अध्ययन लेख ४७
गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ
“तिमी अत्यन्तै अनमोल छौ”!
“तिमी अत्यन्तै अनमोल छौ।”—दानि. ९:२३, फुटनोट।
सिक्न सकिने कुरा
आफू बेकामको छु भन्ने महसुस गरिरहेकाहरूलाई यहोवाको नजरमा तिनीहरू कत्तिको बहुमूल्य छन् भनेर बुझ्न मदत गर्नेछ।
१-२. यहोवाको नजरमा हामी अनमोल छौँ भनेर बुझ्न केले मदत गर्छ?
यहोवा आफ्ना सबै सेवकलाई अनमोल ठान्नुहुन्छ। तर कसै-कसैले भने आफू बेकामको छु भन्ने महसुस गर्छन्। सायद अरूले तिनीहरूसित तुच्छ व्यवहार गरेकोले तिनीहरूलाई त्यस्तो लागेको हुन सक्छ। के तपाईँले पनि त्यस्तो महसुस गर्नुभएको छ? त्यसो हो भने तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ भनेर कसरी ढुक्क हुन सक्नुहुन्छ?
२ हामीले एकअर्काप्रति कस्तो दृष्टिकोण राखेको र कस्तो व्यवहार गरेको यहोवा चाहनुहुन्छ भनेर बुझ्न मदत गर्ने थुप्रै विवरण बाइबलमा पाइन्छ। तपाईँले ती विवरणहरू पढ्नुभयो भने पक्कै मदत पाउनुहुनेछ। येसुले मानिसहरूको आदर गर्नुभयो र तिनीहरूसित दयालु व्यवहार गर्नुभयो। यसबाट आफू बेकामको छु भन्ने महसुस गरिरहेकाहरूलाई यहोवा र येसु दुवैले अत्यन्तै अनमोल ठान्नुहुन्छ भन्ने देखिन्छ। (युह. ५:१९; हिब्रू १:३) यस लेखमा हामी यी दुई वटा कुरा छलफल गर्नेछौँ: (१) येसुले मानिसहरूलाई तिनीहरू अनमोल छन् भनेर बुझ्न कसरी मदत गर्नुभयो? अनि (२) यहोवाको नजरमा अनमोल छौँ भन्ने कुरामा हामी पनि कसरी ढुक्क हुन सक्छौँ?—हाग्गै २:७.
येसुले मानिसहरूलाई तिनीहरू अनमोल छन् भनेर बुझ्न मदत गर्नुभयो
३. येसुले आफूकहाँ आएका मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो?
३ येसु गालिलको इलाकामा तेस्रो चोटि प्रचार गर्न जानुहुँदा थुप्रै मानिसहरू उहाँको कुरा सुन्न र निको हुन आए। येसु तिनीहरूलाई देखेर टिठाउनुभयो किनभने “तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ति ९:३६) धर्मगुरुहरूले तिनीहरूलाई तुच्छ नजरले हेर्थे र तिनीहरू “श्रापित” मानिसहरू हुन् समेत भन्थे। (युह. ७:४७-४९) तर येसुले भने तिनीहरूसित आदरपूर्वक र दयालु व्यवहार गर्नुभयो। उहाँले तिनीहरूलाई सिकाउनुभयो र तिनीहरूको रोगबिमार निको पार्नुभयो। (मत्ति ९:३५) उहाँ अझ धेरै मानिसलाई मदत गर्न चाहनुहुन्थ्यो। त्यसैले आफ्ना प्रेषितहरूलाई प्रचारकार्यमा तालिम दिनुभयो अनि रोगी र अशक्तहरूलाई निको पार्ने अख्तियार पनि दिनुभयो।—मत्ति १०:५-८.
४. येसुले मानिसहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?
४ येसुले आफूकहाँ आएका मानिसहरूसित सधैँ आदरपूर्वक र दयालु व्यवहार गर्नुभयो। यसबाट समाजले अक्सर तुच्छ ठानेका मानिसहरूलाई यहोवा र येसु अनमोल ठान्नुहुन्छ भनेर बुझ्न सक्छौँ। तपाईँ यहोवाको सेवा गर्दै हुनुहुन्छ तर उहाँको नजरमा अनमोल छु भन्ने कुरामा शङ्का लाग्छ भने नि? त्यसो हो भने येसुले उहाँको कुरा सुन्न आएका मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो, त्यसमा मनन गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ भनेर बुझ्न मदत पाउनुहुनेछ।
५. येसुले भेट्नुभएको एउटी स्त्रीको अवस्था कस्तो थियो?
५ येसुले आफूकहाँ आएको भीडलाई मात्र होइन, व्यक्तिविशेषलाई पनि सिकाउनुभयो र मदत गर्नुभयो। उदाहरणको लागि, येसुले गालिलको इलाकामा प्रचार गर्नुहुँदा रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको एउटी स्त्रीलाई भेट्नुभयो। (मर्कु. ५:२५) मोसाको व्यवस्थाअनुसार ऊ अशुद्ध थिई र उसलाई छुने व्यक्ति पनि अशुद्ध हुन्थ्यो। त्यसैले ऊ धेरैजसो समय एक्लै बस्नुपर्थ्यो। साथै उसले सभाघरमा गएर यहोवाको उपासना गर्न र अरू मानिसहरूसित चाडबाड मनाउन पाउँदिनथी। (लेवी १५:१९, २५) त्यसैले त्यो स्त्रीले शारीरिक तवरमा मात्र होइन, भावनात्मक तवरमा पनि असाध्यै पीडा भोगिरहेकी थिई।—मर्कु. ५:२६.
६. एउटी स्त्री कसरी निको भई?
६ असाध्यै पीडा भोगिरहेकी त्यो स्त्री येसुकहाँ निको हुन आएकी थिई। तर उसले सीधै येसुकहाँ जाने आँट गरिन। किन? सायद आफ्नो अवस्थाले गर्दा उसलाई साह्रै अप्ठ्यारो लागिरहेको हुन सक्छ। अथवा आफू अशुद्ध भएको बेला त्यसरी भीडमा जाँदा येसुले हप्काउनुहोला भनेर डर लागेको पनि हुन सक्छ। त्यसैले उसले उहाँको लुगा छोई किनभने त्यति मात्र गर्दा पनि आफू निको हुनेछु भन्ने कुरामा ऊ विश्वस्त थिई। (मर्कु. ५:२७, २८) हुन पनि उसको विश्वासले गर्दा ऊ निको भई। त्यसपछि येसुले ‘मलाई कसले छोयो’ भनेर सोध्नुभयो अनि त्यो स्त्रीले आफूले छोएको कुरा स्विकारी। येसुले ऊसित कस्तो व्यवहार गर्नुभयो?
७. येसुले असाध्यै पीडा भोगिरहेकी एउटी स्त्रीसित कस्तो व्यवहार गर्नुभयो? (मर्कुस ५:३४)
७ येसुले त्यो स्त्रीसित आदरपूर्वक र दयालु व्यवहार गर्नुभयो। उहाँले ऊ ‘डरले थरथर कामिरहेको’ याद गर्नुभयो। (मर्कु. ५:३३) त्यसैले ऊसित मायालु तरिकामा बोल्नुभयो। उहाँले त्यो स्त्रीलाई “नानी” भन्नुभयो। यसरी उहाँले दया र कोमलता झल्किने शब्द प्रयोग गर्नुभयो। (मर्कुस ५:३४ पढ्नुहोस्।) बाइबलमा येसुले कुनै स्त्रीलाई “नानी” भन्नुभएको यही एक पटक मात्र हो। सायद त्यो स्त्री असाध्यै डराइरहेकीले येसुले यस्तो मायालु शब्द चलाउनुभयो। त्यतिबेला उसले कत्ति ढुक्क महसुस गरी होली, कल्पना गर्नुहोस् त! हुनत ऊ निको भई तर यदि येसुले ऊसित मायालु तरिकामा नबोल्नुभएको भए आफूले व्यवस्था उल्लङ्घन गरेकोमा उसलाई दोषी भावनाले सताइरहन सक्थ्यो। यसरी येसुले ऊ मायालु बुबा यहोवाको प्यारी छोरी हो भन्ने कुरा बुझ्न मदत गर्नुभयो।
८. मारियाले कस्तो अवस्था भोग्नुपऱ्यो?
८ आज पनि केही भाइबहिनीहरू गम्भीर स्वास्थ्य समस्याहरूसित जुझ्दै छन्। त्यसले गर्दा तिनीहरू असाध्यै निराश भएका छन् र बेकामको महसुस गर्छन्। ब्राजिलमा नियमित अग्रगामी गरिरहेकी मारियाa बहिनीको अनुभव विचार गरौँ। जन्मँदैखेरि तिनको बायाँ हात र दुइटै खुट्टा थिएन। तिनी भन्छिन्: “स्कुलमा मलाई साथीहरूले असाध्यै जिस्क्याउँथे। तिनीहरूले मलाई जथाभाबी नामले बोलाउँथे। मेरो एकदमै चित्त दुख्थ्यो। मेरो आफ्नै परिवारले समेत मलाई हेला गर्थ्यो।”
९. मारियाले आफू यहोवाको नजरमा अनमोल छु भनेर कसरी बुझ्न सकिन्?
९ मारियाले कस्तो मदत पाइन्? तिनी यहोवाको साक्षी भएपछि भाइबहिनीले तिनलाई सान्त्वना दिए र आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न मदत गरे। तिनी भन्छिन्: “यहोवाले मलाई यस्तो मायालु परिवार दिनुभएकोमा म कत्ति कृतज्ञ छु भन्ने कुरा शब्दमा व्यक्त गर्नै सक्दिनँ। यति धेरै भाइबहिनीको मदत पाएकोमा म साँच्चै धन्यवादी छु!” ती भाइबहिनीले मारियालाई तिनी यहोवाको नजरमा अनमोल छिन् भनेर बुझ्न मदत गरे।
१०. मरियम मग्दलिनी कस्तो अवस्थामा थिइन्? (चित्रहरू पनि हेर्नुहोस्।)
१० येसुले मदत गर्नुभएको अर्को स्त्री मरियम मग्दलिनी थिइन्। तिनमा सात वटा प्रेतले बास गरेको थियो! (लुका ८:२) त्यसले गर्दा सायद तिनले अनौठो व्यवहार गर्थिन्। त्यसैले मानिसहरू तिनीदेखि टाढै बस्थे होलान्। तिनी साँच्चै दयनीय अवस्थामा थिइन्। सायद तिनलाई आफू कसैको माया पाउन लायकको छैनँ जस्तो लाग्थ्यो अनि तिनले लाचार र निस्सहाय महसुस गर्थिन् होली। तर येसुले तिनलाई निको पार्नुभयो र तिनी उहाँको चेला बनिन्। तिनी यहोवाको नजरमा अनमोल छिन् भनेर बुझ्न येसुले तिनलाई अर्को तरिकामा पनि मदत गर्नुभयो। कसरी?
येसुले मरियम मग्दलिनी यहोवाको नजरमा अनमोल छिन् भनेर कसरी देखाउनुभयो? (अनुच्छेद १०-११ हेर्नुहोस्)
११. येसुले मरियम मग्दलिनीलाई तिनी यहोवाको नजरमा अनमोल छिन् भनेर बुझ्न कसरी मदत गर्नुभयो? (चित्रहरू पनि हेर्नुहोस्।)
११ येसु र उहाँका चेलाहरू प्रचार गर्न विभिन्न ठाउँमा जानुहुन्थ्यो। उहाँले मरियम मग्दलिनीलाई पनि उहाँहरूसँगै जान बोलाउनुभयो।b यसरी सँगै यात्रा गर्दा तिनले येसुले मानिसहरूलाई सिकाउनुभएको कुराहरूबाट लाभ उठाउन सकिन्। येसुले तिनी अनमोल छिन् भन्ने कुरा अर्को तरिकामा पनि देखाउनुभयो। येसु फेरि जीवित हुनुभएकै दिन तिनीसामु देखा पर्नुभयो। उहाँले त्यस दिन सुरुमा कुरा गर्नुभएका चेलाहरूमध्ये तिनी पनि थिइन्। उहाँले आफू फेरि जीवित भएको कुरा प्रेषितहरूलाई बताउन पनि तिनलाई भन्नुभयो। यसरी येसुले तिनी यहोवाको नजरमा अनमोल छिन् भनेर बुझ्न मदत गर्नुभयो।—युह. २०:११-१८.
१२. लिडियालाई किन आफू कसैको माया पाउन लायकको छैनँ जस्तो लाग्थ्यो?
१२ आज पनि थुप्रैलाई आफू कसैको माया पाउन लायकको छैनँ जस्तो लाग्छ। स्पेनकी लिडिया बहिनीको अनुभव विचार गरौँ। उनी पेटमा छँदा आमाले गर्भपतन गर्ने विचार गरेकी रहेछिन्। उनी सानो छँदा पनि आमाले त्यति वास्ता गर्दिनथिन् र मनपरी गाली गर्थिन्। उनी भन्छिन्: “म मायाको भोको थिएँ। आमाले मलाई कहिल्यै माया गर्नुभएन। उहाँको यस्तो व्यवहारले गर्दा मलाई आफू राम्रो मान्छे होइनँ जस्तो लाग्थ्यो। मैले कहिल्यै पनि अरूको माया पाउँदिनँ होला जस्तो लाग्थ्यो।”
१३. लिडियालाई आफू यहोवाको नजरमा अनमोल छु भनेर बुझ्न केले मदत गऱ्यो?
१३ लिडियाले सत्य सिकेपछि बिस्तारै उनको सोचाइ परिवर्तन हुन थाल्यो। प्रार्थना, बाइबल पढाइ अनि भाइबहिनीको मायालु बोली-व्यवहारले गर्दा तिनले आफू यहोवाको नजरमा अनमोल छु भनेर बुझ्न सकिन्। उनी भन्छिन्: “मेरो श्रीमान्ले ‘म तिमीलाई माया गर्छु’ भनेर बेलाबेलामा भनिरहनुहुन्छ। उहाँले मेरा असल गुणहरूबारे पनि सम्झाइरहनुहुन्छ। प्यारा भाइबहिनीहरूले पनि मलाई त्यसरी नै हौसला दिनुहुन्छ।” के तपाईँले चिनेको कसैलाई आफू यहोवाको नजरमा अनमोल छु भनेर ढुक्क हुन मदत चाहिएको छ?
आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्
१४. पहिलो समुएल १६:७ अनुसार यहोवा मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? (“यहोवा आफ्ना जनहरूलाई किन अनमोल ठान्नुहुन्छ?” पेटी पनि हेर्नुहोस्।)
१४ तपाईँप्रति यहोवाको दृष्टिकोण मानिसहरूको भन्दा फरक छ भनेर नबिर्सनुहोस्। (१ समुएल १६:७ पढ्नुहोस्।) धेरैजसो मानिसले तपाईँको बाहिरी रूपरङ्ग, सामाजिक ओहदा वा शिक्षादीक्षाको आधारमा तपाईँको मूल्याङ्कन गर्छन्। तर यहोवाले त्यसो गर्नुहुन्न। (यसै. ५५:८, ९) त्यसैले संसारले तपाईँलाई कसरी हेर्छ भन्ने कुरामा नभई यहोवाले तपाईँलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। तपाईँ एलिया, नाओमी र हन्नाजस्ता व्यक्तिहरूको विवरण पढ्न सक्नुहुन्छ। किनभने तिनीहरूलाई पनि कुनै समय आफू यहोवाको नजरमा अनमोल छु भन्ने कुरामा शङ्का लागेको थियो। यहोवा तपाईँलाई साँच्चै माया गर्नुहुन्छ र तपाईँको मोल गर्नुहुन्छ भनेर आफैले अनुभव गरेका कुराहरू लेख्न पनि सक्नुहुन्छ। साथै हामी यहोवाको नजरमा अनमोल छौँ भनेर छलफल गरिएका विभिन्न सामग्रीहरू खोजेर फेरि हेर्न वा पढ्न सक्नुहुन्छ।c
१५. यहोवाले दानिएललाई किन “अत्यन्तै अनमोल” ठान्नुभयो? (दानिएल ९:२३ र फुटनोट)
१५ तपाईँ वफादार हुनुभएकोले यहोवाको नजरमा अनमोल हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। झन्डै १०० वर्ष पुग्न लागेका भविष्यवक्ता दानिएल एकचोटि “साह्रै लखतरान” र निराश भए। (दानि. ९:२०, २१) यहोवाले तिनलाई कसरी हौसला दिनुभयो? उहाँले तिनी “अत्यन्तै अनमोल” छन् र तिनका प्रार्थनाहरूको सुनुवाइ भएको छ भन्ने कुरामा ढुक्क बनाउन गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। (दानिएल ९:२३ र फुटनोट पढ्नुहोस्।) दानिएल यहोवाको नजरमा असाध्यै अनमोल हुनुको कारण के थियो? तिनीसित थुप्रै राम्रा गुणहरू थिए। जस्तै, तिनी असल कुरालाई प्रेम गर्थे अनि वफादार थिए। (इज. १४:१४) हामीले सान्त्वना पाउन सकौँ भनेर यहोवाले तिनको विवरण बाइबलमा लेख्न लगाउनुभयो। (रोमी १५:४) तपाईँ पनि असल कुरालाई प्रेम गर्नुहुन्छ र यहोवाप्रति वफादार हुनुहुन्छ। त्यसैले उहाँ तपाईँलाई अनमोल ठान्नुहुन्छ। अनि जसरी यहोवाले दानिएलको प्रार्थना सुन्नुभयो, त्यसरी नै तपाईँको प्रार्थना पनि सुन्नुहुनेछ।—मिका ६:८; हिब्रू ६:१०.
१६. तपाईँ यहोवालाई मायालु बुबाको रूपमा हेर्न के गर्न सक्नुहुन्छ?
१६ यहोवालाई आफ्नो मायालु बुबाको रूपमा हेर्नुहोस्। यहोवा तपाईँका गल्तीहरूमा ध्यान दिनुहुन्न। बरु तपाईँलाई मदत गर्न चाहनुहुन्छ। (भज. १३०:३; मत्ति ७:११; लुका १२:६, ७) यो कुरामा मनन गर्दा थुप्रैले आफू बेकामको छु भन्ने भावना हटाउन मदत पाएका छन्। स्पेनकी मिसेल बहिनीको अनुभव विचार गरौँ। तिनको श्रीमान्ले तिनलाई वर्षौँदेखि मौखिक दुर्व्यवहार गर्दै आएका थिए। त्यसैले तिनले आफू बेकामको छु अनि कसैको माया पाउन लायकको छैनँ भन्ने महसुस गरिन्। उनी भन्छिन्, “आफू बेकामको छु जस्तो लाग्दा यहोवाले मलाई आफ्नो काखमा लिएर माया गर्नुभएको र मेरो रक्षा गर्नुभएको कल्पना गर्ने प्रयास गर्छु।” (भज. २८:९) दक्षिण अफ्रिकाकी लरेन बहिनी आफूलाई यसरी सम्झाउँछिन्, “यहोवाले मलाई मायाको डोरीले आफूतर्फ खिच्नुभयो। उहाँले मलाई वर्षौँदेखि उहाँसँगै राख्नुभएको छ र अरूलाई सिकाउन पनि मलाई प्रयोग गर्नुभएको छ। त्यसो हो भने के मैले आफू यहोवाको लागि उपयोगी र अनमोल छु भन्ने कुरामा शङ्का गर्न मिल्छ र?”—होसे ११:४.
१७. यहोवाको अनुमोदन पाएको कुरामा तपाईँ कसरी ढुक्क हुन सक्नुहुन्छ? (भजन ५:१२) (चित्र पनि हेर्नुहोस्।)
१७ यहोवाको अनुमोदन पाएको कुरामा ढुक्क हुनुहोस्। (भजन ५:१२ पढ्नुहोस्।) दाउदले यहोवाको अनुमोदन पाउनु भनेको “ठूलो ढालले जस्तै सुरक्षा” पाउनु हो भने। यहोवाको अनुमोदन र साथ पाएको छु भन्ने कुरा थाह पाउँदा आफू बेकामको छु भन्ने भावनामा चुर्लुम्मै डुब्नदेखि जोगिन सक्नुहुनेछ। यहोवाको अनुमोदन पाएको कुरामा तपाईँ कसरी ढुक्क हुन सक्नुहुन्छ? यो कुरामा ढुक्क हुन यहोवाले हामीलाई आफ्नो वचन बाइबलमार्फत मदत दिनुभएको छ। साथै तपाईँ उहाँको नजरमा अनमोल हुनुहुन्छ भन्ने कुरा सम्झाउन उहाँले एल्डरहरू, घनिष्ठ मित्रहरू र अरूलाई पनि चलाउनुहुन्छ। त्यस्तो हौसला पाउँदा तपाईँले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?
यहोवाको अनुमोदन पाएको कुरा थाह पाउँदा आफू बेकामको छु भन्ने भावना हटाउन मदत पाउँछौँ (अनुच्छेद १७ हेर्नुहोस्)
१८. अरूले प्रशंसा गर्दा तपाईँले किन त्यो स्विकार्नुपर्छ?
१८ तपाईँलाई चिन्ने अनि तपाईँलाई माया गर्नेहरूले तपाईँको मनैदेखि प्रशंसा गर्दा त्यसलाई स्विकार्नुहोस्। तपाईँले यहोवाको अनुमोदन पाउनुभएको छ भन्ने कुरा सम्झाउन उहाँले नै तिनीहरूलाई चलाइरहनुभएको हुन सक्छ। अगाडि उल्लेख गरिएकी मिसेल यसो भन्छिन्: “कसैले मेरो प्रशंसा गर्दा ‘उसले त्यो मनैदेखि भनेको होला र’ जस्तो लाग्थ्यो। हुनत अहिले पनि कहिलेकाहीँ मलाई त्यस्तो शङ्का लाग्छ तर मैले त्यस्तो सोचाइ हटाएको यहोवा चाहनुहुन्छ भनेर बुझेकी छु। त्यसैले म त्यस्तो सोचाइ हटाउन प्रयास गर्दै छु।” यहोवाले माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन मिसेलले एल्डरहरूबाट मदत पाइन्। तिनी अहिले अग्रगामी सेवा गर्दै छिन् अनि घरबाटै बेथेल सेवा पनि गर्छिन्।
१९. यहोवाको नजरमा तपाईँ अनमोल हुनुहुन्छ भनेर किन ढुक्क हुन सक्नुहुन्छ?
१९ यहोवा बुबाको लागि हामी बहुमूल्य छौँ भनेर येसुले हामीलाई बुझाउनुभएको छ। (लुका १२:२४) त्यसैले यहोवाको नजरमा हामी अत्यन्तै अनमोल छौँ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। यो कुरा कहिल्यै नबिर्सौँ! अनि अरूलाई पनि तिनीहरू यहोवाको नजरमा अनमोल छन् भन्ने कुरा बुझ्न मदत गरिरहौँ!
गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!
a केही नाम परिवर्तन गरिएका छन्।
b मरियम मग्दलिनी येसुसँगै यात्रा गर्ने स्त्रीहरूमध्ये थिइन्। तिनीहरूले आफ्नै सम्पत्ति खर्चेर येसु र उहाँका प्रेषितहरूको सेवा गरे।—मत्ति २७:५५, ५६; लुका ८:१-३.
c उदाहरणको लागि, यहोवासित नजिक हुनुहोस् किताबको अध्याय २४ र ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू-को “शङ्का” विषयअन्तर्गत भएका बाइबल पदहरू र सम्बन्धित बाइबल विवरणहरू पढ्नुहोस्।