प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. १०-१५
  • कसैको स्याहारसुसार गर्दा आनन्दित भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसैको स्याहारसुसार गर्दा आनन्दित भइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आनन्दित भइरहन किन गाह्रो हुन सक्छ?
  • कसरी आनन्दित भइरहन सकिन्छ?
  • अरूले कसरी मदत गर्न सक्छन्‌?
  • बुढेसकालमा पनि आनन्दित भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. १०-१५

अध्ययन लेख ४५

गीत १११ हामी आनन्दित हुनुको कारण

कसैको स्याहारसुसार गर्दा आनन्दित भइरहनुहोस्‌

“आँसु झार्दै बिउ छर्नेहरूले खुसीले कराउँदै कटनी गर्नेछन्‌।”—भज. १२६:५.

सिक्न सकिने कुरा

स्याहारसुसार गर्नेहरूले कस्ता चुनौतीहरूको सामना गर्छन्‌ र तिनीहरू कसरी आनन्दित भइरहन सक्छन्‌?

१-२. कसैको स्याहारसुसार गरिरहेकाहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ? (हितोपदेश १९:१७) (चित्रहरू पनि हेर्नुहोस्‌।)

कोरियाका भाइ जिन-योल यसो भन्छन्‌, “हामीले विवाह गरेको ३२ वर्षभन्दा धेरै भयो। मेरी श्रीमतीलाई नसासम्बन्धी रोग पार्किन्सन्स लागेको छ र उसलाई चलहल गर्न निकै गाह्रो छ। त्यसैले विगत पाँच वर्षदेखि म उसको स्याहारसुसार गर्दै छु। मलाई उसको स्याहारसुसार गर्न पटक्कै गाह्रो लाग्दैन किनकि म उसलाई माया गर्छु। हामीले उसको लागि घरमै हस्पिटलको जस्तो बेड राखेका छौँ। हरेक रात म उसको हात समाएर छेवैमा सुत्छु।”

२ के तपाईँ आफ्नो आमा, बुबा, श्रीमान्‌, श्रीमती, छोरा, छोरी वा कोही साथीको स्याहारसुसार गर्दै हुनुहुन्छ। त्यसो हो भने आफूले माया गरेको व्यक्‍तिको यसरी स्याहारसुसार गर्न पाएकोमा तपाईँ खुसी हुनुहुन्छ होला। त्यसो गरेर तपाईँले यहोवाको भक्‍ति गरेको देखाउँदै हुनुहुन्छ। (१ तिमो. ५:४, ८; याकु. १:२७) तर सायद केही चुनौतीहरू पनि छन्‌ र त्यो कुरा अरूले याद गरेका छैनन्‌ होला। आफ्नो अवस्था कसैले बुझ्न सक्दैन जस्तो तपाईँलाई लाग्ला। तर यहोवाले भने पक्कै बुझ्नुहुन्छ। (प्रस्थान ३:७ तुलना गर्नुहोस्‌।) बाहिरबाट हेर्दा तपाईँ खुसी नै देखिए पनि एक्लै हुँदा आफ्नो आँसु थाम्नै सक्नुहुन्‍न होला। (भज. ६:६) तपाईँले बगाउनुभएको आँसु र गर्नुभएका त्यागहरूलाई यहोवा अनमोल ठान्‍नुहुन्छ। (भज. ५६:८; १२६:५) आफूले माया गरेको व्यक्‍तिको लागि तपाईँ जे-जति गर्दै हुनुहुन्छ, यहोवाले त्यो सबै देखिरहनुभएको छ। उहाँ त्यसलाई तपाईँबाट सापटी लिएको जस्तो ठान्‍नुहुन्छ अनि त्यसको लागि इनाम दिने प्रतिज्ञा गर्नुभएको छ।—हितोपदेश १९:१७ पढ्‌नुहोस्‌।

चित्रहरूको सँगालो: स्याहारसुसार गरिरहेका विभिन्‍न भाइबहिनीहरू। १. एक बहिनी आफ्नी वृद्ध आमालाई खुवाउँदै छिन्‌, जो ओछ्यानमा थलिएकी छिन्‌। २. एक बहिनी श्रीमान्‌लाई जुत्ता लगाइदिँदै छिन्‌, जो व्हिलचेयरमा छन्‌। ३. एक आमा आफ्नो छोरालाई फुटबल खेल्नुअघि हेलमेट लगाइदिँदै छिन्‌। ती बच्चालाई विशेष स्याहारसुसार चाहिन्छ। ४. एक भाइ अर्को वृद्ध भाइको घरमा गएर सँगै प्रार्थना गर्दै छन्‌।

के तपाईँ आफूले माया गर्ने कसैको स्याहारसुसार गर्दै हुनुहुन्छ? (अनुच्छेद २ हेर्नुहोस्‌)


३. तेरहको स्याहारसुसार गर्न अब्राहाम र सारालाई किन गाह्रो भएको हुन सक्छ?

३ बाइबलमा अरूको स्याहारसुसार गरेका थुप्रै व्यक्‍तिहरूको विवरण पाइन्छ। अब्राहाम र साराबारे विचार गरौँ। तिनीहरूले उर सहर छोड्‌दा अब्राहामका बुबा तेरह लगभग २०० वर्ष पुगेका थिए। तेरह पनि तिनीहरूसँगै गए। तिनीहरूले हारानसम्म पुग्न लगभग ९६० किलोमिटर यात्रा गरे। (उत्प. ११:३१, ३२) हुनत अब्राहाम र सारा तेरहलाई धेरै माया गर्थे। तर तिनको स्याहारसुसार गर्नु पक्कै सजिलो थिएन होला। अझ यात्राको दौडान तिनीहरूलाई कत्ति गाह्रो भयो होला, कल्पना गर्नुहोस्‌ त! सायद तिनीहरूले उँट वा गधामा यात्रा गरे। बूढो भइसकेका तेरहलाई त्यसरी यात्रा गर्न पक्कै कठिन भएको हुनुपर्छ। अब्राहाम र सारा कहिलेकाहीँ थकित र लखतरान भए होलान्‌। त्यस्तो अवस्थामा यहोवाले तिनीहरूलाई बल दिनुभयो। अब्राहाम र सारालाई जस्तै यहोवाले तपाईँलाई पनि सम्हाल्नुहुनेछ र बल दिनुहुनेछ।—भज. ५५:२२.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

४ आनन्दित हुनुभयो भने अरूको स्याहारसुसार गर्न तपाईँलाई सजिलो हुन्छ। (हितो. १५:१३) किनभने आनन्दित व्यक्‍ति अवस्था जस्तो भए पनि खुसी भइरहन सक्छ। (याकु. १:२, ३) आनन्दित भइरहन तपाईँ के गर्न सक्नुहुन्छ? प्रार्थना गरेर यहोवामा भरोसा गरेको देखाउनुहोस्‌ अनि सकारात्मक मनोवृत्ति कायम राख्न सकूँ भनेर उहाँसित मदत माग्नुहोस्‌। अरूको स्याहारसुसार गरिरहेकाहरूले आनन्दित भइरहन थप के गर्न सक्छन्‌ भनेर यस लेखमा छलफल गर्नेछौँ। अरूले तिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌, त्यो पनि बुझ्नेछौँ। तर सुरुमा अरूको स्याहारसुसार गरिरहेकाहरू आनन्दित भइरहनु किन महत्त्वपूर्ण छ र कस्ता कुराहरूले गर्दा तिनीहरूको आनन्द गुम्न सक्छ, विचार गरौँ।

आनन्दित भइरहन किन गाह्रो हुन सक्छ?

५. अरूको स्याहारसुसार गरिरहेकाहरू आनन्दित भइरहनु किन महत्त्वपूर्ण छ?

५ अरूको स्याहारसुसार गरिरहेकाहरूले आनन्द गुमाए भने तिनीहरू हताश हुन सक्छन्‌। (हितो. २४:१०) अनि त्यस्तो बेला दयालु व्यवहार गर्न र आफूले चाहेको जति मदत गर्न गाह्रो हुन्छ। कस्ता कुराहरूले गर्दा तिनीहरूको आनन्द गुम्न सक्छ?

६. स्याहारसुसार गर्नेहरू शारीरिक र मानसिक रूपमा किन थकित हुन सक्छन्‌?

६ स्याहारसुसार गर्नेहरू शारीरिक र मानसिक रूपमा थकित हुन सक्छन्‌। अरूको स्याहारसुसार गरिरहेकी लेआ यसो भन्छिन्‌: “सबै कुरा राम्रै चलिरहेको भए पनि दिनको अन्तमा म भावनात्मक रूपमा एकदमै गलेको महसुस गर्छु। अनि अब त केही गर्ने तागत नै छैन जस्तो लाग्छ। कहिलेकाहीँ त मेसेजको रिप्लाइ गर्ने जाँगरसमेत चल्दैन।” कसै-कसैले भने पर्याप्त मात्रामा आराम गर्न वा आफ्नो लागि समय निकाल्न सकेका छैनन्‌। इनिस बहिनी यसो भन्छिन्‌: “म राती मजाले निदाउन पाउँदिनँ। सासूको हेरविचार गर्न दुई-दुई घण्टाजसोमा उठ्‌छु। श्रीमान्‌ र म छुट्टी मनाउन कतै नगएको पनि वर्षौँ भइसक्यो।” आफूले स्याहारसुसार गरिरहेको व्यक्‍तिलाई एकछिन पनि छोड्‌न नमिल्ने भएकोले कोही-कोही जमघटमा जान वा यहोवाको सेवामा कुनै-कुनै असाइनमेन्टसमेत स्विकार्न सक्दैनन्‌। त्यसैले तिनीहरूले एक्लो महसुस गर्न सक्छन्‌ र आफूले चाहेको कुरा गर्न नपाउँदा निराश हुन सक्छन्‌।

७. स्याहारसुसार गर्नेहरूलाई दोषी भावना वा निराशाले किन सताउन सक्छ?

७ स्याहारसुसार गर्नेहरूलाई दोषी भावना वा निराशाले सताउन सक्छ। जेसिका नाम गरेकी बहिनी यसो भन्छिन्‌: “मेरो पनि आफ्नै सीमितताहरू छन्‌। तर कहिलेकाहीँ आफ्नो लागि समय निकाल्दा स्वार्थी भइरहेको छु कि जस्तो लाग्छ र दोषी भावनाले सताउँछ।” अरूको स्याहारसुसार गर्ने कसै-कसैलाई आफूले जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैनँ जस्तो लाग्न सक्छ। अथवा योभन्दा बढी गर्न सक्दिनँ भन्‍ने सोचाइ पनि आउन सक्छ। वा असाध्यै तनाव भएको बेला तिनीहरूको मुखबाट प्याच्च केही निस्कन सक्छ र तिनीहरूले स्याहारसुसार गरिरहेको व्यक्‍तिको चित्त दुख्न सक्छ। (याकु. ३:२) यस्ता कुराहरूले गर्दा तिनीहरूलाई दोषी भावनाले सताउन सक्छ। कसै-कसैले भने फुर्तिलो र हट्टाकट्टा व्यक्‍ति झन्‌झन्‌ कमजोर भएको देख्दा निराश र लाचार महसुस गर्न सक्छन्‌। बार्बरा नाम गरेकी बहिनी यसो भन्छिन्‌: “आफूले माया गरेको व्यक्‍तिको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको देख्दा मुटु छियाछिया हुन्छ।”

८. कृतज्ञताका दुई-चार शब्दले पनि ठूलो काम गर्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

८ अरूको स्याहारसुसार गर्ने कसै-कसैले आफ्नो कामको कदर नगरिएको महसुस गर्छन्‌। किन? किनभने तिनीहरूले गरेको मेहनत वा त्यागको लागि अरूले खासै कृतज्ञता व्यक्‍त गर्दैनन्‌ वा तिनीहरूको कामको सराहना गर्दैनन्‌। तर कृतज्ञताका दुई-चार शब्दले पनि ठूलो काम गर्छ। (१ थिस्स. ५:१८) मेलिसा बहिनी यसो भन्छिन्‌: “कहिलेकाहीँ त म यत्ति निराश अनि थकित हुन्छु कि म आफ्नो आँसु थाम्नै सक्दिनँ। तर मैले हेरविचार गरिरहेकाहरूले ‘तिमीले मेरो लागि गरिरहेको सबै कुराको लागि धन्यवाद’ मात्रै भन्दा पनि मैले ठूलो हौसला पाउँछु। यस्ता शब्दहरूले मलाई बल दिन्छ र भोलिपल्ट उहाँहरूको हेरविचार गर्न फेरि तयार हुन्छु।” भाइ आमाडुले अरूले कृतज्ञता व्यक्‍त गर्दा कस्तो महसुस हुन्छ भनेर बताए। तिनी र तिनकी श्रीमतीले आफ्नी भतिजीको हेरविचार गर्दै छन्‌। ऊ सानै छे र उसलाई छारेरोग लागेको छ। भाइ आमाडु भन्छन्‌: “हुनत हामी उसको लागि कति धेरै त्याग गर्दै छौँ भनेर उसले बुझेकी छैन। तर उसले हामीलाई ‘थ्याङ्‌क यु’ भन्छे। अनि कहिलेकाहीँ कागजमा जसोतसो ‘आइ लभ यु’ लेखेर दिन्छे। त्यो देख्दा एकदम खुसी लाग्छ।”

कसरी आनन्दित भइरहन सकिन्छ?

९. स्याहारसुसार गर्नेहरू कसरी मर्यादामा रहन सक्छन्‌?

९ मर्यादामा रहनुहोस्‌। (हितो. ११:२) हामीसित आफूले चाहेको सबै कुरा गर्ने बल अनि समय हुँदैन। तपाईँ कति गर्न सक्नुहुन्छ अनि कति गर्न सक्नुहुन्‍न भन्‍ने कुरा तपाईँलाई नै थाह हुन्छ। त्यसकारण आफूले गर्न नसक्ने कुराको लागि ‘नाइँ’ भन्‍न सिक्नुहोस्‌। यसरी ‘नाइँ’ भन्‍नु गलत होइन बरु मर्यादामा रहनु अर्थात्‌ आफ्नो सीमितता स्विकार्नु हो। कसैले तपाईँलाई मदत गर्न चाहन्छन्‌ भने खुसीसाथ स्विकार्नुहोस्‌। जय नाम गरेका भाइ यसो भन्छन्‌: “हामी एकै चोटि धेरै कुरा गर्न सक्दैनौँ। आफ्नो सीमितता बुझ्यौँ र त्योभन्दा बढी गर्न खोजेनौँ भने आनन्दित भइरहन सक्छौँ।”

१०. स्याहारसुसार गर्नेहरूले किन अन्तर्दृष्टि चलाउनुपर्छ? (हितोपदेश १९:११)

१० अन्तर्दृष्टि चलाउनुहोस्‌। (हितोपदेश १९:११ पढ्‌नुहोस्‌।) अन्तर्दृष्टि चलायौँ भने कसैले हामीसित नराम्रो व्यवहार गर्दा पनि शान्त रहन सक्नेछौँ। किनभने अन्तर्दृष्टिले हामीलाई तिनले त्यस्तो व्यवहार गर्नुको कारण बुझ्न मदत गर्छ। गम्भीर रोगको कारण कसै-कसैको स्वभाव परिवर्तन हुन सक्छ। (उप. ७:७) जस्तै, दयालु र विचारशील व्यक्‍ति पनि रिसाहा र झगडालु बन्‍न सक्छन्‌। अथवा तिनी ससानो कुरामा पनि गुनासो गर्ने वा जे गरे पनि खुसी नहुने खालका व्यक्‍ति बन्‍न सक्छन्‌। यदि तपाईँ गम्भीर रोग लागेको कसैको स्याहारसुसार गर्दै हुनुहुन्छ भने तिनको रोग कस्तो प्रकारको हो भनेर बुझ्नु राम्रो हो। यसो गर्नुभयो भने एकाएक तिनको स्वभाव परिवर्तन हुनुको कारण वास्तवमा तिनको रोगले गर्दा रहेछ भनेर बुझ्न सक्नुहुनेछ।—हितो. १४:२९.

११. स्याहारसुसार गर्नेहरूले के-कस्ता कुराको लागि हरेक दिन समय निकाल्नुपर्छ? (भजन १३२:४, ५)

११ यहोवासितको मित्रता बलियो बनाउन समय निकाल्नुहोस्‌। “अझ महत्त्वपूर्ण कुराहरू”-लाई समय दिन कहिलेकाहीँ तपाईँले अरू कामकुरालाई थाती राख्नुपर्ने हुन सक्छ। (फिलि. १:१०) हामीले गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा भनेको यहोवासितको सम्बन्ध बलियो बनाउनु हो। राजा दाउदले पनि यहोवाको उपासनालाई प्राथमिकता दिए। (भजन १३२:४, ५ पढ्‌नुहोस्‌।) त्यसरी नै तपाईँ जति व्यस्त भए पनि हरेक दिन बाइबलको केही अंश पढ्‌न र प्रार्थना गर्न समय निकाल्नुपर्छ। इलिसा बहिनी यसो भन्छिन्‌: “प्रार्थना गर्दा अनि भजनको किताबमा भएका सान्त्वनादायी पदहरूमा मनन गर्दा आनन्दित भइरहन सकेकी छु। मलाई सबैभन्दा धेरै मदत गर्ने कुरा प्रार्थना नै हो। शान्त रहन सकूँ भनेर दिनमा थुप्रै पटक यहोवालाई प्रार्थना गर्छु।”

१२. स्याहारसुसार गर्नेहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्न किन समय निकाल्नुपर्छ?

१२ आफ्नो स्वास्थ्यको ख्याल गर्न समय निकाल्नुहोस्‌। स्याहारसुसार गर्ने व्यक्‍तिहरू व्यस्त हुने भएकोले तिनीहरूसित ताजा खानेकुरा किन्‍ने अनि मजाले पकाएर खाने समय नहुन सक्छ। शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थकर खानेकुरा अनि व्यायाम महत्त्वपूर्ण छ। त्यसैले तपाईँसँग भएको थोरै समयको सदुपयोग गर्दै पोसिलो खानेकुरा खानुहोस्‌ र व्यायाम गर्नुहोस्‌। (एफि. ५:१५, १६) साथै पर्याप्त मात्रामा सुत्नुहोस्‌। (उप. ४:६) अध्ययनहरूले देखाएअनुसार पर्याप्त मात्रामा सुत्दा त्यसले हाम्रो दिमागमा जम्मा हुने हानिकारक तत्त्वहरूलाई हटाउन मदत गर्छ। स्वास्थ्यसम्बन्धी एउटा लेखअनुसार “पर्याप्त मात्रामा सुत्दा तनाव कम हुन सक्छ अनि गाह्रो अवस्थामा पनि शान्त रहन सकिन्छ।” तपाईँले आफूलाई रमाइलो लाग्ने कुराहरू गर्न समय निकाल्नु पनि महत्त्वपूर्ण छ। (उप. ८:१५) एउटी बहिनीले आफूलाई आनन्दित रहन मदत गरेको कुराबारे यसरी बताइन्‌: “मौसम सफा भएको दिन म बाहिर कतै घुम्न जान्छु अनि महिनाको एकचोटि भए पनि साथीसित रमाइलो गर्ने योजना बनाउँछु।”

१३. हाँस्नु स्वास्थ्यको लागि किन राम्रो हो? (हितोपदेश १७:२२)

१३ हँसीमजाक गर्नुहोस्‌। (हितोपदेश १७:२२ पढ्‌नुहोस्‌; उप. ३:१, ४) हाँस्नु स्वास्थ्यको लागि राम्रो हो। कसैको स्याहारसुसार गर्दा सबै कुरा हामीले सोचेको जस्तो नहुन सक्छ। तर जस्तोसुकै तनावपूर्ण अवस्थामा पनि हाँस्न सक्ने कारण खोज्नुभयो भने तपाईँले हलुका महसुस गर्नुहुनेछ। आफूले स्याहारसुसार गरिरहेको व्यक्‍तिसँग हँसीमजाक गर्नुभयो अनि सँगै हाँस्नुभयो भने तपाईँहरूबीचको सम्बन्ध बलियो हुन्छ।

१४. भरोसायोग्य साथीसित कुरा गर्दा तपाईँले कस्तो मदत पाउनुहुनेछ?

१४ भरोसायोग्य साथीसित कुरा गर्नुहोस्‌। खुसी हुन जति नै प्रयास गरे पनि कहिलेकाहीँ हताश भइन्छ। त्यस्तो बेला तपाईँको भावना बुझिदिने र तपाईँलाई दोषी महसुस नगराउने साथीसित कुरा गर्न सक्नुहुन्छ। (हितो. १७:१७) त्यस्तो साथीले तपाईँको कुरा सुनिदिनेछन्‌ र तपाईँलाई हौसला दिनेछन्‌। त्यसपछि तपाईँ फेरि आनन्दित हुनुहुनेछ।—हितो. १२:२५.

१५. भविष्यको आशामा ध्यान दिँदा तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

१५ प्रमोदवनमा सँगै जीवन बिताएको कल्पना गर्नुहोस्‌। स्याहारसुसार गर्ने काम सधैँभरि गर्नुपर्ने काम होइन भनेर नबिर्सनुहोस्‌। मानिसहरूले यो काम गरून्‌ भन्‍ने यहोवाको उद्देश्‍य पटक्कै थिएन। (२ कोरि. ४:१६-१८) हामीले “साँच्चैको जीवन” पाउने दिन नजिकै छ। (१ तिमो. ६:१९) तपाईँले स्याहारसुसार गरिरहेको व्यक्‍तिसित प्रमोदवनमा सँगै के-के गर्ने भनेर कुरा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँहरू दुवै जना खुसी हुनुहुनेछ। (यसै. ३३:२४; ६५:२१) बहिनी हेदर यसो भन्छिन्‌: “मैले जसको स्याहारसुसार गरिरहेकी छु, तिनीहरूलाई अक्सर यसो भन्‍ने गर्छु, ‘हामी सँगै लुगा सिलाउनेछौँ, दौडनेछौँ अनि साइकल चलाउनेछौँ। फेरि जीवित भएका हाम्रा प्रियजनहरूको लागि हामी मीठामीठा परिकारहरू बनाउनेछौँ।’ यस्तो आशा दिनुभएकोमा हामी सँगै यहोवालाई धन्यवाद दिन्छौँ।”

अरूले कसरी मदत गर्न सक्छन्‌?

१६. हामी स्याहारसुसार गर्ने व्यक्‍तिलाई कसरी मदत गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ स्याहारसुसार गर्नेहरूलाई पालो दिनुहोस्‌। मण्डलीका भाइबहिनीहरूले यस्तो मदत दिँदा स्याहारसुसार गर्नेहरूले आराम गर्ने अनि आफ्नो व्यक्‍तिगत कामकुरा गर्ने समय पाउँछन्‌। (गला. ६:२) केही भाइबहिनीहरूले हरेक हप्ता कसै न कसैलाई यसरी पालो दिने तालिका नै बनाएका छन्‌। नटालिया बहिनीको अनुभव विचार गरौँ। तिनी प्यारालाइसिस भएको श्रीमान्‌को हेरविचार गर्दै छिन्‌। तिनी यसो भन्छिन्‌: “मण्डलीको एक जना भाइ हरेक हप्ता एक-दुई चोटि आएर मेरो श्रीमान्‌सित समय बिताउनुहुन्छ। उहाँहरू सँगै साक्षीकार्यमा भाग लिनुहुन्छ, कुराकानी गर्नुहुन्छ अनि सँगै फिल्म पनि हेर्नुहुन्छ। आफ्नो साथीसित समय बिताउन पाउँदा मेरो श्रीमान्‌लाई निकै रमाइलो लाग्छ अनि मैले पनि आफूले चाहेको कुरा गर्न समय पाउँछु। जस्तै, कहिलेकाहीँ म टहल्न जान्छु।” कसै-कसैले त राती पनि पालो दिन सक्छन्‌। यसो गर्दा स्याहारसुसार गर्ने व्यक्‍ति राती मजाले निदाउन सक्छन्‌।

दुई बहिनी एक वृद्ध बहिनीलाई घरमा भेट्‌न गएका छन्‌। ती वृद्धाको स्याहारसुसार गर्ने बहिनी खुसी भएर बाहिर निस्कँदै छिन्‌।

तपाईँ स्याहारसुसार गर्नेहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्‌)a


१७. स्याहारसुसार गर्नेहरूलाई सभाको दौडान कसरी मदत गर्न सक्छौँ?

१७ स्याहारसुसार गर्नेहरूलाई सभाको दौडान मदत गर्नुहोस्‌। तिनीहरूले सभा, सम्मेलन अनि अधिवेशनमा खासै ध्यान दिन सक्दैनन्‌ किनभने तिनीहरू त्यतिबेला पनि स्याहारसुसार गर्ने काममै व्यस्त हुन्छन्‌। त्यसैले तिनीहरूले हेरविचार गर्नुपर्ने वृद्ध वा बिरामी व्यक्‍तिसित पूरै सभाभरि वा केही समयको लागि कोही बसिदियो भने तिनीहरूले कार्यक्रम ध्यान दिएर सुन्‍न सक्छन्‌। यदि उक्‍त बिरामी वा वृद्ध घरबाहिर निस्कन सक्दैनन्‌ भने हामी तिनको घरमै गएर सँगै सभामा जोडिन सक्छौँ। यसो गर्दा तिनको स्याहारसुसार गर्ने व्यक्‍ति सभाभवनमै आउन सक्छन्‌।

१८. हामी स्याहारसुसार गर्नेहरूका लागि अरू के गर्न सक्छौँ?

१८ स्याहारसुसार गर्नेहरूको सराहना गर्नुहोस्‌ र तिनीहरूको लागि प्रार्थना गर्नुहोस्‌। एल्डरहरूले स्याहारसुसार गर्नेहरूलाई नियमित रूपमा प्रोत्साहन दिनुपर्छ। (हितो. २७:२३) अनि हाम्रो अवस्था जस्तो भए पनि हामी सबैले खुला मनले र नियमित रूपमा तिनीहरूको सराहना गर्नुपर्छ। साथै तिनीहरूलाई बलियो अनि आनन्दित भइरहन मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना पनि गर्न सक्छौँ।—२ कोरि. १:११.

१९. हामी कस्तो समयको प्रतीक्षा गर्दै छौँ?

१९ चाँडै यहोवाले सबैको आँखाबाट दुःखको आँसु पुछिदिनुहुनेछ। रोगबिमार र मृत्यु हुनेछैन। (प्रका. २१:३, ४) “लङ्‌गडो मृगझैँ उफ्रनेछ।” (यसै. ३५:५, ६) कोही पनि बूढाबूढी हुनेछैन अनि आफूले माया गरेको व्यक्‍ति बूढाबूढी भएको वा बिरामी परेको हेर्नुपर्नेछैन। वृद्धावस्था र रोगबिमार “पहिलेका कुराहरू” हुनेछन्‌ र ती “फेरि सम्झनामा आउनेछैनन्‌।” (यसै. ६५:१७) हामी यहोवाका प्रतिज्ञाहरू पूरा हुने दिनको प्रतीक्षामा छौँ। तर त्यो दिन नआउन्जेल उहाँले हामीलाई सम्हालिरहनुहुनेछ। उहाँमा भर परिरह्‍यौँ भने उहाँले हामीलाई “सबै कुरा धीरजी र आनन्दित हुँदै सहन” बल दिनुहुनेछ।—कल. १:११.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • कस्ता कुराहरूले गर्दा स्याहारसुसार गर्नेहरूको आनन्द गुम्न सक्छ?

  • स्याहारसुसार गर्नेहरू कसरी आनन्दित भइरहन सक्छन्‌?

  • भाइबहिनीहरूले स्याहारसुसार गर्नेहरूलाई कसरी मदत गर्न सक्छन्‌?

गीत १५५ खुसी सधैँभरि

a चित्रको व्याख्या: एउटी वृद्धाको स्याहारसुसार गर्ने बहिनी कतै टहल्न जान सकोस्‌ भनेर दुई जना जवान बहिनी तिनलाई पालो दिन आएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने