प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. ४-७
  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वास्थ्यकर भोजन छान्‍नुहोस्‌
  • हल्का व्यायाम
  • धूम्रपान, लागू पदार्थ र मद्यपान नि?
  • स्वास्थ्यकर भोजन छान्‍नु
    ब्यूँझनुहोस्‌!—१९९७
  • १ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
  • मोटोपन—के हो समाधान?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. ४-७

तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने

हाम्रो स्वास्थ्यलाई केले सबैभन्दा बढी असर गर्छ भनेर निर्णय गर्नु आज चुनौती नै हुन गएको छ। बजारमा सञ्चार माध्यमले भोजन पद्धति, व्यायाम, पौष्टिक आहार र स्वास्थ्यसित सम्बन्धित थुप्रै जानकारीहरू उपलब्ध गराएको छ। दुःखको कुरा, प्रायःजसो यस्ता जानकारीहरू विरोधाभासपूर्ण हुन्छन्‌। विज्ञानसम्बन्धी लेखिका, डिनीज ग्रेडी भन्छिन्‌: “स्वास्थ्यसम्बन्धी पत्रपत्रिकामा नयाँ लेख प्रकाशित भएपिच्छे कस्तो भोजन खाने, कुन औषधी खाने र मुख्यतया कस्तो प्रकारको जीवन बिताउने भनेर मानिसहरूलाई पहिले बताइएको कुरा परिवर्तन हुने गर्छ।”

नयाँ नयाँ स्वास्थ्य सुझाउ अजमाउनुको सट्टा चिकित्सकले दिएका आधारभूत सुझाउहरूमै लागिरहनु बुद्धिमानी कुरा हो भनी केही चिकित्सकहरू सल्लाह दिन्छन्‌। उदाहरणका लागि, दी अमेरिकन मेडिकल एसोसिएशन फेमिली मेडिकल गाइड यसो भन्छ: “आफ्नो जीवनशैलीमा लाभकारी परिवर्तनहरू गरेर, रोग लागेको छ कि छैन भनी बेला बेलामा पत्ता लगाएर अनि तुरुन्तै उपचार गरिहालेर जीवनभर स्वस्थ रहन सकिन्छ।” तर “जीवनशैलीमा कस्ता लाभकारी परिवर्तनहरू” बढी हितकर हुन्छन्‌? आउनुहोस्‌, हामी तीमध्ये तीनवटा बुँदाहरू विचार गरौं।

स्वास्थ्यकर भोजन छान्‍नुहोस्‌

चिकित्सकहरू जटिल कार्बोहाइड्रेटयुक्‍त सबै प्रकारको अन्‍न, सिमी, तरकारी र फलफूलजस्ता किसिम किसिमका खाना प्रशस्त खाने सल्लाह दिन्छन्‌।a तथापि, हामीले खानेकुराले मात्र नभई हामी कति खान्छौं, त्यसले पनि हाम्रो स्वास्थ्यमा असर गर्छ। यसकारण, हामीले अचाक्ली खानु हुँदैन। शरीरले पचाउनसक्ने भन्दा बढी क्यालोरी शरीरमा थुप्य्राइरह्‍यौं भने हामी भद्दा रूपले मोटाउन सक्छौं। फलतः त्यसले हृदयमा घात पुऱ्‍याउनसक्छ, शरीर कमजोर हुनसक्छ तथा “हृदयघात, मधुमेह, बाथ रोग र अन्य प्रकारका रोगहरूको” सिकार बनाउन पनि सक्छ भनेर एउटा चिकित्सा निर्देशन पुस्तक भन्छ।

हालैका वर्षहरूमा चिल्लो पदार्थयुक्‍त भोजनबारे बढी चर्चा हुँदै आएको छ। प्रशोधित चिल्लो पदार्थ बढी मात्रामा भएको भोजन खानाले हृदय रोग र क्यान्सरजस्तो रोग लाग्ने डर हुन्छ भनी थुप्रै स्वास्थ्यकर्मीहरू भन्छन्‌। तर यसको अर्थ हामीले चिल्लो पदार्थ खानै हुँदैन भनेको होइन। अमेरिकन डाइटेटिक असोसिएशनका पूर्व अध्यक्ष मेरी एब्बोट हेस भन्छिन्‌, “स्वस्थ भोजनमा हरेक दिन आफूलाई मनपर्ने खाना थोरै थोरै परिमाणमा समावेश गर्न सकिन्छ।” तर मुख्य कुरा, आफूलाई मनपर्ने कुरा खाँदा अलि अलि गरेर खानुपर्छ अनि चिल्लो पदार्थ भएको अन्य भोजनहरू पनि कम गर्नुपर्छ।

हुन त आफ्नो खाने बानीमा परिवर्तन ल्याउन सजिलो छैन। वास्तवमा आफूलाई मनपर्ने खाना नखाई नखाई बाँच्नु पनि के जीवन भनी थुप्रै मानिसहरू सोच्छन्‌। तर खान पायो भने बेसरी खाने वा नखाने हो भने चटक्कै नखाने भन्‍ने धारणा राख्नुको सट्टा सन्तुलित हुने कोसिस गर्नुहोस्‌। यहाँ मुख्य कुरा के हो भने, कुनै कुनै भोजनहरू खाँदै नखाने होइन कि बरु कम खाने गर्नुपर्छ। सुरुमा उद्धरण गरिएको पुस्तक फेमेली मेडिकल गाइड यसो भन्छ: “स्वस्थ जीवनशैली अपनाउनुको अर्थ तपाईंले जीवनको आनन्द उठाउनै हुँदैन भनेको होइन।”

भोजन विशेषज्ञहरू अनुसार अस्वास्थ्यकर भोजनलाई बिस्तारै छोडेर आफ्नो भोजनमा सजिलैसित छाँटकाँट गर्नसकिन्छ। उदाहरणका लागि, एक दिन मात्र नभई हप्ताभरि नै सन्तुलित भोजन खानुहोस्‌। अहिले तपाईं हरेक दिन खसी, राँगो, बंगुर आदिको जस्तो रातो रंगको मासु खानु हुँदैछ भने त्यसलाई घटाएर हप्ताको तीन दिन मात्र खाने कोसिस गर्नुहोस्‌। त्यस्तै प्रकारले मखन, चिज, आइसक्रिम तथा अत्यधिक चिल्लो पदार्थयुक्‍त खाजाजस्ता प्रशोधित चिल्लो पदार्थ भएको खानाहरू पनि घटाउनुहोस्‌। तपाईंले राख्नुपर्ने लक्ष्य आफूले खाने भोजनको ३० प्रतिशत क्यालोरीभन्दा चिल्लो पदार्थको मात्रा बढी नहोस्‌ भनेर निर्धारण गर्नु हो।

हार्भड विश्‍वविद्यालयका डा. वाल्टर विलेट चिल्लो पदार्थयुक्‍त भोजन छोडेर अत्यधिक स्टार्च र चिनी भएको भोजन खानदेखि सजग गराउँछन्‌। किनकि त्यसो गर्दा हाम्रो वजन बढ्‌छ। तपाईंको भोजनबाट चिल्लो पदार्थ र कार्बोहाइड्रेट, दुवैको मात्रा घटाउनु उत्तम हुन्छ।

हल्का व्यायाम

स्वास्थ्यकर जीवनशैली बिताउनुमा नियमित तवरमा व्यायाम गर्नु पनि समावेश छ। यु.एस. चिकित्सक अधिकृतका सम्पादक, डा. स्टीभन ब्लारले शारीरिक तन्दुरुस्तीमा गरेको रिपोर्टले यसो भन्छ: “बसी-बसी खाने जीवनशैली भएको मानिसहरूले हल्का काम गरेमा तिनीहरूलाई हृदयरोग लाग्ने सम्भावना धेरै कम हुन्छ।” दुःखको कुरा, आज मानिसहरू हल्का शारीरिक कामकुरासमेत गर्दैनन्‌। उदाहरणका लागि, संयुक्‍त राज्यमा एक चौथाइ मानिसहरू केही कामै गर्दैनन्‌। द टोरोन्टो स्टार-ले रिपोर्ट गरेअनुसार क्यानाडामा गरिएको १९९७ फीजिकल एक्टिभिटि बेन्चमार्क्स शीर्षकको अध्ययनले “६३ प्रतिशत क्यानेडियालीहरूले एक घण्टाभन्दा कम समयसम्म मात्र शारीरिक क्रियाकलाप गरेको” पाइयो। बेलाइतका अनुसन्धानकर्ताहरूले बताएअनुसार तिनीहरूले पत्ता लगाएका एक समूहका केटाकेटीहरू “यत्ति बिघ्न बेकम्मा थिए कि तिनीहरूको मुटुको ढुकढुकी सुत्दा, उठ्‌दा त्यति फरकै हुँदैन।”— द सन्डे टाइम्स।

पहिले पहिले कडा एरोबिक व्यायामले मात्र स्वास्थ्यलाई फाइदा गराउँछ भन्‍ने विचार थियो। तर शरीरलाई तन्दुरुस्त राख्न कडा काम गर्नु आवश्‍यक छैन। चिकित्सक अधिकृतले रिपोर्ट गरेअनुसार वास्तवमा “दिनमा कम्तीमा पनि १५० क्यालोरी [हल्का व्यायाम गरेर] पचाउनसके हृदयरोग, उच्च रक्‍तचाप, क्यान्सर र मधुमेहजस्ता रोगहरूको सिकार हुनदेखि बच्न सकिन्छ।”

व्यायाम गर्दा आफूलाई मनपर्ने व्यायाम छान्‍नु महत्त्वपूर्ण छ। नत्र त तपाईंले त्यसलाई आफ्नो जीवनशैलीको भाग बनाउन सक्नुहुन्‍न। मुख्य कुरा तपाईंले कुन व्यायाम गर्नुहुन्छ, त्यो नभई कति पटक गर्नुहुन्छ, त्यो हो। “केटाकेटी र वयस्क, दुवैले कम्तीमा पनि ३० मिनेटसम्म हल्का शारीरिक क्रियाकलाप हरेक दिन गर्ने लक्ष्य राख्नुपर्छ” भनी दी यु.एस. नेशनल इन्स्टिच्युट्‌स अफ हेल्थ सुझाउ दिन्छ।

कस्तो क्रियाकलापलाई हल्का ठान्‍नसकिन्छ? पौडी खेल्नु, छिटो-छिटो हिड्‌नु, साइकल चलाउनु, गाडी धुनु तथा पालिस लगाउनु, भऱ्‍याङ चढ्‌नु र आँगन सफा गर्नु। तपाईंको स्वास्थ्यलाई सुरक्षित राख्न तपाईं व्यायामशाला वा हेल्थ क्लब जानु खाँचो छैन। तथापि, निम्न कुरालाई ध्यान दिनुपर्छ: यदि तपाईंलाई पहिले कुनै बेला हृदयसम्बन्धी रोग लागेको थियो तथा ४० वर्षभन्दा बढी उमेर पुगेको पुरुष वा ५० वर्षभन्दा बढी उमेर पुगेको स्त्री हुनुहुन्छ भने कुनै व्यायाम गर्नुभन्दा पहिला चिकित्सककहाँ गएर सल्लाह लिनुपर्छ।

धूम्रपान, लागू पदार्थ र मद्यपान नि?

धूम्रपान: चुरोटमा स्वास्थ्यलाई हानि पुऱ्‍याउने ४,००० भन्दा बढी मिश्रणहरू पाइन्छ। त्यसमध्ये पनि २०० चाहिं विषहरू हुन्छन्‌। तथापि, त्यसमा थुप्रै टक्सीनहरू भए तापनि धूम्रपानले स्वास्थ्यमा यति नै हानि पुऱ्‍याउछ भनेर ठोकुवा गरेर भन्‍न सकिंदैन। चुरोटले गर्दा जति मानिसहरू मर्छन्‌ त्यतिकै मानिसहरू अन्य उपभोग्य सामग्रीहरूले गर्दा पनि मर्छन्‌। उदाहरणका लागि, संयुक्‍त राज्यमा सवारी दुर्घटनामा मर्ने मानिसहरू भन्दा दस गुणा बढी मानिसहरू चुरोटले गर्दा हुने रोगले मर्छन्‌। विश्‍व स्वास्थ्य संघले अनुमान गरेअनुसार विश्‍वभरि वर्षेनी धूम्रपानको कारणले तीस लाख मानिसहरू मर्छन्‌!

धूम्रपान नगर्नेहरू भन्दा धूम्रपान गर्नेहरू क्यान्सर र हृदयघातजस्ता रोगहरूका सिकार हुनुका साथै रुघाखोकी, पेटको अल्सर दीर्घकालीन ब्रोनकाइटीस र उच्च रक्‍तचापजस्ता रोगहरूको सिकार हुन्छन्‌। साथै, धूम्रपानको कारण सुँघ्ने र स्वाद लिने शक्‍ति पनि कम हुन्छ। स्पष्टतः कुनै व्यक्‍तिले आफूलाई स्वस्थ राख्न अपनाउनसक्ने मुख्य उपाय धूम्रपान गर्न छोड्‌नु हो। तर लागू पदार्थ र मद्यपान नि?

लागू पदार्थ: लागू पदार्थ दुर्व्यसनले विश्‍वभरिका मानिसजातिको जीवनमा ठूलो क्षति पुऱ्‍याएको छ। सं.रा.-को स्वास्थ्य अनि मानव सेवा विभाग यसो भन्छ: “लागू पदार्थको दुर्व्यसनले गर्दा वर्षेनी १४,००० अमेरिकीहरू मर्छन्‌।” तर लागू पदार्थको बेचबिखनले गैरकानुनी ढंगमा लागू पदार्थ दुर्व्यसन गर्नेहरूलाई मात्र असर गरेको छैन। लागू पदार्थ दुर्व्यसनीहरूले लागू पदार्थ किन्‍ने पैसाको लागि हिंसा र अपराधिक क्रियाकलाप गर्छन्‌। बाल-अपराधको समाज विज्ञान (अंग्रेजी) यसो भन्छ: “क्य्राक [कोकेन] बेच्ने संगठनहरूको होडबाजीले गर्दा कुनै कुनै घना बस्तीहरू ‘मृत क्षेत्रमा’ परिवर्तन भएको छ। त्यहाँ व्यापक नरहत्या भएकोले प्रहरीहरूले त्यस क्षेत्रलाई अराजक क्षेत्रको रूपमा मानिलिएका छन्‌।”

निस्सन्देह, लागू पदार्थ दुर्व्यसनको समस्या संयुक्‍त राज्यमा मात्र होइन। एउटा अनुमानअनुसार विश्‍वभरि वर्षेनी जहाँ पनि १,६०,००० देखि २,१०,००० मानिसहरू सुईद्वारा लागू पदार्थ सेवन गरेर मर्छन्‌। साथै, लाखौं मानिसहरू खाट (लग्गू पार्ने हरियो पात), सुपारी र कोकेनजस्ता अन्य प्रकारका हानिकारक लागू पदार्थहरू सेवन गर्छन्‌।

मद्यपान: क्य्राक कोकेन र हिरोइनजस्ता कडा लागू पदार्थहरूले जनसाधारणको ध्यान आकर्षित गर्छ भने मद्यपान दुर्व्यसनले पनि अझ बढी हानि पुऱ्‍याउँछ। मतवालापनले “१० मध्ये १ क्यानेडियालीहरूको स्वास्थ्यलाई असर गर्छ र जचाउँनको लागि १० अरब क्यानेडियाली डलर खर्च हुन्छ” भनी द मेडिकल पोस्ट रिपोर्ट गर्छ। संयुक्‍त राज्यमा ५० प्रतिशत गम्भीर मोटर दुर्घटना र आगलागी, ४५ प्रतिशत डुबेर हुने मृत्यु र ३६ प्रतिशत पैदल हिड्‌ने व्यक्‍तिहरूको दुर्घटनाको कारण मद्यपान पनि हो। मद्यपान दुर्व्यसनले गर्दा पनि थुप्रै हिंस्रक अपराधिक क्रियाकलाप हुन्छन्‌। हत्या, हमला, बलात्कार, बाल दुर्व्यवहार अथवा आत्महत्या गर्नेहरूको मौन साथी नै मद्यपान हो।

तपाईंको कुनै प्रिय व्यक्‍तिले मद्यपान गर्छन्‌, चुरोट पिउँछन्‌ वा लागू पदार्थ सेवन गर्छन्‌ भने मदत खोज्नुहोस्‌।b परमेश्‍वरको वचन, बाइबल भन्छ, “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” (हितोपदेश १७:१७) हो, परिवार र साथीभाइ, दुवैको मायालु हेरचाहमा भर पर्नाले कठिन परिस्थितिको सामना गर्न धेरै मदत पुऱ्‍याउनसक्छ।

तर तपाईं साँच्चै स्वस्थ हुन शारीरिक स्वास्थ्य राम्रो भएर मात्र पुग्दैन। स्वस्थ जीवनशैली कायम राख्न मानसिक र आध्यात्मिक कुराहरूले पनि मुख्य भूमिका खेल्छन्‌। यसपछिको लेखले यसबारे छलफल गर्नेछ।

[फुटनोटहरू]

a स्वस्थ भोजनबारे थप जानकारी पाउन ब्यूँझनुहोस्‌!, जुलाई ८, १९९७, पृष्ठ ७-१३ हेर्नुहोस्‌।

b मे २२, १९९२ ब्यूँझनुहोस्‌! (अंग्रेजी) अंकमा “मतवाला र तिनीहरूको परिवारको लागि मदत” श्रृंखला हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“स्वस्थ जीवनशैली अपनाउनुको अर्थ तपाईंले जीवनको आनन्द उठाउनै हुँदैन भनेको होइन”

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

विश्‍व स्वास्थ्य संघले अनुमान गरेअनुसार विश्‍वभरि वर्षेनी धूम्रपानको कारणले तीस लाख मानिसहरू मर्छन्‌

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“स्वस्थ भोजनमा हरेक दिन आफूलाई मनपर्ने खाना थोर थोरै परिमाणमा समावेश गर्न सकिन्छ”

[पृष्ठ ५-मा भएको चित्र]

स्वस्थ जीवनशैलीको भाग नियमित व्यायाम हो

[पृष्ठ ६-मा भएको चित्र]

चुरोट र गैरकानुनी लागू पदार्थ त्याग्नुहोस्‌

[पृष्ठ ७-मा भएको चित्र]

फल र तरकारीहरू तपाईंको स्वास्थ्यको लागि राम्रो हो

[पृष्ठ ७-मा भएको चित्र]

घरको दैनिक काम पनि स्वास्थ्यकर व्यायाम हुनसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने