको रूपमा त्यतिखेरका मण्डलीहरूको भ्रमण गर्थे। किन? उनीहरू आफ्ना ख्रिष्टियन भाइबहिनीको साँचो चासो राख्थे। आफूले प्रचार गरेका सहरहरूमा गएर ‘भाइहरूलाई भेट्न’ र तिनीहरूको हालखबर बुझ्न चाहेको कुरा पावलले बताए। तिनीहरूलाई भेटेर सुदृढ पार्न पावल सयौँ किलोमिटर यात्रा गर्न इच्छुक थिए। (प्रेषित १५:३६) आजका परिभ्रमण निरीक्षकहरू पनि यस्तै इच्छुकता देखाउँछन्।
तिनीहरू हामीलाई प्रोत्साहन दिन आउँछन्। प्रत्येक क्षेत्रीय निरीक्षकले एक वर्षमा लगभग २० वटा मण्डलीको दुई पटक भ्रमण गर्छन्। तिनले हरेक मण्डलीसित एक हप्ता बिताउँछन्। ती निरीक्षकहरूको अनुभवबाट हामी निकै लाभ उठाउन सक्छौँ। यदि तिनीहरू विवाहित हुन् भने तिनीहरूका पत्नीको अनुभवबाट पनि लाभ उठाउन सक्छौँ। तिनीहरूले जवान, वृद्ध सबैलाई राम्ररी चिन्ने प्रयास गर्छन्। साथै हामीसँगै क्षेत्र सेवामा भाग लिन र हाम्रा बाइबल अध्ययनहरूमा सँगै जान इच्छुक हुन्छन्। ती निरीक्षकहरू एल्डरहरूसँग मिलेर मण्डलीका सदस्यहरूलाई गोठालो भेट गर्छन्। अनि हामीलाई सुदृढ पार्नको लागि सभा र सम्मेलनहरूमा प्रोत्साहनदायी भाषणहरू दिन्छन्।—प्रेषित १५:३५.
तिनीहरू सबै जनाको चासो राख्छन्। क्षेत्रीय निरीक्षकहरू मण्डलीका सदस्यहरूले परमेश्वरसित कत्तिको प्रगाढ सम्बन्ध गाँसेका छन् भन्ने विषयमा एकदमै चासो राख्छन्। तिनीहरू एल्डर र सहायक सेवकहरूलाई भेटेर मण्डलीको उन्नतिबारे बुझ्छन् अनि ती भाइहरूलाई आफ्नो जिम्मेवारी सम्हाल्न चाहिने व्यावहारिक सल्लाह पनि दिन्छन्। तिनीहरू अग्रगामीहरूलाई सेवाको काममा अझ सफलता हासिल गर्दै जान मदत दिन्छन्। तिनीहरू मण्डलीसित सङ्गत गर्ने नयाँ व्यक्तिहरूलाई राम्ररी चिन्न र उनीहरूले गरेको प्रगतिबारे सुन्न पाउँदा रमाउँछन्। यस्ता निरीक्षकहरू ‘हाम्रो भलाइको लागि काम गर्ने हाम्रा सहकर्मी’ हुन् र निःस्वार्थ भावले हाम्रो सेवा गर्छन्। (२ कोरिन्थी ८:२३) हामीले पनि तिनीहरूको विश्वास र भक्तिको अनुकरण गर्नुपर्छ।—हिब्रू १३:७.
क्षेत्रीय निरीक्षकहरू किन मण्डलीहरूको भ्रमण गर्छन्?
तिनीहरूको भ्रमणबाट तपाईँ कसरी लाभ उठाउन सक्नुहुन्छ?
-
-
सङ्कष्टमा परेका दाजुभाइ दिदीबहिनीलाई हामी कसरी मदत गर्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १८
सङ्कष्टमा परेका दाजुभाइ दिदीबहिनीलाई हामी कसरी मदत गर्छौँ?
डोमिनिकन गणतन्त्र
जापान
हाइटी
प्राकृतिक प्रकोपबाट प्रभावित दाजुभाइ दिदीबहिनीलाई मदत दिन यहोवाका साक्षीहरू तुरुन्तै कदम चाल्छन्। यसले हामी आपसमा साँचो प्रेम गर्छौँ भनेर देखाउँछ। (युहन्ना १३:३४, ३५; १ युहन्ना ३:१७, १८) हामी कुन-कुन तरिकामा मदत गर्छौँ?
हामी आर्थिक सहयोग गर्छौँ। पुरातन सहर यहुदियामा ठूलो अनिकाल पर्दा त्यहाँका दाजुभाइ दिदीबहिनीको लागि एन्टिओकका ख्रिष्टियनहरूले आर्थिक सहयोग पठाए। (प्रेषित ११:२७-३०) अहिले पनि कुनै ठाउँका दाजुभाइ दिदीबहिनीले सङ्कष्ट भोगिरहेको कुरा सुन्दा हामी तिनीहरूलाई आर्थिक सहयोग गर्न आ-आफ्नो मण्डलीमार्फत अनुदान पठाउँछौँ।—२ कोरिन्थी ८:१३-१५.
हामी व्यावहारिक मदत गर्छौँ। प्राकृतिक प्रकोपबाट प्रभावित ठाउँका एल्डरहरूले आफ्नो मण्डलीका एक-एक सदस्य कहाँ छन् अनि तिनीहरू सुरक्षित छन् कि छैनन्, त्यो पक्का गर्छन्। राहत समितिले तिनीहरूका लागि खानेकुरा, लुगाफाटा, सफा पिउने पानी, बस्ने ठाउँ अनि स्वास्थ्य उपचार उपलब्ध गराउने प्रबन्ध मिलाउँछ। प्रभावित क्षेत्रमा मदत गर्न सक्ने सीप भएका थुप्रै साक्षी आफ्नै खर्चमा त्यहाँ गएर राहतकार्यमा भाग लिन्छन् वा क्षतिग्रस्त राज्यभवन र घरहरूको मर्मतसम्भार गर्छन्। हाम्रो सङ्गठनमा एकता छ अनि हामीले सँगै मिलेर काम गर्न पनि सिकेका छौँ। यसले गर्दा सङ्कष्टको बेला राहतकार्यको लागि तुरुन्तै कदम चाल्न सक्छौँ। हुनत सर्वप्रथम हामी “एउटै विश्वास हुने हाम्रा भाइबहिनी”-लाई मदत गर्छौँ तर सम्भव भएसम्म अरू व्यक्तिलाई पनि मदत गर्छौँ, चाहे उनीहरूको धर्म जुनसुकै किन नहोस्।—गलाती ६:१०.
हामी बाइबलबाट सान्त्वना दिन्छौँ र भावनात्मक चोट सहन मदत गर्छौँ। प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरूलाई विशेषगरि सान्त्वनाको खाँचो पर्छ। त्यस्तो बेला हामी “सबै सान्त्वनाका परमेश्वर” यहोवाबाट बल प्राप्त गर्छौँ। (२ कोरिन्थी १:३, ४) हामी यस्ता निराश व्यक्तिहरूलाई अब चाँडै परमेश्वरको राज्यले सबै सङ्कष्टको अन्त गर्नेछ भनेर बाइबलले दिने आशा र ढाडस दिन्छौँ।—प्रकाश २१:४.
प्राकृतिक प्रकोपको बेला यहोवाका साक्षीहरूले तुरुन्तै कदम चाल्न सक्नुको कारण के हो?
प्रकोपबाट बचेकाहरूलाई हामी बाइबलबाट कस्तो सान्त्वना दिन सक्छौँ?
-
-
विश्वासी र बुद्धिमान् दास को हो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १९
विश्वासी र बुद्धिमान् दास को हो?
दासले दिने भोजनबाट हामी सबै जना लाभ उठाउँछौँ
येसुको मृत्यु हुनुभन्दा केही समयअघि उहाँका चार जना चेला—पत्रुस, याकुब, युहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे सोधे। आफ्नो उपस्थितिको चिन्हबारे भविष्यवाणी गर्ने क्रममा उहाँले तिनीहरूलाई यो महत्त्वपूर्ण प्रश्न सोध्नुभयो: “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस् भनेर नियुक्त गरेका हुन्छन्?” (मत्ति २४:३, ४५; मर्कुस १३:३, ४) यहाँ बताइएको “मालिक” येसु हुनुहुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई अन्तको समयमा अटुट रूपमा भोजन दिन दास नियुक्त गर्ने कुराको आश्वासन दिँदै हुनुहुन्थ्यो। त्यो दास को हुने थियो?
यो येसुका अभिषिक्त अनुयायीहरूको सानो समूह हो। यहोवाका साक्षीहरूको परिचालक निकायले “दास”-को काम गरिरहेको छ। यस “दास”-ले यहोवाका सम्पूर्ण उपासकहरूको लागि समय सुहाउँदो भोजनको प्रबन्ध गर्छ। “ठीक समयमा र ठीक मात्रामा भोजन” पाइरहन हामी यस विश्वासी दासमा निर्भर छौँ।—लुका १२:४२.
यसले परमेश्वरको घरानाको हेरचाह गर्छ। (१ तिमोथि ३:१५) येसुले यस दासलाई यहोवाको सङ्गठनको पार्थिव भागको सम्पूर्ण गतिविधिको हेरचाह गर्ने गहन जिम्मेवारी सुम्पनुभयो। जस्तै: भौतिक सरसम्पत्तिको रेखदेख गर्ने, प्रचारकार्यलाई डोऱ्याउने अनि मण्डलीहरूमार्फत सिकाउने। “विश्वासी र बुद्धिमान् दास”-ले हामीलाई चाहिएकै समयमा आवश्यक भोजन उपलब्ध गराइरहेको छ। कसरी? हामीले प्रचारकार्यमा चलाउने प्रकाशनका साथै हाम्रा सभा तथा सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रमद्वारा।
यो दास बाइबलमा भएका सत्य कुराहरू बुझाउने सम्बन्धमा र सुसमाचार प्रचार गर्ने सम्बन्धमा विश्वासी छ। साथै पृथ्वीमा येसुको सम्पत्तिको हेरविचार गर्ने सम्बन्धमा बुद्धिमान् पनि छ। (प्रेषित १०:४२) आज यहोवाको आशिष्ले गर्दा उहाँका साक्षीहरूको सङ्ख्या बढिरहेको छ अनि उहाँले विश्वासी र बुद्धिमान् दासमार्फत प्रचुर मात्रामा बाइबलआधारित जानकारी उपलब्ध गराइरहनुभएको छ।—यसैया ६०:२२; ६५:१३.
आफ्ना चेलाहरूलाई आवश्यक भोजन उपलब्ध गराउन येसुले कसलाई नियुक्त गर्नुभयो?
येसुले नियुक्त गर्नुभएको दास कुन अर्थमा विश्वासी र बुद्धिमान् छ?
-
-
अहिले परिचालक निकायले कसरी काम गर्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २०
अहिले परिचालक निकायले कसरी काम गर्छ?
प्रथम शताब्दीको परिचालक निकाय
परिचालक निकायको पत्र पढेर सुनाउँदै
प्रथम शताब्दीमा “यरुसलेममा भएका प्रेषित र एल्डरहरू”-को सानो समूहले परिचालक निकायको रूपमा काम गर्थ्यो। त्यही निकायले अभिषिक्त ख्रिष्टियनहरूको सम्पूर्ण मण्डलीलाई असर गर्ने महत्त्वपूर्ण निर्णयहरू गर्थ्यो। (प्रेषित १५:२) कुनै निर्णय गर्नुअघि तिनीहरू बाइबलमा बताइएका कुराहरू विचार गर्थे अनि पवित्र शक्तिको डोऱ्याइ खोज्थे। यसले गर्दा तिनीहरूको निर्णय सर्वसम्मतिले पारित हुन्थ्यो। (प्रेषित १५:२५) आज पनि परिचालक निकायले यही तरिका अपनाउँछ।
परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न यस निकायलाई प्रयोग गरिरहनुभएको छ। आज परिचालक निकायमा सेवा गर्ने अभिषिक्त भाइहरू परमेश्वरको वचनमा गहिरो चासो राख्छन्। साथै तिनीहरू धर्मशास्त्रसित सम्बन्धित प्रश्नको जवाफ दिन र सङ्गठनको कामकुरा सम्हाल्न धेरै अनुभवी छन्। संसारभरि रहेका दाजुभाइ दिदीबहिनीको आवश्यकताबारे छलफल गर्न परिचालक निकायका सदस्यहरू हरेक हप्ता एकसाथ भेला हुन्छन्। प्रथम शताब्दीमा जस्तै आज पनि परिचालक निकायले पत्रद्वारा वा परिभ्रमण निरीक्षकजस्ता व्यक्तिहरूद्वारा बाइबलआधारित निर्देशनहरू दिन्छ। यसले गर्दा परमेश्वरका सेवकहरूको सोचाइ र व्यवहारमा एकता सम्भव भएको छ। (प्रेषित १६:४, ५) परिचालक निकायले परमेश्वरको वचनमा आधारित भोजन तयार गर्ने कामको रेखदेख गर्छ, प्रचारकार्यलाई पहिलो स्थान दिन सबैलाई प्रोत्साहन दिन्छ अनि विभिन्न जिम्मेवारी सम्हाल्नको लागि भाइहरूलाई नियुक्त गर्ने कामको निगरानी गर्छ।
यस निकायले परमेश्वरको पवित्र शक्तिको डोऱ्याइ स्विकार्छ। परिचालक निकायले ब्रह्माण्डको सर्वोच्च शासक यहोवा र मण्डलीका शिर येसुको डोऱ्याइ खोज्छ। (१ कोरिन्थी ११:३; एफिसी ५:२३) यसका सदस्यहरू आफूलाई परमेश्वरका सेवकहरूको नेता ठान्दैनन्। परिचालक निकायका सदस्य तथा सबै अभिषिक्त ख्रिष्टियन “पाठो [येसु] जताजता जान्छन्, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्।” (प्रकाश १४:४) हामीले परिचालक निकाय र तिनीहरूले गर्ने कामको लागि प्रार्थना गरिदिँदा तिनीहरू असाध्यै आभारी हुन्छन्।
प्रथम शताब्दीको परिचालक निकाय को-को मिलेर बनेको थियो?
आज परिचालक निकायले कसरी परमेश्वरको डोऱ्याइ खोज्छ?
-
-
बेथेल भनेको के हो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २१
बेथेल भनेको के हो?
चित्रकला विभाग, अमेरिका
जर्मनी
केन्या
कोलम्बिया
बेथेल—यो हिब्रू शब्द हो र यसको अर्थ “परमेश्वरको घर” हो। (उत्पत्ति २८:१७, १९, फुटनोट) यहोवाका साक्षीहरूको प्रचारकार्यलाई डोऱ्याउन र यस कामलाई टेवा पुऱ्याउन प्रयोग गरिने भवनहरूलाई बेथेल भन्न सुहाउँछ। संसारभरि विभिन्न ठाउँमा यस्ता भवनहरू छन्। यहोवाका साक्षीहरूको मुख्य कार्यालय अमेरिकाको न्यु योर्क राज्यमा छ र त्यहीँबाट परिचालक निकायले संसारभरि रहेका थुप्रै शाखा कार्यालयको गतिविधिको सुपरिवेक्षण गर्छ। यी कार्यालयहरूमा सेवा गर्नेहरूको समूहलाई बेथेल परिवार भनिन्छ। एउटा परिवारजस्तै तिनीहरू सँगै बस्छन्, सँगै काम गर्छन्, सँगै खाना खान्छन् र सँगै मिलेर बाइबल अध्ययन गर्छन्।—भजन १३३:१.
एउटा भिन्नै ठाउँ, जहाँ परिवारका सदस्यहरूले आत्मत्यागी मनोभाव देखाउँछन्। बेथेल परिवारका सबै सदस्य परमेश्वरको इच्छाबमोजिम गर्न समर्पित छन् र तिनीहरू परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो पूरै समय दिन्छन्। (मत्ति ६:३३) तिनीहरूमध्ये कसैले पनि ज्याला वा तलब पाउँदैनन् तर सबैलाई खाने-बस्ने सुविधा र थोरै पकेट खर्च दिइन्छ। बेथेलमा सबैको आ-आफ्नै काम हुन्छ। कसैले अफिसमा काम गर्छन्, कसैले छापाखानामा, कसैले भान्सामा त कसैले भोजन कक्षमा। कोही-कोहीचाहिँ सरसफाइ गर्ने, लुगा धुने, मर्मतसम्भार गर्नेजस्ता काम गर्छन्।
प्रचारकार्यलाई टेवा पुऱ्याउने व्यस्त ठाउँ। सबै बेथेलको मुख्य उद्देश्य धेरैभन्दा धेरै मानिसकहाँ बाइबलको सत्य कुरा पुऱ्याउनु हो। यो पुस्तिका पनि यही उद्देश्य राखेर तयार पारिएको हो। यो पुस्तिका परिचालक निकायको सुपरिवेक्षणमा लेखियो। अनि यसलाई कम्प्युटरद्वारा संसारभरि रहेका सयौँ अनुवाद टोलीमा पठाइयो। त्यसपछि यसलाई विभिन्न बेथेलमा भएका अत्याधुनिक छापाखानामा छापियो र संसारभरिका १ लाख २० हजारभन्दा धेरै मण्डलीमा ढुवानी गरियो। यसरी बेथेल परिवारले कुनै न कुनै तरिकामा अहिले भइरहेको सबैभन्दा महत्त्वपूर्ण कामलाई टेवा पुऱ्याइरहेको छ। त्यो काम हो, सुसमाचार प्रचार गर्ने।—मर्कुस १३:१०.
बेथेलमा कसले सेवा गर्छन् र त्यहाँ तिनीहरूको हेरचाह कसरी गरिन्छ?
प्रत्येक बेथेलमा हुने गतिविधिले कुन महत्त्वपूर्ण कामलाई टेवा पुऱ्याइरहेको छ?
-
-
शाखा कार्यालयमा कस्तो काम गरिन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २२
शाखा कार्यालयमा कस्तो काम गरिन्छ?
सोलोमन टापु
क्यानाडा
दक्षिण अफ्रिका
बेथेल परिवारका सदस्यहरू विभिन्न विभागमा सेवा गर्छन्। तिनीहरूले जुनसुकै विभागमा सेवा गरे तापनि त्यसले कुनै एउटा वा त्यसभन्दा धेरै देशमा भइरहेको प्रचारकार्यलाई टेवा पुऱ्याउँछ। तिनीहरूमध्ये कोही-कोही अनुवाद टोलीमा वा छापाखानामा काम गर्छन् भने अरू कतिले पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका भण्डार गर्ने, श्रव्य/दृश्य सामग्री उत्पादन गर्ने वा अन्य आवश्यक काम गर्छन्।
शाखा समितिले आफ्नो शाखामा हुने कामको सुपरिवेक्षण गर्छ। परिचालक निकायले शाखा कार्यालय सञ्चालन गर्ने जिम्मा शाखा समितिलाई सुम्पेको हुन्छ। प्रत्येक शाखा समितिमा तीन वा सोभन्दा धेरै दक्ष एल्डर हुन्छन्। यस समितिले आफ्नो मातहतमा पर्ने इलाकाहरूमा भइरहेको प्रगति अनि त्यहाँ देखा परेका समस्याहरूबारे परिचालक निकायलाई अवगत गराउँछ। यसले गर्दा परिचालक निकायलाई आगामी प्रकाशन, सभा र सम्मेलनमा कस्ता विषयहरूबारे छलफल गर्नु उपयुक्त हुन्छ भनेर निर्णय गर्न सजिलो हुन्छ। शाखा कार्यालयको नियमित रूपमा भ्रमण गर्न परिचालक निकायका प्रतिनिधिहरू पठाइन्छन्। तिनीहरू त्यहाँ गएर शाखा समितिलाई आफ्नो जिम्मेवारी सँभाल्न आवश्यक मदत दिन्छन्। (हितोपदेश ११:१४) यस्तो भ्रमणको बेला त्यस शाखाको इलाकामा बस्ने दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिन एउटा विशेष कार्यक्रमको आयोजना गरिन्छ र त्यस कार्यक्रममा मुख्यालय प्रतिनिधिले भाषण दिने प्रबन्ध मिलाइएको हुन्छ।
शाखा समितिले आफ्नो मातहतमा रहेका मण्डलीहरूलाई सघाउँछ। शाखा कार्यालयमा जिम्मेवारी वहन गर्ने भाइहरूले नयाँ मण्डली स्थापना गर्न स्वीकृति दिन्छन्। यहाँ सेवा गर्ने भाइहरूले आफ्नो शाखाको मातहतमा रहेका अग्रगामी, मिसनरी अनि क्षेत्रीय निरीक्षकहरूलाई आवश्यक निर्देशन पनि दिन्छन्। तिनीहरूले सम्मेलन तथा अधिवेशनको आयोजना गर्छन्, नयाँ राज्यभवन निर्माणकार्यको संयोजन गर्छन् अनि मण्डलीहरूमा प्रकाशनहरू ढुवानी गर्ने प्रबन्ध मिलाउँछन्। शाखा कार्यालयमा गरिने सबै कामले प्रचारकार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउन योगदान पुऱ्याउँछ।—१ कोरिन्थी १४:३३, ४०.
शाखा समितिले परिचालक निकायलाई कसरी सघाउँछ?
शाखा कार्यालयमा कस्ता कामहरू गरिन्छन्?
-
-
हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २३
हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?
लेखन विभाग, अमेरिका
दक्षिण कोरिया
आर्मेनिया
बुरूण्डी
श्रीलंका
“हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूलाई “सुसमाचार” सुनाउन हामी ९०० भन्दा धेरै भाषामा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिकाहरू तयार गर्छौँ। (प्रकाश १४:६) हुनत यो सजिलो काम होइन तर हामीले कसरी गर्न सकिरहेका छौँ? यस काममा संसारका विभिन्न ठाउँमा रहेका लेखक र लगनशील अनुवादकहरूको समूहले मदत गर्छ। यी लेखक तथा अनुवादकहरू सबै यहोवाका साक्षी हुन्।
हाम्रा लेखहरू सुरुमा अङ्ग्रेजीमा लेखिन्छ। यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा लेखन विभाग छ। यसलाई परिचालक निकायले सुपरिवेक्षण गर्छ। लेखन विभागले मुख्य कार्यालय र केही शाखा कार्यालयमा रहेका लेखकहरूको कामको संयोजन गर्छ। हाम्रा लेखहरू तयार पार्ने काममा विभिन्न ठाउँ र पृष्ठभूमिका लेखकहरू संलग्न हुने हुँदा हाम्रा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका विभिन्न देशका मानिसहरूले पढ्न रुचाउँछन्।
अङ्ग्रेजीमा तयार भएका लेखहरू अनुवादकहरूकहाँ पठाइन्छ। अङ्ग्रेजीमा लेखिएका लेखहरू संशोधन गरेर स्वीकृति पाएपछि यसलाई कम्प्युटरबाट संसारभरि रहेका अनुवाद टोलीहरूकहाँ पठाइन्छ। विभिन्न ठाउँमा रहेका अनुवाद टोलीले ती लेखहरूलाई आ-आफ्नो भाषामा अनुवाद गर्ने, अङ्ग्रेजीसित दाँज्ने र वर्णविन्यास तथा हिज्जे मिलाउने काम गर्छन्। तिनीहरू अङ्ग्रेजीले भन्न खोजेको कुरालाई आफ्नो भाषामा स्पष्टसँग बुझाउने “ठीक-ठीक शब्द” छनौट गर्न निकै प्रयास गर्छन्।—उपदेशक १२:१०.
कम्प्युटर प्रविधिले गर्दा लेखन र अनुवादको काम छिटो हुन्छ। लेखक र अनुवादकको काम कम्प्युटरले गर्न सक्दैन। तर कम्प्युटरमा उपलब्ध शब्दकोश तथा विभिन्न प्रोग्रामले गर्दा लेखक र अनुवादकको काम छिटो भने हुन्छ। यहोवाका साक्षीहरूले एउटा कम्प्युटर प्रोग्रामa बनाएका छन्, जसले गर्दा सयौँ भाषामा अनुवाद गर्न, त्यसलाई चित्रहरूसँगै मिलाएर राख्न र छाप्नको लागि तयार पार्न सम्भव भएको छ।
कुनै-कुनै भाषा एकदम थोरै मानिसले मात्र बोल्ने गर्छन्। तर त्यस्ता भाषाहरूमा पनि हाम्रा लेखहरू अनुवाद गरेर छाप्न हामी किन यत्तिको प्रयास गर्छौँ? किनकि यहोवा परमेश्वर “सबै किसिमका मानिसले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।”—१ तिमोथी २:३, ४.
हाम्रा प्रकाशनहरूको लेखहरू लेख्ने काममा के-के कुरा मुछिएको छ?
हाम्रा लेखहरू किन थुप्रै भाषामा अनुवाद गरिन्छन्?
a Multilanguage Electronic Publishing System (MEPS)
-
-
हाम्रो विश्वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २४
हाम्रो विश्वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?
नेपाल
टोगो
बेलायत
हाम्रो सङ्गठनले हरेक वर्ष लाखौँ बाइबल, पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका छाप्छ र निश्शुल्क वितरण गर्छ। साथै हामी राज्यभवन अनि शाखा कार्यालयहरूको निर्माण र त्यसको स्याहारसम्भार गर्छौँ। हामी हजारौँ बेथेल सेवक र मिसनरीहरूको आवश्यकता पूरा गर्छौँ। साथै प्राकृतिक प्रकोप आइपर्दा राहत सामग्री उपलब्ध गराउँछौँ। यी सबै सुन्दा तपाईँलाई यस्तो लाग्ला, ‘यी सबै कुराको लागि खर्च कसरी जुटाइन्छ?’
हामी कुनै भेटी, दशांश वा चन्दा सङ्कलन गर्दैनौँ। हाम्रो प्रचारकार्यको लागि धेरै खर्च लाग्छ, तैपनि हामी कसैसित पैसा माग्दैनौँ। यही कुरा लगभग एक सय वर्षअघि छापिएको प्रहरीधरहरा (अङ्ग्रेजी) पत्रिकाको दोस्रो अङ्कमा बताइएको थियो। त्यस पत्रिकामा यहोवाले हाम्रो कामलाई साथ दिइरहनुभएको छ भन्ने विश्वस्तता व्यक्त गर्नुका साथै “सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौँ” भनेर पनि बताइएको थियो। हुन पनि हामीले कहिल्यै त्यसो गरेका छैनौँ।—मत्ति १०:८.
हाम्रो गतिविधि स्वैच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ। हामीले गरिरहेको बाइबलआधारित शैक्षिक कार्यक्रमको थुप्रै मानिसले कदर गर्छन् र यसको लागि अनुदान दिन्छन्। सारा पृथ्वीमा परमेश्वरको इच्छा पूरा गर्न यहोवाका साक्षीहरू राजीखुसीले आफ्नो समय, शक्ति, पैसा र अन्य स्रोत-साधन खर्च गर्छन्। (१ इतिहास २९:९) हाम्रा राज्यभवन, सम्मेलन र अधिवेशनहरूमा अनुदान बाकस राखिएका हुन्छन् र अनुदान दिन चाहनेहरूले त्यसमा खसाल्न सक्छन्। हाम्रो वेबसाइट jw.org मार्फत पनि अनुदान दिन सकिन्छ। हामीलाई प्राप्त हुने अनुदानमध्ये प्रायजसो अनुदान थोरै आयस्रोत भएकाहरूले नै खसालेका हुन्। येसुले पनि मन्दिरको दानपात्रमा दुई साना सिक्का खसाल्ने एक जना गरिब विधवाको निकै प्रशंसा गर्नुभयो। (लुका २१:१-४) त्यसकारण जोसुकैले पनि “आफ्नो मनमा निर्णय गरेबमोजिम” अनुदान दिन ‘केही छुट्ट्याएर राख्ने’ बानी बसाल्न सक्छन्।—२ कोरिन्थी ९:७; १ कोरिन्थी १६:२.
यहोवाको इच्छा पूरा गर्न उहाँको राज्यसम्बन्धी गतिविधिलाई विस्तार गर्नु आवश्यक छ। त्यसैले “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर” गर्न चाहनेहरूलाई उहाँले त्यसो गरिरहने मन दिनुहुनेछ भनेर हामी विश्वस्त छौँ।—हितोपदेश ३:९.
हाम्रो सङ्गठन अरू धार्मिक सङ्गठनहरूभन्दा कसरी भिन्न छ?
स्वैच्छिक अनुदानहरू केको लागि प्रयोग गरिन्छ?
-
-
हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २५
हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?
बोलिभिया
नाइजेरिया, पहिले र अहिले
ताहिटी
राज्यभवन भन्ने नामअनुसारै यस भवनमा मुख्यतया परमेश्वरको राज्यबारे छलफल गरिन्छ। येसुको प्रचारकार्यको मुख्य विषय पनि त्यही राज्य थियो।—लुका ८:१.
राज्यभवन टोल-छिमेकमा साँचो उपासनाको केन्द्र हो। यहोवाका साक्षीहरूले राज्यभवनबाट आ-आफ्नो इलाकामा प्रचार गर्ने प्रबन्ध मिलाउँछन्। (मत्ति २४:१४) राज्यभवनहरू साधारण किसिमका हुन्छन् तर तिनीहरूको साइज र डिजाइन भने फरक-फरक हुन्छ। थुप्रै राज्यभवनलाई एउटाभन्दा धेरै मण्डलीले प्रयोग गर्छ। प्रकाशक र मण्डलीको सङ्ख्यामा भएको वृद्धिले गर्दा हालैका वर्षहरूमा हामीले हजारौँ राज्यभवन (औसतमा एक दिनमा पाँच वटाको दरले) निर्माण र मर्मतसम्भार गरेका छौँ। यति धेरै राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?—मत्ति १९:२६.
मानिसहरूले स्वैच्छिक रूपमा दिएको अनुदानबाट राज्यभवन निर्माण गरिन्छ। यो अनुदान शाखा कार्यालयमा पठाइन्छ। यो रकम नयाँ राज्यभवन निर्माण गर्नुपर्दा वा पुरानो राज्यभवनको डिजाइन हेरफेर गर्नुपर्दा मण्डलीहरूलाई दिइन्छ।
राज्यभवन निर्माणकार्यमा विभिन्न अवस्था र पृष्ठभूमिका स्वयम्सेवकहरूले भाग लिन्छन्। थुप्रै मुलुकमा राज्यभवन निर्माण समूह गठन गरिएका छन्। निर्माण सेवक र निर्माण स्वयम्सेवक मिलेर बनेको टोलीले देशभित्र (दुर्गम ठाउँलगायत) विभिन्न ठाउँमा गएर स्थानीय मण्डलीहरूलाई राज्यभवन निर्माण गर्न मदत गर्छ। कुनै-कुनै मुलुकमा भने निश्चित इलाकामा राज्यभवन निर्माण वा मर्मतसम्भार गर्ने कामको सुपरिवेक्षण गर्न निपुण साक्षीहरू नियुक्त गरिएका छन्। थुप्रै निपुण कालिगडहरूले कुनै शुल्क नलिई आ-आफ्नो सीप प्रयोग गरेर योगदान पुऱ्याउँछन्। तर हरेक निर्माणस्थलमा काम गर्ने स्वयम्सेवकहरूमध्ये अधिकांश व्यक्तिहरू स्थानीय मण्डलीकै हुन्छन्। यहोवाको पवित्र शक्तिको मदतले र उहाँका सेवकहरूको तनमनको प्रयासले यो सब सम्भव भएको छ।—भजन १२७:१; कलस्सी ३:२३.
उपासना गर्नको लागि हामी भेला हुने ठाउँलाई किन राज्यभवन भनिन्छ?
संसारभरि विभिन्न ठाउँमा राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?
-
-
राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २६
राज्यभवनको स्याहारसम्भार गर्न हामी कसरी सघाउन सक्छौँ?
इस्टोनिया
जिम्बावे
मंगोलिया
पोर्टो रिको
यहोवाका साक्षीहरूको प्रत्येक राज्यभवनले परमेश्वरको पवित्र नाम वहन गर्छ। त्यसकारण राज्यभवनलाई सफा, चिटिक्क राख्न अनि यसको मर्मतकार्यमा भाग लिन पाउनुलाई हामी ठूलो सम्मान र आफूले चढाउने पवित्र सेवाको महत्त्वपूर्ण भाग ठान्छौँ। यसमा सबैले भाग लिन सक्छन्।
सभापछि सरसफाइ गर्न अग्रसर हुनुहोस्। राज्यभवनलाई सफासुग्घर राख्न हरेक सभापछि भाइबहिनीहरू खुसीसाथ राज्यभवनको हल्का सरसफाइ गर्छन्। साथै हप्ताको एक चोटि अझ राम्ररी सरसफाइ गरिन्छ। सरसफाइ गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूचीअनुसार मण्डलीका कुनै एक जना एल्डर वा सहायक सेवकले सम्पूर्ण कामको संयोजन गर्छन्। आवश्यकताअनुसार राज्यभवनको भित्र र बाहिर सरसफाइ गर्न सबैले भाग लिन्छन्। जस्तै: कुचो लगाउने, पुछपाछ गर्ने, कुर्सी मिलाउने, शौचालयलाई सफा र कीटाणुमुक्त बनाउने, सिसाहरू सफा गर्ने, फोहोरलाई ठीक ठाउँमा फाल्ने अथवा राज्यभवनको बाहिर र वरिपरि सफा गर्ने। राज्यभवनको बृहत् सरसफाइ गर्न कम्तीमा वर्षको एक दिन छुट्ट्याइन्छ। आफ्ना छोराछोरीसित सँगै मिलेर सरसफाइमा भाग लिँदा हामीले उनीहरूलाई उपासनास्थलप्रति आदर देखाउन सिकाइरहेका हुन्छौँ।—उपदेशक ५:१.
मर्मतकार्यमा सघाउनुहोस्। राज्यभवनको भित्र-बाहिरको अवस्था कस्तो छ भनेर वर्षको एक चोटि विस्तृत रूपमा निरीक्षण गरिन्छ। यसरी निरीक्षण गरिसकेपछि नियमित रूपमा स्याहारसम्भार गरिन्छ, जसले गर्दा पछि अनावश्यक खर्च बेहोर्नु पर्दैन। (२ इतिहास २४:१३; ३४:१०) स्याहारसम्भार गरेर चिटिक्क राखिएको राज्यभवन परमेश्वरको उपासना गर्नको लागि उपयुक्त ठाउँ हो। यस काममा भाग लिएर हामी यहोवालाई कत्ति प्रेम गर्छौँ अनि आफ्नो उपासनास्थललाई कत्ति प्यारो ठान्छौँ भनेर देखाउँछौँ। (भजन १२२:१) अनि यसले टोल-छिमेकमा पनि राम्रो प्रभाव पार्छ।—२ कोरिन्थी ६:३.
हामीले आफ्नो उपासनास्थललाई किन हेलचेक्य्राइँ गर्नु हुँदैन?
राज्यभवनलाई सफा राख्न कस्तो प्रबन्ध मिलाइएको हुन्छ?
-
-
राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २७
राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौँ?
इजरायल
चेक गणतन्त्र
बेनिन
केमन टापु
के तपाईँ बाइबलबारे अझ धेरै ज्ञान हासिल गर्नका लागि थप अनुसन्धान गर्न चाहनुहुन्छ? बाइबलको कुनै खास पद, ठाउँ, मानिस वा विवरणबारे अझ धेरै जान्न चाहनुहुन्छ कि? अथवा आफ्नो कुनै चिन्ताको विषयमा परमेश्वरको वचनबाट मदत पाइन्छ कि भनेर पो सोचिरहनुभएको छ कि? त्यसोभए एकचोटि हाम्रो राज्यभवनको पुस्तकालयमा गएर त्यसबारे अनुसन्धान गर्नुभए कसो होला?
त्यहाँ उपयोगी अनुसन्धान-सामग्री थुप्रै छन्। यहोवाका साक्षीहरूले तपाईँको भाषामा निकालेका सबै बाइबलआधारित प्रकाशन तपाईँसँग छैन होला। तर तपाईँसँग नभएका थुप्रै प्रकाशन राज्यभवनको पुस्तकालयमा छन्। त्यहाँ बाइबलका विभिन्न अनुवाद, राम्रो शब्दकोश र अन्य उपयोगी सन्दर्भ-सामग्रीहरू हुन सक्छन्। सभाअघि र पछि तपाईँ राज्यभवनको पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। यदि त्यहाँ कम्प्युटर छ भने त्यसमा वाचटावर लाइब्रेरी भनिने कम्प्युटर प्रोग्राम पनि राखिएको हुन सक्छ। त्यो प्रयोग गरेर हाम्रा थुप्रै प्रकाशन सजिलैसित खोल्न अनि विभिन्न विषय, शब्द वा बाइबलको पदबारे अनुसन्धान गर्न सक्नुहुन्छ।
जीवन र प्रचारकार्य सभामा भाग लिने विद्यार्थीहरूको लागि यो उपयोगी हुन्छ। आफूले प्रस्तुत गर्नुपर्ने भागको तयारी गर्न यो पुस्तकालय निकै उपयोगी हुन सक्छ। जीवन र प्रचारकार्य सभाको निरीक्षकले पुस्तकालयको रेखदेख गर्छन्। त्यहाँ हालै प्रकाशित सामग्रीहरू छन् कि छैनन् र ती व्यवस्थित तरिकाले राखिएका छन् कि छैनन् भनेर हेर्ने जिम्मा पनि तिनकै हो। आफूलाई चाहिएको जानकारी कसरी फेला पार्ने भनेर जीवन र प्रचारकार्य सभाको निरीक्षक वा तपाईँको बाइबल अध्ययन सञ्चालकले सिकाइदिन सक्छन्। तर कुनै पनि किताब राज्यभवनबाहिर लैजान पाइँदैन। साथै त्यहाँ भएका किताबहरूको जतन गर्नुपर्छ र त्यसमा लेख्न वा चिन्ह लगाउन मिल्दैन।
‘यहोवाको ज्ञान’ पाउन चाहन्छौँ भने त्यसलाई “गाडेको धन”-लाई झैँ खोज्न हामी इच्छुक हुनुपर्छ भनेर बाइबल बताउँछ। (हितोपदेश २:१-५) त्यस्तो खोज सुरु गर्न राज्यभवनमा भएको पुस्तकालयले तपाईँलाई मदत गर्नेछ।
राज्यभवनको पुस्तकालयमा कस्ता अनुसन्धान-सामग्री उपलब्ध हुन्छन्?
पुस्तकालयबाट पूरापूर लाभ उठाउन तपाईँलाई कसले मदत गर्न सक्छ?
-
-
हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ २८
हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?
फ्रान्स
पोल्याण्ड
रूस
येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस् र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।” (मत्ति ५:१६) मानिसहरूसामु आफ्नो ज्योति चम्काउने उद्देश्यले इन्टरनेटजस्तो आधुनिक प्रविधि पनि हामी प्रयोग गर्दै छौँ। हाम्रो सङ्गठनको आधिकारिक वेबसाइट jw.org हो। यसमा यहोवाका साक्षीहरू के-के विश्वास गर्छन् र तिनीहरू के-के गर्छन् भनेर अनलाइन पढ्न सक्नुहुन्छ। यस वेबसाइटमा अरू कस्ता कुराहरू पाउन सक्नुहुन्छ?
मानिसहरूले साधारणतया सोध्ने प्रश्नको बाइबलआधारित जवाफ। मानिसहरूले साधारणतया सोध्ने केही महत्त्वपूर्ण प्रश्नका जवाफ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। उदाहरणका लागि, कहिल्यै दुःखकष्टको अन्त होला? के मरिसकेकाहरू फेरि बाँच्नेछन्? जस्ता पर्चाहरू इन्टरनेटमा ९०० भन्दा धेरै भाषामा उपलब्ध छन्। यस वेबसाइटमा नयाँ संसार अनुवाद बाइबल १६० भन्दा धेरै भाषामा उपलब्ध छ अनि बाइबल अध्ययन गर्न प्रयोग गरिने बाइबलले हामीलाई के सिकाउँछ? जस्ता किताबहरू पनि उपलब्ध छन्। साथै प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का हालैका अङ्कहरू पनि उपलब्ध छन्। यहाँ उल्लेख गरिएका सामग्रीमध्ये थुप्रै अनलाइन पढ्न वा सुन्न सक्नुहुन्छ। साथै विभिन्न फर्म्याटमाa डाउनलोड पनि गर्न सक्नुहुन्छ। बाइबलको कुरामा चासो देखाउने व्यक्तिलाई तिनकै भाषामा केही पाना छापेर दिन पनि सक्नुहुन्छ। दर्जनौँ साङ्केतिक भाषाका भिडियो पनि उपलब्ध छन्। फुर्सदको समयमा सुन्नको लागि बाइबलमा आधारित श्रव्य नाटक, बाइबल नाटक र सुमधुर गीत तथा धुनहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ।
यहोवाका साक्षीहरूसित सम्बन्धित सही जानकारी। हाम्रो वेबसाइटमा यहोवाका साक्षीहरूसित सम्बन्धित घटना, हाम्रो विश्वव्यापी कार्य, सामाजिक योगदान र मानवअधिकारको रक्षा गर्न हामीले लडेका मुद्दाहरूबारे ताजा जानकारी र भिडियोहरू पाउन सकिन्छ। आउँदा अधिवेशनहरूको जानकारीका साथै हाम्रा शाखा कार्यालयहरूको ठेगाना पनि पाउन सकिन्छ।
यस्ता माध्यमहरू प्रयोग गरेर हामीले पृथ्वीको कुनाकुनासम्म सत्यको ज्योति चम्काइरहेका छौँ। सबै महादेशका मानिसहरूले यस्तो प्रबन्धबाट लाभ उठाइरहेका छन्। यस सुविधाबाट अन्टार्कटिका महादेशका मानिसहरूसमेत वञ्चित छैनन्। पृथ्वीभरि “यहोवा परमेश्वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्” र यसले उहाँको महिमा गरोस् भनेर हामी प्रार्थना गर्छौँ।—२ थिस्सलोनिकी ३:१.
हाम्रो वेबसाइटले कसरी अझ धेरै मानिसलाई बाइबलको सत्य सिक्न मदत गरिरहेको छ?
हाम्रो वेबसाइटमा तपाईँ के हेर्न चाहनुहुन्छ?
a MP3, PDF, EPUB
-