बिहीबार, जून २६
यहोवाको नामको प्रशंसा गर।—भज. ११३:१.
स्वर्गमा बस्नुहुने बुबाको नामको प्रशंसा गरेर हामी उहाँलाई खुसी बनाउँछौँ। (भज. ११९:१०८) त्रुटिपूर्ण मानिसहरू अरूले आफ्नो प्रशंसा गरिदेऊन् भन्ने चाहन्छन् किनभने तिनीहरू त्यसबाट हौसला पाउँछन्। के हाम्रो सर्वशक्तिमान् परमेश्वर पनि त्यस्तै हुनुहुन्छ? अहँ, हुनुहुन्न। कुनै पनि मानिस विनास्वार्थ यहोवाको नामको पक्षमा खडा हुँदैन भनेर सैतानले दाबी गरेको छ। तर हामीले यहोवा बुबाको प्रशंसा गर्दा सैतानको त्यस दाबीलाई झूटो साबित गरिरहेका हुन्छौँ। परीक्षामा पर्दा कुनै पनि मानिस सत्यनिष्ठ रहँदैन भनेर त्यसले दाबी गरेको छ। यहोवाको सेवा गर्न छोड्दा आफ्नो फाइदा हुन्छ जस्तो लाग्यो भने मानिसले उहाँको सेवा गर्न छोड्छ भनेर पनि सैतानले भनेको छ। (अय्यु. १:९-११; २:४) तर यहोवाप्रति वफादार रहेर अय्युबले सैतानलाई झूटो साबित गरे। तपाईँचाहिँ के गर्नुहुन्छ? हामी प्रत्येकले यहोवाको नामको पक्षमा खडा हुने र सत्यनिष्ठा कायम राखेर उहाँलाई खुसी तुल्याउने छनौट गर्न सक्छौँ। (हितो. २७:११) यो हाम्रो लागि साँच्चै सम्मानको कुरा हो! w२४.०२ पृ. ८-९ अनु. ३-५
शुक्रबार, जून २७
उहाँका भविष्यवक्ताहरूलाई विश्वास गर अनि तिमीहरू सफल हुनेछौ।—२ इति. २०:२०.
मोसा र यहोसुको समयपछि यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन न्यायकर्ताहरूलाई नियुक्त गर्नुभयो। त्यसपछि राजाहरूको समयमा भविष्यवक्ताहरूलाई नियुक्त गर्नुभयो। वफादार राजाहरूले भविष्यवक्ताहरूको सल्लाह स्विकारे। जस्तै: भविष्यवक्ता नातानले राजा दाउदलाई सुधार्दा तिनले नम्र भई स्विकारे। (२ समु. १२:७, १३; १ इति. १७:३, ४) राजा यहोसापात डोऱ्याइको लागि भविष्यवक्ता याहजिएलमा भर परे र तिनले यहुदाका मानिसहरूलाई पनि ‘यहोवाका भविष्यवक्ताहरूमा विश्वास गर्न’ सल्लाह दिए। (२ इति. २०:१४, १५) आपत्को समयमा राजा हिजकियाहले भविष्यवक्ता यसैयामार्फत परमेश्वरको मदत मागे। (यसै. ३७:१-६) यहोवाको डोऱ्याइअनुसार हिँड्दा राजाहरूले आशिष् पाए र पूरै इस्राएल राष्ट्र सुरक्षित भयो। (२ इति. २०:२९, ३०; ३२:२२) यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन भविष्यवक्ताहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा स्पष्टै थियो। w२४.०२ पृ. २१ अनु. ८
शनिबार, जून २८
तिनीहरूका कामको भागीदार नबन।—एफि. ५:७.
हामीले यहोवाको स्तरअनुसार चल्न बाधा पुऱ्याउने मानिसहरूसित सङ्गत गरेको सैतान चाहन्छ। हामीले याद गर्नुपर्ने कुरा के हो भने सङ्गत भनेको कसैसित प्रत्यक्ष भेटेर समय बिताउनु मात्र त होइन। यसमा कसैसित सामाजिक सञ्जालमा कुराकानी गर्नु पनि समावेश छ। हामीले अनैतिक आचरण स्वीकार्य छ भन्ने संसारको सोचाइलाई तिरस्कार गर्नुपर्छ किनभने यो गलत सोचाइ हो। (एफि. ४:१९, २०) त्यसैले हामीले आफैलाई यी प्रश्नहरू सोध्नुपर्छ: ‘के म यहोवाको धार्मिक स्तरको कदर नगर्ने सहकर्मी, सहपाठी वा अरूसित ज्यादै हिमचिम नबढाउन सतर्क छु? अरूले मलाई कट्टर भने पनि के म साहसी भई यहोवाको स्तरअनुसार चल्छु?’ दोस्रो तिमोथि २:२०-२२ मा बताइएझैँ हामी मण्डलीभित्र पनि घनिष्ठ साथी बनाउने सन्दर्भमा होसियार हुनु आवश्यक छ। कसै-कसैले हामीलाई वफादार भई यहोवाको सेवामा लागिरहन बाधा पुऱ्याउन सक्छ भन्ने कुरा मनमा राख्नुपर्छ। w२४.०३ पृ. २२-२३ अनु. ११-१२