प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt सपन्याह १:१-३:२०
  • सपन्याह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सपन्याह
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
सपन्याह

सपन्याह

१ सपन्याहकहाँ* यहोवाको वचन आयो। तिनी कुसिका छोरा थिए, कुसि गदल्याहका छोरा थिए, गदल्याह अमर्याहका छोरा थिए र अमर्याह हिजकियाहका छोरा थिए। यहुदाका राजा अमोनको+ छोरा योसियाहको+ शासनकालमा सपन्याहले यस्तो सन्देश पाए:

 २ यहोवा घोषणा गर्नुहुन्छ, “धर्तीबाट म सबै कुरा नाश गर्नेछु।”+

 ३ “म मानिस र पशुलाई नाश गर्नेछु;

आकाशका चराचुरुङ्‌गी र समुद्रका माछाहरूलाई नाश गर्नेछु;+

दुष्टहरू र ठक्कर दिने कुराहरू *+ सबैलाई

अनि मानिसलाई पनि यस धर्तीबाट हटाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

 ४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध

आफ्नो हात पसार्नेछु,

यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु

अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+

 ५ छतमा गएर आकाशका सेनालाई दण्डवत्‌ गर्ने सबैलाई+

अनि एकातिर यहोवालाई दण्डवत्‌ गर्दै उहाँप्रति वफादार रहने कसम खाने+

र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।

 ६ यहोवाको पछि लाग्न छोडेकाहरूलाई+

अनि यहोवाको खोजी नगर्नेहरू र उहाँसित सल्लाह नमाग्नेहरूलाई नाश गर्नेछु।”+

 ७ ब्रह्‍माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+

यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।

 ८ “म यहोवाले भारदारहरूसित,

राजकुमारहरूसित+ र विदेशीको जस्तो पहिरनमा भएकाहरू सबैसित मेरो बलिदानको दिनमा हिसाब लिनेछु।

 ९ त्यस दिन मञ्चमा* चढ्‌नेहरू सबैसित

अनि आफ्नो मालिकको घर हिंसा र छलले भर्ने सबैसित म हिसाब लिनेछु।”

१० यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन

माछा-ढोकाबाट चिच्याहटको आवाज सुनिनेछ।+

सहरको ‘नयाँ बस्ती’-बाट रोइकराइको आवाज सुनिनेछ+

अनि पहाडहरूबाट ठूलो विष्फोटको आवाज सुनिनेछ।

११ ए मक्‍तेसका* बासिन्दाहरू हो, डाँको छोडेर रोओ

किनकि तिमीहरूका सबै व्यापारीको नामोनिसान मेटाइएको छ।*

चाँदी जोख्ने सबै नाश भएका छन्‌।

१२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु

अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्‌,

‘यहोवाले असल गर्नुहुन्‍न र खराब पनि गर्नुहुन्‍न।’+

१३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्‌।+

तिनीहरूले घर बनाउनेछन्‌ तर त्यसमा बस्न पाउनेछैनन्‌;

तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ तर त्यसको मद्य पिउन पाउनेछैनन्‌।+

१४ यहोवाको महान्‌ दिन नजिकै छ!+

त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+

यहोवाको दिनको आवाज भयानक छ।+

त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+

१५ त्यो दिन क्रोधको दिन हो,+

दुःख र वेदनाको दिन,+

आँधी र विनाशको दिन,

त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+

त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+

१६ बलिया किल्लाहरू र कुनाका अग्ला धरहराहरूविरुद्ध+

त्यो दिन सिङ फुकिन्छ र लडाइँको घोषणा गरिन्छ।+

१७ म सबै मानिसमाथि विपत्ति ल्याउनेछु

अनि तिनीहरू अन्धो मानिसहरूजस्तै हिँड्‌नेछन्‌+

किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरेका छन्‌।+

तिनीहरूको रगत धुलोजस्तै खन्याइनेछ

र तिनीहरूको मासु* गोबरजस्तै फ्याँकिनेछ।+

१८ यहोवाको क्रोधको दिन न तिनीहरूको सुनले न त चाँदीले नै तिनीहरूलाई बचाउन सक्नेछ;+

उहाँको रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+

किनकि उहाँले पृथ्वीका सबै बासिन्दाको सर्वनाश गर्नुहुनेछ, साँच्चै भयानक तरिकाले सर्वनाश गर्नुहुनेछ।”+

२ ए निर्लज्ज राष्ट्र,+ तिमीहरू भेला होओ,

हो, भेला होओ।+

 २ न्यायदण्ड आउनुअघि नै,

दिन भुसजस्तै उडेर जानुअघि नै,

तिमीहरूमाथि यहोवाको रिसको आगो दन्किनुअघि नै,+

तिमीहरूमाथि यहोवाको रिसको दिन आउनुअघि नै,

 ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ,

यहोवालाई खोज।+

धार्मिकता* खोज, नम्रता खोज।

यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+

 ४ गाजा निर्जन सहर हुनेछ

अनि अस्कलोनचाहिँ उजाड हुनेछ।+

अस्दोदलाई मध्यदिनमै धपाइनेछ

अनि एक्रोनलाई चाहिँ जरैदेखि उखेलिनेछ।+

 ५ “धिक्कार छ तटवर्ती इलाकामा बसोबास गर्ने कराथीहरूलाई!+

यहोवाको वचन तिमीहरूको विरुद्धमा छ।

ए पलिस्तियालीहरूको देश कनान, म तँलाई नाश गर्नेछु

अनि त्यहाँ कोही पनि बाँकी रहनेछैन।

 ६ तटवर्ती इलाका चरनमा परिणत हुनेछ

र त्यहाँ गोठालाहरूको लागि कुवा र भेडाहरूको लागि ढुङ्‌गाको गोठ हुनेछ।

 ७ त्यो ठाउँ यहुदाको घरानाका बाँकी भएका मानिसहरूको हुनेछ;+

तिनीहरूले त्यहाँ खानेछन्‌।

तिनीहरू साँझपख अस्कलोनका घरहरूमा ढल्कनेछन्‌

किनकि यहोवा तिनीहरूका परमेश्‍वरले आफ्नो नजर तिनीहरूतिर फर्काउनुहुनेछ*

र कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनुहुनेछ।”+

 ८ “मोआबले+ बदनाम गरेको र अम्मोनीहरूले+ अपमान गरेको मैले सुनेको छु,

उनीहरूले मेरा मानिसहरूको उपहास गरेका छन्‌ अनि घमन्डले फुलेर तिनीहरूको इलाका कब्जा गर्ने धम्की दिएका छन्‌।+

 ९ त्यसैले म आफ्नै कसम खाएर भन्छु,” सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ,

“मोआबको दुर्दशा सदोमको जस्तै हुनेछ+

अनि अम्मोनको हालत गमोराको जस्तै हुनेछ;+

त्यहाँ सिस्नुघारी र नुनको खाडल हुनेछ अनि त्यो ठाउँ सदाको लागि उजाड हुनेछ।+

बाँकी रहेका मेरा मानिसहरूले तिनीहरूलाई लुट्‌नेछन्‌,

मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूलाई धपाउनेछन्‌।

१० तिनीहरूको घमन्डको नतिजा यस्तै हुनेछ+

किनकि तिनीहरूले सेनाहरूका यहोवाका मानिसहरूको खिसी गरेका छन्‌ र आफैलाई उच्च पारेका छन्‌।

११ तिनीहरूको निम्ति यहोवा भयानक बन्‍नुहुनेछ

किनकि उहाँले पृथ्वीका सबै देवतालाई बेकामको तुल्याइदिनुहुनेछ

अनि राष्ट्रहरूका सबै टापुले उहाँलाई दण्डवत्‌* गर्नेछन्‌,+

हरेकले आ-आफ्नै ठाउँबाट दण्डवत्‌ गर्नेछ।

१२ ए इथियोपियालीहरू हो, तिमीहरू पनि मेरो तरबारले काटिनेछौ।+

१३ उहाँले आफ्नो हात उत्तरतिर पसार्नुहुनेछ र अस्सेरियालाई नाश गर्नुहुनेछ

उहाँले निनवेलाई मरुभूमिजस्तै उजाड पारिदिनुहुनेछ।+

१४ त्यहाँ हरप्रकारका जङ्‌गली जनावरको बथानले* बास गर्नेछ।

भत्किएको खम्बाको शिरमा घाउँके हावासील* र दुम्सीले रात बिताउनेछन्‌।

झ्यालमा बसेर कसैले गीत गाएको जस्तो आवाज सुनिनेछ।

ढोकाको सँघार भत्किएर धुलोपिठो हुनेछ।

उहाँले देवदारको फल्याकहरूलाई उखेल्नुहुनेछ।

१५ यो त्यही घमन्डी सहर हो, जो निष्फिक्री भएर बसिरहेको थियो,

त्यसले मनमनै यसो भनिरहेको थियो, ‘मै हुँ, मबाहेक अरू कोही छैन।’

हेर, त्यो कस्तो डरलाग्दो बनेको छ!

त्यो जङ्‌गली जनावरहरू बास गर्ने ठाउँ बनेको छ।

त्यहाँबाट जाने सबैले सिटी बजाउनेछन्‌* र मुड्‌की उठाउनेछन्‌।”+

३ धिक्कार छ, त्यो विद्रोही, दूषित र अत्याचारी सहरलाई!+

 २ त्यसले सल्लाह सुन्‍न चाहेन,+ त्यसले अनुशासन स्विकारेन।+

त्यसले यहोवामा भरोसा राखेन,+ त्यो आफ्ना परमेश्‍वरको नजिक आएन।+

 ३ त्यसका शासकहरू गर्जने सिंह हुन्‌।+

त्यसका न्यायकर्ताहरू बेलुकी निस्कने ब्वाँसा हुन्‌;

तिनीहरू बिहानसम्ममा एउटा हड्डी पनि बाँकी छोड्‌दैनन्‌।

 ४ त्यसका भविष्यवक्‍ताहरू बेसोमति र छली छन्‌।+

त्यसका पुजारीहरू पवित्र कुरालाई अपवित्र तुल्याउँछन्‌;+

तिनीहरू व्यवस्था उल्लङ्‌घन गर्छन्‌।+

 ५ तिनीहरूमाझ रहनुहुने यहोवा असल हुनुहुन्छ;+ उहाँ कुनै गल्ती गर्नुहुन्‍न।

जसरी हरेक दिन उज्यालो भएरै छोड्‌छ,

त्यसैगरि उहाँ पनि बिहानैपिच्छे तिनीहरूलाई आफ्नो नीतिनियम बताउनुहुन्छ।+

तर दुष्ट मानिसलाई भने लाजसरम नै हुँदैन।+

 ६ “मैले राष्ट्रहरूलाई नाश गरेँ; तिनीहरूका कुनाका अग्ला धरहराहरू तहसनहस भए।

कोही पनि ओहोरदोहोर गर्न नसकोस्‌ भनेर मैले तिनीहरूका बाटोहरू ध्वस्त पारिदिएँ।

तिनीहरूका सहरहरू तहसनहस भए; त्यहाँ एउटै मानिस, एउटै बासिन्दा बाँकी रहेन।+

 ७ मैले भनेँ, ‘तिमीहरूले पक्कै मेरो डर मान्‍नेछौ र मेरो अनुशासन* स्विकार्नेछौ,’+

तब म त्यसको बस्ने ठाउँलाई उजाड पार्नेछैनँ+

—हुनत मैले यी सब कुराको लेखा तिनीहरूसित अवश्‍य लिनुपर्छ*

तर तिनीहरू त झन्‌झनै भ्रष्ट हुँदै गए।+

 ८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले मेरो बाटो हेरेर बस,*+

जबसम्म म लुटको माल लिनलाई खडा हुँदिनँ।*

किनकि राष्ट्रहरूलाई जम्मा गर्ने, राज्यहरूलाई भेला पार्ने

अनि तिनीहरूमाथि मेरो क्रोध र मेरो बल्दो रिस खन्याउने फैसला मैले गरेको छु।+

मेरो रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+

 ९ तब विभिन्‍न भाषा बोल्ने जातिजातिका मानिसहरूलाई म एउटा शुद्ध भाषा सिकाउनेछु,

तिनीहरू सबैले यहोवाको नाम पुकार्नेछन्‌

अनि काँधमा काँध मिलाएर उहाँको सेवा गर्नेछन्‌।’*+

१० मलाई पुकार्नेहरूले, तितरबितर भएका मेरा मानिसहरूले

इथियोपियाका नदीहरूको इलाकाबाट मेरो निम्ति उपहार लिएर आउनेछन्‌।+

११ मेरो विद्रोह गर्दै तिमीहरूले गरेका सबै कामको लागि

त्यस दिन तिमीहरू लज्जित हुनुपर्नेछैन+

किनकि म त्यसबेला धाक लाउने अहङ्‌कारीहरूलाई तिमीहरूको माझबाट हटाइदिनेछु।

मेरो पवित्र डाँडामा तिमीहरू फेरि कहिल्यै अहङ्‌कारी हुनेछैनौ।+

१२ म तिमीहरूमाझ नम्र र सोझा मानिसहरूलाई रहन दिनेछु+

अनि तिनीहरूले यहोवाको नाममा शरण लिनेछन्‌।

१३ इस्राएलका बाँकी रहेकाहरूले+ खराब काम गर्न छोड्‌नेछन्‌;+

तिनीहरूले झूट बोल्नेछैनन्‌ अनि तिनीहरूको जिब्रोले छली कुरा गर्नेछैन।

तिनीहरूले खानेछन्‌* र आराम गर्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”+

१४ हे सियोनकी छोरी,* खुसीले रमाऊ!

हे इस्राएल, जयजयकार गर!+

हे यरुसलेमकी छोरी, खुसी होऊ र मनैदेखि रमाऊ!+

१५ यहोवाले तिम्रो सजाय माफ गरिदिनुभएको छ।+

उहाँले तिम्रो शत्रुलाई फर्काइदिनुभएको छ।+

इस्राएलका राजा यहोवा तिम्रो माझमा हुनुहुन्छ।+

तिमी फेरि कुनै विपत्तिदेखि डराउनुपर्नेछैन।+

१६ त्यस दिन यरुसलेमलाई यसो भनिनेछ:

“ए सियोन, नडराऊ।+

तिम्रा हातहरूलाई लुला हुन नदेऊ।

१७ यहोवा तिम्रा परमेश्‍वर तिम्रो माझमा हुनुहुन्छ।+

शक्‍तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ।

तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+

उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ।

तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।

१८ तिम्रा चाडहरूमा उपस्थित हुन नपाएर शोक गरिरहेकाहरूलाई म भेला गर्नेछु;+

निर्वासनमा परेर बेइज्जती सहनुपरेकोले तिनीहरू आउन पाएनन्‌।+

१९ हेर! त्यसबेला म तिमीमाथि अत्याचार गर्नेजति सबैविरुद्ध कदम चाल्नेछु।+

खोच्याएर हिँडिरहेकोलाई म बचाउनेछु+

अनि तितरबितर भएकाहरूलाई जम्मा गर्नेछु।+

जुन-जुन ठाउँमा तिनीहरूले बेइज्जती सहनुपरेको थियो,

त्यहाँ-त्यहाँ म तिनीहरूको प्रशंसा गराउनेछु र तिनीहरूले सम्मान पाउनेछन्‌।

२० त्यसबेला म तिमीहरूलाई फर्काएर ल्याउनेछु,

त्यसबेला म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु।

कैदमा परेका तिमीहरूका मानिसहरूलाई म तिमीहरूकै आँखाअगाडि फर्काएर ल्याउनेछु

अनि पृथ्वीका सबै जातिसामु म तिमीहरूको प्रशंसा गराउनेछु र तिमीहरूले सम्मान पाउनेछौ,”+ यहोवा भन्‍नुहुन्छ।+

यसको अर्थ हो, “यहोवाले लुकाउनुभएको छ (साँचेर राख्नुभएको छ)।”

यसले मूर्तिपूजासित सम्बन्धित वस्तु वा गतिविधिलाई जनाएको हुनुपर्छ।

यो राजाको सिंहासन भएको मञ्च हुन सक्छ।

यसले माछा-ढोका नजिकै भएको यरुसलेमको एउटा भागलाई जनाएको हुन सक्छ।

शा., “सबै व्यापारीलाई चुप लगाइएको छ।”

शा., “रक्सी राख्ने भाँडोमा कसर जस्तैगरि जमेर बसेकाहरूसित।”

शा., “आन्द्रा।”

शब्दावली हेर्नुहोस्‌।

वा “हुन सक्छ।”

वा “तिनीहरूको ख्याल राख्नुहुनेछ।”

वा “उहाँको उपासना।”

शा., “राष्ट्रको हरप्रकारका जङ्‌गली जनावरले।”

एक किसिमको पेलिकन चरा।

यसले छक्क पर्नु वा खिसी गर्नुलाई जनाएको हुन सक्छ।

वा “सुधार।”

वा “तिनीहरूलाई सजाय दिनुपर्छ।”

वा “धैर्य गर्दै पर्ख।”

वा सम्भवतः “साक्षीको रूपमा खडा हुँदिनँ।”

वा “एक भएर उहाँको उपासना गर्नेछन्‌।”

वा “तिनीहरू चर्नेछन्‌।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा “चुप; ढुक्क; सन्तुष्ट।”

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने