पाठ ८
परमेश्वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?
१. दुष्टता कसरी सुरु भयो?
मानिसजातिले आफ्नो समस्या आफै हल गर्न सक्दैन भनेर प्रमाणित गर्न परमेश्वरले मानिसलाई शासन गर्न प्रशस्त समय दिइसक्नुभएको छ
सैतानले पहिलो झूटो बोलेपछि पृथ्वीमा दुष्टता सुरु भयो। सुरुमा सैतान त्रुटिरहित स्वर्गदूत थियो तर “त्यो सत्यमा अडिग रहेन।” (यूहन्ना ८:४४) परमेश्वरले मात्र पाउनुपर्ने उपासनाको त्यसले चाहना गर्न थाल्यो। सैतानले पहिलो स्त्री हव्वासँग झूट बोल्यो र परमेश्वरको आज्ञा पालन गर्नुको सट्टा आफूले भनेको जस्तो गर्न मनायो। हव्वाको साथ लागेर आदमले पनि परमेश्वरको आज्ञा उल्लङ्घन गऱ्यो। आदमको त्यो निर्णयको कारण दुःखकष्ट र मृत्यु सुरु भयो।—उत्पत्ति ३:१-६, १९ पढ्नुहोस्।
परमेश्वरको आज्ञा नमान्न हव्वालाई उक्साउँदा सैतानले परमेश्वरको सार्वभौमिकता अर्थात् शासन गर्ने उहाँको अधिकारको विद्रोह सुरु गर्दै थियो। अधिकांश मानिसजातिले परमेश्वरलाई शासकको रूपमा तिरस्कार गरेर सैतानलाई साथ दिएका छन्। यसरी सैतान “यस संसारको शासक” भयो।—यूहन्ना १४:३०; १ यूहन्ना ५:१९ पढ्नुहोस्।
२. के परमेश्वरको सृष्टिमा खोट थियो?
परमेश्वरका सबै काम खोटरहित छन्। परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू र स्वर्गदूतहरू परमेश्वरको आज्ञा पूर्णतया पालन गर्न सक्षम थिए। (व्यवस्था ३२:४, ५) परमेश्वरले हामीलाई असल र खराबबीच छनौट गर्न सक्ने स्वतन्त्रतासहित सृष्टि गर्नुभयो। छनौट गर्ने त्यस्तो स्वतन्त्रताको कारण हामी परमेश्वरप्रतिको आफ्नो प्रेम देखाउने मौका पाउँछौं।—याकूब १:१३-१५; १ यूहन्ना ५:३ पढ्नुहोस्।
३. परमेश्वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ?
आफ्नो सार्वभौमिकतामाथि गरिएको विद्रोह यहोवाले केही समयको लागि रहन दिनुभएको छ। किन? परमेश्वरबाट अलग रहेको कुनै पनि शासनले मानिसलाई फाइदा पुऱ्याउँदैन भनेर देखाउन। (उपदेशक ७:२९; ८:९) मानव इतिहासको ६,००० वर्षको शासनले त्यो कुरा प्रस्ट देखाइसकेको छ। मानव शासकहरूले युद्ध, अपराध, अन्याय र रोगबिमार जस्ता समस्याको समाधान गर्न सकेका छैनन्।—यर्मिया १०:२३; रोमी ९:१७ पढ्नुहोस्।
मानिसहरूको शासन जस्तो नभई परमेश्वरको शासन स्वीकार्नेहरूले यसबाट लाभ उठाउन सक्छन्। (यशैया ४८:१७, १८) अब छिट्टै परमेश्वरले सबै मानव सरकारहरूको अन्त गर्नुहुनेछ। परमेश्वरको शासनको अधीनमा बस्ने छनौट गर्ने मानिसहरू मात्र पृथ्वीमा बसोबास गर्नेछन्।—यशैया ११:९.—दानियल २:४४ पढ्नुहोस्।
४. परमेश्वरले अहिलेसम्म धीरज धर्नुभएकोले हामीले कस्तो मौका पाएका छौं?
कुनै पनि मानिसले केही स्वार्थ नराखी परमेश्वरको सेवा गर्दैन भनेर सैतानले दाबी गऱ्यो। के तपाईं त्यो झूटलाई गलत साबित गर्न चाहनुहुन्छ? तपाईं गर्न सक्नुहुन्छ! परमेश्वरले धीरज धर्नुभएकोले हामीले परमेश्वरको शासन स्वीकार्ने कि मानिसको भनेर देखाउने मौका पाएका छौं। हामीले कस्तो छनौट गरेका छौं, त्यो हाम्रो जीवनशैलीबाट देखिन्छ।—अय्यूब १:८-१२; हितोपदेश २७:११ पढ्नुहोस्।
५. परमेश्वरलाई हामी कसरी आफ्नो शासकको रूपमा स्वीकार्न सक्छौं?
परमेश्वर आफ्नो शासक भएको चाहन्छौं कि चाहँदैनौं भन्ने कुरा हाम्रो छनौटबाट प्रस्ट हुन्छ
परमेश्वरको वचन बाइबलमा आधारित साँचो उपासनाबारे सिकेर र त्यसमा भाग लिएर परमेश्वरलाई हामी आफ्नो शासकको रूपमा स्वीकार्न सक्छौं। (यूहन्ना ४:२३) येशू जस्तै राजनीति र युद्धबाट अलग रहेर हामी सैतानको शासनलाई तिरस्कार गर्न सक्छौं।—यूहन्ना १७:१४ पढ्नुहोस्।
अनैतिक र हानिकारक कुराहरूलाई असल जस्तो देखाउन सैतान आफ्नो शक्ति प्रयोग गर्छ। त्यस्ता हानिकारक कुराहरूमा भाग नलिंदा कुनै-कुनै साथीहरूले वा नातेदारहरूले हाम्रो गिल्ला वा विरोध गर्न सक्छन्। (१ पत्रुस ४:३, ४) त्यसैले हामीले छनौट गर्नुपर्छ। के हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरूसित सङ्गत गर्नेछौं? के हामी परमेश्वरको बुद्धिमानी र मायालु नीति-नियम पालन गर्नेछौं? यदि हामीले त्यसो गर्ने छनौट गऱ्यौं भने दबाबमा पर्दा कुनै पनि मानिसले परमेश्वरको आज्ञा पालन गर्दैन भनेर सैतानले लगाएको आरोप गलत साबित गरिरहेका हुनेछौं।—१ कोरिन्थी ६:९, १०; १५:३३ पढ्नुहोस्।
मानिसजातिप्रति परमेश्वरले देखाउनुभएको प्रेमले दुष्टता र दुःखकष्टको अन्त हुन्छ भन्ने कुराको ग्यारेन्टी दिन्छ। यस कुरामा विश्वास देखाउनेहरूले पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउनेछन्।—यूहन्ना ३:१६ पढ्नुहोस्।