पाठकहरूको प्रश्न
अहिले भइरहेको प्रचारको काम कहिलेसम्म चल्नेछ?
येसुले यसो भन्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) यस पदका साथै पद ६ र १३ मा “अन्त” भनेर अनुवाद गरिएको ग्रीक शब्द तेलोस् हो। यो शब्दले आरमागेडोनमा सैतानको संसार पूरै विनाश हुने कुरालाई बुझाउँछ। (प्रका. १६:१४, १६) यसको मतलब हामीले आरमागेडोन सुरु हुनुभन्दा ठ्याक्कै अघिसम्म सुसमाचार प्रचार गरिरहेका हुनेछौँ। यो हाम्रो नयाँ बुझाइ हो।
हामीले पहिला महान् बेबिलोनको विनाश हुँदा महासङ्कष्ट सुरु हुनेछ र त्यतिबेलासम्म मात्र सुसमाचार प्रचार गरिनेछ भनेर बुझेका थियौँ। (प्रका. १७:३, ५, १५, १६) हाम्रो पहिलाको बुझाइ महासङ्कष्ट सुरु भएपछि “यहोवाको अनुग्रहको वर्ष” अन्त हुनेछ भन्ने थियो। (यसै. ६१:२) साथै यहोवाप्रति वफादार भएको कुरा देखाइसकेका व्यक्तिहरू मात्र महासङ्कष्टमा बच्नेछन् भनेर हामीले सोचेका थियौँ। अनि तिनीहरूलाई ईसापूर्व ६०७ मा यरुसलेमको विनाशबाट बचेका यहुदीहरूसित तुलना गर्न सकिन्छ जस्तो हामीलाई लाग्थ्यो। किनभने तिनीहरूले यहोवाको उपासना गरेकोले र दुष्टतालाई घृणा गरेकोले तिनीहरूको निधारमा बचाउको चिह्न लगाइएको थियो। (इज. ५:११; ९:४) तर त्यो तुलना येसुले मत्ति २४:१४ मा भन्नुभएका शब्दहरूसित मेल खाँदैन। किनभने त्यस पदअनुसार आरमागेडोनमा सैतानको संसार पूरै विनाश हुनुभन्दा ठ्याक्क अघिसम्म मानिसहरूले सुसमाचार स्विकार्ने मौका पाउनेछन्।
मत्ति २४:१४ को नयाँ बुझाइले गर्दा प्रकाश १६:२१ मा बताइएको ‘ठूलठूला असिनारूपी’ सन्देशबारे हाम्रो बुझाइमा पनि छाँटकाँट गर्नुपर्ने देखिन्छ। किनभने यी दुइटा पदहरू एकअर्कासित बाझिँदैन भनेर थप अनुसन्धानले देखाएको छ। हामी किन त्यसो भन्न सक्छौँ? यो कुरा बुझ्न मानिसहरूले परमेश्वरको राज्यको सन्देशप्रति कस्तो प्रतिक्रिया देखाउँछन्, त्यो विचार गरौँ। प्रेषित पावलले लेखेझैँ “उद्धार पाउनेहरूका लागि” यो सन्देश “जीवनको सुगन्ध” अर्थात् सुसमाचार हो। तर परमेश्वरका शत्रुहरूको लागि यो सन्देश “मृत्युको दुर्गन्ध” अर्थात् नराम्रो समाचार हो। (२ कोरि. २:१५, १६) तिनीहरू परमेश्वरको राज्य सन्देशलाई घृणा गर्छन् किनभने त्यसले यी कुराहरू पर्दाफास गर्छ: तिनीहरूले प्रेम गर्ने यो संसार दुष्ट छ, यसमाथि सैतानले शासन गरिरहेको छ र यो चाँडै विनाश हुनेछ।—युह. ७:७; १ युह. २:१७; ५:१९.
याद गर्नुहोस्, प्रकाश १६:२१ मा बताइएअनुसार असिनारूपी सन्देश “ज्यादै विनाशकारी” हुनेछ। यसको मतलब महासङ्कष्टको दौडान प्रचारकार्य अझ सशक्त र व्यापक हुनेछ। त्यसले गर्दा अझ धेरै मानिसले यहोवाको नामबारे थाह पाउनेछन्। (इज. ३९:७) के महान् बेबिलोनको विनाश भइसकेपछि राज्य सन्देश स्विकार्ने र त्यसलाई सुगन्ध ठान्ने मानिसहरू पनि हुनेछन्? हुन सक्छन्। तिनीहरूले वर्षौँदेखि यहोवाका साक्षीहरूले झूटो धर्मको विनाश हुनेछ भनेर बताएको कुरा सम्झन सक्छन् वा त्यसबारे तिनीहरूले त्यतिबेला सिक्न सक्छन्।
यसलाई अझ राम्ररी बुझ्न मिश्रमाथि दस विपत्ति आएपछि के भएको थियो, विचार गरौँ। यहोवाले ‘मिश्रका सबै देवतालाई दण्ड दिनुभएपछि’ इस्राएलीहरूसँगै “विदेशीहरूको ठूलो दल” पनि मिश्रबाट निस्क्यो। (प्रस्थ. १२:१२, ३७, ३८) ती विदेशीहरूले मोसाले दस विपत्तिबारे भनेका सबै कुरा पूरा भएको देखेपछि इस्राएलीहरूसँगै जाने छनौट गरेका हुन सक्छन्।
महान् बेबिलोनको विनाशपछि यहोवाको पक्ष लिने मानिसहरूले पृथ्वीमा अझै बाँकी भएका ख्रिष्टका भाइहरूलाई साथ दिने मौका पाउनेछन्। (मत्ति २५:३४-३६, ४०) तिनीहरूले त्यो मौका आरमागेडोन सुरु हुनुभन्दा अलिक अघिसम्म मात्र पाउनेछन्। किनभने त्यतिबेला पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूले स्वर्गीय इनाम पाउनेछन्।
यो नयाँ बुझाइले यहोवा मानिसहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र कृपा देखाउनुहुन्छ भनेर जोड दिन्छ। हो, “उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।”—२ पत्रु. ३:९.