प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. ८-१०
  • के डराउनै नपर्ने समय आउला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के डराउनै नपर्ने समय आउला?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सतर्कता अपनाउने
  • घरमा हुने डरको सामना गर्ने
  • के हो डरको वातावरण?
  • डराउनै नपर्ने समय!
  • यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • किन मानिसहरू डरै-डरमा जीवन बिताउँछन्‌?
    ब्यूँझनुहोस्‌!—२००५
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. ८-१०

के डराउनै नपर्ने समय आउला?

के आजको संसारमा बाँचिरहेको कुनै पनि व्यक्‍ति रत्तीभर नडराई बस्न सक्छ? गाह्रै छ। परमेश्‍वरमा विश्‍वास राख्ने मानिसहरूले समेत फिक्री उत्पन्‍न गर्ने खतराहरूको सामना गर्छन्‌। उदाहरणको लागि, इस्वी संवत्‌ प्रथम शताब्दीमा धेरै भ्रमण गरेका प्रेरित पावलले आफू चढेको जहाज फुटेको, नदीहरूका जोखिम, डाकुहरूको जोखिम र सहरमा जोखिम उठाएको कुरा उल्लेख गरे। (२ कोरिन्थी ११:२५-२८) त्यस्तै गरी आज हामीमध्ये धेरैजसोले खतरनाक परिस्थितिको सामना गर्नुपर्ने हुन्छ।

तथापि, हामी बुद्धिमानीपूर्वक सतर्कता अपनाउन सक्छौं र हामीले उठाउने जोखिमहरू कम गरेर हामी आफ्ना फिक्रीहरू पनि कम गर्न सक्छौं। बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) हामीले चाल्न सक्ने केही व्यावहारिक कदमहरू के-के हुन्‌?

सतर्कता अपनाउने

चाखलाग्दो कुरा के छ भने, बाइबल धेरै पहिला लेखिएको भए तापनि यसमा आज हामीलाई खतराहरूबाट जोगिन मदत गर्ने अझ पनि व्यावहारिक थुप्रै सिद्धान्तहरू पाउन सकिन्छ। उदाहरणको लागि, बाइबलमा यसो भनिएको छ: “आफू कहाँ जाँदैछ सो बुद्धिमानले देख्छ, तर मूर्खचाहिं अँध्यारोमानै हिंड्‌छ।” (उपदेशक २:१४) यो कुरा पढ्‌दा आफ्नो वरिपरि को छ र सकेसम्म अँध्यारोमा नहिंड्‌न सतर्क हुनुपर्छ भन्‍ने कुरा मनासिब देखिन्छ। अलि बढी नै हिंड्‌नुपरे तापनि सकेसम्म तपाईं बत्तीहरू बलिरहेको सडकबाट घर जान सक्नुहुन्छ होला। बाइबल यसो पनि भन्छ: “एकभन्दा दुई असल हो। . . . यदि मानिस एकलै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्नसक्छ, तर दुई जनाले ता रोक्नसक्छन्‌।” (उपदेशक ४:९, १२) यदि तपाईं खतरनाक इलाकामा बस्नुहुन्छ भने के तपाईं कसैसित घर जाने प्रबन्ध मिलाउन सक्नुहुन्छ?

कसैले तपाईंलाई लुट्‌न खोज्दा सरसम्पत्तिभन्दा जीवन अमूल्य छ भनेर सम्झिनु बुद्धिमानी हुन्छ। (मत्ती १६:२६) रिस पोख्न भीड जम्मा भएको बेला तिनीहरू खतरनाक हुन्छन्‌ र तिनीहरूले जे पनि गर्न सक्छन्‌ भन्‍ने कुरा सम्झिनु पनि बेस हुन्छ।—प्रस्थान २३:२.

छाडा कुरा गरेर, फोहोर ठट्टा भनेर वा तपाईंलाई छुने कोसिस गरेर कसैले तपाईंलाई हैरान पार्न खोजेमा दृढ भई तिनको प्रतिकार गर्नु नै सबैभन्दा राम्रो हुन्छ। अनैतिक आइमाईले आफूलाई पक्रिंदा यूसुफ भागेझैं तपाईं पनि भाग्नुपर्ने हुन सक्छ। यूसुफ “भागे, र घरबाट बाहिर निस्के।” (उत्पत्ति ३९:१२) भाग्न सम्भव छैन भने तपाईं यसो भन्‍न सक्नुहुन्छ: “यसो नगर्नुहोस्‌!” अथवा “मलाई नछुनुस्‌ है!” वा “यस्तो कुरा मलाई मन पर्दैन।” सकेसम्म अरूलाई हैरान पारिने ठाउँमा जाँदै नजानुहोस्‌।

घरमा हुने डरको सामना गर्ने

हिंस्रक पतिसित डर लाग्छ भने तपाईं के गर्न सक्नुहुन्छ? पतिको व्यवहारले अचानक तपाईं अथवा तपाईंका छोराछोरीको स्वास्थ्य वा ज्यानै खतरामा पर्लाजस्तो भयो भने घरबाट कसरी भाग्ने भनी योजना बनाउनु बेस हुन सक्छ।a आफ्नो दाज्यू एसाव हिंस्रक भएको खण्डमा कसरी होसियारसाथ भाग्ने भनेर याकूबले योजना बनाएका थिए भनी बाइबल बताउँछ। पछि त्यस योजनाअनुसार चल्नु नपरे तापनि त्यो बुद्धिमानीसाथ अपनाइएको एउटा सतर्कता थियो। (उत्पत्ति ३२:६-८) भाग्ने योजना बनाउनुमा तपाईंलाई आपत्‌को बेला शरण दिने व्यक्‍तिलाई खबर गरिराख्नु समावेश छ। तपाईंलाई कुन-कुन कुराको आवश्‍यकता पर्न सक्छ त्यसबारे ती व्यक्‍तिसित पहिल्यै छलफल गर्न सक्नुहुन्छ। महत्त्वपूर्ण कागजातलगायत अन्य आवश्‍यक कुराहरू आफूसँगै राख्नु उचित हुन सक्छ।

आफ्नो पतिले गर्ने दुर्व्यवहारबारे अधिकारीहरूलाई रिपोर्ट गर्नु र उनीहरूको सुरक्षा खोज्नु पनि अर्को विकल्प हुन सक्छ।b सबैले आफ्नो कामको नतिजा भोग्नै पर्छ भनी बाइबलले सिकाउँछ। (गलाती ६:७) सरकारी अख्तियारवालाको विषयमा बाइबल यसो भन्छ: “असलै कामको लागि तिनी तिम्रो निम्ति परमेश्‍वरका सेवक हुन्‌। तर तिमीले खराब काम गऱ्‍यौं भने डराऊ।” (रोमी १३:४) घरमा कसैमाथि आक्रमण गर्नु भनेको बाटोमा कसैमाथि आक्रमण गर्नु जत्तिकै गम्भीर अपराध हो। थुप्रै देशमा कसैको पिछा गर्नुलाई पनि अपराध नै मानिन्छ।

हामीले माथि छलफल गरेका कदमहरू चाल्दा केही हदसम्म भए पनि डर कम हुन सक्छ। तर बाइबलले व्यावहारिक सल्लाह मात्र दिंदैन। बाइबल भनेको हाल परमेश्‍वरले के गरिरहनुभएको छ र भविष्यमा के गर्नुहुनेछ भन्‍ने कुरा प्रकट गर्ने अचुक भविष्यवाणीहरूको पुस्तक पनि हो। डरै-डरमा बाँच्न बाध्य मानिसहरूको लागि बाइबलमा कस्तो आशा दिइएको छ?

के हो डरको वातावरण?

प्रेरित पावलले यस्तो उल्लेखनीय कुरा लेखे: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने” हुनेछन्‌। (२ तिमोथी ३:१-३) ती शब्दहरूले साँच्चै डरलाग्दो समयबारे बताउँछन्‌!

येशूले “जगत्‌को अन्तको चिह्न[बारे]” कुरा गर्नुहुँदा उहाँले यसो भन्‍नुभयो: “जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्‌नेछ, ठूला ठूला भैंचालो जानेछ, औ विभिन्‍न ठाउँहरूमा रूढी र अनिकाल हुनेछ, आकाशबाट डरलाग्दा लक्षण र ठूला-ठूला चिन्हहरू हुनेछन्‌।” (मत्ती २४:३, ७, ८; लूका २१:१०, ११) त्यसकारण, हामीले देखेका “डरलाग्दा लक्षण” र अहिले व्याप्त डरको वातावरणलाई त्यसले झनै डरलाग्दो बनाएकोमा हामी छक्क पर्नु पर्दैन। तर ती लक्षणहरूको अर्थ के हो?

येशूले यसो भन्‍नुभयो: “जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनी जान।” (लूका २१:३१) अहिले हाम्रो समयमा हामी परमेश्‍वरको सरकारले स्वर्गबाट सारा मानिसजातिमाथि शासन गरेको आशा गर्न सक्छौं। (दानियल २:४४) त्यतिखेर जीवन कस्तो हुनेछ?

डराउनै नपर्ने समय!

बाइबलमा एउटा यस्तो शान्तिमय भविष्यबारे चर्चा गरिएको छ जत्तिखेर युद्ध हुनेछैन, दुष्टहरूको नामोनिसान रहनेछैन र पृथ्वीमा परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू मात्र हुनेछन्‌। पत्रुस, जो येशूका एक जना प्रेरित थिए, तिनले “भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिन[बारे]” लेखे। त्यतिखेर डराउनुपर्ने दुष्ट व्यक्‍ति कोही पनि हुनेछैन किनभने पृथ्वीमा “धार्मिकताले बास” गर्नेछ। (२ पत्रुस ३:७, ९, १३) एक-अर्कालाई साँच्चै प्रेम गर्ने भरोसायोग्य मानिसहरूमाझ बस्दा कत्ति मजा आउँछ होला, कल्पना गर्नुहोस्‌ त! यस प्रत्याशाले अहिलेको खतरनाक समयलाई बेग्लै दृष्टिकोणबाट हेर्न मदत गर्छ। खतरनाक समय सधैंभरि रहिरहनेछैन।—भजन ३७:९-११.

फिक्रीले घेरिएका मानिसहरूको फाइदाको लागि यहोवाका अगमवक्‍ताले यसो भने: “हृदय डरले भरिएकाहरूलाई भन, ‘साहस गर, न डराऊ। हेर, तिमीहरूका परमेश्‍वर बदला दिनलाई आउनुहुनेछ। परमेश्‍वर प्रतिफल दिनलाई आउनुहुनेछ। उहाँ आउनुहुनेछ, र तिमीहरूलाई बचाउनुहुनेछ।’ ” (यशैया ३५:४) यसकारण, साँचो परमेश्‍वरका सेवकहरूले निर्धक्क भई भविष्यको बाटो हेर्न सक्छन्‌। (फिलिप्पी ४:६, ७) यहोवालाई चिन्‍ने र उहाँका मायालु गुणहरू झल्काउने मानिसहरूले पृथ्वी भर्ने आफ्नो सुरुको उद्देश्‍य यहोवाले त्याग्नुभएको छैन भन्‍ने कुरा थाह पाउनु डरै-डरमा जीवन बिताएका मानिसहरूको लागि निकै सान्त्वनादायी छ।—उत्पत्ति १:२६-२८; यशैया ११:९.

मानिसजातिको लागि आफ्नो मायालु उद्देश्‍य पूरा गर्न यहोवालाई कुनै कुराले रोक्न सक्दैन भनेर हामीलाई थाह छ। (यशैया ५५:१०, ११; रोमी ८:३५-३९) यो कुरा बुझेपछि भने सुपरिचित भजनका शब्दहरू हामीलाई अर्थपूर्ण लाग्छ। यस अध्यायमा यस्तो लेखिएको पाउँछौं: “परमप्रभु [“यहोवा,” NW] मेरा गोठाला हुनुहुन्छ, . . . उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ। घोर अन्धकारमा मैले हिंड्‌नुपरे तापनि, म कुनै खतरादेखि डराउँनेछैन।” (भजन २३:१-४) दिन-दिनै समय झन्‌-झन्‌ डरलाग्दो हुँदै गए पनि डर-त्रासविनाको संसार नजिकै छ र त्यस्तो संसार पक्का आउनेछ। (g05 8/8)

[फुटनोटहरू]

a विवाहित जोडीदेखि छुट्टिएर बस्न बाइबल सिद्धान्तले अनुमति दिने परिस्थितिको सन्दर्भमा पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ १६०-१६१ हेर्नुहोस्‌।

b घरेलु हिंसाको सिकार भएकाहरूको सन्दर्भमा डिसेम्बर ८, २००१ अंकको ब्यूँझनुहोस्‌! पृष्ठ ३-१२ र फेब्रुअरी ८, १९९३ अंकको अवेक! पृष्ठ ३-१४ हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको चित्र]

डर-त्रासविनाको संसार परमेश्‍वरले चाँडै ल्याउनुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने