पाठकहरूका प्रतिक्रिया
पुलहरू यहाँ होन्डुरसमा मीच तुफानले ८० प्रतिशत जति पुलहरू क्षतिग्रस्त पारेको केही समयपछि नै “पुलहरू नभएका भए?” भन्ने लेख छापिएको डिसेम्बर ८, १९९८ को अंक हामीले पायौं। मेरो पति र म सधैंजसो यात्रा गरिरहन्छौं। त्यसैले पुलहरू हाम्रो काममा कति महत्त्वपूर्ण रहेछन् भनेर बुझ्न धेरै बेर लागेन। हामी यस चाखलाग्दो अनि समयसापेक्ष लेखका लागि तपाईंलाई धन्यवाद दिन चाहन्छौं। यसको अन्तिम अनुच्छेदले बताए झैं हामी अबदेखि पुलहरूलाई बेवास्ता गर्ने छैनौं!
सी. एच., होन्डुरस
पशुपक्षीहरूप्रति क्रूर व्यवहार तपाईंहरूले “बाइबलको दृष्टिकोण: पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो?” भन्ने एकदम गजबको लेख प्रकाशित गर्नुभयो। (डिसेम्बर ८, १९९८) पशुपक्षीहरूमाथि गरेको क्रूर व्यवहार र त्यो पनि विशेष गरी मसीही हुँ भनी दाबी गर्नेहरूबाट गरेको क्रूर व्यवहार परमेश्वरले सहनु हुन्न भन्ने कुरा तपाईंहरूले देखाउनु साँच्चै प्रशंसनीय कुरा हो।
जे. एल. सि., संयुक्त राज्य
टुहुरा युवाहरू “युवा जनहरू सोध्छन् . . . म किन आमाबाबुबिना बाँच्नु परेको होला नि?” लेखको लागि म हार्दिक आभार व्यक्त गर्दछु। (डिसेम्बर ८, १९९८) म अहिले ३९ वर्षकी भएँ। तर ११ वर्षकी हुँदा मेरी आमा बित्नुभो अनि बुबा पनि घर छाडेर जानुभयो। त्यस बेलादेखि मेरा दाजुभाइ र मैले कस्तो दुःखद जीवन बिताउनु पऱ्यो, अरूलाई बुझाउन सकिरहेकी थिइनँ। तर अब मलाई लाग्छ अरूले पनि हाम्रो भावना बुझ्दा रहेछन्। तपाईंहरूलाई धेरै धन्यवाद।
के. वाइ., जापान
म नौ महिनाको मात्र हुँदा बुबा र १२ वर्ष पुग्न नपाउँदै आमा बित्नुभयो। यी लेखहरू धेरै सान्त्वनादायी हुनुका साथै टुहुराहरू वास्तवमा कस्तो अनुभव गर्छन् भन्ने पनि राम्ररी देखाएको थियो। यहोवाले हाम्रा मरिसकेका प्रियजनहरूलाई फेरि जीवन दिनुहुनेछ भन्ने थाह पाउनु कति आनन्दको कुरा हो!
एम. एस. एस., ब्राजिल
म ४० वर्ष पुगें र मैले यो लेख दोहोऱ्याई तेहऱ्याई पढें। म पनि दुई वर्षको उमेरदेखि नै टुहुरो भएकोले यो लेख पढ्दा आँसु नै थाम्न सकिनँ। जब जब म आफ्ना आमाबुबाको फोटो हेर्छु त्यसबेला नरोएको भनेको दिनै छैन होला। त्यस्ता लेखहरू लेख्नुभएकोमा धेरै धन्यवाद!
जे. सि. भी., फ्रान्स
मेरा आमाबुबा जिउँदै हुनुहुन्छ तर मेरो दिमागै ठीक ठाउँमा नहुने तनाउले पीडित भएकोले कठिन परिस्थितिहरू कसरी सामना गर्ने भन्ने विषयका लेखहरू पढ्न रुचाउँछु। म तपाईंहरूलाई यतिमात्र भन्न चाहन्छु कि मलाई सत्य घटनामा आधारित अनुभवहरू तथा बाइबल आधारित सल्लाहहरू भएको “युवा जनहरू सोध्छन् . . ” लेख एकदम मनपर्छ।
एस. एच., क्यानाडा
हात धुनु म ११ वर्षको केटो हुँ। अनि “हात धोएपछि पुछ्न नबिर्सनुहोस्!” लेखको लागि म धन्यवाद दिन चाहन्छु। (डिसेम्बर ८, १९९८) खाना खानुअघि र दिसापिसाब गरिसकेपछि हात धुन यस लेखले मलाई प्रोत्साहन दियो। हाम्रो शहरमा संक्रामक रोग लाग्नु सामान्य कुरा भएकोले यो लेख साह्रै उपयोगी छ।
एम. एफ., इटाली
साधारण मनोरञ्जन “विश्वदर्शन”-मा “केटाकेटीहरू साधारण मनोरञ्जन रुचाउँछन्” विषयबारे दिनुभएको जानकारीको लागि म निकै कृतज्ञता व्यक्त गर्दछु। (नोभेम्बर २२, १९९८) म आफ्नो छोराछोरीबाट छुट्टै बसेकी छु र तीन महिनामा एक चोटि मात्र तिनीहरूलाई भेट्न पाउँछु। हामीले सँगै समय बिताउँदा के गर्नुपर्ने हो थाह नभएकोले तिनीहरूलाई नरमाइलो लाग्ला भनेर अनेकन् उपायहरू सोच्ने गर्थें। छोराछोरीहरूसित भेटघात हुनुभन्दा ठीक एक दिनअघि मैले यो लेख पाएँ। मैले एकदम चाहिएकै बेलामा यो लेख पढ्न पाएँ!
एम. वाइ., जापान
सर्पहरू “सर्पहरूबारे मानिसहरूको भ्रम” लेखको लागि धेरै धेरै धन्यवाद। (नोभेम्बर ८, १९९८) उक्त लेखमा वर्णन गरिएका सातवटा बुँदाहरूले यस अचम्मको तर मान्छेहरूले बुझ्न नसकेका जनावरबारे जनसमुदायलाई स्पष्ट पारिदिएको छ।
आर. के., संयुक्त राज्य