पाठकहरूका प्रतिक्रिया
मिल्ने साथी बसाइँ सर्दा “युवा जनहरू सोध्छन् . . . मेरो मिल्ने साथीलाई किन बसाइँ सर्नु परेको होला?” (जनवरी ८, १९९७) लेखको लागि म हार्दिक मूल्यांकन व्यक्त गर्न चाहन्छु। चाहिएकै समयमा यो लेख पाएँ। अब दुइ चार दिनमै मेरी एउटी साथी बसाइँ सर्दैछिन्। तिनी र तिनको श्रीमान्, प्रकाशकहरूको बढी आवश्यकता परेको मण्डलीमा सेवा गर्न जाँदैछन्। तिनी त्यहाँ जानुपरेकोमा म खुशीले गद्गद छु, तर तिनी गएपछि मलाई असाध्यै न्यास्रो लाग्नेछ। राम्रो सुझाउ दिनुभएकोमा मुरी-मुरी धन्यवाद।
आर. ए., इटाली
हाम्रो क्षेत्रीय निरीक्षक अर्थात् परिभ्रमण सेवक हामीबाट बिदाइ भएर नयाँ क्षेत्रमा जानुहुँदा यो लेखले मलाई कत्ति मदत दियो, तपाईंहरू कल्पना गर्न सक्नुहुन्न। उहाँले मेरा आध्यात्मिक र भावनात्मक आवश्यकताहरूमा खूबै ध्यान दिनुभयो। लेखको चित्रले देखाएझैं, उहाँलाई बिदा गर्दा साह्रै गाह्रो भयो। एकाकीपन हटाउन तपाईंहरूका सुझाउहरू मैले चाहिएकै समयमा ठ्याक्क पाएँ।
जे. डी., नाइजेरिया
सहनशीलता म २२ वर्षको हुँ र “सहनशीलता—के संसारमा अचाक्ली भएको छ?” (फेब्रुअरी ८, १९९७) श्रृंखलाको लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। जवान मसीहीहरूले थुप्रै कठिनाइहरू भोग्नुपर्छ। मलाई ती लेखहरूले अचाक्ली नगर्ने प्रोत्साहन दिनुका साथै संसारका दबाबहरूको बावजूद पनि यहोवाको सेवा गर्ने मेरो दृढ संकल्पलाई अझ बलियो बनाएको छ।
एम. बी., इटाली
भान्छाघरमा रमाइलो “भान्छाघर रमाइलो हुनसक्छ” लेखको लागि धन्यवाद। (फेब्रुअरी ८, १९९७) भान्छाघरमा भएका कुराकानीबाट मैले पनि लाभ उठाएकी छु। यहोवालाई प्रेम गर्नु भनेर मुमाले मलाई प्याज र आलु ताछ्दा सिकाउनुहुन्थ्यो अनि तनमनले उहाँको सेवा गर्ने उत्साह दिनुहुन्थ्यो। खासगरि बुबाले हाम्रो धर्मको विरोध गर्नुहुँदा भान्छाघरमा भएका यस्ता कुराकानीहरू एकदमै मूल्यवान् साबित भए। अहिले बुबा पनि यहोवाको सेवक बन्नुभएको देख्न पाउनु मुमा र मेरोनिम्ति ठूलो आनन्दको कुरा हो। साथै मैले विभिन्न परिकारको स्वादिष्ट खाना बनाउन पनि सिकेकी छु!
ए. एम. एम., इटाली
मनोरञ्जन उद्योगमा कार्यरत एक जना जागिरेकहाँ म भान्छे काम गर्छु। तसर्थ, भान्छाघरमा काम गर्दा कतिपय प्रख्यात व्यक्तिहरूलगायत अन्य आगन्तुकहरूलाई आध्यात्मिक खाना टक्राउने थुप्रै अवसर पाएकी छु। केही बाइबल साहित्यहरू भान्छाघरको दराजमा राख्ने गर्छु। एकचोटि एक जना आगन्तुकसँग बाइबलबारे छलफल गरें। केही समयपश्चात्, अझ बढी छलफल गर्न तिनी पुनः भान्छाघरमा आए। कुखुराको मासु भुट्नमा म तल्लीन हुँदा, प्रकाश—त्यसको चरमोत्कर्ष निकट! नामक मेरो पुस्तक तिनले ठूलो स्वरले पढ्न थाले। हो, तपाईंहरूले भन्नुभएको कुरा एकदमै ठीक हो। भान्छाघर रमाइलो हुनसक्छ!
ए. आर., संयुक्त राज्य
अरूलाई आफ्नो पाप बताउनु म मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्छु र “युवा जनहरू सोध्छन् . . . के मैले अरूलाई आफ्नो पाप बताउनुपर्छ?” (फेब्रुअरी ८, १९९७) लेखको लागि मूल्यांकन व्यक्त गर्न चाहन्छु। बितेको समयमा गरेका गम्भीर भूलहरू बताउन यसले थुप्रै जवानहरूलाई झकझकायो। यी जवानहरूले मायालु सहयोग पाएपछि पुनः यहोवासँग सम्बन्ध गाँसेको देख्न पाउनु आनन्दको कुरा हो। तिनीहरूले आफूलाई स्वच्छ राख्ने दृढ संकल्प गरेका छन्।
ओ. बी., इटाली
आफूले गरेका पाप अरूलाई नबताउनु हानिकारक हुनसक्छ भनेर बुझ्न यस लेखले मदत गऱ्यो। अरूलाई आफ्नो पाप बताउनु लज्जास्पद र अप्ठ्यारो त हुनसक्छ तर यहोवा र आमाबाबुलाई आफ्नो पाप बताउँदा उहाँहरूसँगको हाम्रो सम्बन्ध झनै बलियो तथा घनिष्ठ हुने रहेछ।
बी. के., गूयाना
चाहिएकै समयमा यो लेख ठ्याक्क पाएँ। मैले जे गरें, त्यो मेरो मुमाबाबु र मण्डलीका प्राचीनहरूलाई बताउनुपर्छ भनेर यसले मलाई झकझकायो। यो लेख त मेरै निम्ति लेखिएको जस्तो लाग्यो। अन्ततः उहाँहरूलाई आफ्ना समस्याहरू बताएपछि निकै हल्का महसुस गरें!
ए. ए., संयुक्त राज्य