प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 नोभेम्बर पृ. २-७
  • बुढेसकालमा पनि आनन्दित भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुढेसकालमा पनि आनन्दित भइरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बुढेसकालमा आनन्दित भइरहन किन गाह्रो हुन सक्छ?
  • कसरी आनन्दित भइरहन सकिन्छ?
  • अरूले कसरी मदत गर्न सक्छन्‌?
  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 नोभेम्बर पृ. २-७

अध्ययन लेख ४४

गीत १३८ फुलेको केश—शोभाको मुकुट

बुढेसकालमा पनि आनन्दित भइरहनुहोस्‌

“बुढेसकालमा पनि तिनीहरू फल्दोफुल्दो हुनेछन्‌।”—भज. ९२:१४.

सिक्न सकिने कुरा

बुढेसकालमा पनि आनन्दित भइरहनु किन महत्त्वपूर्ण छ र आनन्दित भइरहन के गर्न सकिन्छ?

१-२. यहोवा आफ्ना वृद्ध सेवकहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? (भजन ९२:१२-१४; चित्र पनि हेर्नुहोस्‌।)

मानिसहरू वृद्धावस्थालाई फरक-फरक दृष्टिकोणले हेर्छन्‌। कसै-कसैलाई बूढाबूढी हुनु भनेको सम्मानको कुरा हो जस्तो लाग्छ। तर कोही-कोही भने बूढो नदेखिन हर प्रयास गर्छन्‌। जस्तै, तिनीहरू सेतो कपाल देख्नेबित्तिकै उखेलिहाल्छन्‌। तर जति नै प्रयास गरे पनि एक न एक दिन त बूढो भइहालिन्छ।

२ स्वर्गमा बस्नुहुने हाम्रो बुबाले उमेर ढल्कँदै गएको आफ्ना सेवकहरूप्रति फरक दृष्टिकोण राख्नुहुन्छ। (हितो. १६:३१) उहाँ तिनीहरूलाई फल्दोफुल्दो रूखहरूसित तुलना गर्नुहुन्छ। (भजन ९२:१२-१४ पढ्‌नुहोस्‌।) यो तुलना किन सुहाउँदो छ? वर्षौँ पुराना रूखहरू अक्सर सुन्दर देखिन्छन्‌। किनभने ती रूखहरू हरिया पातहरूले भरिएका हुन्छन्‌ र त्यसमा ढकमक्क फूल फुलेको हुन्छ। जस्तै, जापानमा पाइने साकुरा फूलका रूखहरू। ती रूखहरूमध्ये कुनै-कुनै त एक हजार वर्षभन्दा पुरानो हो। ती रूखहरूजस्तै हाम्रा वृद्ध भाइबहिनीहरू पनि सुन्दर छन्‌, अझ खासगरि यहोवाको नजरमा। उहाँ तिनीहरूको फुलेको केश मात्र हेर्नुहुन्‍न। बरु तिनीहरूमा भएका सुन्दर गुणहरूको मोल गर्नुहुन्छ। जस्तै, तिनीहरूको सहनशीलता र वफादारी। जस्तोसुकै गाह्रो अवस्थामा पनि तिनीहरूले वफादार भई गरेको सेवा यहोवा कहिल्यै बिर्सनुहुन्‍न।

एक वृद्ध दम्पती बेन्चमा बसेर ढकमक्क फुलेको साकुरा फूलहरू हेर्दै छ।

वर्षौँ पुराना रूखहरूजस्तै वफादार वृद्धहरू पनि सुन्दर र फल्दोफुल्दो हुन्छन्‌ (अनुच्छेद २ हेर्नुहोस्‌)


३. यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न वृद्ध जनहरूलाई कसरी चलाउनुभएको छ? एउटा उदाहरण दिनुहोस्‌।

३ कसैको उमेर ढल्कँदैमा यहोवाको नजरमा तिनको महत्त्व घट्‌दैन।a वास्तवमा उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न अक्सर आफ्ना वृद्ध जनहरूलाई चलाउनुहुन्छ। जस्तै, सारा। यहोवाले तिनी थुप्रै जातिकी आमा र मसीहकी पुर्खा हुनेछिन्‌ भनेर बताउनुहुँदा तिनको उमेर निकै ढल्किसकेको थियो। (उत्प. १७:१५-१९) त्यसैगरि यहोवाले मोसालाई इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन आज्ञा दिनुहुँदा तिनी वृद्ध भइसकेका थिए। (प्रस्थ. ७:६, ७) अनि यहोवाले प्रेषित युहन्‍नालाई बाइबलको पाँच वटा किताब लेख्न प्रेरणा दिनुहुँदा तिनको पनि उमेर ढल्किसकेको थियो।

४. हितोपदेश १५:१५ अनुसार वृद्धहरूलाई चुनौतीहरूको सामना गर्न केले मदत गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

४ उमेर ढल्कँदै जाँदा थुप्रै चुनौतीहरू पनि आइपर्छन्‌। एउटी बहिनीले ठट्टा गर्दै यसो भनिन्‌: “लरोतरो मान्छेले बुढेसकालका चुनौतीहरू सहन सक्दैन!” तर यहोवाले दिनुहुने आनन्दलेb वृद्धहरूलाई त्यस्ता चुनौतीहरू सहन बल दिन्छ। (हितोपदेश १५:१५ पढ्‌नुहोस्‌।) यस लेखमा बुढेसकालमा आनन्दित भइरहन के गर्न सकिन्छ भनेर छलफल गर्नेछौँ। साथै मण्डलीका अरूले वृद्ध भाइबहिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌ भनेर पनि बुझ्नेछौँ। उमेर ढल्कँदै जाँदा आनन्दित भइरहन किन गाह्रो हुन्छ, सुरुमा त्यसबारे छलफल गरौँ।

अगाडिको चित्रमा देखाइएको दम्पती एकअर्काको हात समाएर मुस्कुराउँदै साकुरा फूलहरू हेर्दै छ

आनन्दित हृदयले ढल्कँदो उमेरसँगै आउने चुनौतीहरूको सामना गर्न मदत गर्छ (अनुच्छेद ४ हेर्नुहोस्‌)


बुढेसकालमा आनन्दित भइरहन किन गाह्रो हुन सक्छ?

५. वृद्धहरू के-कस्ता कुराहरूले गर्दा निराश हुन सक्छन्‌?

५ तपाईँलाई के-कस्ता कुराहरूले निराश बनाउन सक्छ? पहिला सजिलै गरिरहेको काम पनि गर्न नसक्दा तपाईँ निराश हुनुहुन्छ होला। तपाईँलाई पहिलाजस्तै जवान र स्वस्थ हुन पाए हुन्थ्यो जस्तो लाग्ला। (उप. ७:१०) जस्तै, रुबी बहिनी यसो भन्छिन्‌: “अहिले मेरो पूरै जीउ कटकटी खान्छ अनि पहिलाजस्तो हिँडडुल गर्न सक्दिनँ। लुगा फेर्न अनि यहाँसम्म कि मोजा लगाउन समेत सकस हुन्छ। बाथले गर्दा मेरो हातगोडामा तागतै छैन। साधारणजस्तो देखिने काम गर्न पनि निकै गाह्रो हुन्छ।” पहिला बेथेलमा सेवा गरेका हेरोल्ड यसो भन्छन्‌: “म त अहिले अर्कै मान्छे भइसकेँ जस्तो लाग्छ। कहिलेकाहीँ त आफै देखेर दिक्क लाग्छ। पहिला म निकै फुर्तिलो थिएँ। मलाई बल खेल्न एकदमै रमाइलो लाग्थ्यो। मेरा साथीहरू यसो भन्थे, ‘बल हेरोल्डलाई देऊ। त्यसपछि त हाम्रो जित पक्का!’ तर अहिले त म बल फ्याँक्न पनि सक्दिनँ होला।”

६. (क) वृद्धहरू अरू के-कस्ता कारणले पनि निराश हुन सक्छन्‌? (ख) सवारीसाधन चलाउन छोड्‌ने कि नछोड्‌ने भनेर निर्णय गर्न वृद्धहरूले के-कस्ता कुराहरू विचार गर्न सक्छन्‌? (यस अङ्‌कमा भएको “मैले ड्राइभिङ गर्न छोड्‌नुपर्ने हो कि?” लेख हेर्नुहोस्‌।)

६ पहिला आफैले गर्दै आएको कामहरू गर्न पनि अरूमा निर्भर हुनुपरेकोले तपाईँ निराश हुनुहुन्छ होला। जस्तै, कोही तपाईँको घरमै आएर तपाईँको हेरविचार गर्नुपरेको छ होला वा तपाईँ आफ्नो कुनै छोरा वा छोरीको घरमा गएर बस्नुपरेको छ होला। अथवा तपाईँको स्वास्थ्य पहिलाको जस्तो राम्रो नभएकोले वा आँखा कमजोर हुँदै गएकोले तपाईँ एक्लै कतै जान वा सवारीसाधन चलाउन पनि सक्नुहुन्‍न होला। आफ्नो अवस्था देखेर तपाईँलाई दिक्क लाग्छ होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँ आफ्नो हेरविचार आफैले गर्न सक्नुहुन्‍न, एक्लै बस्न सक्नुहुन्‍न वा सवारीसाधन चलाउन सक्नुहुन्‍न भन्दैमा यहोवा र अरूको नजरमा तपाईँको महत्त्व घट्‌छ भन्‍ने होइन। यहोवा तपाईँको भावना बुझ्नुहुन्छ भन्‍ने कुरामा पनि ढुक्क हुनुहोस्‌। उहाँ तपाईँको बाहिरी रूप होइन, हृदय हेर्नुहुन्छ। तपाईँको मनमा यहोवा र भाइबहिनीप्रति कति धेरै माया र कृतज्ञता छ भन्‍ने कुरा उहाँ बुझ्नुहुन्छ। अनि उहाँको लागि त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।—१ समु. १६:७.

७. अहिलेसम्म अन्त नआएकोले निराश हुँदा तपाईँ के गर्न सक्नुहुन्छ?

७ यो दुष्ट संसारको विनाश आफ्नो जीवनकालमा देख्न नपाइने हो कि भन्‍ने सोचेर पनि तपाईँ निराश हुनुहुन्छ होला। त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ? यहोवाले अहिलेसम्म यो दुष्ट संसारलाई नाश नगर्नुको एउटा कारण छ भन्‍ने कुरा सम्झनुहोस्‌। (यसै. ३०:१८) त्यो कारण के हो? यहोवा अझ धेरै मानिसहरूले उहाँबारे सिकेको अनि उहाँको सेवा गर्ने छनौट गरेको चाहनुहुन्छ। त्यसैले उहाँ धैर्य गरेर पर्खँदै हुनुहुन्छ। (२ पत्रु. ३:९) यसले गर्दा अझ कत्ति धेरै मानिसहरूले उहाँलाई चिन्‍ने मौका पाउनेछन्‌, सोच्नुहोस्‌ त! सायद तिनीहरूमध्ये कोही-कोही त तपाईँको परिवारका सदस्यहरू र आफन्तहरू पनि हुन सक्छन्‌।

८. वृद्धहरूले कहिलेकाहीँ कस्ता कुराहरू भन्‍न वा गर्न सक्छन्‌?

८ जवान होऔँ वा वृद्ध, बिरामी पर्दा हामी आफ्नो बोली वा व्यवहारमा चुक्न सक्छौँ र त्यसले गर्दा हामीलाई पछुतो पनि लाग्छ होला। (उप. ७:७; याकु. ३:२) जस्तै, वफादार पुरुष अय्युबलाई असाध्यै पीडा हुँदा तिनले ‘आफ्नो बोलीलाई सम्हाल्नै सकेनन्‌।’ (अय्यु. ६:१-३) वृद्धहरूले आफ्नो रोगले गर्दा वा आफूले खाइरहेको औषधीले गर्दा सामान्यतया नभन्‍ने वा नगर्ने काम पनि गर्न सक्छन्‌। तर हामी कसैले पनि आफ्नो उमेर वा स्वास्थ्यको बहाना बनाएर अरूसित रुखो बोली बोल्नु वा निर्दयी व्यवहार गर्नु हुँदैन। अनि हाम्रो कारणले गर्दा कसैको चित्त दुखेको याद गऱ्‍यौँ भने तुरुन्तै माफी माग्नुपर्छ।—मत्ति ५:२३, २४.

कसरी आनन्दित भइरहन सकिन्छ?

साकुरा फूल फुलिरहेको हाँगा; घेराभित्रका चित्रहरूमा आनन्दित भइरहन वृद्धहरूले गर्न सक्ने विभिन्‍न कुराहरू देखाइएको छ। यी कुराहरू अनुच्छेद ९-१३ मा उल्लेख गरिएका छन्‌।

बुढेसकालका चुनौतीहरूको बाबजुद तपाईँ कसरी आनन्दित भइरहन सक्नुहुन्छ? (अनुच्छेद ९-१३ हेर्नुहोस्‌)


९. तपाईँले किन अरूको मदत स्विकार्नुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

९ अरूको मदत स्विकार्नुहोस्‌। (गला. ६:२) तपाईँलाई अरूसित मदत माग्न गाह्रो लाग्छ होला। ग्रेटल बहिनीलाई पनि त्यस्तै लागेको थियो। तिनी भन्छिन्‌: “कहिलेकाहीँ मलाई अरूसित मदत माग्न गाह्रो लाग्छ। किनभने म अरूको लागि बोझ बन्‍ने हुँ कि भन्‍ने चिन्ता लाग्छ। यस्तो सोचाइ हटाउन अनि ‘मलाई अरूको मदत चाहिन्छ’ भन्‍ने कुरा स्विकार्न केही समय लाग्यो।” तपाईँले अरूको मदत स्विकार्नुभयो भने तिनीहरूले पनि दिँदा पाइने आनन्द अनुभव गर्न सक्नेछन्‌। (प्रेषि. २०:३५) अनि अरूले तपाईँलाई कत्ति धेरै माया गर्ने रहेछन्‌ र तपाईँमा चासो राख्ने रहेछन्‌ भनेर थाह पाउँदा तपाईँ पनि पक्कै खुसी हुनुहुनेछ।

एक वृद्ध बहिनी जवान बहिनीको हात समाउँदै छिन्‌। तिनीहरू खानेकुरा किन्दै छन्‌।

(अनुच्छेद ९ हेर्नुहोस्‌)


१०. हामीले कृतज्ञता व्यक्‍त गर्न किन बिर्सनु हुँदैन? (चित्र पनि हेर्नुहोस्‌।)

१० कृतज्ञता देखाउनुहोस्‌। (कल. ३:१५; १ थिस्स. ५:१८) अरूले हाम्रो लागि केही राम्रो काम गरिदिँदा हामी कृतज्ञ हुन्छौँ। तर कृतज्ञता व्यक्‍त गर्न भने बिर्सन सक्छौँ। हामीले कसैबाट मदत पाउँदा मीठो मुस्कानसहित धन्यवाद दियौँ भने तिनले आफ्नो कामको कदर गरिएको महसुस गर्नेछन्‌। बेथेलका वृद्धहरूको स्याहारसुसार गरिरहेकी लेआ यसो भन्छिन्‌: “एक जना दिदीले मलाई बेलाबेलामा धन्यवादका शब्दहरू लेखेर दिनुहुन्छ। हुनत उहाँले दुई-चार शब्द मात्र लेख्नुहुन्छ। तैपनि त्यसले मेरो साह्रै मन छुन्छ। उहाँले मेरो मदतको कदर गर्नुहुँदो रहेछ भन्‍ने कुरा थाह पाउँदा मलाई एकदमै खुसी लाग्छ।”

एक वृद्ध बहिनी कार्डमा धन्यवादका शब्दहरू लेख्दै छिन्‌।

(अनुच्छेद १० हेर्नुहोस्‌)


११. तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

११ अरूलाई मदत गर्न प्रयास गर्नुहोस्‌। तपाईँले अरूबारे सोच्नुभयो र तिनीहरूलाई मदत गर्न प्रयास गर्नुभयो भने तपाईँको ध्यान आफ्नै समस्यातिर धेरै जाँदैन। एउटा अफ्रिकी भनाइअनुसार वृद्धहरू भनेको बुद्धिका कुराहरूले भरिएको लाइब्रेरीजस्तै हुन्‌। तर मानिसहरूले त्यो लाइब्रेरीमा भएका किताबहरू पढ्‌दै पढेनन्‌ भने त्यसको केही फाइदा हुँदैन। तपाईँ वृद्ध भाइबहिनीहरू ‘जिउँदो इतिहास’ हुनुहुन्छ। त्यसैले जवानहरूलाई आफूसित भएको ज्ञान र अनुभव बाँड्‌न अग्रसर हुनुहोस्‌। तिनीहरूलाई प्रश्‍नहरू सोध्नुहोस्‌ अनि जवाफ सुन्‍नुहोस्‌। यहोवाको स्तरअनुसार चल्दा सधैँ हाम्रो हित हुन्छ र हामी खुसी हुन सक्छौँ भनेर बुझाउन आफ्नो अनुभवहरू सुनाउनुहोस्‌। यसरी जवान भाइबहिनीहरूलाई हौसला दिन सकेकोमा तपाईँ आफै पनि खुसी हुनुहुनेछ।—भज. ७१:१८.

एक जवान भाइले आफ्नो मनको कुरा बताउँदा वृद्ध भाइ ध्यान दिएर सुनिरहेका छन्‌।

(अनुच्छेद ११ हेर्नुहोस्‌)


१२. यसैया ४६:४ मा यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ प्रार्थनामा यहोवासित बल माग्नुहोस्‌। तपाईँ कहिलेकाहीँ शारीरिक वा भावनात्मक रूपमा निकै थकित महसुस गर्नुहुन्छ होला। तर यहोवा भने “कहिल्यै थाक्नुहुन्‍न न त कहिल्यै गल्नुहुन्छ।” (यसै. ४०:२८) यहोवा आफ्नो असीमित शक्‍ति कसरी प्रयोग गर्नुहुन्छ? एउटा तरिका भनेको उहाँ उमेर ढल्किसकेका आफ्ना वफादार सेवकहरूलाई बलियो पार्नुहुन्छ। (यसै. ४०:२९-३१) वास्तवमा उहाँले तिनीहरूलाई मदत गर्ने प्रतिज्ञा नै गर्नुभएको छ। (यसैया ४६:४ पढ्‌नुहोस्‌।) अनि उहाँ आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४; यसै. ५५:१०, ११) तपाईँले यहोवासित मदत माग्नुभयो भने उहाँले तपाईँलाई पक्कै मदत दिनुहुनेछ। उहाँको माया र साथ पाएको महसुस गर्दा तपाईँ पक्कै खुसी हुनुहुनेछ।

एक वृद्ध भाइ प्रार्थना गरिरहेका छन्‌।

(अनुच्छेद १२ हेर्नुहोस्‌)


१३. दोस्रो कोरिन्थी ४:१६-१८ मा बताइएको कुन कुरा हामीले बिर्सनु हुँदैन? (चित्र पनि हेर्नुहोस्‌।)

१३ तपाईँको अवस्था सधैँ यस्तै रहँदैन भन्‍ने कुरा नबिर्सनुहोस्‌। हामीले भोग्ने जस्तोसुकै गाह्रो अवस्था क्षणिक हो भन्‍ने कुरा मनमा राख्दा हामीलाई त्यो सहन सजिलो हुन्छ। अनि बाइबलले वृद्धावस्था र रोगबिमार पनि सधैँभरि रहनेछैन भनेर आश्‍वासन दिन्छ। (अय्यु. ३३:२५; यसै. ३३:२४) त्यसैले अतीतका दिनहरू सम्झेर निराश हुनुको साटो भविष्यमा तपाईँ अझ बलियो र स्वस्थ हुनुहुनेछ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आनन्दित हुनुहुनेछ। (२ कोरिन्थी ४:१६-१८ पढ्‌नुहोस्‌।) तर अरूले वृद्धहरूलाई कसरी मदत गर्न सक्छन्‌?

व्हिलचेयरमा बसिरहेकी एक वृद्ध बहिनी बाइबल पढ्‌दै छिन्‌। तिनी प्रमोदवनमा आफू जवान भएको र व्हिलचेयरबाट उठेर हिँडेको कल्पना गर्दै छिन्‌।

(अनुच्छेद १३ हेर्नुहोस्‌)


अरूले कसरी मदत गर्न सक्छन्‌?

१४. वृद्धहरूलाई भेट्‌न जानु वा फोन गर्नु किन महत्त्वपूर्ण छ?

१४ वृद्ध भाइबहिनीहरूलाई बेलाबेलामा भेट्‌न जानुहोस्‌ वा फोन गर्नुहोस्‌। (हिब्रू १३:१६) तिनीहरूले कहिलेकाहीँ एक्लो महसुस गर्छन्‌। वृद्धावस्थाले गर्दा घरबाट बाहिर निस्कन नसक्ने केमि यसो भन्छन्‌: “मलाई त आफू खोरमा थुनिएको बूढो सिंहजस्तो लाग्छ। घरबाट बाहिर कतै पनि जान नपाउँदा अनि गर्ने काम पनि खासै केही नहुँदा मलाई दिक्क लाग्छ। कहिलेकाहीँ त साह्रै रिस पनि उठ्‌छ।” हामी बेलाबेलामा वृद्धहरूलाई भेट्‌न जानुपर्छ। यसो गर्दा हामी तिनीहरूलाई माया गर्छौँ र तिनीहरूको मोल गर्छौँ भन्‍ने कुरामा तिनीहरू ढुक्क हुन सक्नेछन्‌। मण्डलीको कुनै वृद्ध भाइ वा बहिनीलाई भेट्‌न जाउँला वा फोन गरुँला भनेर सोचेको तर वास्तवमा त्यस्तो नगरेको हामी सबैको अनुभव छ होला। हामी सबै जना व्यस्त भएकोले त्यस्तो हुन सक्छ। तर हामीले गर्नुपर्ने “अझ महत्त्वपूर्ण कुराहरूमा” वृद्धहरूलाई भेट्‌न जाने काम पनि पर्छ। (फिलि. १:१०) त्यसोभए हामी के गर्न सक्छौँ? तपाईँ मण्डलीका वृद्ध भाइबहिनीहरूलाई मेसेज पठाउन वा फोन गर्न आफ्नो क्यालेन्डरमा चिन्ह लगाउन सक्नुहुन्छ। कुन दिन भेट्‌न जाने भनेर पहिल्यै योजना बनाउनुहोस्‌; पछि जाउँला भनेर नबस्नुहोस्‌।

१५. जवानहरूले वृद्धहरूसँगै मिलेर के-के गर्न सक्छन्‌?

१५ यदि तपाईँ जवान हुनुहुन्छ भने वृद्ध भाइबहिनीहरूसित कस्तो विषयमा कुराकानी गर्ने होला वा सँगै के गर्ने होला जस्तो लाग्न सक्छ। तर यसबारे बढ्‌तै चिन्ता नगर्नुहोस्‌। बरु तिनीहरूको राम्रो साथी बनिदिनुहोस्‌। (हितो. १७:१७) सभाअघि वा पछि तिनीहरूसँग कुराकानी गर्नुहोस्‌। तिनीहरूको मनपर्ने बाइबल पद कुन हो भनेर सोध्नुहोस्‌ वा सानो बेलाको कुनै रमाइलो घटनाबारे बताउन भन्‍नुहोस्‌। तपाईँ तिनीहरूसँगै JW ब्रोडकास्टिङ हेर्न पनि सक्नुहुन्छ। साथै केही व्यावहारिक मदत दिन सक्नुहुन्छ। जस्तै, तिनीहरूको डिभाइस अपडेट गरिदिन वा नयाँ प्रकाशनहरू डाउनलोड गरिदिन सक्नुहुन्छ। क्यारोल भन्छिन्‌: “तपाईँलाई जुन कुराहरू गर्न रमाइलो लाग्छ, तपाईँ वृद्ध भाइबहिनीहरूसित पनि ती कुराहरू गर्न सक्नुहुन्छ। हुनत म त्यति जवान त होइन, तैपनि मलाई रमाइलो गर्न मन पर्छ। जस्तै: सपिङ जान, साथीहरूसँगै बाहिर कतै गएर खानपिन गर्न अनि रमणीय ठाउँहरू घुम्न।” माइरा बहिनी यसो भन्छिन्‌: “मेरो एक जना साथी ९० वर्षको हुनुहुन्छ। उहाँ मभन्दा ५७ वर्ष जेठी हुनुहुन्छ। तर कहिलेकाहीँ मलाई त्यो कुरा यादै हुँदैन। हामी रमाइलो गफ गरेर हाँस्छौँ अनि सँगै फिल्म पनि हेर्छौँ। अनि कुनै समस्या पर्दा हामी एकअर्कासित सल्लाह माग्छौँ।”

१६. वृद्ध भाइबहिनीहरूसँगै अस्पताल गइदिनु किन राम्रो हो?

१६ डाक्टरकहाँ सँगै गइदिनुहोस्‌। तपाईँ तिनीहरूलाई अस्पताल ल्याउने लैजाने गरिदिन सक्नुहुन्छ। तर त्यति मात्र होइन, डाक्टर वा नर्सहरूले तिनीहरूसित कस्तो व्यवहार गर्दै छन्‌ र तिनीहरूले आवश्‍यक मदत पाइरहेका छन्‌ कि छैनन्‌ भनेर हेरिदिन सक्नुहुन्छ। (यसै. १:१७) डाक्टरले भनेका कुराहरू टिपिदिन पनि सक्नुहुन्छ। एक वृद्ध बहिनी रुथ यसो भन्छिन्‌: “म अस्पतालमा एक्लै जाँदा डाक्टरहरूले प्रायजसो त्यति राम्रो व्यवहार गर्दैनन्‌। तिनीहरू मलाई यसो भन्‍न समेत बेर लाउँदैनन्‌: ‘तपाईँलाई केही भएको छैन। मनमा धेरै कुरा नखेलाउनुहोस्‌।’ तर कसैलाई सँगै लिएर गएकी छु भनेचाहिँ डाक्टरहरूको व्यवहारै अर्को हुन्छ। मसँगै अस्पताल गइदिनुहुने भाइबहिनीहरूप्रति म असाध्यै धन्यवादी छु।”

१७. वृद्धहरूलाई प्रचारकार्यमा भाग लिन हामी कसरी मदत गर्न सक्छौँ?

१७ सँगै प्रचारकार्यमा भाग लिनुहोस्‌। कोही-कोही वृद्ध भाइबहिनीहरूलाई घरघरको प्रचारमा हिँड्‌न गाह्रो हुन्छ। त्यसैले तपाईँ तिनीहरूसित प्रचारकार्यको अन्य पक्षहरूमा भाग लिन सक्नुहुन्छ। जस्तै, तपाईँ मण्डलीको कुनै वृद्ध बहिनीसित ट्रली साक्षीमा बस्न सक्नुहुन्छ। तपाईँ तिनको लागि ट्रलीको छेवैमा एउटा मेच पनि राखिदिन सक्नुहुन्छ। वा कुनै वृद्ध भाइलाई आफ्नो बाइबल अध्ययनमा सँगै लैजान सक्नुहुन्छ। विद्यार्थीलाई ती वृद्ध भाइकै घरमा लैजान सकिन्छ कि? एल्डरहरूले वृद्ध भाइबहिनीहरूको लागि सजिलो होस्‌ भनेर तिनीहरूकै घरमा क्षेत्र सेवाको सभा पनि राख्न सक्छन्‌। हामी वृद्ध भाइबहिनीहरूलाई प्रेम र आदर गरेको देखाउन जे-जति गर्छौँ, त्यो कहिल्यै खेर जाँदैन।—हितो. ३:२७; रोमी १२:१०.

१८. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१८ यहोवा आफ्ना वृद्ध सेवकहरूलाई माया र कदर गर्नुहुन्छ भनेर हामीले यस लेखबाट राम्ररी बुझ्यौँ। अनि हामी पनि उहाँहरूलाई उत्तिकै माया र कदर गर्छौँ। उमेर ढल्कँदै जाँदा पक्कै सजिलो हुँदैन तर यहोवाको मदत पाएर तपाईँ बुढेसकालमा पनि आनन्दित भइरहन सक्नुहुन्छ। (भज. ३७:२५) अहिले त आफ्नो जीवनमा दुःखैदुःख मात्र छ भन्‍ने सोचेर निराश नहुनुहोस्‌। किनभने भविष्यमा तपाईँ अझ फुर्तिलो र स्वस्थ हुनुहुनेछ। तर केही भाइबहिनीहरूको भने बेग्लै किसिमको चुनौती छ। तिनीहरूले उमेर ढल्किसकेको परिवारको सदस्य अथवा बिरामी बच्चा वा साथीको हेरविचार गर्दै छन्‌। हामीले पनि कसैको हेरविचार गर्दै छौँ भने कसरी आनन्दित भइरहन सक्छौँ? त्यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बुढेसकालमा आनन्दित भइरहन किन गाह्रो हुन सक्छ?

  • वृद्धहरू कसरी आनन्दित भइरहन सक्छन्‌?

  • हामी मण्डलीका वृद्ध भाइबहिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

a jw.org र JW लाइब्रेरी-मा वृद्धहरू हो—तपाईँहरूको भूमिका महत्त्वपूर्ण छ भिडियो हेर्नुहोस्‌।

b थप व्याख्या: आनन्द परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) यहोवासित घनिष्ठ सम्बन्ध गाँस्दा हामी साँचो आनन्द पाउँछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने