प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ४/१ पृ. ७-११
  • “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नभई नहुने कुरा
  • कस्ता व्यक्‍तिहरूसित संगत गर्ने?
  • कस्तो जागिर खाने?
  • “आफ्नो सबै चालमा उहाँलाई सम्झी”
  • परमेश्‍वरसित बुद्धि माग्नुहोस्‌
  • परिणाम सधैं राम्रै हुन्छ?
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हामी कसरी सही निर्णय गर्न सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ४/१ पृ. ७-११

“हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ”

“हामी हरेकले परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा दिनुपर्नेछ।” —रोमी १४:१२.

१. तीन जवान हिब्रूले कस्तो भार आफै उठाए?

बेबिलोनमा जीवन बिताइरहेका तीन जवान हिब्रूले एउटा यस्तो निर्णय गर्नुपर्ने भयो, जुन निर्णयले कि त उनीहरूको ज्यान बच्ने थियो नभए ज्यानै जान सक्थ्यो। निर्णय गर्नुपर्ने विषय थियो—बेबिलोनको कानुनअनुसार विशाल मूर्तिलाई दण्डवत्‌ गर्ने कि मूर्तिलाई दण्डवत्‌ गर्न इन्कार गरेर दनदनी बलिरहेको आगोको भट्टीमा फ्याँकिने? के गर्ने भनेर शद्रक, मेशक र अबेद्‌नगोले कसैसित सरसल्लाह गर्ने मौकै पाएनन्‌ र उनीहरूले त्यसो गर्नु जरुरी पनि थिएन। धक नमानी उनीहरूले राजालाई भने: “हे महाराज, यो कुरो हजूरलाई थाह होस्‌, कि हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं, अथवा हजूरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।” (दानियल ३:१-१८) ती तीन जवान हिब्रूले निर्णय गर्नुपर्ने आफ्नो निज भार आफै उठाए।

२. येशू ख्रीष्टको बारेमा पिलातस आफैले गर्नुपर्ने निर्णय वास्तवमा कसले गऱ्‍यो तर के त्यसो गर्दैमा रोमी बडा हाकिम पिलातस निर्दोष भए?

२ झन्डै छ सय वर्षपछिको कुरा हो, एक व्यक्‍तिविरुद्ध लगाइएका आरोपहरू बडा हाकिमले सुनिसकेका छन्‌। घटनाको छानबिनपछि बडा हाकिम त्यो आरोपित व्यक्‍ति निर्दोष छ भन्‍ने कुरामा पक्का हुन्छन्‌। तर त्यहाँ उपस्थित भीड भने आरोपित व्यक्‍तिलाई मार्नै पर्छ भनेर कराउन थाल्छन्‌। केही बेरसम्म त बडा हाकिम त्यस आरोपित व्यक्‍तिलाई बचाउन खोज्छन्‌ तर उत्तेजित भीडसामु केही सीप नलागेपछि आफ्नो जिम्मेवारी वहन गर्नदेखि तिनी पन्छिन्छन्‌। आफ्नो हात धुँदै तिनी भन्छन्‌: “म यस धार्मिक मानिसको रगतदेखि निर्दोष छु।” त्यसपछि तिनले त्यस व्यक्‍तिलाई झुन्ड्याएर मार्न जिम्मा लगाइदिन्छन्‌। हो, येशू ख्रीष्टको बारेमा पन्तियस पिलातस आफैले निर्णय गर्नुपर्थ्यो तर तिनले त्यो निर्णय अरूको हातमा छोडिदिए। आफूलाई निर्दोष साबित गर्न तिनले जतिसुकै हात धोए पनि येशूमाथि जुन अन्याय भयो त्यसको लागि तिनी दोषी थिए।—मत्ती २७:११-२६; लूका २३:१३-२५.

३. हाम्रो लागि अरूले निर्णय गरिदिनु हुँदैन, किन?

३ तपाईं नि? तीन जवान हिब्रूले जस्तै के तपाईं आफ्नो लागि आफै निर्णय गर्नुहुन्छ? कि आफूले गर्नुपर्ने निर्णय अरू कसैले नै गरिदेओस्‌ जस्तो लाग्छ? निर्णय गर्नु सजिलो छैन। सही निर्णय गर्न परिपक्व हुनुपर्छ। जस्तै—आफ्ना नाबालिग छोराछोरीका लागि आमाबाबुले नै ठीक निर्णय गरिदिनुपर्ने हुन्छ। स्थिति गाह्रो छ र विभिन्‍न पक्षलाई पनि ध्यान नदिई हुँदैन भने त निर्णय गर्न झन्‌ गाह्रो हुन्छ। तैपनि, निर्णय गर्ने जिम्मेवारी “आत्मिकीहरू” अर्थात्‌ आध्यात्मिक तवरमा योग्य प्राचीनहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार भने होइन। (गलाती ६:१, २) यो जिम्मेवारी त एउटा यस्तो भार हो जसको “हामी हरेकले परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) बाइबल भन्छ, “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) उसोभए, हामी कसरी बुद्धिमानी निर्णय गर्न सक्छौं? यसको लागि सबैभन्दा पहिला हामीले आफ्नो सीमितता मानिलिनै पर्छ र ती सीमितता पूरा गर्न के चाहिन्छ, सो थाह पाउनै पर्छ।

नभई नहुने कुरा

४. प्रथम मानव दम्पतीले परमेश्‍वरको आज्ञा पालन नगरेको विवरणबाट निर्णय गर्ने विषयमा कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं?

४ मानव इतिहासको सुरुमै प्रथम मानव दम्पतीले एउटा यस्तो निर्णय गरे, जसको परिणाम निकै दुःखलाग्दो भयो। उनीहरूले असल र खराबको ज्ञान दिने रूखबाट फल टिपेर खाने निर्णय गरे। (उत्पत्ति २:१६, १७) उनीहरूले के आधारमा त्यस्तो निर्णय गरे? यस प्रश्‍नको जवाफ बाइबल यसरी दिन्छ: “स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलादो, औ कसैलाई बुद्धिमान बन्‍नलाई सो रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्‌। तब तिनले त्यस रूखको फल टिपेर खाइन्‌, र आफ्ना पतिलाई पनि दिइन्‌, औ तिनले पनि खाए।” (उत्पत्ति ३:६) आफ्नै स्वार्थी इच्छा पूरा गर्न हव्वाले त्यस्तो निर्णय गरेकी थिइन्‌ र आफ्नो पति आदमलाई पनि त्यसै गर्न उक्साइन्‌। फलस्वरूप, पाप र मृत्यु “सबै मानिसमा व्याप्त भयो।” (रोमी ५:१२) आदम र हव्वाले परमेश्‍वरको आज्ञा पालन नगरेको विवरणबाट मानिसको सीमितताबारे यस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं: परमेश्‍वरले दिनुभएको निर्देशनअनुसार चलेनौं भने हामीले गलत निर्णय गर्न सक्ने सम्भावना धेरै हुन्छ।

५. यहोवाले हामीलाई कसरी डोऱ्‍याउनुभएको छ र यसबाट लाभ उठाउन हामीले के गर्नै पर्छ?

५ यहोवा परमेश्‍वरले हामीलाई पाइला पाइलामा डोऱ्‍याउनुभएको छ। कत्ति खुसीको कुरा, हैन? बाइबल हामीलाई यसो भन्छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’ ” (यशैया ३०:२१) आफ्नो प्रेरित वचन बाइबलमार्फत यहोवा हामीसित कुरा गर्नुहुन्छ। त्यसकारण, बाइबल अध्ययन गर्नै पर्छ र सही ज्ञान लिनै पर्छ। सही छनौट गर्न हामीले परिपक्व अर्थात्‌ ‘पूरा बढेका मानिसहरूले लिने खँदिलो खानेकुरा’ खानुपर्छ। यसरी खँदिलो खानेकुरा खायौं भने, “खराब र असल छुट्याउनलाई [हाम्रो] ज्ञानेन्द्रियको अभ्यास” पनि हुन्छ। (हिब्रू ५:१४) परमेश्‍वरको वचनबाट जे-जे सिक्छौं, त्यसैअनुसार चलेर हामी आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई सही निर्णय गर्न तालिम दिन सक्छौं।

६. हाम्रो अन्तस्करणलाई ठीकसँग काम गर्ने बनाउन के गर्नै पर्छ?

६ जन्मजात हामीसित हुने अन्तस्करण चलाएर निर्णय गर्नु पनि उत्तिकै जरुरी छ। किनकि अन्तस्करणले फैसला गर्न सक्छ र हामीलाई “दोषारोपण अथवा समर्थन गर्ने गर्छ।” (रोमी २:१४, १५) तर हाम्रो अन्तस्करणलाई ठीकसँग काम गर्ने बनाउन परमेश्‍वरको वचनको सही ज्ञानले यसलाई तालिम दिनै पर्छ र यस वचनबाट सिकेअनुसार चलेर यसलाई सचेत राख्नै पर्छ। तालिम नपाएको अन्तस्करणलाई समाजको रीतिथिति र चलनले सजिलै असर गर्छ। आफू बस्ने ठाउँ र अरूको विचारधाराले पनि हामीलाई गलत बाटोमा लगाउन सक्छ। अन्तस्करणले पोल्दा-पोल्दै पनि परमेश्‍वरका स्तरहरू वास्तै गरेनौं भने हाम्रो अन्तस्करणको हालत के होला? समयमा हाम्रो अन्तस्करण “तातो फलामले डामेको जस्तो हुन्छ” अर्थात्‌ आगोले पोलेको ठाउँमा पाप्रा बसेझैं हुन्छ। हो, हाम्रो अन्तस्करण बोधो र लाटो हुन्छ। (१ तिमोथी ४:२) तर परमेश्‍वरको वचनले तालिम दिएको अन्तस्करणलाई भरपर्दो डोऱ्‍याइ मान्‍न सकिन्छ।

७. बुद्धिमानी निर्णय गर्न नभई नहुने कुरा के-के हुन्‌?

७ त्यसकारण, बुद्धिमानी निर्णय गर्न नभई नहुने कुरा हुन्‌—बाइबलको सही ज्ञान र त्यस ज्ञानअनुसार चल्ने क्षमता। केही सोच्दै-नसोची फ्याट्ट निर्णय गर्नुको सट्टा बाइबलका सिद्धान्तहरू समय लगाएर खोज्नुपर्छ र ती सिद्धान्तअनुसार चल्न विवेक चलाउनै पर्छ। हामीसित परमेश्‍वरको वचनको सही ज्ञान छ र यसै ज्ञानअनुरूप आफ्नो अन्तस्करणलाई तालिम दिएका छौं भने शद्रक, मेशक र अबेद्‌नगोले जस्तो तुरुन्ता-तुरुन्तै निर्णय गर्नुपर्ने स्थिति आइपर्दासमेत ठीकसँग निर्णय गर्न सक्नेछौं। हामी जति परिपक्व हुँदै जान्छौं, निर्णय गर्ने हाम्रो क्षमता पनि उति नै तिखारिंदै जान्छ। कसरी? आउनुहोस्‌, जीवनका यी दुई पाटोबारे छलफल गरौं।

कस्ता व्यक्‍तिहरूसित संगत गर्ने?

८, ९. (क) खराब संगतबाट अलग रहनै पर्छ भनेर बुझाउने कस्ता बाइबल सिद्धान्तहरू छन्‌? (ख) खराब संगत भन्‍नाले बाइबल शिक्षा विपरीत चल्ने मानिसहरूसितको उठबसलाई मात्र बुझाउँछ, हो? व्याख्या गर्नुहोस्‌।

८ प्रेरित पावलले लेखे: “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई भन्‍नुभएको थियो: “तिमीहरू यस संसारका होइनौ।” (यूहन्‍ना १५:१९) यस्ता सिद्धान्तहरूलाई ध्यान दियौं भने व्यभिचारी, मूर्तिपूजक, चोर र मतवालाजस्ता व्यक्‍तिहरूसित संगत गर्नु हुँदैन भनेर सजिलै बुझ्न सक्छौं। (१ कोरिन्थी ६:९, १०) तर बाइबलको ज्ञानमा बढ्‌दै गएपछि चलचित्र, टेलिभिजन वा कम्प्युटरमा अथवा किताब पढेर यस्ता व्यक्‍तिहरूसित समय बिताउनु पनि उतिकै जोखिमपूर्ण छ भनेर थाह पाउनेछौं। “कपटी” अर्थात्‌ आफ्नो वास्तविक परिचय लुकाउने व्यक्‍तिसित इन्टरनेट च्याट रूममा गफ गर्नु पनि कम खतरनाक छैन।—भजन २६:४.

९ नैतिक रूपमा स्वच्छ तर साँचो परमेश्‍वरमाथि मरिकाटे विश्‍वास नगर्ने व्यक्‍तिहरूसित संगत गर्न हुन्छ कि हुँदैन? बाइबल हामीलाई यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) छाडा कुरालाई खेलाँची ठान्‍ने वा चरित्रहीन व्यक्‍तिहरूसितको उठबस मात्र खराब संगत होइन भन्‍ने कुरा यस पदबाट बुझ्न सकिन्छ। त्यसकारण, यहोवालाई प्रेम गर्ने व्यक्‍तिहरूसित मात्र घनिष्ठ हुनु बुद्धिमानी हो!

१०. संसारका मानिसहरूसित भेटघाट अथवा बोलचाल गर्ने विषयमा परिपक्व निर्णय गर्न केले हामीलाई मदत गर्न सक्छ?

१० संसारका मानिसहरूसित चुइँक्क नबोल्नु र भेटघाटै नगर्नु एक त सम्भव छैन, अर्को कुरा त्यसो गर्नु भनेर बाइबलमा भनिएको छैन। (यूहन्‍ना १७:१५) मसीही सेवकाईमा भाग लिंदा, स्कूल र काममा जाँदा संसारका मानिसहरूसित बोल्नै पर्छ, उनीहरूसित भेटघाट भइहाल्छ। अर्कै धर्म मान्‍ने व्यक्‍तिसित विवाह गरेका साक्षीको त झन्‌ संसारका मानिसहरूसित बराबर भेटघाट र बोलचाल भइरहन्छ। तर तालिमप्राप्त ज्ञानेन्द्रिय शक्‍ति चलायौं भने संसारका मानिसहरूसित ठिक्क मात्रामा घुलमिल हुनु र उनीहरूसित बढी नै घनिष्ठ हुनुबीचको फरक बुझ्नेछौं। (याकूब ४:४) यस प्रकार हामी खेलकुद र नाचगानजस्ता स्कूलका अतिरिक्‍त क्रियाकलापमा भाग लिने कि नलिने अनि सँगै काम गर्ने कर्मचारीहरूका लागि आयोजना गरिने पार्टी, भोजभतेरजस्ता कार्यक्रममा जाने कि नजाने भन्‍ने विषयमा पनि परिपक्व निर्णय गर्न सक्नेछौं।

कस्तो जागिर खाने?

११. जागिर खानुअघि कुन कुरा सुरुमै विचार गर्नुपर्छ?

११ बाइबल सिद्धान्तको मर्मअनुसारै चल्यौं भने “परिवारलाई पालन-पोषण” गर्ने आफ्नो दायित्व पूरा गर्ने सन्दर्भमा राम्ररी निर्णय गर्न सक्नेछौं। (१ तिमोथी ५:८) आफूले खान लागेको जागिर कस्तो हो अर्थात्‌ के-के काम गर्नुपर्ने हो, सुरुमै विचार गर्नुपर्छ। बाइबलले तोकेरै निषेध गरेको कुरालाई समर्थन गर्ने जागिर खान खोज्नु सरासर गलत हो। त्यसकारण साँचो मसीहीहरू मूर्तिपूजा, चोरी, रगतको दुरुपयोग अथवा बाइबलको शिक्षासित मेल नखाने कुरा मुछिएको जागिर खाँदैनन्‌। हाकिमले अरूलाई ढाँट्‌न, ठग्न जतिसुकै दबाब देओस्‌, हामी कदापि यसो गर्नेछैनौं।—प्रेरित १५:२९; प्रकाश २१:८.

१२, १३. आफूले खान लागेको जागिर कस्तो हो, त्यसलाई पनि ध्यान त दिनै पर्छ तर यसबाहेक ध्यान दिनुपर्ने अरू महत्त्वपूर्ण कुरा पनि छन्‌, ती के-के हुन्‌?

१२ तर हामीले गर्ने काम नै परमेश्‍वरको आज्ञा उल्लङ्‌घन हुने खालको होइन भने नि? सच्चाइमा प्रगति गर्दै जाँदा र हाम्रो ज्ञानेन्द्रिय शक्‍ति तिखारिंदै गएपछि बेवास्ता गर्न नमिल्ने अरू पक्षहरू पनि रहेछन्‌ भनी थाह पाउनेछौं। उदाहरणका लागि, हामीले खाएको जागिरमा बाइबल शिक्षा विपरीत काम गर्नुपर्ला, जस्तै—जूवाघरमा फोन उठाउने काम गर्नुपर्ला, त्यस्तोबेला के गर्ने? यसबाहेक, आमदानीको स्रोत र काम गर्ने ठाउँ पनि विचार गर्नै पर्छ। जस्तो—ठेकेदार मसीहीले मठ-मन्दिर, गुम्बा र चर्च रङरोगन गर्ने ठेक्कापट्टाको लागि टेन्डर हालेर झूटो धर्मलाई मौलाउन मदत पुऱ्‍याउनु कत्तिको उचित होला?—२ कोरिन्थी ६:१४-१६.

१३ तर हाम्रो ठेकेदारले नै झूटो उपासना गरिने ठाउँ रङरोगन गर्ने ठेक्का लियो भने? यस्तो बेला हामीले यी कुरामा ध्यान दिनुपर्छ—जुन काम गर्न लागिएको छ, त्यसमा ‘यो काम गर्छु, त्यो गर्दिनँ’ भन्‍न मिल्छ कि मिल्दैन? साथै, कुन हदसम्म काम गर्नुपर्ने हो? अनि बाइबल स्तरसित मिल्ने जागिर, जस्तै—नराम्रो काम हुने ठाउँलगायत सबैतिर चिठीपत्र पुऱ्‍याउने जागिर खानु हुन्छ कि हुँदैन? यस्तो प्रश्‍नले अन्योलमा पार्दा मत्ती ५:४५ को सिद्धान्त विचार गर्दै निर्णय गर्नु राम्रो हुन्छ नि, होइन? तर दिनदिनै यही काम गरिरहँदा हाम्रो अन्तस्करणमा कस्तो धक्का पुग्ने हो, त्यसतर्फ पनि विचार त पुऱ्‍याउनै पर्छ। (हिब्रू ३:१८) हो, जागिरबारे परिपक्व निर्णय गर्ने विषयमा आफ्नो भार आफै उठाउन हामीले ज्ञानेन्द्रिय शक्‍ति तिखार्नै पर्छ र परमेश्‍वरले वरदानस्वरूप दिनुभएको अन्तस्करणलाई तालिम दिनै पर्छ।

“आफ्नो सबै चालमा उहाँलाई सम्झी”

१४. कुनै पनि निर्णय गर्नुअघि हामीले कुन-कुन कुरा विचार गर्नुपर्छ?

१४ कतिसम्म पढ्‌ने र कुनै-कुनै उपचार स्वीकार्ने कि नस्वीकार्ने भन्‍ने विषयमा चाहिं कसरी निर्णय गर्ने? कुनै पनि निर्णय गर्नुअघि हामीले सम्बन्धित विषयसित मिल्ने बाइबल सिद्धान्तहरू पत्ता लगाएर त्यसैअनुसार गर्न आफ्नो तर्कशक्‍ति चलाउनै पर्छ। प्राचीन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले भनेका थिए: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

१५. निर्णय गर्ने विषयमा प्रथम शताब्दीका मसीहीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१५ हाम्रो छनौटले अक्सर अरूलाई पनि असर गर्छ। यसबारे पनि सोच्नुपर्छ। उदाहरणको लागि, मोशाको व्यवस्थामा भएको खानेकुरासम्बन्धी नियम प्रथम शताब्दीका मसीहीहरूले पालन गर्नु जरुरी थिएन। व्यवस्थामा अशुद्ध मानिएका खानेकुरा उनीहरूले खाने निर्णय गर्न सक्थे र ती खानै नहुने कारण पनि थिएन। तर मूर्तिलाई चढाएको हुन सक्ने जनावरको मासुबारे भने प्रेरित पावलले यस्तो लेखे: “खाने कुरोले मेरो भाइलाई बाधा पार्छ भने, म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।” (१ कोरिन्थी ८:११-१३) अरूको अन्तस्करणको ख्याल राख्न पावलले प्रथम शताब्दीका मसीहीहरूलाई प्रोत्साहन दिए किनभने त्यसो गर्दा अरूलाई बाधा पुग्ने थिएन। हाम्रो निर्णयले पनि अरूलाई “बाधा” नपारोस्‌!—१ कोरिन्थी १०:२९, ३२.

परमेश्‍वरसित बुद्धि माग्नुहोस्‌

१६. प्रार्थनाले हामीलाई निर्णय गर्न निकै मदत गर्छ, कसरी?

१६ प्रार्थनाले हामीलाई निर्णय गर्न निकै मदत गर्छ। चेला याकूब भन्छन्‌, “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ।” (याकूब १:५) हामी यहोवालाई ढुक्क भई प्रार्थना गर्न सक्छौं र ठीकसँग निर्णय गर्न उहाँसित बुद्धि माग्न सक्छौं। आफ्नो पीरबेथा साँचो परमेश्‍वरसमक्ष पोख्यौं र उहाँको डोऱ्‍याइ खोज्यौं भने, बाइबल पदको मर्म बुझ्न र त्यति ख्यालै नगरेका अरू बाइबल पदहरू सम्झिन पवित्र आत्माले हामीलाई मदत गर्न सक्छ।

१७. निर्णय गर्न अरूले हामीलाई कसरी मदत गर्न सक्छ?

१७ निर्णय गर्न अरूले हामीलाई मदत गर्न सक्छ कि सक्दैन? सक्छ नि, किन नसक्नु! यहोवाले मण्डलीमा परिपक्व व्यक्‍तिहरूको प्रबन्ध मिलाइदिनुभएको छ। (एफिसी ४:११, १२) ठूलो अनि महत्त्वपूर्ण निर्णय गर्नु छ भने उनीहरूसित सल्लाह माग्न सकिन्छ। गहिरो आध्यात्मिक ज्ञान भएका र जीवनमा अनेकौं घामछायाँ भोगिसकेका यस्ता व्यक्‍तिहरूले हामीलाई सही निर्णय गर्न र “उच्च कुरा” अर्थात्‌ बढी महत्त्वपूर्ण कुरा पक्का गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू बताइदिन सक्छन्‌। (फिलिप्पी १:९, १०, ११) तर होसियार हुनुपर्ने ठाउँ पनि छ: हामीले आफ्नो निर्णय अरूलाई गर्न दिनु हुँदैन। निर्णय गर्नुपर्ने आफ्नो भार हामी आफैले उठाउनुपर्छ।

परिणाम सधैं राम्रै हुन्छ?

१८. सही निर्णय गर्दा हुने परिणामबारे के भन्‍न सकिन्छ?

१८ शत-प्रतिशत बाइबल सिद्धान्तमा आधारित अनि बडो होस पुऱ्‍याएर गरिएका निर्णयहरूको नतिजा सधैं राम्रै हुन्छ? हो, अन्तमा अवश्‍य राम्रै हुन्छ। तर कहिलेकाहीं यस्ता निर्णयहरूको परिणाम तत्कालको लागि पीडादायी पनि हुन सक्छ। विशाल मूर्तिलाई दण्डवत्‌ नगर्ने निर्णय गर्दा परिणाम मृत्युदण्ड हुन सक्छ भनेर शद्रक, मेशक र अबेद्‌नगोलाई थाह थियो। (दानियल ३:१६-१९) त्यसै गरी, ‘हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ’ भनेर येशूका चेलाहरूले यहूदी महासभालाई भनेपछि उनीहरूलाई निर्घात पिटेर छोडियो। (प्रेरित ५:२७-२९, ४०) यसबाहेक, “समय र अवसरले” हाम्रो निर्णयको परिणाममा नराम्रो असर पार्न सक्छ। (उपदेशक ९:११) तर सही निर्णय गर्दा गर्दै पनि दुःख भोग्नुपऱ्‍यो भने चाहिं यहोवाले हामीलाई सहने बल मात्र होइन, भविष्यमा आशिष्‌ पनि बर्साउनुहुनेछ भनेर विश्‍वस्त हुन सक्छौं।—२ कोरिन्थी ४:७.

१९. निर्णय गर्ने आफ्नो निज भार साहसी भई हामी आफै उठाउन सक्छौं, कसरी?

१९ त्यसकारण, निर्णय गर्नुअघि हामीले बाइबल सिद्धान्तहरू खोजीनीति गर्नै पर्छ र विवेकी भई त्यसैअनुसार चल्नै पर्छ। पवित्र आत्मा र मण्डलीका परिपक्व व्यक्‍तिहरूद्वारा मदत गर्नुभएकोमा यहोवालाई हामी मुरीमुरी धन्यवाद दिन्छौं! यस्तो डोऱ्‍याइ तथा प्रबन्धबाट लाभ उठाउँदै बुद्धिमानी निर्णय गर्ने आफ्नो निज भार साहसी भई आफै उठाऔं। (w06 3/15)

तपाईंले के सिक्नुभयो?

• ठीक निर्णय गर्न नभई नहुने कुरा के हो?

• हामी जति परिपक्व हुँदै जान्छौं संगत छान्‍ने हाम्रो निर्णयमा पनि उति नै फरक पर्दै जान्छ, कसरी?

• जागिरबारे निर्णय गर्नुअघि हामीले विचार गर्नुपर्ने केही महत्त्वपूर्ण कुरा के-के हुन्‌?

• निर्णय गर्न के-कस्तो मदत उपलब्ध छ?

[पृष्ठ ८-मा भएको चित्र]

आदम र हव्वाको अनाज्ञाकारिताबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं

[पृष्ठ १०-मा भएको चित्र]

महत्त्वपूर्ण निर्णय गर्नुअघि बाइबलका सिद्धान्तहरू खोजीनीति गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने