प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. १६-२१
  • हाम्रा प्रधानपुजारी येसु सहानुभूतिशील हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा प्रधानपुजारी येसु सहानुभूतिशील हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको प्यारो छोरा पृथ्वीमा आउनुभयो
  • येसुले मानिसहरूको पीडा महसुस गर्नुभयो
  • हाम्रा प्रधानपुजारीको अनुकरण गरौँ
  • हाम्रा प्रधानपुजारीले तपाईँलाई मदत गर्नुहुन्छ
  • फिरौतीको बलिदानबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. १६-२१

अध्ययन लेख ४६

गीत १७ “म इच्छा गर्छु”

हाम्रा प्रधानपुजारी येसु सहानुभूतिशील हुनुहुन्छ

“हाम्रा प्रधानपुजारी हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन नसक्ने हुनुहुन्‍न।”—हिब्रू ४:१५.

सिक्न सकिने कुरा

येसु किन सबैभन्दा उत्कृष्ट प्रधानपुजारी हुनुहुन्छ र उहाँ हामीलाई कुन-कुन तरिकामा मदत गर्नुहुन्छ?

१-२. (क) यहोवाले आफ्नो छोरालाई किन पृथ्वीमा पठाउनुभयो? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ? (हिब्रू ५:७-९)

लगभग २,००० वर्षअघि यहोवाले आफ्नो प्यारो छोरालाई पृथ्वीमा पठाउनुभयो। किन? एउटा कारण भनेको मानिसजातिलाई पाप र मृत्युको दासत्वबाट छुटाउन अनि सैतानले गर्दा भएको सबै समस्याहरू हटाउन। (युह. ३:१६; १ युह. ३:८) साथै येसुले मानिसको रूपमा जीवन बिताउनुभएपछि उहाँ अझ सहानुभूतिशील, समानुभूतिशील र कृपालु प्रधानपुजारी बन्‍नुहुनेछ भनेर यहोवालाई थाह थियो। येसुले इस्वी संवत्‌ २९ मा बप्तिस्मा गर्नुभएपछि प्रधानपुजारीको रूपमा सेवा गर्न थाल्नुभयो।a

२ येसुले पृथ्वीमा जीवन बिताउनुभएकोले उहाँ कसरी अझ सहानुभूतिशील प्रधानपुजारी बन्‍न सक्नुभयो भनेर यस लेखमा छलफल गर्नेछौँ। उहाँ यस भूमिकाको लागि कसरी ‘पूर्णतया योग्य बन्‍नुभयो’ भन्‍ने कुरा हामीले राम्ररी बुझ्नुपर्छ। यो कुरा बुझ्यौँ भने आफ्नो पाप वा कमीकमजोरीले गर्दा निराश भए पनि हामी कुनै धक नमानी प्रार्थनामा यहोवासामु जान सक्नेछौँ।—हिब्रू ५:७-९ र फुटनोट पढ्‌नुहोस्‌।

परमेश्‍वरको प्यारो छोरा पृथ्वीमा आउनुभयो

३-४. पृथ्वीमा येसुको जीवन स्वर्गको भन्दा कसरी फरक थियो?

३ हामीमध्ये धेरैले आफ्नो जीवनमा थुप्रै परिवर्तनहरू अनुभव गरेका छौँ। सायद हामी आफ्नो प्यारो घर अनि आफूले माया गरेको परिवार र साथीभाइ छोडेर अन्तै सर्नुपरेको थियो। यस्तो परिवर्तन गर्न पक्कै सजिलो हुँदैन तर येसुले जत्तिको परिवर्तन कुनै पनि मानिसले अनुभव गर्नुपरेको छैन। स्वर्गमा हुनुहुँदा येसु प्रमुख स्वर्गदूत हुनुहुन्थ्यो। यहोवा उहाँलाई धेरै माया गर्नुहुन्थ्यो अनि आफ्नो बुबाको “दाहिने बाहुलीमा” रहेर सेवा गर्न पाउँदा येसु सधैँ आनन्दित हुनुहुन्थ्यो। (भज. १६:११; हितो. ८:३०) तर फिलिप्पी २:७ अनुसार उहाँले राजीखुसीले “आफूलाई रित्याउनुभयो।” उहाँले स्वर्गको उच्च ओहदा त्याग्नुभयो अनि पृथ्वीमा आएर त्रुटिपूर्ण मानिसहरूसित बस्न राजी हुनुभयो।

४ येसु कस्तो परिवारमा जन्मनुभयो अनि उहाँ बालक छँदा के-कस्ता घटनाहरू भए, विचार गरौँ। येसु गरिब परिवारमा जन्मनुभएको थियो। यो कुरा उहाँको आमाबुबाले उहाँको जन्म भएपछि चढाएको भेटीबाट थाह हुन्छ। (लेवी १२:८; लुका २:२४) दुष्ट राजा हेरोदले येसु जन्मनुभएको कुरा थाह पाएपछि उहाँलाई मार्न खोजे। त्यसैले येसुको ज्यान जोगाउन उहाँको परिवार मिश्र भाग्नुपऱ्‍यो। (मत्ति २:१३, १५) पृथ्वीमा उहाँको जीवन स्वर्गको भन्दा बिलकुलै फरक थियो।

५. पृथ्वीमा येसुले के-कस्ता कुराहरू देख्नुभयो अनि उहाँले अनुभव गर्नुभएका कुराहरूले उहाँलाई प्रधानपुजारीको रूपमा सेवा गर्न कसरी तयार बनायो? (चित्र पनि हेर्नुहोस्‌।)

५ पृथ्वीमा छँदा येसुले आफू वरपरका मानिसहरूले थुप्रै दुःखकष्ट भोगिरहेको देख्नुभयो। आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा कत्ति पीडा हुन्छ भनेर उहाँ आफैले अनुभव गर्नुभयो। आफ्नो बुबा युसुफको मृत्यु हुँदा उहाँलाई त्यस्तै पीडा भएको हुनुपर्छ। पृथ्वीमा आफ्नो सेवाको दौडान येसुले कुष्ठरोगी, अन्धो र पक्षाघात भएका मानिसहरू अनि शोकमा परेका आमाबुबाहरूलाई भेट्‌नुभयो। त्यस्ता मानिसहरूलाई देखेर उहाँ टिठाउनुभयो। (मत्ति ९:२, ६; १५:३०; २०:३४; मर्कु. १:४०, ४१; लुका ७:१३) हुनत उहाँले स्वर्गमा हुनुहुँदा पनि मानिसजातिले दुःखकष्ट भोगिरहेको देख्नुभएको थियो। तर पृथ्वीमा मानिसको रूपमा जीवन बिताउनुहुँदा उहाँले मानिसजातिको पीडालाई फरक दृष्टिकोणले हेर्न सिक्नुभयो। (यसै. ५३:४) पृथ्वीमा उहाँले जे-जति अनुभव गर्नुभयो, त्यसले गर्दा उहाँले मानिसको भावना अझ राम्ररी बुझ्न सक्नुभयो। दुःखकष्ट भोग्नुपर्दा मानिसहरूलाई कत्ति तनाव र पीडा हुन्छ भनेर उहाँले थाह पाउनुभयो। निराशा, थकान र शोकजस्ता भावनाहरू उहाँ आफैले अनुभव गर्नुभयो।

येसुको वरपर थुप्रै मानिसहरू छन्‌। तिनीहरू आफ्नो रोगबिमार निको पारिदिन उहाँलाई बिन्ती गर्दै छन्‌। येसु टिठाउँदै एक अशक्‍त वृद्धको हात समाउनुहुन्छ।

मानिसहरूले कस्तो दुःख भोगिरहेका छन्‌ अनि कस्तो महसुस गर्दै छन्‌ भन्‍ने कुरामा येसु निकै चासो राख्नुहुन्थ्यो (अनुच्छेद ५ हेर्नुहोस्‌)


येसुले मानिसहरूको पीडा महसुस गर्नुभयो

६. यसैयाले चलाएका उदाहरणहरूबाट येसुको सहानुभूति र करुणाबारे हामी के सिक्न सक्छौँ? (यसैया ४२:३)

६ हिब्रू धर्मशास्त्रमा कहिलेकाहीँ संवृद्ध र बलिया मानिसहरूलाई हराभरा बगैँचासित अनि अग्ला-अग्ला र बलिया रूखहरूसित तुलना गरिएको छ। (भज. ९२:१२; यसै. ६१:३; यर्मि. ३१:१२) तर गरिब अनि थिचोमिचोमा परेकाहरूलाई चाहिँ फुटेको नर्कट र धिपधिप बलिरहेको सलेदोसित तुलना गरिएको छ, जुन कुराहरूलाई मानिसहरू महत्त्वहीन ठान्छन्‌। (यसैया ४२:३ पढ्‌नुहोस्‌; मत्ति १२:२०) यसरी यसैयाले नर्कट र सलेदोलाई उदाहरणको रूपमा चलाएर येसुले गरिब अनि थिचोमिचोमा परेकाहरूलाई प्रेम र करुणा देखाउनुहुनेछ भनेर भविष्यवाणी गरे। हुन पनि उहाँले पृथ्वीमा आफ्नो सेवाको दौडान त्यस्तै गर्नुभयो।

७-८. येसुले यसैयाको भविष्यवाणी कसरी पूरा गर्नुभयो?

७ यसैयाले यस्तो भविष्यवाणी गरेका थिए: “तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌।” यो भविष्यवाणी येसुले पूरा गर्नुभयो भनेर मत्तिले बताए। येसुको समयका थुप्रै मानिसहरू थिचोमिचोमा परेका थिए र आफ्नो लागि कुनै आशा नभएको महसुस गर्थे। तिनीहरूलाई आफू फुटेको नर्कट अनि निभ्नै लागेको सलेदोजस्तो लाग्थ्यो। तर येसुले त्यस्ता मानिसहरूको लागि थुप्रै चमत्कारहरू गर्नुभयो। तिनीहरूमध्ये एक जना पूरै शरीरभरि कुष्ठरोग लागेको मानिस थिए। तिनले आफ्नो रोग निको हुने अनि आफ्नो परिवार र साथीभाइसित पहिलाजस्तै सँगै बस्ने आशा मारिसकेका थिए होलान्‌। (लुका ५:१२, १३) अर्को एक जना मानिसचाहिँ बहिरो अनि भकभके थिए। अरू मानिसहरू मजाले कुराकानी गरिरहेको देख्दा तर आफूले चाहिँ तिनीहरूको एउटै कुरा नबुझ्दा तिनलाई कस्तो महसुस हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! (मर्कु. ७:३२, ३३) तर तिनीहरूले भोग्नुपरेको पीडा यति मात्र त थिएन।

८ येसुको समयका थुप्रै यहुदीहरूले कुनै मानिस बिरामी वा अशक्‍त हुनुको कारण उसकै वा उसको आमाबुबाको पापको सजाय हो भन्‍ने गर्थे। (युह. ९:२) यस्तो अन्धविश्‍वासले गर्दा अरूले त्यस्ता मानिसहरूसित नराम्रो व्यवहार गर्थे। यस्तो व्यवहार भोग्नुपर्दा तिनीहरूले आफूलाई कत्ति बेकामको महसुस गर्थे होलान्‌। तर यसैयाको भविष्यवाणीअनुसार येसुले त्यस्ता मानिसहरूको रोगबिमार निको पार्नुभयो अनि परमेश्‍वर तिनीहरूमा चासो राख्नुहुन्छ भनेर बुझ्न मदत दिनुभयो। यसबाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

९. हाम्रा प्रधानपुजारी येसु हामीलाई सहानुभूति देखाउनुहुन्छ भन्‍ने कुरालाई हिब्रू ४:१५, १६ ले कसरी जोड दिएको छ?

९ हिब्रू ४:१५, १६ पढ्‌नुहोस्‌। येसुले हामीप्रति सधैँ सहानुभूति देखाउनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। यसको अर्थ के हो? सहानुभूति देखाउने व्यक्‍तिले अरूको दुःख र भावना बुझ्छ अनि तिनको लागि कदम चाल्न उत्प्रेरित हुन्छ। यहाँ “सहानुभूति देखाउनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दले अरूको दुःखपीडा महसुस गर्नु भन्‍ने अर्थ दिन्छ। पावलले हिब्रू १०:३४ मा “तिमीहरूले झ्यालखानामा हुनेहरूलाई सहानुभूति देखायौ” भनेर बताउँदा त्यही ग्रीक शब्द चलाए। येसुले चमत्कार गर्नुभएको विवरणहरू पढ्‌दा मानिसहरूको दुःख देखेर उहाँलाई पनि कत्ति दुःख लाग्थ्यो भनेर बुझ्न सक्छौँ। उहाँले कर्तव्यबोधले मात्र मानिसहरूलाई निको पार्नुभएको थिएन। उहाँ तिनीहरूप्रति साँच्चै चासो राख्नुहुन्थ्यो र तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। उदाहरणको लागि, उहाँले एक जना कुष्ठरोगीलाई टाढैबाट निको पार्न सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन बरु तिनलाई छुनुभयो। सायद तिनलाई कसैले नछोएको वर्षौँ भइसकेको थियो होला। येसुले त्यसरी छुनुहुँदा तिनले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! साथै येसुले एक जना बहिरोलाई भीडबाट पर एकान्त ठाउँमा लगेर निको पार्नुभयो। अर्को घटना पनि विचार गरौँ। पहिला खराब जीवनशैली बिताएकी एउटी स्त्री येसुकहाँ आइन्‌ अनि आफ्नो आँसुले उहाँको खुट्टा भिजाएर कपालले पुछिदिइन्‌। त्यो देखेर एक जना फरिसीले ती स्त्रीप्रति तुच्छ व्यवहार गरे तर येसुले भने ती स्त्रीको पक्ष लिनुभयो र त्यो फरिसीलाई हप्काउनुभयो। (मत्ति ८:३; मर्कु. ७:३३; लुका ७:४४) येसुले बिरामी, अशक्‍त वा गम्भीर पाप गरेकाहरूलाई कहिल्यै पनि हेला गर्नुभएन। बरु तिनीहरूको अवस्था देखेर उहाँ टिठाउनुभयो अनि तिनीहरूलाई मदत गर्न अग्रसर हुनुभयो। उहाँले हामीप्रति पनि त्यस्तै सहानुभूति देखाउनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

हाम्रा प्रधानपुजारीको अनुकरण गरौँ

१०. बहिरा र दृष्टिविहीनहरूलाई मदत गर्न कस्ता प्रबन्धहरू गरिएका छन्‌? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१० हामी येसुका अनुयायीहरू हौँ। त्यसैले हामी पनि उहाँले जस्तै अरूलाई प्रेम देखाउन, अरूको पीडा महसुस गर्न र करुणा देखाउन प्रयास गर्छौँ। (१ पत्रु. २:२१; ३:८) हुनत हामी बहिरा र दृष्टिविहीनहरूलाई निको पार्न सक्दैनौँ तर उनीहरूलाई आध्यात्मिक रूपमा मदत गर्न भने सक्छौँ। उदाहरणको लागि, बाइबलआधारित प्रकाशनहरू अहिले १०० भन्दा धेरै साङ्‌केतिक भाषामा उपलब्ध छन्‌। अनि दृष्टिविहीनहरूको लागि ६० भन्दा धेरै भाषामा ब्रेल प्रकाशनहरू उपलब्ध छन्‌। साथै हाम्रा भिडियोहरूको दृश्‍य वर्णन १०० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। यस्ता प्रबन्धहरूले गर्दा बहिरा र दृष्टिविहीनहरू यहोवा र उहाँको छोरासित नजिक हुन सकेका छन्‌।

चित्रहरूको सँगालो: १. साङ्‌केतिक भाषाको मण्डलीका भाइबहिनीहरू राज्य गीत साङ्‌केतिक गर्दै छन्‌। २. एक दृष्टिविहीन बहिनी ब्रेलमा बाइबल पढ्‌दै छिन्‌।

हाम्रा बाइबलआधारित प्रकाशनहरू १,००० भन्दा धेरै भाषामा उपलब्ध छन्‌

बायाँ: १०० भन्दा धेरै साङ्‌केतिक भाषामा

दायाँ: ब्रेल प्रकाशनहरू ६० भन्दा धेरै भाषामा

(अनुच्छेद १० हेर्नुहोस्‌)


११. हाम्रो सङ्‌गठनले सबै प्रकारका मानिसहरूप्रति कसरी येसुले जस्तै सहानुभूति देखाएको छ? (प्रेषित २:५-७, ३३) (चित्रहरू पनि हेर्नुहोस्‌।)

११ यहोवाको सङ्‌गठनले सबै प्रकारका मानिसहरूलाई मदत गर्न प्रयास गर्छ। पेन्तिकोसको चाडको दिन भएको घटना विचार गरौँ। फेरि जीवित हुनुभएका येसुले चेलाहरूमाथि पवित्र शक्‍ति खन्याउनुभयो। अनि चाड मनाउन त्यहाँ भेला भएकाहरू प्रत्येकले “तिनीहरूकै भाषामा” सुसमाचार सुन्‍न पाए। (प्रेषित २:५-७, ३३ पढ्‌नुहोस्‌।) येसुको निर्देशन पछ्याउँदै आज हाम्रो सङ्‌गठनले १,००० भन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू उपलब्ध गराएको छ। तीमध्ये कुनै-कुनै भाषा त एकदम थोरै मानिसहरूले मात्र बोल्छन्‌। उदाहरणको लागि, उत्तर र दक्षिण अमेरिकाका केही भाषाहरू बोल्ने मानिसहरूको सङ्‌ख्या एकदम थोरै छ। तर त्यस्ता १६० भन्दा धेरै भाषामा हाम्रा प्रकाशनहरू उपलब्ध छन्‌। यसले गर्दा धेरैभन्दा धेरै मानिसहरूले आफ्नै भाषामा सुसमाचार सुन्‍न पाएका छन्‌। हाम्रा प्रकाशनहरू २० भन्दा धेरै रोमानी भाषाहरूमा पनि उपलब्ध छन्‌। यसले गर्दा ती भाषाहरू बोल्ने हजारौँ मानिसहरूले सत्य स्विकारेका छन्‌।

चित्रहरूको सँगालो: १. एक बहिनी खुसी भएर आफ्नो भाषाको बाइबल समाउँदै छिन्‌। २. रोमानी भाषा बोल्ने एक बहिनी र तिनकी छोरी अधिवेशनको कार्यक्रम सुन्दै छन्‌।

बायाँ: उत्तर र दक्षिण अमेरिकाका १६० भन्दा धेरै भाषामा

दायाँ: २० भन्दा धेरै रोमानी भाषामा

(अनुच्छेद ११ हेर्नुहोस्‌)


१२. यहोवाको सङ्‌गठनले अन्य के-कस्ता तरिकामा पनि मानिसहरूलाई मदत गर्दै छ?

१२ यहोवाको सङ्‌गठनले सुसमाचार सुनाउन यस्ता प्रबन्धहरू गर्नुका साथै प्राकृतिक प्रकोपको मारमा परेकाहरूको लागि राहतकार्यको पनि प्रबन्ध गर्छ। राहतकार्यमा भाग लिन हजारौँ भाइबहिनीले स्वयंसेवा गर्छन्‌। साथै हाम्रो सङ्‌गठनले मानिसहरू एक ठाउँमा भेला भएर परमेश्‍वरबारे सिक्न सकून्‌ र उहाँको उपासना गर्न सकून्‌ भनेर साधारण किसिमका उपासनास्थलहरूको पनि प्रबन्ध गर्छ।

हाम्रा प्रधानपुजारीले तपाईँलाई मदत गर्नुहुन्छ

१३. येसु हामीलाई के-कस्ता तरिकामा मदत गर्नुहुन्छ?

१३ येसु हाम्रो असल गोठालो हुनुहुन्छ र उहाँ हामी प्रत्येकको आध्यात्मिक आवश्‍यकतामा चासो राख्नुहुन्छ। (युह. १०:१४; एफि. ४:७) जीवनमा आइपर्ने अनेकन्‌ समस्याहरूले गर्दा कहिलेकाहीँ हामी धिपधिप बलिरहेको सलेदो वा फुटेको नर्कटजस्तै भएको महसुस गर्छौँ। गम्भीर बिरामी पर्दा, आफूबाट कुनै गल्ती हुँदा वा कोही भाइबहिनीसितको सम्बन्ध बिग्रँदा हामी असाध्यै निराश हुन सक्छौँ। हाम्रो ध्यान आफ्नै समस्यामा मात्र जान सक्छ र भविष्यको आशामा ध्यान दिन हामीलाई गाह्रो हुन सक्छ। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँ कस्तो अवस्थाबाट गुज्रँदै हुनुहुन्छ अनि तपाईँको मनमा के-कस्ता भावनाहरू खेलिरहेका छन्‌, त्यो कुरा येसु राम्ररी बुझ्नुहुन्छ। उहाँ सहानुभूतिशील हुनुहुन्छ। त्यसैले तपाईँलाई मदत गर्न कदम चाल्नुहुन्छ। जस्तै, तपाईँ कमजोर हुनुभएको बेला तपाईँलाई बल दिन उहाँले पवित्र शक्‍ति चलाउन सक्नुहुन्छ। (युह. १६:७; ति. ३:६) साथै उहाँले तपाईँलाई प्रोत्साहन, साथ र मदत दिन “वरदानको रूपमा पुरुषहरू” र अरू भाइबहिनीहरूलाई चलाउन सक्नुहुन्छ।—एफि. ४:८.

१४. निराश हुँदा हामी के गर्न सक्छौँ?

१४ तपाईँको मन भाँचिएको छ वा जोस सेलाएको छ भने प्रधानपुजारीको रूपमा येसुले तपाईँको लागि के-के गर्नुहुन्छ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवाले येसुलाई फिरौतीस्वरूप आफ्नो ज्यान दिन मात्र पृथ्वीमा पठाउनुभएको थिएन। बरु त्रुटिपूर्ण मानिसहरूले के-कस्ता समस्याहरू भोग्नुपर्छ भन्‍ने कुरा अझ राम्ररी बुझ्न पनि पठाउनुभएको थियो। आफ्नो पाप वा कमीकमजोरीले गर्दा निराश हुनुभएको छ भने येसु हामीलाई “चाहिएकै बेला” मदत दिन तयार र इच्छुक हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌।—हिब्रू ४:१५, १६.

१५. एक जना भाइले फेरि मण्डलीमा फर्कन कस्तो मदत पाए?

१५ आज यहोवाका जनहरूले हराएको भेडालाई खोज्न र बगालमा फर्काउन निकै प्रयास गर्दै छन्‌। अनि यस काममा येसुले हामीलाई डोऱ्‍याउँदै हुनुहुन्छ। (मत्ति १८:१२, १३) स्टेफानोकोb अनुभव विचार गरौँ। तिनलाई मण्डलीबाट हटाइएको थियो तर त्यसको १२ वर्षपछि तिनले फेरि सभामा जाने निर्णय गरे। तिनी भन्छन्‌: “सुरुमा त अप्ठ्यारो लाग्यो तर म फेरि यहोवाको मायालु परिवारको भाग बन्‍न चाहन्थेँ। मलाई भेट्‌नुभएका एल्डरहरूले मलाई एकदमै सजिलो महसुस गराउनुभयो। हुनत कहिलेकाहीँ मलाई आफू बेकामको छु भन्‍ने भावनाले सताउँथ्यो अनि हरेस खान्थेँ तर यहोवा र येसु मैले हरेस खाएको चाहनुहुन्‍न भनेर ती भाइहरूले सम्झाउनुभयो। पुनर्बहाली भएपछि पूरै मण्डलीले म र मेरो परिवारलाई खुला मनले स्वागत गऱ्‍यो। पछि मेरी श्रीमतीले पनि बाइबल अध्ययन गर्न थालिन्‌ र अहिले हामी पूरै परिवार मिलेर यहोवाको सेवा गर्दै छौँ।” पश्‍चात्ताप गर्नेहरूले फेरि मण्डलीमा फर्कन मदत पाएको देख्दा हाम्रा मायालु प्रधानपुजारीलाई कत्ति खुसी लाग्छ होला!

१६. सहानुभूतिशील प्रधानपुजारी पाएकोमा हामी किन आभारी छौँ?

१६ पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै मानिसलाई चाहिएकै बेला मदत गर्नुभयो। उहाँले हामीलाई पनि चाहिएकै बेला मदत गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। अब चाँडै आउन लागेको नयाँ संसारमा उहाँले आज्ञाकारी मानिसहरूलाई पाप र त्रुटिपूर्ण अवस्थाबाट पूर्ण रूपमा मुक्‍त हुन मदत गर्नुहुनेछ। यहोवाले हामीप्रतिको अपार प्रेम र कृपाले गर्दा आफ्नो छोरालाई हाम्रो प्रधानपुजारी नियुक्‍त गर्नुभएको छ। हामीलाई यस्तो सहानुभूतिशील प्रधानपुजारी दिनुभएकोमा हामी यहोवाप्रति साँच्चै आभारी छौँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • पृथ्वीमा येसुले अनुभव गर्नुभएका कुराहरूले उहाँलाई प्रधानपुजारीको रूपमा सेवा गर्न कसरी तयार बनायो?

  • येसुले यसैया ४२:३ मा गरिएको भविष्यवाणी कसरी पूरा गर्नुभयो?

  • आज हाम्रा प्रधानपुजारीले हामीलाई के-कस्ता तरिकामा मदत गर्नुहुन्छ?

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

a येसुले प्रधानपुजारीको रूपमा सेवा गर्न थाल्नुभएपछि यहुदी प्रधानपुजारीको आवश्‍यकता परेन। यो कुरा बुझ्न अक्टोबर २०२३ अङ्‌कको प्रहरीधरहरा-मा “यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌” लेखको पृष्ठ २६, अनुच्छेद ७-९ हेर्नुहोस्‌।

b नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने