प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. ८-९
  • मैले ड्राइभिङ गर्न छोड्‌नुपर्ने हो कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले ड्राइभिङ गर्न छोड्‌नुपर्ने हो कि?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँको ड्राइभिङ कस्तो छ?
  • कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ?
  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. ८-९
एक वृद्ध भाइ झ्यालनजिकै बसेर आफ्नो कार हेर्दै छन्‌। तिनको हातमा कारको साँचो छ अनि तिनी गहिरिएर सोच्दै छन्‌।

मैले ड्राइभिङ गर्न छोड्‌नुपर्ने हो कि?

तपाईँले गाडी वा मोटरसाइकल चलाइरहनुभएको वर्षौँ भइसक्यो होला। आफ्नै साधन चलाएर यताउता जान सक्ने भएकोले कसैमा भर पर्नुपर्दैन होला। तर तपाईँको परिवार र साथीभाइलाई तपाईँको चिन्ता लागिरहेको छ अनि तपाईँले ड्राइभिङ गर्न छोड्‌नुपर्ने हो कि भन्‍न थालेका छन्‌। तर तपाईँलाई भने तिनीहरूले किन बेकारमा चिन्ता गरेका होलान्‌ जस्तो लागिरहेको छ।

त्यसो हो भने ड्राइभिङ गरिरहने कि छोड्‌ने भनेर तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ?

कुनै-कुनै देशमा एउटा निश्‍चित उमेर पुगेपछि डाक्टरले स्वास्थ्य परीक्षण गरेर अनुमति दिए भने मात्र लाइसेन्स रिन्यु गर्न सकिन्छ। यी देशहरूमा बसोबास गर्ने साक्षीहरूले सवारीसम्बन्धी यस्ता नियमकानुनहरू पालन गर्नुपर्छ। (रोमी १३:१) तपाईँको देशमा यस्ता नियमहरू छैनन्‌ भने पनि ड्राइभिङ गरिरहने कि छोड्‌ने भन्‍ने निर्णय गर्न तपाईँ विभिन्‍न कुराहरू विचार गर्न सक्नुहुन्छ।

तपाईँको ड्राइभिङ कस्तो छ?

वृद्धहरूसम्बन्धी एउटा अमेरिकी वेबसाइटले (NIA) चालकहरूलाई यस्ता प्रश्‍नहरू सोध्न सुझाव दिएको छ:

  • के मलाई ट्राफिक साइनहरू पढ्‌न वा राती राम्रोसित देख्न गाह्रो हुन्छ?

  • के म अझै पनि आफ्नो टाउको घुमाएर साइड मिरर र ब्लाइन्ड स्पटहरू हेर्न सक्छु?

  • के म तुरुन्तै ब्रेक थिच्न वा एक्सिलरेटर दबाउन सक्छु?

  • के म अरू चालकहरूलाई नै बाधा पुग्नेगरि बिस्तारै ड्राइभिङ गर्छु?

  • के म हालै पटक-पटक दुर्घटना हुनै लागेको अवस्थामा परेको छु? कुनै कुरामा ठोक्किएर मेरो सवारीसाधन कुच्चिएको र कोरिएको छ कि?

  • के मलाई ट्राफिक प्रहरीले मेरो ड्राइभिङको कारण रोकेको छ?

  • के म ड्राइभिङ गर्दा निदाएको छु?

  • के म ड्राइभिङ गर्न गाह्रो हुन सक्ने औषधीहरू खाँदै छु?

  • के मेरो परिवार वा साथीभाइले मेरो ड्राइभिङबारे चिन्ता व्यक्‍त गरेका छन्‌?

यहाँ दिइएकामध्ये एउटा वा दुइटा प्रश्‍नको जवाफ ‘हो, त्यस्तो भएको छ’ भन्‍ने दिनुहुन्छ भने तपाईँले केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। जस्तै, राती सकेसम्म कम ड्राइभिङ गर्नुहोस्‌। बेलाबेलामा तपाईँको ड्राइभिङ कस्तो छ भनेर जाँच्नुहोस्‌। तपाईँ यो कुरा आफ्नो परिवारको सदस्य वा साथीलाई सोध्न सक्नुहुन्छ। तपाईँ सेफ ड्राइभिङ कोर्स लिन पनि सक्नुहुन्छ। तर यहाँ सोधिएका अधिकांश प्रश्‍नहरूमा ‘हो, त्यस्तो भएको छ’ भन्‍ने जवाफ दिनुहुन्छ भने तपाईँले ड्राइभिङ गर्न छोड्‌नु नै बुद्धिमानी हुन सक्छ।a

कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ?

तपाईँलाई आफूले राम्ररी ड्राइभिङ गरिरहेको छु जस्तो लाग्न सक्छ तर अरूलाई भने चिन्ता लागिरहेको हुन सक्छ। तपाईँ ड्राइभिङ गर्न छोड्‌ने कुरा सोच्न समेत सक्नुहुन्‍न होला। यो एउटा संवेदनशील विषय हो र निर्णय गर्न पटक्कै सजिलो छैन। त्यसोभए आफ्नो अवस्थालाई राम्ररी केलाउन र सही निर्णय गर्न कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ? दुई वटा सिद्धान्त विचार गरौँ।

मर्यादामा रहनुहोस्‌। (हितो. ११:२) उमेर ढल्कँदै जाँदा हाम्रो आँखा, कान र मांसपेशीहरू कमजोर हुन्छन्‌। अनि हाम्रा अरू अङ्‌गहरूले पनि तुरुन्तै प्रतिक्रिया देखाउन सक्दैन। जस्तै, धेरैजसो मानिसहरू उमेर ढल्कँदै जाँदा कुनै-कुनै खेलकुद खेल्न छोड्‌छन्‌। किनभने त्यस्ता खेलहरूमा आफू घाइते हुने सम्भावना धेरै हुन्छ भनेर तिनीहरूलाई थाह छ। ड्राइभिङ गर्ने सन्दर्भमा पनि कुरा त्यही हो। (हितो. २२:३) मर्यादामा रहने व्यक्‍तिले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै ड्राइभिङ गर्न छोड्‌ने निर्णय गर्न सक्छन्‌। अनि अरूले पनि चिन्ता व्यक्‍त गर्न थालेका छन्‌ भने तिनले उनीहरूको कुरा सुन्छन्‌।—२ समुएल २१:१५-१७ तुलना गर्नुहोस्‌।

रक्‍तदोषी हुनदेखि जोगिनुहोस्‌। (व्यव. २२:८) सवारीसाधन एकदमै उपयोगी हुन्छ तर राम्रोसित चलाएन भने त्यो खतरनाक हतियार पनि बन्‍न सक्छ। कसैले आफ्नो सीमितता हुँदाहुँदै पनि ड्राइभिङ गरिरह्‍यो भने आफ्नो मात्र होइन, अरूको पनि ज्यान जान सक्छ। त्यसो भएमा तिनी रक्‍तदोषी हुन सक्छन्‌।

ड्राइभिङ गर्न छोडेँ भने आफ्नो आत्मसम्मान गुम्नेछ वा अरूले आदर गर्न छोड्‌नेछ भन्‍ने नसोच्नुहोस्‌। यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँले आफ्नो सीमितता स्विकारेको, नम्र भएको अनि अरूको सुरक्षाबारे ध्यान दिएको देख्दा उहाँ खुसी हुनुहुन्छ। उहाँले तपाईँलाई बुढेसकालमा पनि सम्हाल्ने र तपाईँको हेरचाह गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसै. ४६:४) उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। त्यसैले यहोवासित बुद्धि माग्नुहोस्‌ अनि बाइबलका सिद्धान्तहरू लागू गरेर सही निर्णय गर्नुहोस्‌।

अरूले कसरी मदत गर्न सक्छन्‌?

वृद्धहरूसित तिनीहरूको ड्राइभिङबारे तिनीहरूकै परिवारका सदस्यहरूले कुरा गर्नु राम्रो हो। अथवा तपाईँ त्यस्तो कुनै वृद्धको साथी हुनुहुन्छ होला र अरूले तिनको ड्राइभिङबारे चिन्ता व्यक्‍त गरेको सुन्‍नुभएको छ होला। त्यो कुरालाई हल्कासित नलिनुहोस्‌। तपाईँ ती वृद्धसित तिनको सवारीसाधनमा कतै जान पनि सक्नुहुन्छ। यसो गर्दा तपाईँले तिनको ड्राइभिङ कस्तो छ भनेर थाह पाउन सक्नुहुनेछ। आवश्‍यक भएमा तिनीसित तिनको ड्राइभिङबारे कुरा गर्नुहोस्‌। तर कुरा गर्दा तिनको भावनाको कदर गर्नुहोस्‌। आफूलाई तिनको ठाउँमा राखेर हेर्नुहोस्‌। दयालु हुनुहोस्‌ तर तिनलाई भन्‍नुपर्ने कुरा भन्‍न नहिचकिचाउनुहोस्‌। तिनको उमेरलाई कुराकानीको मुख्य विषय नबनाउनुहोस्‌। बरु तिनको ड्राइभिङबारे कुरा गर्नुहोस्‌। ‘अब तपाईँ सुरक्षित तरिकामा ड्राइभिङ गर्न सक्नुहुन्‍न’ भन्‍नुको साटो ‘मलाई तपाईँको सुरक्षाको चिन्ता लागेको छ’ भन्‍नु बेस हो। माथि छलफल गरिएका बाइबल सिद्धान्तहरू तिनलाई सम्झाउनुहोस्‌। अनि ती सिद्धान्तहरूलाई तिनी कदर गर्छन्‌ भन्‍ने कुरामा आफू ढुक्क भएको कुरा पनि बताउनुहोस्‌।

कुनै वृद्ध व्यक्‍तिले ड्राइभिङ गर्न छोड्‌दा तिनलाई कस्तो लागिरहेको छ होला भनेर बुझ्न हामी सबैले प्रयास गर्नुपर्छ। तिनलाई आफ्नो स्वतन्त्रता गुमेको अनि अरूमा भर पर्नुपरेको जस्तो लाग्न सक्छ। तपाईँ के गर्न सक्नुहुन्छ? तिनलाई साथ दिनुहोस्‌ र आवश्‍यक मदत गर्नुहोस्‌। (हितो. १७:१७) हरेक चोटि कतै जान मदत मागिरहनुपर्दा तिनलाई अप्ठ्यारो लाग्न सक्छ र अरूको लागि बोझ हुने हो कि भन्‍ने चिन्ता लाग्न सक्छ। त्यसैले तपाईँ आफै अग्रसर हुनुहोस्‌। तपाईँ तिनलाई केही महत्त्वपूर्ण कामहरूको लागि पहिल्यै सवारीसाधनको प्रबन्ध मिलाइदिन सक्नुहुन्छ। जस्तै: सभा, प्रचार, सपिङ र अस्पताल जान। तिनलाई मदत दिन पाएकोमा र तिनीसित समय बिताउन पाएकोमा आफू खुसी छु भन्‍ने कुरा बताउनुहोस्‌।—रोमी १:११, १२.

a थप जानकारीको लागि सेप्टेम्बर ८, २००२ अङ्‌कको ब्यूँझनुहोस्‌!-मा छापिएको “सवारी-दुर्घटना—के तपाईँ सुरक्षित हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने