तपाईं कसरी सुस्वास्थ्य प्राप्त गर्न सक्नुहुन्छ?
स्वास्थ्य उपचारका विभिन्न विधि वार्तालापका लोकप्रिय विषय हुन्। यसो हेर्दा सबै साथीभाइ वा छिमेकीसित हरेक स्वास्थ्य समस्याको निम्ति आ-आफ्नै उपचारविधिहरू छन्। हो, आफ्नो उपचार आफै गर्ने चाहना तीव्र हुनसक्छ। तथापि, “सिकिस्त बिरामी भएपछि मात्रै डाक्टरको मदत खोज्ने” मानिसहरू पनि छन् भनी ब्राजिलका एक डाक्टरले बताइन्। “घरमा महिनौंदेखि आफैले उपचार गर्दा पनि तिनीहरूको घाउ निको नभएको हुनसक्छ। अनि तिनीहरू डाक्टरकहाँ आउञ्जेल एक प्रकारको क्यान्सर भइसकेको हुन्छ जसलाई सुरुमै उपचार गर्नुपर्थ्यो।”
सुरुमै रोग निदान हुँदा अक्सर ज्यान जोगिन्छ भने ढिलाइ गर्दा ठूलो मोल चुकाउनुपर्ने हुनसक्छ। एक शल्यचिकित्सक बताउँछन्, “एक ३० वर्षीया महिलाको ढिलो महिनावारी हुनुका साथै तल्लो पेट असाध्यै दुख्ने गर्थ्यो। तिनी आफैले दुखाइ तथा सुनिने कम गर्ने थुप्रै औषधीहरू किनेर खाइन् र दुखाइ कम पनि भयो। तर तीन दिनपछि तिनको अचाक्ली रक्तस्राव भयो र तुरुन्तै अस्पताल लगियो। फ्यालोपियन नलीमा गर्भ रहेको निदान भएपछि मैले तिनको तुरुन्तै शल्यक्रिया गरें। धन्न, तिनको ज्यान बच्यो, अलिकता मात्र ढिला भएको भए ज्यान जाने थियो!”
साऊ पाउलुमा एक युवतीले आफूलाई रक्तअल्पता भएको भन्ठानिन् तर तिनको मिर्गौला अत्यन्तै कमजोर भएको रहेछ। तिनले आफ्नो उपचारमा ढिलाइ गरेकीले प्रत्यारोपण गर्नुबाहेक अरू केही उपाय भएन। तिनका चिकित्सक निष्कर्षमा यसो भन्छिन्: “अक्सर बिरामीहरू डाक्टरकहाँ जान हिचकिचाउँछन्। आफ्नो उपचार आफै गर्छन् वा चिकित्साजगत्सित संलग्न नभएका अन्य मानिसहरूको सल्लाह लिन्छन् अनि गम्भीर स्वास्थ्य समस्याहरू भोग्छन्।”
निस्सन्देह, हामी आफ्नो शरीरले दिएका संकेतहरू बेवास्ता गर्न चाहँदैनौं। तर, स्वास्थ्य उपचार वा आफ्नो उपचार आफै गर्ने धुनमा मात्र नलाग्न के गर्नसक्छौं? स्वास्थ्यलाई “शारीरिक, मानसिक रूपले ठीक रहनुको भाव,” वा “कुनै प्रकारको रोग व्याध नलागेको” अवस्था भनी परिभाषित गरिएको छ। चाखलाग्दो कुरा के छ भने, पूर्णतया वा आंशिक तवरमा भए पनि आज अधिकांश रोगहरूको रोकथाम गर्न सकिन्छ। डा. लुविस थोमसअनुसार: “हामी बेढंगले रचिएको नभई असाध्यै बलियो, टिकाउ अंगहरूसहित स्वास्थ्यकर ढंगमा बनाइएका छौं।” तसर्थ, आफ्नो स्वास्थ्यबारे अचाक्ली चिन्तामा डुब्नुको साटो हामीले शरीरका लक्षणहरूलाई विचार गर्दै आफै निको हुन दिनुपर्छ किनभने यसको आफै निको हुने असामान्य क्षमता छ। दक्ष डाक्टर वा स्वास्थ्य कार्यकर्ताले पनि हामीलाई मदत दिनसक्छन्।
कुन अवस्थामा चिकित्सकहरूको मदत लिने
“यदि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षणहरू वा पेट, छाती र कम्मर दुखाइ सामान्य औषधीहरूले कम भएन र बिना कारण समय समयमा दुखिरहन्छ वा अचानक असाध्यै तीव्र पीडा हुन्छ” भने पेशेवरहरूको मदत लिनुपर्छ भनी एक ब्राजिली डाक्टर सल्लाह दिन्छन्। अर्का एक डाक्टरले आफ्ना शरीरमा देखिएका लक्षणहरूलाई कसरी उपचार गर्ने पक्का नहुँदा वा सधैंजस्तो नभई अर्कै प्रकारले दुखेको महसुस भएमा चिकित्सकको मदत लिने सुझाउ दिन्छन्। तिनी भन्छन्: “बच्चा बिरामी हुँदा आमाबाबुले आफै औषधीमूलो गर्नुको साटो डाक्टरको राय लिन रुचाउँछन्।”
तर के सधैं औषधी लिनु आवश्यक हुन्छ? औषधी खाँदा उल्टै कुप्रभावहरू हुने हुन् कि? पेटको गडबडी वा मिर्गौला वा कलेजोमा हानि गर्नेजस्ता प्रतिकूल असरहरू हुने हुन् कि? अन्य औषधीहरूसित मिश्रण हुँदा नतिजा कस्तो हुन्छ? “बिसञ्चो हुँदा वास्तै नगर्ने वा पटक्कै पीर नमान्ने मानिसहरू कमै होलान्,” द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका बताउँछ। तैपनि, कर्तव्यनिष्ठ डाक्टरले सबै औषधीहरू प्रायः हानिकारक नै हुन्छन् र आज प्रतिकूल असरहरू नभएका कमै औषधीहरू मात्र होलान् भनी बुझ्न मदत दिन्छन्। अर्कोपटक तपाईंले डाक्टरले सिफारिस गरेको औषधी किन्नुहुँदा सम्भाव्य प्रतिकूल असरबारे खोलको चेताउनी पढ्न नबिर्सनुहोस्! डाक्टरको सिफारिसबिना सेवन गरेका औषधीहरू हानिकारक हुनसक्छन् वा बढी खाएमा मृत्युसमेत हुनसक्छ।
द बस्टन ग्लोब-मा रिचर्ड ए. नक्सको रिपोर्टले सावधान हुनुपर्ने महत्त्वलाई औंल्याउँछ: “स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको रिपोर्टअनुसार जोर्नीसूजका लाखौं बिरामीहरूले दुखाइ कम गर्न दिनहुँ खाने औषधीले समेत अकस्मात् अत्यधिक रक्तस्राव गराउनसक्छ।” तिनी अझ यसो भन्छन्: “यसबाहेक, अनुसन्धानकर्ताहरूको भनाइअनुसार दुखाइ कम गर्ने औषधीहरूसित अम्लीयपन कम गर्ने चक्की खाँदैमा पेटसम्बन्धी गम्भीर समस्याहरू नहुने होइन र कहिलेकाहीं उल्टो खतरा बढाउनसक्छ।”
सामान्य बिसञ्चो हुँदा डाक्टरको सल्लाहबिना आफै औषधी लिनेबारे के भन्न सकिन्छ? ब्राजिलको रिबेराओ प्रेटोका एक चिकित्सक भन्छन्: “सबैले घरमै केही औषधीहरू राख्नसके राम्रै हो . . . तथापि, ती औषधीहरू खान होस पुऱ्याउनुपर्छ।” (पृष्ठ ७ को पेटी हेर्नुहोस्।) साथै, आधारभूत स्वास्थ्य शिक्षाले पनि जीवनस्तर सपार्न योगदान पुऱ्याउँछ। हरेक व्यक्तिको परिस्थिति भिन्नाभिन्नै हुने कारण ब्यूँझनुहोस्!-ले कुनै खास औषधी, उपचारविधि वा प्राकृतिक उपचारहरू प्रयोग गर्ने सुझाउ दिंदैन।
तपाईं कसरी सुस्वास्थ्य प्राप्त गर्न सक्नुहुन्छ?
“संसारको सबैभन्दा उत्तम डाक्टर, डाक्टर भोजन, डाक्टर शान्त र डाक्टर आनन्द हुन्” भनी १८ औं शताब्दीका लेखक जोनाथन स्विफ्टले लेखे। निस्सन्देह, स्वस्थ शरीरको निम्ति सन्तुलित भोजन, यथेष्ट आराम र सन्तुष्टि आवश्यक तत्त्वहरू हुन्। चलाखीपूर्ण विज्ञापनहरूका दाबी विपरीत हामीले औषधी मात्र खाएर सुस्वास्थ्य पाउन सक्दैनौं। “औषधीहरूको अनावश्यक र खतरनाक प्रयोगले” हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई नै कमजोर बनाउनसक्छ।— डेसियोनारीयो टेरापाउटेक ग्वानबारे।
तथापि, हाम्रो जीवन हाम्रै जिम्मामा छ भन्ने ठान्दै लागू पदार्थ दुर्व्यसन, धूम्रपान, मतवालापन साथै बढी चिन्ता नलिंदा पनि हाम्रो शरीर स्वस्थ हुनसक्छ। लामो समयदेखि ब्राजिलमा मिसनरी कार्य गरिरहेकी साठी वर्ष नाघिसकेकी मेरियन भन्छिन्: “साँच्चै भन्ने हो भने मैले सरल जीवन बिताउनुका साथै विभिन्न स्वास्थ्यवर्धक खानाहरू खाएर राम्रो स्वास्थ्यको आनन्द उठाउन सकेकी छु।” तिनी अझ यसो पनि भन्छिन्: “म साधारणतया बिहान चाँडो उठ्छु। त्यसको लागि राति चाँडै सुत्न त करै लाग्छ।” स्वविवेक तथा असल बानीबेहोरालाई बेवास्ता गर्नु हुँदैन साथै समय समयमा चिकित्सककहाँ जँचाउन जानुपर्छ र परिवारको दक्ष चिकित्सकलाई आफ्नो स्वास्थ्य समस्याहरू खुल्लमखुल्ला बताउनुपर्छ।
स्वस्थ रहने चाहना भए तापनि मेरियन आफ्नो स्वास्थ्यको हेलचेक्य्राइँ नगर्न तथा यसबारे अचाक्ली चिन्ता नगर्न होसियार छिन्। तिनी भन्छिन्: “स्वास्थ्यसम्बन्धी निर्णयहरूमा यहोवाको निर्देशन माग्छु ताकि पछिसम्म फाइदा हुने निर्णय गर्नसकूँ र मेरो स्वास्थ्य राम्रो बनाउने प्रयासमा अचाक्ली बढी समय र स्रोत खेर नफालूँ।” तिनी अझ भन्छिन्: “सक्रिय रहनु अत्यावश्यक भएकोले म परमेश्वरलाई व्यवहारिक ढंगमा मेरो समय र बल चलाउन मदतको निम्ति प्रार्थना गर्छु ताकि म आफ्नो शरीरको फिक्री मात्र नगरूँ वा असाध्यै हेलचेक्य्राइँ पनि नगरूँ।”
साँच्चै खुसी हुने हो भने हामीले भविष्यबारे पनि नसोची हुँदैन। हामी अहिले तुलनात्मक ढंगमा निरोगी भए तापनि रोग, पीडा, कष्ट र अन्ततः मृत्युको वेदना त छँदैछ। हामी पूर्णतया निरोगी हुनसक्ने के कुनै आशा छ?
[पृष्ठ ६-मा भएको पेटी]
सन्तुलित स्वास्थ्यस्याहारका फाइदाहरू
धेरै हदसम्म तपाईंको स्वास्थ्य तपाईंको खानपिनमा भर पर्छ। तपाईंले गाडीमा पानी मिसिएको पेट्रोल हाल्नुभयो वा पेट्रोलमा चिनी मिसाउनुभयो भने इन्जिन चाँडै बिग्रन्छ। त्यस्तैगरि तपाईंले बजारी खाना तथा बजारी पेय पदार्थहरू मात्र पिउनुभयो भने तपाईंको स्वास्थ्य पनि एक न एक दिन बिग्रनसक्छ। कम्प्युटर संसारमा यसलाई अंग्रेजीमा गिगो भन्छन् जसको अर्थ हुन्छ “कसैले कम्प्युटरलाई गलत तथ्यांक दियो भने कम्प्युटरले पनि गलत नतिजा निकाल्छ।”
पारिवारिक औषधोपचारका प्राध्यापक डा. मेलानि मिन्तजर भन्छिन्: “बिरामीहरू जम्मा तीन प्रकारका हुन्छन्: घरमै सजिलै उपचार गर्न सकिने कुराको लागि पनि डाक्टरको सल्लाह लिनेहरू, स्वास्थ्य सेवा प्रणालीको उचित सदुपयोग गर्नेहरू तथा डाक्टरकहाँ जानुपर्ने अवस्थामा पनि नजानेहरू। पहिलो समूहमा पर्ने मानिसहरूले अक्सर डाक्टरको समयका साथै आफ्नै समय र पैसा खर्च गर्छन्। तेस्रो समूहकाहरूले उचित पेशेवर मदत लिन ढिलाइ गरेर ज्यानै जोखिममा हाल्छन्। बढी मानिसहरू दोस्रो समूहका होस् भन्ने चाहना डाक्टरहरू गर्छन्।”
“सुस्वास्थ्यको निम्ति सात महत्त्वपूर्ण तत्त्वहरू हुन्: स्वास्थ्यवर्धक खानपिन गर्नुहोस्, नियमित तवरमा व्यायाम गर्नुहोस्, धूम्रपान नगर्नुहोस्, यथेष्ट आराम लिनुहोस्, तनाउलाई नियन्त्रणमा राख्नुहोस्, घनिष्ठ सामाजिक सम्बन्ध कायम राख्नुहोस् र बिमारी तथा दुर्घटनाहरूबाट बच्न आवश्यक सावधानी अपनाउनुहोस्।”—एनी सिमोनस्, एम.डि., बबी हासलब्रिंग तथा माइकल क्यास्लम्यानद्वारा लिखित तपाईंले डाक्टर बोलाउनुअघि—३०० भन्दा बढी स्वास्थ्य समस्याहरूको निम्ति सुरक्षित, प्रभावकारी हेरचाह (अंग्रेजी)।
[पृष्ठ ७-मा भएको पेटी]
घरको औषधी बट्टा
“एउटा अनुमानअनुसार साधारणतया स्वस्थ वयस्कहरूले महसुस गर्ने दुखाइ, पीडा, घाउ तथा असजिलो वा रोगका ९० प्रतिशत लक्षणहरू बेवास्ता गरिन्छ र कहिल्यै कसैलाई बताइँदैन। . . . अक्सर दुखाइ कम गर्न तुरुन्तै औषधी खाइन्छ। जस्तै टाउको दुख्दा दुई चक्की एस्प्रिन खाइन्छ।”
“अक्सर घरमै औषधी बट्टा भएको कारण यसरी औषधी लिन सजिलो हुन्छ। यसले समय बचाउनुका साथै डाक्टर वा क्लिनिकमा अनावश्यक पैसा खर्च हुँदैन।—सम्पूर्ण घरायसी चिकित्सा निर्देशक (अंग्रेजी), डाक्टर तथा शल्यचिकित्सकको कोलम्बिया विश्वविद्यालय।
सोही स्रोतले घरको औषधी बट्टामा घाउमा लाउने टेप, कागत टाँस्ने टेप, जीवाणुमुक्त पातलो कपडा, कपास, ब्यान्डेज, विभिन्न मलम तथा क्रिम, घाउमा दल्ने एन्टिसेप्टिक क्रिम, कैंची, ज्वरो नाप्ने डिग्री तथा अन्य आवश्यक कुराहरू राख्न सुझाउ दिन्छ।
ज्वरो र दुखाइ कम गर्ने औषधी, एन्टासिड, खोकीको औषधी, एन्टिहिसटामाइन/पेट सफा गर्ने औषधी, कब्जियत कम गर्ने औषधीहरू राख्न सल्लाह दिन्छन्।
[पृष्ठ ८-मा भएको पेटी]
चेताउनीका केही शब्द
“कुनै कुनै औषधीहरूको निम्ति डाक्टरको सिफारिसको आवश्यकता नभए तापनि तिनीहरू हुन् त औषधी नै। डाक्टरको सिफारिसका औषधीहरूझैं केही अरू औषधीहरूसित वा केही खास खाना वा मदिरासित कुनै कुनै औषधी खानु हुँदैन। अन्य औषधीहरूझैं केही खाँदा झनै गम्भीर समस्याहरू हुने वा त्यसमै लग्गू हुने खतरा हुनसक्छ। अनि कहिलेकाहीं डाक्टरकहाँ जानैपर्ने हुन्छ, आफैले किनेर खाएको औषधीले मात्र काम गर्दैन।
“तैपनि प्रायः भरपर्दा र प्रभावकारी नै हुन्छन् . . . ती औषधीहरूले आफ्नो काम राम्रोसित गर्छन्।”— बुद्धिमानीपूर्वक औषधी चलाउने (अंग्रेजी)।
[पृष्ठ ७-मा भएको चित्र]
स्मरण रहोस्, कुनै पनि औषधी वा जडीबुटी पूर्णतया लाभदायक छ भन्न सकिंदैन
१. बिक्रेताको औषधीका तख्ता
२. फुटपाथ पसलेको औषधी पसल
३. जडीबुटीका पोकाहरू