प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr अध्या. १६ पृ. १७०-१८१
  • यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन एक ठाउँमा भेला हुने?
  • “प्रेम र सुकर्म” गर्न उत्साहित बनाउने साप्ताहिक सभाहरू
  • वर्षकै सबैभन्दा महत्त्वपूर्ण सभा
  • सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • ख्रीष्टियान सभालाई उत्थानदायी बनाउन तपाईंले योगदान दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr अध्या. १६ पृ. १७०-१८१

अध्याय १६

यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

हाम्रा सभाहरूमा भएका छाँटकाँट र सभाहरूको महत्त्व

१. एक ठाउँमा भेला हुँदा चेलाहरूले कस्तो मदत पाए? तिनीहरूलाई किन मदत चाहिएको थियो?

येशूलाई ब्यूँताइएको केही समयपछि उहाँका चेलाहरू एक-अर्कालाई प्रोत्साहन दिन एक ठाउँमा भेला भएका थिए। तर शत्रुहरूको डरले गर्दा तिनीहरू ढोका थुनेर बसेका थिए। यति नै बेला येशू तिनीहरूको माझमा उभिनुभयो र भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।” येशूको कुरा सुनेपछि ती चेलाहरूले धेरै हौसला पाए। (यूहन्‍ना २०:१९-२२ पढ्‌नुहोस्‌) पछि पनि चेलाहरू एक ठाउँमा भेला भएका थिए। त्यतिबेला यहोवाले तिनीहरूमाथि पवित्र शक्‍ति खन्याउनुभयो। यस घटनापछि तिनीहरूले प्रचारको काममा लागिरहन धेरै मदत पाए।—प्रेषि. २:१-७.

२. (क) यहोवा हामीलाई कसरी शक्‍ति दिनुहुन्छ? हामीलाई किन यसको खाँचो पर्छ? (ख) पारिवारिक उपासना किन धेरै महत्त्वपूर्ण छ? (फुटनोट र पृष्ठ १७५ मा “पारिवारिक उपासना” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

२ आज हामीले पनि प्रथम शताब्दीका भाइबहिनीले जस्तै चुनौतीहरूको सामना गर्नुपर्छ। (१ पत्रु. ५:९) कहिलेकाहीं हामीमध्ये कोही-कोही मानिसको डरको पासोमा फस्न सक्छौं। यहोवाले दिनुहुने शक्‍तिविना हामी प्रचारको काममा सधैं लागिरहन सक्दैनौं। (एफि. ६:१०) यहोवाले हामीलाई यस्तो शक्‍ति सभाहरूमार्फत दिनुहुन्छ। अहिले हामी हप्ताको दुई वटा सभामा उपस्थित हुन्छौं। ती हुन्‌: जनसभा र प्रहरीधरहरा अध्ययन। साथै हामी हप्ताको बीचतिर अर्को सभामा पनि उपस्थित हुन्छौं। त्यो हो, हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य।a साथै हामी वर्षमा चारवटा जमघटबाट लाभ उठाउँछौ। ती हुन्‌: अधिवेशन, दुइटा सम्मेलन र ख्रीष्टको मृत्युको स्मरणार्थ। यी सबै सभाहरूमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ? अहिले हाम्रो समयमा कहिलेदेखि सभाहरू सञ्चालन गर्न थालियो? अनि सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?

किन एक ठाउँमा भेला हुने?

३, ४. यहोवा आफ्ना जनहरूबाट के चाहनुहुन्छ? उदाहरण दिनुहोस्‌।

३ सुरुदेखि नै यहोवा आफ्ना जनहरूले एक ठाउँमा भेला भएर उहाँको उपासना गरून्‌ भन्‍ने चाहनुहुन्थ्यो। उदाहरणको लागि, ईसापूर्व १५१३ मा यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा हप्ताको एक चोटि विश्राम दिन मान्‍नू भनिएको थियो। यसो गर्दा तिनीहरूले सपरिवार मिलेर यहोवाको उपासना गर्न र व्यवस्थाका कुराहरू सिक्न सक्थे। (व्यव. ५:१२; ६:४-९) यो आज्ञा मान्दा इस्राएलीहरूको पारिवारिक सम्बन्ध बलियो भयो र इस्राएल राष्ट्र पनि आध्यात्मिक रूपमा शुद्ध र सुदृढ भयो। तर इस्राएलीहरूले यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुनुपर्ने आज्ञालगायत व्यवस्थामा दिइएका अरू आज्ञा पालन नगर्दा तिनीहरूले परमेश्‍वरको अनुमोदन गुमाए।—लेवी १०:११; २६:३१-३५; २ इति. ३६:२०, २१.

४ येशूले बसाल्नुभएको नमुनालाई पनि विचार गर्नुहोस्‌। उहाँ आफ्नो आदतअनुसार प्रत्येक हप्ता विश्राम-दिनमा सभाघर जानुहुन्थ्यो। (लूका ४:१६) येशू ब्यूँतनुभएपछि चेलाहरूले विश्राम दिन मान्‍नुपर्दैन थियो। तैपनि तिनीहरू एक ठाउँमा भेला हुन छोडेनन्‌। (प्रेषि. १:६, १२-१४; २:१-४; रोमी १४:५; कल. २:१३, १४) प्रथम शताब्दीका ख्रीष्टियनहरूले त्यस्ता सभाहरूबाट निर्देशन र प्रोत्साहन पाए। साथै तिनीहरूले प्रार्थना, टिप्पणी र स्तुतिगानमार्फत परमेश्‍वरलाई प्रशंसाको बलिदान चढाए।—कल. ३:१६; हिब्रू १३:१५.

पुनर्जीवित भएका येशू आफ्ना चेलाहरू भेला भएको कोठामा देखा पर्नुहुन्छ

येशूका चेलाहरू एकअर्कालाई प्रोत्साहन र हौसला दिन एक ठाउँमा भेला हुन्थे

५. हामी किन साप्ताहिक सभा र वार्षिक सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन्छौं? (पृष्ठ १७६ मा “परमेश्‍वरका जनहरूलाई एकतामा बाँध्ने वार्षिक जमघट” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

५ त्यसैगरि हामी साप्ताहिक सभा र वार्षिक सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित भएर परमेश्‍वरको राज्यलाई समर्थन गर्छौं। साथै त्यहाँ हामीले पवित्र शक्‍ति पाउँछौं अनि बोली र कामद्वारा आफ्नो विश्‍वास प्रकट गरेर अरूलाई प्रोत्साहन दिन्छौं। अझ महत्त्वपूर्ण कुरा हामीले यस्ता जमघटहरूमा प्रार्थना, टिप्पणी र स्तुतिगानद्वारा यहोवाको उपासना गर्ने मौका पाउँछौं। अहिले हाम्रो सभा सञ्चालन गर्ने तरिका इस्राएलीहरू र प्रथम शताब्दीका ख्रीष्टियनहरूको भन्दा फरक छ। तर एक ठाउँमा भेला हुनु अझै पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिले हाम्रो समयमा कहिलेदेखि सभाहरू सञ्चालन गर्न थालियो?

“प्रेम र सुकर्म” गर्न उत्साहित बनाउने साप्ताहिक सभाहरू

६, ७. (क) सभाहरूको उद्देश्‍य के हो? (ख) बाइबल विद्यार्थीहरूले कसरी सभाहरू सञ्चालन गरिरहेका थिए?

६ भाइ चार्ल्स टेज रसलले परमेश्‍वरको वचनमा भएका सत्य कुराको खोजी गर्न थाल्दा आफू जस्तै सत्य खोजिरहेका अरूसँग एक ठाउँमा भेला हुनुपर्ने खाँचो महसुस गरे। सन्‌ १८७९ मा भाइ रसलले यस्तो लेखे: “हामी पिट्‌सबर्गका केही साथीहरू मिलेर बाइबल अध्ययन गर्ने एउटा समूह बनाएका छौं। हामी हरेक आइतबार बाइबलको अध्ययन गर्न भेला हुन्छौं।” प्रहरीधरहरा-का पाठकहरूलाई पनि एक ठाउँमा भेला हुन प्रोत्साहन दिइयो। सन्‌ १८८१ सम्ममा पेन्सिलभेनियाको पिट्‌सबर्गमा हरेक आइतबार र बुधबार सभा सञ्चालन हुन थालिसकेको थियो। नोभेम्बर १८९५ को अङ्‌ग्रेजी अङ्‌कको प्रहरीधरहरा-मा त्यस्ता सभाहरू सञ्चालन गर्नुको उद्देश्‍य बताइएको थियो। त्यो थियो, “ख्रीष्टियन प्रेम र सङ्‌गति” विकास गर्ने अनि उपस्थित भएकाहरूले एकअर्कालाई प्रोत्साहन दिने।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

७ धेरै वर्षसम्म बाइबल विद्यार्थीहरूको विभिन्‍न समूहले आ-आफ्नै तरिकाले सभा सञ्चालन गरे। उदाहरणको लागि, सन्‌ १९११ मा प्रहरीधरहरा-मा प्रकाशित अमेरिकाको बाइबल विद्यार्थीहरूको एउटा समूहको चिठीमा यस्तो लेखिएको थियो: “हामी प्रत्येक हप्ता कम्तीमा पनि पाँच वटा सभा सञ्चालन गर्छौं।” तिनीहरू सोमबार, बुधबार र शुक्रबार एक-एकपटक अनि आइतबारचाहिं दुई पटक सभा सञ्चालन गर्थे। सन्‌ १९१४ को एउटा प्रहरीधरहरा-मा अफ्रिकाका बाइबल विद्यार्थीहरूको एउटा समूहको चिठी प्रकाशित गरिएको थियो। त्यस चिठीमा यस्तो लेखिएको थियो: “हामी महिनाको दुई पटक सभा सञ्चालन गर्छौं र हाम्रा सभाहरू शुक्रबारदेखि आइतबारसम्म हुन्छ।” तर समय बित्दै जाँदा सभा सञ्चालन गर्ने तरिकामा विभिन्‍न छाँटकाँट गरियो। आउनुहोस्‌, प्रत्येक सभामा कस्ता छाँटकाँटहरू गरिए, हेरौं।

८. सुरु-सुरुमा कस्ता विषयहरूमा जनभाषण दिइन्थ्यो?

८ जनसभा। प्रहरीधरहरा प्रकाशित गर्न थालिएको एक वर्षपछि सन्‌ १८८० मा भाइ रसल येशूको अनुकरण गर्दै अरू सहरहरूमा प्रचार गर्न निस्किए। (लूका ४:४३) यो प्रचार यात्राको दौडान तिनले बाइबलसम्बन्धी प्रवचन दिए। यसरी तिनले जनसभाको नमुना बसाले। प्रहरीधरहरा-मा भाइ रसलको यात्राबारे घोषणा गरिनुका साथै तिनले “‘परमेश्‍वरको राज्यसम्बन्धी कुराहरू’ भन्‍ने विषयमा प्रवचन दिनेछन्‌” भनेर बताइएको थियो। सन्‌ १९११ मा विभिन्‍न देशमा समूहहरू अर्थात्‌ मण्डलीहरू स्थापित भइसकेको थियो। अनि प्रत्येक समूहलाई नजिकैका इलाकाहरूमा न्याय र फिरौतीजस्ता विषयहरूमा छ वटा प्रवचन दिनको लागि राम्रो वक्‍ता पठाउन आग्रह गरिएको थियो। प्रत्येक प्रवचनको अन्तमा अर्को हप्ताको प्रवचनको मुख्य विषय र वक्‍ताको नाम घोषणा गरिन्थ्यो।

९. जनसभामा कस्ता छाँटकाँटहरू गरिएका छन्‌? तपाईं यो सभालाई कसरी समर्थन गर्न सक्नुहुन्छ?

९ सन्‌ १९४५ को एउटा प्रहरीधरहरा-मा विश्‍वभरि जनसभा सुरु गर्ने अभियानबारे घोषणा गरियो। यस अभियानमा “अहिलेका जल्दोबल्दो समस्याहरू”-सित सम्बन्धित विषयमा आठ वटा बाइबलआधारित प्रवचन दिइने थियो। भाषण दिने भाइहरूले विश्‍वासी र बुद्धिमान्‌ दासले उपलब्ध गराएको विषयहरूमा मात्र नभई आफैले तयार पारेका विषयहरूमा पनि भाषण दिन्थे। यस्तो चलन वर्षौसम्म चल्यो। तर सन्‌ १९८१ मा सबै वक्‍तालाई मण्डलीबाट पाइने रूपरेखाबाट मात्र भाषण दिन निर्देशन दिइयो।b सन्‌ १९९० सम्म कुनै-कुनै जनभाषणमा श्रोताहरूलाई भाग लिन लगाउने वा प्रदर्शन देखाउने चलन थियो। तर त्यस वर्ष निर्देशनमा केही छाँटकाँट गरियो। अबउसो वक्‍ताले रूपरेखा भाषणको रूपमा मात्र प्रस्तुत गर्ने थिए। जनवरी २००८ मा थप छाँटकाँट गरियो। जनभाषणको समय घटाएर ४५ मिनेटबाट ३० मिनेट गरियो। हो, जनभाषण दिने तरिकामा विभिन्‍न छाँटकाँटहरू भएका छन्‌। तर वक्‍ताले राम्ररी तयार पारेर जनभाषण दिंदा अहिले पनि परमेश्‍वरको वचनमा श्रोताहरूको विश्‍वास बलियो हुन्छ र तिनीहरूले परमेश्‍वरको राज्यका विभिन्‍न पक्षको विषयमा सिक्न सक्छन्‌। (१ तिमो. ४:१३, १६) के तपाईं आफ्ना पुनःभेट तथा अरूलाई महत्त्वपूर्ण बाइबलआधारित जनभाषण सुन्‍न निम्तो दिनुहुन्छ?

१०-१२. (क) प्रहरीधरहरा अध्ययनमा कस्ता छाँटकाँटहरू गरिए? (ख) तपाईंले आफूलाई कस्ता प्रश्‍न सोध्नुपर्छ?

१० प्रहरीधरहरा अध्ययन। वाचटावर सोसाइटीले मण्डलीहरूमा भाषण दिन र प्रचारकार्यमा अगुवाइ लिन भाइहरू पठाउने गर्थ्यो। तिनीहरूलाई आज हामी परिभ्रमण निरीक्षकहरू भनेर चिन्छौं। सन्‌ १९२२ मा ती भाइहरूले सभामा प्रहरीधरहरा-को अध्ययन गर्न पनि सुझाव दिए। यसै सुझावअनुसार सुरु-सुरुमा हप्ताको बीचमा वा आइतबार प्रहरीधरहरा अध्ययन गरिन्थ्यो।

सन्‌ १९३१ मा घानामा बाइबल विद्यार्थीहरूको सभा

प्रहरीधरहरा अध्ययन, घाना, १९३१

११ जून १५, १९३२ अङ्‌कको प्रहरीधरहरा-मा अध्ययन सञ्चालन गर्ने विषयमा थप निर्देशन दिइएको थियो। बेथेलमा प्रहरीधरहरा अध्ययन कसरी सञ्चालन गरिन्छ भनेर बताउँदै मण्डलीमा पनि एक जना भाइले अध्ययन सञ्चालन गर्नुपर्छ भनेर त्यस लेखमा बताइएको थियो। अनुच्छेद पढ्‌नको लागि तीन जना भाइहरूलाई सबैभन्दा अगाडिको सिटमा बस्न र पालैपालो पढ्‌न सुझाव दिइएको थियो। त्यतिबेला अध्ययन लेखहरूमा प्रश्‍नहरू हुँदैन थियो। त्यसैले सञ्चालन गर्ने भाइले छलफल गरिरहेको विषयमा प्रश्‍न सोध्न श्रोतालाई आग्रह गर्नुपर्थ्यो। त्यसपछि तिनले श्रोतालाई नै ती प्रश्‍नहरूको जवाफ दिन लगाउँथे। छलफल गरिरहेको विषयमा अझै थप कुरा बुझाउनुपरेमा सञ्चालक आफैलाई “छोटो-मीठो” जवाफ दिन निर्देशन दिइएको थियो।

१२ सुरु-सुरुमा प्रत्येक मण्डलीमा आफ्नो धेरैजसो सदस्यले जुनचाहिं प्रहरीधरहरा छान्थे, त्यसैबाट अध्ययन गर्ने चलन थियो। तर अप्रिल १५, १९३३ को प्रहरीधरहरा-मा सबै मण्डलीलाई यही मितिको प्रहरीधरहरा-बाट अध्ययन गर्नुपर्छ भनियो। अध्ययन आइतबारका दिन सञ्चालन गर्नुपर्छ भनेर सन्‌ १९३७ मा निर्देशन दिइयो। अक्टोबर १, १९४२ को प्रहरीधरहरा-मा थप छाँटकाँटबारे बताइएको थियो। यस छाँटकाँट पछि अहिले जसरी प्रहरीधरहरा अध्ययन सञ्चालन गरिन्छ त्यसरी नै सञ्चालन गर्न थालियो। पहिलो छाँटकाँट, अध्ययन लेखका प्रश्‍नहरू प्रत्येक पानाको मुन्तिर हुनेथिए र अध्ययन सञ्चालकले ती प्रश्‍नहरू सोध्नुपर्ने थियो। दोस्रो, यो सभा एक घण्टाको हुनुपर्छ भनेर बताइएको थियो। साथै अनुच्छेदबाटै पढेर जवाफ दिनुको सट्टा “आफ्नै शब्दमा” जवाफ दिन प्रोत्साहन दिइएको थियो। विश्‍वासी र बुद्धिमान्‌ दासले ठीक समयमा दिने आध्यात्मिक भोजनको मुख्य स्रोत अहिले पनि प्रहरीधरहरा अध्ययन नै हो। (मत्ती २४:४५) त्यसैले आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘के म हरेक हप्ता प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्छु? के म टिप्पणी दिने कोसिस गर्छु?’

१३, १४. मण्डली बाइबल अध्ययन कसरी सञ्चालन हुन थाल्यो? यो सभाको कुन कुरा तपाईंलाई मन पर्छ?

१३ मण्डली बाइबल अध्ययन। सन्‌ १८९५/९६ तिर अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर सहरका भाइ एच. एन. रानले सहस्र वर्षीय प्रभात भन्‍ने अङ्‌ग्रेजी किताब अध्ययन गर्न “प्रभात समूह” सुरु गर्ने सुझाव दिए। त्यतिबेलासम्म त्यस किताबका केही खण्डहरू प्रकाशित भइसकेका थिए। सुरु-सुरुमा यी सभा परीक्षणको रूपमा सञ्चालन गर्न थालियो र यी प्रायजसो बाइबल विद्यार्थीहरूको घरमै हुने गर्थ्यो। सेप्टेम्बर १८९५ सम्ममा अमेरिकाको थुप्रै सहरमा प्रभात समूह सञ्चालन भइसकेको थियो। त्यसैले त्यस महिनाको प्रहरीधरहरा-मा सबै बाइबल विद्यार्थीहरूलाई यो सभा सञ्चालन गर्न सुझाव दिइयो। सञ्चालक भाइ राम्रोसँग पढ्‌न सक्ने हुनुपर्छ भनेर पनि बताइएको थियो। तिनले एउटा वाक्य पढेपछि उपस्थित श्रोतालाई टिप्पणी गर्न मौका दिनुपर्थ्यो। यसरी एउटा-एउटा वाक्य पढेर अनुच्छेद छलफल गर्न सिद्धिएपछि तिनले अनुच्छेदमा दिइएको शास्त्रपद पढ्‌नुपर्थ्यो। पूरै अध्याय छलफल गरिसकेपछि उपस्थित सबै जनाले पालैपालो छलफल गरिएको विषयवस्तुबारे छोटकरीमा टिप्पणी दिनुपर्थ्यो।

१४ यस सभाको नाम पटक-पटक परिवर्तन भयो। यस सभालाई बाइबल अध्ययन गर्ने बिरियालीहरूको समूह भनियो। होसियारीसाथ धर्मशास्त्र जाँच्ने प्रथम शताब्दीका बिरियालीहरूलाई सम्झँदै यो नाम राखिएको थियो। (प्रेषि. १७:११) पछि यो सभालाई मण्डली पुस्तक अध्ययन भन्‍न थालियो। अहिले यस सभालाई मण्डली बाइबल अध्ययन भनिन्छ। अहिले यो सभा पहिले जस्तो फरक-फरक समूहमा नभई राज्यभवनमै सञ्चालन हुन्छ। दशकौंको दौडान अध्ययनको लागि विभिन्‍न किताब, पुस्तिका र कहिलेकाहीं प्रहरीधरहरा-का लेखहरू समेत प्रयोग गरियो। सभा सञ्चालन गर्न सुरु भएदेखि नै उपस्थित सबैलाई यस सभामा भाग लिन प्रोत्साहन दिइएको थियो। यस सभाले बाइबलले सिकाउने कुरा अझ गहिरिएर बुझ्न हामीलाई मदत गर्छ। के तपाईं नियमित रूपमा यस सभाको लागि तयारी गर्नुहुन्छ? के तपाईं यो सभामा भाग लिने कोसिस गर्नुहुन्छ?

आनन्दित हुँदै पारिवारिक उपासना गरिरहेको परिवार

के तपाईं प्रत्येक हप्ता पारिवारिक उपासना गर्नुहुन्छ?

पारिवारिक उपासना

हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौं। त्यसैले प्रत्येक परिवारले बाइबल अध्ययन गर्ने तालिका बनाउनुपर्छ भनेर यहोवाको सङ्‌गठनले झन्‌झनै जोड दिंदै आएको छ। (२ तिमो. ३:१) उदाहरणको लागि, सन्‌ १९३२ मा प्रकाशित घर र आनन्द भन्‍ने अङ्‌ग्रेजी पुस्तिकामा यस्तो स्पष्ट निर्देशन दिइएको थियो: “प्रत्येक परिवारले आ-आफ्नो घरमा बाइबल अध्ययन सुरु गरिहाल्नुहोस्‌।” अनि मे १५, १९५६ को प्रहरीधरहरा-मा “पूरै परिवारको हितको लागि नियमित रूपमा घरमै बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाउनुहोस्‌” भनेर आग्रह गरिएको थियो। साथै यस्तो प्रश्‍न पनि सोधिएको थियो: “के तपाईं पूरै परिवार मिलेर प्रहरीधरहरा अध्ययनको लागि पहिल्यै तयारी गर्नुहुन्छ?”

पारिवारिक अध्ययनलाई जोड दिंदै सङ्‌गठनले सन्‌ २००९ मा सभाहरूको तालिकामा छाँटकाँट गऱ्‍यो। त्यस समयदेखि मण्डली बाइबल अध्ययन पनि ईश्‍वरतान्त्रिक सेवा स्कुल र सेवा सभा हुने साँझमै सारियो। जनवरी २०११ को हाम्रो राज्य सेवा-मा यस्तो लेखिएको थियो: “यस्तो छाँटकाँट गरिनुको एउटा कारण हप्ताको कुनै एक साँझ पारिवारिक उपासनाका लागि छुट्ट्याएर परिवारहरूले यहोवासितको आफ्नो सम्बन्धलाई बलियो पार्ने मौका पाऊन्‌भनेर हो।” साथै “परिवारको आवश्‍यकतालाई ध्यानमा राखेर आरामसित बाइबल छलफल गर्नको लागि यो समयको सदुपयोग गर्न प्रोत्साहित गरियो।”c

पारिवारिक उपासना किन छुटाउनै नहुने महत्त्वपूर्ण प्रबन्ध हो? किनभने यसले परिवारको मात्र होइन तर मण्डलीको आध्यात्मिकतालाई असर गर्छ। एउटा उदाहरण विचार गर्नुहोस्‌: मण्डली भनेको इँटाले बनाइएको घर जस्तै हो। (हिब्रू ३:४-६ पढ्‌नुहोस्‌)d राम्ररी डिजाइन गरेर बनाइएको घर कत्तिको बलियो छ भन्‍ने कुरा दुइटा कुरामा भर पर्छ। ती हुन्‌, जग कत्तिको बलियो छ र इँटाको गुणस्तर कस्तो छ? जग कमजोर छ भने घर गर्ल्यामगुर्लुम ढल्छ। घरको जग बलियो छ तर इँटाको गुणस्तरचाहिं खतम छ भने घर मजबुत हुँदैन। ख्रीष्टियन मण्डली सबैभन्दा बलियो जग अर्थात्‌ ख्रीष्टको शिक्षामा बसालिएको छ। (१ कोरिन्थी ३:१०-१५ पढ्‌नुहोस्‌)e मण्डलीका सदस्यलाई इँटासित तुलना गर्न सकिन्छ। पारिवारिक उपासनाले मण्डलीका प्रत्येक सदस्य र परिवारलाई आगोले पनि नाश गर्न नसक्ने बलियो विश्‍वास कायम राख्न धेरै मदत गर्छ। अनि परिवार र व्यक्‍तिहरू आध्यात्मिक रूपमा बलियो हुनु भनेको मण्डली बलियो हुनु हो। के तपाईं प्रत्येक हप्ता पारिवारिक उपासना गर्नुहुन्छ?

c जनवरी २०११ अङ्‌कको हाम्रो राज्य सेवा-मा पारिवारिक उपासनाको लागि केही सुझावहरू पाइन्छ।

d पावलका यी शब्दहरू “स्वर्गीय बोलावट पाएका”-हरूका लागि थियो। (हिब्रू ३:१) तर यो बाइबल पदमा पाइने सिद्धान्त सबै ख्रीष्टियनलाई लागू हुन्छ।

e यो बाइबल पद अझ राम्ररी बुझ्न जुलाई १५, १९९९ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ १२-१४, अनुच्छेद १५-२० हेर्नुहोस्‌। यो लेख पारिवारिक उपासनामा कसरी लागू गर्न सकिन्छ, पढेर मनन गरे कसो होला?

१५. ईश्‍वरतान्त्रिक सेवा स्कुलको उद्देश्‍य के थियो?

१५ ईश्‍वरतान्त्रिक सेवा स्कुल। यो स्कुल कसरी सुरु भयो, त्यसबारे मुख्यालयमा सेवा गरिरहेका भाइ क्यारी बार्बरले यसो भने: “फेब्रुअरी १६, १९४२ सोमबार बेलुकी ब्रूक्लिन बेथेलमा सेवा गरिरहेका सबै भाइहरूलाई एउटा स्कुलमा भाग लिन निर्देशन दिइयो। अहिले यस स्कुललाई हामी ईश्‍वरतान्त्रिक सेवा स्कुल भनेर चिन्छौं।” परिचालक निकायको सदस्य भाइ बार्बरअनुसार यो स्कुल “आधुनिक समयका यहोवाका जनहरूको उल्लेखनीय पक्ष थियो।” यो स्कुलले भाइबहिनीहरूलाई सिकाउने र प्रचार गर्ने काममा प्रगति गर्न धेरै मदत गऱ्‍यो। त्यसैले सन्‌ १९४३ देखि ईश्‍वरतान्त्रिक सेवा स्कुलको पाठ्यक्रम भन्‍ने अङ्‌ग्रेजी पुस्तिका विश्‍वभरिका सबै मण्डलीहरूमा उपलब्ध गराइयो। जून १, १९४३ को प्रहरीधरहरा-मा ईश्‍वरतान्त्रिक सेवा स्कुलको उद्देश्‍य परमेश्‍वरका जनहरूलाई “उहाँको राज्यको उद्‌घोषकको रूपमा अझै सुसज्जित बनाउनु हो” भनेर बताइएको थियो।—२ तिमो. २:१५.

१६, १७. ईश्‍वरतान्त्रिक सेवा स्कुलमा हामी सिपालु वक्‍ता बन्‍ने तरिकाका साथै अरू के सिक्थ्यौं, बताउनुहोस्‌।

१६ हाम्रा भाइहरूलाई मानिसहरूको ठूलो समूहअगाडि बोल्न सुरु-सुरुमा असाध्यै डर लाग्थ्यो। भाइ क्लेटन वुडवर्थ जुनियरलाई पनि भाषण दिन असाध्यै गाह्रो भएको थियो। तिनको बुबा सन्‌ १९१८ मा भाइ रदरफोर्ड र अरूसँगै झूटो आरोपमा झ्यालखानामा परेका थिए। सन्‌ १९४३ मा पहिलो पटक सेवा स्कुलमा भाग लिंदाको अनुभव भाइ वुडवर्थ यसरी सुनाउँछन्‌: “मञ्चमा उक्लनेबित्तिकै म लाजले रातोपिरो हुन्थें। मेरो जिब्रो लरबरिन्थ्यो, मुख सुख्खा हुन्थ्यो र बोली पटक्कै फुट्‌दैन थियो।” तर भाइ क्लेटनले प्रगति गरे अनि थुप्रै भाषण दिने सुअवसर पाए। सेवा स्कुलबाट तिनले भाषण कसरी दिने भन्‍ने कुरा मात्र सिकेनन्‌। तिनले यो स्कुलबाट नम्र हुनु र यहोवामाथि भरोसा राख्नु महत्त्वपूर्ण छ भनेर पनि सिके। भाइ वुडवर्थ भन्छन्‌: “वक्‍ता सिपालु छन्‌ भने भाषण राम्रो हुने नत्र नहुने होइन रहेछ भनेर मैले सिकें। यदि वक्‍ताले राम्ररी तयारी गर्नुका साथै यहोवामा सारा भरोसा राखेका छन्‌ भने भाषण राम्रो हुन्छ र श्रोताहरूले पनि त्यसबाट लाभ उठाउन सक्छन्‌।”

१७ सन्‌ १९५९ मा बहिनीहरूलाई पनि ईश्‍वरतान्त्रिक सेवा स्कुलमा भाग लिन निम्तो दिइयो। बहिनी एड्‌ना बाउअर सम्मेलनमा भएको घोषणा सम्झँदै यसो भन्छिन्‌: “बहिनीहरू घोषणा सुनेपछि यत्ति खुसी भएका थिए कि तिनीहरूको उत्साह म अझै झलझली सम्झन्छु। अब हामी बहिनीहरूको लागि पनि सुअवसरको ढोका खोलिएको थियो।” धेरै वर्षसम्म थुप्रै दाजुभाइ दिदीबहिनीले ईश्‍वरतान्त्रिक सेवा स्कुलमा भाग लिने र यहोवाबाट सिक्ने सुअवसर पाए। आज पनि हामी मध्यहप्ताको सभाबाट यस्तै तालिम पाउँछौं।—यशैया ५४:१३ पढ्‌नुहोस्‌।

१८, १९. (क) आज हामी प्रचार गर्न कस्तो व्यावहारिक निर्देशन पाउँछौं? (ख) हामी सभाहरूमा किन गीत गाउँछौं? (“गीत गाउनु” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१८ सेवा सभा। सन्‌ १९१९ मै क्षेत्र सेवालाई अझ व्यवस्थित बनाउन सभाहरू सञ्चालन गर्न सुरु भइसकेको थियो। त्यतिबेला सबै जना त्यस सभामा उपस्थित हुँदैन थिए। प्रकाशन बाँड्‌ने काममा भाग लिनेहरू मात्र उपस्थित हुन्थे। सन्‌ १९२३ मा महिनाको एकचोटि सेवा सभा सञ्चालन गरियो र सबै जनालाई उपस्थित हुन प्रोत्साहन दिइएको थियो। सन्‌ १९२८ मा मण्डलीहरूलाई हरेक हप्ता सेवा सभा सञ्चालन गर्न भनियो र सन्‌ १९३५ मा सबै मण्डलीहरूले अङ्‌ग्रेजी भाषाको निर्देशक भन्‍ने प्रकाशनमा (पछि यसलाई जानकारी भनियो, हाल यसलाई हाम्रो राज्य सेवा भनिन्छ) दिइएको निर्देशनबमोजिम सेवा सभा सञ्चालन गर्नुपर्छ भनेर प्रहरीधरहरा-मा बताइएको थियो। त्यसपछि चाँडै यो सभा प्रत्येक मण्डलीमा नियमित रूपमा सञ्चालन हुन थाल्यो।

१९ आज हामी हप्ताको बीचतिर हुने सभामा प्रचारको लागि व्यावहारिक सल्लाह पाउँछौं। (मत्ती १०:५-१३) यदि अभ्यास पुस्तिका पाइरहनुभएको छ भने, के तपाईं यो पढ्‌नुहुन्छ? अनि प्रचारमा जाँदा यसमा दिइएका सुझावहरू लागू गर्नुहुन्छ?

वर्षकै सबैभन्दा महत्त्वपूर्ण सभा

ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाइरहेका सुरु-सुरुका ख्रीष्टियनहरूको एउटा मण्डली

प्रथम शताब्दीदेखि नै येशूका चेलाहरू उहाँको मृत्युको स्मरणार्थ उत्सव मनाउन वर्षको एक चोटि भेला हुँदै आएका छन्‌ (अनुच्छेद २० हेर्नुहोस्‌)

२०-२२. (क) हामी किन येशूको मृत्युको वार्षिकी मनाउँछौं? (ख) हरेक वर्ष स्मरणार्थ उत्सवमा उपस्थित भएर तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

२० येशूले आफ्ना चेलाहरूलाई आफ्नो मृत्युको सम्झना गर्न अह्राउनुभयो। तिनीहरूले उहाँ नआएसम्म यसो गर्नुपर्थ्यो। येशूको मृत्युको स्मरणार्थ निस्तार चाडजस्तै एउटा वार्षिक उत्सव हो। (१ कोरि. ११:२३-२६) हरेक वर्ष यस सभामा लाखौं मानिस उपस्थित हुन्छन्‌। यो उत्सवले अभिषिक्‍त ख्रीष्टियनहरूलाई परमेश्‍वरको राज्यको सङ्‌गी उत्तराधिकारी हुन आफूले पाएको महान्‌ सुअवसरको सम्झना गराउँछ। (रोमी ८:१७) साथै यस उत्सवले अरू भेडाहरूको मनमा परमेश्‍वरको राज्यको राजाप्रति गहिरो आदर जगाउँछ र तिनीहरूलाई वफादार हुन उत्प्रेरित गर्छ।—यूह. १०:१६.

२१ भाइ रसल र तिनका सहयोगीहरूले प्रभुको साँझको भोजको महत्त्व बुझेका थिए। तिनीहरूलाई यो उत्सव वर्षको एकचोटि मात्र मनाउनुपर्छ भनेर पनि थाह थियो। अप्रिल १८८० अङ्‌कको प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “धेरै वर्षदेखि हामीमध्ये धेरै जनाले पिट्‌सबर्गमा निस्तार चाड [स्मरणार्थ] मान्दै आएका छौं अनि हाम्रो प्रभुको शरीर र रगतको प्रतीक खाँदै आएका छौं।” पछि स्मरणार्थ उत्सवको मौका छोपेर त्यही बेला अधिवेशन पनि गर्ने चलन सुरु भयो। सन्‌ १८८९ मा पहिलो पटक त्यस्ता कार्यक्रमको रेकर्ड राखियो र त्यतिबेला २२५ जना उपस्थित भए र २२ जनाले बप्तिस्मा गरे।

२२ अहिले हाम्रो अधिवेशन र स्मरणार्थ उत्सव एकैचोटि हुने गर्दैन। तर हामी आफ्नो इलाकामा बस्ने सबैलाई स्थानीय राज्यभवन वा भाडामा लिइएको कार्यक्रम स्थलमा स्मरणार्थ उत्सव मनाउन निम्तो दिन्छौं। सन्‌ २०१३ मा एक करोड नब्बे लाख मानिसले येशूको मृत्युको वार्षिकी मनाए। सबैभन्दा पवित्र यस साँझमा आफू मात्र होइन तर अरूलाई पनि सँगै उपस्थित हुन निम्तो दिन पाउनु हाम्रो निम्ति ठूलो सुअवसर हो। के तपाईं हरेक वर्ष सकेसम्म धेरैलाई स्मरणार्थको निम्तो दिन जोडतोडले लाग्नुहुन्छ?

सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?

२३. एक ठाउँमा भेला हुनुपर्ने आज्ञालाई तपाईं कसरी लिनुहुन्छ?

२३ यहोवाका वफादार सेवकहरू एक ठाउँमा भेला हुनुपर्ने निर्देशनलाई बोझको रूपमा लिंदैनन्‌। (हिब्रू १०:२४, २५; १ यूह. ५:३) राजा दाऊद यहोवाको भवनमा जान पाउँदा रमाउँथे। (भज. २७:४) तिनी परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँगै मिलेर उहाँको उपासना गर्न पाउँदा रमाउँथे। (भज. ३५:१८) येशूलाई पनि विचार गर्नुहोस्‌। उहाँ बाल्यकालदेखि नै आफ्नो बुबाको घरमा रहन औधी इच्छा गर्नुहुन्थ्यो।—लूका २:४१-४९.

एक ठाउँमा भेला हुन हामीले देखाएको उत्कट इच्छाबाट हामीलाई परमेश्‍वरको राज्य कत्तिको वास्तविक लाग्छ भन्‍ने कुरा स्पष्ट हुन्छ

२४. सभामा उपस्थित हुँदा हामीले कस्तो मौका पाउँछौं?

२४ सभामा उपस्थित हुँदा हामी यहोवालाई प्रेम गर्छौं र आफ्ना भाइबहिनीको उत्थान गर्न चाहन्छौं भन्‍ने कुरा देखिन्छ। साथै परमेश्‍वरको राज्यको प्रजाको रूपमा कसरी जीवन बिताउने भनेर सिक्न चाहेको कुरा पनि हामीले देखाइरहेका हुन्छौं। हाम्रा सभा, सम्मेलन तथा अधिवेशनहरूबाट हामी यहोवाको प्रजा बन्‍न तालिम पाउँछौं। साथै यी सभाहरूले परमेश्‍वरको राज्यको महत्त्वपूर्ण काम अर्थात्‌ राजा येशू ख्रीष्टको चेला बनाउने र तिनीहरूलाई प्रशिक्षण दिने काममा लागिरहन हामीलाई आवश्‍यक बल दिन्छ र यस कामको लागि सिपालु बनाउँछ। (मत्ती २८:१९, २० पढ्‌नुहोस्‌) हो, एक ठाउँमा भेला हुन हामीले देखाएको उत्कट इच्छाले हामीलाई परमेश्‍वरको राज्य कत्तिको वास्तविक लाग्छ भनेर देखाउँछ। त्यसैले हामी सधैं हाम्रा सभाहरूको कदर गरौं!

a प्रत्येक परिवार र व्यक्‍तिलाई मण्डलीका साप्ताहिक सभाहरूका साथै पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनको लागि समय दिन प्रोत्साहन दिइएको छ।

b सन्‌ २०१३ सम्मको कुरा गर्नुपर्दा मण्डलीहरूमा १८० वटा भन्दा धेरै जनभाषणको रूपरेखा पठाइएको छ।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • हामी किन एक ठाउँमा भेला हुन्छौं?

  • हाम्रा सभाहरूलाई तपाईं कसरी लिनुहुन्छ?

  • सभाहरूप्रति तपाईंले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ? बताउनुहोस्‌।

नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) देखाइरहेका सम्मेलनमा आएका मानिसहरू

परमेश्‍वरका जनहरूलाई एकतामा बाँध्ने वार्षिक जमघट

यहोवाले सबै इस्राएली पुरुषलाई वर्षमा तीनपल्ट यरूशलेममा भेला हुन आज्ञा गर्नुभएको थियो। (प्रस्थ. २३:१४-१७; लेवी २३:३४-३६) येशूका धर्मपिता यूसुफले त्यस्ता अवसरहरूमा आफ्नो पूरै परिवारलाई यरूशलेम लैजान्थे। अरू इस्राएली पुरुषहरूले पनि त्यसै गर्थे। आज पनि परमेश्‍वरका जनहरू वर्षमा तीनपल्ट सम्मेलन र अधिवेशनका लागि भेला हुन्छन्‌। यस अन्तको दिनमा कुनै-कुनै अधिवेशनहरू यहोवाका साक्षीहरूको इतिहासमा कोसेढुङ्‌गा साबित भएका छन्‌। तीमध्ये कुनै-कुनै अधिवेशनहरू अविस्मरणीय हुनुको कारण हेरौं।

  • सन्‌ १९१९: सिडार प्वाइन्ट, ओहायो, अमेरिका

    यो पहिलो विश्‍वयुद्धपछिको पहिलो ठूलो अधिवेशन थियो।

    हाम्रा भाइहरूले प्रचारको काममा फेरि जोडतोडले भाग लिन थाले।

    अङ्‌ग्रेजी भाषामा सुनौलो युग पत्रिका छाप्ने घोषणा गरियो। अहिले यस पत्रिकालाई ब्यूँझनुहोस्‌! भनिन्छ।

  • सन्‌ १९२२: सिडार प्वाइन्ट, ओहायो

    “राज्य” भन्‍ने विषयको भाषणमा प्रचारकार्यमा जोड दिइयो। यसै भाषणमा यस्तो जोडदार आह्वान गरिएको थियो: “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌!”

  • सन्‌ १९३१: कोलम्बस, ओहायो

    हामीले यहोवाका साक्षीहरू भन्‍ने नाम बहन गऱ्‍यौं।

  • सन्‌ १९३५: वासिङ्‌टन डी. सी.

    प्रकाश ७:९ मा बताइएको “ठूलो भीड” पृथ्वीमा सधैंभरि बाँच्नेछ भनेर हामीले पहिलो पटक बुझ्यौं।

  • सन्‌ १९४२: संसारभर ८५ वटा सहरमा आयोजना गरिएको नयाँ संसार ईश्‍वरतान्त्रिक सम्मेलन

    “शान्ति—के यो रहिरहनेछ?” भन्‍ने विषयको भाषणमा प्रकाश अध्याय १७ को भविष्यवाणीको अर्थ खुलाइयो। यसै भविष्यवाणीअनुसार दोस्रो विश्‍वयुद्धपछि अझ धेरै परमेश्‍वरको राज्यको प्रजा बटुल्न पाइन्छ भनेर बताइयो।

  • सन्‌ १९५०: ईश्‍वरतन्त्रको वृद्धि सम्मेलन

    नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) विमोचन गरियो।

  • सन्‌ १९५८: ईश्‍वरीय इच्छा अन्तरराष्ट्रिय सम्मेलन

    एउटै सहरमा आयोजना गरिएको यो सबैभन्दा ठूलो अन्तरराष्ट्रिय अधिवेशन थियो; १२३ राष्ट्रबाट २,५०,००० भन्दा धेरै प्रतिनिधि न्यु योर्क सहरमा भेला भए।

  • सन्‌ १९६१: एकतामा बाँधिएका उपासकहरू सम्मेलन

    उत्पत्तिदेखि प्रकाशसम्म जम्मै किताबहरू भएको सिङ्‌गो बाइबलको रूपमा नयाँ संसार अनुवाद विमोचन भयो।

  • सन्‌ १९९२: “ज्योति वाहकहरू” अधिवेशन

    यहोवाका साक्षीहरूले पूर्व सोभियत सङ्‌घको रूसको सेन्ट पिटर्सवर्गमा पहिलो चोटि अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरे।

  • सन्‌ १९९३: “ईश्‍वरीय शिक्षा” अधिवेशन, किभ, युक्रेन

    यस अधिवेशनमा बप्तिस्मा गर्नेहरूको सङ्‌ख्या सबैभन्दा धेरै थियो। एउटै अधिवेशनमा ७,४०२ जनाले बप्तिस्मा गरेका थिए।

  • सन्‌ २०११: ‘परमेश्‍वरको राज्य आओस्‌!’ अधिवेशन

    दानियल अध्याय २ मा बताइएको भविष्यसूचक मूर्तिबारे हाम्रो बुझाइमा छाँटकाँट भयो। माटो र फलाम मिसिएको खुट्टाले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई बुझाउँछ र परमेश्‍वरको राज्यले मूर्तिलाई प्रहार गर्दा यही विश्‍वशक्‍तिले नै शासन गरिरहेको हुनेछ भनेर हामीले थाह पायौं।

  • सन्‌ २०१४: “परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌!” अधिवेशन

    स्वर्गमा परमेश्‍वरको राज्य स्थापित भएको १०० वर्ष पूरा भयो।

आफ्ना चेलाहरूसितै यहोवाको स्तुतिगान गाइरहनुभएको येशू

“गीत गाउनु”

यहोवाका जनहरू उहाँको विषयमा र उहाँको लागि गीत गाएर आफ्नो भक्‍ति प्रकट गर्न चाहन्छन्‌। उदाहरणको लागि, यहोवाले इस्राएलीहरूलाई लाल समुद्रमा मिश्रीहरूको हातबाट बचाउनुहुँदा तिनीहरूले मनैदेखि गीत गाएर उहाँलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे। (प्रस्थ. १५:१-२१) पछि गीत गाउनु मन्दिरमा चढाइने यहोवाको उपासनाको अभिन्‍न भाग भयो। (१ इति. २३:४, ५; २५:७) प्रथम शताब्दीमा पनि येशू र उहाँका चेलाहरूले गीत गाएर यहोवाको प्रशंसा गरे।—मत्ती २६:३०; एफि. ५:१९.

त्यसैगरि भाइ रसल र तिनका सहयोगीहरूले बाइबलले सिकाउने सत्य कुराहरू बुझ्न थालेदेखि परमेश्‍वरका जनहरूले उपासनामा गीत गाउँदै आएका छन्‌। फेब्रुअरी १५, १८९६ को प्रहरीधरहरा-मा स्तुतिगानको महत्त्वबारे यसो भनिएको थियो: “परमेश्‍वरका जनहरूको मनमस्तिष्कमा सत्य ठप्प बसाल्न गीत गाउनु एउटा प्रभावकारी तरिका हो।”

दुलहीको गीतिपुस्तक, १८७९

१८७९

सहस्र वर्षीय प्रभातका कविता तथा भजन, १८९०

१८९०

“सियोनको बिहानी गीतहरू” भन्‍ने किताबको “चहकिलो हुँदै जाने ज्योति” शीर्षक भएको गीतको शब्द तथा स्वरलिपि, १८९६

१८९६

सियोनको रमाइला गीतहरू, १९००

१९००

सहस्र वर्षीय प्रभातको भजन, १९०५

१९०५

राज्यको भजन, १९२५

१९२५

यहोवाको स्तुतिगान, १९२८

१९२८

राज्य सेवा गीतिपुस्तक, १९४४

१९४४

यहोवाको प्रशंसागान, १९५०

१९५०

‘गीतहरू गाओ अनि मनमनै भजन गुनगुनाओ’, १९६६

१९६६

यहोवाको भजन गाओ, १९८४

१९८४

यहोवाको स्तुतिगान गाऔं

२०१२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने