जीवनी
मजस्ती लजालु केटी पनि मिसनरी बन्न सकेँ
सानी छँदा म असाध्यै लजालु थिएँ र मानिसहरूसित कुरा गर्न डराउँथेँ। तर यहोवाको मदत पाएर मैले मानिसहरूलाई प्रेम गर्न सिकेँ र मिसनरी बन्न सकेँ। उहाँले विभिन्न व्यक्तिहरू चलाएर मलाई मदत गर्नुभयो। सुरुमा मलाई बुबाले यहोवाबारे राम्रोसँग सिकाउनुभयो। अनि एउटी जवान बहिनीको राम्रो उदाहरणबाट पनि मैले धेरै कुरा सिकेँ। विवाह गरिसकेपछि भने मेरो श्रीमान्ले मायालु ढङ्गमा अनि धीरजी भई मलाई प्रोत्साहन दिइरहनुभयो। अब मेरो विषयमा म तपाईँहरूलाई अझ धेरै कुरा बताउँछु।
मेरो जन्म १९५१ मा अस्ट्रियाको भियनामा भयो। म सानी छँदा असाध्यै लजालु थिएँ र मानिसहरूसित कुरा गर्न अप्ठ्यारो मान्थेँ। तर म परमेश्वरलाई भने प्रार्थना गर्थेँ र उहाँलाई आफ्नो कुरा बताउन अप्ठ्यारो मान्दिनथेँ। मेरो बुबाआमा क्याथोलिक हुनुहुन्थ्यो। तर म नौ वर्षको छँदा बुबाले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो। त्यसको केही समयपछि आमाले पनि अध्ययन सुरु गर्नुभयो।
मेरी बहिनी एलिसाबेथसित (बायाँतर्फ)
हामी भियनाको डब्लिङ मण्डलीमा जान थाल्यौँ। हामी परिवारै मिलेर थुप्रै आध्यात्मिक गतिविधिमा भाग लिन्थ्यौँ। जस्तै, सँगै बाइबल पढ्थ्यौँ, सभाहरूमा जान्थ्यौँ अनि सम्मेलनहरूमा स्वयंसेवा गर्थ्यौँ। सानै छँदादेखि बुबाले मलाई यहोवाप्रति गहिरो प्रेम विकास गर्न मदत गर्नुभयो। वास्तवमा भन्ने हो भने बुबा हामी दिदीबहिनीले अग्रगामी सेवा गरेको चाहनुहुन्थ्यो र त्यसबारे प्रार्थना पनि गर्नुहुन्थ्यो। तर मेरो भने त्यस्तो लक्ष्य थिएन।
पूर्ण-समय सेवाको सुरुवात
मैले १४ वर्षको उमेरमा १९६५ मा बप्तिस्मा गरेँ। तर चिन्दै नचिनेका मानिसहरूलाई प्रचार गर्न मलाई अप्ठ्यारो लाग्थ्यो। ममा आत्मविश्वासको पनि कमी थियो। त्यसैले मलाई आफ्नै उमेरका जवानहरूसित मात्र सङ्गत गर्न मन पर्थ्यो र म तिनीहरू जस्तै बन्न चाहन्थेँ। हुनत मैले बप्तिस्मा गरिसकेकी थिएँ तर यहोवाको सेवा नगर्ने जवानहरूसित मैले धेरै समय बिताउन थालेँ। तिनीहरूसित हुँदा मलाई रमाइलो लाग्थ्यो। तर यहोवाको उपासना नगर्ने व्यक्तिहरूसित धेरै समय बिताउनु हुँदैन भनेर थाह भएकोले मेरो अन्तस्करणले मलाई घोच्थ्यो। तैपनि तिनीहरूलाई छोड्न सकिरहेकी थिइनँ तर पछि भने सकेँ।
मैले डोरोथीबाट (बायाँतर्फ) धेरै कुरा सिकेँ
त्यही समयतिर डोरोथी हाम्रो मण्डलीमा आइन्। उनी १६ वर्षकी थिइन् र घरघरको प्रचारकार्यमा असाध्यै जोसिलो थिइन्। म उनीभन्दा अलि जेठी थिएँ तर प्रचारकार्यमा भने खासै जोसिलो थिइनँ। मैले मनमनै सोचेँ, ‘मेरो आमाबुबा साक्षी हुनुहुन्छ तर डोरोथीको परिवारमा अरू कोही पनि साक्षी छैन। त्यसमाथि उनी आफ्नी बिरामी आमाको हेरचाह गर्दै छिन्। तैपनि प्रचारकार्यमा भने सधैँ भाग लिन्छिन्।’ उनको राम्रो उदाहरणले गर्दा म पनि यहोवाको सेवामा अझ धेरै गर्न उत्प्रेरित भएँ। पछि हामीले सँगै अग्रगामी सेवा गर्न थाल्यौँ। सुरुमा सहायक अग्रगामी गऱ्यौँ अनि पछि नियमित अग्रगामी पनि गऱ्यौँ। डोरोथीको जोस ममा पनि सऱ्यो। मैले पहिला कहिल्यै अरूलाई बाइबल अध्ययन गराएकी थिइनँ तर उनले मलाई त्यसो गर्न पनि मदत गरिन्। समय बित्दै जाँदा मलाई मानिसहरूसित घरघरमा, बाटोमा अनि अरू ठाउँहरूमा पनि कुरा गर्न सजिलो लाग्न थाल्यो।
मैले अग्रगामी सुरु गरेको वर्ष अस्ट्रियाबाट एक जना भाइ हाम्रो मण्डलीमा आउनुभयो। उहाँको नाम हाइन्ज थियो। उहाँले क्यानाडा गएको बेला आफ्नो दाइबाट सत्य सिक्नुभएको रहेछ। उहाँलाई हाम्रो मण्डलीमा विशेष अग्रगामीको रूपमा खटाइएको थियो। मलाई उहाँ सुरुदेखि नै मन पर्थ्यो। उहाँ मिसनरी बन्न चाहनुहुन्थ्यो तर मलाई भने मिसनरी बन्ने इच्छा नै थिएन। त्यसैले उहाँलाई मन पराउँछु भन्ने छनकै दिइनँ। पछि हामीले डेटिङ गऱ्यौँ अनि विवाह पनि गऱ्यौँ। त्यसपछि अस्ट्रियामा सँगै अग्रगामी गर्न थाल्यौँ।
मिसनरी सेवातर्फ अघि बढ्दै
हाइन्जले मिसनरी सेवा गर्ने इच्छाबारे अक्सर कुरा गरिरहनुहुन्थ्यो। उहाँले मलाई कहिल्यै दबाब दिनुभएन तर विभिन्न प्रश्नहरू सोधेर मलाई त्यसबारे सोच्न भने मदत गर्नुभयो। जस्तै, “हाम्रा छोराछोरी नभएकोले यहोवाको सेवामा अझ धेरै गर्न सक्छौँ कि?” लजालु स्वभावको भएकीले म मिसनरी बन्ने कुरा त सोच्न समेत सक्दिनथेँ। म अग्रगामी त गर्दै थिएँ तर मिसनरी सेवाबारे सोच्दा असाध्यै डर लाग्थ्यो। तर हाइन्ज बेलाबेलामा मिसनरी सेवाबारे कुरा गरिरहनुहुन्थ्यो। उहाँले मलाई आफ्नै विषयमा चिन्ता गर्नुको साटो अरूलाई कसरी मदत गर्न सकिन्छ भनेर सोच्न प्रोत्साहन दिनुभयो। त्यो मलाई चाहिएकै सल्लाह थियो।
हाइन्ज १९७४ मा अस्ट्रियाको साल्जवर्गमा भएको सर्वो-क्रोएसियन भाषाको मण्डलीमा प्रहरीधरहरा सञ्चालन गर्दै
बिस्तारै ममा पनि मिसनरी सेवा गर्ने इच्छा जाग्यो। त्यसैले हामीले गिलियड स्कुलको लागि आवेदन भऱ्यौँ। तर शाखा निरीक्षकले मलाई अझ राम्रोसँग अङ्ग्रेजी सिक्न सुझाव दिनुभयो। त्यसपछि मैले तीन वर्षसम्म मेहनत गरेर अङ्ग्रेजी भाषा सिकेँ। तर अचम्मको कुरा, हामीलाई अस्ट्रियाको साल्जबर्गमा भएको सर्वो-क्रोएसियन भाषाको मण्डलीमा खटाइयो। त्यस इलाकामा हामीले सात वर्षसम्म सेवा गऱ्यौँ। त्यही दौडान मेरो श्रीमान् क्षेत्रीय निरीक्षक पनि नियुक्त हुनुभयो र हामीले सँगै एक वर्ष त्यहाँका सर्वो-क्रोएसियन मण्डलीहरूको भ्रमण गऱ्यौँ। यो भाषा गाह्रो थियो तर हामीले थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गऱ्यौँ।
शाखाले हामीलाई १९७९ मा बुल्गेरिया जान भन्यो। त्यहाँ हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। त्यसैले हामीलाई घुम्न गएको जस्तै गरी जान अनि प्रचार नगर्न भनिएको थियो। त्यतिबेला बुल्गेरियाको राजधानी सोफियामा पाँच जना बहिनी थिए। त्यसैले तिनीहरूको लागि हामीले केही प्रकाशनहरू लुकाएर लग्यौँ। हामीले ती प्रकाशनहरू एकदमै स-सानो साइजमा बनाएर लगेका थियौँ। मलाई असाध्यै डर लागेको थियो। तर यहोवाले मलाई मदत गर्नुभयो। कुनै पनि बेला गिरफ्तार हुन सक्ने खतरा भए तापनि ती बहिनीहरू असाध्यै साहसी थिए र आनन्दित देखिन्थे। त्यो देखेर मैले पनि यहोवाको सङ्गठनले अह्राएको जुनसुकै काम गर्न साहस पाएँ।
केही समयपछि हामीले गिलियडको लागि फेरि आवेदन भऱ्यौँ। यसपालि भने हामीले निम्तो पायौँ। अब अमेरिका गएर अङ्ग्रेजीमै पढ्नुपर्ने होला जस्तो लागेको थियो। तर नोभेम्बर १९८१ मा जर्मनी शाखामै पनि गिलियड स्कुल सञ्चालन हुन थाल्यो। त्यसैले जर्मन भाषामै पढ्न पाएकोले मलाई सजिलो भयो। गिलियडपछि हामीलाई कहाँ खटाइन्छ होला जस्तो लाग्यो।
युद्धग्रस्त देशमा मिसनरी सेवा
गिलियडपछि हामीलाई केन्या खटाइयो। तर केन्या शाखाले हामीलाई छिमेकी देश युगाण्डामा गएर सेवा गर्न कस्तो होला भनेर सोध्यो। त्यहाँ लगभग १० वर्षअघि इदि अमिन भन्ने जर्नेलले सत्ता आफ्नो हातमा लिएका थिए। तिनको तानाशाही शासनले गर्दा हजारौँको ज्यान गयो र लाखौँको जीवन कष्टकर भयो। त्यसपछि १९७९ मा इदि अमिनका विद्रोहीहरूले सत्ता आफ्नो हातमा लिए। त्यस्तो युद्धग्रस्त देशमा गएर कसरी सेवा गर्ने होला जस्तो मलाई लागेको थियो। तर गिलियडले हामीलाई यहोवामाथि भरोसा राख्न सिकाएको थियो। त्यसैले हामी युगाण्डा जान तयार भयौँ।
युगाण्डाको अवस्था डामाडोल थियो। त्यहाँको अवस्थाबारे हाइन्जले भन्नुभएको कुरा २०१० को वार्षिक पुस्तक-मा (अङ्ग्रेजी) लेखिएको छ। उहाँले यस्तो भन्नुभएको थियो: “त्यहाँको सरकारले पानी, बिजुली-बत्ती अनि यस्तै अन्य सेवा-सुविधाहरू दिन सकिरहेको थिएन। फोनले पनि काम गरिरहेको थिएन। . . . दिनदहाडै मानिसहरूलाई लुट्ने अनि गोली हान्ने गरिन्थ्यो। रातको समय त झनै खतरनाक थियो। त्यसैले मानिसहरू रात परेपछि घरबाहिर निस्कँदैनथे। अनि राती घरमा त्यस्ता मान्छेहरू नआऊन् भनेर प्रार्थना गरेर बस्थे।” यस्ता चुनौतीहरूको बाबजुद त्यहाँका भाइबहिनीले खुसी भई यहोवाको सेवा गरिरहेका थिए।
वाइस्वा परिवारको घरमा खाना पकाउँदै
सन् १९८२ मा हामी युगाण्डाको राजधानी काम्पाला पुग्यौँ। त्यहाँ पुगेपछि हामी पाँच महिनासम्म साम र क्रिस्टिना वाइस्वाको घरमा बस्यौँ। उहाँहरूका पाँच जना छोराछोरी अनि अरू चार जना आफन्त पनि सँगै एउटै घरमा बस्थे। उहाँहरूको जीवन कठिन थियो। त्यसैले प्रायजसो उहाँहरू दिनमा एक छाक मात्र खानुहुन्थ्यो। तैपनि उहाँहरूले हामीलाई आफ्नो घरमा ठाउँ दिनुभयो। यो देख्दा हाम्रो मनै छोयो। वाइस्वा परिवारसित बस्दा हामीले थुप्रै व्यावहारिक कुराहरू सिक्यौँ, जुन हाम्रो मिसनरी जीवनको लागि उपयोगी हुने थियो। जस्तै, हामीले थोरै पानीले नुहाउन र त्यही पानी ट्वाइलेटमा प्रयोग गर्न सिक्यौँ। पछि १९८३ मा हामी काम्पालाकै अलि सुरक्षित ठाउँमा सऱ्यौँ।
त्यहाँ प्रचारकार्य एकदमै रमाइलो थियो। मलाई अझै याद छ, एउटा महिना त हामीले चार हजारभन्दा धेरै वटा पत्रिका दिएका थियौँ। तर हामीलाई त्यहाँ सबैभन्दा धेरै मन परेको चाहिँ मानिसहरू नै हुन्। तिनीहरू ईश्वरमाथि आस्था राख्थे र बाइबलबारे कुरा गर्न चाहन्थे। बाइबल अध्ययन पनि थुप्रै हुन्थ्यो। हामी दुवैले १०-१५ वटा जति अध्ययन सञ्चालन गर्थ्यौँ। हाम्रा विद्यार्थीहरूबाट पनि हामीले धेरै कुरा सिक्यौँ। जस्तै, तिनीहरू सधैँ सकारात्मक मनोभाव राख्थे। हरेक हप्ता सभामा हिँडेरै जानुपर्थ्यो। तैपनि तिनीहरू कहिल्यै गुनासो गर्दैनथे र सधैँ हँसिलो देखिन्थे।
युगाण्डामा १९८५ र १९८६ मा पनि सशस्त्र द्वन्द्व भयो। हामी बाटोहरूमा अक्सर साना केटाकेटीहरू पनि हतियार भिरेर हिँडिरहेको देख्थ्यौँ र ठाउँ-ठाउँमा चेकिङ गर्न तिनीहरूलाई नै राखिएको हुन्थ्यो। त्यस्तो सशस्त्र द्वन्द्वको बेला होसियार भई प्रचारकार्यमा लाग्न र धेरै नडराउन हामी प्रार्थना गरेर यहोवासित मदत माग्थ्यौँ। अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ पनि दिनुहुन्थ्यो। हाम्रो कुरा सुन्न चाहने मानिसलाई भेट्दा हामी डर-चिन्ता सबै बिर्सन्थ्यौँ।
हाइन्ज र म टाटयानासित (बीचमा)
विदेशीहरूलाई साक्षी दिँदा पनि राम्रो नतिजा हासिल भयो। जस्तै, हामीले रूसको टार्टरस्टानबाट आएका एक विवाहित दम्पती मुरात र डिलबार इबाटुलिनलाई भेट्यौँ। मुरात डाक्टर थिए। तिनीहरू दुवै जनाले बाइबल अध्ययन गरे र अहिलेसम्म पनि वफादार भई यहोवाको सेवा गरिरहेका छन्। मैले युक्रेनबाट आएकी टाटयाना भिलेस्कालाई पनि साक्षी दिने मौका पाएँ। त्यतिबेला तिनी असाध्यै निराश थिइन् र आत्महत्या गर्नेबारे सोचिरहेकी थिइन्। बप्तिस्मा गरेपछि तिनी युक्रेन फर्किन् र हाम्रा प्रकाशनहरू युक्रेनी भाषामा अनुवाद गर्न निकै मदत गरिन्।a
नयाँ असाइनमेन्ट
हामी १९९१ मा छुट्टी मनाउन अस्ट्रिया गएका थियौँ। त्यहीँ छँदा त्यहाँको शाखाले हामीलाई हाम्रो नयाँ असाइनमेन्टबारे खबर गऱ्यो। अब हामी बुल्गेरिया जानुपर्ने थियो। पूर्वी युरोपमा कम्युनिस्ट शासनको अन्त भएपछि बुल्गेरियामा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। त्यहाँ पहिला हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। मैले पहिला बताएझैँ त्यहाँ जाँदा हामीले लुकाएर केही प्रकाशनहरू लगेका थियौँ तर अब भने हामीलाई त्यहाँ प्रचार गर्नकै लागि पठाइँदै थियो।
भाइहरूले हामीलाई सीधै बुल्गेरिया जान निर्देशन दिनुभयो। त्यसैले हामीले युगाण्डा फर्केर आफ्ना सामानहरू प्याक गर्न र साथीभाइसित बिदाबारी गर्न पाएनौँ। हामीले जर्मनीको बेथेलमा गएर एउटा गाडी लियौँ अनि बुल्गेरियातर्फ लाग्यौँ। हामीलाई सोफियाको एउटा समूहमा खटाइयो। त्यहाँ २० जना जति प्रकाशक थिए।
बुल्गेरियामा हामीले छुट्टै प्रकारका चुनौतीहरूको सामना गऱ्यौँ। पहिलो कुरा त, हामीलाई त्यहाँको भाषा आउँदैनथ्यो। अनि अर्को कुरा बुल्गेरियन भाषामा दुइटा मात्र प्रकाशन उपलब्ध थियो। ती हुन्: अनन्त जीवनतर्फ लैजाने सत्य र बाइबलका कथाहरू भएको मेरो पुस्तक। त्यसमाथि हामीलाई बाइबल अध्ययनहरू सुरु गर्न पनि गाह्रो भइरहेको थियो। यी सबै चुनौतीहरूको बाबजुद हाम्रो सानो समूह जोसका साथ प्रचारकार्यमा भाग लिन्थ्यो। तर हामीले प्रचार गरेको त्यहाँको अर्थोडक्स चर्चलाई पटक्कै मन परेन। त्यसैले तिनीहरूले हामीलाई खेदो गर्न थाले।
सन् १९९४ मा सरकारले यहोवाका साक्षीहरूले पाएको कानुनी मान्यतालाई रद्द गऱ्यो। त्यसपछि साक्षीहरूलाई एउटा खतरनाक गुटको रूपमा हेर्न थालियो। केही भाइहरू गिरफ्तार भए। सञ्चारमाध्यमले हामीबारे नानाथरीका झूटहरू फैलायो। जस्तै, यहोवाका साक्षीहरू आफ्ना छोराछोरीलाई रगत दिनुको साटो मर्न दिन्छन्। अनि अरू साक्षीहरूलाई आत्महत्या गर्न उक्साउँछन्। त्यसैले हामीलाई प्रचार गर्न गाह्रो भयो। प्रचार गरिरहेको बेला मानिसहरू रिसाएर हामीलाई गाली गर्थे, पुलिस बोलाइदिन्थे अनि कहिलेकाहीँ त आफ्नो अगाडि जे छ, त्यसैले हिर्काउँथे। यहाँ साहित्यहरू ल्याउन सम्भव थिएन। अनि सभाको लागि कोठा भाडामा लिन पनि गाह्रो थियो। एकचोटि त हाम्रो अधिवेशन भइरहेको बेला पुलिस आएर हाम्रो कार्यक्रम रोकिदियो। यहाँको र युगाण्डाको अवस्थाबीच आकाश-जमिनको फरक थियो। युगाण्डाका मानिसहरू असाध्यै मित्रैलो थिए र थुप्रैले हामीसित बाइबल अध्ययन गर्न चाहन्थे। तर यहाँ भने मानिसहरू हामीलाई घृणा गर्थे। यस्तो गाह्रो अवस्था हामीले कसरी सहन सक्यौँ?
यहाँका स्थानीय भाइबहिनीसित समय बिताउँदा हामीले सहने बल पायौँ। तिनीहरू सत्यलाई प्रेम गर्थे र हामीसँगै हुन पाएकोमा असाध्यै कृतज्ञ थिए। हामी एकअर्काको ख्याल राख्थ्यौँ र मदत गर्थ्यौँ। यसबाट हामीले एउटा महत्त्वपूर्ण कुरा सिक्यौँ: हामीले मानिसहरूलाई प्रेम गऱ्यौँ भने जस्तोसुकै असाइनमेन्टमा पनि रमाउन सक्छौँ।
सन् २००७ मा बुल्गेरिया शाखामा
केही वर्षपछि अवस्था सुध्रँदै गयो। सन् १९९८ मा यहोवाका साक्षीहरूले फेरि कानुनी मान्यता पाए अनि हाम्रा थुप्रै प्रकाशनहरू बुल्गेरियन भाषामा पनि उपलब्ध हुन थाल्यो। त्यसपछि २००४ मा हाम्रो शाखाको नयाँ भवन समर्पण गरियो। अहिले बुल्गेरियामा ५७ वटा मण्डली छ र २,९५३ जना प्रकाशक छन्। गत सेवा वर्षमा ६,४७५ जना स्मरणार्थमा उपस्थित भए। कुनै समय सोफियामा जम्मा पाँच जना बहिनीहरू थिए। तर अहिले यहाँ नौ वटा मण्डली छ। हामीले “थोरैचाहिँ हजार हुनेछ” भन्ने भविष्यवाणी आफ्नै आँखाअगाडि पूरा भएको देख्यौँ।—यसै. ६०:२२
स्वास्थ्य समस्याहरूसित जुझ्दै
मैले विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्नुपऱ्यो। मेरो शरीरमा ठाउँ-ठाउँमा ट्युमरहरू देखा परिरह्यो। त्यसले गर्दा पनि असाध्यै गाह्रो भयो। एकचोटि त मेरो टाउकोमा ट्युमर देखा पऱ्यो। त्यसको लागि मैले रेडिएसन थेरापी गर्नुपऱ्यो अनि इन्डियामा गएर त्यसको अप्रेसन पनि गर्नुपऱ्यो। त्यो अप्रेसन १२ घण्टा लामो थियो अनि डाक्टरहरूले धेरैजसो ट्युमर त निकालिदिए। त्यसपछि केही समय हामी इन्डिया शाखामै बस्यौँ। अनि मलाई अलि सन्चो भएपछि हामी बुल्गेरिया फर्क्यौँ।
केही समयपछि हाइन्जलाई हन्टिङटन्स् रोग लाग्यो। त्यो एक प्रकारको वंशानुगत रोग हो। त्यो रोगले गर्दा उहाँलाई हिँडडुल गर्न, बोल्न गाह्रो हुन्थ्यो र हातखुट्टा त्यत्तिकै चलिरहन्थ्यो। रोगले च्याप्दै गएपछि उहाँ आफैले केही पनि गर्न नसक्ने हुनुभयो र जे गर्न पनि मेरो मदत चाहिन्थ्यो। कहिलेकाहीँ त म असाध्यै अत्तालिन्थेँ अनि अब के गर्ने होला भनेर चिन्ता लाग्थ्यो। तर एक जना जवान भाइ बबिले हामीलाई निकै मदत गऱ्यो। उसले बेलाबेलामा हाइन्जलाई प्रचारकार्यमा सँगै लैजान्थ्यो। बबिलाई हाइन्जको लरबराउने बोली अनि यत्तिकै चलिरहने हातखुट्टा देखेर पनि अप्ठ्यारो लाग्दैनथ्यो। त्यसैले मैले हाइन्जलाई मदत गर्न नसक्दा म ढुक्क भएर बबिलाई बोलाउँथेँ। हामीले अझ धेरै यहोवाको सेवा गर्न छोराछोरी नजन्माउने निर्णय गऱ्यौँ तर बबि यहोवाले हामीलाई दिनुभएको छोराजस्तै भयो।—मर्कु. १०:२९, ३०.
पछि हाइन्जलाई क्यान्सर पनि भयो र २०१५ मा उहाँको मृत्यु भयो। उहाँ नहुँदाको पीडा सहन मलाई असाध्यै गाह्रो भयो। मलाई विभिन्न कुराको चिन्ता लाग्दा हाइन्जले मलाई धेरै चिन्ता नगर्न सधैँ सम्झाइरहनुहुन्थ्यो। मलाई उहाँको धेरै याद आउँछ। मेरो सम्झनामा उहाँ अझै पनि जीवित हुनुहुन्छ। (लुका २०:३८) उहाँको दयालु बोली र उहाँले दिनुभएका राम्रा सल्लाहहरू म दिनदिनै सम्झिरहन्छु। धेरै वर्षसम्म उहाँसँगै यहोवाको सेवा गर्न पाएकोमा म असाध्यै खुसी छु।
यहोवाको मदतको लागि कृतज्ञ
विभिन्न चुनौतीहरूको सामना गर्नुपर्दा यहोवाले मलाई सधैँ सम्हाल्नुभएको छ। हुनत म लजालु स्वभावकी थिएँ। तर यहोवाको मदत पाएर मैले मानिसहरूलाई प्रेम गर्न र मिसनरी सेवा गर्न सकेँ। (२ तिमो. १:७) अहिले मेरी बहिनी र म दुवै जना पूर्ण-समय सेवा गरिरहेका छौँ। यस्तो मौका दिनुभएकोमा यहोवालाई धेरै धन्यवाद छ। बहिनी र ज्वाइँ युरोपको सर्बियाली भाषाको क्षेत्रमा सेवा गर्दै छन्। बुबाले धेरै वर्षअघि गर्नुभएको प्रार्थनाको जवाफ यहोवाले साँच्चै दिनुभयो।
बाइबल पढ्दा म मनोशान्ति पाउँछु। आफूलाई गाह्रो भइरहेको बेला येसुले जस्तै “झन् व्यग्रतासाथ” प्रार्थना गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर मैले सिकेकी छु। (लुका २२:४४) म सोफियाको नादेज्दा मण्डलीसित सङ्गत गर्छु। यहाँका भाइबहिनीहरूको दयालु व्यवहार र माया मेरो प्रार्थनाको जवाफ हो जस्तो लाग्छ। भाइबहिनीहरू मलाई बेलाबेलामा आफ्नो घरमा बोलाउनुहुन्छ र ‘हामी तपाईँलाई धेरै माया गर्छौँ’ भन्नुहुन्छ। यस्ता भाइबहिनी पाएकोमा म असाध्यै खुसी छु।
मरेकाहरू फेरि जीवित हुने यहोवाको प्रतिज्ञामा म मनन गरिरहन्छु। म पूरै परिवार नयाँ संसारमा हाँसीखुसी जीवन बिताइरहेको देख्छु। बुबाआमा हाम्रो घरअगाडि उभिरहनुभएको छ। उहाँहरू विवाहको दिनमा जस्तै चिटिक्क देखिनुभएको छ। बहिनी खाना पकाउँदै छिन्। हाइन्ज आफ्नो घोडाको छेउमा उभिरहनुभएको छ। म यी सबै कुरा देख्छु। यस्ता कुराहरूबारे कल्पना गर्दा नकारात्मक भावना हटाउन सकेकी छु र यहोवाप्रति अझ धेरै कृतज्ञ भएकी छु।
यहोवाले मलाई अहिलेसम्म दिनुभएका र भविष्यमा दिनुहुने असल कुराहरूबारे सोच्दा म दाउदले जस्तै महसुस गर्छु। तिनले भजन २७:१३, १४ मा यसो भने: “जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भन्ने विश्वास ममा नहुँदो हो त म अहिले कहाँ हुने थिएँ? यहोवामा आशा राख; साहसी होऊ, बलियो होऊ। हो, यहोवामा आशा राख।”
a टाटयाना भिलेस्काको जीवनी जनवरी ८, २००१ को ब्यूँझनुहोस्!-को पृष्ठ २०-२४ मा हेर्नुहोस्।