पाठकहरूका प्रतिक्रिया
कम्प्युटर गेमहरू म १५ वर्षको केटो “युवा जनहरू सोध्छन् . . . कम्प्युटर वा भिडिओ गेमहरू खेलूँ?” भन्ने लेखको लागि धन्यवाद दिन चाहन्छु। (अगस्त २२, १९९६) (अंग्रेजी) यस लेखले साँच्चै नै त्यस्ता गेमहरूको नकारात्मक पक्षहरूलाई औंल्याइ दियो। यस लेखले मसीहीहरूलाई खेल्नुअघि सकारात्मक तथा नकारात्मक पक्षहरू तौलिन मदत गर्नेछ।
एफ. आर., इन्डोनेसिया
म १७ वर्षको हुँ र मलाई हिंस्रक कम्प्युटर गेमहरू औधी मन पर्थ्यो। मलाई यसले केही प्रभाव पार्नेछैन जस्तो लाग्थ्यो तर तपाईंहरूले वर्णन गर्नुभएजस्ता हिंस्रक गेमहरूमा म लग्गू भएँ। अहिले मैले हिंसा र रक्तपातपूर्ण कम्प्युटर गेमका डिस्कहरू सबै मिल्काइसकें। परिणाम? मेरो जीउ नै हलुका भएको छ र अध्ययन गर्न, पढ्न तथा यहोवा परमेश्वरबारे कुरा गर्न मसँग प्रशस्त समय छ।
एस. ए., ग्रीस
शरणार्थी समस्या म बुरुण्डीबाट आएको शरणार्थी हुँ र “शरणार्थी समस्या—के यो कहिल्यै अन्त हुनेछ?” श्रृंखलाको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। (अगस्त २२, १९९६) (अंग्रेजी) यस विषयमा यहोवाको दृष्टिकोण र उहाँले पुरातन समयमा कसरी आफ्ना जनहरूलाई करुणाका साथ शरणार्थीहरूसित व्यवहार गर्न लगाउनुभयो, त्यो जान्न पाउँदा असाध्यै प्रोत्साहित भएँ। ती लेखहरूको लागि मुरी मुरी धन्यवाद। मैले साँच्चै सान्त्वना पाएको महसुस गरें।
डि. एम., केन्या
बस दुर्घटना “यहोवाको बलद्वारा दुर्घटनाको सामना गर्ने” (अगस्त २२, १९९६) (अंग्रेजी) लेख पढ्दा आफ्नै कथा जस्तो लागेर मैले आँसु रोक्नै सकिनँ। म पनि मेरो एक जना मिल्ने साथीसित दुर्घटनामा परेकी थिएँ। गम्भीर घाइते भएको हुँदा तिनी केही घण्टामै मरिन्। तिनी मरेकी र म बाँचेकोमा त्यस दुर्घटनाको पाँच वर्षसम्म पनि मलाई शोक र आत्मग्लानी भइराख्थ्यो। मेरो प्रिय साथीलाई यहोवाले सम्झनुहुनेछ भनी मलाई पूर्ण भरोसा छ। स्पेनका मानिसहरू जसले त्यस दुर्घटनामा आफ्नो प्रिय जनहरू गुमाउनुपऱ्यो उहाँहरूको लागि मेरो हार्दिक समवेदना छ।
जे. टि., संयुक्त राज्य
भकभकिनु “भकभकेहरूले पनि बोल्नेछन्।” भन्ने लेखको लागि साधुवाद। (अगस्त २२, १९९६) (अंग्रेजी) पिटर कुन्टको अनुभवले मलाई असाध्यै बल दियो। म पनि भकभके हुँ। बाइबल भाषण दिनुअघि म सधैं यहोवालाई स्पष्टसित आफ्नो कुरा व्यक्त गर्नसकूँ भनी प्रार्थना गर्छु।
एम. एम., इटाली
जब म २० वर्षको भएँ, मलाई अरूसित बोल्न र यहोवाका साक्षीहरूको राज्यभवनमा मञ्चबाट भाषण दिन असाध्यै गाह्रो लाग्न थाल्यो। आफ्नो भाषणपछि म असिनपसिन हुन्थें र साह्रै थकित महसुस गर्थें। यस समस्याको बावजूद यहोवालाई सेवा गरिरहने सँगी मसीहीको अनुभव पढ्न पाउनु साँच्चै प्रोत्साहनजनक कुरा हो। यस लेखले मलाई सकारात्मक विचारधारा राख्न मदत गऱ्यो।
एम. एस., जापान
यस अनुभव प्रकाशित गर्नुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु। बाल्यकालदेखि मेरो पनि त्यही समस्या छ। पिटरजस्तै म पनि मण्डलीको एक प्राचीन हुँ र हरेक कार्यभार पूरा गर्न यहोवाको बलमा भर पर्नुपर्छ। अहिले म अरूलाई बोल्न मदत दिने ईश्वरतान्त्रिक सेवकाई पाठशाला चलाउँछु।
एन. ओ. एन., नाइजेरिया
पोम्पी “पोम्पी—जहाँ समय थामियो” लेख मैले हालै पढेको थिएँ र असाध्यै मन पऱ्यो। (अक्टोबर-डिसेम्बर, १९९६) त्यो पढ्दा त आफू त्यहीं भए जत्तिकै भयो! तर एउटा बुँदा भने स्पष्ट पार्न चाहन्छु। “पोम्पीमा घुम्न जाने जोसुकैले आज पनि मकै पिस्ने मिलहरू, . . . देख्नसक्छन्” भनी उल्लेख गरिएको थियो। भूल भएमा कृपया मलाई सच्याउनु होला तर के मकै खालि अमेरिकी महादेशमा मात्र पाइन्थ्यो होइन र? युरोपेलीहरूले त मकैबारे क्रिस्टोफर कोलम्बसले पत्ता लगाएपछि मात्र थाह पाएको होइन र?
आर. डि., संयुक्त राज्य
यस सन्दर्भमा हामीले गोलमालमा पाऱ्यौं भने माफी चाहन्छौं। “अन्न” पिस्ने मिलहरू अहिले पनि देख्न सकिन्छ भनेको भए बेस हुनेथियो। तर चाखलाग्दो कुरा के छ भने, मकैको लागि अंग्रेजी शब्द “कर्नले” गहुँ, फापर जस्ता सबै “खाद्यान्नलाई” बुझाउँछ।—स.
सानोदेखि नै म पुरातन इतिहास पढेर मक्ख पर्थें। विशेषगरि पोम्पीको इतिहासबाट सधैं मोहित भएको छु। त्यस लेख पढ्दा मलाई त्यस शहरमै आफू यात्रा गरिरहेको जस्तो लाग्यो। क्या गजब! मैले थुप्रै नयाँ विवरणहरू थाह पाएँ। यस अन्तको समयबारे गरिएको तुलना पनि मलाई मन पऱ्यो। आफूले भ्रमण गर्न नसक्ने ठाउँको जानकारी दिनुभएकोमा धन्यवाद।
जे. एस. ए., ब्राजिल