प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ८/८ पृ. १८-२०
  • “ब्रली लैजान नबिर्सनु नि!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ब्रली लैजान नबिर्सनु नि!”
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एकदम भिन्‍न इतिहास
  • धार्मिक छाताहरू
  • घाम छेक्नेदेखि लिएर पानीबाट जोगाउने
  • फेसनको सामग्री
  • चेरापुञ्जी पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ
    ब्यूँझनुहोस्‌!—२००१
  • फेसनको बदलिंदो रूप
    ब्यूँझनुहोस्‌!—२००३
  • मौसमबारे कुराकानी
    ब्यूँझनुहोस्‌!—१९९८
  • “हामी हाजिर छौँ! हामीलाई पठाउनुहोस्‌!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ८/८ पृ. १८-२०

“ब्रली लैजान नबिर्सनु नि!”

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकबाट

बेलाइतको सामान्य दिनमा पनि थुप्रै मानिसहरू छाता बोक्ने गर्छन्‌। पानी नपर्ला भनेर तपाईं कहिल्यै भन्‍न सक्नुहुन्‍न। “ब्रली लैजान नबिर्सनु नि!” भनेर हामी घरबाट निस्कन लाग्दा एक अर्कालाई भन्‍ने गर्छौं अनि हामी बस, रेल वा पसलमा त्यत्तिकै भुलेर हिंड्‌छौं।a हो, हामी आफ्नो लिएर हिंड्‌न सजिलो आश्रयलाई बेवास्ता गर्छौं किनभने हामी अर्को सजिलै किन्‍न सक्छौं। तर छातालाई सधैंभरि त्यस्तो बेवास्ता गरिंदैनथ्यो।

एकदम भिन्‍न इतिहास

प्राप्त प्रमाणअनुसार सुरुसुरुका छाताहरूको पानीसित कुनै सम्बन्ध थिएन। ती त विशिष्ट व्यक्‍तिहरूको पद तथा श्रेणीलाई जनाउने प्रतीकहरू थिए। अश्‍शूर, मिश्र, फारस र भारतका हजारौं वर्ष पुराना मूर्तिकला तथा चित्रहरूमा सेवकहरूले आफ्ना मालिकलाई घामबाट जोगाउने छाता ओढाइरहेको देखिन्छ। अश्‍शूरमा राजाले मात्र छाता राख्न सक्थे।

ऐतिहासिक अभिलेखहरूले देखाएअनुसार छाताले विशेष गरी एसियामा निकै समयसम्म शक्‍तिको प्रतिनिधित्व गरिरह्‍यो। आफूसित कतिवटा छाता छन्‌, त्यसको आधारमा शासकको ओहदा बढ्‌थ्यो। त्यो कुरा बर्मेली राजालाई चौबीसवटा छाताका मालिक भनेर सम्बोधन गरिएको कुराबाट प्रस्ट हुन्छ। कहिलेकाहीं छाता कति पत्रको हुन्छ त्यो पनि महत्त्वपूर्ण हुन्थ्यो। चीनका सम्राट्‌को छाता चार पत्रे थियो र राजा सियामको छाता सात वा नौ पत्रे थियो। अहिले पनि केही पूर्वी तथा अफ्रिकी मुलुकहरूमा छातालाई अख्तियारको प्रतीक मानिन्छ।

धार्मिक छाताहरू

आफ्नो इतिहासको सुरुतिर छाता धर्मसित सम्बन्धित हुन पुग्यो। पुरातन मिश्रीहरूको सोचाइअनुसार देवी नटले पूरै पृथ्वीलाई छातालेझैं आफ्नो शरीरले ढाकेर ओत दिएकी थिइन्‌ भन्‍ने थियो। त्यसैले मानिसहरू तिनीबाट सुरक्षा पाउन लिएर हिंड्‌न सजिलो “छानो[मुनि]” ओत लाग्न थाले। भारत र चीनमा मानिसहरू खुला छाताले स्वर्गको गुम्बजजस्तो छानालाई प्रतिनिधित्व गर्छ भन्‍ने विश्‍वास गर्थे। प्रारम्भिक बौद्ध धर्मावलम्बीहरूले यसलाई बुद्धको प्रतीकको रूपमा चलाए र तिनीहरूको गुम्बाहरूको टुप्पोमा अक्सर छाता राख्ने गरिन्छ। हिन्दूधर्ममा पनि छातालाई महत्त्व दिइन्छ।

सा.यु.पू. ५०० तिर छाता युनानसम्म पुगिसकेको थियो जहाँ धार्मिक उत्सवहरूमा देवीदेवताहरूको मूर्तिलाई ओढाउन छाता प्रयोग गरियो। एथेनीयाली आइमाईहरूलाई घामबाट जोगाउन छाता ओढाइदिने सुसारेहरू हुन्थे तर प्राय: पुरुषहरूले भने त्यस्तो वस्तु प्रयोग गर्दैनथे। यस्तो प्रचलन युनानबाट रोमसम्म फैलियो।

रोमन क्याथोलिक चर्चले छातालाई आफ्ना भव्य समारोहहरूमा प्रयोग गर्न थाल्यो। पोपहरूले रातो र पहेंलो धर्का भएका रेशमी मोडेलहरू प्रयोग गर्न थाले भने कार्डिनलहरू र विशपहरूका साथमा बैजनी वा हरियो रंगका छाताहरू हुन्थे। ब्यासिलिका अर्थात्‌ गुम्बज आकारका चर्चहरूमा आज पनि पोपका निम्ति पोपको पदवी जनाउने रंगहरूद्वारा सजिएका ओम्ब्रेलिओन अथवा छाता राखिएका मेचहरू भएको पाइन्छ। पोपको मृत्युपछि तिनका उत्तराधिकारी छनौट नहोउन्जेल चर्च प्रमुखको हैसियतमा काम गर्ने कार्डिनलको पनि उक्‍त अवधिभर आफ्नो व्यक्‍तिगत प्रतीकको रूपमा एउटा ओम्ब्रेलिओन हुन्छ।

घाम छेक्नेदेखि लिएर पानीबाट जोगाउने

कागजको छातामा पानीबाट जोगिनको लागि तेल लगाउने र मैन पोत्ने कार्यको थालनी चिनियाँहरू अथवा हुनसक्छ पुरातन समयका रोमी स्त्रीहरूले गर्न थालेका हुन्‌। तथापि, १६ औं शताब्दीमा इटालेली तथा फ्रान्सेलीहरूले त्यसलाई पुनः प्रयोग नगरुन्जेल युरोपबाट घाम छेक्ने वा पानी पर्दा ओढ्‌ने वस्तुको रूपमा प्रयोग हुन छोडिसकेको थियो।

बेलाइतमा महिलाहरूले १८ औं शताब्दीतिर छाता बोक्न थालिसकेका थिए भने पुरुषहरूले चाहिं अझ पनि महिलाहरूले मात्र बोक्ने अनावश्‍यक सौन्दर्य सामग्री ठान्दै बोक्न अस्वीकार गर्थे। तर अपवाद के थियो भने, कफी बेच्ने पसलेहरूले भने पसलबाट निस्केर आफ्नो बग्गीमा जान लागेका ग्राहकहरूलाई प्रतिकूल मौसमबाट बचाउन छाता ओढाउनु एकदमै लाभदायी छ भनेर बुझे। पादरीहरूले पनि पानी परिरहेको बेला चिहानमा अन्त्येष्टि सेवा सञ्चालन गर्न यो निकै उपयोगी पाए।

इंग्ल्याण्डमा छाताको इतिहासलाई परिवर्तन गर्ने व्यक्‍ति यात्रु तथा समाजसेवी जोनास हानवे थिए। भनिन्छ, लण्डनमा खुल्लमखुल्ला यसलाई बोकिहिंड्‌ने पहिलो व्यक्‍ति तिनै थिए। विदेशको यात्रामा पुरुषहरूले त्यस्तो वस्तु ओढेको देखेर बग्गी चलाउने मानिसहरूले तिनको नजिकैबाट जाँदा जानाजानी रिसले गिज्याउँदै नालीको पानी उछिट्याउने मानिसहरूको साहसी भई सामना गर्न तिनी कटिबद्ध थिए। छाता बोकेर हिंड्‌ने हानवे लगातार ३० वर्षसम्म देखिए र १७८६ मा तिनको मृत्यु हुँदासम्ममा पुरुषहरू लगायत महिलाहरूले समेत छातालाई खुसीसाथ बोक्न थालिसकेका थिए।

ती दिनहरूमा पानी पर्दा छाता ओढ्‌नु साह्रै चुनौतीपूर्ण थियो। त्यस्ता छाताहरू ठूला, गह्रौं र भद्दा खालका हुन्थे। चिल्लो घसिएको रेशम वा बाक्लो कपडा अनि त्यसका डन्डीहरू र बाँस वा ह्वेलमाछाको हड्डीले बनेको लामो बींड हुने हुँदा खोल्न निकै गाह्रो हुन्थ्यो भने भिजेपछि चुहिन थाल्थ्यो। तैपनि, विशेष गरी पानी पर्दा बग्गी भाडामा लिनुभन्दा छाता किन्‍नुनै सस्तो हुन थालेपछि यसको ख्याति बढ्‌दै गयो। छाता बनाउनेहरू र पसलहरू बढ्‌दै गए र आविष्कारकहरूले डिजाइन राम्रो बनाउनेतर्फ बढी ध्यान दिन थाले। सामुएल फक्सले १९ औं शताब्दीको बीचतिर पारागन मोडेल तयार पारे जुन हलुका तर इस्पातका बलिया डण्डीहरूले बनाइएको थियो। पुराना भद्दा खोलहरूको सट्टा रेशम, कपास र मैन दलिएका सूतीका कपडाहरूको खोल राखियो। आधुनिक छाताको प्रारम्भ भयो।

फेसनको सामग्री

अहिले इंग्ल्याण्डमा आधुनिक स्टाइलअनुसार हिंड्‌ने महिलाहरूमाझ यो छाता निकै लोकप्रिय भएको छ। फेसनको परिवर्तनसँगसँगै तिनीहरूले ओढ्‌ने सुकुमार छाता झन्झनै ठूलो भयो र सबैप्रकारका चम्किला रेशम तथा साटिनले ढाकियो। यो अक्सर तिनको बाह्‍य पहिरनसित मिल्थ्यो र किनाराहरू, झल्लर, रिबन, काँड तथा प्वाँखहरूसमेत राखेर सजाइन्थ्यो। बीसौं शताब्दी पुगेपछि भने आफ्नो कोमल छाला जोगाउन चाहने कुनै पनि इज्जतदार महिला छाता नबोकी हिंडेको देखिंदैनथ्यो।

सन्‌ १९२० को दशकमा घामले डढेर अलि-अलि खैरो भएको छाला लोकप्रिय हुन थालेपछि महिलाले ओढ्‌ने छाता लगभग हराउन थाल्यो। अब शहरका भलादमीहरूमाझ बोलर ह्‍याटको अनौपचारिक पहिरनका साथ पट्ट्याइएका कालो छातालाई टुटाको रूपमा समेत टेकेर हिंड्‌ने चलन चल्न थाल्यो।

दोस्रो विश्‍वयुद्धपछि नयाँ प्रविधिको विकासले छाताका विकसित नमुनाहरू बजारमा ल्यायो। जस्तै—नाइलन, पोलिस्टर र प्लास्टिकको खोल भएका दोब्य्राउन मिल्ने टेलिस्कोपजस्ता छाताहरू। हातले राम्ररी बनाइएका महँगा छाताहरू बेच्ने केही पसलहरू अझै अस्तित्वमा छन्‌। तर हिजोआज कारखानाहरूले सस्तोमा सबै प्रकारका रंग तथा आकारका, ठूला गल्फ छाता तथा पेसियो अर्थात्‌ बाहिर घाम छेक्न टेबुलमा राखिने ठूलठूला छाताको स्टाइलदेखि लिएर दोबऱ्‍याएर १५ सेन्टिमिटरको सानो बनाएर पर्समा हाल्न मिल्नेसम्मका छाताहरू अत्यधिक मात्रामा उत्पादन गर्छन्‌।

कुनै समय विलासीता तथा पदको प्रतीक बनेका छाताहरू अहिले एकदमै सस्तोमा उपलब्ध छन्‌ र यो धेरै हराइने सामानहरूको अग्रपंक्‍तिमा पर्छ। संसारको जुनसुकै ठाउँमा पनि मौसमका चुनौतीहरूको सामना गर्न यो धेरै उपयोगी वस्तु हो र सुरुमा यसलाई घामबाट जोगिन प्रयोग गरिएझैं अहिलेपनि घामका किरणहरूले पुऱ्‍याउन सक्ने हानीबारेमा थप चेतावनीहरू सुनिएदेखि यसलाई केही देशहरूमा पुनः घाम छेक्ने कार्यमै फेसनको रूपमा प्रयोग गरिन थालिएको छ। त्यसैले आज तपाईं आफ्नो घरबाट बाहिर जान लाग्नुहुँदा सायद यही कुराको सम्झना दिलाइएको सुन्‍नुहुनेछ: “ब्रली लैजान नबिर्सनु नि!” (g03 7/22)

[फुटनोट]

a “ब्रली” भनेको छाता बुझाउने बेलाइती बोलिचालीको शब्द हो। यसैसित मिल्दोजुल्दो अमेरिकी शब्द “बम्बरसुट” हो तर यो शब्द भने विरलै प्रयोग गरिन्छ।

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

तपाईंको छाता किन्‍ने र त्यसको स्याहारसम्भार गर्ने

सुविधाजनक कि बलियो, कुनचाहिं किन्‍ने हो निर्णय गर्नुहोस्‌। दोबऱ्‍याउन मिल्ने प्रकारका सस्ता छाताहरू झोलामा सजिलै अटाए तापनि थोरै डण्डीहरू हुन्छन्‌ र ठूलो बतास चल्दा यसले थाम्न सक्दैन। अर्कोतिर पुराना लौरो जस्ता छाता धेरै महँगो हुन सक्छ तर जुनसुकै वातावरणलाई पनि थाम्न सक्छ र टिकाउ पनि हुन्छ। साँच्चै एउटा राम्रो छाता वर्षौं टिक्न सक्छ। तपाईंले जुनसुकै प्रकारको छाता छान्‍नुभए तापनि यसलाई पूरै सुकेपछि मात्र बन्द गरेर ढुसी र खियाबाट बचाउनुहोस्‌। बाहिरी खोलभित्र राख्दा यो सफा रहनुका साथै धुलोबाट पनि जोगिन्छ।

[पृष्ठ १९-मा भएको चित्र]

एक जना छाते अश्‍शूरी राजालाई छाता ओढाउँदै

पुरातन युनानकी एउटी महिला छाता बोक्दै

[स्रोत]

Drawings: The Complete Encyclopedia of Illustration/J. G. Heck

[पृष्ठ २०-मा भएको चित्र]

महिलाले बोक्ने छाता, १९०० तिर

[स्रोत]

Culver Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने