भोजन—चिन्ताको विषय
बाइबलको उपदेशक ९:७ यसो भन्छ: “आफ्नो बाटो लाग्, आफ्नो खानेकुरो खा र मोज-मजा गर्।” वास्तवमा खानु भनेको आवश्यकता मात्र नभई जीवनमा अत्यधिक आनन्द प्राप्त गर्न सकिने तत्त्वहरूमध्ये एक हो।
अब ३४ वर्षीय थोमसलाई विचार गर्नुहोस्। तिनी मासु भनेपछि हुरुक्क हुन्छन्। त्यति मात्र होइन, तिनी प्रायजसो दिनमा निकै पटक खान्छन्। बिहान तिनी सधैं दूध, दुइ चारवटा अण्डा, टन्न मखन दलेको सुख्खा पाउरोटी अथवा टोस्ट र ससेज वा बेकन खान्छन्। फास्ट-फूड सेन्टरहरूमा तिनी चिजबर्गर, फ्रेन्च फ्राई र मिल्क शेक खान्छन्। कतै रेस्टुरेन्टमा जाँदा तिनी मुख्यतया स्टेक खान्छन्। तिनी सधैंजसो जाने रेस्टुरेन्टमा दिइने उक्त विशेष परिकार, स्टेक ६८० ग्रामको हुन्छ र त्यसका साथै ओभनमा सेकेको आलुमा तिनले चाहेजस्तै एक झुस्सी क्रिम हालेको हुन्छ। त्यसबाहेक, केकमाथि टन्न चक्लेट आइसक्रिम राखेको चक्लेट केक पाएपछि त तिनलाई अरू के चाहियो र!
थोमस १७८ सेन्टिमिटर अग्ला छन् र तिनको वजन ८९ किलो छ। सं.रा.-को १९९५ भोजनसम्बन्धी सरकारी तालिकाअनुसार तिनको वजन चाहिनेभन्दा ९ किलो बढी छ। “मलाई आफू मोटो भएकोमा कुनै चिन्ता छैन,” थोमस भन्छन्। “मेरो स्वास्थ्य राम्रै छ। विगत १२ वर्षदेखि यता म एक दिन पनि काममा गयल भएको छैन। प्रायजसो म स्वस्थ महसुस गर्छु र मलाई जाँगर पनि चल्छ तर ६८० ग्राम स्टेक खाँदा मलाई मात्र होइन जसलाई पनि मजाले पल्टन मन लाग्छ।”
तर, थोमसलाई तिनको भोजनशैलीले कुनै हानि गर्ने हो कि? कतै यस्तो भोजनले तिनलाई पछि हृदयघात त हुने होइन? डा. शर्वन नुल्याण्डको हामी कसरी मर्छौं (अंग्रेजी) पुस्तकमा ‘आत्मघाती जीवनशैलीबारे’ उल्लेख गरिएको छ र यस्तो जीवनशैलीमा तिनले रेड मीट, बेकनको ठूलो ढिक्का र मखन’ समावेश छ भने।
धेरैजसो मानिसलाई केही खास प्रकारको खानाले गर्दा कसरी हृदयघात हुन्छ? यस्तो खतरा हुनसक्ने त्यस्ता के तत्त्वहरू खानामा हुन्छन्? यी प्रश्न छलफल गर्नुअघि आउनुहोस्, मोटाउनाले स्वास्थ्यमा के कस्ता खतराहरू आइपर्छन्, नियालौं।
[पृष्ठ ३-मा भएको चित्र]
यस्तो भोजन किन चिन्ताको विषय हो?