आइतबार, जून १५
मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।—योना २:२.
माछाको पेटमा हुँदा पश्चात्तापी मनोभावसहित गरेको प्रार्थना उहाँले सुन्नुहुन्छ भन्ने कुरामा योना विश्वस्त थिए। अनि यहोवाको साथ पाउने कुरामा पनि तिनी ढुक्क थिए। पछि माछाले योनालाई सुक्खा जमिनमा ओकलिदियो र तिनी यहोवाले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न तयार भए। (योना २:१०–३:४) परीक्षाको बेला के तपाईँ प्रार्थना नै गर्न नसक्नेगरि चिन्तित हुनुभएको छ? अथवा अध्ययन गर्न बलै नभएको महसुस गर्नुभएको छ कि? यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। त्यसैले छोटो प्रार्थना मात्र गर्नुभयो भने पनि उहाँले तपाईँलाई चाहिएकै मदत दिनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। (एफि. ३:२०) शारीरिक वा भावनात्मक पीडाले गर्दा पढ्न सकिरहनुभएको छैन भने बाइबल वा बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुन्न सक्नुहुन्छ। jw.org मा गीतहरू सुन्नुभयो वा भिडियोहरू हेर्नुभयो भने पनि मदत पाउन सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभयो अनि त्यसको जवाफ बाइबल र उहाँले प्रबन्ध गर्नुभएका अरू कुराहरूमा खोज्नुभयो भने उहाँले तपाईँलाई बलियो बनाउनुहुन्छ। w२३.१० पृ. १३ अनु. ६; पृ. १४ अनु. ९
सोमबार, जून १६
पवित्र शक्तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा पस्ने बाटो प्रकट गरिएको थिएन।—हिब्रू ९:८.
वासस्थानको र पछि यरुसलेममा बनाइएको मन्दिरको भित्री भाग उस्तै थियो। भित्री भागमा दुई वटा कोठा थिए—“पवित्र कोठा” र “महापवित्र कोठा।” यी दुई कोठालाई बुट्टा भरिएको पर्दाले छुट्ट्याएको थियो। (हिब्रू ९:२-५; प्रस्थ. २६:३१-३३) पवित्र कोठाभित्र सुनको पानस, धूप बाल्ने वेदी र भेटीको रोटी राख्ने टेबुल थियो। ‘पुजारीको रूपमा सेवा गर्न अभिषेक गरिएका’ पुजारीहरू मात्र पवित्र कोठाभित्र पस्न पाउँथे। (गन्ती ३:३, ७, १०) महापवित्र कोठाभित्र सुनले बनाइएको करारको सन्दुक थियो, जसले यहोवाको उपस्थितिलाई सङ्केत गर्थ्यो। (प्रस्थ. २५:२१, २२) वर्षमा एक चोटि प्रायश्चितको दिनमा पर्दापछाडि रहेको महापवित्र कोठाभित्र प्रधानपुजारी मात्र पस्न पाउँथे। (लेवी १६:२, १७) तिनी आफ्नो र पूरै राष्ट्रको पापको प्रायश्चितको लागि जनावरको रगत लिएर महापवित्र कोठाभित्र पस्थे। समयको दौडान यहोवाले वासस्थानका यी भागहरूको वास्तविक अर्थ खुलाउनुभयो।—हिब्रू ९:६, ७. w२३.१० पृ. २७ अनु. १२
मङ्गलबार, जून १७
तिमीहरू आपसमा प्रेम गरिरहो।—युह. १५:१७.
बाइबलमा पटक-पटक “आपसमा प्रेम गर” भन्ने आज्ञा दिइएको छ। (युह. १५:१२; रोमी १३:८; १ थिस्स. ४:९; १ पत्रु. १:२२; १ युह. ४:११) तर प्रेम एउटा भावना हो, जुन मानिसको आँखाले देख्न सक्दैन। त्यसोभए अरूलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ? आफ्नो बोली र व्यवहारबाट। भाइबहिनीलाई प्रेम गरेको देखाउने थुप्रै तरिका छन्। केही उदाहरण विचार गरौँ: “एकअर्कासित साँचो बोल्नू।” (जक. ८:१६) “आपसमा शान्ति कायम राख।” (मर्कु. ९:५०) “एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०) “एकअर्कालाई स्वीकार गर।” (रोमी १५:७) “एकअर्कालाई . . . क्षमा गरिरहो।” (कल. ३:१३) “एकअर्काको बोझ बोक्ने गर।” (गला. ६:२) “एकअर्कालाई . . . सान्त्वना दिइरहो।” (१ थिस्स. ४:१८) “एकअर्काको उत्थान गरिरहो।” (१ थिस्स. ५:११) “एकअर्काका लागि प्रार्थना गर।”—याकु. ५:१६. w२३.११ पृ. ९ अनु. ७-८