मानवहरू—हामी को हौं?
यसो हेर्दा मानिसहरू आफ्नो चिनारीबारे अलमल्लमा परे जस्तो देखिन्छन्। विकासवादी रिचर्ड लिकि भन्छन्: “दार्शनिकहरूले मानवताका विभिन्न पक्षहरूबारे कुरा गर्दै आएका शताब्दीऔं भइसक्यो। तर छक्कलाग्दो कुरा के हो भने मानवताको चिनारीबारे अहिलेसम्म सर्वसम्मतिमा पुग्न सकिएको छैन।”
तथापि, कोपनहेगन चिडियाखानाले नरवानर परिवारबारे आफ्नो विचार व्यक्त गर्ने साहस गऱ्यो। ब्रिटानिका बूक अफ द येर १९९७ यस्तो बताउँछ: “मानिसहरूलाई बाँदर र मान्छेबीच कत्तिको नजिकको सम्बन्ध छ भनी सम्झना दिलाउन एक डेनिश दम्पती चिडियाखानामा अस्थायी बसोबास गऱ्यो।”
मान्छेको कुनै कुनै पशुहरूसित तथाकथित यस्तो नजिकको सम्बन्धलाई यससम्बन्धी लेखिएका थुप्रै पुस्तकहरूले पनि मान्यता दिन्छन्। उदाहरणका लागि, द वर्ल्ड बूक अफ इनसाइक्लोपीडिया भन्छ: “स्तनपायी नरवानर परिवारमा मानिसहरूलगायत वनमान्छे, लिमर, बाँदर र टारसियरहरू पर्छन्।”
तर यथार्थ हेर्दा मानवहरूमा यस्ता अद्वितीय गुनहरू पाइन्छन् जुन पशुहरूमा पाइँदैनन्। जस्तै प्रेम, अन्तस्करण, नैतिकता, आध्यात्मिकता, न्याय, कृपा, ठट्यौली मिजास, सृजनशीलता, समयबारे सजगता, आफ्नो व्यक्तित्वबारे सचेत, रमणीय कुराहरूबाट आनन्द उठाउने, भविष्यप्रति चासो, पुस्तौंअघि देखिको ज्ञान हासिल गर्नसक्ने क्षमता र हाम्रो अस्तित्वको अन्त मृत्यु होइन भन्ने आस्था।
ती गुनहरू पशुहरूमा पनि पाइन्छन् भनी देखाउने प्रयासमा कसै कसैले विकासवाद, मनोविज्ञान र सामाजिक शास्त्रको समष्टिगत रूप अर्थात् विकासवादी मनोविज्ञानतर्फ ध्यानाकर्षण गर्छन्। के विकासवादी मनोविज्ञानले मानव स्वभावको रहस्यबारे प्रस्ट्याउँछ?
जीवनको उद्देश्य के हो?
विकासवादी रबर्ट राइट भन्छन्: “विकासवादी मनोविज्ञानको आधार सरल छ। शरीरको अरू अंगजस्तै भावी पुस्तालाई जीन हस्तान्तरण गर्ने उद्देश्यले मानिसको मन रचना गरिएको थियो। यसैको आधारमा मनमा उत्पन्न हुने भावना तथा विचारहरू बुझ्न सबैभन्दा सजिलो हुन्छ।” अर्को शब्दमा भन्ने हो भने हाम्रो जीवनको सम्पूर्ण उद्देश्य जीनद्वारा निर्देशित हुन्छ र सन्तान उत्पादन गर्ने हाम्रो मनको कार्यशैलीमा यो झल्किन्छ।
वास्तवमा विकासवादी मनोविज्ञानअनुसार “मानिसहरूको सबैभन्दा ठूलो चासोको विषय आफ्नो वंश चलाउनुमा केन्द्रित” रहेको देखिन्छ। नैतिक जनावर नामक (अंग्रेजी) पुस्तकले यस्तो बताउँछ: “प्राकृतिक छनौटअनुसार पुरुष अनगिन्ती महिलाहरूसित यौनसम्बन्ध राख्न ‘चाहन्छ।’ ” यस विकासवादी विचारअनुसार त केही खास परिस्थितिहरूमा महिलाहरूको अनैतिक व्यवहार पनि स्वाभाविक देखिन्छ। छोराछोरीप्रति आमाबाबुको प्रेमलाई समेत सन्तानको बचाउको निम्ति जीनको चाल भनिन्छ। अतः एउटा विचारधाराअनुसार मानव परिवार चिरस्थायी बनाउन जनन प्रक्रियाको महत्त्वलाई जोड दिइन्छ।
व्यक्तित्व विकासका केही पुस्तकहरूले विकासवादी मनोविज्ञानका नयाँ धारणाको आड लिएका छन्। तीमध्ये एउटाले मानव स्वभाव “वनमान्छे, गोरिल्ला वा बबूनको स्वभावभन्दा धेरै फरक नभएको” बतायो। यसले यस्तो पनि भन्छ: “विकासवादको सन्दर्भमा . . . सबैभन्दा मूलभूत कुरा प्रजनन हो।”
अर्कोतर्फ, परमेश्वरले मानिसजातिलाई सन्तान उत्पादन गर्ने उद्देश्य राखेर मात्र सृष्टि गर्नुभएको होइन भनी बाइबल बताउँछ। हामीलाई परमेश्वरकै “स्वरूपमा” र अझ विशेषगरि प्रेम, न्याय, बुद्धि र शक्तिजस्ता गुनहरू झल्काउनसक्ने क्षमतासहित सृष्टि गरिएको थियो। साथै यसमा माथि उल्लिखित अद्वितीय मानव गुनहरू पनि थप्नुहोस् अनि बाइबलले मानिसलाई पशुभन्दा उच्च प्राणी भन्नुको कारण तपाईंले बुझ्नुहुनेछ। वास्तवमा परमेश्वरले मानिसहरूमा सधैंभरि बाँच्ने चाहना राखेर मात्र होइन तर परमेश्वरले बनाउनुहुने धार्मिक नयाँ संसारमा रमाउनसक्ने क्षमतासहित सृष्टि गर्नुभएको हो भनी बाइबलले प्रकाश पार्छ।—उत्पत्ति १:२७, २८; भजन ३७:९-११, २९; उपदेशक ३:११; यूहन्ना ३:१६; प्रकाश २१:३, ४.
हाम्रो विश्वासले उल्लेखनीय प्रभाव पार्छ
हामी को हौं भन्ने सन्दर्भमा सही दृष्टिकोण पत्ता लगाउँदा बौद्धिक ज्ञान मात्र हासिल गर्दैनौं किनभने यसले हामी कसरी जीवन बिताउँछौं त्यसमा पनि असर गर्छ। चार्ल्स डार्विनको जातिको उत्पत्ति (अंग्रेजी) १८५९ मा प्रकाशित भएपछि थुप्रै मानिसहरू कुन निष्कर्षमा पुगे, त्यसबारे इतिहासकार एच. जी. वेल्सले लेखे।
“त्यसपछि पथभ्रष्टताको कुनै सीमा रहेन। . . . सन् १८५९ पछि मानिसहरूको विश्वासमा निकै कमी आउन थाल्यो। . . . उन्नाइसौं शताब्दीको अन्ततिर थुप्रै मानिसहरूले बाँच्नका लागि संघर्ष गरेकाले नै अहिलेसम्म अस्तित्वमा रहेको भनी विश्वास गर्न थाले, जुन विश्वासअनुसार बलिया तथा धूर्तहरूले कमजोर अनि अरूलाई पत्याउने निर्दोषहरूको फाइदा उठाउँछन्। तिनीहरूले मानिस पनि वन कुकुरजस्तै समूहमा बस्ने पशु हो भन्न थाले। . . . बलियाहरूले कमजोरहरूलाई थिचोमिचो गर्नु तथा हेप्नु ठीकै देखिन्थ्यो।”
स्पष्टतः हामी वास्तवमा को हौं भन्ने सन्दर्भमा सही दृष्टिकोण हासिल गर्नु महत्त्वपूर्ण छ। एक विकासवादीले प्रश्न गरेझैं “यदि पुरानो फेशनको डार्विनवादले . . . पश्चिमी सभ्यताको नैतिक स्तरलाई खोक्रो बनाइदियो भने [विकासवादी मनोविज्ञानको] नयाँ धारणा मानिसहरूको मनमा पूर्णतया घुस्न थालेपछि हालत कस्तो होला?”
हाम्रो सुरुआतबारे हामी के विश्वास गर्छौं, त्यसले जीवन तथा सही र गलतप्रति हाम्रो आधारभूत दृष्टिकोणलाई असर गर्ने भएकोले यी प्रश्नहरूलाई नियाल्नु महत्त्वपूर्ण छ।
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
चार्ल्स डार्विनको जातिको उत्पत्ति (अंग्रेजी) १८५९ मा प्रकाशित भएपछि थुप्रै मानिसहरू कुन निष्कर्षमा पुगे, त्यसबारे इतिहासकार एच. जी. वेल्सले लेखे: “त्यसपछि पथभ्रष्टताको कुनै सीमा रहेन। . . . सन् १८५९ पछि मानिसहरूको विश्वासमा निकै कमी आउन थाल्यो”