प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 मे पृ. २०-२५
  • यहोवाको नाम येसुको लागि किन महत्त्वपूर्ण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको नाम येसुको लागि किन महत्त्वपूर्ण छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु”
  • “तपाईँले मलाई दिनुभएको तपाईँकै नाम”
  • “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌”
  • “म आफ्नो जीवन अर्पण गर्छु”
  • ‘तपाईँले मलाई दिनुभएको काम मैले पूरा गरेको छु’
  • यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “यहोवाको नामको प्रशंसा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • फिरौतीको बलिदानबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “कसको उपासना गर्न चाहन्छौ, आजै रोज”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 मे पृ. २०-२५

अध्ययन लेख २२

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

यहोवाको नाम येसुको लागि किन महत्त्वपूर्ण छ?

“मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।”​—युह. १७:२६.

सिक्न सकिने कुरा

येसुले यहोवाको नाम कसरी प्रकट गर्नुभयो? अनि उहाँले यहोवाको नाम कसरी पवित्र र उच्च पार्नुभएको छ?

१-२. (क) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले के गर्नुभयो? (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

इस्वी संवत्‌ ३३ निसान १४ को बिहीबार साँझ येसुले आफ्ना ११ जना वफादार प्रेषितहरूसित प्रभुको साँझको भोज मनाउनुभयो। चाँडै आफूलाई धोका दिइनेछ, झूटा आरोपहरू लगाइनेछ, शत्रुहरूले यातना दिनेछन्‌ र पछि मार्नेछन्‌ भन्‍ने कुरा उहाँलाई थाह थियो। प्रभुको साँझको भोज मनाइसकेपछि येसुले आफ्ना वफादार प्रेषितहरूको हौसला बढाउन थुप्रै कुरा बताउनुभयो। अनि त्यहाँबाट निस्कनुअघि उहाँले एकदमै अर्थपूर्ण प्रार्थना गर्नुभयो। त्यो प्रार्थना प्रेषित युहन्‍नाले रेकर्ड गरेका छन्‌, जुन हामी युहन्‍ना अध्याय १७ मा पढ्‌न सक्छौँ।

२ यस लेखमा हामी येसुको त्यस प्रार्थनाबारे छलफल गर्नेछौँ र यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: आफ्नो मृत्यु हुनुअघि येसुलाई कुन कुराको चिन्ता लागिरहेको थियो? पृथ्वीमा आफ्नो सेवाको दौडान उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो?

“मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु”

३. येसुले प्रार्थनामा के भन्‍नुभयो र त्यसको अर्थ के हो? (युहन्‍ना १७:६, २६)

३ येसुले प्रार्थनामा यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।” येसुले यो कुरा प्रार्थनामा दुई चोटि दोहोऱ्‍याउनुभयो। (युहन्‍ना १७:६, २६ पढ्‌नुहोस्‌।) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? के उहाँले तिनीहरूलाई थाहै नभएको नाम प्रकट गर्नुभएको थियो? त्यसो हुन सक्दैन किनभने येसुका चेलाहरू यहुदी थिए र तिनीहरूलाई परमेश्‍वरको नाम यहोवा हो भनेर थाह थियो। त्यो नाम हिब्रू धर्मशास्त्रमा हजारौँ चोटि उल्लेख भएको पाइन्छ। त्यसैले येसुले परमेश्‍वरको नाम के हो भनेर बताइरहनुभएको थिएन। बरु त्यो नाम बहन गर्ने परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर बताउँदै हुनुहुन्थ्यो। येसुले आफ्ना चेलाहरूलाई यहोवाका उद्देश्‍यहरू, उहाँका गुणहरू र कामहरूबारे बताउनुभयो। यस अर्थमा येसुले यहोवाको नाम प्रकट गर्नुभयो। हुन पनि यहोवालाई सबैभन्दा राम्ररी चिन्‍ने येसु नै हुनुहुन्छ।

४-५. (क) कुनै व्यक्‍तिको नामले हाम्रो लागि कसरी ठूलो अर्थ राख्न सक्छ? एउटा उदाहरण बताउनुहोस्‌। (ख) येसुका चेलाहरूले यहोवालाई कसरी अझ राम्रोसित चिन्‍न सके?

४ मानौँ, तपाईँको मण्डलीमा डेभिड नाम गरेका एल्डर छन्‌ र तिनी पेसाले डाक्टर हुन्‌। तपाईँले तिनलाई चिनेको वर्षौँ भइसक्यो। तर एकदिन अचानक तपाईँ बिरामी पर्नुहुन्छ र तपाईँलाई तुरुन्तै इमर्जेन्सीमा लैजानुपर्ने हुन्छ। तपाईँ ती एल्डर काम गर्ने अस्पतालमै जानुहुन्छ। तिनले तपाईँको उपचार गर्छन्‌ र तपाईँको ज्यान जोगिन्छ। के अब ती एल्डरको नामले तपाईँको लागि विशेष अर्थ राख्दैन र? पक्कै राख्छ! अब तपाईँको लागि डेभिड भन्‍ने भाइ मण्डलीको एक जना एल्डर मात्र होइनन्‌, तपाईँको ज्यान बचाउने डाक्टर पनि हुन्‌।

५ त्यसरी नै येसुका चेलाहरूलाई यहोवाको नाम पहिल्यै थाह थियो। तर येसुसित समय बिताएपछि तिनीहरूको लागि यहोवाको नामले अझ ठूलो अर्थ राख्यो। किनकि येसुले आफूले भन्‍ने र गर्ने सबै कुरामा यहोवाको व्यक्‍तित्व झल्काउनुभयो। त्यसैले येसुको सिकाउने तरिका अनि उहाँले मानिसहरूसित गर्नुभएको व्यवहार देखेर तिनीहरूले यहोवालाई अझ राम्रोसित ‘चिन्‍न’ सके।—युह. १४:९; १७:३.

“तपाईँले मलाई दिनुभएको तपाईँकै नाम”

६. यहोवाले येसुलाई आफ्नो नाम दिनुभयो भन्‍नुको अर्थ के हो? (युहन्‍ना १७:११, १२)

६ येसुले प्रार्थनामा यसो पनि भन्‍नुभयो: “तपाईँले मलाई दिनुभएको तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्‌।” (युहन्‍ना १७:११, १२ पढ्‌नुहोस्‌।) के यसको मतलब अब येसुलाई यहोवा भन्‍न मिल्छ भन्‍ने हो? त्यसो त होइन। याद गर्नुहोस्‌, येसुले प्रार्थनामा यहोवाको नामलाई “मेरो नाम” भन्‍नुभएको छैन बरु “तपाईँकै नाम” भन्‍नुभएको छ। त्यसैले येसुको नाम नै यहोवा भयो भन्‍ने होइन। त्यसोभए येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? पहिलो, येसु यहोवाको प्रतिनिधि र प्रवक्‍ता हुनुहुन्थ्यो। उहाँ यहोवाकै नाममा आउनुभयो र उहाँकै नाममा चमत्कारहरू गर्नुभयो। (युह. ५:४३; १०:२५) दोस्रो, येसु नामको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” येसु नामको अर्थमा नै यहोवाको नाम समावेश छ।

७. येसुले किन यहोवाको तर्फबाट बोल्न सक्नुहुन्थ्यो? एउटा उदाहरण दिनुहोस्‌।

७ येसु यहोवाको प्रतिनिधि हुनुहुन्थ्यो र उहाँले यहोवाको नाममा बोल्नुभयो। यो कुरा बुझ्न हामी एक जना राजदूतको उदाहरण विचार गरौँ। राजदूत भनेको एक जना शासकको प्रतिनिधि हो। त्यसैले तिनले ती शासकको नाममा बोलिरहेका हुन्छन्‌। अनि राजदूतले बोलेको कुरा शासकले नै बोलेको सरह ठानिन्छ। त्यसरी नै येसुले भन्‍नुभएको कुरा यहोवाले नै भन्‍नुभएसरह थियो किनभने उहाँ यहोवाको नाममा आउनुभएको थियो।—मत्ति २१:९; लुका १३:३५.

८. पृथ्वीमा आउनुअघि नै येसु कसरी यहोवाको प्रतिनिधि हुनुहुन्थ्यो? (प्रस्थान २३:२०, २१)

८ बाइबलमा येसुलाई वचन भनिएको छ किनभने यहोवाले येसुमार्फत स्वर्गदूतहरू अनि मानिसहरूलाई जानकारी र निर्देशनहरू दिनुभयो। (युह. १:१-३) इस्राएलीहरू निर्जनभूमिमा छँदा तिनीहरूको रक्षा गर्न यहोवाले पठाउनुभएको स्वर्गदूत सम्भवतः येसु हुनुहुन्थ्यो। इस्राएलीहरूलाई ती स्वर्गदूतको कुरा मान्‍नू भन्‍नुहुँदा यहोवाले यसो पनि भन्‍नुभयो: “ऊ मेरो नाममा आएको मेरो प्रतिनिधि हो।”a (प्रस्थान २३:२०, २१ पढ्‌नुहोस्‌।) यहोवाले किन यसो भन्‍नुभयो? किनभने येसु यहोवाको तर्फबाट बोल्नुहुन्छ र उहाँको नाम उच्च र पवित्र पार्ने प्रमुख व्यक्‍ति येसु नै हुनुहुन्छ।

“हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌”

९. येसुको लागि यहोवाको नाम महत्त्वपूर्ण थियो भनेर किन भन्‍न सक्छौँ?

९ पृथ्वीमा आउनुअघि नै येसुको लागि यहोवाको नाम एकदमै महत्त्वपूर्ण थियो। त्यसैले पृथ्वीमा छँदा पनि उहाँले यहोवाको नामलाई महत्त्वपूर्ण नठान्‍ने त कुरै थिएन। अनि येसुले गर्नुभएका सबै कामकुरामा त्यो स्पष्टै देखियो। पृथ्वीमा आफ्नो सेवाको अन्ततिर येसुले यहोवालाई यसरी पुकार्नुभयो: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” त्यसपछि तुरुन्तै यहोवाले ठूलो आवाजमा यसो भन्‍नुभयो: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”—युह. १२:२८.

१०-११. (क) येसुले कसरी यहोवाको नाम महिमित पार्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।) (ख) यहोवाको नाम पवित्र र उच्च पार्नु किन आवश्‍यक थियो?

१० येसुले पनि यहोवाको नाम महिमित पार्नुभयो। कसरी? उहाँले मानिसहरूलाई यहोवाका मनमोहक गुणहरू र कामहरूबारे बताउनुभयो। तर येसुलाई यहोवाको नाम महिमित पार्नुमा उहाँको नाम पवित्र र उच्च पार्नु पनि समावेश छ भन्‍ने कुरा थाह थियो।b त्यसैले यो कुरा एकदमै महत्त्वपूर्ण छ भनेर बुझाउन येसुले चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।”—मत्ति ६:९.

११ यहोवाको नाम पवित्र र उच्च पार्नु किन आवश्‍यक थियो? किनभने अदनको बगैँचामा सैतानले यहोवाको अनादर र बदनाम गऱ्‍यो। त्यसले यहोवा झूटा हुनुहुन्छ अनि उहाँले आदम र हव्वालाई असल कुरादेखि वञ्चित गरिरहनुभएको छ भन्‍ने आरोप लगायो। (उत्प. ३:१-५) त्यसले यहोवाको तौरतरिका ठीक छैन भन्‍ने आरोप पनि लगायो। यी झूटा आरोपहरूले गर्दा यहोवाको नाममा कलङ्‌क लाग्यो। पछि सैतानले अय्युबको समयमा मानिसहरूले यहोवालाई प्रेम गरेकोले होइन बरु उहाँबाट केही पाउने आशाले मात्र उहाँको सेवा गर्छन्‌ भन्‍ने दाबी गऱ्‍यो। अनि त्यसले परीक्षाहरू भोग्नुपर्दा कोही पनि यहोवाप्रति वफादार रहिरहने छैनन्‌ समेत भन्यो। (अय्यु. १:९-११; २:४) त्यसैले यहोवा र सैतानमा को चाहिँ झूटा हो भनेर प्रमाणित गर्न समय लाग्ने थियो।

येसुले मानिसहरूको भीडलाई डाँडाको उपदेश दिइरहनुभएको दृश्‍य।

येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको नाम पवित्र पार्नुको महत्त्वबारे सिकाउनुभयो (अनुच्छेद १० हेर्नुहोस्‌)


“म आफ्नो जीवन अर्पण गर्छु”

१२. यहोवाको नामको खातिर येसु के गर्न तयार हुनुभयो?

१२ येसु यहोवालाई असाध्यै प्रेम गर्नुहुन्थ्यो। त्यसैले यहोवाको नाम पवित्र र उच्च पार्न उहाँ जे गर्न पनि तयार हुनुहुन्थ्यो। हो, यहोवाको नामको खातिर येसु मर्न समेत तयार हुनुहुन्थ्यो।c त्यसैले येसुले यसो भन्‍नुभयो: “म आफ्नो जीवन अर्पण गर्छु।” (युह. १०:१७, १८) पहिलो मानव दम्पती आदम र हव्वा त्रुटिरहित थिए तर तिनीहरूले यहोवालाई धोका दिए र सैतानको पक्ष लिए। अर्कोतर्फ येसु भने पृथ्वीमा आउनुभएर यहोवाप्रतिको आफ्नो प्रेम प्रमाणित गर्न तयार हुनुभयो। उहाँ जीवनभर यहोवाप्रति वफादार रहनुभयो र उहाँले यहोवाको नाममा आँच आउने कुनै पनि कुरा गर्नुभएन। (हिब्रू ४:१५; ५:७-१०) उहाँ यातनाको खम्बामा पीडादायी मृत्यु भोग्न समेत तयार हुनुभयो। (हिब्रू १२:२) यसरी येसुले यहोवा र उहाँको नामलाई प्रेम गरेको देखाउनुभयो।

१३. सैतानलाई झूटो साबित गर्ने सबैभन्दा उपयुक्‍त व्यक्‍ति येसु हुनुहुन्थ्यो, किन? (चित्र पनि हेर्नुहोस्‌।)

१३ पृथ्वीमा छँदा येसुले गर्नुभएका र भन्‍नुभएका कुराले यहोवा होइन, सैतान झूटा हो भनेर प्रमाणित गऱ्‍यो। (युह. ८:४४) यहोवालाई सबैभन्दा राम्ररी चिन्‍ने व्यक्‍ति येसु नै हुनुहुन्छ। त्यसैले सैतानले लगाएका आरोपहरूमा अलिकति मात्र सत्यता थियो भने पनि त्यो येसुलाई थाह हुने थियो। तर त्यसमा कुनै सत्यता थिएन। त्यसैले येसु सधैँ यहोवाको नामको पक्षमा खडा हुनुभयो। आफ्नो मृत्यु हुनै लाग्दा येसुलाई यहोवाले त्याग्नुभयो जस्तो लाग्यो। तैपनि येसु यहोवाप्रति वफादार रहनुभयो र मृत्यु भोग्न तयार हुनुभयो।—मत्ति २७:४६.d

येसुलाई यातनाको खम्बामा झुन्ड्याइएको छ।

पृथ्वीमा छँदा येसुले गर्नुभएका र भन्‍नुभएका कुराले यहोवा होइन, सैतान झूटा हो भनेर प्रमाणित गऱ्‍यो (अनुच्छेद १३ हेर्नुहोस्‌)


‘तपाईँले मलाई दिनुभएको काम मैले पूरा गरेको छु’

१४. यहोवाले येसुलाई कस्तो इनाम दिनुभयो?

१४ आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात प्रार्थनामा येसुले यसो भन्‍नुभयो: ‘तपाईँले मलाई दिनुभएको काम मैले पूरा गरेको छु।’ यहोवाप्रति वफादार रहेकोमा उहाँले इनाम दिनुहुनेछ भनेर येसुलाई पूरा भरोसा थियो। (युह. १७:४, ५) अनि उहाँको यस्तो भरोसा खेर गएन। यहोवाले येसुलाई फेरि जीवित पार्नुभयो। (प्रेषि. २:२३, २४) साथै उहाँले येसुलाई स्वर्गमा अझ उच्च पद दिनुभयो। (फिलि. २:८, ९) त्यसपछि येसुले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्न थाल्नुभयो। परमेश्‍वरको राज्यले के गर्नेछ? येसुले नमुना प्रार्थनामा “तपाईँको राज्य आओस्‌” भन्‍नुभएपछि के भन्‍नुभयो, याद गर्नुहोस्‌। त्यहाँ यस्तो लेखिएको छ: “तपाईँको [यहोवाको] इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ति ६:१०.

१५. येसुले के गर्नुहुनेछ?

१५ अब चाँडै येसुले यहोवाका शत्रुहरूविरुद्ध युद्ध लड्‌नुहुनेछ र दुष्टलाई आरमागेडोनमा नाश गर्नुहुनेछ। (प्रका. १६:१४, १६; १९:११-१६) त्यसको केही समयपछि नै येसुले सैतानलाई “अगाध खाडल”-मा हुऱ्‍याउनुहुनेछ र त्यो पूर्णतया निष्क्रिय हुनेछ। (प्रका. २०:१-३) त्यसपछि येसुले हजार वर्षको लागि शासन गर्नुहुनेछ अनि त्यस दौडान पृथ्वीमा शान्ति छाउनेछ र उहाँले मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। उहाँले मरेकाहरूलाई जीवित पार्नुहुनेछ। उहाँले पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुहुनेछ। यसरी यहोवाको उद्देश्‍य पूरा हुनेछ।—प्रका. २१:१-४.

१६. ख्रिष्टको हजार वर्षीय शासनपछि मानिसहरूको अवस्था कस्तो हुनेछ?

१६ ख्रिष्टको हजार वर्षीय शासनपछि मानिसहरूको अवस्था कस्तो हुनेछ? मानिसहरू पूर्णतया त्रुटिरहित हुनेछन्‌ र पापको नामोनिसान हुनेछैन। तिनीहरूले फिरौतीको बलिदानको आधारमा आफ्ना पापहरूको लागि क्षमा माग्नुपर्नेछैन न त कुनै मध्यस्थकर्ता वा पुजारीहरूको आवश्‍यकता पर्नेछ। अनि आदमको पापले गर्दा आएको ‘मृत्यु नामेट पारिसकिएको हुनेछ।’ मरेकाहरू फेरि जीवित भइसकेका हुनेछन्‌। त्यसैले चिहानहरू रित्तो हुनेछन्‌। पृथ्वीमा जीवित सबै जना त्रुटिरहित हुनेछन्‌।—१ कोरि. १५:२५, २६.

१७-१८. (क) ख्रिष्टको हजार वर्षीय शासनपछि अरू के हुनेछ? (ख) येसुले हजार वर्ष शासन गरिसक्नुभएपछि के गर्नुहुनेछ? (१ कोरिन्थी १५:२४, २८) (चित्र पनि हेर्नुहोस्‌।)

१७ ख्रिष्टको हजार वर्षीय शासनपछि अरू के हुनेछ? सैतानले सुरुमा उठाएको विवाद सदाको लागि सुल्झनेछ। सैतानले अदनको बगैँचामा यहोवा झूटा हुनुहुन्छ र उहाँले मानिसहरूलाई असल कुरादेखि वञ्चित गर्नुभएको छ भन्‍ने आरोप लगाएको थियो। त्यसैले सैतानले यहोवा मायालु हुनुहुन्‍न र उहाँको शासन गर्ने तरिका पनि ठीक छैन भन्‍न खोज्दै थियो। तर त्यस समयदेखि यता यहोवालाई प्रेम र आदर गर्ने उहाँका सेवकहरूले पटक-पटक उहाँको नाउँ पवित्र र उच्च पारेका छन्‌। त्यसैले हजार वर्षीय शासनको अन्तसम्ममा यहोवाको नाम पूर्णतया उच्च पारिएको हुनेछ। उहाँले आफू मायालु परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गरिसक्नुभएको हुनेछ।

१८ सैतानले यहोवामाथि लगाएका आरोपहरू झूटा हुन्‌ भनेर सबैले थाह पाउनेछन्‌। येसुले हजार वर्ष शासन गरिसक्नुभएपछि के गर्नुहुनेछ? के उहाँले सैतानले जस्तै यहोवाको विद्रोह गर्नुहुनेछ? अहँ, कदापि गर्नुहुनेछैन! (१ कोरिन्थी १५:२४, २८ पढ्‌नुहोस्‌।) बरु येसुले त्यो राज्य यहोवालाई नै फिर्ता गर्नुहुनेछ। त्यसपछि उहाँ आफै पनि यहोवाको शासनको अधीनमा बस्नुहुनेछ। यहोवाप्रतिको प्रेमले गर्दा येसुले आफूले पाएको सबै शक्‍ति र अख्तियार यहोवालाई सुम्पनुहुनेछ।

स्वर्गमा येसुले यहोवालाई आफ्नो मुकुट फिर्ता गर्दै हुनुहुन्छ।

येसुले हजार वर्षीय शासनपछि परमेश्‍वरको राज्य राजीखुसीले यहोवालाई फिर्ता गर्नुहुनेछ (अनुच्छेद १८ हेर्नुहोस्‌)


१९. येसुको लागि यहोवाको नाम कत्तिको महत्त्वपूर्ण छ?

१९ यस लेखबाट यहोवाले येसुलाई आफ्नो नाम दिनुको कारण बुझ्न सक्यौँ। यहोवाको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्‍त व्यक्‍ति येसु नै हुनुहुन्छ भनेर पनि थाह पायौँ। येसुको लागि यहोवाको नाम सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने त्यही नामको खातिर उहाँ मर्न समेत तयार हुनुभयो। अनि हजार वर्षीय शासन सकिएपछि त्यही नामको खातिर उहाँ सबै कुरा यहोवालाई सुम्पन तयार हुनुहुनेछ। हामी पनि कसरी येसुको अनुकरण गर्न सक्छौँ? यस प्रश्‍नको जवाफ हामी अर्को लेखमा पाउनेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • येसुले चेलाहरूलाई यहोवाको नाम कसरी प्रकट गर्नुभयो?

  • यहोवाले येसुलाई आफ्नो नाम दिनुभयो भन्‍नुको अर्थ के हो?

  • यहोवाको नामको खातिर येसु के गर्न तयार हुनुभयो र किन?

गीत १६ यहोवा र उहाँको पुत्रको प्रशंसा

a कहिलेकाहीँ स्वर्गदूतहरूले पनि यहोवाको प्रतिनिधिको रूपमा सेवा गरेका छन्‌ र तिनीहरूले उहाँको नाममा सन्देश सुनाएका छन्‌। त्यसैले बाइबलमा हेऱ्‍यौँ भने कुनै-कुनै ठाउँमा स्वर्गदूतले बोलेको कुरालाई यहोवाले बोल्नुभएको जस्तैगरि लेखिएको छ। (उत्प. १८:१-३३) त्यसैगरि बाइबलमा यहोवाले मोसालाई व्यवस्था दिनुभयो भनेर बताइएको छ। तर अरू पदहरू पनि हेऱ्‍यौँ भने यहोवाले स्वर्गदूतहरूमार्फत व्यवस्था दिनुभयो भनेर बताइएको पाउँछौँ।—लेवी २७:३४; प्रेषि. ७:३८, ५३; गला. ३:१९; हिब्रू २:२-४.

b थप व्याख्या: “पवित्र पार्नु” भनेको आदर गर्नु, श्रद्धा गर्नु र पवित्र ठान्‍नु हो। “उच्च पार्नु” भनेको कसैमाथि लागेको आरोपलाई झूटो साबित गर्नु, तिनको नाममा लागेको कलङ्‌क मेटाउनु वा तिनलाई निर्दोष साबित गर्नु हो।

c येसुको मृत्युले गर्दा मानिसहरूले अनन्त जीवन पाउने बाटो पनि खुल्यो।

d अप्रिल २०२१ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने