विश्वदर्शन
स्त्रीहरूलाई थप कार्यभार
के पुरुष तथा स्त्रीहरू समान रूपले घरायसी कार्य गर्छन्? संघीय जर्मन तथ्यांक विभागको सर्वेक्षणअनुसार गर्दैनन्। अर्थशास्त्री नोबर्ट स्वार्ट्स र डिटर शफरले ७,२०० परिवारलाई घरायसी कार्यमा बिताउने समयको विश्लेषण गर्न र अभिलेख राख्न आग्रह गरे। त्यस सर्वेक्षणमा भाँडा माझ्ने, किनमेल गर्ने, बिरामी नातेदारहरूको हेरविचार गर्ने र जानी नजानी मोटर मर्मत गर्नेजस्ता कार्यहरू समावेश थिए। सुडोइच जाइटुंग यस्तो विवरण पेश गर्छ: “जागिरदार होऊन् वा नहोऊन्, स्त्रीहरूले पुरुषहरूले भन्दा दुइ गुना बढी बेतलबी कार्यहरू गर्न समय बिताउनुपर्छ।”
“टिबी टाइम बम”
इन्डियन एक्सप्रेस-को प्रतिवेदनअनुसार थुप्रै प्रकारका औषधीहरू पनि पचाउनसक्ने नयाँ क्षयरोगीहरूले (टिबी) गर्दा भारतमा प्रत्येक हप्ता १०,००० मानिसहरूको मृत्यु भइरहेको छ। विश्व स्वास्थ्य संघका क्राग क्लटअनुसार भारत “टिबी टाइम बममाथि बसिरहेको” छ। विश्वभरि १.७५ अरब मानिसहरू क्षयरोगको कीटाणुद्वारा संक्रमित छन्। चिकित्सासम्बन्धी बेलाइती पत्रिका द ल्यासेट-द्वारा आयोजित सभामा भाग लिने ४० राष्ट्रका विशेषज्ञहरूको भनाइअनुसार अधिकांश क्षयरोगीहरू विकासोन्मुख देशहरूमा भएको हुनाले औषधी उत्पादन गर्ने उद्योगहरू नयाँ औषधी उत्पादन गर्न आवश्यक पूँजी लगाउन इच्छुक छैनन्।
साँच्चै ठूलो, साँच्चै गन्हाउने फूल
संसारको सबैभन्दा ठूलो फूल वास्तवमा एउटा अनौठो सृष्टि हो। रफ्लेसिया भनिने यो फूल झन्डै बसको चक्का जत्रो हुन्छ। गर्भमा बच्चा हुर्कन जति समय लाग्छ, यो फूल फक्रन पनि त्यति नै समय लाग्छ। आकारले गर्दा मात्र यस फूलको थुँगा बनाउन नमिल्ने होइन। यो गनाउँछ पनि। यसले झिंगाहरूलाई परागसेचन गर्न आकर्षित गर्नुपर्ने भएकोले रफ्लेसिया कुहिएको मासुजस्तै गनाउँछ। रफ्लेसिया उष्ण कटिबन्धीय सदाबहार जंगलमा फस्टाउँछ र बितेको समयमा त्यहाँ बसोबास गर्ने मलेसियाली गाउँलेहरूले त्यो फूललाई दियाबलको कचौरा भन्ने संज्ञा दिएका थिए र तिनीहरूले उक्त फूल फुलेको देख्ने बित्तिकै काट्ने गर्थे। तथापि, साउथ चाइना मर्निङ पोस्ट-अनुसार वैज्ञानिकहरूले यसबारे अझ अनुसन्धान गर्न सकोस् भनेर मलेसियाको किनाबालुस्थित राष्ट्रिय निकुञ्जले यस दुर्लभ फूलको संरक्षण गर्न थालेको छ। रफ्लेसियालाई तस्बिरमा कैद गर्न चाहने पर्यटकहरूलाई जंगलमा डोऱ्याएर स्थानीय गाउँलेहरूले अहिले थप पैसा कमाउँछन्। निस्सन्देह, अधिकांश मानिसहरू यस फूलदेखि टाढै रहन्छन्।
कष्टबिना सुत्ने
चिकित्सकको सुझाउबिना किन्न सकिने दुखाइ कम गर्ने केही खास औषधीहरूले निन्द्रा नलाग्ने रोग गराउनसक्छ भन्ने विवरण टफ्टस् युनिभर्सिटी डाइट एण्ड न्युट्रिशन लेटर-ले पेश गरेको छ। “किनकि दुखाइ कम गर्ने केही प्रचलित औषधीहरूमा एक कप कफीमा जति वा त्यसभन्दा बढी क्याफेन पाइन्छ।” हल्का मनोद्दीपक भएकोले क्याफेनलाई एस्प्रिन र अन्य दुखाइ कम गर्ने औषधीहरूको प्रभावकारिता बढाउन मिसाइन्छ। वास्तवमा केही प्रसिद्ध उत्पादनहरूको दुइ चक्कीमा १३० मिलिग्राम जति क्याफेन हुन्छ। यो मात्रा “एक कप कफीमा पाइने ८५ मिलिग्राम क्याफेनभन्दा निकै बढी छ” त्यसैकारण “मनोद्दीपक तत्त्वहरू” भएका दुखाइ कम गर्ने औषधीहरूमा क्याफेन राखिएको छ वा छैन पत्ता लगाउन त्यसको लेबल जाँच्ने सुझाउ उपरोक्त समाचारपत्रले दिन्छ।
सन् १९९५ मा थपिएको “अधिक-सेकेन्ड”
पृथ्वीको परिक्रमा सबैभन्दा भरपर्दो समयपालक होइन जस्तो देखिएको छ। द न्यु योर्क टाइम्स-अनुसार वैज्ञानिकहरूसित एकदम सही समय दिने तरिका छ। त्यो हो सेसियम परमाणु। परमाणु घडीको ढुकढुकीको रूपमा प्रयोग गरिएको सेसियम परमाणु एक सेकेन्डमा ठीक ९,१९,२६,३१,७७० पटक थर्कन्छ। यस गतिको कारण “३,७०,००० वर्षमा एक पटक लगभग एक सेकेन्ड मात्र तलमाथि हुने हुँदा” परमाणु घडीको निम्ति यो गर्वको कुरा भएको छ। तुलना गर्दा पृथ्वीको परिक्रमा दश लाख गुना फरक पर्ने भएकोले समय समयमा “अधिक-सेकेन्ड” थप्नु परेको हो। त्यसैकारण समयपालकहरूको अन्तरराष्ट्रिय समूहले सन् १९९५ को अन्तमा यो “अधिक-सेकेन्ड” थप्ने निर्णय गरे। यसो गर्दा “हाम्रो ग्रह र समयको गतिको” ताल मिल्छ। वैज्ञानिकहरूले यस खोजको श्रेय लिन मिल्दैन। टाइम्स भन्छ, वास्तवमा “यो घडीको उपपरमाणुको चाल यस सौर्यमण्डलको सानो नमुना मात्र हो।”
घामको ज्योतिले मनोबल बढाउँछ
घरभित्र अझ धेरै घामको ज्योति ल्याउनाले “अत्यधिक मात्रामा उत्पादन बढेको” र “बिदा लिने कर्मचारीहरू घटेको” विवरण द वाल स्ट्रीट जर्नल-ले प्रस्तुत गरेको छ। उर्जा खेर नजाओस् भनेर कार्यस्थलमा घामको ज्योति पस्ने ढंगले घर निर्माण गरिएको थियो। तर यसले कामदारहरूको मनोबल बढाएकोले यो निकै फलदायी साबित भयो। उदाहरणका लागि, वायुयान निर्माण गर्ने ठूलो कम्पनी लाकहीड कर्पोरेशनले सन्नीभेल, क्यालिफोर्नियामा निर्माण गरेको एउटा नयाँ कार्यालय ढाँचाले “कुल उर्जाको ५० प्रतिशत कटौती गरेको छ।” कामदारहरूले उक्त वातावरण असाध्यै मन पराए। परिणामस्वरूप लामो बिदामा बस्ने व्यक्तिहरूको संख्यामा पनि १५ प्रतिशत कटौटी भयो। यसो होला भनेर त लाकहीडले सोचेको समेत थिएन। घरभित्र अझ धेरै घामको ज्योति ल्याउनाले हुने फाइदाहरू खुद्रा व्यापारीहरूले पनि देखे। कृत्रिम प्रकाशको साटो प्राकृतिक ज्योति प्रयोग गर्ने पसलहरूमा “अत्यधिक मात्रामा” व्यापार फस्टाएको एक व्यापारीले पाए।
पानी जोगाऊ विश्व
विश्व बैंकका वातावरण उपाध्यक्ष इस्माएल सेरागेल्दिनले यस्तो चेताउनी दिए, “अर्को शताब्दीको युद्ध पानीको लागि हुनेछ।” सेरागेल्दिनको भनाइअनुसार ८० राष्ट्रहरूमा जन-धनलाई खतरा हुने गरी पानीको अभाव भइसक्यो। तर समस्या, पृथ्वीमा पर्याप्त पानी नहुनु होइन। जलविद् रबर्ट आमब्रुज भन्छन्: “पृथ्वीमा पाइने स्वच्छ पानीको कुल परिमाण मानवको अनुमानित आवश्यकताभन्दा कता हो कता धेरै छ।” अधिकांश ठाउँहरूमा खराब व्यवस्थापनले गर्दा पानीको अभाव भएको हो। सिंचाइको निम्ति प्रयोग गरिने आधा पानी त जमीनमा चुहिन्छ वा वाफ बनेर उड्छ। शहरमा आपूर्ति गरिने खाने पानी पनि ३० देखि ५० प्रतिशतसम्म वा कहिलेकाहीं त्योभन्दा बढी चुहिन्छ। दि इकोनोमिस्ट यसो भन्छ: “पानीलाई सित्तैमा पाइने हावाजस्तै होइन तर तेलजस्तै बहुमूल्य स्रोतको रूपमा जोगाउनु पर्ने बेला भयो।”