पाठकहरूको प्रश्न
अब चाँडै यहोवाले राष्ट्रहरूको हृदयमा कस्तो “सोच” हालिदिनुहुनेछ?
महासङ्कष्ट कसरी सुरु हुनेछ भन्नेबारे प्रकाश १७:१६, १७ मा यसो भनिएको छ: “तिमीले देखेका ती दस वटा सिङ र त्यस जङ्गली जनावरले त्यस वेश्यालाई घृणा गर्नेछन् र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्। किनकि परमेश्वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ। तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य . . . त्यस जङ्गली जनावरलाई दिनेछन्।” पहिला हाम्रा प्रकाशनहरूमा यहोवाले राष्ट्रहरूको हृदयमा हालिदिनुहुने “सोच” भनेको झूटो धर्मको विनाश गर्ने सोच हो भनेर बताइएको थियो।
तर हाम्रो यो बुझाइमा छाँटकाँट गर्नुपर्ने देखिन्छ। यहोवाले राष्ट्रहरूको हृदयमा हालिदिनुहुने “सोच” भनेको ‘तिनीहरूको राज्य त्यस जङ्गली जनावरलाई दिने’ सोच हो। यो भविष्यवाणी कसरी पूरा हुनेछ भनेर बुझ्न निम्न प्रश्नहरू विचार गरौँ:
यस भविष्यवाणीका मुख्य पात्रहरू को-को हुन्? त्यस “वेश्या”-लाई “महान् बेबिलोन” पनि भनिन्छ। त्यसले झूटो धर्मको विश्व साम्राज्यलाई बुझाउँछ। “चहकिलो रातो रङ्गको जङ्गली जनावर”-ले १९१९ मा अस्तित्वमा आएको राष्ट्र सङ्घलाई बुझाउँछ, जुन सङ्गठन शान्ति ल्याउन स्थापना गरिएको थियो। अहिले त्यसको ठाउँ संयुक्त राष्ट्र सङ्घले लिएको छ। (प्रका. १७:३-५) “दस वटा सिङ”-ले त्यस जङ्गली जनावरलाई समर्थन गर्ने सबै राजनैतिक शक्तिहरूलाई बुझाउँछ।
त्यो वेश्या अनि चहकिलो रातो रङ्गको जङ्गली जनावरबीच कस्तो सम्बन्ध छ? त्यो वेश्या जङ्गली जनावरमाथि “बसिरहेकी” छे। यसको अर्थ त्यसले जङ्गली जनावरलाई समर्थन गर्छे अनि त्यसमाथि आफ्नो प्रभाव जमाउन खोजिरहेकी छे।
त्यस वेश्यालाई के हुनेछ? जङ्गली जनावर र त्यसलाई समर्थन गर्ने दस वटा सिङले “त्यस वेश्यालाई घृणा गर्नेछन्।” तिनीहरूले त्यसको धनसम्पत्ति लुट्नेछन् र त्यो कत्ति दुष्ट छे भनेर उदाङ्ग पारिदिनेछन्। अनि तिनीहरूले त्यसमाथि यहोवाको न्याय कार्यान्वयन गर्नेछन् अर्थात् त्यसलाई नामेट पार्नेछन्। (प्रका. १७:१; १८:८) यसरी सबै झूटो धर्म सदाको लागि नाश हुनेछ। तर त्यसअघि यहोवाले राष्ट्रहरूलाई एउटा यस्तो काम गर्न लगाउनुहुनेछ, जुन मानव इतिहासमा पहिला कहिल्यै भएको थिएन।
यहोवाले राष्ट्रहरूलाई के गर्न लगाउनुहुनेछ? उहाँले दस वटा सिङ अर्थात् राष्ट्रहरूको हृदयमा “आफ्नो सोच” हालिदिनुहुनेछ र तिनीहरूले “आफ्नो शक्ति र अख्तियार त्यस [चहकिलो रातो रङ्गको] जङ्गली जनावर” अर्थात् संयुक्त राष्ट्र सङ्घलाई दिनेछन्। (प्रका. १७:१३) के यसको मतलब मानव सरकारहरू आफैले त्यस जङ्गली जनावरलाई आफ्नो शक्ति र अख्तियार दिने निर्णय गर्नेछन् भन्ने हो? त्यस्तो त होइन। भविष्यवाणीअनुसार परमेश्वरले नै तिनीहरूको हृदयमा त्यसो गर्ने सोच हालिदिनुहुनेछ। (हितो. २१:१; यसैया ४४:२८ तुलना गर्नुहोस्।) के तिनीहरूले संयुक्त राष्ट्र सङ्घलाई बिस्तारै-बिस्तारै आफ्नो शक्ति दिनेछन्? त्यस्तो त होइन। बरु यो एक्कासि हुनेछ। त्यसपछि त्यो जङ्गली जनावरले झूटो धर्ममाथि यहोवाको न्याय कार्यान्वयन गर्नेछ अर्थात् त्यसलाई सदाको लागि नामेट पार्नेछ।
हामी भविष्यमा के हुने आशा गर्न सक्छौँ? हामी मानव सरकारहरूले संयुक्त राष्ट्र सङ्घलाई झन्झन् समर्थन गरेको समाचारहरू सुन्ने आशा गर्न सक्दैनौँ। बरु केचाहिँ आशा गर्न सक्छौँ? यहोवाले अचानक राष्ट्रहरूको हृदयमा तिनीहरूको शक्ति जङ्गली जनावरको हातमा दिने सोच हालिदिनुहुनेछ। त्यो घटनाले महासङ्कष्ट सुरु हुनै लागेको जनाउ दिनेछ। त्यतिन्जेल “जागा बसौँ अनि सचेत रहौँ” किनभने अब चाँडै यस्ता परिवर्तनहरू अचानक हुनेछन्।—१ थिस्स. ५:६.