प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ पृ. २२-२५
  • माराबु—गलत अर्थको सिकार भएको पक्षी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • माराबु—गलत अर्थको सिकार भएको पक्षी
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पक्षीहरूमध्ये विशाल
  • असल आमाबाबु
  • सरसफाइ गर्ने कामदारहरू
  • माराबुको भविष्य
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
    ब्यूँझनुहोस्‌!—१९९५
  • जंगलमा बच्चा हुर्काउने
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ पृ. २२-२५

माराबु—गलत अर्थको सिकार भएको पक्षी

केन्याको ब्यूँझनुहोस्‌! लेखकद्वारा

“माराबुजस्तो दशा निम्त्याउने पक्षी मैले . . . अहिलेसम्म देखेको छैन।” द वर्ल्डस्‌ वाइल्ड प्लेसेस– अफ्रिकाज रिफ्ट भ्याली।

अफ्रिकामा पाइने थुप्रै पक्षीमध्ये माराबुको जस्तो आलोचना कमैको गरिएको होला। यस पक्षीलाई सामान्यतया रिसाहा अनि कुरूप र असल भावना नभएको पक्षीको रूपमा हेरिन्छ। स्पष्टतया, माराबु पक्षीको मानिसहरूसित त्यति राम्रो सम्बन्ध छैन।

के तपाईं हेर्दा सुन्दर देखिने अनि सुरिलो सोर भएका पक्षीहरूप्रति आकर्षित हुनुभएको छ? तर माराबुसित भने यी दुवै गुण छैनन्‌। प्वाँख नभएको गुलाबी रङको टाउको र घाँटीले गर्दा यो पक्षी नीरस अनि घिनलाग्दो देखिन्छ। वयस्कहरूको घाँटीमा तुर्लुङ झुन्डिएको रातो थैलो मोटो तर गोलो टाईजस्तो हुन्छ। थुप्रै मानिसको विचारमा यो झोलिएको थैलोले गर्दा यो चरा झनै नराम्रो देखिन्छ। तथापि, केन्याको राष्ट्रिय संग्रहालयका पक्षी विज्ञान विभागका प्रमुख डा. लियोन बेनन हामीलाई यस्तो स्मरण गराउँछन्‌: “हामीलाई त्यो थैलो नराम्रो लाग्दैमा माराबुलाई पनि त्यो सुहाउँदैन भन्‍न मिल्दैन।” तैपनि, अहिलेसम्म त्यस थैलोको जैविक कार्य के हो भनेर कसैलाई पनि थाह छैन।

यस पक्षीको खाने बानी देखेर पनि मानिसहरू यसलाई मन पराउँदैनन्‌। किनभने यसले सिनु खाने गर्छ। सिनु भेट्टाएन भने यसले आफ्नो भोक मेटाउन अरू पक्षीहरूलाई मार्छ भनेर त हामी सबैलाई थाहै छ। तसर्थ, थुप्रै मानिसले यसलाई एकदमै घृणा गर्नु कुनै छक्कलाग्दो कुरा होइन।

तथापि, यसको भद्दा रूप तथा बानीहरूका बावजूद माराबुका थुप्रै प्रशंसनीय गुणहरू पनि छन्‌। आउनुहोस्‌, यो नराम्रो नाउँ कमाएको पक्षीलाई राम्रोसित चिन्‍नुहोस्‌।

पक्षीहरूमध्ये विशाल

सारस जातका पक्षीहरूमध्ये माराबु सबैभन्दा ठूलो छ भन्‍नु तर्कसंगत छ। वयस्क भालेको उचाइ १५० सेन्टिमिटर अनि तौल ८ किलोग्रामभन्दा धेरै हुन्छ। पोथीहरूचाहिं अलि साना हुन्छन्‌। यस पक्षीको कीला आकारको गह्रौं चुच्चो बढेर ३० सेन्टिमिटरभन्दा धेरै लामो हुनसक्छ र यो सिनुबाट मासुको चोक्टा लुछ्‌न नभई हुँदैन।

यस जातको सारस यति ठूलो भए तापनि यिनीहरू उड्‌नमा एकदमै सिपालु हुन्छन्‌। पखेटा फैलाउँदा २.५ मिटरभन्दा बढी फराकिलो हुने यो माराबु, उड्‌न सिपालु अन्य पक्षीहरूजस्तै मजाले उड्‌नसक्छ। टाउको अलिकति काँधभित्र खुम्चाएर लामा खुट्टाहरू पछिल्तिर फर्काउँदै उड्‌नेबेला यो पक्षी अत्यन्तै सुन्दर देखिन्छ। यसले तातो हावा अथवा धेरै तापमानसमेत सहनसक्छ र कहिलेकाहीं त जमिनबाट हाम्रो आँखाले नै नदेख्ने गरी धेरै माथिसम्म उड्‌ने गर्छ! त्यसैकारण, माराबु ४,००० मिटर माथिसम्म उडेको पनि देख्न सकिन्छ!

असल आमाबाबु

माराबुले आमाबाबुको हैसियतमा गर्ने काम विशेष गरी प्रशंसनीय छ। वास्तवमा, आमाबाबुले गुँड बनाउनुदेखि लिएर थुप्रै काममा निकै परिश्रम गर्नुपर्छ। उचित स्थान भेट्टाइसकेपछि पोथीले पनि गुँड बनाउने काममा भालेलाई सहयोग गर्छे। कहिलेकाहीं जमिनदेखि ४० मिटर माथि बनिने यी गुँडहरू त्यति राम्ररी बनाइएका हुँदैनन्‌। सुकेका काठ, रूखका हाँगाबिंगा तथा पातहरूले बनेका गुँडहरू एक मिटर फराकिला हुन्छन्‌। साँच्चै, कहिलेकाहीं बच्चाहरूलाई हुर्काउन पुरानै गुँड प्रयोग गरिन्छ तर त्यसमा रूखका मसिना हाँगाबिंगा तथा अन्य कुराहरू राखेर नयाँ बनाइसकेपछि मात्र त्यो पुनः प्रयोग गरिन्छ। कुनैकुनै माराबुको समुदायले आफ्नो गुँडलाई पचास वर्षसम्म प्रयोग गर्छन्‌ रे।

नयाँ गुँड बनाउँदै गर्दा भाले माराबुले आफ्नो जोडी खोज्न थाल्छन्‌। पक्षीका अन्य थुप्रै जातिले जस्तो नभई यी भालेहरूले पोथीलाई पर्खन्छन्‌। केही सम्भाव्य जोडीहरू भालेले आफूलाई छानोस्‌ भन्‍ने आशामा तिनीहरूको नजिक जान्छन्‌। धेरैजसोलाई इन्कार गरिन्छ। तर दृढतासाथ तिनलाई मनाउन प्रयत्न गर्दा पोथी सफल हुन्छिन्‌। विवाहअघिको भेटघाट कायम राख्न दुवै पक्षीले आ-आफ्नो घाँटीमा भएका हावा भरिएका थैलाहरूबाट अरू पक्षीहरूलाई भगाउन आवाज निकाल्छन्‌। प्रायजसो आफ्नो थुतुनाबाट निकाल्ने खटखट आवाजबाहेक थाह भएका अन्य आवाजहरूमा बाँ गर्नु, कौलास्नु अनि सुसेल्नु हो। हरेक चोटि गुँडमा फर्कंदा “निहुरेर” गरिने अभिवादनले गर्दा तिनीहरूबीचको सम्बन्ध झनै प्रगाढ हुन्छ। यस्तो अभिवादनमा टाउकोलाई पछाडि लगेर फेरि झुकाउनु र टाउको निहुराएर चुच्चोले लामो समयसम्म खटखट आवाज निकाल्नु समावेश छ।

त्यस जोडीले सँगै गुँड बनाउन सिध्याउँछन्‌। अन्डा कोरल्ने काम पनि दुवै मिलेर गर्ने गर्छन्‌। एक महिनाको अवधिपछि दुई तीनवटा लामो सेता अन्डाहरूबाट साना गुलाबी रङका अलिअलि मात्र भुवा भएका बचेरा निस्कन्छन्‌ र त्यो देखेर दुवै आमाबाबु रमाउँछन्‌। यी कलिला माराबुहरूले राम्रो स्याहारसुसार पाउँछन्‌। बचेराहरूलाई खुवाएको खुवाएकै गर्न माछा जस्तो अत्यन्तै पोसिलो खानाबाट सुरु गरिन्छ। चारो खोज्न माराबुहरू अक्सर दलदले ठाउँमा गइरहन्छन्‌। त्यहाँ बचेराहरूका लागि यी आमाबाबुले प्रायजसो खाने गरेको भ्यागुता प्रशस्त मात्रामा पाउँछन्‌। त्यसपछि आमाबाबुले त्यो चारो गुँडमा ओकल्छन्‌ र बचेराले खानाका टुक्राहरू खान थाल्छन्‌। यी बचेराहरू बिस्तारै हुर्कंन्छन्‌। अनि चार महिना पुगेपछि मात्र तिनीहरू उड्‌न सक्ने हुन्छन्‌ अर्थात्‌ आफैले खाना खोजेर आफ्नो जीवन धान्‍न सक्ने हुन्छन्‌।

सरसफाइ गर्ने कामदारहरू

माराबुलाई सिनु खाने जन्तु भनेर हेला गरिए तापनि यसले वास्तवमा एउटा महत्त्वपूर्ण काम गर्छ। मांसाहारी जन्तुहरूले अफ्रिकी मैदानहरूमा कुहेका सिनुहरू जताततै छरपस्ट पारेर छोड्‌छन्‌। यी सिनुहरूलाई कहीं थन्काइएन भने त्यसले सजिलैसित रोग फैलाउनसक्छ, जसले मानिस तथा जन्तुहरू दुवैलाई धेरै हानि पुऱ्‍याउँछ। तथापि, माराबुले यी फोहोरहरू हटाउने महत्त्वपूर्ण काम गर्छ। कतै मैदानमा जीवजन्तुलाई मारेर त्यत्तिकै छोडिएको छ कि भनेर हेर्न तिनीहरू अर्को मांसाहारी पक्षी गिद्धसित मिलेर खोजी गर्छन्‌। त्यस्तो सिनु भेट्टाउने बित्तिकै रिसले चूर भएका गिद्धहरू आएर आफ्नो बलिया र घुमाउरा चुच्चाले ती सिनुहरू नखोलुञ्जेल यी माराबुहरू त्यहीं ढुकेर बसिरहन्छन्‌। उपयुक्‍त मौका पाउने बित्तिकै माराबुले आफ्नो लामो चक्कुजस्तै चुच्चो प्रयोग गरेर सिनुमा अपर्झट आक्रमण गरी मासुको एक चोक्टा टिपेर छेउलाग्छ र फेरि अर्को मौकाको प्रतीक्षामा बस्छ। गिद्धहरू अघाइसकेपछि माराबुहरूले बाँकी मासु हारालुछ गर्न थाल्छन्‌। ती माराबुले हड्डीबाहेक आफ्नो घाँटीबाट छिराउन सक्ने सबै थोक खान्छन्‌। यिनीहरूले ६०० ग्रामभन्दा बढी मासु सजिलैसित निल्छन्‌।

हालैका वर्षहरूमा यी माराबुहरूले जंगलहरूबाहेक अन्य ठाउँमा पनि यस्तै सरसफाइ गर्न थालेका छन्‌। यी पक्षीहरू मानिसहरूसित डराउन छाडेर शहर र गाउँका फोहोर फालिने ठाउँहरूमा भ्रमण गर्न थालेका छन्‌। यसको परिणाम? स्वच्छ वातावरण। माराबुले वधशालाबाट बगेको पानीमा समेत मासुका टुक्राहरू राम्ररी खोजेर खान्छन्‌। यी पक्षीहरूले कुन हदसम्म पीडा सहन सक्छन्‌ भन्‍ने कुरा निम्न उदाहरणबाट थाह पाउन सकिन्छ। पश्‍चिमी केन्याको वधशाला वरपर मासुका चोक्टाहरू खोजिरहेको एउटा माराबुले एक जना कसाईको चक्कु निल्यो। केही दिनपछि त्यो चक्कु त्यही ठाउँ नजिकै भेट्टियो, त्यै पनि सफा अनि चम्किलो अवस्थामा। माराबुले यसलाई ओकलेर फेरि त्यही ठाउँमा फर्काएको थियो। धन्‍न, माराबुलाई हुनचाहिं के पनि भएन!

माराबुको भविष्य

यसको नजिकको नातेदार अनि ठूलो सहयोगी एसियाका सारसहरूको संख्या घट्‌दै गइरहेको छ भने, अफ्रिकी माराबुहरूचाहिं झन्‌ झनै बढ्‌दैछ। यसको आफ्नो संसारमा कुनै चिरपरिचित शत्रु छैन। विगतमा माराबुको सबैभन्दा हिंस्रक शत्रु मानिस नै थियो। यस्तो विशाल सारसलाई गोली हानेर मारिन्थ्यो र यसको पिठ्‌यूँको प्वाँखलाई आइमाईको शिरको मुकुटमा सुन्दरता बढाउन प्रयोग गरिन्थ्यो। “पंखालाई सुन्दर बनाउन वा आइमाईहरूलाई मनपर्ने गहनाहरूलाई सजाउने त्यस्तो नरम अनि सुन्दर प्वाँखहरू यो विशाल दुब्लो अनि घिनलाग्दो देखिने सिनु खाने पक्षीबाट निकालिन्छ भन्‍ने कुरा पूर्णतया अकल्पनीय छ” भनी स्टोर्क्स, इबिसेस एण्ड स्पुनबिल्स अफ द वर्ल्ड (संसारका सारस, इबिसेस र स्पुनबिल्स) पुस्तकले बताउँछ। खुसीको कुरा यी पक्षीहरूप्रति गरिने त्यस्तो विनाश वर्षौंको दौडान लोप भएर गयो र यिनीहरूको संख्यामा वृद्धि हुन थाल्यो। निस्सन्देह माराबुबारे संक्षेपमा भन्‍नु पर्दा यो तिरस्कार अनि घृणा गरिनुपर्ने पक्षी होइन भन्‍ने कुरा प्रकट भयो। वातावरणलाई सफा राख्ने यसको दक्षता अनि परिश्रमले गर्दा हामीलाई धेरै फाइदा भएको छ। पक्षीहरूमध्ये यो त्यति सुन्दर नभए तापनि यसले आफ्नै तरिकाबाट सृष्टिकर्ताको उल्लेखनीय ढंगमा महिमा गर्छ।—भजन १४८:७, १०. (g01 8/8)

[पृष्ठ २२-मा भएको चित्र]

यो चराको कीला आकारको गह्रौ चुच्चो बढेर ३० सेन्टिमिटर भन्दा लामो हुनसक्छ

[पृष्ठ २३-मा भएको चित्र]

माराबुको पखेटा फैलाउँदा २.५ मिटरभन्दा लामो हुन्छ

[स्रोत]

© Joe McDonald

[पृष्ठ २३-मा भएको चित्र]

स-साना माराबुहरूले राम्रो स्याहारसुसार पाउँछन्‌

[स्रोत]

© M.P. Kahl/VIREO

[पृष्ठ २४-मा भएको चित्र]

माराबुको घाँटीमा रहेको थैलोको जैविक कार्य अझै थाह लागेको छैन

[पृष्ठ २५-मा भएको चित्र]

कहिलेकाहीं जमिनदेखि ४० मिटरमाथि गुँड बनाइएको हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने