“सबै जनाको फलिफाप हुँदैन”
विश्वमा गरिएको अत्यधिक उपभोगमाथि सं.रा. विकास कार्यक्रम अर्थात् यु एनडि पि-ले संकलन गरेको मानव विकास रिपोर्ट १९९८-ले ध्यान केन्द्रित गरायो। उक्त रिपोर्टले देखाएअनुसार विश्वव्यापी तवरमा हेर्दा १९५० मा हामीले आर्थिक सामग्रीहरूमा जति पैसा खर्च गर्थ्यौं अहिले त्यसको छ गुणा बढी र १९७५ को भन्दा दोबर खर्च गर्छौं। उत्पादनमा गरिएको यस्तो अत्यधिक खर्च वृद्धि भए तापनि यु एन डी पी-को कार्यकारिणी निर्देशक जेम्स गुस्ताव स्पेथ यसो भन्छ: “सबै जनाको फलिफाप हुँदैनन्।”
उदाहरणका लागि, विश्वका २० प्रतिशत गरिब मानिसहरूले जति माछा खान्छन् त्यसको सात गुणा बढी विश्वका २० प्रतिशत धनी मानिसहरूले खान्छन्। साथै, ती २० प्रतिशत गरिब मानिसहरूले भन्दा ती २० प्रतिशत धनी मानिसहरूले ११ गुणा बढी मासु खान्छन्, १७ गुणा बढी ऊर्जा खपत गर्छन्, ४९ गुणा बढी टेलिफोन लाइन जडान भएका छन्, ७७ गुणा बढी कागज प्रयोग गर्छन् अनि १४९ गुणा बढी गाडी किन्छन्।
यी पत्ता लागेका कुराहरूमा टिप्पणी गर्दै सं.रा.-को रेडियोले यसो भन्यो, पृथ्वीको प्राकृतिक स्रोतहरू घट्ने क्रमलाई रोक्न औद्योगिक राष्ट्रहरूले कम उपभोग गर्न आवश्यक छ। यसबाहेक, धनी देशहरूले आफ्नो धेरैजसो धन-सम्पत्ति गरिब देशहरूलाई पनि दिनु आवश्यक छ। यसो गर्दा गरिब देशले पनि पृथ्वीका स्रोतहरूबाट फाइदा उठाउन सक्नेछन्। कति धन-सम्पत्ति दिनु आवश्यक होला?
स्पेथले औद्योगिक देशहरूले अहिले दिइरहेको वार्षिक विकास सहयोगलाई दुई गुणा अर्थात् अमेरिकी डलर ५० अरबबाट १ खरबसम्म बढाएको खण्डमा विश्वका गरिबहरूले भोजन, स्वास्थ्य, शिक्षा र घर प्राप्त गर्न सक्ने हिसाब निकालेका छन्। यसो सोच्दा अमेरिकी डलर ५० अरब धेरै ठूलो रकम जस्तो लाग्छ। तर श्रीमान् स्पेथ भन्छन्: “यति रकम त युरोपले वर्षेनी धूम्रपानमा मात्र खर्च गर्छ भने यसको आधाजति रकम अहिले सं.रा.-ले मद्यपानमा खर्च गर्छ।”
स्पष्टतः सबै जना मिलेर यस ग्रहको प्राकृतिक स्रोतहरू अझ राम्ररी बाँडफाँट गर्ने प्रयास गर्दा गरिबीको अन्त गर्न ठूलो योगदान हुनेथ्यो। यसो गर्न के गर्नुपर्छ? सं.रा.-को एक अधिकारीले यसो भने: “यसो गर्न मानिसहरूको मन, मस्तिष्क र इच्छामा परिवर्तन हुनु आवश्यक छ।” थुप्रै मानिसहरूले उक्त कुरामा सहमति जनाउछन् तर आजका नीति-निर्माण गर्ने संस्थाहरूले जतिसुकै राम्रो अभिप्राय राखे तापनि लोभलाई हटाउन त परै जाओस् यस्ता परिवर्तनहरू समेत गर्न सक्दैनन् भनेर पनि तिनीहरूलाई थाह छ।
तैपनि, मानव परिवार र हाम्रो ग्रहको भविष्यबारे चिन्ता गर्ने व्यक्तिहरूको लागि आशा छ। यस पृथ्वीको सृष्टिकर्ताले मानिसको समस्याहरू साँच्चै हटाउने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुरा थाह पाउनु कति प्रोत्साहनदायी छ। भजनरचयिताले यस्तो भविष्यवाणी गरे: “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्वर, हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ। पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।” (भजनसंग्रह ६७:६; ७२:१६) हो, त्यतिखेर पृथ्वीका सबै बासिन्दाहरूको “फलिफाप हुनेछ!”