प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt रुथ १:१-४:२२
  • रुथ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रुथ
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
रुथ

रुथ

१ यो त्यो समयको कुरा हो, जतिबेला न्यायकर्ताहरूले इस्राएलमा न्याय गर्थे;+ त्यतिबेला इस्राएलमा अनिकाल पऱ्‍यो। त्यसैले यहुदाको बेतलेहेमका+ एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर मोआबीहरूको इलाकामा+ प्रवासीको रूपमा बसोबास गर्न गए। २ ती मानिसको नाम एलिमेलेक* थियो। तिनकी पत्नीको नाम नाओमी* अनि दुई छोराको नाम महलोन* र किल्योन* थियो। तिनीहरू यहुदाको बेतलेहेम अर्थात्‌ एप्राताका बासिन्दा थिए। तिनीहरू मोआबीहरूको इलाकामा गएर त्यहीँ बसोबास गर्न थाले।

३ केही समयपछि नाओमीका पति एलिमेलेकको मृत्यु भयो। त्यसपछि उनी र उनका दुई छोरा मात्र बाँकी भए। ४ पछि नाओमीका छोराहरूले ओर्पा र रुथ+ नाम गरेका मोआबी स्त्रीहरूसित विवाह गरे। तिनीहरू करिब दस वर्ष त्यहीँ बसे। ५ पछि नाओमीका दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमीले आफ्ना पति र दुवै छोरा गुमाइन्‌। ६ यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूलाई खानेकुरा* दिएर फेरि आशिष्‌ दिन थाल्नुभएको छ भन्‍ने कुरा नाओमीले मोआबमा छँदा सुनिन्‌। त्यसैले उनले आफ्ना बुहारीहरूलाई लिएर मोआबीहरूको इलाकाबाट आफ्नो घर फर्कन यात्रा थालिन्‌।

७ उनी आफू बसोबास गरेको ठाउँबाट हिँडिन्‌ र उनले दुवै बुहारीलाई पनि सँगै लगिन्‌। उनीहरू यहुदा फर्कँदै गर्दा बाटोमा ८ नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्‌: “तिमीहरू आ-आफ्नै माइती फर्क। जसरी तिमीहरूले मृत्यु भइसकेका आफ्ना पतिलाई र मलाई अटल प्रेम* देखाएका थियौ, त्यसरी नै यहोवा परमेश्‍वरले पनि तिमीहरूलाई अटल प्रेम देखाऊन्‌।+ ९ म यहोवा परमेश्‍वरलाई यही बिन्ती गर्छु कि तिमीहरू दुवैले फेरि विवाह गरेर आ-आफ्ना पतिको घरमा सुरक्षा पाउन सक।”+ त्यसपछि नाओमीले तिनीहरूलाई म्वाइँ खाइन्‌ र तिनीहरू धुरुधुरु रोए। १० तिनीहरूले नाओमीलाई बारम्बार यसो भने: “त्यसो नभन्‍नुहोस्‌। हामी पनि तपाईँसित तपाईँका मानिसहरूकहाँ जानेछौँ।” ११ तर नाओमीले तिनीहरूलाई भनिन्‌: “छोरीहरू, तिमीहरू फर्क! तिमीहरू मसित गएर के गर्छौ? तिमीहरूसित विवाह गराइदिनको लागि के म अझै पनि छोराहरू जन्माउन सक्छु र?+ १२ तिमीहरू फर्क छोरीहरू! जाओ किनकि मेरो विवाह गर्ने उमेर गइसक्यो। मैले आजै राती विवाह गरेँ र छोराहरू जन्माएँ भने पनि १३ उनीहरू ठूलो नहोउन्जेल के तिमीहरू कुरेर बस्छौ? उनीहरूलाई पर्खेर तिमीहरू पनि विवाह नगरी बस्छौ त? हे छोरीहरू, त्यसो नभन! यहोवा परमेश्‍वरको हात मविरुद्ध उठेको छ।+ तर यसले गर्दा तिमीहरूले पनि दुःख भोग्नुपरेको देख्दा मेरो मन खिन्‍न हुन्छ।”

१४ तिनीहरू फेरि धुरुधुरु रोए। त्यसपछि ओर्पाले आफ्नी सासूलाई म्वाइँ खाइन्‌ र उनी त्यहाँबाट गइन्‌। तर रुथले भने नाओमीलाई छोडिनन्‌। १५ त्यसपछि नाओमीले भनिन्‌: “हेर! तिम्री देउरानी आफ्ना मानिस र आफ्ना देवीदेवताकहाँ फर्केर गई। तिमी पनि ऊसितै फर्क।”

१६ तर रुथले भनिन्‌: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्‌। म तपाईँलाई एक्लै छोडेर जान्‍नँ। तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्‌नुहुन्छ, म पनि त्यहीँ रात काट्‌नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।+ १७ तपाईँ जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र मेरो लास त्यहीँ गाडिनेछ। मृत्युले मात्र मलाई तपाईँबाट अलग पार्न सक्छ। अरू कारणले गर्दा मैले तपाईँलाई छोडेँ भने यहोवा परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌।”

१८ रुथले आफूसितै जाने दृढ सङ्‌कल्प गरेकी देखेर नाओमीले तिनलाई फर्कन कर गरिनन्‌। १९ त्यसपछि उनीहरू बेतलेहेमतिर अघि बढे।+ उनीहरू बेतलेहेम पुगेपछि सहरका मानिसहरू छक्क परेर उनीहरूलाई हेर्न थाले। अनि स्त्रीहरूले चाहिँ यसो भन्‍न थाले: “यिनी नाओमी नै हुन्‌ त?” २० नाओमीले ती स्त्रीहरूलाई भनिन्‌: “मलाई नाओमी होइन, मारा* भन। किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मेरो जीवन दुःखैदुःखले भरिदिनुभएको छ।+ २१ यहाँबाट जाँदा मसँग सबथोक थियो तर अहिले यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ। मलाई नाओमी नभन किनकि यहोवा परमेश्‍वर मविरुद्ध खडा हुनुभएको छ; सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नै ममाथि यत्रो विपत्ति आइपर्न दिनुभएको छ।”+

२२ यसरी नाओमी आफ्नी मोआबी बुहारी रुथलाई लिएर मोआबीहरूको इलाकाबाट+ बेतलेहेम फर्किन्‌। उनीहरू बेतलेहेम आइपुग्दा जौ काट्‌ने समय भर्खरै सुरु भएको थियो।+

२ नाओमीका पति एलिमेलेकका एक जना नातेदार थिए, जसको नाम बोअज थियो।+ तिनी असाध्यै धनी थिए र तिनी एलिमेलेककै घरानाका थिए।

२ एकदिन मोआबी रुथले नाओमीलाई भनिन्‌: “तपाईँ मलाई अनुमति दिनुहुन्छ भने म खेतमा सिलाबाला बटुल्न जान्छु।+ जसले मलाई दया देखाउँछ, म उसैको पछिपछि गएर सिलाबाला बटुल्छु।” यो सुनेपछि नाओमीले रुथलाई भनिन्‌: “हुन्छ छोरी, जाऊ।” ३ अनि रुथ खेतमा गइन्‌ र बाली काटिरहेकाहरूको पछिपछि गएर सिलाबाला बटुल्न थालिन्‌। संयोगले उनी एलिमेलेककै घरानाका+ बोअजको खेतमा पुगिन्‌।+ ४ त्यति नै खेर बोअज बेतलेहेमबाट त्यहाँ आइपुगे अनि तिनले खेतालाहरूलाई यसरी अभिवादन गरे: “यहोवा परमेश्‍वर तिमीहरूको साथमा होऊन्‌!” अनि तिनीहरूले पनि भने: “यहोवा परमेश्‍वरले तपाईँलाई आशिष्‌ देऊन्‌!”

५ त्यसपछि बोअजले खेतालाहरूलाई अराउपराउ गर्न खटाइएको व्यक्‍तिलाई सोधे: “यी युवती को हुन्‌? उनी कुन कुलकी हुन्‌?” ६ ती व्यक्‍तिले जवाफ दिए: “उनी मोआबी हुन्‌।+ उनी मोआबबाट नाओमीसित आएकी हुन्‌।+ ७ ‘खेतमा सिलाबाला टिप्न अनि खेतालाहरूले छोडेको अन्‍नको बाला बटुल्न दिनुहोस्‌’* भनेर उनले मलाई बिन्ती गरिन्‌।+ उनले बिहानदेखि अहिलेसम्म काम गरिरहेकी छिन्‌, भर्खरै मात्र छाप्रोमा एकछिन थकाइ मार्न बसेकी हुन्‌।”

८ त्यसपछि बोअजले रुथलाई भने: “नानी सुन त, सिलाबाला बटुल्न अरूको खेतमा नजाऊ। मेरा दासीहरूसितै बस; यताउता कतै नजाऊ।+ ९ तिनीहरू कतातिर अन्‍न बटुल्न जान्छन्‌, त्यो हेर्दै गर अनि तिनीहरूसितै जाऊ। तिमीलाई दुःख नदिनू* भनेर मैले मेरा कामदारहरूलाई भनिसकेँ। तिमीलाई तिर्खा लाग्यो भने गएर पानी पिऊ; मेरा कामदारहरूले भाँडाहरूमा पानी भरेर राखेका हुन्छन्‌।”

१० यो सुनेपछि रुथले घुँडा टेकेर भुईँमा घोप्टो पर्दै बोअजलाई भनिन्‌: “म विदेशी हुँ भनेर थाह हुँदाहुँदै तपाईँले मलाई किन दया देखाउनुभयो र मलाई ध्यान दिनुभयो?”+ ११ तब बोअजले भने: “तिमीले आफ्नो पतिको मृत्युपछि आफ्नी सासूको निम्ति के कति गऱ्‍यौ, त्यो मैले सुनेको छु। अनि तिमी आफ्ना आमाबुबा, जन्मभूमि र नातागोता सबै छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूसित बस्न आयौ भनेर पनि मैले थाह पाइसकेँ।+ १२ तिमीले जे-जति गऱ्‍यौ, त्यसको लागि यहोवा परमेश्‍वरले तिमीलाई इनाम देऊन्‌।+ तिमीलाई इस्राएलका परमेश्‍वर यहोवाले पूरापूर प्रतिफल देऊन्‌, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+ १३ तब रुथले भनिन्‌: “हे मेरा प्रभु, मैले तपाईँको निगाह पाउन सकूँ। तपाईँले मलाई ढाडस दिनुभयो र तपाईँले भन्‍नुभएको कुराले मैले साँच्चै सान्त्वना पाएँ। म तपाईँकी दासी नभए तापनि तपाईँले मलाई दया देखाउनुभयो।”

१४ खाना खाने बेला बोअजले रुथलाई भने: “आऊ, यहाँ बसेर रोटी खाऊ। अमिलो मद्यमा रोटी चोपेर खाऊ।” त्यसैले उनी खेतालाहरूसँगै बसिन्‌। अनि बोअजले रुथलाई भुटेको अन्‍न दिए। रुथले पेटभरि खाइन्‌ र केही अन्‍न उब्रियो। १५ त्यसपछि उनी सिलाबाला बटुल्न उठिन्‌।+ तब बोअजले आफ्ना कामदारहरूलाई यस्तो आदेश दिए: “तिमीहरूले उनलाई सिलाबाला बटुल्न दिनू;* उनलाई दुःख नदिनू।+ १६ अनि अन्‍नको बिटाबाट केही बाला निकालेर उनको लागि छोडिदिनू र उनले त्यसबाट अन्‍न बटुलून्‌; उनलाई नरोक्नू।”

१७ त्यसैले उनले साँझसम्मै सिलाबाला बटुलिन्‌।+ उनले त्यो अन्‍न चुटिन्‌ र त्यसबाट एक एपा* जौ निस्कियो। १८ त्यो जौ बोकेर रुथ सहरमा फर्किन्‌ र आफूले बटुलेको अन्‍न सासूलाई देखाइन्‌। खेतमा काम गर्दा आफूले खाएर उब्रिएको खानेकुरा पनि उनले सासूलाई दिइन्‌।+

१९ अनि उनकी सासूले सोधिन्‌: “आज कहाँ सिलाबाला बटुल्यौ? तिमीले कसको खेतमा काम गऱ्‍यौ? तिमीलाई दया देखाउने व्यक्‍तिको भलो होस्‌।”+ रुथले जवाफ दिइन्‌: “मैले आज बोअज नाम गरेका मानिसको खेतमा काम गरेँ।” २० यो सुनेपछि नाओमीले बुहारीलाई भनिन्‌: “तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌; परमेश्‍वर जीवित र मरेकाहरूप्रति आफ्नो अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्‍न।”+ नाओमीले अझै भनिन्‌: “तिनी हाम्रा नातेदार हुन्‌।+ हामीलाई मोल तिरेर छुटाउने व्यक्‍तिहरूमध्ये एक जना हुन्‌।”+ २१ त्यसपछि मोआबी रुथले भनिन्‌: “उहाँले मलाई यसो पनि भन्‍नुभयो, ‘पूरै बाली काट्‌न नसिद्धिउन्जेल मेरा दासीहरूसितै बस।’”+ २२ नाओमीले आफ्नी बुहारी रुथलाई भनिन्‌: “छोरी, तिमी तिनकै खेतमा काम गर्न गएको बेस। अरूको खेतमा गयौ भने मानिसहरूले तिमीलाई दुःख दिन सक्छन्‌।”

२३ त्यसैले उनले बोअजका दासीहरूसँगै काम गरिन्‌; जौ र गहुँ काट्‌न नसिद्धिउन्जेल उनले सिलाबाला बटुलिन्‌।+ उनले आफ्नी सासूको साथ छोडिनन्‌।+

३ नाओमीले आफ्नी बुहारी रुथलाई भनिन्‌: “छोरी, म तिम्रो भलो चाहन्छु। तिमीले फेरि विवाह गरेर घरजम गरेको हेर्न चाहन्छु।+ २ बोअज हाम्रै नातेदार हुन्‌।+ तिनकै दासीहरूसित तिमीले काम गरेकी थियौ नि, होइन र? आज साँझ बोअज खलामा जौ बत्ताउन जानेछन्‌। ३ त्यसैले नुहाइधुवाइ गरेर सुगन्धित तेल दल। अनि राम्रो लुगा लगाएर खलामा जाऊ। तर बोअजले खानपिन गरी नसकुन्जेल तिनको अगाडि देखा नपर। ४ तिनी कहाँ सुत्न जाँदा रहेछन्‌ भनेर राम्ररी हेरिराख। त्यसपछि तिमी पनि त्यहाँ जाऊ। तिनको खुट्टानिरको ओढ्‌ने हटाएर तिमी पनि त्यहीँ ढल्क। तिमीले के गर्नुपर्छ, तिनले नै तिमीलाई बताउनेछन्‌।”

५ त्यसपछि रुथले भनिन्‌: “हुन्छ, म तपाईँले भन्‍नुभएझैँ गर्नेछु।” ६ अनि उनी खलामा गइन्‌ र आफ्नी सासूले भनेझैँ सबै गरिन्‌। ७ त्यतिन्जेल बोअजले खानपिन गरिसिद्‌ध्याए। तिनी असाध्यै खुसी थिए। त्यसपछि तिनी अन्‍न थुपारेको ठाउँको छेउमा गएर ढल्के। तिनी ढल्किसकेपछि रुथ बिस्तारै तिनी सुतेको ठाउँमा गइन्‌। अनि बोअजको खुट्टाको ओढ्‌ने हटाएर त्यहीँ ढल्किन्‌। ८ मध्यरातमा बोअज चिसोले गर्दा काँप्न थाले र तिनी ब्युँझिए अनि तिनले आफ्नो खुट्टानिर एक जना स्त्री ढल्किरहेकी देखे। ९ बोअजले सोधे: “तिमी को हौ?” उनले भनिन्‌: “म रुथ, तपाईँकी दासी। कृपया तपाईँकी दासीलाई तपाईँको ओढ्‌ने ओढाइदिनुहोस्‌* किनभने हामीलाई मोल तिरेर छुटाउने नातेदार तपाईँ नै हुनुहुन्छ।”+ १० त्यसपछि तिनले भने: “छोरी, तिमीलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌। तिमीले पहिले पनि वफादारी* देखाइसकेकी छ्यौ तर अहिले झन्‌ धेरै वफादारी देखायौ।+ किनकि धनी वा गरिब, कुनै जवान मानिसको पछि तिमी लागिनौ। ११ तिमी नडराऊ। म तिमीले भनेझैँ सबै गर्नेछु+ किनकि तिमी साह्रै असल छ्यौ भनेर सहरमा सबैलाई थाह छ। १२ हुनत म तिमीलाई मोल तिरेर छुटाउन सक्ने व्यक्‍ति हुँ+ तर मभन्दा पनि नजिकको अर्को नातेदार छन्‌, जसले तिमीलाई छुटाउन सक्छन्‌।+ १३ आज राती यहीँ बस। भोलि बिहान यदि उसले तिमीलाई छुटायो भने ठीकै छ।+ तर उसले त्यसो गर्न चाहँदैन भने जीवित परमेश्‍वर यहोवाको म कसम खाएर भन्छु, म तिमीलाई छुटाउनेछु। त्यसैले बिहान नभएसम्म यहीँ ढल्केर बस।”

१४ बिहान नहोउन्जेल रुथ बोअजको खुट्टानिर ढल्किरहिन्‌ अनि कसैले आफूलाई नचिनोस्‌ भनेर उनी झिसमिसे उज्यालोमै उठिन्‌। त्यसपछि बोअजले रुथलाई भने: “खलामा एउटी स्त्री आएकी थिई भनेर कसैले थाह नपाओस्‌!” १५ तिनले यसो पनि भने: “तिम्रो पछ्यौरा थाप त।” त्यसपछि रुथले आफ्नो पछ्यौरा थापिन्‌ अनि बोअजले त्यसमा छ भाँडो* जौ हालेर उनलाई बोकाइदिए। त्यसपछि बोअज सहरतिर लागे।

१६ रुथ पनि आफ्नी सासूकहाँ गइन्‌। अनि नाओमीले उनलाई सोधिन्‌: “छोरी, के भयो त?” बोअजले उनको लागि के-के गरिदिए, ती सबै उनले नाओमीलाई सुनाइन्‌। १७ उनले अझै भनिन्‌: “उहाँले यो छ भाँडो जौ दिएर मलाई भन्‍नुभयो, ‘आफ्नी सासूकहाँ खाली हात नफर्क।’” १८ यो सुनेपछि नाओमीले भनिन्‌: “छोरी, यस घटनाले कस्तो मोड लिन्छ, त्यो थाह नपाउन्जेल यहीँ पर्खेर बस। किनकि यो मामिला आजै नसुल्झाएसम्म तिनलाई चैन हुनेछैन।”

४ बोअज सहरको मूलढोकामा गए+ अनि त्यहाँ बसे। बोअजले रुथलाई बताएका ती नजिकका नातेदार*+ त्यति नै बेला त्यही बाटो भएर जाँदै थिए। बोअजले ती मानिसलाई* भने: “यहाँ आएर बस्नुहोस्‌।” त्यसपछि ती मानिस त्यहाँ गएर बसे। २ अनि बोअजले सहरका दस जना नाइकेलाई बोलाएर भने:+ “यहाँ बस्नुहोस्‌।” त्यसैले तिनीहरू त्यहाँ बसे।

३ तब बोअजले मोल तिरेर छुटाउने ती मानिसलाई भने:+ “मोआबीहरूको इलाकाबाट नाओमी फर्केर आएकी छिन्‌+ र तिनी हाम्रा नातेदार एलिमेलेकको जमिन बेच्न बाध्य छिन्‌।+ ४ म सबैको अगाडि तपाईँलाई यो कुरा भन्‍न चाहन्छु, ‘सहरका मानिसहरू र नाइकेहरूको अगाडि यो जमिन किन्‍नुहोस्‌।+ यसको पहिलो हकवाला तपाईँ हुनुहुन्छ। त्यसैले तपाईँ किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्‌। तर किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्‌। किनकि तपाईँपछिको हकवाला म नै हुँ।’” यो सुनेपछि ती मानिसले भने: “म किन्‍न तयार छु।”+ ५ त्यसपछि बोअजले भने: “तर यो कुरा मनमा राख्नुहोस्‌, त्यस जमिनमाथि नाओमीको मात्र होइन, मोआबी रुथको पनि हक लाग्छ, जसका पति मरिसकेका छन्‌। त्यसैले तपाईँले उनीहरू दुवैबाट त्यो जमिन किन्‍नुपर्छ। यसो गर्दा त्यो सम्पत्ति मरिसकेका ती मानिसकै सन्तानको नाममा रहनेछ।”+ ६ तब ती नजिकका नातेदारले भने: “म त्यो जमिन किन्‍न सक्दिनँ। त्यो किनेँ भने मेरो आफ्नै पैतृक सम्पत्ति गुम्न सक्छ। मोल तिरेर छुटाउने मेरो हक म तपाईँलाई दिन्छु। त्यो जमिन तपाईँ नै किन्‍नुहोस्‌। म त्यो किन्‍न सक्दिनँ।”

७ मोल तिरेर छुटाउने अधिकार भएको व्यक्‍तिले आफ्नो अधिकार अर्को व्यक्‍तिलाई दिँदा पहिला-पहिला इस्राएलमा यसो गर्नुपर्ने चलन थियो: ती व्यक्‍तिले आफ्नो जुत्ता फुकालेर अर्को पक्षलाई दिनुपर्थ्यो।+ इस्राएलमा यस्तो मामिलालाई यसरी नै कानुनी मान्यता दिइन्थ्यो। ८ त्यसकारण मोल तिरेर छुटाउने अधिकार भएका ती नजिकका नातेदारले बोअजलाई “त्यो जमिन तपाईँ नै किन्‍नुहोस्‌” भनेपछि तिनले आफ्नो जुत्ता फुकाले। ९ त्यसपछि बोअजले सहरका नाइकेहरू र त्यहाँ भएका सबै मानिसलाई भने: “आज म एलिमेलेकको अधिकारमा भएको अनि किल्योन र महलोनको अधिकारमा भएको सबै कुरा नाओमीबाट किन्दै छु र यसको साक्षी तपाईँहरू हुनुहुन्छ।+ १० साथै मोआबी रुथलाई म आफ्नी पत्नी बनाउँदै छु, जसका पति महलोन मरिसकेका छन्‌। यसो गर्दा महलोनको सम्पत्ति तिनकै सन्तानको नाममा रहनेछ+ अनि तिनका दाजुभाइ र यस सहरका मानिसहरूको बीचबाट* तिनको नाम मेटिएर जानेछैन। तपाईँहरू यसको पनि साक्षी हुनुहुन्छ।”+

११ तब सहरको मूलढोकामा भएका सबै मानिस र नाइकेहरूले भने: “हामी साक्षी छौँ। आज जसलाई तपाईँ आफ्नी पत्नी बनाउँदै हुनुहुन्छ, तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌। तिनी राहेल र लेआजस्तै होऊन्‌, जुन स्त्रीहरूबाट इस्राएल राष्ट्रको जन्म भयो।+ एप्रातामा तपाईँको फलिफाप होस्‌+ र बेतलेहेममा तपाईँले राम्रो नाम कमाउन सक्नुहोस्‌।+ १२ यस जवान स्त्रीबाट जन्मने तपाईँको सन्तानलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌;+ त्यस सन्तानले तपाईँको घरानालाई पेरेजको घरानाजस्तै+ बनाओस्‌, जो तामार र यहुदाका छोरा थिए।”

१३ तब बोअजले रुथलाई आफ्नी पत्नी बनाए। बोअजले तिनीसित सम्बन्ध राखे र यहोवाको आशिष्‌ले गर्दा रुथ गर्भवती भइन्‌। अनि तिनले छोरा जन्माइन्‌। १४ तब स्त्रीहरूले नाओमीलाई भने: “यहोवा परमेश्‍वरको जय होस्‌! उहाँले आज तपाईँलाई बेसहारा छोड्‌नुभएन बरु तपाईँको लागि मोल तिरेर छुटाउने व्यक्‍ति पठाउनुभयो। इस्राएलमा यस बालकले ठूलो नाम कमाओस्‌। १५ उसले* तपाईँलाई नयाँ जीवन दिएको छ। ऊ तपाईँको बुढेसकालको सहारा हुनेछ। किनकि तपाईँलाई असाध्यै माया गर्ने बुहारीले उसलाई जन्म दिएकी हुन्‌+ र तिनी तपाईँको लागि सात जना छोराभन्दा पनि उत्तम छिन्‌।” १६ नाओमीले त्यस बालकलाई आफ्नो काखमा राखिन्‌। उनले नै उसको स्याहारसुसार गरिन्‌।* १७ अनि छरछिमेकका स्त्रीहरूले यसो भन्‍न थाले: “नाओमीको एउटा छोरा भएको छ।” तिनीहरूले त्यस बालकको नाम ओबेद राखिदिए।+ ओबेद यिसैका बुबा र दाउदका हजुरबुबा हुन्‌।+

१८ पेरेजको वंशावली* यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ १९ हेस्रोनबाट राम जन्मिए; रामबाट अम्मिनादाब जन्मिए;+ २० अम्मिनादाबबाट+ नहसोन जन्मिए; नहसोनबाट साल्मोन जन्मिए; २१ साल्मोनबाट बोअज जन्मिए; बोअजबाट ओबेद जन्मिए; २२ ओबेदबाट यिसै जन्मिए+ र यिसैबाट दाउद जन्मिए।+

यसको अर्थ हो, “मेरा परमेश्‍वर राजा हुनुहुन्छ।”

यसको अर्थ हो, “मेरो मनको आनन्द।”

यो नाम “कमजोर हुनु; बिरामी पर्नु” भन्‍ने अर्थ लाग्ने हिब्रू शब्दबाट लिइएको हुन सक्छ।

यसको अर्थ हो, “कमजोर; अन्त्य हुनै लागेको।”

शा., “रोटी।”

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “तीतो।”

वा सम्भवतः “खेतालाहरूले छोडेको अन्‍नका बिटाहरूबीच सिलाबाला बटुल्न दिनुहोस्‌।”

शा., “कसैले पनि नछुनू।”

वा सम्भवतः “अन्‍नका बिटाहरूबीच सिलाबाला बटुल्न दिनू।”

लगभग २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “तपाईँकी दासीको सुरक्षा गर्नुहोस्‌।”

वा “अटल प्रेम।”

छ सेआ हुन सक्छ। यो लगभग ४४ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “मोल तिरेर छुटाउने व्यक्‍ति।”

ती मानिसको नाम उल्लेख गरिएको छैन।

शा., “तिनको सहरको मूलढोकाबाट।”

अर्थात्‌, नाओमीको नातिले।

वा “उनी नै उसको धाईआमा भइन्‌।”

शा., “पुस्ता।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने