विश्वदर्शन
बिलाउँदै गएको भाषा
“आफ्ना छोराछोरीहरूलाई त्यो भाषा नसिकाएकोमा कहिलेकाहीं आफैलाई धिक्कार्छु,” आफ्नो संस्कृतिमा अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्ति, नेतृ मारी स्मिथ जोन्स बताउँछिन्। यस्तो चलनले गर्दा हाल संसारमा बोलिने सालाखाला ६,००० भाषाहरूमध्ये ४० देखि ५० प्रतिशत अर्को शताब्दी भित्रै हराउनसक्ने देखिन्छ। कुनैबेला २५० वटा भाषाहरू बोलिने अस्ट्रेलियामा त्यो संख्या घटेर २० पुगेको छ। यसो किन हुँदैछ? न्युजवीक पत्रिकाले भाषाहरू, “अंग्रेजी तथा अन्य ‘ठूला’ भाषाहरूले गर्दा, बिर्संदै जान बाध्य हुँदै गइरहेको” कुरा बताउँछ। संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनद्वारा प्रकाशित हुने एटलास अफ दि वर्ल्ड ल्याङ्ग्वेजेज इन डेन्जर अफ डिसअपियरिङ-का सम्पादक प्राध्यापक स्टेफेन भुर्म अझ जोड दिंदै भन्छन्: “खासै महत्त्व नभएकोले ‘सानातिना’ भाषाहरू वा थोरैले बोल्ने भाषाहरू बिर्से पनि केही फरक पर्दैन भन्ने प्रायःजसो मानिसहरू विश्वास गर्छन्।”
रोड रेजलाई त्याग्ने
“अति रिसाहा चालकहरूलाई हल्कासित लिनुहुँदैन,” कार रेसिङमा अनुभवी व्यक्तिको भनाइ फ्लीट मेन्टेनान्स एण्ड सेफ्टी रिपोर्ट पत्रिकामा त्यसरी छापिएको थियो। शान्त भएर प्रतिकूल परिस्थितिहरू आउन नदिंदा रोड रेजबाट हुनसक्ने खतरा कम हुन्छ। सुरक्षासम्बन्धी अधिवक्ताहरू निम्नलिखित सल्लाहहरू दिन्छन्:
◼ हरसमय शिष्ट भई गाडी हाँक्नुहोस्।
◼ मिल्छ भने साइड दिएर रिसाहा चालकलाई अघि बढ्न दिनुहोस्।
◼ अरू गाडीहरूसँगसँगै खतरा मोलेर गाडी कुदाउँदै वा जोडतोडसित गति बढाएर अरू चालकलाई चुनौती नदिनुहोस्।
◼ धम्कीपूर्ण हाउभाउहरूको प्रत्युत्तर नदिनुहोस्। त्यस्तै गलत अर्थ लाग्नसक्ने इसाराहरू पनि नगर्नुहोस्।
◼ रिसले चिढिएका चालकहरूसित आँखा नजुधाउनुहोस्।
◼ अरू चालकसित झगडा गर्ने विचारले गाडी साइड नलगाउनुहोस्।
हाँसोको अभाव
स्वीट्जरल्याण्डमा सम्पन्न इन्टरनेशनल कंग्रेस अफ ह्युमरमा भर्खरै प्रस्तुत गरिएको प्रमाणअनुसार सन् १९५० को आर्थिक संकटको दौडान औसतमा एक जना मानिस दिनको १८ मिनेट हाँस्ने गरेको पाइयो भने त्यस्तो संकट नभए तापनि १९९० को दशकमा चाहिं दिनको ६ मिनेट मात्र हाँस्ने गरेको पाइएको छ। किन थोरै? लण्डनको सन्डे टाइम्स व्याख्या गर्छ, “भौतिक सम्पन्नता, यश तथा व्यक्तिगत सफलताको पछि दौडनुलाई विशेषज्ञहरू यसको जिम्मेवार ठहराउँछन्। यसले गर्दा रुपियाँ-पैसाले मानिसको सुख किन्न सक्दैन भन्ने पुरानो भनाइ समेत झन् झन् सत्य साबित हुँदैछ।” अतः लेखक माइकल आर्गाइल निष्कर्षमा भन्छन्: “पैसालाई नै सबथोक ठान्नेहरू असन्तुष्ट हुनुका साथै मानसिक रूपमा पनि अस्वस्थ हुन्छन्। पैसाले देखावटी सन्तुष्टि मात्र दिनसक्नु पनि यसको कारण हुनसक्छ।”
विश्व असाक्षर दर बढ्दै
द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ, “झन्डै ५ अरब ९० करोड मानिसहरू पढ्नलेख्न जान्दैनन्।” संयुक्त राष्ट्र बाल कोषअनुसार असाक्षरता दर झनै बढ्ने देखिन्छ। किन? किनभने संसारको सबैभन्दा गरिब राष्ट्रहरूका तीन चौथाइ केटाकेटी स्कूल जाँदैनन्। बढ्दो आर्थिक संकटकासाथै जातीय भेदभावले पनि लाखौं केटाकेटी शिक्षाबाट बञ्चित हुनुपरेको छ। युद्धले स्कूलहरू विध्वंश गर्नुकासाथै थुप्रै केटाकेटीहरूलाई विद्यार्थीको सट्टा सिपाही बनाउँछ। वास्तवमा, सामाजिक समस्याहरू निम्त्याउने एउटा तत्त्व अशिक्षा पनि हो। द स्टेट अफ द वल्ड्र्स चिल्ड्रेन १९९९ विषयमा युनिसेफको रिपोर्टअनुसार अशिक्षा र जन्मदरबीच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। उदाहरणका लागि, एउटा दक्षिण अमेरिकी राष्ट्रमा, “अशिक्षित आइमाईहरूको सरदर ६/७ जना छोराछोरीहरू छन् भने माध्यमिक कक्षासम्म पढेका आमाहरूका चाहिं २/३ जना छोराछोरीहरू मात्र छन्” भनी टाइम पत्रिका बताउँछ।
हजार वर्षीय शासनसम्बन्धी उत्तेजना
हजार वर्षीय शासनसित सम्बन्धित हिंसात्मक गतिविधिबाट सुरक्षा दिने तयारीका क्रममा “[इजराएली] सरकारले १२ लाख डलर टेम्पल माउण्टमा सुरक्षा बढाउन छुट्ट्याएको छ” भन्ने रिपोर्ट नान्डो टाइम्स गर्छ। यहूदी अथवा “क्रिस्चियन” धर्मपन्थीहरूले टेम्पल माउण्टमा मस्जिदहरू भत्काएर यहूदी मन्दिर पुनर्निर्माण गर्ने प्रयास गर्लान् भनी प्रहरीहरू सचेत छन्। केही “क्रिश्चियन” धर्मावलम्बीहरू यसले संसारको अन्त गर्नुका साथै ख्रीष्टको दोस्रो आगमन हुनेछ भनी विश्वास गर्छन्। उक्त रिपोर्टअनुसार मुस्लिमहरू माझ अल-हाराम अल-सारिफ भनी चिनिने सो टेम्पल माउण्टलाई “मध्यपूर्वको युद्धमा निकै संवेदनशील ठाउँ ठानिन्थ्यो।” यो “१९६७ को मध्यपूर्वीय युद्धमा जोर्डनबाट इजराएलले कब्जा गरेको पर्खाल लगाइएको यरूशलेमको पुरानो शहरमा” अवस्थित छ। असंख्य “क्रिश्चियनहरू” ख्रीष्ट फर्कनुहुनेछ भन्ने प्रत्याशा गर्दै जैतून डाँडामा डेरा जमाउन थालिसकेका पनि देखिएको छ।
याङ्सी नदीलाई तह लाउने
चिनियाँ याङ्सी नदीका तीन गल्छीहरूमा निर्माणाधीन बाँध पूरा भएको खण्डमा यो विश्वको सबैभन्दा ठूलो जलविद्युत् उत्पादन केन्द्र हुनेछ। त्यो बाँध १८५ मिटर अग्लो, २.३ किलोमिटर फराकिलो र १ करोड ८२ लाख किलोवाट विद्युत्शक्ति उत्पादन क्षमताको हुनेछ। तथापि, बाँध बनाउनुको उद्देश्य जलविद्युत्शक्ति उत्पादन गर्नुचाहिं होइन। यसको उद्देश्य नदीलाई सकेसम्म उर्लन नदिनु हो। यसको निर्माण कार्य सन् १९९४ मा सुरु भएर २००९ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ। मोटामोटी रूपमा भन्ने हो भने यस भव्य योजनाको लागि १४ करोड ७० लाख घन मिटर ढुंगा काट्नु पर्छ भने २ करोड ५० लाख घन मिटर कंक्रिट पुर्नु अनि झन्डै २० लाख टन स्टील कस्सेर बाँध्नुपर्छ। चाइना टुडे यसो भन्छ, “तथापि, त्यस योजनाले असर पारेका क्षेत्रहरूमा बसोबास गरिरहेका ११ लाख मानिसहरूलाई त्यहाँबाट सार्नु नै सबैभन्दा गाह्रो काम हो।”
दमको रोगले झन् उग्र रूप लिंदैछ
विश्व स्वास्थ्य संगठनले बितेको दशकमा विश्वव्यापी रूपमा दमको रोगले असर गरेकाहरूको संख्या अनि अस्पताल भर्ना हुनेहरूको संख्या दुवै ४० प्रतिशतका दरले वृद्धि भएको रिपोर्ट गरेको छ। यति धेरै वृद्धि किन? यसको कारण छातीसम्बन्धी चिकित्सकहरूका महाविद्यालयका सदस्यहरूअनुसार साँघुरो तथा हावा ओहोर दोहोर गर्ने राम्रो व्यवस्था नभएका निवासहरूमा बस्नु र त्यो पनि घरपालुवा जन्तुहरू पाल्ने सोख आश्चर्य रीतिले बढ्नु हो। “जनावरका भुत्लाहरू (छाला, भुत्ला अनि पखेटा), सुलसुले, ढुसी, चुरोटको धुँवा, परागकण, वातावरण दूषित पार्ने चीजहरू र कडा गन्ध,” आदिको कारण दमले आक्रमण गर्नसक्ने सम्भावना बढ्छ भनी द टोरोन्टो स्टार बताउँछ। यद्यपि, सबैभन्दा बढी एलर्जि गर्नेचाहिं बिरालोका भुत्लाहरू नै हुन्। उक्त अखबारअनुसार यस रोगबाट हुनसक्ने अकाल मृत्युबाट प्रायजसो बच्न सकिने भएकोले विशेष ध्यान दिनुपर्छ। हाल क्यानाडामा करिब १५ लाख दमका रोगीहरू छन् भने हरेक वर्ष ५०० रोगीहरू मर्ने गर्छन्।
मौसम क्षतिको नयाँ किर्तिमान
सन् १९९८ को पहिलो ११ महिनामा विश्वव्यापी रूपमै ८९ अरब डलर मौसमसित सम्बन्धित प्रकोपहरूका कारण खर्च भएको अभिलेख गरिएको छ। यो क्षति “१९८० को दशकमा भएको ५५ अरब डलरको तुलनामा धेरै छ,” भनी सम्बन्धित प्रेस रिपोर्ट बताउँछ। उक्त रिपोर्ट यसो भन्छ: १९९८ को “११ महिनामा भएको क्षतिको तुलनामा, हालको मुद्रास्फीतिसित समायोजन गरेर ८२ अरब ७० करोड डलर हुन आउने त्यस दशकको रकम समेत थोरै हुन आउँछ।” आँधी, बाढी, आगलागी तथा खडेरीजस्ता प्राकृतिक प्रकोपहरूले भौतिक क्षति पुऱ्याउनुका साथसाथै सालाखाला ३२,००० मानिसहरूले ज्यान गुमाउनुपरेका छन्। वर्ल्डवच इन्सटिच्युटका सेथ डान अझ यसो भन्छन् “प्राकृतिक प्रकोपहरू हुनुमा अत्यधिक मात्रामा मानिसहरूकै हात रहेको छ।” कसरी? डानकै भनाइअनुसार वन फँडानीका कारण ‘प्रकृतिको स्पन्ज’ सरह काम गर्ने रूखहरू उजाडिनुका साथै सिमसारहरू सुक्खा बनाउँदै तिनीहरूले यस समस्यालाई निम्त्याएका छन्।
चिन्ताग्रस्त परिवार
क्यानाडामा भर्खरै गरिएको सर्वेक्षणले झन्डै पचास वर्षअघिको युद्धपछिका परिवारहरूले भन्दा आजका थुप्रै परिवारहरूले आर्थिक तथा मानसिक दबाब महसुस गरिरहेका छन् भन्ने निष्कर्ष निकालेको छ। नेशनल पोष्ट-ले पारपाचुके तथा परिवारहरू टुक्रिनुको प्रमुख कारणको सूचीमा सबैभन्दा माथि चिन्तालाई राखेको छ। पारिवारिक चिन्तापछि क्रमशः “आमाबाबुले धेरै समयसम्म कडा मेहनत गर्नु, रोजगार असुरक्षित हुनु, अत्यधिक कर तिर्न बाध्य हुनु तथा तिनीहरूलाई हुर्काउन आमाबाबुले गरेका प्रयत्नहरू प्रति छोराछोरीले मूल्यांकन नगर्नु” आदि परेका छन्। यी दबाबहरू विशेष गरी एक्लो आमा वा बुबा मात्र भएको परिवारहरूमा धेरै छन् भन्ने सर्वेक्षण गरिएका व्यक्तिहरूले बताए।