-
“अब त उहाँ सुध्रिनुहुन्छ होला”ब्यूँझनुहोस्!—२००१ | डिसेम्बर ८
-
-
“अब त उहाँ सुध्रिनुहुन्छ होला”
चार छोराछोरीकी आमा रोक्सानाa सुन्दरी र जाँगरिली थिइन्। दक्षिण अफ्रिकाको एक जना सम्मानित शल्यचिकित्सकसित तिनको विवाह भएको थियो। तिनी यसो भन्छिन्, “मेरो पति स्त्रीहरूप्रति निकै शालीन अनि पुरुषहरूमाझ पनि निकै लोकप्रिय हुनुहुन्छ।” तथापि रोक्सानाको पतिको नराम्रो पक्ष तिनको घनिष्ठ मित्रलाई समेत थाह छैन। “घरमा उहाँले सबैलाई थर्कमान बनाउनुहुन्छ। स-सानो कुरामा पनि उहाँ अत्यन्तै ईर्ष्यालु हुनुहुन्छ।”
आफ्नो कथा सुनाउँदै जाँदा रोक्सानाको अनुहारमा बेदनाका रेखाहरू प्रस्टै देखिन्थे। “विवाह गरेको केही हप्ता नबित्दै समस्या देखा पर्न थाल्यो। मेरा भाइहरू र आमा हामीलाई भेट्न आउनुभएको थियो। उहाँहरूसित कुरा गरेर हाँस्न पाउँदा मलाई साह्रै रमाइलो लागिरहेको थियो। तर उहाँहरू जाने बित्तिकै रिसले आगो हुँदै मेरो पतिले मलाई जोरसित धक्का दिएर सोफामा पछार्नुभयो। उहाँको यस्तो व्यवहार देख्दा मलाई अचम्म लाग्यो।”
दुःखको कुरा, त्यो त रोक्सानाको परीक्षाको सुरुआत मात्र थियो किनभने वर्षौंको दौडान उनी क्रूर कुटपिटको सिकार भइरहिन्। तिनलाई गरिने दुर्व्यवहारको चक्र कस्तो हुनेछ भनेर पहिल्यै अड्कल काट्न सकिन्छ जस्तो देखिन्थ्यो। रोक्सानाको पतिले तिनलाई पिट्नसम्म पिट्छन्, त्यसपछि पछुतो गर्दै अनेक किसिमबाट माफी माग्छन् र फेरि कहिल्यै यस्तो नगर्ने वाचा पनि गर्छन्। केही समय त तिनको आचरणमा केही सुधार देखिन्छ। तर त्यसपछि फेरि त्यही त्रासपूर्ण परिस्थिति सुरु हुन्छ। रोक्साना भन्छिन्, “अब त उहाँ सुध्रिनुहुन्छ होला भन्ने आशा मेरो मनमा पलाइरहन्छ। म उहाँलाई छोडेर पनि जान्छु तर किन हो फेरि उहाँकहाँ नै फर्केर आइहाल्छु।”
कतै कुनै दिन पतिको हिंसा झनै चर्किएला कि भनेर रोक्सानालाई डर पनि लाग्छ। तिनी यसो भन्छिन्, “उहाँले मलगायत छोराछोरी अनि आफैलाई समेत मार्ने धम्की दिनुभएको छ। एक चोटि त उहाँले मेरो घाँटीमा कैंची तेर्साउनुभयो। अर्को पटक उहाँले मलाई धम्काउँदै मेरो कानमा बन्दुक तेर्साएर बन्दुकको घोडो खिच्नुभयो! संयोगवश, बन्दुकमा गोली थिएन र बचें तर मलाई असाध्यै डर लाग्यो।”
मौन
रोक्साना जस्तै विश्वभरि करोडौं महिलाहरू हिंस्रक पुरुषहरूबाट पीडित छन्।b अधिकांश महिलाहरू आफूमाथि भइरहेको अत्याचारबारे मौन बस्छन्। तिनीहरू यसबारे उजुरी गर्नु बेकार हुनेछ भन्ने तर्क गर्छन्। आखिर, दुर्व्यवहार गर्ने अधिकांश पतिहरू आफूमाथि कसैले आरोप लगाउँदा सजिलै यसप्रकार खण्डन गर्ने गर्छन्, “मेरी स्वास्नी झनक्क रिसाइहाल्छे” अथवा “ऊ असाध्यै बढाइचढाइ गरेर कुरा गर्छे।”
आफूलाई सबैभन्दा सुरक्षित लाग्ने ठाउँ अर्थात् आफ्नो घरमै महिलाहरू डरै-डरमा बाँच्नु भनेको साँच्चै दुःखलाग्दो कुरा हो। यद्यपि, अर्को दुःखलाग्दो कुरा के पनि छ भने, दुःख पाउनेलाई भन्दा दुःख दिनेलाई नै अक्सर सहानुभूति देखाइन्छ। निस्सन्देह, सीधासाधा व्यक्तिले आफ्नो पत्नीलाई कुट्छ भन्ने कुरा कसै-कसैलाई पत्याउनै गाह्रो लाग्छ। अनिता नाउँ गरेकी स्त्रीले आफ्नो आदरणीय पतिले गरेको दुर्व्यवहारबारे खुलस्त भएर कुरा गर्दा के भयो, विचार गर्नुहोस्। “हामीले चिनेको एक जना व्यक्तिले मलाई यसो भन्यो: ‘यस्तो भलादमी मानिसलाई तिमीले कसरी यस्तो आरोप लगाउन सकेकी हँ?’ अर्कोले चाहिं मैले नै उहाँसित निहुँ खोजेको हुनुपर्छ भन्यो! पछि, मेरो पतिको कर्तुत उदांग भइसकेपछि पनि मेरा केही साथीहरू मबाट टाढिन थाले। तिनीहरूको भनाइअनुसार मैले ती सबै सहनुपर्थ्यो किनकि ‘लोग्ने मानिसहरू त्यस्तै हुन्छन्।’ ”
अनिताको अनुभवले देखाएझैं आफनो जीवनसाथीमाथि गरिने दुर्व्यवहारको कटु सत्यता मानिलिन धेरैलाई गाह्रो पर्छ। आफूले माया गर्छु भनी दाबी गरेको पत्नीमाथि नै पुरुषहरू यतिबिघ्न निर्दयी हुनुको कारण के हो? हिंसाको सिकार भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ? (g01 11/8)
-
-
किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्?ब्यूँझनुहोस्!—२००१ | डिसेम्बर ८
-
-
किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्?
अन्य सबै प्रकारका अपराधीहरूबाट भन्दा पनि आफ्नै पुरुष साथी वा पतिद्वारा महिलाहरूको हत्या हुनसक्ने सम्भावना धेरै हुनसक्छ भनी केही विशेषज्ञहरू बताउँछन्। पत्नीमाथि गरिने दुर्व्यवहार रोक्न असंख्य अध्ययनहरू गरिएका छन्। कस्तो स्वभावको मानिसले आफ्नो पत्नीलाई कुटपिट गर्छ? उसको बाल्यकाल कस्तो थियो? विवाहपूर्व भेटघाटको दौडान के ऊ हिंस्रक थियो? कुटपिट गर्ने व्यक्तिले उपचारप्रति कस्तो प्रतिक्रिया देखाउँछ?
कुटपिट गर्ने सबै व्यक्तिहरू एकै किसिमका हुँदैनन् भनी विशेषज्ञहरूले पत्ता लगाएका छन्। कहिलेकाहीं मात्र कुटपिट गर्ने व्यक्ति पनि हुन्छ। यस्तो व्यक्तिले कुनै हातहतियारको प्रयोग गर्दैन र आफ्नो पत्नीलाई लगातार दुर्व्यवहार गरेको रेकर्ड पनि हुँदैन। ऊ वास्तवमा हिंस्रक व्यक्ति हुँदैन तर उसलाई कुनै बाहिरी तत्त्वले उक्साएको हुनसक्छ। अर्कोतर्फ, सधैं कुटपिट गर्ने बानी बसिसकेको व्यक्ति पनि हुन्छ। उसले सधैंजसो दुर्व्यवहार गरिरहन्छ र आफूले गरेको गल्तीको पश्चात्ताप गर्ने छाँटकाँट पनि देखाउँदैन।
यद्यपि, कुटपिट गर्ने व्यक्तिहरूको स्वभाव बेग्लाबेग्लै हुन्छ भन्नुको अर्थ कुनै-कुनै प्रकारको कुटपिट गम्भीर हुँदैन भन्न खोजिएको होइन। साँच्चै भन्ने हो भने, सबै प्रकारको शारीरिक दुर्व्यवहारले चोट पुऱ्याउनसक्छ वा भनौं मृत्युसमेत हुनसक्छ। यसप्रकार, एक जना व्यक्तिले गर्ने हिंसा अर्कोको भन्दा कम वा कम घातक छ भन्दैमा कुटपिटलाई छुट दिन मिल्दैन। स्पष्टतः कुनै पनि हालतमा कुटपिट “स्वीकार्य” हुँदैन। तथापि, बाँचुञ्जेल सँगै बस्ने सँगै मर्ने बाचा बाँधेको आफ्नी पत्नीलाई पुरुषले किन शारीरिक दुर्व्यवहार गर्छ त?
पारिवारिक पृष्ठभूमिको प्रभाव
शारीरिक दुर्व्यवहार गर्ने धेरैजसो पुरुषहरू दुर्व्यवहारी परिवारमा हुर्केका हुन्छन् भन्ने कुरामा अचम्म मान्नु पर्दैन। पत्नीमाथि गरिने दुर्व्यवहारसम्बन्धी अनुसन्धान गर्न झन्डै दुई दशक बिताएका माइकल ग्रोच यसप्रकार लेख्छन्, “कुटपिट गर्ने अधिकांश पुरुषहरू घरेलु ‘झैझगडाको वातावरण[मा]’ हुर्केका हुन्छन्। तिनीहरूको बाल्यकाल र किशोरावस्था भावनात्मक अनि शारीरिक दुर्व्यवहार ‘सामान्य’ ठानिने अमित्रैलो वातावरणमा बितेको हुन्छ।” एक विशेषज्ञको भनाइअनुसार यस्तो वातावरणमा हुर्केको पुरुषले “महिलाहरूलाई घृणा गर्न सानो उमेरदेखि नै आफ्नो बाबुबाट” सिकिसकेको हुन्छ। महिलाहरू सधैं पुरुषहरूकै अधीनमा बस्नुपर्छ र तिनीहरूलाई अधीनमा राख्ने तरिका उनीहरूलाई तर्साउनु, चोट पुऱ्याउनु अनि होच्याउनु हो भनेर एउटा पुरुषले सानो छँदै सिक्छन्। साथै, आफ्नो बाबुको समर्थन पाउन आफ्नो बाबुको जस्तै व्यवहार गर्नुपर्छ भनेर उसले सिक्छ।”
चाहे राम्रो होस् या नराम्रो, आमाबाबुको आचरणले छोराछोरीमाथि गहिरो असर पार्छ भनी बाइबलले स्पष्ट पार्छ। (हितोपदेश २२:६; कलस्सी ३:२१) निस्सन्देह, पारिवारिक पृष्ठभूमिले पुरुषलाई कुटपिट गर्ने छुट दिंदैन तर यसले हिंसात्मक स्वभाव सुरु हुनुको कारण बुझ्न मदत गर्नसक्छ।
सांस्कृतिक प्रभाव
कुनै-कुनै मुलुकमा महिलाहरूलाई कुटपिट गर्नु सामान्य साथै स्वीकार्यसमेत ठानिन्छ। संयुक्त राष्ट्रको प्रतिवेदनले यसो भन्छ, “आफ्नो पत्नीलाई कुटपिट गर्ने अथवा शारीरिक रूपमा तर्साउने पतिको अधिकारलाई धेरैजसो समाजमा पूर्णतया मान्यता दिइन्छ।”
यस्तो दुर्व्यवहारलाई मान्यता नदिने देशहरूमा समेत धेरैले हिंसात्मक व्यवहार गरिरहेका हुन्छन्। यस सम्बन्धमा केही मानिसहरूका तर्कहीन सोचाइहरू निकै घातक हुन्छन्। दक्षिण अफ्रिकामा प्रकाशित हुने विक्ली मेल एण्ड गार्डियन पत्रिकाअनुसार केप प्रायद्वीपमा गरिएको अध्ययनले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्दिनँ भनी दाबी गर्ने अधिकांश पुरुषहरूको विचारमा महिलाहरूलाई पिट्नु ठीकै हो र यसलाई हिंसा भन्नु मिल्दैन।
स्पष्टतः अक्सर यस्ता विकृत विचारहरू बाल्यकालदेखि नै सुरु हुन्छ। उदाहरणका लागि, बेलाइतमा गरिएको एउटा अध्ययनले देखाएअनुसार ११ र १२ वर्षका ७५ प्रतिशत केटाहरूको विचारमा महिलाले पुरुषलाई रिस उठाएको खण्डमा महिलालाई कुटपिट गर्नु ठीकै हो।
कुटपिट गर्नेहरूलाई कुनै छुट छैन
माथि उल्लिखित तथ्यहरूले पत्नीमाथि गरिने दुर्व्यवहार के हो, सो बुझाउन मात्र खोजेको हो तर यी तथ्यहरूले यस्तो घृणित कार्यलाई कदापि छुट दिंदैन। सरल अर्थमा भन्ने हो भने, आफ्नो पत्नीलाई कुटपिट गर्नु यहोवाको नजरमा घोर पाप हो। उहाँको वचन बाइबलमा यस्तो लेखिएको छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।”—एफिसी ५:२८, २९.
यस रीतिरिवाजको “आखिरी दिनमा” धेरै मानिसहरू “दुर्व्यवहारी” “स्वाभाविक प्रेम रहितका” र “निष्ठूर” हुनेछन् भनेर बाइबलले धेरैअघि भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:१-३, द न्यु इंग्लिस बाइबल) पत्नीप्रति गरिने दुर्व्यवहारको व्यापकता मात्र पनि यस भविष्यवाणीले बताएको समयमा हामी बाचिरहेका छौं भन्ने कुराको संकेत हो। तर शारीरिक दुर्व्यवहारको सिकार भएकाहरूलाई मदत गर्न के गर्न सकिन्छ? के कुटपिट गर्ने व्यक्तिले आफ्नो आचरणमा परिवर्तन ल्याउने कुनै आशा छ? (g01 11/8)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आफ्नी पत्नीलाई कुटपिट गर्ने व्यक्ति र अपरिचित व्यक्तिलाई मुक्का हान्ने अपराधी वास्तवमा उस्ता-उस्तै हो।”— जब पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्
[पृष्ठ ६-मा भएको पेटी]
पुरुष हुनुको घमण्ड एक विश्वव्यापी समस्या
ल्याटिन अमेरिकाबाट निस्केको “माचिस्मो” शब्द अंग्रेजी भाषा बोल्नेहरूले अत्यन्तै प्रयोग गर्न थालेका छन्। यसले पुरुष हुनुको घमण्डलाई संकेत गर्नुका साथै महिलाहरूमाथि दुर्व्यवहार गर्ने मनोभावलाई संकेत गर्छ। तर पुरुष हुनुको घमण्ड ल्याटिन अमेरिकामा मात्र सीमित छैन भन्ने कुरा निम्न रिपोर्टहरूले संकेत गर्छ।
इजिप्ट: आलेक्जान्ड्रियामा गरिएको तीन महिने अध्ययनले देखाएअनुसार महिलाहरूलाई चोट पुऱ्याउने प्रमुख कारक तत्त्व भनेको नै घरेलु हिंसा हो। स्थानीय स्वास्थ्य चौकीमा घरेलु हिंसाद्वारा प्रभावित २७.९ महिलाहरू उपचारको लागि आउने तथ्यले यस कुराको पुष्टि दिन्छ।—महिला विषयक चौथो विश्व सम्मेलनको बुँदा ५.
थाइल्याण्ड: बैंकक शहर नजिकैको सबैभन्दा ठूलो क्षेत्रमा ५० प्रतिशत विवाहित महिलाहरू नियमित रूपमा पिटिन्छन्।—प्यासिफिक इन्स्टिच्युट फर विमेन्स् हेल्थ।
हङकङ: “पतिद्वारा पिटिएको भनी रिपोर्ट गर्ने महिलाहरूको संख्यामा गत वर्ष ४० प्रतिशतले वृद्धि भयो।”—साउथ चाइना मर्निङ पोस्ट, जुलाई २१, २०००.
जापान: सन् १९९५ मा हिंसाबाट बच्न आश्रय खोज्ने महिलाहरूको संख्या ४,८४३ थियो भने, सन् १९९८ मा त्यो संख्या बढेर ६,३४० पुग्यो। “तीमध्ये एक तिहाइको भनाइअनुसार आफ्नो पतिको हिंसात्मक व्यवहारले गर्दा तिनीहरू आश्रय खोजिरहेका थिए।”—जापान टाइम्स, सेप्टेम्बर १०, २०००.
बेलाइत: “बेलाइतभरि हरेक छ सेकेन्डमा एउटा घरमा बलात्कार, कुटपिट वा हातहतियारको प्रहारजस्ता घटना घट्ने गर्छन्।” लण्डन नगर प्रहरीको एक गुप्तचर विभागअनुसार “प्रहरीले घरेलु हिंसाको सिकार भएकाहरूबाट हरेक दिन १,३०० अर्थात् वर्षमा ५,७०,००० भन्दा धेरै टेलिफोन कलहरू प्राप्त गर्छन्। त्यसमध्ये ८१ प्रतिशत टेलिफोन कलहरू त पुरुषहरूको आक्रमणको सिकार भएका महिलाहरूका हुन्छन्।”—द टाइम्स, अक्टोबर २५, २०००.
पेरू: प्रहरीलाई गरिने अपराधका उजुरीहरूमध्ये ७१ प्रतिशत उजुरी त पतिद्वारा कुटिएका महिलाहरूको नै हुन्छन्।—प्यासिफिक इन्स्टिच्युट अफ विमेन्स् हेल्थ।
रूस: “एक वर्षमा १४,५०० रूसी महिलाहरू आफ्ना पतिद्वारा मारिए र घरेलु हिंसामा परेर थप ५६,४०० महिलाहरू अपांग अथवा नराम्रो गरी घाइते भए।”—द गार्डियन।
चीन: जिङलुङ फ्यामिली सेन्टरका निर्देशक प्राध्यापक चेन युयुन यसो भन्छन्, “यो एउटा नयाँ समस्या हो। विशेष गरी शहरी क्षेत्रमा यो समस्या बढिरहेको छ। छिमेकीहरूबाट आउने दबाउले मात्र घरेलु हिंसालाई कम गर्ला जस्तो छैन।”—द गार्डियन।
निकारागुआ: “निकारागुआमा महिला विरुद्ध हिंसा निकै बढिरहेको छ। एउटा सर्वेक्षणले दाबी गरेअनुसार गत वर्ष मात्रै निकारागुआका ५२ प्रतिशत महिलाहरू आफ्नो पतिबाट कुनै न कुनै प्रकारको घरेलु हिंसाबाट पीडित भए।”—बीबीसी समाचार।
[पृष्ठ ७-मा भएको पेटी]
खतराका संकेतहरू
संयुक्त राज्य अमेरिका, युनिभर्सिटी अफ रोड आइल्याण्डमा कार्यरत रिचर्ड जे. जेल्सद्वारा गरिएको अध्ययनअनुसार घरेलु वातावरणमा हुने शारीरिक अनि भावनात्मक दुर्व्यवहारका खतराहरू यसप्रकार छन्:
१. दुर्व्यवहार गर्ने पुरुष पहिला पनि घरेलु हिंसामा सहभागी भइसकेको छ।
२. ऊ बेरोजगार छ।
३. कम्तीमा पनि वर्षमा एक चोटि उसले अवैध लागूऔषध सेवन गर्छ।
४. घरमा उसले आफ्नो बुबाले आमालाई कुटेको देखेको छ।
५. विवाह नगरी दुई जना सँगै बसेको छ।
६. जागिर त छ तर तलब एकदमै कम पाउँछ।
७. उसले उच्च माध्यामिक विद्यालयको पढाइ पूरा गरेको छैन।
८. उसको उमेर १८ देखि ३० वर्षबीचको छ।
९. आमा या बुबा वा दुवैले घरमा आफ्ना छोराछोरीमाथि हिंसात्मक दुर्व्यवहार गर्ने गर्छन्।
१०. आयस्रोत गरिबीको स्तरभन्दा कम छ।
११. पुरुष र महिलाको जातीय पृष्ठभूमि बोग्लाबेग्लै छ।
[पृष्ठ ७-मा भएको चित्र]
घरेलु हिंसाले केटाकेटीहरूलाई गम्भीर रूपमा असर गर्नसक्छ
-
-
कुटपिटको सिकार भएका महिलाहरूको लागि मदतब्यूँझनुहोस्!—२००१ | डिसेम्बर ८
-
-
कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
हिंसाको सिकार भएका महिलाहरूलाई मदत गर्न के गर्न सकिन्छ? सर्वप्रथम, तिनीहरूले कस्तो समस्याको सामना गर्नुपरिरहेको छ सो बुझ्नुपर्छ। कुटपिट गर्नेहरूले अक्सर शारीरिक हानि मात्र पुऱ्याइरहेका हुँदैनन्। तिनीहरूले प्रायः मौखिक दुर्वचन र धम्की दिने गर्छन्, जसले गर्दा दुर्व्यवहारको सिकार हुने व्यक्तिले आफूलाई मूल्यहीन र निस्सहाय ठान्छन्।
रोक्सानालाई विचार गर्नुहोस्, जसको व्यथा सुरुको लेखमा वर्णन गरिएको थियो। कहिलेकाहीं उनको पतिले हतियार जस्तै घातक शब्दहरू बोल्छन्। रोक्साना आफ्नो मनको बह यसरी पोख्छिन्, “उहाँ मलाई होच्याएर जे मन लाग्यो त्यही नाउँले बोलाउनुहुन्छ।” उहाँ यसो भन्नुहुन्छ: “तैंले त स्कूलको पढाइसमेत सकाएकी छैनस्। के मविना तँ छोराछोरी हुर्काउन सक्छेस्? तँ अल्छे र केही काम नलाग्ने आमा होस्। तैंले मलाई छोडिस् भने के तँ जस्ती आमालाई अदालतले छोराछोरीको जिम्मा लगाउला र?”
रोक्सानाको पतिले पैसाको सन्दर्भमा कन्जुस्याइँ गरेर आफ्नो नियन्त्रण जमाउँछन्। तिनले उनलाई गाडी प्रयोग गर्न दिंदैनन्, उनी के गर्दैछिन् भनेर जान्न दिनभरि नै घरी-घरी घरमा फोन गरिरहन्छन्। यदि उनले आफूलाई मन लागेको कुरा बताएमा तिनी झोक्किहाल्छन्। त्यसैकारण, रोक्साना आफ्नो मनको कुरा कहिल्यै बताउँदिनन्।
पत्नीमाथि गरिने दुर्व्यवहार एउटा निकै जटिल विषय हो भनी हामी यसबाट बुझ्न सक्छौं। मदत अनि प्रोत्साहन दिनको लागि तिनीहरूको कुरा अनुकम्पासहित सुन्नुहोस्। आफूले भोगिरहेको दुर्व्यवहारबारे कुरा गर्न अक्सर पीडित व्यक्तिलाई निकै गाह्रो पर्छ भन्ने कुरा नबिर्सनुहोस्। तपाईंको लक्ष्य पीडितलाई बलियो बनाउने हुनुपर्छ ताकि तिनले आफैले परिस्थितिको सामना गर्न सकोस्।
कुटपिटको सिकार भएका केही महिलाहरूले सम्बन्धित निकायको मदत खोज्नुपर्ने हुनसक्छ। कहिलेकाहीं गम्भीर परिस्थितिमा प्रहरी वा अन्य कुनै स्रोतबाट मदत लिंदा दुर्व्यवहार गर्ने व्यक्तिले आफ्नो कार्यको गम्भीरताबारे बुझ्नसक्छन्। (पृष्ठ ९ को बाँकी भाग)
तर यो कुरा पनि साँचो हो कि, त्यस्तो घटना घटेको केही दिनमै दुर्व्यवहारीले आफ्नो मनोवृतिमा परिवर्तन ल्याउनुपर्ने कुरा बिर्सिहाल्छन्।
के कुटपिटको सिकार भएकी महिलाले आफ्नो पतिलाई छोड्नु उपयुक्त हुन्छ? बाइबलले वैवाहिक सम्बन्धलाई गम्भीरतासाथ लिन्छ। यद्यपि, आफ्नो स्वास्थ्य अनि जीवनलाई नै खतरामा पार्ने पतिसित बस्नैपर्छ भनेर यसले कुटपिटको सिकार भएकी महिलालाई बाध्य तुल्याउँदैन। मसीही प्रेरित पावलले यस्तो लेखे: “तर छुट्टेर बसी भने त्यसले विवाह नगरी बसोस्, अथवा पतिसित मिलापमा बसोस्।” (१ कोरिन्थी ७:१०-१६) गम्भीर परिस्थितिहरूमा छुट्टिएर बस्न बाइबलले निषेध नगरेको कारण महिलाले यस्तो परिस्थितिमा जे निर्णय गर्छ, त्यो उसको व्यक्तिगत निर्णय हो। (गलाती ६:५) पत्नीलाई उसको पतिसित छुट्टिएर बस्ने सल्लाह कसैले दिनु उपयुक्त हुँदैन न त उसको स्वास्थ्य, जीवन र आध्यात्मिकतामाथि खतरा आइपर्दा दुर्व्यवहार गर्ने पतिसित सँगै बस्ने सल्लाह दिनु उपयुक्त हुन्छ।
के दुर्व्यवहारीको लागि कुनै आशा छ?
पत्नीलाई गरिने दुर्व्यवहार बाइबल सिद्धान्तअनुसार जघन्य अपराध हो। एफिसी ४:२९, ३१ ले यसो भन्छ: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्, . . . सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्।”
ख्रीष्टको अनुयायी हुँ भनी दाबी गर्ने कुनै पनि पतिले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्छ भने उसले कुन मुखले आफ्नो पत्नीलाई प्रेम गर्छु भनी भन्न सक्छ! यदि तिनले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्छ भने तिनले गरेका अन्य असल कार्यहरूको के नै महत्त्व रहन्छ र? यस्तो “मारपिट” गर्ने व्यक्ति मसीही मण्डलीमा कुनै पनि विशेष सुअवसर पाउने योग्यको हुँदैन। (१ तिमोथी ३:३; १ कोरिन्थी १३:१-३) साँच्चै भन्ने हो भने, आफूलाई मसीही भन्ने कुनै पनि व्यक्ति यदि अत्यन्तै रिसाहा र रिसलाई नियन्त्रणमा राख्न नसक्ने छ र पश्चात्तापी मनोभाव पनि देखाउँदैन भने त्यो व्यक्ति मसीही मण्डलीबाट बहिष्कार हुनसक्छ।—गलाती ५:१९-२१; २ यूहन्ना ९, १०.
के हिंसात्मक व्यक्तिहरूले आफ्नो आचरण परिवर्तन गर्नसक्छन्? कसै-कसैले गरेका छन्। यद्यपि, साधारणतया जबसम्म दुर्व्यवहार गर्ने व्यक्तिले (१) आफ्नो आचरण गलत हो भनेर स्वीकार्दैन, (२) आफूलाई सुधार्न चाहँदैन र (३) मदत खोज्दैन, तबसम्म त्यो व्यक्ति परिवर्तन हुन सक्दैन। यस्ता व्यक्तिहरूलाई परिवर्तन गर्न बाइबल शक्तिशाली साबित भएको कुरा यहोवाका साक्षीहरूले अनुभव गरेका छन्। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने धेरै जिज्ञासु व्यक्तिहरूले परमेश्वरलाई खुसी तुल्याउने बलियो चाहना विकास गरेका छन्। “अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ” भनी यी नयाँ बाइबल विद्यार्थीहरूले यहोवाबारे सिक्छन्। (भजन ११:५) निस्सन्देह, कुटपिट गर्नेहरूले आफ्नो आचरणमा परिवर्तन ल्याउनु भनेको कुटपिट गर्न छोड्नु मात्र होइन। तिनले आफ्नो पत्नीप्रति पूर्णतया नयाँ दृष्टिकोण राख्न सिक्नुपर्छ।
जब कुनै मानिसले परमेश्वरको ज्ञान प्राप्त गर्छ तब तिनले आफ्नो पत्नीलाई नोकरको रूपमा होइन तर एक जना “सहयोगी[को]” रूपमा र हेला गर्न होइन तर ‘आदर गर्न’ सिक्छन्। (उत्पत्ति २:१८; १ पत्रुस ३:७) तिनले अनुकम्पा देखाउन सिक्नुका साथै आफ्नो पत्नीको विचारधारा सुन्नुपर्ने आवश्यकतालाई बुझ्छ। (उत्पत्ति २१:१२; उपदेशक ४:१) यहोवाका साक्षीहरूले सञ्चालन गर्ने बाइबल अध्ययन कार्यक्रमले धेरै दम्पतीहरूलाई मदत गरेको छ। तानाशाह, निरंकुश वा हुल्याहा व्यक्तिको लागि मसीही परिवारमा कुनै स्थान छैन।—एफिसी ५:२५, २८, २९.
“परमेश्वरको वचन जीवित र प्रबल छ।” (हिब्रू ४:१२) त्यसैले, बाइबलमा भएको बुद्धिले दम्पतीहरूलाई तिनीहरूले सामना गर्ने समस्यालाई विश्लेषण गर्न मदत गर्नुका साथै ती समस्याहरूसित लड्न साहस प्रदान गर्छ। योभन्दा पनि अझ ठूलो कुरा त, यहोवाले नियुक्त गर्नुभएको राजाले स्वर्गबाट सबै आज्ञाकारी मानवजातिमाथि शासन गर्नुहुँदा हिंसाविनाको संसार हेर्न पाउने पक्का अनि सान्त्वनादायी आशा बाइबलमा छ। बाइबल यसो भन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दु:खीहरूलाई उसले छुटकारा दिनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”—भजन ७२:१२, १४. (g01 11/8)
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
तानाशाह, निरंकुश वा हुल्याहा व्यक्तिको लागि मसीही परिवारमा कुनै स्थान छैन
[पृष्ठ ८-मा भएको पेटी]
गलत धारणाहरूलाई सच्याउँदै
• पतिहरूले पत्नीहरूलाई कुटपिट गर्नुको कारण स्वयम् पत्नीहरू नै हुन्।
पत्नीले नै पहिला निहुँ खोजेको दाबी गर्दै कुटपिट गर्ने अधिकांश व्यक्तिहरूले आफूले गरेको दुर्व्यवहारको दोषी आफूलाई ठान्दैनन्। परिवारका केही मित्रहरूले समेत पत्नी नै अर्घेली स्वभावकी हुने भएकीले कहिलेकाहीं पतिले जथाभावी व्यवहार गर्नु कुनै अचम्मलाग्दो कुरो होइन भन्ने सोचाइ राख्छन्। तर यसो गर्नु भनेको पीडितलाई दोष लगाउनु र पीडा दिने व्यक्तिलाई समर्थन गर्नु बराबर हो। साँच्चै भन्ने हो भने, कुटपिटको सिकार भएका पत्नीहरूले आफ्नो पतिलाई मनाउन सक्दो प्रयास गर्छन्। यसबाहेक, आफ्नो जीवनसाथीलाई कुट्नु भनेको कुनै पनि हालतमा उचित होइन। द बेटरर्—अ साइकोलोजिकल प्रोफाइल नामक पुस्तक यसो भन्छ, “अदालतले उपचारको लागि पठाउने गरेका पत्नीलाई दुर्व्यवहार गर्ने पुरुषहरूलाई प्रायः हिंसात्मक व्यवहार गर्ने बानी परिसकेको हुन्छ। तिनीहरू हिंसालाई रिस अनि नैराश्यबाट उम्कने उपाय, झगडालाई वशमा राख्ने वा ठेगान लगाउने तरिका अनि तनाउ कम गर्ने माध्यम हो भन्ठान्छन्। अक्सर, तिनीहरूले आफूलाई दोषी महसुस गर्दैनन् वा समस्यालाई गम्भीरतासाथ लिंदैनन्।”
• रक्सीले गर्दा पनि पतिले आफ्नी पत्नीलाई कुट्छ।
हो, रक्सी पिएको बेला केही पुरुषहरू बढी नै हिंसात्मक हुन्छन्। तर के रक्सीलाई नै दोष दिनु मिल्छ र? लेखिका के. जे विल्सन आफ्नो पुस्तक ह्वेन भ्वाइलेन्स बिगिन्स् एट होम-मा यस्तो लेख्छिन्, “रक्सीले मात्तिएर कुटपिट गर्ने व्यक्तिले आफूले गरेको दुर्व्यवहारको दोष रक्सीलाई दिन्छन्।” तिनी अझै यसो भन्छिन्, “हाम्रो समाजमा रक्सीले मात्तिएर गरिने घरेलु हिंसाले गर्दा त्यसलाई सहज रूपमा लिइन्छ। दुर्व्यवहारको सिकार भएकी महिलाले आफ्नो पतिलाई दुर्व्यवहारी नभई पियक्कड वा जँड्याहा मात्र हुन् भन्ठान्छिन्। यस्तो सोचाइले गर्दा महिलाहरू “पुरुष पियक्कड हुन छोडेमा हिंसा हुन पनि बन्द हुन्छ” भन्ने झूठो आशामा पर्नसक्छन् भनी विल्सन औंल्याउँछिन्।
हालै, थुप्रै अनुसन्धानकर्ताहरूले रक्सी पिउनु अनि कुटपिट गर्नुलाई दुई अति बेग्लाबेग्लै समस्याको रूपमा लिन्छन्। आखिर, प्रायजसो दुर्व्यसनी पुरुषहरूले आफ्नो पत्नीलाई कुटपिट गर्दैनन्। ह्वेन मेन बेटर वुमेन शीर्षक पुस्तकका लेखकहरू यसो भन्छन्, “वास्तवमा कुटपिटको सिकार भएका महिलाहरूलाई नियन्त्रणमा राख्न, तर्साउन अनि दबाउन सफल भएको कारण नै कुटपिट गर्ने कार्यले निरन्तरता पाइरहेको छ। . . . रक्सी र लागू पदार्थको दुर्व्यसन कुटपिट गर्ने व्यक्तिको जीवनशैलीका भाग हुन्। तर रक्सी वा लागू पदार्थको प्रयोगले गर्दा नै हिंसा हुन्छ भन्नु गलत हुनेछ।”
• कुटपिट गर्ने व्यक्तिहरूले सबैसित हिंसात्मक व्यवहार गर्छन्।
अक्सर कुटपिट गर्ने व्यक्तिहरू पनि अरूको राम्रो मित्र बन्नसक्छन्। उसले राम्रो र नराम्रो दुवै रूप देखाइरहेको हुन्छ। त्यसैकारण, परिवारका मित्रहरूलाई उसले गरेको हिंसात्मक व्यवहार विश्वास गर्न गाह्रो हुनसक्छ। तथापि साँचो कुरा के हो भने, पत्नीमाथि कुटपिट गर्ने व्यक्तिले आफ्नो पत्नीलाई दबाउन क्रूर तरिका अपनाउँछ।
• महिलाहरूले दुर्व्यवहारको विरोध गर्दैनन्।
साहाराको लागि कतै जान नसक्ने महिलाहरूको परिस्थितिलाई नबुझेर यस्तो धारणा राखेको जस्तो देखिन्छ। कुटपिटको सिकार भएका महिलाहरूलाई दुई चार दिन त आफ्ना मित्रहरूले आश्रय देलान् तर त्यसपछि के गर्ने? जागिर खोज्नु, घरको भाडा तिर्नु अनि छोराछोरी हुर्काउने कुरा सोच्दा मात्र पनि त्यसले उसलाई निरुत्साहित पार्नसक्छ। छोराछोरी लिएर भाग्न कानुनले निषेध पनि गर्नसक्छ। कसै-कसैले भाग्ने प्रयास नगरेका होइनन् तर तिनीहरूलाई जबरजस्ती वा फकाइ फुस्ल्याइ फर्काइयो। परिस्थितिलाई राम्ररी नबुझ्ने मित्रहरूले यस्ता महिलाहरू आफूमाथि भएको दुर्व्यवहारको विरोध गर्दैनन् भन्ने धारणा राख्नसक्छन्।
-
-
“कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”ब्यूँझनुहोस्!—२००१ | डिसेम्बर ८
-
-
“कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”
कामिरहेको ओठलाई हातले छोप्दै लोडर्स आफ्नो कोठाको झ्यालबाट एक टक लगाएर शहरलाई हेर्छे। उनी एउटी ल्याटिन अमेरिकी महिला हुन्, जसले २० वर्षभन्दा बढी आफ्नो हिंसात्मक पति एलफ्रेडोबाट दुःख भोगिन्। एलफ्रेडो आफ्नो जीवन परिवर्तन गर्न उत्प्रेरित भएका थिए। तथापि, आफूले भोगेका शारीरिक अनि भावनात्मक चोटबारे बताउन लोड्र्सलाई अझै पनि गाह्रो लाग्छ।
लोड्र्स मधुरो स्वरमा यसो भन्छिन्, “हाम्रो विवाह भएको दुइ हप्तापछि नै यो सबै हुन थाल्यो।” पहिलो पटक उहाँले मेरो दुइटा दाँत झारिदिनुभयो। अर्को पटक मैले छलें र उहाँको मुड्की दराजमा बजारियो। तर उहाँले जे मुखमा आयो त्यै नाउँहरूले बोलाउँदा त्यसले मलाई झनै चित्त दुख्थ्यो। उहाँले मलाई ‘रद्दीको टोकरी’ भनी बोलाउनुहुन्थ्यो र मलाई एउटी मूर्ख केटीसरह व्यवहार गर्नुहुन्थ्यो। म उहाँलाई छोड्न चाहन्थें तर म तीन-तीन जना छोराछोरी लिएर कहाँ जाने?”
एलफ्रेडो स्नेहपूर्वक आफ्नो हात लोड्र्सको कुममा राख्छन्। तिनी यसो भन्छन्, “म एक जना उच्च पदाधिकारी हुँ। दुर्व्यवहार नगर्ने आदेश दिंदै अदालतले मलाई पूर्जी पठाउँदा मैले निकै अपमानित महसुस गरें। मैले आफ्नो आचरण परिवर्तन गर्ने कोसिस गरें तर समयको दौडान फेरि पुरानै आचरणअनुसार चलिरहेको हुन्थें।”
त्यसोभए परिस्थिति कसरी परिवर्तन भयो त? अलि हल्का महसुस गर्दै लोड्र्स भन्छिन्, “सडकको छेउमा पसल थाप्ने साहुनी यहोवाका साक्षी थिइन्। तिनले मलाई बाइबल बुझ्न मदत गर्ने प्रस्ताव राखिन्। यहोवा परमेश्वरले महिलाहरूलाई कदर गर्नुहुन्छ भन्ने कुरा मैले सिकें। सुरुमा मेरो श्रीमान् एलफ्रेडो रिसाउनुभए तापनि म यहोवाका साक्षीहरूका सभाहरूमा उपस्थित हुन थालें। राज्य भवनका साथीहरूसित समय बिताउन पाउनु मेरोलागि नौलो अनुभव थियो। आफनो एउटा छुट्टै विश्वास भएको, त्यसबारे निर्धक्कसाथ अरूलाई बताउन सक्छु साथै अरूलाई सिकाउनसमेत त्यसलाई प्रयोग गर्नुसक्छु भन्ने कुरा थाह पाउँदा म छक्क परें। परमेश्वरले मलाई मूल्यवान् ठान्नुहुँदो रहेछ भन्ने कुरा मैले महसुस गरें। यसले मलाई साहस दियो।
“मेरो जीवनमा आएको एउटा निर्णायक मोडलाई म कहिल्यै भुल्न सक्दिनँ। एलफ्रेडो अझै पनि हरेक आइतबार क्याथोलिक मासमा उपस्थित हुने गर्नुहुन्थ्यो र यहोवाका साक्षीहरूसितको मेरो क्रियाकलापलाई उहाँ विरोध गर्नुहुन्थ्यो। मैले सीधै उहाँको आँखामा हेरें अनि शान्त तर निर्धक्कसित यसो भनें: ‘एलफ्रेडो, तपाईंको र मेरो धारणा फरक छ।’ अनि उहाँले मलाई कुट्नुभएन! त्यसको धेरै समय नबित्दै मैले बप्तिस्मा लिएँ र अहिले पाँच वर्ष बितिसक्यो उहाँले मलाई कुट्नुभएको छैन।”
तर अझै ठूलो परिवर्तन हुन त बाँकी नै थियो। एलफ्रेडो यसो भन्छन्, “लोड्र्सले बप्तिस्मा लिएको तीन वर्षपछि मेरो एक जना साथी, जो यहोवाका साक्षी थिए तिनले मलाई उसको घरमा बोलायो र मलाई बाइबलबाट निकै मनमोहक कुराहरू बताए। आफ्नी श्रीमतीलाई थाहै नदिकन मैले मेरो साथीसित बाइबल अध्ययन गर्न थालें। केही समयपछि म लोड्र्ससित सभाहरू धाउन थालें। मैले सभामा सुनेका धेरैजसो भाषणहरू पारिवारिक जीवनबारे थियो र यो सुन्दा मलाई अक्सर आत्मग्लानि हुन्थ्यो।”
सभापछि मण्डलीका सदस्यहरूलगायत पुरुषहरूसमेतले भुइँ पुछिरहेको देखेर एलफ्रेडो साह्रै प्रभावित भए। तिनी साक्षीहरूको घरमा जाँदा पतिहरूले आ-आफ्नो पत्नीलाई भाँडा धुन सघाइरहेको देखे। साँचो प्रेमलाई कसरी कामद्वारा प्रदर्शित गर्न सकिन्छ भन्ने कुरा यी स-साना घटनाहरूले एलफ्रेडोलाई देखायो।
केही समयपछि नै एलफ्रेडोले बप्तिस्मा लिए र हाल दुवैले पूर्ण-समय सेवकको रूपमा काम गर्दैछन्। लोड्र्स यसो भन्छिन्, “उहाँले अक्सर मलाई खाना खाइसकेपछि टेबलबाट भाँडाकुँडा पन्साउन र ओछ्यान मिलाउन सहयोग गर्नुहुन्छ। मैले पकाएको खानाको उहाँ तारिफ गर्नुहुन्छ र मलाई मनपर्ने संगीत अनि घरको लागि किन्नुपर्ने सामानहरूमा उहाँ मेरो रोजाइलाई प्राथमिकता दिनुहुन्छ। एलफ्रेडोले यस्ता कार्यहरू पहिला कहिल्यै गर्नु भएको थिएन! हालै, पहिलो पटक उहाँले मेरोलागि फूलको गुच्छा किन्नुभयो। कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!” (g01 11/8)
-