इजकिएल
४१ त्यसपछि तिनले मलाई मन्दिरको* ढोकाअगाडि ल्याए अनि ढोकाको दायाँ र बायाँ दुवैपट्टिको खम्बा नापे। दुवैपट्टिको खम्बाको चौडाइ छ-छ हात* थियो। २ मन्दिरको द्वार १० हात चौडा थियो। द्वारको दुवैपट्टिको भित्ताको चौडाइ पाँच-पाँच हात थियो। तिनले मन्दिरको पवित्र कोठाको लम्बाइ र चौडाइ नापे। यसको लम्बाइ ४० हात र चौडाइ २० हात थियो।
३ त्यसपछि तिनी भित्र* पसे र त्यहाँको द्वारको खम्बा नापे। त्यसको मोटाइ दुई हात थियो। द्वारको चौडाइ छ हात थियो। द्वारको दायाँबायाँको भित्ताको लम्बाइ सात-सात हात थियो। ४ अनि तिनले त्यो कोठाको नाप लिए, जुन पवित्र कोठातिर फर्केको थियो। त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो।+ तिनले मलाई यसो भने: “यो महापवित्र कोठा हो।”+
५ त्यसपछि तिनले मन्दिरको भित्ता नापे र यसको मोटाइ छ हात थियो। मन्दिरको भित्ताबाहिर चारैतिर खोपैखोपा थिए। अनि हरेक खोपाको चौडाइ चार हातको थियो।+ ६ यी खोपाहरूको तीन-तीन तला थियो। हरेक तलामा त्यस्ता खोपाहरू ३० वटा थिए। मन्दिरका भित्ताहरूमा तख्ताहरू अडाएर यी खोपाहरू बनाइएका थिए। मन्दिरको भित्तामा कुनै प्वाल पारिएको थिएन बरु चारैतिर ती तख्ताहरू अडाउने ठाउँहरू थिए।+ ७ माथिल्लो तलाको खोपाहरूमा जान मन्दिरको दायाँबायाँ दुवैपट्टि घुमौरो भऱ्याङ थियो, जुन माथि उक्लँदै जाँदा फराकिलो हुँदै जान्थ्यो।+ पहिलो तलामा भएका खोपाहरूभन्दा दोस्रो तलामा भएका खोपाहरू चौडा थिए; त्यसैगरि दोस्रो तलामा भएका खोपाहरूभन्दा तेस्रो तलामा भएका खोपाहरू चौडा थिए।
८ मन्दिरको चारैतिर मैले अग्लो डिल देखेँ, जसमाथि खोपाहरू बनाइएका थिए। त्यसको उचाइ एउटा सिङ्गो टाँगोबराबर अर्थात् छ हात थियो। ९ खोपाहरूको बाहिरी भित्ताको मोटाइ पाँच हात थियो। खोपाहरूको वरिपरि खुला ठाउँ* थियो, जुन मन्दिरकै भाग थियो।
१० मन्दिर र भोजनकक्षहरूबीच+ दुवैतिर २० हात चौडा खुला ठाउँ थियो। ११ मन्दिरको उत्तरपट्टि खुला ठाउँ र खोपाहरूको बीचमा एउटा द्वार थियो। दक्षिणपट्टि पनि यस्तै द्वार थियो। खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो।
१२ पश्चिमपट्टि भएको भवन, जुन खुला ठाउँतिर फर्केको थियो, त्यसको चौडाइ ७० हात र लम्बाइ ९० हात थियो। त्यस भवनको चारैतिरको भित्ताको मोटाइ पाँच हात थियो।
१३ तिनले मन्दिरको नाप लिए र यसको लम्बाइ १०० हात थियो। खुला ठाउँ, पश्चिमपट्टिको भवन र यसका भित्ताहरू सबै गरी १०० हात नै थियो। १४ मन्दिरको अगाडिको भाग, जुन पूर्वपट्टि फर्केको थियो, यसको चौडाइ र यसको दुवैपट्टिको खुला ठाउँको चौडाइ सबै गरी १०० हात थियो।
१५ तिनले मन्दिरको पछाडिपट्टि भएको खुला ठाउँतिर फर्केको भवनको लम्बाइ नापे। यो भवन र यसको दुवैपट्टि भएका बार्दलीहरू सबै गरी १०० हात थियो।
तिनले मन्दिरको पवित्र कोठा, महापवित्र कोठा+ र चोकमा भएका दलानहरूको पनि नाप लिए। १६ साथै तिनले यी तीन ठाउँको सँघार, झ्यालहरू*+ र बार्दलीहरूको पनि नाप लिए। प्रत्येक सँघारनजिकै भुईँदेखि झ्यालसम्म काठका फल्याक लगाइएका थिए+ र झ्यालहरू ढाकिएका थिए। १७ तिनले द्वारमाथिको भाग, मन्दिरको भित्री भाग, बाहिरी भाग र चारैतिरको भित्ताको नाप लिए। १८ त्यसमा करूबहरूको+ र खजुरको बोटको आकृति+ खोपिएको थियो। प्रत्येक दुई करूबबीच एउटा खजुरको बोट थियो र प्रत्येक करूबको दुई वटा अनुहार थियो। १९ एउटा अनुहार मान्छेको जस्तो थियो भने अर्को अनुहार सिंहको जस्तो थियो। मान्छेको जस्तो अनुहार एकापट्टिको खजुरको बोटतर्फ फर्केको थियो भने सिंहको जस्तो अनुहार अर्कोपट्टिको खजुरको बोटतर्फ फर्केको थियो।+ पूरै मन्दिरमा यस्तैगरि करूबहरूको र खजुरको बोटको आकृति खोपिएको थियो। २० मन्दिरको भित्तामा भुईँदेखि द्वारको माथिसम्मै करूबहरूको र खजुरको बोटको आकृति खोपिएको थियो।
२१ मन्दिरको द्वारको चौकोस* वर्गाकार थियो।+ पवित्र ठाउँको* अघिल्तिर २२ वेदीजस्तै देखिने एउटा वस्तु थियो, जुन काठले बनेको थियो।+ यसको उचाइ तीन हात र लम्बाइ दुई हात थियो। त्यसका कुनाहरू, त्यसका आधार र पाटाहरू काठकै थिए। तिनले मलाई यसो भने: “यहोवाको सामने भएको टेबुल यही हो।”+
२३ पवित्र कोठा र महापवित्र कोठा दुवैमा दुई-दुई वटा ढोका थिए।+ २४ ती ढोकाहरू दुई पाटे थिए। ती ढोकाहरूमा भित्रबाहिर दुवैपट्टिबाट खोल्न मिल्ने खापाहरू थिए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। २५ मन्दिरको भित्तामा जस्तै यी ढोकाहरूमा पनि करूबका र खजुरको बोटका आकृतिहरू खोपिएका थिए।+ मन्दिरको दलानमाथि काठको कार्नेस थियो। २६ दलानको दुवैपट्टि अनि मन्दिरका खोपाहरूमा कार्नेसमुनि झ्यालहरू*+ र खजुरको बोटका आकृतिहरू थिए।