-
तिनी परमेश्वरका मानिसहरूको पक्षमा खडा भइन्तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
अध्याय पन्ध्र
तिनी परमेश्वरका मानिसहरूको पक्षमा खडा भइन्
१-३. (क) आफ्नो श्रीमान्कहाँ जान एस्तरलाई किन डर लागिरहेको थियो? (ख) हामी एस्तरसित सम्बन्धित कुन-कुन प्रश्न विचार गर्नेछौं?
एस्तर बिस्तारै-बिस्तारै शूशनको दरबारको भित्री चोकको नजिक पुग्छिन्। तिनको पाइला सँगसँगै तिनको मुटुको ढुकढुकी पनि बढ्दै गइरहेको छ। तिनी आफूलाई जसोतसो सम्हाल्न खोज्दैछिन्। तर के सक्नु, त्यत्ति ठूलो दरबारमा! जताततै भव्यता झल्काउने दृश्यहरू छन्। जता आँखा डुलायो त्यतै पखेटा भएका साँढेहरूका अनि धनुर्धारी योद्धाहरूका रङ्गीबिरङ्गी कलाकृतिहरू देखिन्छन्। टिलिक्क टल्किने इँटाबाट बनेका सिंहका आकृतिहरू पनि साह्रै मनमोहक देखिन्छन्। दरबारका बुट्टेदार खम्बाहरू अनि विशाल मूर्तिहरू पनि अत्यन्तै आकर्षक छन्। यो दरबार हिउँले ढाकिएको जागरोस पर्वत नजिकैको फाँटमा ठाँटिएर बसेको छ र तलतिर कलकलाउँदै बगिरहेको कोआसपिस नदीलाई एकटकले हेरिरहेको छ। साँच्चै यो ठाउँको भव्यता वर्णन गरिनसक्नुको छ। हो, यही भव्य ठाउँका सबैभन्दा उच्च पदका व्यक्ति, जसले आफैलाई “महाराजा” भनेर चिनाउँछन्, उनलाई नै भेट्न एस्तर जाँदैछिन्। ती व्यक्ति तिनका श्रीमान् पनि हुन्।
२ श्रीमान् रे! यो कसरी हुन सक्छ? अहासूरसजस्तो भिन्नै आस्था भएको व्यक्ति एउटी विश्वासी यहूदी स्त्रीको श्रीमान्?a कल्पनै गर्न गाह्रो! आफ्नी प्यारी श्रीमती साराको कुरा सुन्ने अब्राहामजस्ता छैनन् अहासूरस। (उत्प. २१:१२) त्यसमाथि पनि उनलाई एस्तरको भगवान् यहोवा अनि उहाँको नियमबारे फिटिक्कै थाह छैन। अहासूरसलाई फारसी कानुनको भने नालीबेली थाह छ। उनको आँखाकै सामने अब एस्तरले एउटा कानुन उल्लङ्घन गर्न लागेकी छिन्। एस्तरले त्यस्तो के कदम चाल्न लागेकी थिइन् र? फारसी कानुनअनुसार राजाले नडाकीकन उनीसामु देखा पर्नेलाई मृत्युदण्ड दिइन्थ्यो। एस्तरलाई राजाले डाकेका थिएनन् तैपनि तिनी राजाकहाँ जाँदैछिन्। राजाको सिंहासनबाट छर्लङ्गै देखिने भित्री चोकमा पुग्दा तिनलाई खुकुरीको धारमा हिंडेको महसुस भइरहेको थियो।—एस्तर ४:११; ५:१ पढ्नुहोस्।
३ आखिर किन तिनले यस्तो जोखिम मोलिन्? यी असाधारण स्त्रीले देखाएको विश्वासबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यी प्रश्नको जवाफ पाउनुअघि, एस्तर कसरी फारसकी महारानी बन्न पुगिन्, त्यो विचार गरौं।
एस्तरको पृष्ठभूमि
४. एस्तरको पृष्ठभूमि कस्तो थियो? तिनी कसरी मोर्दकैसित बस्न पुगिन्?
४ एस्तरले सानैमा आमाबाबुको न्यानो काख गुमाउनुपरेको थियो; तिनी अनाथ थिइन्। बाइबलमा तिनका आमाबाबुबारे त्यत्ति धेरै जानकारी दिइएको छैन। जेहोस्, तिनका आमाबाबुले तिनको नाम हदस्सा राखिदिएका थिए। हिब्रू भाषामा यो एउटा बोटको नाम हो जसमा सेता फूलहरू ढकमक्क फुल्छन्। सानैमा आमाबाबुको छत्रछाया गुमाएकी यी टुहुरीलाई तिनकै दयालु आफन्त मोर्दकैले हेरचाह गर्छन्। नाताले मोर्दकै एस्तरका दाइ पर्छन् तर उमेरले भने निकै जेठा। उनले एस्तरलाई घरमा ल्याउँछन् र आफ्नै छोरीसरह पाल्छन्।—एस्त. २:५-७, १५.
आफ्नी धर्मपुत्रीप्रति गर्व गर्नुपर्ने असल कारण मोर्दकैसित थियो
५, ६. (क) मोर्दकैले एस्तरलाई कसरी हुर्काए? (ख) मोर्दकै र एस्तरले शूशनमा कस्तो जीवन बिताए?
५ यहूदीहरू निर्वासनमा परेको हुँदा मोर्दकै र एस्तर पनि फारसको राजधानीमा बसोबास गर्न पुगे। त्यहाँ बस्दा तिनीहरूलाई आफ्नो धर्म मान्न अनि व्यवस्थामा दिइएका नियमहरू पालन गर्न औधी सकस परेको हुनुपर्छ। तैपनि मोर्दकैले हार नमानी एस्तरलाई यहोवाबारे सिकाउँछन् जसले गर्दा तिनीहरूबीचको आत्मीयता झनै बढ्छ। कृपालु परमेश्वर यहोवाले पहिला पनि आफ्ना मानिसहरूलाई थुप्रै चोटि बचाइसक्नुभएको थियो र फेरि त्यस्तै कदम चाल्न लाग्नुभएको थियो। (लेवी २६:४४, ४५) समयको रफ्तारसँगसँगै मोर्दकै र एस्तरबीचको माया र चोखो बन्धन पनि बलियो हुँदै जान्छ।
६ मोर्दकैले शूशनको दरबारमा अफिसरको रूपमा काम गरेका थिए जस्तो देखिन्छ। उनी दिनहुँ राजाका अरू चाकरहरूसँगै मूलढोकामा बस्थे। (एस्त. २:१९, २१; ३:३) एस्तरले आफ्नो बाल्यकाल कसरी बिताइन्, त्यो त हामी कल्पना मात्र गर्न सक्छौं। तैपनि तिनले आफ्नो दाइ र उनको घरको राम्रो हेरचाह गरेको देखिन्छ। तिनीहरू राजदरबारको पारिपट्टि रहेको साधारण घरमा बस्थेजस्तो देखिन्छ। एस्तर रमाउँदै-रमाउँदै शूशनको बजारतिर गइरहेको दृश्य कल्पना गर्नुहोस्। त्यहाँ सुन, चाँदी अनि अरू थुप्रै सामानहरू बेच्न व्यापारीहरू व्यस्त छन्। तर त्यस्ता महँगा सरसमान पछि गएर तिनको लागि छेलोखेलो हुनेछ भनेर एस्तरले सपनामा पनि चिताएकी थिइनन्। जीवनले कस्तो मोड लिने हो, एस्तरलाई केही थाह थिएन।
“सुन्दरी”
७. वश्तीलाई महारानीको पदबाट किन हटाइयो र परिणाम के भयो?
७ एकदिनको कुरा हो, शूशनको राजदरबारमा कोलाहल मच्चिन्छ। राजा अहासूरस ले आफ्ना भारदारहरूलाई भव्य भोज दिएका थिए। उनले मानिसहरूलाई चौरासी व्यञ्जन अनि किम्मती दाखमद्यहरू टक्राएका थिए। भोज भइरहेकै बेला राजाले आफ्नी सुन्दरी रानी वश्तीलाई मानिसहरूसामु देखा पर्न डाके। महारानी वश्ती पनि छुट्टै कक्षमा आफ्ना सहेलीहरूसित भोजमा मस्त थिइन्। राजाले डाक्दा वश्तीले ठाडै इन्कार गरिन्। राजालाई आफ्नो इज्जत माटोमै मिलेको जस्तो लाग्यो। रिसले चूर हुँदै उनी आफ्ना सल्लाहकारहरूसित वश्तीलाई कस्तो सजाय दिनुपर्छ भनेर सोध्छन्। परिणाम के हुन्छ? वश्तीलाई महारानीको पदबाट हटाइन्छ। त्यसपछि राजाका भारदारहरूले त्यो साम्राज्यभरि नै सुन्दरी कन्याहरू खोज्न थाल्छन्। राजाले तिनीहरूमध्येबाटै एउटी रानी छान्ने थिए।—एस्त. १:१–२:४.
८. (क) एस्तर हुर्किसकेपछि मोर्दकैलाई किन चिन्ता लाग्यो? (ख) बाहिरी सुन्दरतालाई ज्यादै महत्त्व नदिन बाइबलले सिकाएको कुरा हामी कसरी लागू गर्न सक्छौं? (हितोपदेश ३१:३० पनि हेर्नुहोस्)
८ यो दृश्य कल्पना गर्नुहोस्: मोर्दकै आफ्नी छोरी एस्तरलाई मायालु नजरले हेर्दैछन्। उनकी छोरी अब ठूली भइसकी! राम्री पनि बिछट्टै राम्री! एकातिर खुसीले मन फुरुङ्ङ परेको छ भने चिन्ता पनि उत्तिकै लागेको छ मोर्दकैलाई। बाइबल विवरणमा एस्तरबारे यस्तो लेखिएको छ: “तिनी राम्री र सुन्दरी थिइन्।” (एस्त. २:७) बाहिरी सुन्दरतालाई ज्यादै महत्त्व नदिन बाइबलले सिकाउँछ। हुन त सुन्दरता आफैमा राम्रो कुरा हो, तर त्यससँगसँगै बुद्धि र नम्रता पनि चाहिन्छ। नत्र मानिसमा अहङ्कार, घमन्ड अनि अरू दुर्गुणहरू पैदा हुन सक्छ। (हितोपदेश ११:२२ पढ्नुहोस्) यो कुरा साँचो हो भनेर तपाईंले पनि महसुस गर्नुभएको होला। तर एस्तरको सन्दर्भमा चाहिं के भन्न सकिन्छ? तिनी पनि राम्री भएकीले पछि घमन्डी भइन् कि? त्यो त समयले नै बताउने थियो।
९. (क) राजाका भारदारहरूले एस्तरलाई देखेपछि के गरे? मोर्दकै र एस्तरलाई छुट्टिन किन गाह्रो भएको हुनुपर्छ? (ख) मोर्दकैले एस्तरको विवाह किन गैर-इस्राएलीसित हुन दिए? (पृष्ठ १३८ मा भएको पेटी हेर्नुहोस्)
९ राजाका भारदारहरू एस्तरलाई देख्छन्। तिनीहरू एस्तरलाई पनि खोलापारि रहेको राजदरबारमा लैजान्छन्। एस्तर मोर्दकैसित बिछोडिन बाध्य हुन्छिन्। (एस्त. २:८) यो विछोडले मोर्दकै र एस्तरको मुटु कत्ति छियाछिया भयो होला! आखिर तिनीहरू बुबा-छोरीजस्तै थिए। आफ्नी प्यारी धर्मपुत्रीले गैर-इस्राएलीसित विवाह गरेको मोर्दकै चाहँदैन थिए। चाहे त्यो व्यक्ति राजा नै किन नहोस्।b तर चाहेर मात्र हुँदैन रहेछ! लाचार भएर टुलुटुल हेर्नुसिवाय उनी अरू के पो गर्न सक्थे र! एस्तर दरबारमा जानुअघि मोर्दकैले तिनलाई सिकाएका कुरा तिनले गम्भीरतासाथ सुनेकी हुनुपर्छ। शूशनको सानदार दरबारतिर पाइला चाल्दा तिनको मनमा अनेकौं प्रश्नहरू खेल्न थाल्छन्। अब तिनको जीवनले कस्तो मोड लिने थियो?
“तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्”
१०, ११. (क) नयाँ ठाउँले एस्तरलाई कस्तो प्रभाव पार्न सक्थ्यो? (ख) मोर्दकै एस्तरको चिन्ता गर्थे भन्ने कुरा कसरी देखियो?
१० एस्तरलाई अर्कै दुनियाँमा पुगेको आभास हुन्छ। जता हेरे पनि नौलै-नौलो देखिन्छ। तिनले आफूलाई “धेरै ठिटीहरू”-को माझमा पाउँछिन्। तिनीहरूलाई पनि फारस साम्राज्यको टाढा-टाढाको इलाकाबाट खोजेर ल्याइएको थियो। तिनीहरूको रहनसहन, भाषा, आनीबानीमा कत्ति भिन्नता थियो होला! ती सबै ठिटीहरूलाई अफिसर हेगेको जिम्मा लगाइन्छ। अब तिनीहरूले आफ्नो सौन्दर्यलाई निखार्न विशेष प्रक्रिया अपनाउनुपर्ने हुन्छ। तिनीहरूलाई एक वर्षसम्म विभिन्न किसिमका सुगन्धित तेलले मालिस पनि गरिने थियो। (एस्त. २:८, १२) त्यसबेला ती ठिटीहरूले आफूलाई सक्दो राम्री बनाउनमा नै सारा ध्यान लगाएका थिए होलान्। तिनीहरूले एकअर्कालाई कत्ति चुरीफुरी देखाए होलान्, कत्ति प्रतिस्पर्धा गरे होलान्! त्यस्तो माहोलले एस्तरलाई कस्तो प्रभाव पाऱ्यो?
११ मोर्दकै एस्तरको साह्रै चिन्ता गर्थे। सायद उनी जत्तिको एस्तरको चिन्ता गर्ने मानिस अरू कोही थिएन। एस्तरलाई के कसो हुँदैछ, त्यो जान्न मोर्दकै दिनहुँ स्त्रीहरू बस्ने घर नजिकैको चोकबाट जाने गर्थे भनेर बाइबलमा लेखिएको छ। (एस्त. २:११) उनले सायद सँगी सेवकहरूबाट केही जानकारी पाउँथे। तिनीहरूले एस्तरबारे जानकारी दिंदा मोर्दकैको छाती गर्वले फुल्थ्यो। तर किन?
१२, १३. (क) एस्तरले आफू वरपरका मानिसहरूमाझ कस्तो छाप छोडिन्? (ख) एस्तरले आफू यहूदी भएको कुरा कसैलाई नबताएकोमा मोर्दकै किन खुसी थिए?
१२ एस्तर अफिसर हेगेको मन जित्न सफल भएकी थिइन्। त्यसैले हेगेले पनि माया गरेर एस्तरको लागि सात जना दासीहरूको प्रबन्ध गरिदिएका थिए र तिनलाई स्त्रीहरू बस्ने घरमा सबैभन्दा राम्रो स्थान दिएका थिए। विवरण यसो पनि भन्छ: “तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्।” (एस्त. २:९, १५) के त्यसोभए एस्तरको सुन्दरताले गर्दा मात्र मानिसहरू चित परेका थिए त? अहँ होइन, अर्को रहस्य पनि लुकेको थियो।
बाहिरी सुन्दरताभन्दा नम्रता र बुद्धि कता हो कता महत्त्वपूर्ण छ भनेर एस्तरलाई थाह थियो
१३ बाइबल यसो भन्छ: “मोर्दकैले त्यसो गर्न तिनलाई मनाई गरेकाले एस्तरले आफ्नो वंश अथवा घराना बताएकी थिइनन्।” (एस्त. २:१०) मोर्दकैले एस्तरलाई आफू यहूदी भएको कुरा कसैलाई नबताउनू भनेर सिकाएका थिए। किनभने फारसको दरबारमा यहूदीहरूलाई निकै पक्षपात गरिन्थ्यो भन्ने कुरा मोर्दकैलाई थाह थियो। आफ्नो आँखाअगाडि मात्र होइन तर अरू बेला समेत एस्तर आज्ञाकारी भइरहेकी छिन् भनेर थाह पाउँदा मोर्दकैको मन कत्ति रमायो होला!
१४. आजका युवायुवतीहरूले एस्तरको उदाहरण कसरी अनुकरण गर्न सक्छन्?
१४ आजका युवायुवतीहरूले पनि आफ्नो आमाबाबु वा आफ्नो हेरविचार गर्नेहरूलाई त्यसरी नै खुसी बनाउन सक्छन्। आमाबाबुले नदेखेको बेलामा अनि अल्लारे, अनैतिक, बदमास मानिसहरूको माझमा हुनुपर्दा समेत तिनीहरू खराब प्रभावबाट अलग्गै रहन सक्छन् र जे सही छ त्यही गर्न सक्छन्। त्यसो गरेमा तिनीहरूले पनि एस्तरले जस्तै स्वर्गमा बस्नुहुने बुबा यहोवाको मन खुसी बनाउन सक्छन्।—हितोपदेश २७:११ पढ्नुहोस्।
१५, १६. (क) एस्तरले राजाको मन कसरी जितिन्? (ख) एस्तरलाई नयाँ जीवनशैली अपनाउन किन गाह्रो भएको हुनुपर्छ?
१५ राजासामु जाने समय आएपछि एस्तरलाई विभिन्न श्रृङ्गार सामग्री अनि अरू जे-जति चाहिन्छ त्यो सबै लिने अनुमति दिइयो। तर तिनले विनम्र हुँदै जिम्मावाल हेगेले दिएको कुराबाहेक अरू केही लिइनन्। (एस्त. २:१५) बाहिरी सुन्दरताले होइन तर भद्र भएर अनि नम्र भएर नै राजाको मन जित्न सकिन्छ भन्ने एस्तरलाई लागेको हुनुपर्छ। त्यसोभए तिनी सफल भइन् त?
१६ बाइबल यस्तो जवाफ दिन्छ: “राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तर . . . नै मन पऱ्यो। औ राजाले अरू कन्येकेटीहरूभन्दा तिनलाई निगाह र दया देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए। औ वश्तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए।” (एस्त. २:१७) यी विनम्र यहूदी ठिटीलाई जिन्दगीको यो नयाँ मोडमा हिंड्न कत्ति गाह्रो भयो होला! महारानी, त्यो पनि त्यतिबेलाकै सबैभन्दा शक्तिशाली राजाकी पत्नी! के यसले तिनलाई घमन्डी बनायो? अहँ, बनाएन!
१७. (क) एस्तर आफ्नो धर्मबुबाप्रति कसरी आज्ञाकारी भइरहिन्? (ख) अहिले एस्तरको उदाहरण अनुकरण गर्नु किन निकै जरुरी छ?
१७ एस्तर आफ्नो धर्मबुबाप्रति आज्ञाकारी भइरहिन्। तिनले आफू यहूदी भएको कुरा गोप्य नै राखिरहिन्। राजा अहासूरसलाई मार्ने षड्यन्त्र भइरहेको छ भनेर मोर्दकैले सुराकी दिंदा एस्तरले आज्ञाकारी हुँदै राजासम्म त्यो सन्देश पुऱ्याइन्। फलतः ती षड्यन्त्रकारीहरूको योजना भताभुङ्ग भयो। (एस्त. २:२०-२३) हो, नम्र अनि आज्ञाकारी मनोभाव देखाएर तिनले आफ्ना परमेश्वर यहोवालाई विश्वास गरेको कुरा पनि देखाइन्। एस्तरको उदाहरण अनुकरण गर्नु अहिले निकै जरुरी छ। किनभने अहिले जता हेरे पनि अनाज्ञाकारी अनि विद्रोही मानिसहरूको बिगबिगी छ, आज्ञाकारी हुने कुरालाई त तिनीहरूले मानौं कुल्चीमिल्ची नै पारिसके। तर साँचो विश्वास खेती गर्नेहरू आज्ञाकारी हुनुलाई अनमोल धन सम्झन्छन्, एस्तरले जस्तै!
एस्तरको विश्वासको जाँच
१८. (क) मोर्दकैले किन हामानलाई दण्डवत् गरेनन्? (फुटनोट पनि हेर्नुहोस्) (ख) आजका विश्वासी पुरुष तथा स्त्रीले मोर्दकैको उदाहरण कसरी अनुकरण गर्छन्?
१८ राजा अहासूरस आफ्नो दरबारका हामान भन्ने व्यक्तिलाई उच्च पदमा नियुक्त गर्छन्। राजाले तिनलाई प्रधानमन्त्री नियुक्त गर्छन्। साथै आफ्नो निजी सल्लाहकार र साम्राज्यकै दोस्रो दर्जाको व्यक्ति बनाउँछन्। तिनलाई देख्नेजति सबैले दण्डवत् गर्नुपर्छ भन्ने उर्दी पनि जारी गर्छन्। (एस्त. ३:१-४) तर मोर्दकैलाई यो नियम पालन गर्न गाह्रो पर्छ। राजाको आज्ञा पालन गर्नुमा उनलाई कुनै समस्या थिएन तर त्यसले गर्दा परमेश्वरलाई अनादर गर्ने कुरा उनी सोच्न पनि सक्दैनथे। तपाईंलाई थाहै छ, हामान अगागी थिए, मतलब तिनी अमालेकी राजा अगागका सन्तान थिए। अनि यहोवाका भविष्यवक्ता शमूएलले राजा अगागलाई टुक्रा-टुक्रा गरी मारेका थिए। (१ शमू. १५:३३) अमालेकीहरू यत्ति दुष्ट थिए कि तिनीहरू यहोवा परमेश्वर र इस्राएलको शत्रु बने। फेरि परमेश्वरले तिनीहरूलाई दण्ड दिने घोषणा पनि गर्नुभएको थियो।c (व्यव. २५:१९) त्यस्तो मान्छेलाई एक जना विश्वासी यहूदीले कसरी दण्डवत् गर्न सक्थे र? हो, मोर्दकैले हामानलाई दण्डवत् गर्न सक्दैनथे। त्यसैले उनले दृढ भई इन्कार गरे। चाहे आफ्नो ज्यानै जोखिममा किन नपरोस्, आज पनि सबै विश्वासी पुरुष तथा स्त्री बाइबलको एउटा अनमोल सिद्धान्तअनुसार चल्छन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”—प्रेषि. ५:२९.
१९. हामान के गर्न चाहन्थे? राजालाई आफ्नो पक्षमा लिन तिनले के गरे?
१९ मोर्दकैले दण्डवत् नगरेपछि हामान रिसले चूर हुन्छन्। त्यसैले तिनी मोर्दकैलाई मार्ने विचार गर्छन्। मोर्दकैलाई मात्र होइन तर उसको सारा जातिलाई नै खतम पार्न चाहन्छन् हामान! त्यसैले राजाको अगाडि गएर यहूदीहरूबारे भए नभएको कुरा लगाइदिन्छन्। “समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्गै बस्छन्” भनेर घुमाउरो तरिकामा हामानले यहूदीहरू काम न काजका मानिसहरू हुन् भन्ने भान पार्न खोज्छन्। त्यति मात्र होइन, तिनीहरू राजाको उर्दी नै पालन गर्दैनन्, साह्रै खतरनाक छन् समेत भन्छन्! पूरै साम्राज्यभरिबाट यहूदीहरूको जरो उखेल्न जेजति खर्च लाग्छ, त्यो सबै आफैले बेहोरिदिने प्रस्ताव पनि राख्छन्।d अहासूरसले आफ्नो छाप-औंठी खोलेर तिनलाई दिन्छन् र तिनले आफूलाई मन लागेको जुनसुकै उर्दी पनि जारी गर्ने अधिकार पाउँछन्।—एस्त. ३:५-१०.
२०, २१. (क) हामानको उर्दीले सारा फारसी साम्राज्यमा भएका यहूदीहरू अनि मोर्दकैलाई कस्तो असर गऱ्यो? (ख) मोर्दकैले एस्तरलाई कस्तो सन्देश पठाए?
२० त्यसको केही समयपछि नै शाही-दूतहरू यहूदीहरूको नामोनिशान मेटाइनेछ भनेर सारा प्रान्तमा घोषणा गर्दै हिंड्छन्। घोषणा गर्दै तिनीहरू यरूशलेमसम्मै पुग्छन्। त्यो सन्देश सुनेपछि यरूशलेममा भएका बाँकी यहूदीहरूको हालत कस्तो भयो होला सोच्नुहोस् त! बाबेलको निर्वासनबाट फर्केर तिनीहरूले भर्खरै सहरको पुनर्निर्माण गर्न थालेका थिए, त्यसमाथि सुरक्षा दिने पर्खाल पनि थिएन! त्यो सन्देश कानमा परेपछि मोर्दकैलाई यरूशलेममा भएका यहूदीहरूको अनि शूशनमा भएका आफ्ना साथीभाइ तथा नातागोताहरूको कत्ति चिन्ता लाग्यो होला! व्याकुल हुँदै उनी आफ्नो लुगा च्यात्छन्, भाङ्ग्रा लगाउँछन्, खरानी घस्छन् र सहरको बीच भागमा गएर चर्को स्वरमा विलाप गर्छन्। यस्तो उर्दीले गर्दा यहूदीहरू अनि शूशनमा भएका मोर्दकैका साथीहरूमाथि के बितिरहेको छ भनेर हामानलाई वास्तै छैन। तिनी मस्तले राजासित बसेर सुरुपसुरुप गर्दै दाखमद्य पिइरहेका छन्।—एस्तर ३:१२–४:१ पढ्नुहोस्।
२१ अब चुप लागेर बस्नु हुँदैन भन्ने मोर्दकैलाई लाग्छ। तर उनले के नै गर्न सक्थे र? एस्तरले मोर्दकै दुःखी भएका छन् भन्ने खबर पाउँछिन्। तिनले मोर्दकैको लागि भनेर केही लुगा पठाउँछिन् तर मोर्दकैले त्यो लिन मान्दैनन्। आफ्नी फूलजस्ती छोरीलाई यहोवाले किन आफूबाट अलग हुन र मूर्तिपूजक राष्ट्रको रानी बन्न दिनुभयो भनेर मोर्दकैलाई लागिरहेको थियो होला। तर अब त्यसको जवाफ बिस्तारै प्रकट हुँदैछ। मोर्दकैले एस्तरलाई “आफ्नो जातिको निम्ति” राजासित कुरा गरिदिन सन्देश पठाउँछन्।—एस्त. ४:४-८.
२२. राजाकहाँ जान एस्तर किन डराइन्? (फुटनोट पनि हेर्नुहोस्)
२२ त्यो सन्देश पाएपछि एस्तर चिन्तामा चुर्लुम्मै डुब्छिन्। तिनको विश्वासको ठूलो जाँच हुन्छ। मोर्दकैले भनेअनुसार गर्न एस्तर डराउँछिन् र मोर्दकैलाई त्यो कुरा खुलेर बताउँछिन्। राजाको कानुन कस्तो छ, त्यो पनि एस्तरले मोर्दकैलाई सम्झाउँछिन्। राजाले नडाकीकन उनीकहाँ जानु भनेको मृत्युदण्ड पाउन लायकको अपराध थियो। राजाले केहीगरि आफ्नो राजदण्ड तेर्स्याए भने मात्र बच्न सकिन्थ्यो। वश्तीले राजासामु देखा पर्न इन्कार गर्दा सजाय पाएकी थिइन्। त्यसोभए के एस्तरले राजाको निगाह प्राप्त गर्ने खास कारण थियो र? राजाले आफूलाई नबोलाएको पनि ३० दिन भइसक्यो भनेर एस्तर मोर्दकैलाई बताउँछिन्। त्यसैले राजाले निगाह नदेखाउने हुन् कि भनेर एस्तरलाई साह्रै डर लागेको थियो।e—एस्त. ४:९-११.
२३. (क) एस्तरको विश्वास बढाउन मोर्दकैले के भने? (ख) मोर्दकैको उदाहरण किन अनुकरण गर्न लायकको छ?
२३ एस्तरको विश्वास बढाउन मोर्दकै दृढ हुँदै जवाफ दिन्छन्। एस्तर यो काम गर्न असमर्थ भएमा यहूदीहरूको उद्धार अरू नै कसैबाट आउनेछ भनेर उनी एस्तरलाई बताउँछन्। तर सारा शक्ति नै यहूदीहरूविरुद्ध खडा भइसकेको अवस्थामा एस्तरले के पो गर्न सक्थिन् र! यतिबेला मोर्दकै आफ्ना परमेश्वर यहोवाप्रति बलियो विश्वास देखाउँछन्। उहाँले आफ्ना जनहरूलाई कहिल्यै विनाश हुन दिनुहुन्न र उहाँको प्रतिज्ञा कहिल्यै फेल खाँदैन भनी उनी विश्वस्त हुन्छन्। (यहो. २३:१४) उनी एस्तरलाई यस्तो प्रश्न सोध्छन्: “कसले जान्दछ कि यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेको हो कि?” (एस्त. ४:१२-१४) के हामीले मोर्दकैको उदाहरण अनुकरण गर्नु पर्दैन र? उनले आफ्ना परमेश्वर यहोवामा पूरा भरोसा गरे। हामी नि?—हितो. ३:५, ६.
मृत्युलाई माथ गर्ने विश्वास
२४. एस्तरले कसरी विश्वास र साहस देखाइन्?
२४ एस्तरले अब निर्णायक कदम चाल्ने समय आउँछ। शूशनमा भएका सबै यहूदीहरूलाई उपवास बस्न र तीन दिन तीन रातसम्म खानेकुरा तथा पानी नपिउन भन्नुहोस् भनेर तिनी मोर्दकैलाई सन्देश पठाउँछिन्। त्यसपछि तिनले भनेको यो कुरा अझै पनि लोकप्रिय छ: “मेरो विनाश भए पनि होस्।” (एस्त. ४:१५-१७) तिनको यो सरल जवाफमा असाधारण विश्वास र साहस झल्किन्छ। तिनले त्यो तीन दिन कत्ति व्यग्र प्रार्थना गरिन् होला! अब त्यो भयानक क्षण पनि आइपुग्छ। तिनी राजसी पोसाकमा चिटिक्क पर्छिन्; राजाको मन जित्न जे जति गर्न सकिन्छ, सबै गर्छिन्। त्यसपछि बिस्तारै अघि बढ्छिन्।
परमेश्वरका मानिसहरूलाई बचाउन एस्तरले आफ्नो ज्यानै जोखिममा हालिन्
२५. एस्तर राजासामु गएको विवरण छोटकरीमा बताउनुहोस्।
२५ सुरुमा चर्चा गरिएझैं एस्तर राजाको कक्षतिर जाँदैछिन्। तिनको मनमा कत्ति आँधीहुरी चल्यो होला, तिनले कत्ति प्रार्थना गरिन् होली, त्यो त हामी कल्पना मात्र गर्न सक्छौं। तिनी राजाको कक्षमा पुग्छिन् जहाँ अहासूरस आफ्नो भव्य सिंहासनमा ठाँटिएर बसेका छन्। तिनी राजाको अनुहारको भाव पढ्ने प्रयास गर्छिन्। केही समय कुर्नुपरेको भए त तिनलाई जुगौं काट्नु परेको जस्तै लाग्थ्यो होला। तर छिट्टै नै तिनलाई तिनको श्रीमान्ले देख्छन्। एस्तरलाई देखेर राजा तीनछक पर्छन् तर उनको अनुहारमा कुनै अप्रसन्नता देखिंदैन। उनी आफ्नो राजदण्ड एस्तरतिर पसार्छन्।—एस्त. ५:१, २.
२६. साँचो ख्रीष्टियनहरूलाई किन एस्तरको जस्तै साहस चाहिन्छ? तिनी राजासामु खडा हुनु किन सुरुवात मात्र थियो?
२६ अचम्म! एस्तरको कुरा सुन्न राजा तयार हुन्छन्। एस्तर परमेश्वरप्रति विश्वासी भइन् र उहाँका जनहरूलाई जोगाउन तिनले आफ्नो ज्यानै जोखिममा हालिन्। तिनको विश्वास अहिलेका परमेश्वरका सेवकहरूको लागि पनि कत्ति अनमोल छ नि, होइन र? साँचो ख्रीष्टियनहरू यस्तो उदाहरणलाई अनमोल ठान्छन्। आफ्ना चेलाहरूले आत्मत्यागी प्रेम देखाउनेछन् भनेर येशूले बताउनुभएको थियो। (यूहन्ना १३:३४, ३५ पढ्नुहोस्) यस्तो प्रेम देखाउन एस्तरको जस्तै साहस चाहिन्छ। आफ्ना मानिसहरूको खातिर त्यो दिन राजासामु खडा हुनु त सुरुवात मात्र थियो। झन् राजाका प्रिय सल्लाहकार नै दुष्ट षड्यन्त्रकारी हुन् भनेर कसरी बताउने? अनि तिनले आफ्ना मानिसहरूको ज्यान कसरी जोगाउने? हामी यी प्रश्नहरूको जवाफ यसपछिको लेखमा पाउनेछौं।
a राजा अहासूरस र सम्राट् जारसेस प्रथम एउटै व्यक्ति थिए भन्ने थुप्रैको मान्यता छ। जारसेस प्रथमले ईसापूर्व पाँचौं शताब्दीको सुरुतिर फारसी साम्राज्यमा शासन गरेका थिए।
b पृष्ठ १३८ मा भएको “एस्तरको विवरणबारे उठेका केही प्रश्न” शीर्षकको पेटी हेर्नुहोस्।
c राजा हिजकियाहको पालामा “बाँचेका अमालेकीहरू सबैलाई नाश” गरिसकेकोले हामान नै अमालेकीहरूको अन्तिम पुस्ता थिए जस्तो देखिन्छ।—१ इति. ४:४३.
d हामानले राजालाई १०,००० तोडा चाँदी दिने प्रस्ताव राख्छन्। अहिलेको हिसाबअनुसार यो रकम अरबौं रुपैयाँ हुन आउँछ। यदि अहासूरस जारसेस प्रथम नै हुन् भने हामानको प्रस्ताव निकै आकर्षक देखिएको हुनुपर्छ। किनभने जारसेसलाई ग्रीसविरुद्ध युद्ध गर्ने आफ्नो योजना कार्यान्वयन गर्न थुप्रै पैसाको खाँचो थियो। तर पछि गएर त्यो युद्धमा उनको ठूलो नोक्सानी हुन्छ।
e जारसेस प्रथमलाई छिनछिनमै मुड परिवर्तन गर्ने र हिंस्रक स्वभावका शासक भनेर चिनिन्थ्यो। जारसेस प्रथमले ग्रीसविरुद्ध लडेका केही युद्धबारे ग्रीक इतिहासकार हेरोडोटसले उल्लेख गरेका छन्। हेलेसपोन्ट भन्ने ठाउँको घाटीमा पानीजहाजहरूलाई जोडेर पानीमा तैरिनै एउटा पुल बनाउन जारसेस प्रथमले आदेश दिएका थिए। तर त्यो पुल आँधीले गर्दा नष्ट भयो। त्यसपछि जारसेसले त्यो पुल बनाउने इन्जिनियरहरूको टाउको काट्न लगाए। त्यति मात्र नभएर हेलेस्पोन्टलाई निकै होच्याउने खालको एउटा घोषणा गर्न लगाउँदै त्यस ठाउँको पानीमा कोर्रा हान्न लगाएर पानीलाई समेत उनले दण्ड दिन खोजे। ग्रीसविरुद्धको त्यही युद्धको दौडान एक जना धनी मानिसले आफ्नो छोरालाई सेनामा भर्ती नगरिदिन जारसेसलाई बिन्ती गरेका थिए। तर जारसेसले ती मानिसको छोरालाई दुई टुक्रा पार्ने आदेश दिए र सबैलाई चेतावनी दिन तिनको लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे।
-
-
बुद्धि, साहस र निस्स्वार्थ भावकी धनीतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
अध्याय सोह्र
बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी
१-३. (क) राजाको सिंहासनसामु जाँदा एस्तरलाई कस्तो लागिरहेको थियो? (ख) एस्तर त्यसरी आउँदा राजाले कस्तो प्रतिक्रिया देखाए?
एस्तर राजाको सिंहासनतिर बिस्तारै अघि बढ्छिन्। तिनको मुटु यत्ति छिटो कहिल्यै धड्केको थिएन। शूशनको त्यो दरबारमा रहेको बैठकमा सबै जना चुपचाप लागेर एस्तरतिर हेरिरहेका छन्। त्यहाँ यत्ति सन्नाटा छ कि आफूले बिस्तारै चालेको पाइलाको आवाज र आफ्नो पोसाक सरसराएको आवाजसमेत एस्तर स्पष्टसित सुन्न सक्छिन्। दरबारका खम्बाहरू निकै आकर्षक छन् र लबानोनदेखि ल्याइएको देवदारका काठ कुँदेर बनाइएका दलिनहरू पनि भव्य छन्। तर अहिले त्यस्ता कुराहरूको सुन्दरतामा डुबेर अलमलिने बेला थिएन। यतिखेर एस्तर आफ्नो सारा ध्यान सिंहासनमा विराजमान राजा अहासूरसतिर लगाउँछिन् किनभने तिनको जीवन र मरण अहिले उनकै हातमा छ।
२ अहासूरसले आफ्नो राजदण्ड एस्तरतिर पसारेका छन् र उनी उत्सुक हुँदै एस्तरलाई हेरिरहेका छन्। राजदण्ड पसार्नु राजाको लागि कुनै ठूलो कुरा त थिएन। तर यही सानो सङ्केतले एस्तरको ज्यानै जोगिएको थियो। अनुमतिबिना नै राजासामु उपस्थित भएर तिनले ठूलो गल्ती गरेकी थिइन् तर राजदण्ड पसारेर राजाले एस्तरलाई क्षमा गरेको सङ्केत दिए। सिंहासनको अगाडि पुगेपछि एस्तर लामो सास फेर्दै राजदण्डको टुप्पो छुन्छिन्।—एस्त. ५:१, २.
राजाले कृपा देखाउँदा एस्तरले आफूलाई धन्यकी सम्झिन्
३ राजा अहासूरसको हरेक कुराले उनको शक्ति र सम्पन्नताको बयान गरिरहेको थियो। त्यतिबेलाका फारसी राजाहरूको पोसाकको मोल मात्रै पनि अहिलेको हिसाबमा अरबौं रुपैयाँ हुन आउँछ। जेहोस्, एस्तरले भने राजाको आँखामा मायाको भाव देख्न सक्थिन्। हो, राजा तिनलाई माया गर्थे। राजाले भने, “रानी एस्तर, तिमी के चाहन्छौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”—एस्त. ५:३.
४. एस्तरले कस्तो गाह्रो काम गर्न बाँकी नै थियो?
४ आफ्नो जातिको ज्यान जोगाउन राजासामु उपस्थित भएर एस्तरले निकै बलियो विश्वास र ठूलो साहस देखाइसकेकी थिइन्। हुन त अहिलेसम्म सबै कुरा योजनाअनुसारै अघि बढिरहेको थियो। तर अझै गाह्रो काम गर्न बाँकी नै थियो। राजाले सबैभन्दा बढी विश्वास गरेको मानिस वास्तवमा एकदमै दुष्ट छन् र तिनले राजालाई छक्याएर एस्तरका सबै मानिसहरूलाई मार्ने षड्यन्त्र रचिरहेका छन् भनेर एस्तरले राजालाई बुझाउनुपर्थ्यो। तर यी घमन्डी राजालाई एस्तरले कसरी मनाउन सक्थिन्? एस्तरले देखाएको विश्वासबाट हामी के सिक्न सक्छौं?
‘बोल्ने समय’ कुन हो, तिनलाई थाह थियो
५, ६. (क) एस्तरले उपदेशक ३:१, ७ मा दिइएको सिद्धान्त कसरी लागू गरिन्? (ख) एस्तरले आफ्नो श्रीमान्सित गरेको कुरा किन बुद्धिमानी थियो?
५ ती सारा भारदारहरूको अगाडि नै एस्तरले हामानको पोल खोलेको भए के हुन्थ्यो? राजाले आफ्नो अपमान भएको महसुस गर्न सक्थे र हामानले पनि आफूलाई लागेको आरोपको खण्डन गर्ने मौका पाउँथे। त्यसोभए एस्तरले के गरिन्? शताब्दियौंअघि बुद्धिमान् राजा सुलेमानले परमेश्वरको प्रेरणा पाएर यस्तो लेखेका थिए: “सबै कुराको लागि समय छ, . . . चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उप. ३:१, ७) एस्तर हुर्कंदै जाँदा तिनका धर्मपिता मोर्दकैले तिनलाई यस्ता सिद्धान्तहरू पक्कै सिकाएको हुनुपर्छ। त्यसकारण ‘बोल्ने समय’ कुन हो, विचार पुऱ्याउनुपर्छ भनेर एस्तरलाई थाह थियो।
६ एस्तरले भनिन्: “हे महाराजा, हजुरलाई असल लागे हजुरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजुरको सवारी होस्।” (एस्त. ५:४) राजाले एस्तरको कुरा मञ्जुर गरे र हामानलाई पनि बोलाउन लगाए। एस्तरले कत्ति बुद्धिमानी भएर कुरा गरिन्! तिनले आफ्नो श्रीमान्को मर्यादा राखिन् र आफ्नो चिन्ताबारे बताउन उपयुक्त वातावरण तयार पारिन्।—हितोपदेश १०:१९ पढ्नुहोस्।
७, ८. एस्तरले दिएको पहिलो भोज कस्तो थियो? एस्तरले किन त्यतिबेला नै राजासित कुरा गरिनन्?
७ एस्तरले निकै विचार पुऱ्याएर त्यो भोज तयार पारिन्। आफ्नो श्रीमान्लाई मनपर्ने मनपर्ने परिकारहरू बनाइन्। राजाको मन खुसी पार्न उत्तम दाखमद्य पनि जुटाइन्। (भज. १०४:१५) त्यो भोज खाएर अहासूरस औधी खुसी भए र एस्तरको जुनसुकै चाहना पनि पूरा गरिदिनेछु भनेर फेरि बताए। अब एस्तरले आफ्नो कुरा बताउने बेला आएको हो कि?
८ एस्तरलाई लाग्छ, सही समय अझै आएको छैन। त्यसैले भोलिपल्ट पनि आफूले तयार पारेको भोजमा आउन तिनले राजा र हामानलाई बिन्ती गरिन्। (एस्त. ५:७, ८) आफ्नो कुरा बताउन एस्तरले किन ढिला गरेकी? आफ्नो जातिको ज्यान खतरामा परेको कुरा एस्तरलाई थाह थियो। राजाको सहमतिमा प्रान्तभरिका सबै यहूदीहरूलाई नाश गर्ने एउटा उर्दी जारी गर्न हामान सफल भएका थिए। त्यत्तिका मानिसहरूको ज्यान खतरामा परेकोले एस्तरले हडबडाएर कदम चाल्न मिल्दैनथ्यो। त्यसकारण तिनले अर्को मौका पर्खिन्। आफ्नो श्रीमान्को कत्ति आदर गर्थिन् भन्ने कुरा फेरि पनि देखाउने मौका तिनले पाइन्।
९. धीरजी हुनु कत्तिको महत्त्वपूर्ण छ? यससम्बन्धमा हामी कसरी एस्तरको अनुकरण गर्न सक्छौं?
९ धीरज एकदमै दुर्लभ र अनमोल गुण हो। हुन त एस्तर निकै चिन्तित थिइन् र राजालाई सक्दो चाँडो सबै कुरा बताउन चाहन्थिन्। तर धीरजी हुँदै तिनले सही समयलाई पर्खिन्। यसबाट हामी सबैले राम्रो पाठ सिक्न सक्छौं। कुनै गलत कामलाई सच्याइहाल्नुपर्छ भनेर बेलाबेलामा हामी सबै नै महसुस गर्छौं। त्यो सच्याउने अधिकार भएको व्यक्तिलाई बताइहालुँ जस्तो त हामीलाई लाग्ला तर एस्तरको अनुकरण गर्दै हामीले पनि धैर्य धारण गर्नुपर्छ। हितोपदेश २५:१५ भन्छ: “धीरज गर्नाले राजालाई पनि मनाउन सकिन्छ, मीठो बोलीले कडा हड्डीलाई पनि गलाउन सकिन्छ।” हामीले पनि एस्तरले जस्तै सही समयलाई पर्खेर नम्रतापूर्वक आफ्नो कुरा राख्यौं भने ढुङ्गाजस्तो कठोर मन पनि पग्लन सक्छ। एस्तरले धीरज धरेकोमा र बुद्धि देखाएकोमा तिनका परमेश्वर यहोवाले तिनलाई आशिष् दिनुभयो त?
न्याय—धीरजको फल
१०, ११. (क) पहिलो दिनको भोज सकिएर घर फर्कंदा बाटोमा घटेको कस्तो घटनाले गर्दा हामान रिसाए? (ख) श्रीमती र साथीहरूले हामानलाई कस्तो सल्लाह दिए?
१० एस्तरले धीरज धरेकोले अरू पनि थुप्रै महत्त्वपूर्ण घटना घट्छन्। पहिलो दिनको भोज सकिएपछि हामान फुरुङ्ङ पर्छन्। राजा र रानीको त्यत्रो निगाह पाएकोमा हामान “रमाउँदै र मनमा खुसी हुँदै” घर फर्कन्छन्। तर दरबारको ढोकाबाट निस्कँदै गर्दा मोर्दकैसँग हामानको आँखा जुध्छ। उनी त्यही यहूदी थिए, जसले हामानलाई दण्डवत् गर्न इन्कार गरेका थिए। अघिल्लो अध्यायबाट हामीले बुझेझैं मोर्दकैले हामानलाई अनादर गर्न खोजेका थिएनन्। आफ्नो अन्तस्करणले नदिएको कारण र परमेश्वरसित बलियो सम्बन्ध भएकोले उनले हामानलाई दण्डवत् गरेका थिएनन्। तर हामानलाई त्यसको के वास्ता! तिनी “रिसले चूर भए।”—एस्त. ५:९.
११ मोर्दकैले गर्दा आफ्नो अपमान भएको कुरा हामान आफ्नी श्रीमती र साथीहरूलाई बताउँछन्। तिनीहरूले हामानलाई कस्तो सल्लाह दिए? बाइस मिटर भन्दा अग्लो एउटा खम्बा तयार पार्ने अनि राजासित अनुमति मागेर मोर्दकैलाई त्यसैमा झुन्ड्याउने! हामानलाई त्यो सल्लाह मनपऱ्यो। त्यस्तो खम्बा तयार पार्न तिनले आदेश दिइहाले।—एस्त. ५:१२-१४.
१२. राजाले किन दैनिक घटनाहरूको विवरण भएको पुस्तक पढ्न लगाए? उनले के कुरा थाह पाए?
१२ त्यो रात कटाउन राजालाई निकै गाह्रो पर्छ। बाइबल यसो भन्छ: “त्यस रात राजालाई निद्रै लागेन।” त्यसकारण उनले दैनिक घटनाहरूको विवरण भएको पुस्तक मगाउँछन् र ठूलो स्वरमा पढ्न लगाउँछन्। त्यो पढ्दै जाँदा, राजालाई मार्ने षड्यन्त्र गरिएको विवरण पनि आउँछ। त्यसपछि राजाले त्यो घटना सम्झन्छन्। ती षड्यन्त्रकारीहरूको पर्दाफास भएको थियो र तिनीहरूलाई फाँसी दिइएको थियो। तर त्यो षड्यन्त्रको पर्दाफास गर्ने मोर्दकैबारे चाहिं विवरणमा खासै केही बताइएको थिएन। राजा अचानक झस्किन्छन् र मोर्दकैलाई कुनै सम्मान अथवा पद दिइयो कि दिइएन भनेर सोध्छन्। जवाफ के आउँछ? मोर्दकैलाई केही पनि दिइएको थिएन।—एस्तर ६:१-३ पढ्नुहोस्।
१३, १४. (क) हामानको योजना असफल हुने लक्षण कसरी देखिन थाल्यो? (ख) श्रीमती र साथीहरूले हामानलाई कस्तो सल्लाह दिए?
१३ राजालाई छटपटी हुन्छ। त्यो भूल सच्याउन के गर्न सकिन्छ भनेर उनी सोच्न थाल्छन्। त्यस विषयमा राम्रो सल्लाह दिने कोही छ कि भनेर उनी सोध्छन्। त्यसबेला राजाको दरबारअगाडि अरू कोही नभएर हामान नै आइरहेका हुन्छन्। हामान कहिले राजालाई भेटूँला र मोर्दकैलाई झुन्ड्याउने अनुमति मागूँला भनेर एकाबिहानै राजदरबारअगाडि आएका हुन सक्छन्। तर हामानले आफ्नो बिन्ती बिसाउन नपाउँदै राजा तिनलाई सोध्छन्: ‘राजाको मन जित्ने मानिसलाई कसरी सम्मान गर्नुपर्ला?’ त्यो मानिस आफू नै हुँ भन्ने हामानलाई लाग्छ। त्यसैले सकेसम्म ठूलो सम्मान दिनुपर्छ भनेर तिनी बताउँछन्। हामान भन्छन्: ‘त्यस्तो मानिसलाई शाही पोसाक पहिराइयोस्, राजाका सबैभन्दा माननीय भारादारहरूमध्ये एक जनाले तिनलाई राजाकै घोडामा सवार गराऊन्, शूशन सहरको वरिपरि घुमाऊन् र सबैले सुन्नेगरि तिनको जयजयकार गरियोस्।’ तर त्यसरी सम्मान पाउने मानिस त्यही यहूदी मोर्दकै हो भनेर थाह पाउँदा हामानको अनुहार कस्तो भयो होला! फेरि सम्मान गर्ने जिम्मा राजाले कसलाई दिए? अरू कसैलाई होइन, हामानलाई नै!—एस्त. ६:४-१०.
१४ मन नलागी-नलागी भए पनि हामानले त्यो काम गर्नै पर्ने भयो। त्यसपछि तिनी विचलित हुँदै घरतिर दौडे। त्यो सुन्नेबित्तिकै तिनकी श्रीमती र साथीहरू अशुभ लक्षण देखापरेको ठान्छन्। यदि यस्तै हुँदै जाने हो भने मोर्दकैविरुद्धको षड्यन्त्र सफल हुँदैन जस्तो तिनीहरूलाई लाग्छ।—एस्त. ६:१२, १३.
१५. (क) एस्तरले धीरज धरेकोले कस्तो राम्रो नतिजा निस्क्यो? (ख) “परमेश्वरको बाटो” हेर्नु किन बुद्धिमानी हो?
१५ एस्तरले धैर्य गर्दै अर्को एक दिन पर्खिन्। नतिजा कस्तो भयो? हामानले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने अवस्था आयो। विचार गर्नुहोस् त, राजा अहासूरस रातभर सुत्न नसक्नुमा यहोवाकै हात थिएन होला र? (हितो. २१:१) बाइबलले हामीलाई “परमेश्वरको बाटो” हेर्न त्यसै प्रोत्साहन दिएको होइन। (मीका ७:७ पढ्नुहोस्) परमेश्वरले कदम चाल्ने समयलाई धैर्य गर्दै पर्ख्यौं भने हामीले सोचेको भन्दा कता हो कता राम्रो तरिकामा उहाँले हाम्रा समस्याहरू समाधान गरिदिनुहुनेछ।
तिनी बोल्न डराइनन्
१६, १७. (क) एस्तरको ‘बोल्ने समय’ कहिले आयो? (ख) पहिलेकी रानी वश्तीभन्दा एस्तर कसरी फरक थिइन्?
१६ राजालाई अझै पर्खाउनु हुँदैन भनेर अब एस्तर सोच्छिन्। दोस्रो पटकको भोजमा तिनले सबै कुरा बताउनुपर्छ। तर कतिखेर? नभन्दै त्यो समय आइपुग्छ। एस्तर के चाहन्छिन्, त्यो बताउन राजा फेरि पनि आग्रह गर्छन्। (एस्त. ७:२) बल्ल एस्तरको ‘बोल्ने समय’ आयो।
१७ कल्पना गर्नुहोस्, आफ्नो कुरा बताउनुअघि एस्तर मनमनै प्रार्थना गर्छिन्। त्यसपछि तिनी राजालाई यस्तो बिन्ती गर्छिन्: “यदि मैले महाराजाको निगाह प्राप्त गरेकी छु, औ यदि महाराजाको मर्जी भए बिन्ती यही छ कि मेरो आफ्नो ज्यान र मेरो जातिको ज्यान जोगाइदिनुहोस्।” (एस्त. ७:३) निर्णय गर्ने राजाको अधिकारको सम्मान गर्दै एस्तरले कुरा गरिन्। आफ्नो श्रीमान्लाई जानाजानी होच्याउने पहिलेकी रानी वश्तीभन्दा कत्ति फरक! (एस्त. १:१०-१२) साथै हामानजस्तो मूर्खलाई आफ्नो विश्वासपात्र बनाएकोमा एस्तरले राजाको धज्जी उडाउन पनि खोजिनन्। बरु आफ्नो जीवन नै खतरामा परेकोले आफूलाई जोगाइदिन बिन्ती गरिन्।
१८. एस्तरले राजालाई आफ्नो समस्या कसरी बताइन्?
१८ त्यस्तो बिन्ती सुन्दा राजा छाँगाबाट खसेझैं भए। कसले गर्दा रानीको जीवनै खतरामा पऱ्यो? एस्तर अझै यसो भन्छिन्: “किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँ-निशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्त्री सबैलाई दासत्वमा बेच्ने कुरो मात्र भएको भएता म चूप्पै लागिरहने थिएँ। किनभने त्यसो भए हाम्रो दशा महाराजाको हितमा हानि पुऱ्याउने किसिमको हुनेथिएन।” (एस्त. ७:४) एस्तरले आफ्नो समस्या खुलेरै बताएको याद गर्नुहोस्। दासत्वमा मात्रै बेचिने कुरा भएको भए त चुप लागेर बस्ने थिएँ भनेर एस्तर बताउँछिन्। तर सारा यहूदीहरूलाई नाश पार्ने त्यो षड्यन्त्रले स्वयम् राजालाई नै ठूलो हानि पुऱ्याउने थियो।
१९. अरूको मन जित्ने तरिकाले कुरा गर्ने हो भने एस्तरले जस्तै हामीले पनि के गर्नुपर्छ?
१९ कुरा गर्दा कसरी अरूको मन जित्न सकिन्छ भनेर हामी एस्तरबाट सिक्न सक्छौं। कहिलेकाहीं कुनै गम्भीर समस्याबारे आफूले माया गरेको व्यक्तिलाई वा अख्तियारप्राप्त व्यक्तिलाई समेत बताउनुपर्ने हुन सक्छ। यस्तो बेला एस्तरले जस्तै धैर्य गर्दै, आदर देखाउँदै अनि खुलेर कुरा गऱ्यौं भने नतिजा पक्कै राम्रो हुनेछ।—हितो. १६:२१, २३.
२०, २१. (क) एस्तरले कसरी हामानको पर्दाफास गरिन्? रानीको कुरा सुनेर राजाले कस्तो प्रतिक्रिया देखाए? (ख) आफ्नो पर्दाफास भएपछि हामानले के गरे?
२० अहासूरस झोक्किंदै सोध्छन्: ‘यस्तो काम गर्ने को हो, त्यो कहाँ छ?’ त्यसपछि हामानतिर औंला तेर्स्याउँदै एस्तरले यसो भनिन्: “त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो।” एकछिन त चारैतिर मौनता छाउँछ। हामान डरले निलोकालो हुन्छन्। त्यसै त झनक्क रिसाइहाल्ने राजा, त्यसमाथि आफूले त्यत्ति धेरै विश्वास गरेको हामानले आफ्नी प्यारी रानीलाई मार्न छल गरेर कानुन बनाएको थाह पाउँदा त उनी रिसले आगो भए होलान्! रिसलाई काबूमा राख्न उनी रन्थनिंदै बगैंचातिर जान्छन्।—एस्त. ७:५-७.
एस्तरले साहसी हुँदै दुष्ट हामानको पोल खोलिन्
२१ आफ्नो पर्दाफास भएकोले हामान डराउँछन् र पलङमा बसिरहेकी रानीको पाउ पर्छन्। राजा बगैंचाबाट फर्केर आउँदा हामानलाई एस्तरको पलङमा देख्छन्। त्यसपछि उनी झनै रिसाउँछन् र दरबारभित्रै रानीको इज्जत लुट्न खोजेको आरोप लगाउँछन्। अब राजाले आफूलाई बाँकी नछोड्ने भए भनेर हामान महसुस गर्छन्। राजाले हामानको अनुहार छोप्न लगाउँछन् र दरबारबाट बाहिर निकाल्ने आदेश दिन्छन्। त्यहीबेला राजाका एक जना भारदारले हामानको योजनाबारे राजालाई बताउँछन्। मोर्दकैलाई झुन्ड्याउन हामानले एउटा ठूलो खम्बा ठड्याएको कुरा ती भारदारले राजालाई सुनाइदिन्छन्। त्यही खम्बामा हामानलाई झुन्ड्याइदिनू भनेर राजा झोक्किंदै आदेश दिन्छन्।—एस्त. ७:८-१०.
२२. कहिल्यै हरेस नखान र आफ्नो विश्वासलाई कहिल्यै ढलपल हुन नदिन एस्तरको उदाहरणले हामीलाई कसरी मदत गर्छ?
२२ अहिले यो संसार अन्याय नै अन्यायले भरिएको छ। त्यसैले धेरैलाई यस्तो लाग्छ: न्याय पाउनु भनेको त आकाशको फल आँखा तरी मर भनेझैं हो। के तपाईंले पनि कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? अन्याय व्याप्त हुँदासमेत एस्तरले कहिल्यै हरेस खाइनन्, आफ्नो विश्वासलाई कहिल्यै ढलपल हुन दिइनन्। तिनले सही मौका विचार गर्दै साहसी भएर कुरा गरिन् र बाँकी कुरा यहोवाको हातमा छोडिदिइन्। हामीले पनि त्यसै गर्नुपर्छ नि, होइन र? यहोवा अहिले पनि परिवर्तन हुनुभएको छैन। दुष्टहरूले खनेको खाल्डोमा तिनीहरूलाई नै जाक्न यहोवा जान्नुहुन्छ। उहाँले हामानलाई पनि त्यसै गर्नुभयो।—भजन ७:११-१६ पढ्नुहोस्।
एस्तरको निस्स्वार्थी कदम—यहोवा र उहाँका मानिसहरूको लागि
२३. (क) राजाले मोर्दकै र एस्तरलाई कस्तो इनाम दिए? (ख) याकूबले मर्नुअघि बिन्यामीनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (“भविष्यवाणी पूरा हुन्छ” शीर्षकको पेटी हेर्नुहोस्)
२३ अन्ततः राजाले मोर्दकै को हुन् भनेर चिने। तिनी राजाको जीवनको रक्षा गर्ने वफादार सेवक मात्र होइनन् तर आफ्नी प्यारी रानी एस्तरलाई हुर्काउने धर्मपिता पनि हुन् भनेर तिनले बुझे। राजाले हामानको सट्टामा मोर्दकैलाई प्रधानमन्त्री नियुक्त गरे। हामानको घर र तिनको सारा जायजेथा राजाले एस्तरलाई दिए। एस्तरले ती सबै मोर्दकैलाई सुम्पिइन्।—एस्त. ८:१, २.
२४, २५. (क) हामानको पर्दाफास भए पनि एस्तर किन ढुक्क भएर बस्न सकिनन्? (ख) आफ्ना मानिसहरूको लागि एस्तरले फेरि पनि कसरी आफ्नो जीवन खतरामा पारिन्?
२४ अब आफू र आफ्नो प्यारो दाइको ज्यान जोगिइहाल्यो भनेर के एस्तर ढुक्क भएर बसिन्? तिनी स्वार्थी भएकी भए त त्यसै गर्थिन् होली। हामानले सबै यहूदीहरूलाई नाश गर्न जारी गरेको उर्दी फारस साम्राज्यको कुना-कुनासम्म पुगिसकेको थियो। यहूदीहरूलाई नाश गर्ने उपयुक्त समय पत्ता लगाउन हामानले चिट्ठा हालेका थिए, जसलाई पूर भनिन्थ्यो। (एस्त. ९:२४-२६) यो सम्भवतः प्रेतवादसित सम्बन्धित थियो। त्यो दिन आउन अझै केही महिना बाँकी नै थियो तर समय बित्न कति बेर लाग्छ र! विनाशको त्यो दिनलाई कसैगरि टार्न सकिन्थ्यो कि?
२५ अनुमतिबिना नै एस्तर फेरि एक पटक राजाकहाँ देखा पर्छिन्। आफ्नो जीवन नै खतरामा पर्ने भए पनि एस्तर फेरि यो निस्स्वार्थी कदम चाल्छिन्। त्यो विनाशकारी उर्दीलाई रद्द गरेर आफ्नो जातिको ज्यान जोगाइदिन तिनी राजासामु रूँदै बिन्ती गर्छिन्। तर फारसी कानुन रद्द गर्न मिल्दैनथ्यो। (दानि. ६:१२, १५) त्यसकारण राजाले एस्तर र मोर्दकैलाई अर्को एउटा उर्दी जारी गर्ने अधिकार दिन्छन्। त्यो उर्दीअनुसार विनाशको त्यो दिनमा यहूदीहरूले आफ्नो सुरक्षाको लागि लड्ने अधिकार पाउने थिए। यहूदीहरूलाई यो खुसीको खबर सुनाउन सन्देशवाहकहरू साम्राज्यको कुना-कुनासम्म जान्छन्। यहूदीहरूमाझ बल्ल एउटा आशा पलायो। (एस्त. ८:३-१६) त्यसपछि सबै यहूदीहरू आफ्नो रक्षा गर्न हतियार भिर्छन् र युद्धको लागि तयार हुन्छन्। नयाँ उर्दी नआएको भए तिनीहरूले त्यसो गर्न कहाँ पाउँथे र! मुख्य कुरा, के “सेनाहरूका परमप्रभु” यहोवा आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो?—१ शमू. १७:४५.
एस्तर र मौर्दकैले फारस साम्राज्यभरिका यहूदीहरूलाई सन्देश पठाए
२६, २७. (क) यहूदीहरूलाई यहोवाले कुन हदसम्म विजयी तुल्याउनुभयो? (ख) हामानका छोराहरू मारिएपछि कुन भविष्यवाणी पूरा भयो?
२६ आखिर त्यो दिन आइपुग्यो। परमेश्वरका जनहरू तम्तयार थिए। फारसका थुप्रै अफिसरहरूसमेत यहूदीहरूको पक्षमा लड्न तयार थिए किनकि मोर्दकै प्रधानमन्त्री भएको कुरा तिनीहरूले सुनेका थिए। यहोवाको मदतले गर्दा यहूदीहरूले ठूलो विजय हासिल गरे। शत्रुहरूले फेरि आक्रमण गर्ने मौका नपाऊन् भन्ने यहोवा चाहनुहुन्थ्यो। त्यसैले तिनीहरूलाई निमिट्यान्नै पार्न उहाँले मदत गर्नुभयो।a—एस्त. ९:१-६.
२७ दुष्ट हामानका दस जना छोराहरू पनि युद्धमा मारिए। तिनीहरू जिउँदै भएको भए हामानको घरमा मोर्दकै कसरी सुरक्षित रहन सक्थे र? (एस्त. ९:७-१०) तिनीहरू मारिंदा बाइबलको एउटा भविष्यवाणी पूरा भयो। परमेश्वरका जनहरूका दुष्ट शत्रु अमालेकीहरूको नामोनिसान रहनेछैन भनेर यहोवाले पहिल्यै बताइसक्नुभएको थियो। (व्यव. २५:१७-१९) त्यो श्रापित जातिको बाँकी रहेका सन्तान हामानका छोराहरू नै हुनुपर्छ।
२८, २९. (क) यहोवाले किन एस्तर र तिनका मानिसहरूलाई युद्धमा भाग लिने अनुमति दिनुभयो? (ख) एस्तरको उदाहरण आज हाम्रो लागि किन आशिष् साबित भएको छ?
२८ जवान छँदै बिचरी एस्तरले कत्ति ठूलो जिम्मेवारी उठाउनुपऱ्यो। शत्रुहरूसित युद्ध गर्ने र तिनीहरूलाई मृत्युदण्ड दिने उर्दी जारी गर्नुपर्ने! यो चानचुने काम थिएन! तैपनि यहोवा आफ्ना जनहरूलाई नाश हुनदेखि जोगाउन चाहनुहुन्थ्यो। आखिर इस्राएल राष्ट्रबाटै प्रतिज्ञा गरिएका मसीह आउने थिए। सारा मानिसजातिको एक मात्र आशा भनेकै मसीह थिए। (उत्प. २२:१८) मसीह अर्थात् येशू पृथ्वीमा आउनुभएपछि भने उहाँले आफ्ना अनुयायीहरूलाई युद्धमा भाग लिइरहनु अब जरुरी छैन भनेर बताउनुभयो। यो कुरा थाह पाउँदा आज परमेश्वरका जनहरू औधी खुसी छन्।—मत्ती २६:५२.
२९ तर ख्रीष्टियनहरू आध्यात्मिक युद्धमा भने भाग लिन्छन्। यहोवाप्रतिको हाम्रो विश्वासलाई तहसनहस पार्न सैतान जोडतोडले लागिरहेको छ। (२ कोरिन्थी १०:३, ४ पढ्नुहोस्) एस्तरको उदाहरण हाम्रो लागि कत्ति प्रोत्साहनदायी! एस्तरले जस्तै हामीले पनि बुद्धिमानी हुँदै र धीरज धर्दै अरूसित कुरा गर्न सकौं, साहसी हुन सकौं र निस्स्वार्थ भावका साथ परमेश्वरका जनहरूको पक्षमा खडा हुन सकौं। त्यसो गऱ्यौं भने हामी पनि एस्तरजस्तै विश्वासी साबित हुनेछौं।
a यहूदीहरूले आफ्ना शत्रुलाई पूर्णतया नाश गर्न सकून् भनेर राजाले अर्को एक दिन पनि युद्ध गर्ने अनुमति दिए। (एस्त. ९:१२-१४) त्यो ठूलो विजयको खुसीयालीमा यहूदीहरूले एउटा चाड मनाए। यहूदीहरूमाझ त्यो चाड अहिलेसम्म पनि प्रचलित छ। यहूदी पात्रोको अदार महिनामा मनाइने त्यो चाड अङ्ग्रेजी पात्रोअनुसार फेब्रुअरीको अन्तदेखि मार्चको सुरुतिर पर्न आउँछ। त्यस चाडलाई पूरीम भनिन्छ। हामानले इस्राएलीहरूलाई नाश पार्न हालेको चिट्ठाको नामबाटै त्यो चाडको नाम राखिएको हो।
-