प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ७/८ पृ. ४-७
  • मोटाउनु अब राम्रो होइन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोटाउनु अब राम्रो होइन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जत्ति धेरै वजन, उत्ति धेरै खतरा
  • नयाँ वजन निर्देशिका
  • हामी कसरी त्यति बिघ्न मोटायौं?
  • के हामी सफल हुन सकौंला र?
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • के मोटोपन साँच्चै एउटा समस्या हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ७/८ पृ. ४-७

मोटाउनु अब राम्रो होइन

“ओफ्फो, कुनै पनि लुगा ठीक छैन, सबै कस्सिन थालिसके,” ३५ वर्षीया रोसा दुखेसो पोख्छिन्‌। “अहिले म ८६ किलो पुगिसकें। यत्ति मोटी हुँला भनेर त मैले सोचेकी पनि थिइनँ!”

मोटाउने समस्याले रोसालाई मात्र पिरोलेको होइन। तिनको देश संयुक्‍त राज्य अमेरिकामा कुल जनसंख्याको लगभग एक तिहाइ मानिसहरू भद्दा रूपले मोटाएका छन्‌।a बेलाइतमा पनि विगत १० वर्षदेखि यता भद्दा रूपले मोटाउने वयस्कहरू दुइ गुना बढेका छन्‌। अनि कुनै समय मोटा मानिसहरू नै भेट्टाउन गाह्रो पर्ने मुलुक जापानमा पनि भद्दा रूपले मोटाएका मानिसहरू छ्यासछ्यासती पाइन्छन्‌।

निर्धारित वजनभन्दा बढी मोटाएका केटाकेटीहरूको संख्या पनि धमाधम बढ्‌दैछ। लगभग ६ देखि १७ वर्षबीचका सालाखाला ४७ लाख अमेरिकी युवाहरू अचाक्ली मोटाएका छन्‌ र २० प्रतिशत क्यानेडाली केटाकेटीहरू पनि भद्दा रूपले मोटाएका छन्‌। हालसालै सिंगापुरमा पनि भद्दा रूपले मोटाएका केटाकेटीहरूको संख्या तीन दोब्बर भएको देखियो।

कुनै कुनै मुलुकमा डम्म मोटाउनुलाई सुसम्पन्‍नता र सुस्वास्थ्यको प्रतीक मानिन्छ। गरिबीमा पिल्सनु तथा कुपोषित हुनुभन्दा त यसरी मोटाउनु नै बेस ठानिन्छ। तर खानाको अभाव नहुने पश्‍चिमी मुलुकहरूमा प्रायः कसैलाई पनि आफ्नो वजन बढाउने रहर हुँदैन। बरु, वजन बढ्‌ला कि भनेर त्यहाँका मानिसहरू चिन्तित हुन्छन्‌। किन?

सं.रा.-का भूतपूर्व शल्यचिकित्सक डा. सी. एभ्रेट कुप भन्छन्‌, “भद्दा रूपले मोटाउँदा जीउडाल मात्र नराम्रो देखिने हो भन्‍ने विचार धेरैको छ। तर वास्तवमा भद्दा रूपले मोटाउनु एक प्रकारको गम्भीर रोग हो।” न्यु योर्कका अन्तःस्राव विशेषज्ञ एफ. इग्जाभियर पिसन्यार भन्छन्‌: “[अमेरिकीहरू मोटाएकोले] यहाँका बासिन्दाहरूलाई मधुमेह, उच्च रक्‍तचाप, पक्षाघात, हृदयघात र केही खास प्रकारका क्यान्सर हुने खतरा पनि बढ्‌दैछ।”

जत्ति धेरै वजन, उत्ति धेरै खतरा

अमेरिकामा एउटा अध्ययनले १६ वर्ष लगाएर १,१५,००० महिला नर्सहरूको हरेक गतिविधि निरीक्षण गर्दा के पत्ता लाग्यो, विचार गर्नुहोस्‌। उक्‍त अध्ययनबाट वयस्कहरूको वजन पाँचदेखि आठ किलोसम्म बढ्‌दा पनि तिनीहरूलाई हृदयसम्बन्धी रोग हुने खतरा धेरै भएको देखियो। क्यान्सर भएका एक तिहाइ तथा हृदयसम्बन्धी रोग लागेका आधाजसो मानिसहरू मर्नुको कारण वजन बढी हुनु नै थियो भनेर सेप्टेम्बर १४, १९९५ को द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा त्यस अध्ययनको प्रतिवेदन प्रकाशित गरिएको थियो। मे २२/२९, १९९६ द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन (जामा) को प्रतिवेदनअनुसार “७८% पुरुष तथा ६५% स्त्रीहरूमा रक्‍तचाप उतारचढाउ हुनुको प्रमुख कारण पनि भद्दा रूपले मोटाउनु नै हो।” अमेरिकन क्यान्सर सोसाइटी भन्छ, “अचाक्ली मोटाएकाहरूलाई” (निर्धारित वजनभन्दा ४० प्रतिशत वा त्योभन्दा बढी वजन भएकाहरू) “क्यान्सर हुने खतरा धेरै हुन्छ।”

वजन बढ्‌दै जानु मात्र खतरा होइन तर शरीरमा बोसो कहाँ कहाँ जम्मा भएको छ, त्यसले पनि विभिन्‍न रोगहरू निम्त्याउँछ। नितम्ब र तिघ्रा ठूलो भएकाहरूको तुलनामा पेटमा अत्यधिक बोसो भएकाहरूलाई धेरै खतरा हुन्छ। आमाशयमा बोसो भएकाहरूलाई मधुमेह, हृदयघात, स्तनको क्यान्सर र पाठेघरसम्बन्धी क्यान्सर हुने खतरा धेरै हुन्छ।

त्यसैगरि, बढी वजन भएका युवाहरूलाई पनि उच्च रक्‍तचाप, कोलेस्ट्रोलको मात्रा बढी तथा मधुमेह हुने लक्षणहरूले हुनसम्म दुःख दिएको छ। त्यति मात्र कहाँ हो र, वयस्क हुँदा पनि तिनीहरू अक्सर भद्दा हुन्छन्‌। चिकित्सासम्बन्धी बेलाइती पत्रिका द ल्यासेट-मा प्रकाशित तथ्यांक प्रयोग गर्दै द न्यु योर्क टाइम्स यस्तो प्रतिवेदन पेश गर्छ, “केटाकेटी छँदा मोटाएकाहरू चाँडै मर्छन्‌ र अक्सर उमेर ढल्केपछि लाग्ने रोगहरूले तिनीहरूलाई पहिले नै सताउँछन्‌।”

नयाँ वजन निर्देशिका

वजनको कारण उत्पन्‍न गम्भीर समस्याहरूले गर्दा सं.रा. सरकारले १९९५ मा सिफारिस गरेको वजन निर्देशिकालाई झन्‌ कडा गरेको छ। (अर्को पृष्ठको पेटी हेर्नुहोस्‌।) यो नयाँ निर्देशिकामा मोटोपनलाई “स्वस्थ वजन,” “मोटोघाटो” र “असाध्यै मोटो” भनेर वर्गीकरण गरेको छ। यो निर्देशिका जुनसुकै उमेरका वयस्क स्त्री तथा पुरुषहरूका लागि हो।

मानिस अक्सर अधवैंसे उमेरमा मोटाउने भएकोले १९९० को निर्देशिकाले अधवैंसेहरूको वजनमा केही छुट दिएको थियो। तर वयस्क व्यक्‍तिहरू पनि समय नपुग्दै मोटाउन नहुने देखिएको हुँदा यो नयाँ निर्देशिकाले भने यस्तो छुट दिंदैन।b त्यसकारण, पहिलेको निर्देशिकाअनुसार स्वस्थ वजनवर्गमा परेको व्यक्‍ति अहिलेको निर्देशिकाअनुसार मोटोघाटोवर्गमा पर्ला। उदाहरणका लागि, १९९० को निर्देशिकाअनुसार ३५ देखि ६५ वर्षभित्र पर्ने व्यक्‍तिको उचाइ १६८ सेन्टिमिटर र वजन ७५ किलो छ भने तिनी स्वस्थ वजनवर्गमा पर्थे। तर यो नयाँ निर्देशिकाअनुसार त्यो व्यक्‍तिको वजन चाहिनेभन्दा पाँच किलो बढी हुनजान्छ।

हामी कसरी त्यति बिघ्न मोटायौं?

वंशाणुगत गुणले गर्दा पनि मानिस मोटाउँछ तर पश्‍चिमी मुलुकका मानिसहरू मोटाउनुको कारण भने त्यो पक्कै पनि होइन। मोटाउने समस्याको जड त अर्कै छ।

चिल्लो पदार्थ खानाले हामी मोटाउँछौं भनेर स्वास्थ्यकर्मीहरू स्वीकार्छन्‌। प्रायजसो मासु, दूधबाट बनेका परिकारहरू, ओभनमा सेकेका खाद्य पदार्थहरू, फास्ट-फूड, तारेको खाना, खाना मीठो पार्न थपिने सस, मसलेदार लेदो, तेल इत्यादिमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ र यस्ता खाद्य पदार्थ खानाले भद्दा रूपमा मोटाइन्छ। तर कसरी?

वास्तवमा हाम्रो शरीरले खर्च गर्न नसक्नेगरि अथवा हामीलाई चाहिएभन्दा बढी क्यालोरी खायौं भने हामी मोटाउन थाल्छौं। एक ग्राम प्रोटिन वा एक ग्राम कार्बोहाइड्रेटबाट चार क्यालोरी प्राप्त हुन्छ तर एक ग्राम चिल्लो पदार्थबाट भने नौ क्यालोरी प्राप्त हुन्छ। त्यसैकारण चिल्लो खाना खाँदा हामीले चाहिएभन्दा धेरै क्यालोरी प्राप्त गरिरहेका हुन्छौं। तर एउटा अर्को महत्त्वपूर्ण पक्ष पनि छ र त्यो हो, कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थबाट प्राप्त शक्‍तिलाई शरीरले प्रयोग गर्ने तरिका। शरीरले कार्बोहाइड्रेट र प्रोटिनलाई पचाइसकेपछि मात्र चिल्लो पदार्थलाई पचाउँछ। पचाउन नसकिएको चिल्लो पदार्थ बोसोमा परिणत हुन्छ। त्यसैकारण दुब्लाउने हो भने, खानामा चिल्लो पदार्थको मात्रा पनि घटाउनुपर्छ।

तर चिल्लो पदार्थ खान कम गर्दागर्दै पनि कसै कसैले आफू अझै पनि मोटाइरहेको महसुस गरेका छन्‌। किन होला? यसको एउटा कारण एक रास खाना खानु हो। संयुक्‍त राज्यकी पोषण विशेषज्ञा यसो भन्छिन्‌: “धेरै पस्किएकोले धेरै खान्छौं। खाना छउञ्जेल हामी खान्छौं।” मानिसहरू चिल्लो कम भएको वा हुँदै नभएको खाद्य पदार्थ भरपेट खान खोज्छन्‌ र खान्छन्‌। तर सं.रा.-स्थित खाद्य उद्योग परामर्श फर्मकी विशेषज्ञा बताउँछिन्‌: “चिल्लो कम गरिएका उत्पादनहरूमा [क्यालोरी धेरै भएको] चिनीको मात्रा बढाएर स्वादिलो पारिएको हुन्छ।” यसकारण द न्यु योर्क टाइम्स यस्तो रिपोर्ट गर्छ: “पैसाको पूरापूर सदुपयोग गर्ने र कम चिल्लो वा चिल्लो नभएको खाना खाने चलन १९९० दशकका दुइ व्यापक चलन हुन्‌। अनि यो चलनले गर्दा मानिसहरू घिचुवा हुँदैछन्‌” र फलस्वरूप, तिनीहरू मोटाइरहेका छन्‌।

बसी बसी खाने जीवनशैलीले गर्दा पनि मोटाइन्छ। बेलाइतमा गरिएको अध्ययनअनुसार त्यहाँका एक तिहाइ वयस्कहरूले हप्तामा २० मिनेट पनि हल्का कसरत गर्दैनन्‌। लगभग आधाजसोले त कुनै पनि किसिमको खेलकुदमा भाग नलिएको पाइयो। गाडीमा सरर गुड्‌ने भएकोले धेरैजसो पश्‍चिमी मुलुकहरूमा हिंड्‌ने बानी पनि हराइसक्यो र २४ सै घण्टा टेलिभिजन हेर्नाले पनि मानिसहरू लोसे र घिचुवा भएका छन्‌। संयुक्‍त राज्यमा केटाकेटीहरू औसतन प्रत्येक हप्ता २६ घण्टा टेलिभिजन हेर्छन्‌। यसबाहेक तिनीहरूले भिडियो गेम खेल्ने समय त छँदैछ। अनि केही ३६ प्रतिशत स्कूलहरूको पाठ्यक्रममा मात्र शारीरिक शिक्षा समावेश गरिएको छ।

मोटाउनुमा मनोवैज्ञानिक कारणहरू पनि छन्‌। जोन होप्किन्स वेट म्यानेजमेन्ट सेन्टरका डा. लरेन्स चेसिन भन्छन्‌, “भावनात्मक खाँचो पूरा गर्न पनि हामी खान्छौं। हामी खुशी हुँदा खान्छौं र दुःखी हुँदा पनि खान्छौं। सानैदेखि हामीलाई अत्यावश्‍यक कुराहरूमध्ये खाना पनि एक हो भनेर सिकाइएको छ।”

के हामी सफल हुन सकौंला र?

वजन बढी हुनु भन्‍ने विषय नै जटिल छ। वर्षेनी लगभग आठ करोड अमेरिकीहरू डाइटिङ गर्छन्‌ अर्थात्‌ खाना पानी विचार गरी गरी खान्छन्‌। तर केही किलो वजन घट्‌ने बित्तिकै सालाखाला फेरि सबैले पहिले जत्तिकै र पहिले जस्तै खान थाल्छन्‌। परिणामस्वरूप, जत्ति वजन घटाएका थिए, पाँच वर्षभित्र ९५ प्रतिशतले त त्यत्ति नै वजन बढाइहाल्छन्‌।

वजन घटाउन र त्यति नै कायम गर्न त जीवनशैली परिवर्तन नगरी धरै छैन। यस्तो परिवर्तन गर्न प्रयत्न, वचनवद्धता आवश्‍यक हुनुका साथै परिवार र मित्रहरूबाट पनि सहयोग चाहिन्छ। कहिलेकाहीं कसै कसैलाई त पेशेवर स्वास्थ्यकर्मीहरूको मदत पनि चाहिनसक्छ।c तर यदि तपाईं आफूले गर्नुभएको प्रयास सफल भएको हेर्न चाहनुहुन्छ भने सकारात्मक मनोवृत्ति राख्नु नितान्त आवश्‍यक छ। ‘म किन दुब्लाउन चाहन्छु?’ भनेर आफैलाई सोध्नु पनि बेस हुन्छ। मोटाउँदा स्वास्थ्यमा हुने खराब असरहरूबाट बच्न, सुन्दर देखिन, स्वस्थ महसुस गर्न र आफ्नो जीवनको गुणस्तर उकास्न तपाईं दुब्लाउन खोज्नुभएको हो भने तपाईंको प्रयास सफल हुनसक्छ।

तपाईं पौष्टिक तत्त्वले भरिपूर तर कम क्यालोरी भएको स्वादिला तथा मन परेका खाना अघाउञ्जेल खान सक्नुहुन्छ। तर दुब्लाउन मदत गर्ने खानाबारे विचार गर्नुअघि भोजनमा भएका के कस्ता तत्त्वले गर्दा हाम्रो स्वास्थ्यलाई हानि हुन्छ, त्यो जाँचौं।

[फुटनोटहरू]

a निर्धारित वजनभन्दा २० प्रतिशत वा त्योभन्दा बढी वजन हुनुलाई नै अक्सर भद्दा रूपले मोटाएको भनिन्छ।

b यो १९९५ निर्देशिका अधिकांश मानिसहरूका लागि मिल्नेगरि बनाइएको छ। तर यसको अपवाद पनि छ। जून १९, १९९६ को जामा-मा डा. रबर्ट एम. रसलले “सर्वसम्मतिअनुसार यो नयाँ निर्देशिका ६५ वर्ष नाघिसकेकाहरूका लागि भने उपयुक्‍त नहुनसक्छ” भने। “वृद्ध व्यक्‍तिहरूको वजन अलिकता बढी छ भने यसले बिरामी पर्दा वृद्ध शरीरलाई शिथिल हुनबाट जोगाउँछ र मांशपेशी तथा हाडलाई पनि सुरक्षित राख्छ।”

c दुब्लाउन केही सुझाउ चाहिएको छ भने, ब्यूँझनुहोस्‌! (अंग्रेजी) मे ८, १९९४, पृष्ठ २०-२; जनवरी २२, १९९३, पृष्ठ १२-१४ अनि डिसेम्बर ८, १९८९, पृष्ठ ३-१२ हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको तालिका]

तपाईं “स्वस्थ वजन,” “मोटोघाटो,” अथवा “असाध्यै मोटो” कुन वर्गमा पर्नुहुन्छ? यहाँ देखाइएको ग्राफले तपाईंलाई उक्‍त प्रश्‍नको जवाफ दिन मदत गर्नेछ

स्त्री तथा पुरुष दुवैका लागि १९९५ को वजन निर्देशिका

उचाइ *

सेमि

१९८

१९०

१८०

१७०

१६०

१५०

किलो ३० ४० ५० ६० ७० ८० ९० १०० ११०

वजन†

सं.रा. कृषि विभाग, सं.रा. स्वास्थ्य तथा मानव सेवा विभागको तथ्यांकमा आधारित

* जुत्ता नलगाउँदा।

†लुगा नलगाई वजन लिंदा। बढी वजन जीउडाल ठूलो भएकाहरूको लागि हो। अधिकांश पुरुषहरू यस वर्गमा पर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने