प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ पृ. ११-१३
  • अपांग तैपनि अटल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अपांग तैपनि अटल
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जवाफ खोज्दै
  • बल्ल आध्यात्मिक सान्त्वना पाएँ
  • अवरोध खडा हुन्छ
  • थप चुनौतीहरू
  • सम्मेलनमा उपस्थित हुन निकै प्रयास गर्नुपऱ्‍यो
  • अटल भएकोले थुप्रै आशिष्‌ पाएँ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
  • अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ
    प्रहरीधरहरा: के प्रार्थना गर्दा कुनै फाइदा हुन्छ?
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ पृ. ११-१३

अपांग तैपनि अटल

क्वामा एंगेसेनको वृत्तान्तमा आधारित

म र मेरो साथी साइकल ठेल्दै फेरि अर्को डाँडा उक्लने कोसिस गऱ्‍यौं। कुरा नोभेम्बर २००२ तिरको हो। अफ्रिकाको आइभरी कोस्टमा गृहयुद्धको आगो दन्किरहेको थियो। त्यसैले सुनसान सडकमा हिंड्‌नु निकै खतरनाक थियो। अलि पर सेनाको अर्को चेकपोष्ट देख्दा आङै सिरिङ्‌ङ भएको थियो। यस्तो द्वन्द्व चर्किरहेको बेला मचाहिं किन खतरा मोलेर यात्रा गर्दै थिएँ त?

मेरो जन्म सन्‌ १९७८ मा भएको थियो। जन्मैदेखि म रोगी थिएँ र हुर्कंदै जाँदा मलाई रोगले झन्‌-झन्‌ च्याप्दै लग्यो। सुरुमा मैले बिस्तारै कान सुन्‍न छोडें र मेरा लुला खुट्टाहरू एकनासले दुखिरहन्थे। ठूलो भएपछि परिवारले पनि मलाई ‘लंगडा र बहिरा’ भन्दै हेला गर्न थाल्यो। ठूलाहरू मलाई होच्याउँथे भने केटाकेटीहरू बाङ्‌गे भन्दै गिज्याउँथे।

आठ वर्षको भएपछि म स्कूल जान थालें तर त्यहाँ पनि गुरूहरू र साथीहरूले धुरुक्कै पार्थे। धर्ती फाटेर मलाई निलिहाले पनि हुने जस्तो लागिरहन्थ्यो। म डराएको देखेर मानिसहरू झनै मच्चिएर जिस्काउँथे। त्यसपछि त स्कूल जान बाहेक अरूबेला घरबाट निस्कनै छोडें।

‘ममाथि नै यस्तो दुःख किन आइपरेको होला?’ भनेर म अक्सर आफैलाई सोध्थें। आमा भन्‍नुहुन्थ्यो, मलाई बोक्सीले बिगार गरेको रे। मजस्तै अरूलाई देख्दा ‘तिनीहरूलाई पनि बोक्सीले मन्त्र फुक्यो होला त?’ भनेर अचम्म मान्थें।

सन्‌ १९९२ तिर मेरा कुहिनाहरू सहनै नसकिने गरी दुख्न थाल्यो। पछि पीडा कम भयो तर पाखुराहरू सीधा पार्नै सकिनँ। यसको दुई वर्षपछि मेरो देब्रे आँखाले पनि काम गर्न छोड्यो। मेरा आमाबाबुले मलाई थुप्रै धामी-झाँक्रीकहाँ लानुभयो, तर सब व्यर्थ। स्वास्थ्य दिनदिनै बिग्रँदै गएकोले म स्कूल छोड्‌न बाध्य भएँ।

जवाफ खोज्दै

धार्मिक झुकाव भएको मेरो एक जना साथी थियो। उसले मलाई उसितै चर्च जाऔं भन्यो। जीववादी धर्म मान्‍ने परिवारमा हुर्केको भए तापनि म वर्षदिन जति चर्च गएँ।a तर त्यहाँ मैले बाइबलबारे केही पनि सिकिनँ। त्यसैले नाउँ चलेको धर्ममा लाग्दा के कुनै फाइदा होला र भन्‍ने सोचमा परें।

चर्चमा सिकाइने केही शिक्षा र विशेष गरी नरकको आगोसम्बन्धी शिक्षाले गर्दा म असाध्यै व्याकुल भएँ। मलाई आफू सधैंभरि नरकमा तड्‌पिनुपर्ने हदसम्मको खराब छु जस्तो लाग्दैनथ्यो। अर्कोतिर, स्वर्गमा सधैंभरि सुखसँग जीवन बिताउन पाउने गरी धर्मी छु जस्तो पनि लाग्दैनथ्यो। चित्तबुझ्दो जवाफ नपाएकोले धर्मप्रतिको मेरो चासो नै सेलायो।

यसको वर्षदिनजति पछि मैले आइभरी कोस्टको राजधानी आबीजानमा आयोजना गरिएको निवारण समारोहमा जाने निम्तो पाएँ। आबीजान हाम्रो सानो गाउँ भाब्वाबाट १५० किलोमिटर टाढा पर्छ। आबीजान जानुअघि मैले चर्चका जिम्मेवार व्यक्‍तिहरूलाई समारोहको प्रवेश शुल्क र खाना खर्च बेहोर्न मसित पैसा पुग्दैन भनी बताएको थिएँ। आबीजानमा मेरो राम्रो हेरविचार हुन्छ, त्यसैले चिन्ता गर्नु पर्दैन भनेर उनीहरूले आश्‍वासन दिएका थिए। तर त्यहाँ पुगेपछि कुरो अर्कै भयो। लगभग ४०/५० हजार मानिसहरूबीच भए पनि मैले आफूलाई एक्लो र त्यागिएको महसुस गरें। कसैले मेरो वास्ता गरेन।

भाब्वा फर्कंदा मेरो रोग निको हुनु त परै जाओस्‌, म पहिलेभन्दा झन्‌ निराश भइसकेको थिएँ। स्थानीय चर्चका नेताले विश्‍वासको कमी भएकोले परमेश्‍वरले मलाई निको नगरिदिनुभएको हो समेत भने। त्यसपछि धर्मसित मेरो कुनै सरोकारै रहेन।

बल्ल आध्यात्मिक सान्त्वना पाएँ

सन्‌ १९९६ मा यहोवाको साक्षी हाम्रो घर आए। यसअघि मैले कहिल्यै यहोवाको साक्षी भेटेको थिइनँ। तिनले दाजुसित गरेको रोचक कुराकानी मैले भित्रैबाट सुनिरहें। मेरो दाजुलाई तिनको कुरा मन परेन तर मलाई भने साह्रै मन पऱ्‍यो। तिनले भनेका एक-एक शब्दले मेरो मन छोयो।

पहिलो मानिसको अनाज्ञाकारिताले गर्दा मानिसलाई पापले गाँज्यो भनी ती साक्षीले बेलिविस्तार सुनाए। यस विद्रोहले गर्दा सारा मानिसजाति असिद्ध भए र मरे। तर येशूले आफ्नो जीवन छुडौतिको रूपमा बलिदान दिनुभयो। फलतः हाम्रो पाप क्षमा हुनेभयो र हामीले अनन्त जीवन पाउनसक्ने भयौं। (रोमी ३:२३; ५:१२, १७-१९) यसबाहेक, अब चाँडै यहोवा परमेश्‍वरले आफ्नो राज्यमार्फत यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुनेछ र पाप अनि पापका पीडादायी परिणामहरू मेटाउनुहुनेछ भनेर पनि ती साक्षीले बाइबलबाटै देखाए।—यशैया ३३:२४; दानियल २:४४; प्रकाश २१:३, ४.

बाइबलका तार्किक शिक्षाले गहिरो छाप पाऱ्‍यो। मलाई यी सबै कुरा बताउने त्यस साक्षीको नाउँ रोबर्ट रहेछ। तिनले मसित हप्तामा दुई चोटि बाइबल अध्ययन गर्ने समय मिलाए। मैले बाइबलबाट थुप्रै नयाँ कुराहरू सिकें। केही महिनाभित्रै म यहोवाका साक्षीहरू सँगसँगै घर-घरको सेवकाईमा जान योग्य भएँ। तर मानिसहरूसित सजिलै घुलमिल हुन मलाई अप्ठ्यारो लाग्ने भएकोले त्यसो गर्नु सजिलो भने अवश्‍य थिएन।

अवरोध खडा हुन्छ

मैले बाइबल पढेको मेरो परिवारलाई मन परेन। मलाई चिढ्याउन दाजु राती मेरो कोठामा चुरोट पिउनुहुन्थ्यो। त्यसले गर्दा बिहान उठ्‌दा मेरो टाउको दुखिरहेको हुन्थ्यो र मलाई बिसन्चो हुन्थ्यो। अर्को समस्या भनेको हामीले खाने खाना थियो। मेरो बुबा निपुण सिकारी हुनुहुन्थ्यो र उहाँले ल्याउनुहुने सिकार नै हाम्रो भोजनको मुख्य स्रोत थियो। बाइबलले राम्ररी रगत ननिथारेको जनावरको मासु खानहुन्‍न भन्छ भनेर मैले उहाँलाई बताएँ। (प्रेरित १५:२८, २९) तैपनि, उहाँले सिकारको रगत निथार्नु भएन। आमाले कहिलेकाहीं निस्तो भात दिनुहुन्थ्यो तर म अक्सर आधा पेट खाएर सुत्थें।

भाब्वामा हाम्रो राज्यभवन गाउँको अर्को कुनामा थियो। तैपनि दूरी वा आँधीबेह्री, कुनै कुराले पनि सभामा जानदेखि मलाई रोक्न सकेन। मैले सेम्टेम्बर १९९७ मा आइभरी कोस्टमा आयोजित “परमेश्‍वरको वचनमा विश्‍वास” जिल्ला अधिवेशनमा बप्तिस्मा लिएँ। त्यसपछि जोडतोडले मसीही सेवकाईमा लागें र नियमित अग्रगामी सेवा गर्न योग्यसमेत भएँ। यहोवाका साक्षीहरू पूर्ण-समय प्रचारकार्य गर्नेहरूलाई नियमित अग्रगामी भन्छन्‌।

थप चुनौतीहरू

राजनैतिक अस्थिरताको परिणामस्वरूप सेप्टेम्बर २००२ मा गृहयुद्ध भयो। केही हप्ताभित्रै सेना भाब्वानेर आइपुग्यो। ज्यान जोगाउन केही गाउँलेहरू र प्रायजसो यहोवाका साक्षीहरू घर छोडेर अन्यत्र गए। यसको पाँच दिनपछि सेनाले गाउँलाई आफ्नो नियन्त्रणमा लियो र सम्पूर्ण सामाजिक क्रियाकलापमाथि प्रतिबन्ध लगायो। त्यसपछि प्रायजसो भाब्वावासीहरू तितरबितर भए भने बाँकी रहेका केही साक्षीहरू पनि भाब्वा छोडेर गए।

सार्वजनिक यातायातको सुविधा नभएकोले नजिकैको गाउँ पुग्न पनि कोशौं हिंड्‌नुपर्थ्यो। म त्यति टाढासम्म हिंड्‌न सक्दिन थिएँ, त्यसैले भाब्वामै बसें। गाउँभर साक्षीको नाउँमा म मात्रै बाँकी रहें। तैपनि निरन्तर प्रचार गरिरहें, मण्डलीका सभाहरू सञ्चालन गरिरहें। ती सभाहरूमा केही स्थानीय बासिन्दाहरू पनि आउँथे।

सम्मेलनमा उपस्थित हुन निकै प्रयास गर्नुपऱ्‍यो

यहोवाका साक्षीहरूको विशेष सम्मेलन नोभेम्बर महिनातिर डालोआ गाउँमा हुने भयो। डालोआ गाउँ हाम्रो गाउँबाट लगभग ५० किलोमिटर टाढा पर्थ्यो। मलाई पनि सम्मेलन जान निकै रहर लाग्यो। त्यसैले यो इच्छा जाहेर गर्दै यहोवालाई प्रार्थना गरें। पहिले गाउँ छोडेर गएका एक जना साक्षी अचानक फर्केर आइपुगे। साइकलमा चढाएर सम्मेलन हुने ठाउँसम्म पुऱ्‍याइदिन मैले तिनलाई आग्रह गरें। हुन त, तिनी आफै रोगी थिए, तैपनि तिनी राजी भए।

जताततै तनावग्रस्त वातावरण छाएकोले यात्रा गर्नु त्यति उपयुक्‍त थिएन। भाब्वाबाट डालोआ जाने सबै बाटो बन्द गरिएका थिए। अपरिचित व्यक्‍ति हिंडिरहेको भेटिएमा शंकास्पद ठानिन्थ्यो र विद्रोही पक्षका सैनिकले देख्ने बित्तिकै मेसिनगनले भुट्‌न सक्थ्यो। तैपनि शनिबार, नोभेम्बर ९, २००२ को बिहानी हामी साइकल चढेर डालोआतिर हानियौं। यही कुरा लेखको सुरुमा वर्णन गरिएको थियो।

छिट्टै थुप्रै चेकपोष्टमध्ये पहिलो चेकपोष्ट आइपुग्दा हाम्रो पूरा खानतलासी गरियो अनि मात्र अघि बढ्‌न दिइयो। यात्रा लामो अनि निकै थकाइलाग्दो थियो। उकालो आइपुग्ने बित्तिकै हामी साइकलबाट झरेर उकालो चढ्‌थ्यौं र टुप्पोमा पुगेपछि फेरि साइकलमा बस्थ्यौं अनि ओरालोमा सररर हुँइकन्थ्यौं।

पछि अर्को एक जना साइकल सवारले हामीलाई सघाए। म उनको साइकलको क्यारिजमा बसें। त्यसपछि यी अपरिचित दयालु मित्रसित परमेश्‍वरको राज्यबारे कुरा गर्ने मौका छोपिहालें। परमेश्‍वरको राज्य स्वर्गको सरकार हो र त्यही राज्यले अब छिट्टै पृथ्वीमा सधैंको लागि शान्ति ल्याउनेछ भनेर बताएँ। मेरो कुरा सुनेर उनी छक्क परे र थुप्रै प्रश्‍न सोध्न थाले। डालोआ आइपुगेपछि उनले हामीलाई खाजा खुवाए र भोलि बिहान हुने विशेष सम्मेलनमा आउने वाचा गरे।

हामी डालोआ पुग्दा झमक्कै साँझ परिसकेको थियो। थाकेको भए तापनि आफ्नो गन्तव्यमा पुग्न सफल भएकोमा हामी निकै खुसी थियौं। नौ घण्टा लामो यात्रा सजिलो भने पक्कै थिएन। त्यहीं बस्ने साक्षी परिवारले उहाँहरूको घरमा हामीलाई बास दिनुभयो र राजनैतिक गोलमाल अलि नसेलाउन्जेल उहाँहरूकहाँ नै बस्न आग्रह गर्नुभयो। दुःखको कुरा, राजनैतिक अस्थिरताले गर्दा हाम्रो सम्मेलन रद्द भयो। जे होस्‌, हाम्रो यात्रा भने व्यर्थै गएन। किनकि मैले डालोआका सँगी मसीही भाइबहिनीहरूको सेवा गर्ने थप सुअवसरहरू पाएँ।

अटल भएकोले थुप्रै आशिष्‌ पाएँ

अहिले म डालोआ मण्डलीमा सेवकाई सेवक र नियमित अग्रगामीको सेवामा व्यस्त छु। म यहोवाका साक्षीहरूको डालोआस्थित सम्मेलन भवनको स्याहारसम्भारमा पनि सहयोग गर्छु। म आफ्नो भौतिक आवश्‍यकता पूरा गर्न काठका पुतलीहरू बनाउँछु र साइनबोर्ड वा तुल लेख्ने काम पनि गर्छु।

वर्षौंअघि म स्कूल जान मात्र घरबाट निस्कन्थें। तर अहिले भने म रोगबिमार र दुःखकष्ट किन हुन्छ भनेर सत्य कुरा बुझाउन कोशौं यात्रा गर्छु। अहिले म परमेश्‍वरको राज्यमा स्वस्थ जीवन बिताउने प्रतीक्षा गर्दै, आइभरी कोस्टका मानिसहरूलाई परमेश्‍वरको राज्यको सान्त्वनादायी सुसमाचार बाँड्‌दैछु। (g05 12/08)

[फुटनोट]

a जीववादीहरू जनावर, बोटविरुवा तथा प्रकृतिका अन्य वस्तु सबैमा चेतना हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌।

[पृष्ठ १३-मा भएको चित्र]

डालोआमा हुने सम्मेलनमा उपस्थित हुन जाँदै

[पृष्ठ १३-मा भएको चित्र]

डालोआस्थित सम्मेलन भवनको स्याहारसम्भार गर्दै

[पृष्ठ १३-मा भएको चित्र]

पेट पाल्न म काठका पुतलीहरू बनाएर बेच्छु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने