प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ पृ. ३-५
  • ‘जागा रहनु’ किन यत्तिको जरुरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘जागा रहनु’ किन यत्तिको जरुरी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिनीहरूले यादै गरेनन्‌”
  • “आफू तयार रहेको प्रमाण देओ”
  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
  • के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • हामी किन ‘जागा रहनै पर्छ?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ पृ. ३-५

‘जागा रहनु’ किन यत्तिको जरुरी?

“तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:३) त्यस प्रश्‍नको जवाफमा येशूले आफ्ना चेलाहरूलाई एउटा चिन्हबारे बताउनुभयो जुन चिन्ह स्पष्ट, विस्तृत, सजिलै ठम्याउन सकिने अनि अचूक किसिमको थियो। मत्ती अध्याय २४, मर्कूस अध्याय १३ अनि लूका अध्याय २१ मा उक्‍त चिन्हका विभिन्‍न पक्षबारे लेखिएको छ। त्यति मात्र होइन, येशूले यसो पनि भन्‍नुभयो: “जागा रहो।”—मत्ती २४:४२.

यदि त्यो चिन्ह स्पष्टैसित चिन्‍न सकिन्थ्यो भने येशूले किन “जागा रहो” भन्‍नुभएको त? यसको दुई वटा कारण हुन सक्छ। पहिलो कारण: विभिन्‍न अलमल्याउने कुराहरूले कोही-कोहीलाई उक्‍त चिन्ह बेवास्ता गर्न लगाउन सक्थ्यो। फलतः तिनीहरूको आध्यात्मिकता कमजोर हुन सक्थ्यो अनि तिनीहरूलाई चनाखो रहन पनि गाह्रो हुन सक्थ्यो। दोस्रो कारण: कुनै ख्रीष्टियनले उक्‍त चिन्हलाई ठम्याएका त हुन सक्छन्‌ तर त्यसको कुनै-कुनै पक्ष आफू वरपर पूरा नभएकोले आफूलाई प्रत्यक्ष रूपमा असर नपरेको तिनले महसुस गर्न सक्छन्‌। तसर्थ, येशूले भविष्यवाणी गर्नुभएको “महासङ्‌कष्ट” आउन अझ धेरै समय लाग्ने भएकोले अहिल्यै देखि ‘जागा रहनु’ आवश्‍यक छैन भनेर तिनले तर्क गर्न सक्छन्‌।—मत्ती २४:२१.

“तिनीहरूले यादै गरेनन्‌”

येशूले आफ्ना अनुयायीहरूलाई नूहका समकालीन मानिसहरूबारे बताउनुभयो। ती मानिसहरूले नूहले प्रचार गरेको, विशाल जहाज बनाएको अनि वरपर हिंसा व्याप्त भएको सबै देखेका थिए। तथापि, धेरैले त्यो कुरा “यादै गरेनन्‌।” (मत्ती २४:३७-३९) आज पनि मानिसहरूले चेतावनीप्रति यस्तै मनोवृत्ति देखाउँछन्‌। उदाहरणका लागि, सवारी-साधनका चालकहरूले गति सीमित गरून्‌ भनेर ठाउँ-ठाउँमा सङ्‌केत चिन्हहरू राखिएका हुन्छन्‌ तर थुप्रैले त्यसलाई वास्तै गर्दैनन्‌। त्यसकारण अख्तियारवालाहरूले बाध्य भएर बाटोको बीच-बीचमा स्पीड ब्रेकरहरू बनाउँछन्‌। त्यसैगरि, कुनै ख्रीष्टियनलाई आखिरी दिनको चिन्हबारे त राम्रोसँग थाह होला तर तिनी उक्‍त चिन्हलाई बेवास्ता गर्न लगाउने विभिन्‍न काममा रुमलिरहेका हुन सक्छन्‌। पश्‍चिम अफ्रिकामा बस्ने अरिली नामकी किशोरीले यस्तै अनुभव गरिन्‌।

अरिलीलाई टिभीमा महिलाहरूको ह्‍याण्डबल खेल हेर्न खुबै मज्जा लाग्थ्यो। तिनको स्कूलले सोही खेलको लागि एउटा टिम बनाउँदा तिनी त्यसमा भाग लिन यत्ति इच्छुक भइन्‌ कि तिनले पछि आफ्नो आध्यात्मिकतामा आँच आउने कुरालाई यादै गरिनन्‌। तिनले गोलरक्षकको रूपमा टिममा समावेश हुन हस्ताक्षर गरिन्‌। त्यसपछि के भयो? तिनी यसो भन्छिन्‌: “मेरो टिममा भएका साथीहरूमध्ये कसै-कसैको ब्वाइफ्रेन्ड थियो। तिनीहरू लागूपदार्थ सेवन गर्थे र चुरोट तान्थे। म तिनीहरूभन्दा भिन्‍न देखिने भएकोले तिनीहरू मेरो खिल्ली उडाउँथे तर ‘जत्ति नै गरे पनि तिनीहरूले मलाई असर गर्न सक्दैनन्‌ क्यार’ भनेर म सोच्ने गर्थें। तर पछि खेलले नै मेरो आध्यात्मिकता बिस्तारै खस्काउँदै लग्यो। मलाई ह्‍याण्डबलको नशा चढेको थियो। म सभामा त जान्थें तर मेरो मनचाहिं ह्‍याण्डबल कोर्टमै हुन्थ्यो। यसले मेरो ख्रीष्टियन व्यक्‍तित्वलाई पनि असर गऱ्‍यो। सुरु-सुरुमा त म रमाइलोको लागि मात्र खेल्ने गर्थें तर पछि जित्नकै लागि खेल्न थालें। ममा प्रतिस्पर्धाको भाव जागेको थियो अनि यसलाई सन्तुष्ट पार्न मैले निकै कडा परिश्रम गरें। तनाव पनि उत्तिकै बढ्‌दै थियो। ह्‍याण्डबलको लागि मैले आफ्ना साथीहरूलाई समेत त्यागें।

“एउटा खेलको अन्ततिर हाम्रा विपक्षीहरूले पेनाल्टी हान्‍ने अवसर पाएका थिए। म गोलरक्षकको रूपमा उभिरहेकी थिएँ। मैले चालै नपाई यहोवालाई यसरी प्रार्थना गरेछु: ‘बललाई गोलपोष्टमा छिर्न नदिनको लागि मदत गर्नुहोस्‌!’ मेरो आध्यात्मिकता कत्तिसम्म खस्किसकेछ भनेर मैले यो घटनापछि मात्र महसुस गर्न सकें। मैले आफ्नो आध्यात्मिकतालाई फेरि कसरी राम्रो बनाएँ?

“मैले पहिला युवाहरू सोध्छन्‌—म आफ्नो जीवनबाट के चाहन्छु?a (अङ्‌ग्रेजी) नामक डीभीडी हेरेकी थिएँ। अब फेरि मैले त्यो डीभीडी हेर्ने र यसलाई गम्भीरतासाथ लिने निधो गरें। डीभीडी-मा देखाइएको आन्द्रेजस्तै म पनि अप्ठ्यारो परिस्थितिमा परेकी थिएँ। तिनलाई एक जना एल्डरले फिलिप्पी ३:८ पढ्‌न र मनन गर्न भनेका थिए। मैले पनि त्यसै गरें। यसको नतिजा राम्रो भयो। मैले आफ्नो टिम छोड्‌न सकें।

“त्यसपछि त ममा आमूल परिवर्तन आयो! मेरो प्रतिस्पर्धात्मक भावना अनि तनावपूर्ण अवस्था एकाएक गायब भयो। मैले आनन्दित महसुस गर्न थालें अनि ख्रीष्टियन साथीहरूसित नजिकिन थालें। आध्यात्मिक गतिविधिहरू मलाई महत्त्वपूर्ण लाग्न थाल्यो। मैले सभाहरूमा ध्यान दिन थालें र ती सभाहरू मलाई फेरि रमाइलो लाग्न थाल्यो। मैले क्षेत्र सेवामा पनि उन्‍नति गर्न सकें। अहिले म नियमित रूपमा सहायक अग्रगामी गर्दैछु।”

यदि कुनै कुराले तपाईंलाई पनि येशूले बताउनुभएको चिन्हलाई बेवास्ता गर्न लगाइरहेको छ भने अरिलीले जस्तै गम्भीर कदम चाल्नुहोस्‌। तपाईं निम्न तरिकाहरू अपनाउन सक्नुहुन्छ: गोप्य खजानासम्म पुऱ्‍याउने नक्सा नै भन्‍न सकिने वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) हेर्नुहोस्‌। त्यसको मदत लिएर तपाईं थुप्रै असल सल्लाह अनि तपाईंको जस्तै परिस्थितिको सामना गरिसकेका कैयौं व्यक्‍तिको अनुभव पढ्‌न सक्नुहुन्छ। राम्रो तयारी गरेर अनि नोट लिएर ख्रीष्टियन सभाहरूबाट लाभ उठाउनुहोस्‌। कसै-कसैले अगाडिको सिटमा बस्नु मदतकारी पाएका छन्‌। सभामा छलफल हुँदा सुरु-सुरुतिरै टिप्पणी दिने कोसिस गर्नुहोस्‌। साथै, हाल घटिरहेका घटनाहरूलाई चिन्हका विभिन्‍न पक्ष तथा “अन्तको दिन”-का अन्य विशेषताहरूसित दाँजेर हेर्नुहोस्‌ र आध्यात्मिक रूपमा जागा रहनुहोस्‌।—२ तिमो. ३:१-५; २ पत्रु. ३:३, ४; प्रका. ६:१-८.

“आफू तयार रहेको प्रमाण देओ”

आखिरी दिनको चिन्ह विश्‍वव्यापी रूपमा “सारा पृथ्वीभरि” पूरा भइरहेको छ। (मत्ती २४:७, १४) लाखौं मानिसहरू महामारी, अनिकाल, भूकम्प अनि भविष्यवाणी गरिएका अन्य घटनाहरूले एकदमै असर गरेको ठाउँहरूमा बस्छन्‌। तर त्यसको ठीक विपरीत अरू थुप्रै भने तुलनात्मक रूपमा सुख-शान्ति भएको ठाउँमा बस्छन्‌। यदि तपाईंले चिन्हका केही पक्षहरू आफ्नो जीवनमा घटेको कहिल्यै अनुभव गर्नुभएको छैन भने महासङ्‌कष्ट आउन अझ धेरै समय बाँकी छ भनेर तर्क गर्न मिल्छ र? त्यस्तो सोच्नु बुद्धिमानी कुरा होइन।

‘महामारी र अनिकालको’ विषयमा भविष्यवाणी गर्दा येशूले के भन्‍नुभयो याद गर्नुहोस्‌। (लूका २१:११) प्रथमतः उहाँले यी कुराहरू सबै ठाउँमा एकैचोटि-एकैनासले हुनेछ भन्‍नुभएन। बरु “ठाउँ-ठाउँमा” हुनेछ भन्‍नुभयो। त्यसकारण हामी एकै किसिमको घटना सबै ठाउँमा एकैचोटि भएको आशा गर्न सक्दैनौं। दोस्रो, अनिकालबारे बताएलगत्तै येशूले आफ्ना केही चेलाहरू धेरै खाने सन्दर्भमा होसियार हुनुपर्ने आवश्‍यकताबारे सल्लाह दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने . . . बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्‌।” (लूका २१:३४) त्यसकारण प्रत्येक ख्रीष्टियनले चिन्हको सबै पक्ष आफैले अनुभव गर्ने आशा गर्नुहुँदैन। बरु, येशूले यसो भन्‍नुभयो: “तिमीहरू पनि जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।” (लूका २१:३१) हामीले स्थानीय तवरमा त्यस्ता कुराहरू अनुभव गरिरहेका हौं या नहोऔं, आधुनिक सञ्चार माध्यमहरूद्वारा चिन्हका ती सबै पक्षहरू पूरा भइरहेको हामीले देखेका छौं।

यो कुरा पनि याद गर्नुहोस्‌, यहोवाले महासङ्‌कष्ट सुरु हुने “दिन र समय” तोकिसक्नुभएको छ। (मत्ती २४:३६) पृथ्वीमा भइरहेको कुराले परमेश्‍वरले तोक्नुभएको त्यो दिनलाई असर गर्दैन।

संसारभरका ख्रीष्टियनहरूलाई येशूले यस्तो चेतावनी दिनुभएको छ: “आफू तयार रहेको प्रमाण देओ।” (मत्ती २४:४४) हामी सधैं तयार रहनुपर्छ। यो कुरा साँचो हो, हामी जहिले पनि, जतिबेला पनि आध्यात्मिक गतिविधिमा भाग लिइरहन सक्दैनौं। अनि महासङ्‌कष्ट सुरु हुँदा हामी के गरिरहेका हुन्छौं, हामी कसैलाई पनि थाह छैन। कोही-कोही घरबाहिर काम गरिरहेका हुन सक्छन्‌ भने कोही घरकै काममा व्यस्त भइरहेका हुन सक्छन्‌। (मत्ती २४:४०, ४१) त्यसोभए, हामी कसरी आफू तयार रहेको प्रमाण दिन सक्छौं?

इमान्वेल र भिक्टोरिन उनीहरूका छ जना छोरीहरूसँगै अफ्रिकाको एउटा देशमा बस्छन्‌। त्यस इलाकामा उनीहरूले चिन्हका विभिन्‍न पक्षहरू सबै पूरा भएको देखेका छैनन्‌। त्यसकारण आफू तयार रहेको प्रमाण दिन उनीहरूले दिनहुँ आध्यात्मिक विषयमा छलफल गर्ने निर्णय गरे। इमान्वेल यसो भन्छन्‌: “हामी सबैलाई मिल्ने समय छुट्ट्याउन गाह्रो थियो। अन्तमा हामीले बिहान छ बजेदेखि साढे छ बजेसम्म आधा घण्टाको समय निकाल्यौं। दैनिक पद छलफल गरिसकेपछि हामी मण्डलीका सभाहरूमा प्रयोग गरिने कुनै एउटा प्रकाशनको केही अनुच्छेद तयारी गर्छौं।” यस्तो कार्यक्रमले के उनीहरूलाई जागा रहन मदत गरेको छ? पक्कै पनि। इमान्वेल मण्डलीमा एल्डरहरूको निकायको संयोजकको रूपमा सेवा गर्छन्‌। भिक्टोरिन प्रायजसो सहायक अग्रगामीको रूपमा सेवा गर्छिन्‌ र उनले थुप्रैलाई बाइबल सत्य स्वीकार्न मदत गरेकी छिन्‌। उनीहरूका सबै छोरीले आध्यात्मिक रूपमा राम्रो प्रगति गरिरहेका छन्‌।

येशूले हामीलाई यस्तो चेतावनी दिनुभएको छ: “सधैं सचेत रहो अनि जागा बस।” (मर्कू. १३:३३) कुनै पनि कुराले आध्यात्मिक रूपमा जागा रहनदेखि तपाईंलाई अलमल्याउन नपाओस्‌। अरिलीले जस्तै हाम्रा प्रकाशनहरूमा तथा सभाहरूमा पाइने सल्लाहहरूलाई ध्यान दिनुहोस्‌। इमान्वेलको परिवारले जस्तै प्रत्येक दिन आफू तयार रहेको प्रमाण दिन केही गर्नुहोस्‌ अनि ‘जागा रहनुहोस्‌।’

[फुटनोट]

a यहोवाको नजरमा सही काम गर्न एक जवान ख्रीष्टियनले गरेको सङ्‌घर्षमा आधारित आधुनिक नाटक।

[पृष्ठ ४-मा भएको चित्र]

दिनहुँ आध्यात्मिक विषयमा छलफल गरेर इमान्वेल र उनको परिवारले ‘आफू तयार रहेको प्रमाण दिन’ सकेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने