औषधीहरू बुद्धिमानीसाथ प्रयोग गर्नुहोस्
नाइजेरियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
एउटी आइमाईले टाउको र पेट दुखेको गुनासो पोखिन्। चिकित्सकले तिनीसित छोटकरीमा कुरा गरे। त्यसपछि उनले तिनलाई तीन दिनसम्म औलो ज्वरोको सुई लिन, टाउको दुखेको निको पार्न प्यारासिटामोललगायत (एसेटामिनोफिन) पेटमा घाउ भएको शंकाको भरमा अर्को दुइ थरि औषधी, बेचैनी कम गर्न ट्रान्क्विलाइजर र अन्ततः प्रशस्त मात्रामा मल्टिभिटामिनहरू लिने नुस्खा दिए। शुल्क निकै महंगो थियो तर त्यस आइमाईले कुनै नाइँनास्ति गरिनन्। अब भने निको हुने भयो भनी निर्धक्क भएर खुशी हुँदै तिनी घर फर्किन्।
यस्ता परामर्शहरू लिनु पश्चिम अफ्रिकामा कुनै नौलो कुरा होइन। त्यहाँको एउटा विशाल राष्ट्रमा गरिएको सर्वेक्षणअनुसार सार्वजनिक स्वास्थ्य केन्द्रहरूका स्वास्थ्यकर्मीहरूले प्रत्येक बिमारीलाई हरेक भेटमा औसतन ३.८ भिन्नाभिन्नै औषधीहरू नुस्खा दिन्छन्। वास्तवमा धेरै औषधी सेवन गर्न नुस्खा दिने चिकित्सक असल हुन्छ भन्ने धारणा प्रायजसो मानिसहरूले राखेका छन्।
पश्चिम अफ्रिकामा हुने गरेको स्वास्थ्य अवस्थालाई विचार गर्दा त्यहाँका मानिसहरू औषधीप्रति किन यत्ति विश्वस्त छन्, त्यो बुझ्न सकिन्छ। लगभग ४० वर्षअघि लेखक जोन गुन्थरले प्रारम्भिक समयबारे यसरी लेखे: “स्लेभ कोष्टमा . . . अश्वेतहरू मात्र होइनन् श्वेतहरू पनि मरे र अफ्रिकाको त्यस भूभागलाई किंवदन्तीमा ‘गोराहरूको चिहान’ भनिन्छ। शतकौंसम्म गिनी कोष्टका निर्विवाद राजा लामखुट्टे थियो। यस राजाको प्रिय र घातक हतियारहरू पहेंलो ज्वरो, ब्ल्याकवाटर ज्वरो, औलो ज्वरो थिए। वेस्ट कोष्टको अनिष्टकारी हावापानी उहिलेको कुरा होइन तर जीवन्त स्मृति हो। एउटा लोकप्रिय लघुकथाले केही समयअघि नाइजेरिया दूतावासमा खटाइएको एक पदाधिकारीले आफ्नो अवकाश भत्ता कहिले पाक्छ भनेर सोधेकोबारे बताउँछ। ‘अवकाश भत्ता?’ उपनिवेश कार्यालयस्थित तिनका प्रमुखले प्रतिप्रश्न गरे। ‘ए मेरो प्रिय मित्र, नाइजेरियामा जाने मानिस अवकाशप्राप्त गर्ने समयसम्म जीवित रहँदैन।’”
तर समयले कोल्टे फेरिसक्यो। आज लामखुट्टेहरूले सार्ने रोगहरू मात्र होइनन् अन्य रोगहरूसित पनि संघर्ष गर्नसक्ने औषधीहरू देखा परिसकेका छन्। खोपहरूले मात्रै पनि दादुरा, लहरे खोकी, धनुष्टंकार र भ्यागुते रोगहरूबाट हुने मृत्यु दर नाटकीय ढंगमा घटाएको छ। खोपहरूलाई साधुवाद छ, बिफर उन्मूलन भएको छ। पोलियो पनि चाँडै विगतको रोग हुनेछ।
औषधीको महत्त्वप्रति अधिकांश अफ्रिकीहरूले किन आँखा चिम्लेर विश्वास गर्छन्, त्यो देखेर ताजुब मान्नु पर्दैन। तर यस्तो आस्था पश्चिम अफ्रिकामा मात्रै सीमित छैन। संयुक्त राज्यमा चिकित्सकहरूले प्रतिवर्ष ५५ अरबभन्दा धेरै नुस्खा लेख्छन्। फ्रान्समा मानिसहरू प्रतिवर्ष औसतन ५० बाकस चक्कीहरू किन्छन्। अनि जापानमा औसतन एक व्यक्तिले औषधोपचारमा मात्रै वर्षेनी ४०० अमेरिकी डलरभन्दा धेरै खर्च गर्छन्।
लाभहरू विरुद्ध खतराहरू
मानवतालाई आधुनिक औषधीहरूले निकै मदत गरेको छ। सही तरिकाले प्रयोग गर्दा ती औषधीहरूले सुस्वास्थ्य प्रदान गर्छन् तर सही तरिकाले प्रयोग नगर्दा ती औषधीहरूले हानि पुऱ्याउन वा मृत्युसमेत गराउनसक्छ। उदाहरणका लागि, औषधोपचारको प्रतिकूल असरले गर्दा संयुक्त राज्यमा वर्षेनी लगभग ३,००,००० मानिसहरू अस्पताल भर्ना हुन्छन् भने १८,००० मर्छन्।
औषधीहरू बुद्धिमानीसाथ प्रयोग गर्न तिनमा सधैं कुनै न कुनै खतरा हुन्छ भनेर बुझ्नु महत्त्वपूर्ण छ। जुनसुकै औषधी भनौं भने, एस्प्रिनले समेत हानिकारक प्रतिकूल असरहरू गर्नसक्छ। लगालग एकपछि अर्को अनगिन्ती औषधीहरू लिनुभयो भने प्रतिकूल असरहरू हुनसक्ने सम्भावना धेरै हुन्छ। भोजन तथा पेय पदार्थले पनि तपाईंको शरीरमा औषधीले गर्नसक्ने फाइदा र बेफाइदामा प्रभाव पार्छ। ती पदार्थहरूले औषधीको असर तीव्र वा निष्क्रिय पार्नसक्छन्।
अन्य खतराहरू पनि छन्। कुनै खास औषधीले तपाईंलाई प्रतिकूल असर गर्नसक्छ। नुस्खा दिइएअनुसार तपाईंले ठीक मात्रामा र निर्धारित समयसम्म औषधी लिनुभएन भने त्यसले शायद तपाईंलाई लाभ होइन हानिसमेत पुऱ्याउनसक्छ। तपाईंको चिकित्सकले गलत वा अनावश्यक औषधीहरू सिफारिस गर्दा पनि परिणाम उस्तै हुनसक्छ। म्याद सिद्धिसकेका, निम्नस्तरीय वा नकली औषधीहरू लिंदा पनि तपाईंलाई हानि पुग्नसक्छ।
खतरा कम गर्न तपाईंले प्रयोग गर्नुहुने कुनै पनि औषधीबारे यथासम्भव धेरैभन्दा धेरै थाह पाउनुपर्छ। औषधीबारे तथ्य कुराहरू थाह पाएर तपाईंले निकै लाभ उठाउन सक्नुहुन्छ।
प्रतिजैविकीहरू—फाइदा तथा बेफाइदाहरू
प्रतिजैविकीहरू विकास गरेको ५० वर्ष यतादेखि यिनीहरूले करोडौं मानिसहरूको ज्यान जोगाएका छन्। यिनीहरूले कुष्ठरोग, क्षयरोग, निमोनिया, जीउमा रातो टाटा निस्कने ज्वरो र भिरिंगीजस्ता प्राणघातक रोगहरू नियन्त्रण गरिसके। अन्य प्रकारका संक्रमणहरू पनि निको पार्न यिनीहरूले प्रमुख भूमिका खेल्छन्।
संयुक्त राज्यस्थित टफ्टस् युनिभर्सिटि मेडिकल स्कूलका औषधीसम्बन्धी प्राध्यापक डा. स्टुआर्ट लीभीले यसो भने: “औषधजगत्मा [प्रतिजैविकीले] क्रान्ति ल्याएको छ। औषधजगत्मा यस्तो परिवर्तन गर्ने एक मात्र कारक तत्त्व यिनीहरू नै हुन्।” औषधीका एक अर्का विशेषज्ञ यसो भन्छन्: “यिनीहरू आधुनिक औषधीका आधारशिला हुन्।”
तथापि, दगुर्दै चिकित्सककहाँ पुगेर औषधी माग्नुअघि त्यसका नकारात्मक पक्षहरू पनि यसो विचार गर्नुहोस्। प्रतिजैविकीहरू अनुचित प्रयोग गर्दा तपाईंलाई फाइदाभन्दा धेरै बेफाइदा हुन्छ। प्रतिजैविकीहरूले शरीरमा भएका जीवाणुलाई आक्रमण तथा नाश गर्ने भएकोले यसो हुन्छ। तर यिनीहरूले सधैंजसो सम्पूर्ण हानिकारक जीवाणुलाई नाश गर्दैनन्। केही खास प्रकारका जीवाणुहरूले आक्रमण प्रतिरोध गर्छन्। प्रतिरोधक क्षमता भएका यी खास प्रकारका जीवाणुहरू बाँच्ने मात्र होइनन् गुणात्मक हिसाबले बढ्छन् र व्यक्ति व्यक्तिमा सर्छन्।
उदाहरणका लागि, कुनै एक समयमा संक्रमणहरू निको पार्न पेन्सिलिन साह्रै प्रभावकारी थियो। तर अहिले प्रतिरोधक क्षमता भएका खास प्रकारका जीवाणुहरूको कारण औषधी निगमहरूले सयौं प्रकारका पेन्सिलिनहरू बजारमा ल्याएका छन्।
समस्या सुल्झाउन तपाईं के गर्न सक्नुहुन्छ? तपाईंलाई साँच्चै प्रतिजैविकीहरू चाहिएको भए उक्त प्रतिजैविकी एक योग्य चिकित्सकले सिफारिस गरेको र त्यो वैध स्रोतबाटै प्राप्त गरेको कुरा पक्का गर्नुहोस्। तुरुन्तै प्रतिजैविकीहरू चाहियो भनेर नुस्खा दिन चिकित्सकलाई हत्ते नहाल्नुहोस्। तपाईंको रोगलाई मिल्ने खालको औषधी नुस्खा दिनअघि तिनले प्रथमतः तपाईंलाई ल्याब परीक्षणहरू गर्न लगाउलान्।
तपाईंले ठीक मात्रामा र निर्धारित समयसम्म औषधी लिनु महत्त्वपूर्ण छ। प्रतिजैविकीहरू पूर्ण मात्रामा सिद्धिनुअगावै तपाईंलाई निको भएजस्तो लागे तापनि निर्धारित समयसम्म ती सेवन गरिरहनुपर्छ।
के सुई लिनु औषधी खानुभन्दा बेस हो?
“मलाई सुई लगाइदिनुहोस्!” विकासोन्मुख देशहरूमा धेरैजसो स्वास्थ्यकर्मीहरूले सुन्ने शब्दहरू यिनै हुन्। यस्तो आग्रह गर्नुको मूल कारण औषधीको गोली वा चक्कीहरू निल्नुभन्दा पनि सोझै रक्तनलीमा पुग्ने सुई प्रभावकारी उपचार हो भन्ने विश्वास हो। कुनै कुनै मुलुकहरूमा अनुमतिपत्र प्राप्त नभएका ‘सुई दिने चिकित्सकहरू’ बजारहरूमा देखिनु सामान्य कुरा भएको छ।
चक्की वा गोलीहरूभन्दा सुई लिंदा खतरा हुन्छ। सुई सफा छैन भने रोगी कमलपित्त, धनुष्टंकार र एड्सजस्ता रोगहरूले समेत संक्रमित हुनसक्छन्। फोहर सुई लाउँदा घाउ भएर पाक्नसक्छ। नजान्ने व्यक्तिले सुई दिएको छ भने त खतरा झन् बढी हुन्छ।
तपाईंले सुई लिनै परेमा सुई दिने व्यक्ति औषधोपचार गर्न योग्य छ कि छैन पक्का गर्नुहोस्। आफ्नो सुरक्षाको लागि सुई र पचका दुवै उमालेर जीवाणुहीन बनाइएका हुन् कि होइनन् सधैं निश्चित हुनुहोस्।
नकली औषधीहरू
विश्व स्वास्थ्य संघअनुसार (डब्लूएचओ) वर्षेनी लगभग १७० अरब अमेरिकी डलर कमाउने विश्वव्यापी औषधी व्यवसाय एउटा ठूलो व्यापार हो। परिस्थितिको नाजायज फाइदा उठाउन बेइमान मानिसहरूले नकली औषधीहरू उत्पादन गरेका छन्। नकली औषधीहरू सकली औषधीहरूजस्तै देखिन्छन्। तिनीहरूको लेबल र पोका पार्ने तरिका सबै दुरुस्त हुन्छन् तर काम नलाग्ने।
नकली औषधीहरू सर्वव्याप्त भए तापनि ती विशेषगरि विकासोन्मुख मुलुकहरूमा सामान्य छन् र ती नकली औषधीहरूले दुःखदायी नतिजाहरू ल्याउँछन्। उद्योगहरूमा प्रयोग गरिने घोलक पदार्थ भएको दुखाइ कम गर्ने झोल निलेपछि नाइजेरियामा १०९ जना केटाकेटीहरूको मृगौला बिग्रेर मृत्यु भयो। मेक्सिकोमा आगोले पोलेकाहरूलाई गरिने औषधोपचारमा भूस, कफि र फोहर मिसिएकोले ती पीडितहरू छालाको प्रचण्ड संक्रमणले ग्रस्त भएका छन्। बर्मामा औलो ज्वरो निको पार्न नसक्ने नकली औषधी लिएकोले गाउँ गाउँहरू नै औलो ज्वरोले गर्दा सखाप भएका छन्। डब्ल्यूएचओ भन्छ, “नाउँ चलेको कम्पनीको अति प्रभावकारी देखिने औषधीहरू कहिलेकाहीं निकै सस्तोमा पाइयो भन्ठान्ने अत्यन्त गरिबहरूलाई नै सबैभन्दा धेरै खतरा हुन्छ।”
नकली औषधीहरूबाट तपाईं आफैलाई कसरी जोगाउन सक्नुहुन्छ? अस्पतालको औषधालयजस्ता नाउँ चलेका स्रोतहरूबाट औषधी किन्नुभएको हो भनेर पक्का हुनुहोस्। फुटपाथ पसलेहरूबाट नकिन्नुहोस्। नाइजेरिया, बेनिन शहरका औषधी पसले यस्तो चेताउनी दिन्छन्: “फुटपाथ पसलेहरूको लागि औषधी बेच्नु भनेको व्यापार गरेसरह हो। मिठाइ वा बिस्कुटजस्तै तिनीहरू औषधी बिक्रीवितरण गर्छन्। तिनीहरूले बेचबिखन गर्ने औषधीहरू अक्सर म्याद नाघिसकेका वा नकली हुन्छन्। आफूले बेचिरहेको औषधीबारे यी मानिसहरूलाई केही पनि थाह हुँदैन।”
गरिबीको समस्या
कुनै पनि व्यक्तिले प्राप्त गर्ने औषधोपचार उसको आर्थिक अवस्थामा भर पर्छ। किफायती हुन र समय बचाउन विकासोन्मुख देशहरूका जनताहरू चिकित्सकलाई देखाउनुको साटो व्यवस्थाअनुसार नुस्खा चाहिने औषधीहरू किन्न सोझै औषधी पसलमा जालान् किनभने त्यो औषधी आफूले पहिल्यै प्रयोग गरिसकेको वा कुनै मित्रले सिफारिस गरेकोले आफ्नो बिमारीको लागि कुन औषधी चाहिएको हो, त्यो तिनीहरूलाई थाह हुन्छ। तर तिनीहरूले चाहेको औषधी तिनीहरूलाई आवश्यक नपरेको पनि हुनसक्छ।
अर्को तरिकामा पनि मानिसहरू किफायती हुन चाहन्छन्। चिकित्सकले ल्याब परीक्षण गराउँछन् र केही खास औषधी सिफारिस गर्छन्। बिमारीले उक्त नुस्खा औषधी पसलमा लैजान्छ र औषधी निकै महंगो पाउँछ। त्यसकारण अरू पैसा खोज्नुको साटो मानिसहरू अक्सर सस्तो औषधी किन्छन् वा नुस्खा लेखिदिएको केही मात्र औषधीहरू किन्छन्।
के तपाईंलाई साँच्चै औषधी चाहिएको हो?
तपाईंलाई साँच्चै औषधी चाहिएको हो भने सेवन गर्न लाग्नुभएका औषधीहरू के हुन्, पत्ता लगाउनुहोस्। सिफारिस गरेको औषधीबारे चिकित्सक वा औषधी पसलेलाई सोध्न नहिचकिचाउनुहोस्। त्यो थाह पाउनु तपाईंको अधिकार हो। जे भए तापनि आखिर कष्ट त तपाईंले नै भोग्नुपर्ने हुन्छ।
तपाईंले सही तरिकामा औषधी प्रयोग गर्नुभएन भने तपाईं बिसेक नहुन पनि सक्नुहुन्छ। कति, कहिले र कतिञ्जेल लिनुपर्छ त्यो तपाईंले थाह पाउनुपर्छ। औषधी सेवन गर्दा कुन कुन खाना, पेय पदार्थ र अन्य औषधी लिनु हुँदैन वा के गर्नु हुँदैन त्यो पनि तपाईंलाई थाह हुनु आवश्यक छ। अनि त्यसबाट हुने प्रतिकूल असरहरू र ती भइहालेमा के गर्ने, त्यसबारे पनि तपाईं सजग हुनुपर्छ।
औषधी हरेक रोगको उपचार होइन भन्ने कुरा पनि नबिर्सनुहोस्। तपाईंलाई औषधी पटक्कै नचाहिएको पनि होला। डब्ल्यूएचओ-को प्रकाशन विश्व स्वास्थ्य पत्रिका बताउँछ: “आवश्यक परेमा मात्रै औषधी प्रयोग गर्नुहोस्। आराम, असल आहार र प्रशस्त पेय पदार्थले मानिसलाई तन्दुरुस्त हुन पर्याप्त मदत दिन्छ।”
[पृष्ठ १२-मा भएको पेटी]
करिब २,००० वर्षअघि रोमी कविले लेखे, “हजार थरि रोगलाई हजार थरि उपचार चाहिन्छ।” तर आज, त्यस कविले यसो लेख्थे होलान्, ‘हजार थरि रोगलाई हजार थरि चक्की चाहिन्छ!’ भनौं भने, प्रत्येक वास्तविक वा काल्पनिक रोगको लागि एउटा चक्की पाइन्छ जस्तो छ। विश्व बैंकअनुसार विश्वभरि ५,००० भन्दा धेरै सक्रिय तत्त्वहरू मिलेर लगभग १,००,००० प्रकारका औषधीहरू बनेका छन्।
[पृष्ठ १३-मा भएको पेटी]
औषधीको व्यवहारिक प्रयोग
१. म्याद नाघिसकेका औषधीहरू प्रयोग नगर्नुहोस्।
२. नाउँ चलेको स्रोतबाट औषधी किन्नुहोस्। फुटपाथ पसलेहरूबाट नकिन्नुहोस्।
३. दिइएका निर्देशनहरू बुझ्न र पालन गर्न सक्नुहुन्छ वा हुन्न पक्का गर्नुहोस्।
४. अर्को व्यक्तिको लागि सिफारिस गरेको औषधी प्रयोग नगर्नुहोस्।
५. सुई लिन ढिपी नगर्नुहोस्। औषधीहरू निल्दा पनि प्रायः त्यतिकै लाभकारी हुन्छन्।
६. केटाकेटीले भेट्टाउन नसक्ने चिसो ठाउँमा औषधीहरू राख्नुहोस्।