पाठ ६
मरिसकेकाहरूको लागि कस्तो आशा छ?
१. मरिसकेकाहरूको लागि कस्तो सुसमाचार छ?
येशू पृथ्वीमा सेवा गरिरहेको बेला उहाँको साथी लाजरसको मृत्यु भयो। तिनी यरूशलेम नजिकै बेथानीमा बस्थे। येशू त्यहाँ पुग्दा लाजरस मरेको चार दिन भइसकेको थियो। त्यसैले लाजरसका दिदीहरू मार्था र मरियमसँगै येशू चिहानमा जानुभयो। चाँडै भीड जम्मा भयो। येशूले लाजरसलाई फेरि जीवित पार्दा मार्था र मरियम कत्ति खुसी भए होलान्, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?—यूहन्ना ११:२१-२४, ३८-४४ पढ्नुहोस्।
मरिसकेकाहरूको लागि कस्तो सुसमाचार छ भनेर मार्थालाई पहिला नै थाह थियो। मरिसकेकाहरूलाई यहोवाले पृथ्वीमा बाँच्न फेरि जीवित पार्नुहुनेछ भनेर मार्थालाई थाह थियो।—अय्यूब १४:१४, १५, NRV पढ्नुहोस्।
२. मरिसकेकाहरूको अवस्था कस्तो छ?
परमेश्वरले आदमलाई भन्नुभयो: “तँ माटै होस् र माटैमा फर्किजानेछस्।”—उत्पत्ति ३:१९.
मानिसहरूलाई माटोबाट बनाइएको हो। (उत्पत्ति २:७; ३:१९) हामीभित्र जीवित रहिरहने कुनै आत्मा छैन। हामी भौतिक प्राणीहरू हौं, त्यसैले मरिसकेपछि हाम्रो कुनै पनि भाग जीवित रहँदैन। जब हामी मर्छौं, तब हाम्रो मस्तिष्क पनि मर्छ र हाम्रो सोचविचार पनि बिलाएर जान्छ। मरेकाहरू केही पनि जान्दैनन्। त्यसैकारण लाजरसले मरेपछिको आफ्नो अनुभवबारे केही बताएनन्।—भजन १४६:४; उपदेशक ९:५, ६, १० पढ्नुहोस्।
मानिस मरिसकेपछि के परमेश्वरले तिनीहरूलाई अग्नि कुण्डमा सास्ती दिनुहुन्छ? बाइबलले बताएअनुसार मरेकाहरू केही पनि जान्दैनन्। त्यसैले नरकको शिक्षा सरासर झूटो हो। यसले परमेश्वरको बदनाम गर्छ। मानिसहरूलाई अग्नि कुण्डमा सास्ती दिने विचारलाई समेत परमेश्वर घृणा गर्नुहुन्छ।—यर्मिया ७:३१ पढ्नुहोस्।
३. के मरिसकेकाहरू हामीसित कुरा गर्न सक्छन्?
मरिसकेकाहरू न बोल्न सक्छन्, न सुन्न सक्छन्। (भजन ११५:१७) तर केही स्वर्गदूतहरू दुष्ट छन् र तिनीहरू आफू मरिसकेको व्यक्ति भएजस्तो गर्दै मानिसहरूसित कुरा गर्छन्। (२ पत्रुस २:४) यहोवाले मरिसकेकाहरूसित कुरा नगर्नू भन्नुभएको छ।—यशैया ८:१९ पढ्नुहोस्।
४. क-कसले फेरि जीवित हुने मौका पाउनेछन्?
मरिसकेका लाखौं मानिसहरूले पृथ्वीमा फेरि जीवित हुने मौका पाउनेछन्। परमेश्वरलाई नचिनेका र खराब काम गर्ने कोही-कोहीले पनि फेरि जीवित हुने मौका पाउनेछन्।—लूका २३:४३; प्रेषित २४:१५. पढ्नुहोस्।
फेरि जीवित हुने मौका पाएकाहरूले परमेश्वरबारे साँचो कुरा सिक्न र येशूप्रति आज्ञाकारी भएर उहाँमाथि विश्वास गरेको देखाउन सक्नेछन्। (प्रकाश २०:११-१३) यसरी फेरि जीवित भएकाहरूमध्ये असल काम गर्नेहरूले पृथ्वीमा सधैंभरि बाँचेर जीवनको आनन्द उठाउन सक्नेछन्।—यूहन्ना ५:२८, २९ पढ्नुहोस्।
५. फेरि जीवित हुने प्रबन्धबाट हामी यहोवाबारे के सिक्न सक्छौं?
परमेश्वरले आफ्नो छोरालाई हाम्रो निम्ति मर्न पठाउनुभएकोले मरिसकेका हरूको लागि आशा सम्भव भएको हो। त्यसैले फेरि बाँच्न सक्ने प्रबन्धबाट यहोवाले हामीलाई कत्ति प्रेम गर्नुहुन्छ र असीम अनुग्रह देखाउनुहुन्छ भनेर हामी बुझ्न सक्छौं। मरिसकेकाहरू फेरि जीवित हुँदा तपाईं सबैभन्दा पहिला कसलाई भेट्न चाहनुहुन्छ?—यूहन्ना ३:१६; रोमी ६:२३ पढ्नुहोस्।