प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. १५-१७
  • समुद्रका नाच्ने घोडाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समुद्रका नाच्ने घोडाहरू
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दाँत छैन, पेट छैन, समस्या पनि छैन!
  • नाच र रोमान्स
  • “प्रत्येक महिलाको चाहना”
  • घरपालुवा, क्युरियो र उपचारको रूपमा
  • सबै खराब कुराको अन्त
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. १५-१७

समुद्रका नाच्ने घोडाहरू

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

एउटा जोडीले एकअर्कालाई अभिवादन गर्दै आफ्नो जीउको रङ परिवर्तन गर्छन्‌। भाले घमन्डले मक्ख फुलेजस्तो देखिन्छ अनि पोथी चाहिं स्वीकृति देखाएझैं गरी हेरिरहन्छे। तिनीहरूबीच कोमल स्पर्श हुन्छ अनि त्यसपछि न्यानो आलिङ्‌गन गर्न अघि सर्छन्‌। तिनीहरूमाथि प्रभातकालीन किरण पर्दा तिनीहरू बिस्तारै प्रकृतिकै सबैभन्दा शालीन नृत्य-नाटक अर्थात्‌ समुद्री घोडाको नाचको लागि तयार हुन्छन्‌।

“समुद्री घोडाहरू अत्यन्तै रोमाञ्चकारी, बेजोड र आकर्षक हुन्छन्‌” भनी समुद्री विशेषज्ञ डा. किथ मार्टिन-स्मिथ बताउँछन्‌। तिनीहरूलाई कुन समूहमा राख्ने होला भनेर विगतमा मानिसहरू अन्योलमा परेका थिए। पहिला-पहिलाका प्रकृतिविद्‌हरूले हिप्पोक्याम्पस भन्‍ने नाउँ दिए र यही नाउँ पोसिडन अर्थात्‌ समुद्रका युनानी देवको रथ तान्‍ने काल्पनिक माछापुच्छ्रे घोडाहरूलाई पनि दिइएको थियो।

भनिन्छ, मध्यकालीन युगमा धनलुब्ध व्यक्‍तिहरूले पुच्छरबाट आगो निकाल्ने ड्रागन भनेर समुद्री घोडाहरूलाई ससानैमा बेच्ने गर्थे। वास्तवमा, समुद्री घोडाहरू हाडे माछाहरू हुन्‌ तर तिनीहरू प्रायजसो माछाजस्तो देखिंदैनन्‌ वा अरू माछाहरूजस्तो पौडी खेल्दैनन्‌। पानीमा यताउता डुल्दै वा यत्तिकै तैरिरहँदा तिनीहरूलाई सिसाका सुकुमार घोडाहरू वा साँच्चैको जस्तो देखिने चेसका गोटीहरूसित तुलना गरिएको छ।

समुद्री घोडाहरू संसारका समुद्री किनारका प्रायजसो न्यानो पानीमा अक्सर पाइन्छन्‌। तिनीहरू थरीथरीका आकार र साइजका हुन्छन्‌। विशेषज्ञहरूको अनुमानअनुसार ३३ देखि ७० भन्दा विभिन्‍न प्रकारसम्म हुन सक्छ। तपाईंको औंलाको नङमा सजिलै अटाउन सक्ने पिग्मी समुद्री घोडा अनि ३० सेन्टिमिटरभन्दा लामो हुन सक्ने भुँडे समुद्री घोडा पनि यसै समूहमा पर्छ।

दाँत छैन, पेट छैन, समस्या पनि छैन!

घोडाको जस्तो टाउको, हाडे शरीर अनि बाँदरको जस्तो पुच्छररूपी संरचनाले गर्दा समुद्री घोडाहरू यताउता हुँइकिनभन्दा एकै ठाउँमा रहिरहनको लागि बढी उपयुक्‍त देखिन्छन्‌। दिनको प्रायजसो समय तिनीहरू आफूलाई सजिलो हुने गरी कुनै खाँबा वा बोटमा आरामसित पुच्छर अड्‌काएर खाँदै बसिरहेका हुन्छन्‌। यी समुद्री घोडाहरू हलचल गर्नुपर्दा पछाडि पिठिउँको पखेटा चलाएर बिस्तारै अघि बढ्‌छन्‌ अनि छेउको पखेटाले भने दिशा परिवर्तन गर्छन्‌। पौडी खेल्नको लागि चाहिने तिनीहरूको भित्री थैलीमा हावाको परिमाण नियन्त्रण गरेर तिनीहरू पनडुब्बीजस्तै तल-माथि गर्न सक्छन्‌।

भोका समुद्री घोडाहरू सिकार गर्न भने असाध्यै सिपालु हुन्छन्‌ अनि छेउछाउमा पौडी खेलिरहेका सानातिना झिंगे माछाहरूलाई आफ्नो हाडे थुतुनाले स्वात्त तानिहाल्छन्‌। पाचनक्रियालाई मदत गर्ने दाँत वा पेट समुद्री घोडाको नहुने हुँदा तिनीहरूले बाँच्नको लागि चाहिने पोषण प्राप्त गर्नको लागि हरेक दिन ५० वटासम्म झिंगे माछा समात्नुपर्ने हुन्छ। यी कुशल सिकारीहरूको लागि यो कुनै समस्या होइन किनभने तिनीहरूको दृश्‍य क्षमता असाध्यै तीक्ष्ण हुन्छ। तिनीहरू एउटा आँखाले अगाडिको सिकारमा तारो लगाएर अर्को आँखा भने पछाडि यताउता डुलाउन सक्छन्‌। तिनीहरूको आँखाले मान्छेको आँखाले भन्दा बढी रङहरू ठम्याउन अनि प्रायजसो माछाले भन्दा विस्तृत तवरमा देख्न सक्छ।

समुद्री घोडाहरू अरू कसैको भोजन बन्‍नदेखि जोगिनुपर्छ। गँगटो र कछुवाजस्ता सिकारीहरूबाट जोगिनको लागि प्रायजसो किसिमका समुद्री घोडाहरू समुद्री झ्याउ, मुगा वा एक किसिमको जडीबुटीको प्राकृतिक वासस्थानमा छ्यासमिस भएर अदृश्‍य हुन सक्छन्‌। तिनीहरूको टाटो छाला, शरीरमा झारजस्तो टुटिल्को अनि वरपरको वातावरण सुहाउँदो छालाको रङ परिवर्तन गर्ने क्षमताले गर्दा तिनीहरूलाई सजिलै ठम्याउन सकिंदैन। “तिनीहरू आफ्नो शरीरको रङ परिवर्तन गर्न यति खप्पिस हुन्छन्‌ कि एकदमै ध्यान दिएर हेरेपछि मात्र ठम्याउन सकिन्छ” भनी अनुसन्धाता रुडी कुइटर बताउँछन्‌।

नाच र रोमान्स

अरू माछाहरूजस्तो नभई भाले र पोथी समुद्री घोडाहरू जिन्दगीभर एकअर्कालाई त्याग्दैनन्‌ अनि सधैं सँगै हुन्छन्‌। हरेक बिहान तिनीहरू यस अनुपम बन्धनलाई एउटा नाचले अझ सबल बनाउँछन्‌। “समुद्री घोडाको नाच असाध्यै सुन्दर र शालीन हुने हुँदा हेर्दा आनन्द आउँछ” भनी समुद्री घोडापालक ट्रेसी वर्लान्ड बताउँछिन्‌। नाच सिद्धिएपछि समुद्री घोडाहरू आ-आफ्नो अड्डामा फर्केर बाँकी दिनको लागि खाना खान थाल्छन्‌। भाले-पोथीको नाच अझ जटिल हुन्छ। पोथी घोडा भालेको नजिक आउँदा भालेले आफ्नो थैला फुलाउँछ, रङ चहकिलो पार्छ अनि पोथीको अगाडि ओहोरदोहोर गर्न थाल्छ। तिनीहरू बिस्तारै एकअर्काको वरपर घुम्न थाल्छन्‌ अनि एकअर्काको पुच्छरमा अङ्‌कुस लाउँछन्‌। भालेपोथी दुवै मिलेर घुम्दै समुद्रीपींधमा रमाई-रमाई उफ्रेर नाच्न थाल्छन्‌। माथि उठ्‌दै अनि लडीबुडी गर्दै, घुम्दै अनि रङ परिवर्तन गर्दै तिनीहरू आधा घण्टासम्म हाँसखेल गर्छन्‌।

निस्सन्देह, भालेपोथीको नाच आमाबाबु बन्‍ने तयारी पनि हो। “सन्तान जन्माउनको लागि भालेपोथीको जोडी बन्‍ने समय आएपछि समुद्री घोडाको नाच अझ लामो हुनुका साथै दिनमा धेरै चोटि दोहऱ्‍याउँछन्‌” भनी कुइटर बताउँछन्‌। “यो नाच चरम बिन्दुमा पुगेपछि भालेपोथी आफ्नो पुच्छर अङ्‌कुस लगाएर अनि जीउ जोडेर माथि सतहमा उक्लन्छन्‌। त्यसपछि पोथीले आफ्नो अण्डा बिस्तारै भालेको कङ्‌गारूमा हुने जस्तै थैलामा सारिदिन्छे।” त्यसपछि यस सम्भाव्य बुबाले थैलाभित्र अण्डा जम्मा पार्नको लागि एउटा शान्त ठाउँ भेट्टाउँछ। अनि ती अण्डाहरू भालेको गर्भमा बढ्‌न थाल्छन्‌ अनि पशुजगत्‌को सबैभन्दा असाधारण गर्भधारण सुरु हुन्छ।

“प्रत्येक महिलाको चाहना”

“समुद्री घोडाहरूका भालेहरूले गर्भधारण गरेर बच्चा जन्माउनु भनेको एउटा साह्रै मजाको कुरा हो” भनी एउटी आईमाईले भनिन्‌। “पुरुषले पनि गर्भधारण गरोस्‌ भन्‍ने प्रत्येक महिलाको चाहना हुन्छ” भनी अर्की महिलाले टिप्पणी गरिन्‌। एउटा भाले समुद्री घोडाले एक वर्षमा लगातार सात पटक २१ दिन लामो गर्भधारण गऱ्‍यो!

बच्चा समुद्री घोडाहरू भाले समुद्री घोडाका थैलामा गुटमुटिएर बस्दा रक्‍तनलीहरूको सञ्जालले अक्सिजन र पोषण प्रदान गर्छ। समय बित्दै जाँदा थैलाभित्रको नुनिलोपना बढ्‌छ अनि पछि समुद्री पानीको वातावरणमा घुलमिल हुनको लागि तयार हुन्छ। बच्चा जन्मिने समय हुँदा भालेको प्रसव वेदना केही घण्टादेखि दुई दिनसम्मको हुन सक्छ। अन्ततः उसको थैला खोलिन्छ अनि समुद्री घोडाका बच्चाहरू क्रमशः निस्किन थाल्छन्‌। समुद्री घोडाको जातअनुसार जन्मने बच्चाहरूको संख्या फरक हुन्छ तर यसको संख्या १,५०० सम्म पनि हुन सक्छ।

घरपालुवा, क्युरियो र उपचारको रूपमा

समुद्री घोडाको जन्मदर उच्च भए तापनि संसारभरि यिनीहरूको अस्तित्व खतरामा परेको छ। कुनै-कुनै स्रोतअनुसार संसारभरि वर्षेनी समुद्री घोडाहरू पक्रेर बेच-बिखन गरिन्छ। धेरैजसो परम्परागत एसियाली औषधीको रूपमा बेचिन्छ र यिनीहरू दम, हड्डी भाँचिएकोदेखि लिएर नपुंसकतासम्मको उपचारमा प्रयोग गरिन्छ।

क्युरियो व्यापार गर्नेहरूले हरेक वर्ष साँचो झुन्ड्याउने किरिङ्‌, पेपरवेट र ब्रोच बनाउनको लागि लाखौं समुद्री घोडाहरू समात्ने गर्छन्‌। घिसार्ने जालीमा माछा सिकार गर्नु, मूगाढिस्कोमा विस्फोट गराउनु अनि प्रदूषणले समुद्री घोडाहरू बस्ने संवेदनशील समुद्री तटलाई खतरामा पार्छ। समुद्रमा पाइने समुद्री घोडाहरूलाई पक्रेर अक्वेरियमहरूमा राख्न पनि बेच्ने गरिन्छ। यसरी तिनीहरूको प्राकृतिक वासस्थानभन्दा बेग्लै वातावरणमा राखिंदा थोरै मात्र बच्छन्‌ किनभने तिनीहरूलाई विशेष किसिमको आहार चाहिन्छ अनि छिट्टै रोग लाग्न सक्छ।

यसरी समुद्री घोडाहरूलाई समुद्रबाट निकाल्ने क्रम रोक्न कानुनी प्रस्तावहरू पेस गरिएका छन्‌ र यसो गर्नको लागि थुप्रै राष्ट्रहरूले आफ्नो देशबाट समुद्री घोडा निर्यात गर्नु भनेको पर्यावरणीय दृष्टिकोणबाट खतरनाक छैन भनी प्रमाणित गर्नुपर्नेछ। उत्तम तरिका तथा प्रविधिले आर्थिक लाभको लागि भालेपोथी मिलाएर सन्तानोत्पादन गराई अक्वेरियममा राख्न बेच्नेहरूको लागि पनि मदत पुऱ्‍याइरहेको छ।

समुद्री घोडाका भावी प्रत्याशाहरू समुद्रकै भविष्यसित मुछिएको छ। “संसारका समुद्रहरू मानव गतिविधिको कारण साँच्चै खतरामा परेका छन्‌। हामीले ती समुद्रहरूबाट धेरै कुराहरू खोसिरहेका छौं” भनी कुइटर बिलौना गर्छन्‌। के मानिसहरूको कथित गन्जागोलपूर्ण “प्रगतिमा” समुद्रका यी नाच्ने घोडाहरू हराउनेछन्‌? मार्टिन स्मिथ यसो भन्छन्‌, “हामी आशावादी हुनुपर्छ, समुद्री घोडाहरू जोगाउने प्रयासमा हामीलाई मदत गर्ने मानिसहरू थुप्रै छन्‌। हाम्रो काम भनेको पृथ्वीका यी जीवित प्राणीहरूबारे अझ धेरै मानिसहरूलाई सजग गराउनु हो। त्यसो भयो भने परिवर्तन त अवश्‍यै हुनेछ। सायद हामीले समुद्री घोडाहरूलाई बचाउन सक्यौं भने समुद्र पनि बचाउन सक्नेछौं।” सायद सकिन्छ। तर खुसीको कुरा, आशाको एउटा भरपर्दो स्रोत छ।—प्रकाश १४:७. (g04 12/22)

[पृष्ठ १५-मा भएको चित्र]

पिग्मी समुद्री घोडा (वास्तविक साइज)

[स्रोत]

© Reinhard Dirscherl/Visuals Unlimited

[पृष्ठ १६-मा भएको चित्र]

समुद्री घोडाहरूसित वरपरको वातावरणमा घुलमिल हुन अचम्मै किसिमले आफ्नो छालाको रङ परिवर्तन गर्ने क्षमता हुन्छ

सानो टाउको भएको समुद्री घोडा

भुँडे समुद्री घोडाहरू

धर्के समुद्री घोडा

[पृष्ठ १६-मा भएको चित्र]

हाई-क्राउन समुद्री घोडा

[पृष्ठ १७-मा भएको चित्र]

सानो टाउको भएका समुद्री घोडाहरू

[पृष्ठ १७-मा भएको चित्र]

सानो टाउको भएको भाले समुद्री घोडाले बच्चा जन्माइरहेको

[पृष्ठ १७-मा भएको चित्र]

सानो टाउको भएका बच्चा समुद्री घोडाहरू

[पृष्ठ १६-मा भएको चित्रको स्रोतहरु

Lined seahorse: © Ken Lucas/Visuals Unlimited; all other photos: Rudie H Kuiter

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

All photos: Rudie H Kuiter

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने