शनिबार, जून १४
येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।”—मत्ति १८:२२.
आफ्नो पहिलो पत्रमा “प्रगाढ प्रेम”-ले एक-दुई वटा मात्र होइन, “असङ्ख्य पापहरू” क्षमा गर्न मदत गर्छ भनेर प्रेषित पत्रुसले बताए। (१ पत्रु. ४:८) सायद वर्षौँअघि येसुले क्षमा दिनेबारे सिकाउनुभएको कुरा तिनले सम्झेको हुनुपर्छ। त्यतिबेला पत्रुसले येसुलाई यस्तो प्रश्न सोधेका थिए: “मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” पत्रुसलाई आफू एकदमै उदार भइरहेको छु जस्तो लागेको हुन सक्छ। तर येसुले तिनलाई “७७ पटकसम्म” अर्थात् गन्ती नगरी क्षमा दिनुपर्छ भनेर सिकाउनुभयो। (मत्ति १८:२१) अनि यो कुरा अहिले हामीलाई पनि लागू हुन्छ। तर तपाईँलाई यो सल्लाहअनुसार गर्न गाह्रो भइरहेको छ भने निराश नहुनुहोस्। हामी सबै जना त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ अरूलाई क्षमा दिन गाह्रो हुन्छ। तर महत्त्वपूर्ण कुरा भनेको भाइबहिनीलाई क्षमा दिन र तिनीसित शान्ति कायम गर्न हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०९ पृ. २९ अनु. १२
आइतबार, जून १५
मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।—योना २:२.
माछाको पेटमा हुँदा पश्चात्तापी मनोभावसहित गरेको प्रार्थना उहाँले सुन्नुहुन्छ भन्ने कुरामा योना विश्वस्त थिए। अनि यहोवाको साथ पाउने कुरामा पनि तिनी ढुक्क थिए। पछि माछाले योनालाई सुक्खा जमिनमा ओकलिदियो र तिनी यहोवाले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न तयार भए। (योना २:१०–३:४) परीक्षाको बेला के तपाईँ प्रार्थना नै गर्न नसक्नेगरि चिन्तित हुनुभएको छ? अथवा अध्ययन गर्न बलै नभएको महसुस गर्नुभएको छ कि? यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। त्यसैले छोटो प्रार्थना मात्र गर्नुभयो भने पनि उहाँले तपाईँलाई चाहिएकै मदत दिनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। (एफि. ३:२०) शारीरिक वा भावनात्मक पीडाले गर्दा पढ्न सकिरहनुभएको छैन भने बाइबल वा बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुन्न सक्नुहुन्छ। jw.org मा गीतहरू सुन्नुभयो वा भिडियोहरू हेर्नुभयो भने पनि मदत पाउन सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभयो अनि त्यसको जवाफ बाइबल र उहाँले प्रबन्ध गर्नुभएका अरू कुराहरूमा खोज्नुभयो भने उहाँले तपाईँलाई बलियो बनाउनुहुन्छ। w२३.१० पृ. १३ अनु. ६; पृ. १४ अनु. ९
सोमबार, जून १६
पवित्र शक्तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा पस्ने बाटो प्रकट गरिएको थिएन।—हिब्रू ९:८.
वासस्थानको र पछि यरुसलेममा बनाइएको मन्दिरको भित्री भाग उस्तै थियो। भित्री भागमा दुई वटा कोठा थिए—“पवित्र कोठा” र “महापवित्र कोठा।” यी दुई कोठालाई बुट्टा भरिएको पर्दाले छुट्ट्याएको थियो। (हिब्रू ९:२-५; प्रस्थ. २६:३१-३३) पवित्र कोठाभित्र सुनको पानस, धूप बाल्ने वेदी र भेटीको रोटी राख्ने टेबुल थियो। ‘पुजारीको रूपमा सेवा गर्न अभिषेक गरिएका’ पुजारीहरू मात्र पवित्र कोठाभित्र पस्न पाउँथे। (गन्ती ३:३, ७, १०) महापवित्र कोठाभित्र सुनले बनाइएको करारको सन्दुक थियो, जसले यहोवाको उपस्थितिलाई सङ्केत गर्थ्यो। (प्रस्थ. २५:२१, २२) वर्षमा एक चोटि प्रायश्चितको दिनमा पर्दापछाडि रहेको महापवित्र कोठाभित्र प्रधानपुजारी मात्र पस्न पाउँथे। (लेवी १६:२, १७) तिनी आफ्नो र पूरै राष्ट्रको पापको प्रायश्चितको लागि जनावरको रगत लिएर महापवित्र कोठाभित्र पस्थे। समयको दौडान यहोवाले वासस्थानका यी भागहरूको वास्तविक अर्थ खुलाउनुभयो।—हिब्रू ९:६, ७. w२३.१० पृ. २७ अनु. १२